शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१२ - ज्यान

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८१२      ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२५ सालको फौजदारी पुनरावेदन नम्बर ५२८

फैसला भएको मिति : २०३१।१।१६।२

निवेदक      : जि. दैलेख दुल्लु खड्गा वडा घर भई दैलेख कारागारमा थुनामा बस्ने भुवाने बस्नेत क्षेत्री

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने हर्के दमाईको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव नपर्ने ।

            यस मुद्दामा भने बस्तु नै नभएकोले पुष्टि हुने कुरा गुज्रन गएन, सामान्य नियमले पोलाहाले पुर्‍याउनु पर्ने सबूत अभियुक्तले वारदात गरेकै थियो । वादरदातमा अभियुक्त थियो भनी बताउन सकेको छैन । लालमति गाउँघरमै छ वा जीवितै छ भन्ने केही देखिँदैन । यसरी शंकाकुल तथ्यमा अभियुक्तलाई सजाय तोक्न उचित हुन्छ हुँदैन भनी निर्णय गर्नुपरेको छ । जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव पर्दैन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाईदिनु ।

(प्र.नं.१७)

उल्लिखित मुद्दा : (फौ.पु.नं.१७ लक्ष्मण राउत अहिर वि.श्री ५ को सरकार)

फैसला

     न्या. हेरम्बराज

      १.     पुनरावेदक भुवाने बस्नेतले जाहेरवाला हर्के दमाईँकी छोरी लालमतिलाई ज्यान मारेको अभियोग लगाई जन्मकैदको सजाय हुने गरी शुरू दैलेख जिल्ला अदालतबाट भएको इन्साफ मनासिव ठहराई भेरी अञ्चल अदालतबाट भएको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी भुवाने बस्नेतको पुनरावेदन परिआएको यस मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ :

      २.    भुवाने क्षेत्रीले मेरी छोरी लालमती दमिनीलाई करणी गरी गर्भधारण गरेकी रहिछ । २०२४।६।१९ का बखत निजहरू गीत गाउन गएका बखत भुवानी बस्नेतसँग लालमतीले तिम्रा करणीले मेरा पेटमा गर्भ रहृयो अब के गर्ने भन्ने कुरा गर्दा भुवानेले भोलि राती भागी भारततर्फ गई बसौंला भन्ने कुरा गरेको लालमतीको साथी पानमती, जुना दमिनीसमेतले सुनेका रहेछन् । ०२४।६।२० गते अं.रातको ९ बजे निज लालमती घरबाट निस्किएकी र घर नआएकीले उक्त कुरा मानवतीसमेतले भनेबाट थाहा पाई ऐ.२१ गते भुवानेका घरमा गई सोद्धा भुवाने पनि घर नभएको र बेलुका ६ बजे घर आएको थाहा पाई गई सोद्धा लालमतीलाई करणी गरेको निजलाई लिई भागेको छैन भिनाजुको घर गएको थिएँ भनेको हुँदा लालमतीलाई मारी कर्णालीमा फाली आएकोमा भुवानेउपर पूरा शंका लाग्छ भन्ने समेत हर्के दमाईँको मिति ०२४।७।२६।१ को जाहेरी दर्खास्त ।

      ३.    तिम्रो करणीबाट मेरो पेटमा गर्भ रहृयो अब तिमीलाई छाड्दिन भनी पानमतीले भुवानेलाई भन्दा भोलि २० गते बेलुका देशतर्फ जाउँला भनेको आश्विन १९ गते सुनेको हुँ भुवानेले लालमतीलाई मारी कर्णाली नदीमा फाली घर आएको कर्तव्यमा शंका लाग्छ भन्ने समेत पानमती, जुना दमिनीको र म दीपबहादुर जुना, पानमती ०२४।६।१९ का रात गीत गाउन थाल्दा लालमती भुवाने केही फरकमा बसेका हुँदा के कुरा गरे थाहाछैन २० गते रात दुवैजना भागी गए भन्ने सुनें । भुवानेमात्र घर फर्की आएकोले निजेले मारी कर्णाली नदीमा फालिदिएको शंका लाग्छ भन्ने समेत सार्की दमाईँं र सोही मिलान गरी भुवानेले लालमतीलाई कर्णाली नदीमा मारी फालेको शंका लाग्छ भन्ने समेत प्रभा खड्कासमेत जना ५ को प्रहरीमा भएको ठाडो कागज र लालमतीसँग गीत गाउन साथी फेला नपरी १८ गते फर्की गगनबहादुरको छाडेको एक्लो घरमा एक्लै सुती २० गते भिना प्रभाको खड्काको घर गई २१ गते घर आएको हुँदा मैले पानमतीलाई करणी गरेको भगाई लगेको मारी कर्णाली नदीमा फालेकोसमेत छैन भन्नेमसेत भुवाने बस्नेतले प्रहरीमा गरेको ठाडो कागज बयान रहेछ ।

      ३.    बुझिएका यथार्थ सबूत प्रमाणको आधारले भुवानेले लालमतीलाई कर्तव्य गरी मारेको देखिन आएबाट निज भुवाने बस्नेतउपर ज्यानसम्बन्धीको १३ नं. को दफा ३ अनुसार कारवाई भई सजाय हुनु पर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।

      ४.    लालमती दमिनीसँग ०२३ साल आषाढदेखि हाँसख्याल गर्ने रात्रीमा गीत गाउने गर्दै आएको थिएँ । आश्विन १८ गते रात्री पनि जुना, पानमती लालमती र देवबहादुर सार्की दमाईँसमेत गगनबहादुर शाहीको छोडेका गोठमा जम्मा भई म टाउको दुखेकोले सुतें अरूले गीत गाएका थिए । बिहान उठी सब घरतर्फ गयो । १९ गते दिनरात म आफैं घरमा छु, २० गते आफ्नै खेतमा गएको अवस्थामा भान्जा विरामी छन्, हेर्न जानु भनी भनेको छ भन्ने खबर नाम नचिनेका २ जना कामीले भनेबाट भिनाजुको घर कटुवाल गाउँ गई भानिजलाई फाकफुक गरी २१ गते शनिवार व्रत हुँदा घर आइपुगेँ । लालमतीको बाबुले भेटी मेरी छोरी कता गई भने, तिमीमात्र घर आयौ भनी सुनायो । मसँग गएको छैन भन्दा म पञ्चायतमा उजूर दिन्छु भन्यो । मैले लालमतीको कर्तव्य गरी कर्णालीमा फालेको समेत नहुँदा कसूर गरेको छैन । लालमतीको पेटमा गर्भ भए नभएको मलाई थाहा छैन । निजको लोग्ने गड्डे दमाईँ २ बर्षदेखि भारतमा नोकरी गरी बसेको छ । लालमती आश्विन २० गतेदेखि हराएकी छ भन्ने सुन्छु । मरे बाँचेको यकिन गर्न सक्दिन । भाद्र महिनामा गीत गाउन जाँदा लालमतीसँग २ पटक करणीमा चुकेको थिएँ, त्यसैबाट लालमतीले गर्भ रहेको कुरा गरेको हुनुपर्छ, पानमती, जुना र देवबहादुर सार्की दमाईँँको बयान झुठ्ठा हो भन्ने समेत भुवानेले अदालतमा गरेको बयान रहेछ ।

      ५.    ससुराली फूपूको घरसमेतमा गई खोज खबर गर्दा कतै छोरी रहिनछ, लोग्ने ३ बर्षदेखि देश भारततर्फ नोकरी गरी बसेको छ । १०।१२ दिन अघि ज्वाईं घर आइपुग्नु भयो, त्यहाँ पनि छोरी रहेनछ । खास भुवानेउपर शंका लागि कर्तव्यमा जाहेर गरेको छु, छोरीको गर्भ रहेको कुरा म बाबु भएकाले सोध खोज गरेको थिइन । गर्भ भुवानेको भन्ने कुरा चलेको रहेछ । यदि मंसीर महिनादेखि ऐ.ऐ.सम्म ३ पटक छोरी लालमती राती सपनामा आई वा मलाई त्यही सत्रुले कर्णाली नदीमा धकेली फ्याँकिदियो भन्ने सपनासमेत देख्ने गरेकी छु भन्ने समेत जाहेरवाला हर्के दमाईँको अदालतमा बयान भएको रहेछ ।

      ६.    अकेली आइमाई एकजनामात्र गायव भएकी अन्यत्र कतै गई हालसम्म जीवित होली भन्न न्यायसंगत नहुँदा र १९ गते राती गीत गाउने पानमती समेतको लेखाइबाट र २० गते भुवाने रातीदेखि नै आफ्नु घर र भिनाको घरमासमेत नरहेकोले सो २० गते रातीदेखि भुवाने र लालमती एकै सँगसाथमा हुन गएको बुझिएसम्मको प्रमाणबाट समर्थन देखिन आउँछ । अभियुक्तले लालमतीबाट गर्भ भएको कुरा सुनेपछि छोरी जानकी भन्ने ख्याल उत्पन्न हुन गई करणीको अपराध छिपाउन अर्को अपराध गर्न नहिचकिचाउने मानिस सन्तुलन गर्न नसक्ने अवस्थामा पुग्न गई लालमतीलाई भुवानेले नै कर्तव्य गरी मारेको हुँदा सर्वस्व सहित जन्मकैद हुन्छ भन्ने समेत शुरू दैलेख जिल्ला अदालतको मिति ०२५।३।२२।६ को जाहेरी फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन करणी गरेको सत्य कुरा बयानमा भनेपछि कर्तव्य गरेको भए सावित हुने नै थिएन । भिनाजु प्रभा खड्कासमेतलाई अदालतबाट झिकाई गल्ती इन्साफ उल्टाइपाउँ भन्ने समेत भुवानेको पुनरावेदन परेकोमा सो २० गते रात भुवाने घरमा नभएको र भिनाजु प्रभा खड्कासमेतले मेरो घरमा आएको छैन भनी लेखेको अर्काको स्वास्नी गर्भ बोकेपछि भुवानेलाई दबाउन छिपाउन अवस्था परेको आजसम्म यस ठाउँमा छ भन्न लेख्न नसकेको र बुझिएको सर्जमिनसमेतका लेखाईबाट समेत भुवानेउपर कर्तव्यमा शंका देखिन आएकोले समेत इन्साफ सुरूको मनासिव ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको मिति ०२५।७।१८।१ को जाहेरी फैसला ।

      ८.    उक्त इन्साफमा चित्त बुझेन पानमतीले मेरा भाइ जोरासौलाई करणी गरेका छन् भनी हाल वेइज्जत गरेकोसमेत अदालतमा मुद्दा परिरहेको छ । त्यसबाटसमेत हर्के दमाईँ इवीवाला भन्ने देखिएकै र लालमतीको लोग्ने भारतमा भएको कुरा हर्केकै बयानबाट प्रष्ट देखिएकै छ र छोरी लालमतीलाई ज्वाइँ भएको ठाउँ या अन्त कतै राखी पठाई म उपर इवी साधन गर्न झुठ्ठा मुद्दा लगाएको हो । भिनाजु प्रभासमेतलाई अदालतबाट नबुझाएकोले बुझी गल्ती इन्साफ उल्टाइपाउँ भन्ने समेत प्रतिवादी भुवानेको पुनरावेदन परी आएकोमा डिभिजन बेञ्चका ०२८।३।२१।२ का आदेशअनुसार बुझिआएको व्यक्तिहरूको बयान निम्न लेखिएअनुसार रहेछ ।

(१)    पुलिसले गराएको ०२४।७।२९ को कागजमा इन्सपेक्टर साहेबसमेतको डरले सही गरेको छु । घरमा मेरो छोरो विरामी भएकोले भूत लागेको पन्छाउन ०२४।७।२० गते भुवाने सिंलाई साथ लिई बेलुकी मेरो घर पुगी उस दिन बेलुका भुवानेले धामी बसी हाकहुक गरी भोलिपल्ट शनिवारको व्रत छ भनी खाना नखाई बिहानै आफ्नो घरतिर गएको हो भनेकोमा झुठ्ठा लेखी सही गराएका छन् । भुवानेका र लालमतिको हाँसख्याल भई निजको करणीले गर्भ थियो थिएन लालमतीलाई कर्तव्य गरी मारे नमारेको केही थाहा छैन भन्ने समेत प्रभा खड्का क्षेत्रीले ०३०।५।२८ मा दैलेख जिल्ला अदालतमा गरेको बयान ।

(२)   ०२४।७।२४।४ मा डोरमा गराएको कागज मैले भनेबमोजिम लेखिएको हो । लालमतीलाई भुवानेले मारेको हो भन्ने कुरा मलाई विश्वास छ भन्ने समेत सार्की दमाईँ र पानमतीको एकै व्यहोरा मिलान र सोही बयान मिलान गरी लालमतीलाई भुवानेले कर्तव्य गरी मारी कर्णाली नदीमा फालेको मलाई पूरा शंका लाग्छ भन्ने समेत माइली दमिनी र जुना दमिनीको एकै मिलान पृथक पृथक बयान भएको रहेछ ।

      ९.    शंकाको भरमा कसूर कायम गरेको सुरूको सदर गरी छिनिएको अञ्चल अदालतको फैसला मिलेन अ.बं.२०२ नं.र स.अ.नियमावलीबमोजिम बहस निमित्त सरकारी अधिवक्ता उपस्थित गराई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०३०।७।२७।२ को आदेश ।

      १०.    यसमा प्र.भुवाने बस्नेत क्षेत्रीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दामा शुरू तथा अञ्चल अदालतबाट भएको इन्साफ मनासिव या गल्ती के रहेछ निर्णय दिनुपरेको छ । अभियुक्ततर्फको वैतनिक अधिवक्ता विश्वकान्त मैनालीको र श्री ५ को सरकारको तर्फबाट गोविन्दबहादुर श्रेष्ठको बहस भएको छ र त्यसैको सिलसिलामा यस्तो देखिएको छ ।

      ११.    मेरी छोरी लालमतीको र भुवाने बस्नेतको आपसमा करणी लेनदेन गरी गर्भ धारण भएको रहेछ । ०२४ साल आश्विन १९ गतेका रात निजहरूले त्यस बिषयमा कुरा गरी भोलि राती भेट गरी भारततर्फ गई बसौंला भन्ने कुरा पानमती दमेनी र जुना दमेनीले सुनेको रहेछन् । ०२४ साल आश्विन २० गते राती अन्दाजी ९ बजे लालमती घरबाट निस्केकी र आश्विन २१ गते भुवाने घरमा नभएको आश्विन २१ गतेका दिन बेलुका अन्दाजी ६ बजे भुवाने घरमा आएको हो । लालमतीलाई मारी निज लालमतीका लासमा ढुङ्गा बाँधी गड्डाको पानीमा फाली आफूमात्र घरमा आएको मलाई पूरा शंका भयो भनी शुरू दर्खास्तमा हर्के दमाईँले लेखेकोबाट पानमती दमिनी, जुना दमिनीले लालमती र भुवाने बस्नेतसँग भागी जानेकुरा सुनेको आधारमा लालमती घरबाट निस्केको नै कारण बनाई निजलाई कर्तव्य गरी मारेको हो भन्ने शंका जाहेरवाला हर्के दमाईँले लिएको देखियो । निज हर्केले जि.अ.दैलेखमा गरेको बयानमा भुवानेको कर्तव्यमा जाहेरी दर्खास्त दिएको छ, हाल यही मंसिर महिनादेखि अहिलेसम्म ३ पटक भयो छोरी राती सपनामा आई वा त्यही शत्रुले मलाई कर्णाली नदीमा धकेलिदियो भनी बयानमा लेखाएको देखिन्छ । अभियुक्त भुवाने बस्नेतको बयान गर्दा आश्विन १८ गतेको राती जुना,पानमती,लालमती देवबहादुर शाही सार्की दमाईँसमेत भई गीत गाएको र म टाउको दुखेकोले सुतेको थिएँ । आश्विन १९ गतेका दिन रात म मेरै घरमा छु । २० गतेका दिन २।। बजे भान्जा विरामी छ भनी २ जना नाम नजानेका कामीले भनेकाले भिनाजुको घर बनाउने कटुवाल गाउँतर्फ गई २० गतेको राती भिनाकै घरमा बसेको २१ गतेको दिनको ४।५ बजे आफ्नो घरमा आएको भनी बयानमा लेखाएको छ र साथसाथै यो पनि भनेको छ । लालमतीको लोग्ने गड्डे दमाईँ भारतमा नोकरी गरी बसेको छ, लालमती दमिनी आश्विन २० गते रातीदेखि हराएको भन्ने सुन्छु । मरे बाँचेको थाहा छैन । यसरी मुख्य गवाहा हर्के दमाईँको आधार लिई जि.पु.ई.दैलेख र अ.प्र.प्र.पदेनको प्रतिवेदनमा भुवानेले लालमतीलाई २० गते रातमै भगाई लगी कर्तव्य गरी मारी लास कर्णाली नदीमा फालिदिएको देखिन ठहरिन आएबाट ज्यानसम्बन्धीका महलको १३ नं. को दफा (३) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने दावा परेको छ । मुख्य गवाहाले यो वारदात बारेमा शंका लिएको छ । त्यसको श्रोत पनि लालमतीलाई सपना देखेको र २० गते राती घरबाट निस्की गएकी, अभियुक्त भुवाने बस्नेतले भनेमा वारदातमा नरही अरू ठाउँमा रहेको भन्ने जिकिर गरेको छ । यस्ता प्रकारका अपराधमा चस्मदिद गवाह हुन नसक्ने हुनाले परिबन्धबाट किनारा हुनुपर्छ भन्ने सरकारी अधिवक्तातर्फबाट बहस भएको छ ।

      १२.   एक कार्य भएकोमा त्यसको साथसाथमा रहनु पर्ने कारण र त्यो कार्यपछि हुनु पर्ने असर देखिन्छ भने त्यस्तो कार्य भएको अनुमान हुन्छ । अनुमान गर्दा एउटा प्रत्यक्ष चिन्ह हुनुपर्छ र जसले गर्दा अनुमान गर्न सकिन्छ । त्यस्ता कार्यहरू हुनुपर्ने जति क्रमबद्ध सम्बन्धीले हुनुपर्छ । फाटफुट भएको छ भन्दैमा पनि परिबन्द पुग्दैन । परिवन्दलाई निश्चय गर्न सक्ने साक्षीकै भनाई चाहिन्छ ।

      १३.   अभियुक्ततर्फबाट भएको बहसमा चस्मदिद गवाह नभएको साथसाथै परिवन्द नपुगेको भन्ने पनि जिकिर आएको छ । बनावटी झुठ्ठा मुद्दाको भन्ने कुरा देखिन मुख्य गवाहको बयान देखाइएको छ ।

      १४.   अब अदालतबाट निर्णय गर्दा अभियुक्तको विरुद्धमा लालमतीलाई मारेको परिवन्द पुगेको र निजका पक्षमा निज स्थानान्तरमा रहेको भन्ने यस मुद्दामा छ । जहाँसम्म अरू नै ठाउँमा थिएँ भन्ने भुवानेको कथन छ, त्यस बिषयमा निजले राखेका साक्षीहरू बुझ्दा तकमाने खत्रीले आश्विन १८ गतेदेखि भेटघाट भएको छैन भनी बकपत्र गरेको, गोवर्धन शाही पृथुले खत्रीले भेटघाट गरेको छैन भनेपछि वारदात भएको ठाउँमा बाहेक अरू ठाउँमा रहेको भनी देखाउन सबूत देखिएन । वारदातमा रहेको हो भन्ने कुरामा यो मितिको यस ठाउँको वारदात हो भन्ने कुरा नै खुल्न नसकेकोले कुन मितिमा कुन ठाउँमा थियो ? भनी निश्चय गर्नुपर्ने हो ।

      १५.   लालमतीलाई मारी ढुङ्गामा बाँधी कर्णालीको पानीमा फालिदिएको भन्ने वारदातको रूप मुख्य गवाहले देखाएको छ । अरूले वारदातको रूप यस्तो हो भनी भनेका छैनन् । एउटा स्वास्नीलाई मार्न सक्ने क्षमता भएको पुरुषले मार्ने, लासमा ढुङ्गाले बाँध्ने र पानीमा फाल्ने तीन क्रिया गरेको भनी दावा गरिन्छ, यदि मार्नु नै थियो भने कर्णाली नदीमा जीउँदै फालिदिए पनि मनसाय पूरा हुने थियो । मारेको र फालेको कुरा जाहेरवालाले छोरीको सपनामा बताएको छ । त्यति चिन्तित व्यक्तिले देखेको मात्र सपनाको विश्वास गरी मुद्दाको जड कुरा बनाउनु उचित देखिँदैन । पानमती र जुनामतीले निजहरूको भागी जाने कुरा सुनेको भए पनि निजहरू साथसाथै गएका भुवाने एक्लै फर्केको गवाह दिइँदैन, मर्ने भनेकी लालमतीको लासमा घाउ खत वा साधन तोक्नु र कुनै चिन्ह छैन ।

      १६.    २०२४ सालको फौ.पु.नं. १६ निवेदक लक्ष्मण राउत अहिर विरुद्ध श्री ५ को सरकारसमेत भएको डाँका मुद्दामा मिति २०२६ साल वैशाख २४ गते फैसला भएको मुद्दामा स्थानान्तरणमा रहेको प्रमाणमा हानी भयो भने वारदातमा थियो भन्ने प्रमाण पुष्टि हुनजान्छ ।

      १७.   यस मुद्दामा भने बस्तु नै नभएकोले पुष्टि हुने कुरा गुज्रन गएन, सामान्य नियमले पोलाहाले पुर्‍याउनु पर्ने सबूत अभियुक्तले वारदात गरेकै थियो । वादरदातमा अभियुक्त थियो भनी बताउन सकेको छैन । लालमति गाउँघरमै छ वा जीवितै छ भन्ने केही देखिँदैन । यसरी शंकाकुल तथ्यमा अभियुक्तलाई सजाय तोक्न उचित हुन्छ हुँदैन भनी निर्णय गर्नुपरेको छ । जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव पर्दैन । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाईदिनु ।

 

तपसील

दुल्लु माझखण्ड दरा खडक बाँडामध्ये गुयज सैन गाउँघर भई हाल दैलेख कारागारमा थुनामा रहेको भुवाने बस्नेत क्षेत्रीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ गल्ती ठहरेकाले दैलेख जिल्लाअदालतको ०२५।३।२२।६ को फैसलाले निजलाई सर्वस्वसहित जन्मकैद र साधक सदर भई आएपछि ०२४।१०।७।१ मा रोक्का भएको अंश कानूनको रीत पुर्‍याई लिलाम गरी आम्दानी बाँधी सर्वस्वसहित जन्मकैद गर्ने व्यहोरा जनाई दिएको लगत कायम गर्नु परेन व्यहोरा जनाई उक्त लगतकट्टा गर्नु भनी दैलेख जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.......................१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम निज थुनिएका भुवाने भनेको भुवानसिंहले यस मुद्दाबाट छुटकारा पाउने ठहरेकाले निज यस मुद्दाबाहेक अन्य मुद्दामा थुनुवा परेको रहेनछन् भने कानूनको रीत पुर्‍याई थुनाबाट छाडिदिनु भनी ऐ.ऐ......................२

शुरुको फैसलाले निज पु.भुवाने भन्ने भुवाने सिंह रोक्का भएको अंश कानूनको रीत पुर्‍याई फुकाइदिनु भनी दैलेख जिल्ला अदालतमा का.मु.जि.न्या.वाशुदेव पाण्डे र अं.न्या.तारानाथ उप्रेतीसमेत अवकास भइसकेको हुँदा केही गर्न परेन..................३

 

हामीहरूको सहमती छ ।

 

न्या. वाशुदेव शर्मा

 

इति सम्वत् २०३१ साल वैशाख १६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु