निर्णय नं. ८०३ - लिखतपास

निर्णय नं. ८०३ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२९ सालको दे.फु.नं. १६३
फैसला भएको मिति : २०३०।९।२।३
निवेदक : जि.सुनसरी विजयपुर धरान जुद्धनगर बस्ने काजीमान श्रेष्ठ
विरुद्ध
विपक्षी :जि. सुनसरी प्रवेली पकली गा.पं. वडा नं.५ मौजे भन्सारपुर गछपकली बस्ने मन्नाराम साहू तेली
मुद्दा : लिखतपास
(१) लाग दावी नै नभएको बन्धकी बिषयमा निर्णय दिनु कानूनसंगत नहुने ।
यसमा राजीनामाको लिखत रजिष्ट्रेशन पारित गराइपाउँ भन्ने वादीको मुख्य वादी र सो लिखत झुक्याएर गराएको पारित हुनु पर्ने होइन भन्ने प्रतिवादीको मुख्य प्रतिवाद जिकिर भएकोले सो लिखत झुक्याएर गराएको हो होईन ? वादीको दावी बमोजिम पारित हुनु पर्ने वा नपर्ने के हो ? भन्ने यस मुद्दामा ठहर गर्नुपर्ने मुख्य प्रश्नहरू छन् । यससम्बन्धमा मिसिलको अध्ययन गर्दा विवादग्रस्त जग्गा राजीनामा दिनुभन्दा अगावै रत्नकुमारी रिजाललाई दृष्टिबन्धक दिइसकेकोले दोहरो पारिदिएको राजीनामाको लिखत पारित हुन सक्दैन भन्ने डिभिजन बेञ्चबाट ठहर भएको पाइन्छ । तर रत्नकुमारी रिजाललाई जग्गा बन्धक गइसकेको व्यहोरा राजीनामाको लिखतमा उल्लिखित छैन, प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा सो कुरा प्रसगंवश उल्लेख गरेको देखिन्छ तापनि सोही कुरालाई आधार बनाएर लिखत पारित गर्न आपत्ति गरेको पनि पाइँदैन । लिखत झुक्याएर गराएकोले पारित हुनु पर्ने होइन भन्नेसम्म प्रतिवादीको भनाई छ । बन्धकी साहूको लिखत बमोजिमको बन्धकी हक कायम गराई माग्ने अधिकार प्रतिवादीलाई कानूनले प्रदान गरेको पनि छैन । त्यस सम्बन्धमा प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८२ नं.र साविक मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १०६ नं. अनुसार हकदैया पुग्ने बन्धकी साहूको उजूर दावी परेको यो मुद्दा होइन । यस स्थितिमा लागदावी नै नभएको बन्धकी बिषयमा कुनै निर्णय दिनु मेरो रायमा कानूनसंगत हुँदैन, रत्नकुमारी रिजालको दृष्टिबन्धकीको लिखत भनेको के कस्तो लिखत हो ? दृष्टिबन्धकीको स्थिति के कस्तो छ ? बन्धकी दिएको जग्गा दोहरा पारी राजीनामा गरिदिएको हो भने सो सदर हुन सक्ने वा नसक्ने के हो ? सदर हुन सक्ने हो भने के कति अवस्थामा रजिष्ट्रेशन पारित हुन सक्दछ ? दोहरा पारी दिएबापत आसामीलाई के कति सजाय हुनु पर्ने हो ? इत्यादि यस्ता प्रश्नहरू हुन् जुन बन्धकी साहूको उजूर परेको खण्डमा मात्र विचार गर्ने र निर्णय दिनु पर्ने हुन्छ । हकदैया भएका व्यक्तिको उजूरी दावी नै नभई अदालतले बीच बीचका कुराबाट वादीको सृष्टि भएको सम्झी कुनै निर्णय दिनु हुँदैन ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट
विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह
उल्लिखित मुद्दा :
फैसला
न्या. विश्वनाथ उपाध्याय
१. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने वादी काजीमानको निवेदन परेकोमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहराइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको ०२८।८।१२।१ को हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : ने.रू.२६,३२०। कर्जा लिई पकली बजारको जग्गा बिगाहा २।।.२ र सो जग्गामा बनेको मिल कारखाना घर गोदामसमेत ०१९।३।१४।५ मा राजीनामा गरिदिएको पास गराइपाउँ भन्ने वादी काजीमानको फिरादपत्र ।
३. विपक्षीलाई तिर्नुपर्ने दृष्टिबाट कपाली भएको भा.रू.२७५०। धानको जाहर रहन आएको भा.रू.१,१५५। को कपाली समेतको ३,९०५। रत्नकुमारीको तिर्नुपर्ने रू.६,०००। तिरी फट्टा गरी रत्नकुमारीको ६,०००। समेत १५,८४८। को लिखत हुँदा रत्नकुमारीको लिखत फट्टा गरी पास गर्ने लिखत भएको रत्नकुमारीको लिखत फट्टा गरी पास नगराई एउटा व्यहोराको लिखत भनी अर्को व्यहोराको लिखत गराएबाट जालसाजी हुँदा पास गरिदिनु नपर्ने भन्ने समेत मन्नाराम साहू तेलीको प्रतिवादी ।
४. वादीबाट पेश भएको सक्कल लिखतको सहिछाप मैले गरेको हुँ प्रतिवादी जिकिरबमोजिम रत्नकुमारीतर्फको रूपैयाँ बाँकी हुँदा कानूनबमोजिम होस् भन्ने समेत मन्नारामको बयान ।
५. वादीबाट पेश भएको सक्कल हेर्दा प्र.ले सही गर्दा छब्बीस हजार तीनसय बीस भन्ने लेखी सही गरेको सो सही मैले गरेको हुँ भनी बयान गरेको र रत्नकुमारीतर्फको रूपैयाँ नतिरेको भन्नेतर्फ कुनै सबूत नदेखिएकोले तिरी दिनु पर्ने सबूत पेश गरी नालिस दिनु भनी सुनाइदिने अरू बुझिएसम्मको सबूतबाट १९।३।१४ को लिखत पास हुने ठहर्छ भन्ने समेत तत्कालिन इलाका अदालत विराटनगरको फैसला ।
६. चित्त बुझेन भन्ने समेत प्रतिवादी मन्नाराम साहू तेलीको पुनरावेदन ।
७. लिखत गरिदिएमा सावित रहेको कारणीको सही गर्ने ठाउँमा हस्ताक्षरले आफ्ना नाम वतनको सही गरी नोट २६,३२०। छब्बीस हजार तीन सय बीस रू.भन्ने समेत स्वहस्ताबाट लेखिएको देखिएको लिखत कानूनको रीत पुगेको लिखत खुशीराजीले जानी बुझी गरिदिएको लिखत सदर हुने देखिनाले लिखत पास हुने ठहराई छिनेको इन्साफ सुरूको मनासिव छ भन्ने समेत कोशी अञ्चल अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी मन्नारामको पुनरावेदन ।
९. दावा गरेको राजीनामा लेखिएको अचल सम्पत्ति सोभन्दा अघि प्रतिवादीले रत्नकुमारी रिजाललाई ९,६००। मा दृष्टि पास गरिदिएको देखियो । सो दृष्टिको भाखा १ बर्ष भएको सो भाखा नाघेको मितिले २ बर्षभित्र दृष्टि चलन गराई माग्न दावा गर्न सक्ने म्यादभित्रै सो दृष्टिको कुनै उल्लेख नभई राजीनामा घरसारमा गरेको देखिन आयो यो दृष्टिको थैली तिरी पास गराइपाउँ भन्ने वादीको लाग दावी नभएको हुनाले बहसद्वारा प्रस्तुत हुँदैमा दावीमा परेको सम्झी निर्णय दिन मिल्ने देखिएन । एक ठाउँ दृष्टि लेखिदिएको अचल सम्पत्ति अरूतर्फ लेखिदिन नहुने तत्कालिन साहू आसामीको २९ नं.र न्हेडिक तिरेको निस्सा नभई पास गरिदिन नमिल्ने तत्कालिन रजिष्ट्रेशनको २०।२१ मा लेखिएको हुनाले अघिल्लो दृष्टि कायम छँदै लिनुदिनु गरेको राजीनामा उक्त ऐनले पास गर्न नमिल्ने हुँदा वादीको लिखत पास हुन सक्दैन । शुरू र अञ्चलको इन्साफ उल्टी ठहर्छ भन्ने समेत ०२७।१२।१५ को डिभिजन बेञ्चको फैसला ।
१०. प्रस्तुत मुद्दा दोहराइदिनु भन्ने बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा “साविक साहू आसामीको २७ नं.मा बन्धक परेको चल अचल १ ठाउँमा बन्धक रहेसम्म अरू ठाउँमा बन्धक राख्न लिन हुँदैन भन्ने शब्द प्रयोग भई बन्धकी व्यवहारको मात्र किटानी उल्लेख छ” “बन्धक परेको भन्ने” र “अरु ठाउँमा बन्धक राख्न लिन हुँदैन” भन्ने शब्द प्रयोग भएकोले दोहरा बन्धकी मात्र निषेध गरेको स्पष्ट छ । प्रस्तुत मुद्दाको बिषय दोहरा बन्धकी नभई अघिको बन्धकी पछिल्लो राजीनामा सम्बन्ध छ । साहू आसामीको २९ नं.मा एउटालाई लेखी दिइसकेको चलअचल अर्कालाई दोहरो पारी फार्छे राजीनामा वा धितोबन्धक लेखिदिने आसामीलाई विगोबमोजिम दण्ड गर्नु भन्ने लेखिएको पाइन्छ । एकालाई लेखिदिइसकेको भन्ने शब्द वाक्यांशभित्र दृष्टि गएकोलाई हो भन्न सकिने स्थिति छैन हक छोडी दिइसकेको कुरालाई हो भन्ने कुरा दर्शन आउँछ । जहाँसम्म रजिष्ट्रेशनको २०।२१ नं. को कुरा छ त्यसतर्फ न्हेडिक तिरी ल्याएमा पास हुने नै देखिएको न्हेडिक तिरेमा पास हुन सक्ने भनी ठहर हुन नसक्ने देखिँदैन । लिखत भिडाई हेर्दा दृष्टिमै नपरेको राजीनामामा लेखिएको अरू जग्गाको पनि लिखत पास हुन नसक्ने स्थिति उत्पन्न गरिदिएको देखिन्छ । सर्वोच्च अदालतले आफ्नो निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।
११. निवेदक वादीतर्फबाट उपस्थित हुुनु भएको विद्वान अधिवक्ता श्री लवदेव भट्टले आफ्नो बहसमा तत्कालिन मुलुकी ऐन साहू आसामी रजिष्ट्रेशनको महलको ऐनले दृष्टिबन्धकी गएको अचल सम्पत्ति राजीनामा लिनुदिनु गर्न हुँदैन भनी कहीँ प्रतिबन्ध लगाएको छैन, त्यसो हुँदा दृष्टिबन्धक परेको सम्पत्तिसमेत राजीनामा लिएको राजीनामा पास हुनुपर्नेमा ऐ.साहू आसामीको २६ नं.मा राजीनामा लिनेले जाँची बुझी लिनुपर्छ भोग परेपछि थोरै घटी रहेछ वा बिग्रे नासिएको भनी थैलीमा टंटा गर्न नपाउनेसम्म र ऐ.२७ नं.मा दोहरो बन्धकी परेकोमा नजाँची लिने पहिला साहूको थैली कपाली हुनेसम्मको व्यवस्था भएकोमा सो ऐनको आधार लिई पास हुनु पर्ने राजीनामालाई पास नहुने ठहराएको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । निवेदक वादीको राजीनामा पास हुनुपर्छ भन्ने समेत र विपक्षी प्रतिवादीतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले दृष्टिबन्धक गएकोमा दृष्टिवालाले भोग गर्ने नालिस गर्ने हदम्यादसम्म सो दृष्टि गएको सम्पत्ति राजीनामा गरी लिन नपाउने र तत्कालिन रजिष्ट्रेशनको १४,२०,२१ साहू आसामीको २९ नं. को व्यवस्थाले समेत दृष्टिबन्धकी गइसकेको सम्पत्ति राजीनामा हुन नसक्ने त्यसरी दृष्टि गएको सम्पत्ति दोहरा पारी राजीनामा लिएकोमा साहू आसामीको २७ नं. ले पछिल्ला साहू वादीको थैली र ब्याज आसामीबाट पाउने हुनाले वादीको राजीनामा पास हुन सक्ने होइन । पास नहुने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१२. यसमा राजीनामाको लिखत रजिष्ट्रेशन पारित गराइपाउँ भन्ने वादीको मुख्य वादी र सो लिखित झुक्याएर गराएको पारित हुनु पर्ने होइन भन्ने प्रतिवादीको मुख्य प्रतिवाद जिकिर भएकोले सो के हो ? भन्ने यस मुद्दामा ठहर गर्नुपर्ने मुख्य प्रश्नहरू छन् । यससम्बन्धमा मिसिलको अध्ययन गर्दा विवादग्रस्त जग्गा राजीनामा दिनुभन्दा अगावै रत्नकुमारी रिजाललाई दृष्टिबन्धक दिइसकेकोले दोहरो पारिदिएको राजीनामाको लिखत पारित हुन सक्दैन भन्ने डिभिजन बेञ्चबाट ठहर भएको पाइन्छ । तर रत्नकुमारी रिजाललाई जग्गा बन्धक गइसकेको व्यहोरा राजीनामाको लिखतमा उल्लिखित छैन, प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा सो कुरा प्रसगंवश उल्लेख गरेको देखिन्छ तापनि सोही कुरालाई आधार बनाएर लिखत पारित गर्न आपत्ति गरेको पनि पाइँदैन । लिखत झुक्याएर गराएकोले पारित हुनु पर्ने होइन भन्नेसम्म प्रतिवादीको भनाई छ । बन्धकी साहूको लिखत बमोजिमको बन्धकी हक कायम गराइमाग्न अधिकार प्रतिवादीलाई कानूनले प्रदान गरेको पनि छैन । त्यस सम्बन्धमा प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८२ नं. र साविक मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १०६ नं. अनुसार हकदैया पुग्ने बन्धकी साहूको उजूर दावी परेको यो मुद्दा होइन । यस स्थितिमा लागदावी नै नभएको बन्धकी बिषयमा कुनै निर्णय दिनु मेरो रायमा कानूनसंगत हुँदैन रत्नकुमारी रिजालको दृष्टिबन्धकीको लिखत भनेको के कस्तो लिखत हो ? दृष्टिबन्धकीको स्थिति के कस्तो छ ? बन्धकी दिएको जग्गा दोहरा पारी राजीनामा गरिदिएको हो भने सो सदर हुन सक्ने वा नसक्ने के हो ? सदर हुन सक्ने हो भने के कति अवस्थामा रजिष्ट्रेशन पारित हुन सक्दछ ? दोहरा पारी दिएबापत आसामीलाई के कति सजाय हुनु पर्ने हो ? इत्यादि यस्ता प्रश्नहरू हुन् जुन बन्धकी साहूको उजूर परेको खण्डमा मात्र विचार गर्ने र निर्णय दिनु पर्ने हुन्छ । हकदैया भएका व्यक्तिको उजूरी दावी नै नभई अदालतले बीच बीचका कुराबाट वादीको सृष्टि भएको सम्झी कुनै निर्णय दिनु हुँदैन ।
१३. अब, जहाँसम्म यस मुद्दामा निर्णय दिनु पर्ने मुख्य प्रश्न छ, प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा उल्लेख गरेअनुसार वादीले झुक्याएर लिखत गराएको कुरा प्रमाणित गर्नलाई कुनै भरपर्दो एवं विश्वसनीय प्रमाण प्रस्तुत गर्न सकेको छैन । राजीनामाको लिखत प्रतिवादीले गरेको लिखत हो भन्ने कुरामा कुनै विवाद छैन । यस स्थितिमा लिखत झुक्याएर गराएको भन्ने भनाइका आधारमा मात्र प्रतिवाद जिकिर मनासिव ठहर्याउन मिल्दैन । तसर्थ वादीको दावीबमोजिम प्रतिवादीले वादीलाई गरिदिएको ०१९।३।१४।५ को लिखत रजिष्ट्रेशन पारित हुने ठहर्छ । लिखत रजिष्ट्रेशन पारित नहुने ठहराएको ०२७।१२।१५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइ दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी कानूनबमोजिम लगत दिने..............................१
प्रतिवादी मन्नाराम साहुतेली के देहायको कलममा देहायबमोजिम गर्नु भनी जि.अ. मोरङमा लेखी पठाउने १
स.अ.डिभिजन बेञ्चको २७।१२।१५ को फैसलाले तत्कालिन इ.अ.विराटनगरको ०२०।१२।१२ को फैसलाले गर्ने गरेको जरिवाना रू.५। र कोशी अञ्चल अदालतको ०२५।८।९ को फैसलाले गर्ने गरेको जरिवाना रू.।५० समेत नलाग्ने हुँदा असूल भए फिर्ता र नभए लगत काटी दिने गरेकोमा हाल सोबमोजिम गर्नु परेन स.अ.डिभिजन बेञ्चको फैसलाको लगत काटी तत्कालिन ई.अ.विराटनगरको र कोशी अं.अ.को लगत कायम राख्ने १
सर्वोच्च अदालतमा पुनरावेदन गर्दा प्र.मन्नारामले राखेको कोर्टफी.रू.१।५० उक्त स.अ.डिभिजन बेञ्चको फैसलाले वादीबाट भराइदिने गरेकोमा हाल सोबमोजिम गर्नु परेन व्यहोरा जनाई लगत काटिदिने......................२
वादी काजीमान श्रेष्ठ के देहायको कलममा देहायबमोजिम गर्नु भनी मोरङ जि.अ.मा लेखी पठाउने २
मुद्दा दोहराएबापत राखेको कोर्टफी रू.१। प्रतिवादीबाट भरिपाउने हुँदा भरिपाउँ भनी प्रतिवादीको जायजात देखाई नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ को म्याद ३ बर्षभित्र वादीको दर्खास्त परे प्र.मन्नारामबाट वादीलाई कानूनका रीत पुर्याई भराइदिने १
स.अ.डिभिजन बेञ्चको फैसलाले प्रतिवादीलाई भराइदिने गरेको कोर्टफी रू.१।५० वादीले ०२९।१।१३ मा स.अ.लगत नगदी विभागमा धरौट राखेको वादीले फिर्ता पाउने हुँदा कानूनको म्यादभित्र फिर्ता लिन आए कानूनको रीत पुर्याई वादीलाई फिर्ता दिने २
वादीलाई प्रतिवादीले गरिदिएको ०१९।३।१४।५ को रू.२६,३२०। को राजीनामा लिखत पारित हुने ठहरेकोले सो लिखत पारित गरिपाउँ भनी तत्कालिन इ.अ.विराटनगरको फैसलामा उल्लेख भएबमोजिम ६ महिनाभित्र वादीको दर्खास्त परे सोबमोजिम गरी पारित गरिदिनु भनी सम्बन्धित कार्यालयमा पुर्जि गरिदिनु भनी मोरङ जि.अ.मा लेखिपठाउने.......................३
स.अ.डिभिजन बेञ्चको फैसलाले इन्साफ उल्टीमा भनी जि.न्या.मोहनलालको रेकर्ड राख्ने गरेको हाल सोबमोजिम गर्न परेन भनी स.अ.जनरल विभागमा लेखिपठाउने.........................४
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. ब्रम्हदत्त तिवारी
इति सम्वत् २०३० साल माघ २ गते रोज ३ शुभम् ।