निर्णय नं. ८१० - जग्गा खिचोला

निर्णय नं. ८१० ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३० सालको दे.फु.नं. १५०
फैसला भएको मिति : २०३०।२।१८।६
निवेदक : पश्चिम १ नं. धादिङ जितारुका आयचौर बस्ने तुल्सीराम अधिकारी जैशी
विरुद्ध
विपक्षी : ऐ.चौतारा बस्ने जीतबहादुर अधिकारी क्षेत्री
मुद्दा : जग्गा खिचोला
(१) कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने, यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न नउठ्ने, आसामीले जग्गा चलन गर्न आएमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउने ।
राजीनामा लिखत पास नभए पनि जग्गा मैले भोग तिरो गरी आएकोमा जग्गा मिच्नेको १८ नं. को म्याद नाघिसकेपछि वादीको नालिस दावी लाग्न नसक्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र जग्गै वादीको भोगमा छैन भने खिचोला गरेको कसरी ठहर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल बहसमा मुख्य जोड दिनु भएको हकमा एकाको हकको जग्गामा अर्काको हक स्थापित हुनलाई पहिलेको जग्गाधनीले आफ्नो हक हस्तान्तरण गरेको कानूनबमोजिम रीत पुगेको लिखत हुनुपर्छ अनिमात्र अर्को व्यक्तिको हक स्थापित हुन सक्छ । कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने हुनाले यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न उठ्न नसक्ने र आसामीले आफ्नो हक खोजी आफ्नो जग्गा चलन गर्न आएकोमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउनेसमेत हुँदा उपरोक्त जिकिरहरूसँग सहमत हुन मिलेन । तत्काल प्रचलित रष्ट्रिेशनको ७ नं.मा यस्तो रजिष्ट्रेशन पास नभई लिखत कपाली भएको अवस्थामा भोग नपाएको जतिमा ऐनबमोजिमको शुदसमेत साहूले कपालीसहर भराइलिन पाउने कुरा उल्लेख भएकोले कपाली भएको लिखतबाट जग्गा साहूले भोग तिरो गर्नु नगर्नुको असर सुदपाउने नपाउनेसम्म कुरामा पर्न जाने देखिन्छ । लिखत पास नभए पनि साहूको भोग तिरो चलेकोमा जग्गामा साहूकै हक पुग्ने भन्ने उक्त रजिष्ट्रेशनको ७ नं. को मनसाय समेतबाट मिल्ने देखिँदैन ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०३०।१।१९ को हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : यदुकुमारका हकको भुत्याहा खेत ।४१।८।६ मध्ये ।२०।१४।३ रू.३०३ मा २००४।२।४।७ मा रणबहादुरलाई राजीनामा गरी दिएको म हकदार हुँदा विपक्षीबाट सापटी गरिलिई जग्गा निखनी निजलाई भोगबन्धकी दिएको निखनीपाउँ भन्ने उजूर गरी माल गोश्वाराबाट निखनी पाउने ठहरेकोमा सर्वोच्च अदालतमा पुनरावेदन पर्दा माल गोश्वाराले गरेको फैसला बदर भएको घरसारमा मिल्ने कुरा भई मोल रू.११००। कायम गरी रू.७९७ बुझाई रू.३०३ को ०२०।९।३ मा भरपाई गरिदिएकोले ७–१४ नं.फारामसमेत मैले भरेको सो जग्गामा ०२४।११।१६ गते गोरु जोत्न नदिई खिचोला गरे खिचोला मेटाइपाउँ भन्ने वादी ।
३. वादी दावीको जग्गा ०५ सालदेखि नै मेरो भागमा छ भन्ने कुरा सर्वोच्च अदालतलको फैसलासमेतबाट देखिएको छ । ०५ सालदेखि मैले तिरोभरो गरी आएको छु । विपक्षीको जग्गा भए जग्गा मिच्नेको २१ नं. को म्यादभित्र उजूर गर्नुपर्ने सो नगरेबाट वादी खारेज हुनु पर्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी ।
४. बन्धकी निखनाइपाउँ भन्ने मुद्दामा वादी दावीको जग्गा रू.११००। मा ०१४।१।१९ गते राजीनामा गराई लिएको भनी प्रतिवादीले बयान गरेको सो मुद्दामा जितबहादुरले निखनी पाउने ठहरी फैसला नभई तेरो मेरोमा उजूर गर्न जानु भनी सुनाउने भन्ने सर्वोच्च अदालतबाट फैसला भएको ०५ सालदेखि प्रतिवादीले तिरोभरो गरी भोग गरेको भए ०१४ सालमा राजीनामा गराउनु नपर्ने गराएको पास नभएकोसमेत हुँदा वादीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने धादिङ जिल्ला अदालतको ०२५।८।४।२ को फैसला ।
५. सोउपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
६. तुल्सीरामलाई भोगबन्धकीमा दिएको निखनाइपाउँ धनी जितबहादुरले उजूर गरेको मुद्दामा सर्वोच्च अदालतबाट ०२४।८।१७ मा फैसला भएकोमा तुल्सीरामको भोगको जग्गा ०२०।९।३० मा गोश्वाराबाट मिलापत्र भई मैले भोगेको भन्ने हकलाई रीतपूर्वकको मिलापत्र गरेको प्रमाण पेश गर्न नसकेको सो कागज करकापबाट गराएको ठहरी धादिङ जिल्ला अदालतबाट ०२५।८।४ मा फैसला भएको त्यसउपर जीतबहादुरको पुनरावेदन नपरेको ०२०।९।३० का मिलापत्रबाट मेरो हक हुन आई भोग गरिआएको जग्गामा खिचोला गरे भन्ने वादीको उजूरी लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने ०२७।१२।१८।४ को बागमती अञ्चल अदालतले हदमुनि गरी छिनेको फैसला ।
७. इन्साफ जाँच गरिपाउँ भन्ने वादीको निवेदन परी सयकडा ५ मा इन्साफ जाँच गरिदिने स्टेन्डिङ कमिटिबाट आदेश भएको ।
८. जग्गा बन्धकी निखनाइपाउँ भन्ने मुद्दामा मालगोश्वाराले छिनेको अ.बं.३५ नं.बमोजिम बदर गरी कानूनबमोजिम गर्नु भनी मिसिल मालमा पठाउने भनी ०२४।८।१७।१ मा सर्वोच्च अदालतबाट निर्णय भएको सो पछि त्यस मुद्दामा फिरादीले कुनै कारवाई चलाएको देखिएन । ०२० सालमा थैली बुझी भरपाई दिई मिलापत्र भएकोले मैले जग्गा भोगको भन्ने फिरादीको जिकिरलाई मिलापत्र पेश गर्न नसकेको भरपाई भन्नेतर्फ करकाप भनी तुलसीरामले उजूर गर्दा करकाप ठहरी धादिङ जि.अ.बाट ०२५।८।४।३ मा फैसला भएउपर जितबहादुरको पुनरावदेन नपरी अन्तिम भएको देखिएको । त्यतिमात्र नभई यिनी फिरादीले ०२७ सालमा धादिङ जि.अ.मा बयान गर्दा सो जग्गा प्र.तुल्सीरामको भोगमा रहेको ०२६ सालको फैसलाले मेरो हक भएको भनी बयान गरेको नक्कल बेञ्चसमक्ष देखाएको ०२६ सालमा फैसला भएको छैन ०२५ साल मार्ग ४ गते धादिङ जि.अ.बाट भएको फैसलालाई २६ साल भनी लेखाएको होला भनी वादी पक्षको वकिलले जिकिर गरेकोले ०२० सालदेखि मैले भोग गरेको भन्ने वादीको लेखाई साँचो देखिन आएन । प्र.तुल्सीरामलाई बन्धकमा दिएको जग्गाको ०२० सालमा मैले थैली बुझाई जग्गा भोग गरेको भन्ने कुरा उपरोक्त कारणबाट साँचो देखिन नआए पनि बन्धक दिएको भन्ने वादी, राजीनामा गरी लिएको भन्ने प्रतिवादी भई बन्धक वा राजीनामा जे भए पनि रजिष्ट्रशन पास नभएकाले सो लिखतबाट रजिष्ट्रेशनका ६ नं.मा अञ्चलमा दावा नपुग्ने हुँदा फिरादी जीतबहादुर आफ्नो जग्गा चलन गर्न आएपछि धेरै बर्ष भोग तिरो गरिसकेको जग्गै मेरो कायम हुने भन्ने प्रतिवादीको दावी पुग्न नसकी आफ्नो थैलीतर्फ कानूनबमोजिम गरी लिई जग्गामा दावी छाडिदिनुपर्नेमा जग्गे मेरो भन्ने प्रतिवादी जिकिर पुग्न सक्ने देखिएन । जग्गा प्रतिवादीका भोगमा भएको लिखत पास नभएतर्फ वादीले कानूनी तरिका अपनाई लिएको नदेखिनाले अ.बं.८२ नं. ले वादीको उजूर खारेज हुने भन्ने अञ्चल अदालतको तर्कलाई वादीबाट हक छुटाई लिए भनी जिकिर गर्ने प्रतिवादीले सो लिखत कानूनको रीत पुर्याई राखेको नदेखिनाले त्यस्तै लिखतबाट जग्गामा प्रतिवादीको हक पुग्ने अवस्था नदेखिँदा जग्गाको हक धनी वादीलाई वेसरोकारको भनी अञ्चल अदालतले खारेज गरेको र मिलेको देखिएन, खिचोला गरेको ठहराएको इन्साफ सुरूको मनासिव ठहर्छ भन्ने ०२९।८।१९।२ को डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत मुद्दा दोहर्याइदिनु भन्ने बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा निखनाइपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतको निर्णयानुसार धादिङ मालले मिति ०२४।११।१८ मा सुनाएकोमा सम्बन्धित अदालतमा नालिस उजूर नगरी उजूर गर्ने हकै गुमाई प्रस्तुत जग्गा खिचोला मुद्दा दायर गरेको देखिन्छ, जबसम्म सर्वोच्च अदालतबाट अघि निर्णय भएबमोजिम आफ्नो शुरू कथनअनुसार बन्धकी कायम गराई जग्गा निखनी लिएको हुँदैन तबसम्म विवादग्रस्त जग्गा आफ्नो हकभोगमा छ भन्ने आधार लिई यो प्रस्तुत मुद्दा चलाउन निजलाई हकदैया प्राप्त हुँदैन, प्रस्तुत मुद्दा अ.बं.८२ नं. ले दायर हुन नसकी खारेज हुने भन्ने कुरा स्वतःसिद्ध छ, २०२०।९।२०।३ को भरपाइबाट जग्गा मेरो अधिनमा भएको भन्ने वादी दावी भएकोमा सो भरपाई करकाप ठहरी फैसला भएको देखिएकोले वादी दावी समर्थित हुन आउँदैन, जग्गा भोग्दै नभोगेको वादीले सो जग्गामा खिचोला गर्यो भनी दायर गरेको नालिसको आधारमा खिचोला गरेको ठहर्छ भनी डिभिजन बेञ्चले निर्णय गरेको कानून र न्याय प्रतिकुल छ, सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिन्छ भन्ने समेत उल्लेख भएको ।
१०. यस बेञ्चसमक्ष निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले जग्गामा खिचोला गर्यो भन्ने वादी दावीको निर्णयको लागि खिचोला गरेको भनेको मितिमा जीतबहादुरको भोग थियो थिएन सो नै मुख्य विचार हुनुपर्छ । यसै जग्गा भोगबन्धकीमा भोग गरेको निखनाइपाउँ भनी उजूर गरेकोबाट जग्गा मेरो पक्षको भोगमा भएकोलाई मानिराखेकै छ । ०२७ सालमा बयान गर्दा जग्गा तुल्सीरामको भोगमा रहेको भनेको पनि छ । २० सालको भरपाइबाट पाएको भनेकोमा सो कागजउपर उजूर परी करकाप ठहरिसकेको छ । यी सब प्रमाणहरूबाट जग्गामा वादीको भोग देखिँदैन भने खिचोला गरेको ठहर्न सक्ने होइन । निखनाइपाउँ भन्ने मुद्दामा बन्धकी राजीनामा भन्ने विवाद भएकोमा सर्वोच्च अदालतको फैसलाअनुसार अदालतमा नलिस गर्न जानु भनी मालले सुनाएकोमा बन्धकी कायम गराई निखनाइपाउँ भन्नेतर्फ नालिस उजूर नगरेको समेतबाट वादीको उजूर लाग्न नसक्ने खारेजै हुनु पर्ने भन्ने समेत र, वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले बन्धकी निखनाइपाउँ भन्ने कुरामा मालले सुनाएपछि अदालतमा उजूर नगरे पनि जग्गा खिचोलामा यो नालिस परेकै छ । पास नभएको लिखतबाट जग्गामा प्रतिवादीले हक गर्न पाउँदैन । २१ सालदेखिको रसिद प्रतिवादीले पेश नगरेबाटै ०२० सालमा रूपैयाँ बुझाई जग्गा मेरो पक्षले भोग गरेको प्रष्ट देखिन्छ, डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा मेरो हकभोगको जग्गामा प्रतिवादीले खिचोला गर्यो भन्ने वादीको दावी भएकोमा प्रतिवादी तुल्सीरामले यस मुद्दाको प्रतिवादीमा वादी दावीको जग्गा यो यस परिबन्दबाट मेरो हक भएको भन्ने कुरा प्रष्ट नखुलाए पनि यही जग्गा बन्धकी निखनाइपाउँ भन्ने यिनै वादीले मैले दिएको बन्धकी निखनाई पाउँ भन्ने मुद्दालाई मुख्य आधार लिएको र उक्त मुद्दाको प्रतिवादीमा निज तुल्सीरामले झगडा परेको जग्गा वादी जीतबहादुरबाट ०१४।१।१९।४ मा रू.११००। मा राजीनामा गराई लिई मेरो हक भएको भन्ने जिकिर लिएको पाइन्छ । प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल बहसमा सोही राजीनामाबाट मेरो पक्षको हकभोग भएको भन्ने आधार लिनु भएको समेत हुँदा सो रू.११००। को राजीनामा भनेको कागजबाट जग्गामा प्रतिवादीको हक स्थापित भए नभएको के रहेछ त्यसतर्फ नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
१२. उक्त ०१४।१।१९।४ को रू.११००। को राजीनामा भनेको लिखत हेर्दा तत्काल प्रचलित रजिष्ट्रेशको ३ नं. अनुसार रजिष्ट्रेशन पास भए गरेको देखिन आएन, सोही रजिष्ट्रेशनको ७ नं. अनुसार रू.१००। माथिको लिखत रजिष्ट्रेशन पास नभएकोमा त्यस्तो पास नभएको कागजबाट अचल सम्पत्तिमा साहूको दावी लाग्न नसक्ने र लिखत कपाली सरह हुने कानूनी व्यवस्था प्रष्ट छ ।
१३. पहिले परेको बन्धकी निखनाइपाउँ भन्ने मुद्दामा बन्धकी राजीनामा के हो प्रमाण बुझी इन्साफ गर्नुपर्ने त्यस्तो अधिकार मालगोश्वारालाई प्रदान गरेको नदेखिएकोले माल गोश्वाराको फैसला बदर हुन्छ । वादीलाई झिकाई कानूनबमोजिम गर्नु भनी मिसिल मालमा पठाइदिने भन्ने ०२४।८।१७।१ को डिभिजन बेञ्चबाट फैसला भई मिसिल धादिङ मालमा गएको र उक्त मालले वादी जीतबहादुरलाई झिकाई उक्त फैसलाअनुसार कानूनबमोजिम गर्नु भनी ०२४।११।१८।६ मा सुनाएकोमा रजिष्ट्रेशनको ३५ नं.बमोजिम म्यादभित्र बन्धकी कायम गरी निखनाइपाउँ भन्नेतर्फ वादीले नालिस उजूर नगरी जग्गा खिचोलामा ०२५।१।३।२ मा यो नालिस गरेको रहेछ । हाल यसै कुरालाई लिई बन्धकी कायम गराई जग्गा निखनी लिनेतर्फ सर्वोच्च अदालतबाट अघि निर्णय भएबमोजिम उजूर नगरेपछि जग्गा आफ्नो हकभोगमा छ भनी खिचोला मुद्दा चलाउन वादीलाई हकदैया प्राप्त नहुने प्रस्तुत मुद्दा अ.बं.८२ बमोजिम खारेज हुनु पर्ने भन्दै तर्क उठाइएको पाइन्छ । यसतर्कको सम्बन्धमा यति नै भन्नु पर्याप्त हुन्छ कि पहिले मालमा परेको बन्धकी निखनाइपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाबमोजिम सम्बन्धित मालले सुनाएपछि बन्धकी कायम गरी निखनाइपाउँ भन्नेकुरामा रजिष्ट्रेशनको ३५ नं. अनुसार सर्वोच्च अदालतमा नालिस गरेको छैन भने त्यसको परिणाम पुनः बन्धकी हो भन्ने दावी जिकिर उठाउन नपाउनेसम्म हो अन्य लिखत सबूतको अभावमा सो उजूर नगरेकोसम्म कारणबाट जग्गामा वादीको हक मेटिन जाने र जग्गा खिचोलामा नालिसै गर्न नपाउने स्थिति पर्न आउँदैन ।
१४. राजीनामा लिखत पास नभए पनि जग्गा मैले भोग तिरो गरी आएकोमा जग्गा मिच्नेको १८ नं. को म्याद नाघिसकेपछि वादीको नालिस दावी लाग्न नसक्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र जग्गै वादीको भोगमा छैन भने खिचोला गरेको कसरी ठहर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल बहसमा मुख्य जोड दिनु भएको हकमा एकाको हकको जग्गामा अर्काको हक स्थापित हुनलाई पहिलेको जग्गाधनीले आफ्नो हक हस्तान्तरण गरेको कानूनबमोजिम रीत पुगेको लिखत हुनुपर्छ अनिमात्र अर्को व्यक्तिको हक स्थापित हुन सक्छ । कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने हुनाले यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न उठ्न नसक्ने र आसामीले आफ्नो हक खोजी आफ्नो जग्गा चलन गर्न आएकोमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउनेसमेत हुँदा उपरोक्त जिकिरहरूसँग सहमत हुन मिलेन । तत्काल प्रचलित रष्ट्रिेशनको ७ नं.मा यस्तो रजिष्ट्रेशन पास नभई लिखत कपाली भएको अवस्थामा भोग नपाएको जतिमा ऐनबमोजिमको शुदसमेत साहूले कपालीसहर भराइलिन पाउने कुरा उल्लेख भएकोले कपाली भएको लिखतबाट जग्गा साहूले भोग तिरो गर्नु नगर्नुको असर सुदपाउने नपाउनेसम्म कुरामा पर्न जाने देखिन्छ । लिखत पास नभए पनि साहूको भोग तिरो चलेकोमा जग्गामा साहूकै हक पुग्ने भन्ने उक्त रजिष्ट्रेशनको ७ नं. को मनसाय समेतबाट मिल्ने देखिँदैन ।
१५. तसर्थ माथि व्यक्त गरिएको कारणहरूबाट जग्गामा प्रतिवादीको हक पुग्न नसक्ने र वादीले आफ्नो हकको जग्गा भोग चलन गर्न आएकोमा प्रतिवादीले भोग चलन गर्न नदिई खिचोला उठाउन नपाउनेसमेत हुँदा वादीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरू धादिङ जिल्ला अदालतलको सदर गरी ०२९।८।१९।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले अरू केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
हामीहरूको सहमत छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३१ साल जेठ १८ गते रोज ६ शुभम् ।