शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०५ - जग्गा चलन चलाइपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८०५      ने.का.प. २०३१

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०२९ सालको दे.फु.नं. १३१

फैसला भएको मिति : ०३०।१२।१३।३

निवेदक : जुम्ला पानसयनदरा बुझी गाउँ बस्ने मनहरे बुढासमेत

विरुद्ध

विपक्षी : जुम्ला पानसयादरा दुक्रि गाउँ बस्ने बरेबुढा समेत

मुद्दा : जग्गा चलन चलाइपाउँ

(१)   अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुने ।

            कानूनी व्यवस्थातर्फ विचार गर्दा प्रचलित मुलुकी ऐनको महल २ दण्डसजायको नं.४३ मा फैसलाबमोजिम चलन पाउने बस्तु चलन चलाई माग्ने दर्खास्त परेपछि अड्डैबाट चलन चलाई दिने व्यवस्था भएको त्यसरी अड्डैबाट चलन चलाई दिएकोमा र अड्डैबाट पुर्जि भएपछि पनि चलन गर्न नदिई जबरजस्ती गरेको ठहर्‍यो भने त्यस्ता जबरजस्ती गर्नेलाई पहिलापटक सो मोल विगोको सयकडा १० जरिवाना गर्नुपर्छ दोस्रोपटक जबरजस्ती गर्‍यो भने सो मोल विगोको सयकडा २० जरिवाना वापत कैद गर्नुपर्छ...भन्ने समेत उक्त ४३ नं. को देहाय ६ मा उल्लेख भएको देखिने प्रधान न्यायालयको फैसलाले जिती पाएको जग्गा चलन चलाइपाउँ भनी पहिलो दर्खास्त परेको मुद्दामा प्रतिवादीको चलन छोडाई वादीलाई चलन चलाई दिने समेत ठहराएको सुरूको सदर गरी डिभिजन बेञ्चबाट समेत फैसला भइराखेको देखिएकोले वादीले प्रधान न्यायालयबाट जिती पाएको जग्गा फैसला तथा द.स.को ४३ नं.बमोजिम रीत पुर्‍याई प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुन आउने हो प्रस्तुत मुद्दामा सोबमोजिम चलन चलाई दिइसकेको नभई प्रधान न्यायालयले वादीले जिती पाएको जग्गालाई चलन चलाइपाउँ भनी पहिले दर्खास्त दिएको मुद्दामा अड्डैबाट चलन चलाई दिने ठहराएको सुरूको सदर गरेको डिभिजन बेञ्चको ०२२।११।१४ को फैसलाबमोजिम वादीबाट प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेको अवस्थाको नभई पहिले दर्खास्त दिएकोमा जरिवाना भएकोले दोस्रोपटक दर्खास्त दिन आएको छु चलन चलाइपाउँ भन्ने दर्खास्तबाट चलन चलाउने कारवाई भई चलन छाड्दैनौं भनी प्रतिवादीले कागज गरिदिएकोमा दोस्रोपटक चलन नछाडी जबरजस्ती गरेको भनी सजाय गर्न मिल्ने देखिँदैन ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट :

विपक्षी तर्फबाट :

उल्लिखित मुद्दा :

फैसला

            न्या. त्रैलोक्यराज अर्याल

            १.     प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याइपाउँ भन्ने प्रतिवादीको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : अन्यायका बाबुबाजे र अन्यायवालाहरूसँग जग्गा मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट हामीले जितिपाएको जग्गा चलन चलाउने दर्खास्त दिँदा चलन छाडेकाले पहिलापटक जरिवाना भएकोले दोस्रोपटकको दर्खास्त गरेको छु । चलन चलाइपाउँ भन्ने समेत ४४ जनाको वारेस भई आफ्ना हकमा समेत मनिराम बुढाको दर्खास्त ।

            ३.    झगडा परेको जग्गाको चलन पनि छाड्दैनौं । त्यसबारे कुनै कागजमा सही पनि गर्दैनौं भनी प्रतिवादी मु.सिंग रूपसमेतले भनेको ठीक हो भन्ने समेत प्र.पं.करविर रावलसमेतको सर्जमिन मुचुल्का ।

            ४.    हाम्रो खाएको जग्गा राराका मनिरामसमेतले जितेकोले जग्गा छाड्नमा मञ्जुर छैनौं जग्गा चलन छाड्दैनौं भन्ने समेत मु.सिंग वीर बुढासमेतको कागज ।

            ५.    मानसिंको १ हल कालचेको २ हल सुनामको १ हलमा हाल दावी नदेखिएको मनिरामको ४ हल धनरूपको ३ हल चन्द्रमानको १ हलमा बढी पक्रेको हुनाले त्यसतर्फको केही गर्न नपर्ने र सोबाहेक अरू जग्गामा चलन पाउने ठहरी फैसला भएकोमा पहिलापटक चलन नदिएमा सजायसमेत भइरहेको दोस्रापटक चलन नछाडी जबरजस्ती गरेकै ठहर्छ भन्ने समेत जुम्ला तिव्रीकोट तथा मुगु जिल्ला अदालतको ०२५।९।२६ को फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदनपत्र ।

            ७.    चलन दिनु पर्ने जग्गा चलन नदिएको देखिएको हुँदा पुनरावेदकहरूले दोस्रोपटक पनि चलन नछाडेकोले चलन चलाई पुनरावेदकहरूलाई कैद सजाय गरेको सुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत कर्णाली अञ्चल अदालतको फैसला ।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदनपत्र ।

            ९.    प्रधान न्यायालय डिभिजन बेञ्चको ०१०।१०।२०।३ को फैसलाबमोजिम चलन नदिएमा चलन चलाइपाउँ भन्ने मुद्दा परी ०२२।१०।२४।६ मा स.अ.डिभिजन बेञ्चबाट फैसला भएकोमा दोस्रा पटक चलन चलाइपाउँ भनी दिएको दर्खास्तमा पनि चलन दिन इन्कार गरेको प्रतिवादीको कागज र सर्जमिन मुचुल्काबाट देखिएकोले अड्डैबाट चलन दिने र अटेर गर्ने पुनरावेदकहरूलाई दण्डवापत कैद सजाय गर्ने गरेको सुरूको सदर गरेको कर्णाली अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत ०२६।८।२९ को स.अ.डिभिजन बेञ्च मुकाम नेपालगञ्जको फैसला ।

            १०.    मुद्दा दोहर्‍याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा प्रधान न्यायालयको फैसलामा वन जति वनै कायम राखी झगडा परेको महादेव टाकुरमा दुवैथरले गोठ राखी चलन गर्न पाउने आवाद चाहिं दुवैथरीले गर्न नपाउने अरू वादीको जग्गामा खिचोला परेको वादीहरूले जिती पाएको हल जग्गा पर्ती नै हो र सो को ४ किल्ला यो हो भनी स्पष्ट गरिदिएको समेत देखिन आउँदैन । पश्चिमाञ्चल उच्च अदालतको फैसलाले पनि वादीहरूको १२ सालको दर्खास्त बमोजिमको जग्गाहरूको जग्गा यो पनि हो भनी निर्णय दिएको देखिन आउँदैन । प्रधान न्यायालयले खिचोला गरेको ठहरेको आवादी जति जग्गाको हकमा चलन चलाउनेसमेत जो गर्नुपर्छ भनी प्रधान न्यायालयको फैसलाले जिती पाएको आवादी जग्गैसम्ममा निर्णय दिएको देखिन्छ । यस्तो स्थितिमा प्रधान न्यायालयको फैसलाले वादी दावीको आवादी जग्गा प्रतिवादीहरूले खिचोला गरेको भनेको कुन हो कति सो को ४ किल्ला के हो वादीले प्र.बाट चलन चलाई लिनु पर्ने जग्गा कुन हो त्यसभित्र प्रतिवादीहरूको जग्गा पर्ने नपर्ने के हो सो सबै प्रष्ट हुने गरी नक्सा गरी सो वस्तुस्थितिको आधारमा मात्र ठहरेजति जग्गा चलन चलाई दिनुपर्नेमा मोटामोटी आधारमा दर्खास्तबमोजिम चलन दिने ठहराएकोलाई समर्थन गरी निर्णय दिएको देखिएन भन्ने समेत उल्लेख भएको रहेछ ।

            ११.    यसमा फैसलाबमोजिम चलन पाउने ठहरेको जग्गा एकपटक अड्डाबाट चलन चलाइदिने पुर्जि भइसकेपछि दोस्रो तेस्रोपटक पनि चलन छोडिदिएन चलन चलाइपाउँ भन्ने दावी गर्नेले ऐनबमोजिम नालिस गर्नुपर्ने दर्खास्तसम्मबाट चलन छाडी नदिएको भन्नेकुरामा कारवाही गरी सजाय गर्न नमिल्ने देखिन आएको समेत हुँदा छलफल निमित्त वादीहरूलाई झिकाई पेश गर्नु भन्ने ०२९।१२।१० को फुल बेञ्चको आदेश ।

            १२.   यसमा निर्णयतर्फ विचार गर्दा हामीले जिती पाएको जग्गाको दर्खास्त दिँदा चलन नछाडेकोले पहिलापटक अन्यायवालाहरूलाई जरिवानासमेत भएकोमा दोस्रोपटकको दर्खास्त गर्न आएको छु चलन चलाइपाउँ भन्ने दर्खास्त परेकोमा प्रस्तुत मुद्दामा प्रधान न्यायालयबाट जितीपाएको दर्खास्तबमोजिमको जग्गा चलन छोडाइदिने ठहरी ०१८।९।२१ मा सुरूबाट ठहराएको इन्साफ सदर गरी ०२२।११।१४।६ मा सर्वोच्च अदालतबाट फैसला भई जिती पाएको जग्गा प्रतिवादीले चलन छाड्दैनौं भन्ने जिकिर लिएकोमा पहिले दिएको दर्खास्तमा चलन छाड्नै पर्ने ठहरी फैसला भएकोले यो दोस्रोपटक चलन छाडी जबरजस्ती गरेको ठहर्छ भनी दोस्रापटक चलन नदिएकोमा कुनै जरिवाना बापत कैद सजाय गर्ने गरी शुरू जुम्ला तिव्रीकोट तथा मुगु जिल्ला अदालतबाट भएको इन्साफ सदर गरी ०२६।८।१९ मा डिभिजन बेञ्चबाट निर्णय भएको प्रस्तुत मुद्दा देखिएकोले यस्तोमा दोस्रोपटक चलन नदिएको भनी सजाय दिन मिल्ने नमिल्ने के रहेछ त्यसकुराको नै मुख्य निर्णय गर्नुपर्ने बिषय देखिन्छ ।

            १३.   प्रस्तुत मुद्दाको दर्खास्तवालाले प्रधान न्यायालयबाट ०१०।४।२०।३ मा जिती पाएको जग्गा चलन चलाइपाउँ भनी पहिले दिएको दर्खास्तमा प्रतिवादीले चलन नछोडेको हुँदा डोरबाट कायम भई आएको मोल बिगोको सयकडा १०। जरिवाना प्रतिवादीलाई लाग्ने र दर्खास्तबमोजिमको जग्गा प्रतिवादीको चलन छोडाई वादीलाई अड्डैबाट चलन चलाइदिने ठहराइएको इ.अ.जुम्लाबाट ०१९।९।२१ मा भएको इन्साफ सदर भई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट समेत ०२२।११।१४ गते फैसला भएको प्रमाणको मिसिलबाट देखिने त्यसपछि फेरि अर्को दर्खास्त परेको यो प्रस्तुत मुद्दाबाट अघि दर्खास्त परेकोमा दशौंद जरिवाना भइसकेकोले दोस्रोपटक चलन नदिएको भनी सजाय गरेको देखिन्छ ।

            १४.   कानूनी व्यवस्थातर्फ विचार गर्दा प्रचलित मुलुकी ऐनको महल २ दण्डसजायको नं.४३ मा फैसलाबमोजिम चलन पाउने बस्तु चलन चलाई माग्ने दर्खास्त परेपछि अड्डैबाट चलन चलाई दिने व्यवस्था भएको त्यसरी अड्डैबाट चलन चलाई दिएकोमा र अड्डैबाट पुर्जि भएपछि पनि चलन गर्न नदिई जबरजस्ती गरेको ठहर्‍यो भने त्यस्ता जबरजस्ती गर्नेलाई पहिलापटक सो मोल विगोको सयकडा १० जरिवाना गर्नुपर्छ दोस्रोपटक जबरजस्ती गर्‍यो भने सो मोल विगोको सयकडा २० जरिवाना वापत कैद गर्नुपर्छ...भन्ने समेत उक्त ४३ नं. को देहाय ६ मा उल्लेख भएको देखिने प्रधान न्यायालयको फैसलाले जिती पाएको जग्गा चलन चलाइपाउँ भनी पहिलो दर्खास्त परेको मुद्दामा प्रतिवादीको चलन छोडाई वादीलाई चलन चलाई दिने समेत ठहराएको सुरूको सदर गरी डिभिजन बेञ्चबाट समेत फैसला भइराखेको देखिएकोले वादीले प्रधान न्यायालयबाट जिती पाएको जग्गा फैसला तथा द.स.को ४३ नं.बमोजिम रीत पुर्‍याई प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुन आउने हो प्रस्तुत मुद्दामा सोबमोजिम चलन चलाई दिइसकेको नभई प्रधान न्यायालयले वादीले जिती पाएको जग्गालाई चलन चलाइपाउँ भनी पहिले दर्खास्त दिएको मुद्दामा अड्डैबाट चलन चलाई दिने ठहराएको सुरूको सदर गरेको डिभिजन बेञ्चको ०२२।११।१४ को फैसलाबमोजिम वादीबाट प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेको अवस्थाको नभई पहिले दर्खास्त दिएकोमा जरिवाना भएकोले दोस्रोपटक दर्खास्त दिन आएको छु चलन चलाइपाउँ भन्ने दर्खास्तबाट चलन चलाउने कारवाई भई चलन छाड्दैनौं भनी प्रतिवादीले कागज गरिदिएकोमा दोस्रोपटक चलन नछाडी जबरजस्ती गरेको भनी सजाय गर्न मिल्ने   देखिँदैन ।

            १५.   तसर्थ उपरोक्त उल्लिखितानुसार अड्डैबाट चलन चलाई दिनेसमेत गरेको इन्साफ सदर गरेको ०२२।११।१४।६ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीलाई प्रतिवादीबाट अड्डैबाट चलन चलाई दिनुपर्नेमा दर्खास्त लिई दोस्रोपटक चलन नदिएको भनी सजाय गर्नेसमेत ठहराएको शुरू जुम्ला तिव्रीकोट तथा मुगु जि.अ.को सदर गरेको कर्णाली अं.अ.को इन्साफ मनासिव ठहराएको डिभिजन बेञ्चको इन्साफ मिलेन बदर हुने ठहर्छ । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएको बमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी जुम्ला तिव्रीकोट तथा मुगु जिल्ला अदालतमा लेखिपठाउने कानूनबमोजिम गलत दिने......................१

सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२६।८।२९।१ को फैसलाले देहायको प्रतिवादी के जनही ।.।२।१६ दुई दिन सोह्र घडीका दरले कैद गर्ने गरेको हाल नलाग्ने भएकाले व्यहोरा जनाई सो लगत काटिदिने १

मु.सिंग वीर बूढा १, मोतिराम बुढा १, मिउमल बुढा १, दोस्रोकर वीर बूढा १, धनजीत बुढा १, गेर्‍या बूडा १, बिष्णु बुढा १, धनमल बुढा १, कमारे रोकाया १, मनहरे रोकाया १, मनसुरे रोकाया १, धनपति रोकाया १, दरीमान रोकाया १, वीरजिते रोकाया १, धनराम रोकाया १, जैधन रोकाया १, धने रोकाया १, हरिमल रोकाया १, दोस्रो धने रोकाया १, धनवीर बूढा १, भक्ते बूढा १, कमारे बूढा १, बुद्धि बूढा १,

कर्णाली अञ्चल अदालतको ०२६।३।१२ को फैसलाले देहायको प्रतिवादी के ।.।४।३२ चार दिन बत्तीस घडीका दरले गर्ने गरेको कैद हाल नलाग्ने भएकाले व्यहोरा जनाई लत काटिदिने...................२

मु.सिंगरूप बुढा १, कमारे बुढा १, मोतिराम ऐ.१, भिमले ऐ.१, दोस्रो करविर बुढा १, धनजीत बुढा १, गोरे ऐ.१, विसने ऐ.१, धनमले ऐ.१, कमारे रोकाया १, मनहरे बुढा १, मनसरे ऐ.१, गोविन्द ऐ.१, वीरजित ऐ.१, धनपति ऐ.१, दरिमान ऐ.१, जैधन बूढा १, घने ऐ.१, हरिमल ऐ.१, दोस्रो घने ऐ.१, धनवीर रोकाया १, धनवीर बूढा १, म.दधि ऐ.१,

जुम्ला तिव्रीकोट तथा मुगु जिल्ला अदालतको ०२५।०९।२६ को फैसलाले देहायको प्रतिवादीको जनही कैद महिना ।१।१५।१९ एक महिना पन्ध्र दिन उन्नाइस घडीका दरले गर्ने गरेको कैद हाल नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटिदिनु.........................३

धनमान बुढा १, धनवीर बुढा १, तुलवीरबुढा १, गोरे बुढा १, जैधन बुढा १, धने बुढा १, कमारे बुढा १, दरीमान बुढा १, भिउमल बुढा १, वीरजित बुढा १, धनमल बुढा १, कमारे बुढा १, गोविन्दे बुढा १, हरिमले बुढा १, नरपति बुढा १, धने बुढा १, मनसुरे बुढा १, साउने बुढा १, मु.सिंगवीर बुढा १, जीते बुढा १, भक्त बुढा १, मोतीराम बुढा १, प्रतिमा बुढा १, करवीर रोकाया १, बुद्धि बुढा १

प्रतिवादीहरूबाट पुनरावेदन गर्दा धरौट रहेको सुरूले गरेको कैदवापतको रू.१,६६९।४८ कर्णाली अञ्चल अदालतबाट गरेको कैद वापतको रू.१६३।२० र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा धरौट रहेको रू.८।७५ समेत सो धरौट रहेको रू.अर्को सूचना नआएसम्म रोक्का गर्नु भनी सर्वोच्च अदालतबाट ०२९।५।१५।४ मा जुम्ला तिव्रीकोट तथा मुगु जिल्ला अदालतमा लेखिगएको हाल इन्साफ उल्टी भई उक्त धरौट फिर्ता पाउने हुनाले रोक्का राख्नुपर्दैन । धरौट राख्ने प्रतिवादीलाई नै कानूनको रीत पुर्‍याई फिर्ता दिने ४, इन्साफ उल्टीमा देहायको व्यक्तिको रेकर्ड राख्नु भनी सर्वोच्च अदालत जनरल विभागमा लेखी पठाइदिनु १२। जुम्ला तिब्रीकोट तथा मुगु जि.अ.को जि.न्या.कृष्णवीर कर्माचार्य १

कर्णाली अञ्चल अदालतको अञ्चल न्यायाधीश गजेन्द्रकेशरी वास्तोला १

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. हेरम्बराज

 

इति सम्वत् २०३० साल चैत १३ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु