शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८११ - अर्को लिखत गराइपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८११            ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. १४४

फैसला भएको मिति : २०३१।१।२७।६

निवेदक : का.जि. क्षेत्रपाटी बस्ने मुकुन्दबहादुर श्रेष्ठ समेत

विरुद्ध

विपक्षी : ऐ. इखापोखरी बस्ने गोविन्दमान श्रेष्ठसमेत

मुद्दा : अर्को लिखत गराइपाउँ

(१)   हक बेहकतर्फ ठहर गर्नुपर्ने स्थिति नभएकोमा हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा हदमाथिको हुने भन्न नमिल्ने ।

            यो मुद्दा हदमुनि या माथि के हुने हो भन्ने सम्बन्धमा हेर्दा हकबेहकको जुन बयानमा खुलाएको मोल बिगो रू.१०,०००। लाई कायम मानी हदमाथिको भनी बागमती अञ्चल अदालतको फैसलाउपर पुनरावेदन गर्न पाउने गरी ०२६।३।१९।५ मा आदेश भएको छ । सो हकबेहकतर्फ यस मुद्दाबाट ठहर गर्नुपर्ने स्थिति नभएको समेत माथिको प्रकरणमा उल्लेख भइसकेकोले सो हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा यो मुद्दा हदमाथिको हुने भन्न मिलेन । न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो रू.५,०००। भन्दा माथि बिगोको मुद्दामा र बिगो नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचरण वा तायदाती नआएको अंश मुद्दामा मात्र अञ्चल अदालतउपर पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको पाइन्छ । वादीले नालिस गर्दा अर्को लिखत गराइपाउँ भन्नेसम्म दावी लिई रू.५। कोर्टफी राखी नालिस गरेको यो यति बिगो भन्ने नखुलाएको र शुरू का.जि.अ.को फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन गर्दा पनि लिखत बदरतर्फको शुरू कोर्टफी रू.५। लाई नै कायम मानी पुनरावेदन गरेमा लाग्ने कोर्टफी राखी पुनरावेदन गरेको समेत हुँदा यो मुद्दा हदमाथिको देखिन आएन ।

(प्र.नं.१७)

निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

फैसला

      प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : म इन्द्रकुमारीको आमा मदनकुमारीका नाममा म इन्द्रकुमारीको रूपैयाँबाट का.ई.क्षेत्रपाटी इखापोखरीको घर जग्गा खरीद गरी लिई पछि सो जग्गामा मोटर ग्यारेज घर बनाउने खर्च म इन्द्रकुमारीबाटै लगाई घर मोटर ग्यारेज बनाई बसी भोगचलन गरिआएकोमा आमाको नामबाट खरीद भएकोले आमा आगे गरी बाबु कृष्णमान, कान्छो भाइ वाशुदेवमान अन्तरसाक्षी बसी गोविन्दमान लेखक भई सो जग्गा खरीद गर्दा र मोटर ग्यारेज र बनाउँदा पनि तिमीहरूको रूपैयाँ परेको हो, त्यसोहुँदा तिमीहरू बसुञ्जेल अर्थात् हामी छोरी नातिको जिन्दगी रहेसम्म बस्न चाहेमा बस्न पाउने र कदाचित छोडी जान चाहेमा जो परेको खर्च अर्थात् घर जग्गा खरीद गर्दा र मोटर ग्यारेज घर बनाउँदा लागेको खर्चसमेत अन्यायीहरूले दिने सो घर जग्गा हामीहरूले अन्यायीहरूलाई नै छाडिदिने रूपैयाँ दिनु भन्दाभन्दै अरूलाई बेच्न नपाउने गरी शर्त राखी भोग गर्ने व्यहोराको बन्देजी शर्तनामाको कागज लेखी ०११।२।२६।३ मा दिएको थियौं । गोविन्दमान, वासुदेवमानले मेरो हक भोगको जग्गा भनी घर बनाउन नक्सा पास गर्न का.न.पं.मा दर्खास्त दिएकोमा मुद्दा परेकोले सो मुद्दामा प्रमाण लगाउन सो सक्कल कागज सूर्यप्रसाद श्रेष्ठलाई दिएको थियो । निजले दाखिल गर्न का.न.पं.मुद्दा फाँटमा जाँदा बाटोमा खसी हरायो भनी ०२१।७।१६ मा काठमाडौं डि.एस.पी.अफिसमा हुलिया दर्खास्त दिई सोही व्यहोराको दर्खास्त का.न.पं.मुद्दा फाँटमा दिएको रहेछ । ०२१।७।३०।१ मा नक्कल सारी लिँदा थाहा भई अर्को कागज गरिदेउ भन्द गरी नदिएकोले लेनदेन व्यवहारको १ नं.बमोजिम अर्को लिखत गराइपाउँ भन्ने वादी ।

      ३.    इन्द्रकुमारीको पैसाबाट इखापोखरीको घर जग्गा मदनकुमारीका नाममा खरीद भएको पनि छैन । वादीकै पैसाबाट ग्यारेज इत्यादि बनाई बसेको समेत कुनै कुरा होइन । वादीको दावीबमोजिमको शर्तनामाको कागज पनि गरिदिएको छैन । वादी दावा झुठ्ठा हो भन्ने समेत कृष्णमान, गोविन्दमान, वासुदेवमान समेतको संयुक्त प्रतिवादी ।

      ४.    शर्त बन्देजको कागज बनाइपाउँ भनेको घर जग्गा मोटर ग्यारेज घर कस्को रूपैयाँबाट खरीद गरी बनाएको हो प्रतिवादीहरूबाट हकबेहक गराउनु पर्ने भएकोले हकबेहकमा बयान गराई कोर्टफी दाखिल गराउनेसमेत का.जि.अ.बाट आदेश भई वादीको बयान गराउँदा इन्द्रकुमारीको रूपैयाँबाट आमाका नाममा खरीद भएको जग्गामा घर ग्यारेज बनाई मैले भोगेको हुँ घर ग्यारेज मेरो रूपैयाँबाट बनेको छ घर ग्यारेज मेरो कायम गरिपाउँ जग्गा घर ग्यारेज समेतको रू.१०,०००। मोल पर्छ भन्ने समेत वादीको वा.अमृतबहादुरको बयान भई कोर्टफी दाखिल गरेको ।

      ५.    वादी दावाको लिखत रजिष्ट्रेशनको १ नं. ले पास गर्नुपर्ने पास नभएकोले त्यस्तो लिखतबाट वादी दावा लाग्न नसक्ने भन्ने समेत प्रतिवादीको बयान ।

      ६.    वादीले दाखिल गरेको गोविन्दमानको हस्ताक्षरबाट लेखेको कागज गोविन्दमानले लेखेको होइन कीर्ते हो भन्ने समेत प्रतिवादीको र सद्दे नै हो भन्ने वादीको बयान ।

      ७.    मुख्य कागज हराएको खेस्रा छ सोबमोजिम हकदारबाट अर्को कागज गराइपाउँ भन्ने नालिस हुनाले सो कागजले कति कानूनी अधिकार दिन्छ भन्नेबारे दावी नहुनाले दावी नभएको कुरामा कारवाई चलाई कोर्टफी लिन न्यायोचित नहुनाले त्यसतर्फ यो मुद्दाबाट निर्णय दिन नमिल्ने भई पछि लिएको कोर्टफी वादीलाई वापस गराइदिने वादीबाट पेश भएको खेस्रा कागजको अक्षर र प्रतिवादी गोविन्दमानको इजलासमा लेखाइएको हस्ताक्षर मिल्ने देखिएको कागज हराएको दैवी होइन । हराएको मिति फरक छ भन्ने प्रतिवादीको जिरह नभएको लेनदेन व्यवहारको १ नं. ले त्यस्तो कागज दैवी परेको रहेछ अर्को गरिदिनु पर्ने हुँदा खेस्राबमोजिमको कागज वादी इन्द्रकुमारीलाई प्रतिवादी ३ जनाले दिनु पर्ने ठहर्छ भन्ने का.जि.अ.को ०२३।१२।२९।३ को फैसला ।

      ८.    सोउपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन ।

      ९.    जि.अ.मा लेखाएको हस्ताक्षर र खेस्राको हस्ताक्षर गोविन्दमानको देखिन आएको समेत हुँदा दावीबमोजिम अर्को कागज गरिदिनु पर्ने ठहराएको इन्साफ सुरूको मनासिव ठहर्छ भनी हदमुनि गरी बागमती अञ्चल अदालतले ०२५।११।१।४ मा फैसला गरेको ।

      १०.    विगोबाट हदमाथिको मुद्दालाई हदमुनि गरी छिनेकोले पुनरावेदन दिने अनुमती पाउँ भनी प्रतिवादीहरूको निवेदन परेकोमा वादीको बयानमा प्रचलित मोल रू.१०,०००। भनी लेखेको प्रस्तुत मुद्दाहरूमाथि कुनैमा हदमुनि गरी फैसला गरेको कानूनी प्रश्नमा जटिलता समेत हुन आएकोले पुनरावेदन दिने नै अनुमती दिएको छ भनी तत्काल प्रचलित न्यायप्रशासन (विविध व्यवस्था) ऐनअन्तर्गत तत्कालिन माननीय श्री प्र.न्या.ज्यूबाट ०२६।३।१९।५ मा आदेश भई बा.अं.अ.को फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परेको ।

      ११.    ग्यारेजको भुक्तानी मोल तिरी उठाउन पाउने अर्को लिखत गराइपाउँ भन्ने यस मुद्दामा अघि गरिदिएको लिखत दैवी परेमा बाटाका म्यादबाहेक ७ दिनभित्र आफ्नो सहिछाप गरी नजिकको प्रहरी कार्यालयमा दिनु पर्ने वाध्यता लेनदेन व्यवहारको २ नं. ले गरेकोमा सोबमोजिम वादीले दर्खास्त दिएको देखिन आएन मेरो प्रमाणको कागज सूर्यप्रसादसँग छ भनी इन्दुकुमारीले नगरपञ्चायतमा भनेको नगरपञ्चायतमा जाँदा भएको कागजमध्ये ०१९।२।२६।३ को मदनकुमारी आगे भएको कागज कोटको जेबबाट खसी हरायो भनी सूर्यप्रसादले ०२१।७।१६ गते डि.एस.पि.कार्यालयमा दिएको दर्खास्तलाई सिरान हाली दायर गरेको यो फिराद लेनदेन व्यवहारको १ नं. को रीत नपुगेको हुनाले खारेज हुन्छ भन्ने ०२९।१।९।६ को डिभिजन बेञ्चको फैसला ।

      १२.   प्रस्तुत मुद्दा दोहर्‍याइदिने बारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा जसको जिम्मा दिइएको सवाल कागज हो उसले नै हरायो भनी लेनदेन व्यवहारको १ नं.मा लेखिएको म्यादैभित्र हराउनेले नै सहिछाप गरी दर्खास्त हुलिया दिएकोमा सो दर्खास्त कायमै गरी कारणीले फिराद दिएको देखेपछि लेनदेन व्यवहारको १ नं. को रीत नपुगेको भन्न मिल्ने देखिएन भन्ने समेत उल्लेख भएको ।

      १३.   यस बेञ्चसमक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले पुनरावेदनको म्याद दिनु पर्ने नदिएको भए अ.बं.१९७ नं. अनुसार मैले फैसला नक्कल लिएकोमा सो मितिले ३५ दिनभित्र पुनरावेदन दिन पाउने व्यवस्था छँदैछ । हकबेहकमा सुनाउन नपर्ने सुनाई बयान गराएकोमा खुलाएको विगोलाई लिई हदमाथिको मुद्दालाई हदमुनि गरी फैसला गरेको भन्नेकुरालाई कानूनी प्रश्नको जटिलता भनी न्यायप्रशासन (विविध व्यवस्था) ऐनअनुसार पुनरावेदनको अनुमती दिएको मिलेको छैन । त्यसकारण प्रतिवादीको बा.अं.उपरको पुनरावेदन खारेज हुनुपर्छ, यदि पुनरावेदन कायमै मानी इन्साफ हुने भएको खण्डमा पनि मेरो पक्षले पेश गरेको खेस्रा लिखत गोविन्दमानकै हस्ताको भनी विशेषज्ञले प्रमाणित गरेको त्यसबाट दावीबमोजिम लिखत भएकै देखिन्छ । सूर्यबहादुरले हराएकोमा निजले दर्खास्त दिएकोलाई हक पुग्नेले स्वीकार गरी नालिस गरेकोलाई लेनदेन व्यवहारको १ नं. को रीत नपुगेको भन्न मिल्दैन । डिभिजन बेञ्चको इन्साफ बदर भई बा.अं.अ.को इन्साफ कायमै हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले तत्कालिन प्रधान न्यायाधीशज्यूले हेरी कानूनी प्रश्नको जटिलता समेत हुन आएको भनी पुनरावेदनको अनुमती दिई पुनरावेदन परेकोमा अहिले उक्त आदेशको औचित्यमा कुनै कुरा बोल्न मिल्दैन । लेनदेन व्यवहारको १ नं.साहू आसामी भई भए गरेको लिखतमा सम्म लागू हुने हो यो त्यस किसिम साहू आसामी बनी कर्जा लिनुदिनु गरी भएको लिखत हराएको भन्ने दावी छैन त्यसकारण लेनदेन व्यवहारको १ नं. को व्यवस्था यसमा लागू हुन सक्ने देखिँदैन । उसमा पनि उक्त लेनदेन व्यवहारको १ नं. अनुसार पहिले परेको लिखत दैवी पर्‍यो, अर्को लिखत गराइपाउँ भन्नेकुरामा लिखत भएको र दैवी परेको यो दुवै कुराको पक्का प्रमाण पुग्नु पर्छ यी दुवै कुराको पक्का प्रमाण पुग्न सकेको पनि छैन । डिभिजन बेञ्चको फैसला कायमै हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १४.   यसमा बागमती अञ्चल अदालतले हदमुनि गरी छिनेउपर पुनरावेदन गर्न पाउँ भनी प्रतिवादीहरूको निवेदन परेकोमा हकबेहकतर्फ वादीको बयानमा जग्गा घर ग्यारेजसमेतको मोल रू.१०,०००। भराएको भन्नेकुरालाई आधार लिई प्रस्तुत मुद्दा हदमाथि हुनेमा हदमुनि गरी फैसला गरेको कानूनी प्रश्नमा जटिलतासमेत हुन आएकोले पुनरावेदनको अनुमती दिएको छ भन्ने ०२६।३।१९।५ को तत्कालिन प्रधान न्यायाधीशज्यूबाट आदेश भई पुनरावेदन दर्ता भएकोलाई कायम राखी ०२९।१।९।६ को डिभिजन बेञ्चले छिनेको रहेछ । हकबेहकमा सुनाउनै नपर्ने सुनाई हक बेहकको बयानमा खुलाएको विगोलाई लिई हदमुनिको मुद्दालाई हदमाथिको भनी पुनरावेदनको अनुमती दिएको मिलेको छैन । पुनरावेदन नै खारेज हुनुपर्छ भन्ने निवेदक वादीतर्फका विद्वान अधिवक्ताले बहसमा मुख्य जिकिर लिनु भएको समेत हुँदा प्रस्तुत मुद्दामा घर जग्गा मोटर ग्यारेजसमेतको हकबेहकको ठहर गर्नुपर्ने स्थिति छ छैन ? यदि सो नभएमा यी मुद्दा हदमुनि या माथिकै हुने हो ? यति प्रारम्भिक प्रश्नहरू उपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।

      १५.   घरजग्गा मोटर ग्यारेजसमेतको हकबेहक गर्नुपर्ने स्थिति नभएको सम्बन्धमा हेर्दा वादीहरूको नालिसमा मदनकुमारी आगे र बाबु कृष्णमान कान्छो भाइ वासुदेवमान अन्तरसाक्षी बसी गोविन्दमान लेखक भई सो जग्गा खरीद गर्दा र मोटर ग्यारेज घर बनाउँदा पनि तिमीहरूको रूपैयाँ परेको हो, त्यसो हुँदा तिमीहरू बसुन्जेल अर्थात् हामी छोरा नातिको जिन्दगी रहेसम्म बस्न चाहेमा बस्न पाउने कदाचित छोडी जान चाहेमा जो परेको खर्च अर्थात् घर जग्गा खरीद गर्दा र मोटर ग्यारेज घर बनाउँदा लागेको खर्च अन्यायीहरूले दिने सो घर जग्गा हामीहरूले अन्यायीहरूलाई नै छाडिदिने रूपैयाँ दिन्छु भन्दाभन्दै अरूलाई बेच्न नपाउने शर्त राखी भोग गर्ने व्यहोराको बन्देजी शर्तनामाको कागज ०११।२।२६।३ मा गरिदिएको हराएकाले अर्को गराइपाउँ भन्ने मुख्य दावी लिएको पाइन्छ ।

      १६.    मदनकुमारीको नाममा खरीद भएको घर जग्गा र निजकै नाममा बनेको मोटर ग्यारेजसमेत प्रतिवादीहरूले हस्तान्तरण गरी दिई कानूनबमोजिम हाम्रो हक स्थापितको लिखत भए गरेको भन्ने वादी दावी नभएको र जुन हराएको लिखतको खेस्रा भनी वादीले पेश गरेको छ, त्यसमा घर जग्गा मोटर ग्यारेजसमेतमा बहालमा बस्न दिनेसमेत शर्त रहेको वादीहरूको हक स्थापित गरिसकेको व्यहोरा परेको देखिन पनि नआएकोले यस मुद्दामा घर जग्गा मोटर ग्यारेजसमेतको हकबेहकको ठहर गर्नुपर्ने स्थिति उत्पन्न भएको देखिँदैन । वादीहरूले नालिसमा दावी लिएको ग्यारेज घरमा बस्न दिनेसमेत व्यहोराको अर्को शर्त लिखत गराइदिनु पर्ने नपर्नेसम्म यस मुद्दाबाट निर्णय हुन सक्ने हो, शुरू का.जि.अ.ले पहिले हकबेहकतर्फ बयान गराई कोर्टफी लिनेसमेत आदेश गरी बयान गराएको र कोर्टफी लिएको भए पनि पछि फैसला गर्दा हकबेहकतर्फ यस मुद्दाबाट निर्णय दिन नमिल्ने पछि थप लिएको कोर्टफी वादीहरूलाई नै वापस दिने ठहर गरी हकबेहकमा सुनाई बयान गराएको समेत कारवाईलाई अमान्य गरिसकेको समेत हुँदा घर जग्गा मोटर ग्यारेजसमेतमा हकबेहकको निर्णय दिनु पर्ने यो मुद्दा देखिन आएन ।

      १७.   यो मुद्दा हदमुनि या माथि के हुने हो भन्ने सम्बन्धमा हेर्दा हकबेहकको जुन बयानमा खुलाएको मोल बिगो रू.१०,०००। लाई कायम मानी हदमाथिको भनी बागमती अञ्चल अदालतको फैसलाउपर पुनरावेदन गर्न पाउने गरी ०२६।३।१९।५ मा आदेश भएको छ । सो हकबेहकतर्फ यस मुद्दाबाट ठहर गर्नुपर्ने स्थिति नभएको समेत माथिको प्रकरणमा उल्लेख भइसकेकोले सो हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा यो मुद्दा हदमाथिको हुने भन्न मिलेन । न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो रू.५,०००। भन्दा माथि बिगोको मुद्दामा र बिगो नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचरण वा तायदाती नआएको अंश मुद्दामा मात्र अञ्चल अदालतउपर पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको पाइन्छ । वादीले नालिस गर्दा अर्को लिखत गराइपाउँ भन्नेसम्म दावी लिई रू.५। कोर्टफी राखी नालिस गरेको यो यति बिगो भन्ने नखुलाएको र शुरू का.जि.अ.को फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन गर्दा पनि लिखत बदरतर्फको शुरू कोर्टफी रू.५। लाई नै कायम मानी पुनरावेदन गरेमा लाग्ने कोर्टफी राखी पुनरावेदन गरेको समेत हुँदा यो मुद्दा हदमाथिको देखिन आएन ।

      १८.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट हदमाथिको हुन नसक्ने यो मुद्दालाई हदमाथिको भनी बा.अं.अ.को फैसलाउपर पुनरावेदन लाग्ने अनुमती प्रदान गरी २०२६।३।१९।५ मा दिएको आदेश नै मिलेको नदेखिएकोले सो आदेशको आधारमा दर्ता भएको पुनरावेदन नै खारेज हुने ठहर्छ । सो पुनरावेदन कायम राखी ०२९।१।९।६ को डिभिजन बेञ्चले नालिस खारेज हुने ठहर गरेको मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

का.जि. क्षेत्रपाटी इखापोखरी बस्ने वादी इन्द्रकुमारी श्रेष्ठ १, मुकुन्दबहादुर श्रेष्ठ १, कृष्णबहादुर श्रेष्ठ १ जना ३ को नालिस गर्दा राखेको कोर्टफी रू.५ मध्ये रू.४। र २२।५।३० मा दाखिल गरेको कोर्टफी रू.४२०। समेत ०२९।१।९।६ को डिभिजन बेञ्चको फैसलाले फिर्ता दिने गरेको लगत काटिदिनु भनी का.जि.अ.तहसील फाँटमा लगतदिनु..........................१

प्रतिवादी ऐ.ऐ.बस्ने कृष्णमान श्रेष्ठ १, वासुदेवमान श्रेष्ठ १, गोविन्दमान श्रेष्ठ १ जना ३ ले बा.अं.अ.उपर पुनरावेदन गर्दा कोर्टफी रू.६३।३० र जरिवाना रू.।५० समेत जम्मा रू.६३।८० दाखिल गरेकोमा ०२९।१।९।६ को डिभिजन बेञ्चको फैसलाले जरिवाना रू.।५० समेत फिर्ता दिने गरेको सोमध्ये जरिवाना रू.।५० फिर्ता नपाउने हुँदा उक्त रू.६३।८० मध्ये जरिवाना रू.।५० फिर्ता दिने गरेको लगत काटिदिनु भनी ऐ............................२

ऐ ऐ.बस्ने वादी मुकुन्दबहादुर श्रेष्ठ १, कृष्णबहादुर श्रेष्ठ १, इन्द्रकुमारी श्रेष्ठ १ जना ३ ले मुद्दा दोहर्‍याउँदा ०२९।६।१।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.४२। नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ अनुसार ३ बर्षभित्र लिन आएमा कानूनबमोजिम फिर्ता बुझाइदिनु...........................३

नियमबमोजिम मिसिल बुझाइदिनु..............................४

 

हामीहरूको सहमती छ ।

 

न्या. वाशुदेव शर्मा,

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३१ साल वैशाख २७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु