निर्णय नं. ८१३ - लेनदेन

निर्णय नं. ८१३ ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १६७
फैसला भएको मिति : २०३१।२।२२।३
निवेदक : भक्तपुर तेछाचो बस्ने प्रेमबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ.गोलमढी बस्ने गणेदास पलिखेल
मुद्दा : लेनदेन
(१) लेख्नजान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुने, लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य नहुने ।
यसमा प्रतिवादीले रू.८०१। लिई २०।८।११ मा गरिदिएको दृष्टिबन्धकी तमसुक पास गरिदिएन पास गराइपाउँ भन्ने वादीको दावी र वादीको तमसुकको रूपैयाँ ०२१।३।३० गते बुझाई भरपाई लिएको हुँदा पास गरिदिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको रहेछ, वादी दावीको तमसुक पास हुने नहुने के हो ? यो कुराको निर्णयको लागि प्रतिवादीले पेश गरेको ०२१।३।३० को भरपाई उपर नै सर्व प्रथम विचार गर्नु पर्ने हुन आएकोछ । प्रतिवादीले रूपैयाँ बुझाउन आएकोले उक्त भरपाई लेखिएको भन्ने कुरा वादीले पनि स्वीकार गरेकै पाइन्छ, उक्त भरपाई वादीकै बाबु नारायणबहादुरकै स्वहस्ताले लेखिएको भन्ने कुरामा विवाद पनि छैन, भरपाई लेखिसकेपछि आफ्नो मानिसलाई देखाई आउँछु भनी लिई गएको फर्की नआई सोही भरपाईमा मिति सच्याई सहिछाप कीर्ते गरी दाखिल गरेको भन्ने वादीको मुख्य जिकिर भएको हकमा एक त रूपैयाँ नबुझी स्वयं वादीको बाबुको स्वहस्ताले लेखेको भरपाई आसामीको हातमा दिई पठाएको भन्ने कुरा व्यवहारिक र प्रतितलायक नै देखिँदैन । अर्कोकुरा उक्त भरपाईमा भएको हस्तासही वादीको हस्तासहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जनाउँदा मिल्छ भनी लेखिदिएकोले हस्तासही कीर्ते गरेको भन्ने वादीको जिकिर समर्थित हुन आएको पनि छैन, मितिको अंक सच्याएको भन्ने हकमा सो मिति अगाडिकोलाई पछाडिको गराई बनाएकै भए पनि त्यसबाट प्रतिवादीलाई के फाइदा हुने र रूपैयाँ बुझाएको भन्ने कुरामा त्यसबाट के असर पुग्ने हो सो कारण वादीपक्षले देखाउन नसकेको समेत हुँदा त्यो कुरा त्यति महत्त्वको देखिँदैन । खास गरी सो भरपाईमा लागेको ल्याप्चे सही वादीको ल्याप्चे सहीसँग मिल्दैन भनी विशेषज्ञले लेखिदिएकोले कसो हो भन्ने तर्क उठेको हकमा लेख्न जान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुन्छ । लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य हुँदैन । यतिमात्र कि लेख्न जान्नेको हस्तासही मात्र भई ल्याप्चे सही नभएकोमा कागज जाँचको ८ नं. अनुसार रू.२०। सम्म जरिवाना गरी त्यो कागज प्रमाण लाग्न सक्ने कानूनी व्यवस्था छ । त्यसकारण खुदै वादीको बाबुको स्वहस्ताले लेखेको र वादीको लेखात्मक सही मिल्न भिड्न पनि आएको यस्तो अवस्थामा उक्त भरपाइको ल्याप्चे सही कति कारणले नमिल्ने हो विशेषज्ञको रायमा प्रष्ट नखुलेको उक्त ल्याप्चे सही नमिल्ने भनी विशेषज्ञले लेखिदिएको भन्ने सम्म कारणले रूपैयाँ बुझाएको होइन भनी ठहर गर्न नमिल्ने देखिन्छ । तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट वादीले थैली बुझी भरपाई गरी दिइसकेको प्रमाणित हुन आएको हुँदा वादी दावीको लिखत पास हुन नसक्ने ठहराएको शुरू तथा बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
(प्रकरण नं. १३)
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यसबेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : विपक्षीले मबाट रू.८०१। कर्जा लिई जग्गा रोपनी १ऽ२।। दृष्टि लेखी ०२०।८।११ मा दृष्टि तमसुक गरिदिएको पास गरिदिएन पास गराइपाउँ भन्ने वादी ।
३. वादी दावीको रू.८०१। मिति ०२१।३।३० गते बुझाएकोमा तमसुक मेरो साथमा छैन भनी भरपाई गरिदिएको छ, त्यसकारण लिखत पास गरिदिनु पर्ने होइन भन्ने समेत प्रतिवादी ।
४. ०२१।३।१० गते विपक्षले रूपैयाँ बुझाउन आएको अवस्था तमसुक मसँग थिएन र भरपाई लेखाएको मेरो मानिसलाई देखाई म तुरुन्त आउँछु भनेकाले भरपाई लिई गएको थियो । आखिर थैली बुझाउन आएन । मेरो नालिस परेपछि बेइमानी चिताई मिति बारको अंक सच्याई दोहरिएको मेरो हस्तासही हेरी टाँका र लिपी मिलाई सही नाम थर लेखी कीर्ते खडा गरेको वादीको र रूपैयाँ बुझी भरपाई लेखी सही गरिदिएको सद्दे हो भन्ने समेत प्रतिवादीको बयान ।
५. रू.८०१। को भरपाई मैले लेखेको मेरो हस्ताको हो । सो भरपाई आषाढ १०।११ के मा हो लेखिएको सहिछाप भएको थिएन । मेरो मानिसलाई देखाएर आउँछु, रूपैयाँ पनि लिई आउँछु भनी लिई गएको पछि आएन सहिछाप मेरो सामुन्नेमा भएको होइन सद्दे कीर्ते भन्न सकिँदैन भन्ने नारानबहादुरको बयान ।
६. भरपाईमा भएको ल्याप्चेसँग वादीको ल्याप्चे मिल्दैन तापनि हस्तासही मिल्न आएकोले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत भक्तपुर जिल्ला अदालतको ०२२।११।१६।१ को फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
८. भरपाईको हस्तासही प्रेमबहादुरको हस्तासहीसँग मिल्न भिड्न आएको समेतबाट रूपैयाँ बुझी लिइसकेको देखिन आएकोले लिखत पास नहुने ठहराएको इन्साफ सुरूको मनासिव छ भन्ने बागमती अञ्चल अदालतले हदमुनि गरी छिनेको ०२४।१०।२।२ को फैसला ।
९. हदमुनिको इन्साफ जाँच गरिदिनु भन्ने वादीको निवेदन परेकोमा इन्साफ जाँच गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भएको ।
१०. कीर्ते भनेको लिखत वादीको बाबु नारानबहादुरले नै लेखेको त्यसमा लागेको ल्याप्चे सही नमिल्ने भन्ने विशेषज्ञको राय भए पनि लेखात्मक सहिछाप अदालतको सामुन्ने लिएको वादीको सहीछापको टाँका लिपी मिल्न भिड्न आएकोले इन्साफ सुरूको सदर गरेको बागमती अञ्चल अदालतको मनासिव छ भन्ने ०२८।१।१२।१ को डिभिजन बेञ्चको फैसला ।
११. प्रस्तुत मुद्दा दोहर्याउने बारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा ०२१।३।३०।२ को भरपाइको ल्याप्चे सही प्रेमबहादुरको ल्याप्चे सहीसँग मिल्दैन भनी विशेषज्ञले रिपोर्ट गरेको र मितिको अंक मसीसमेत केही गाढा भई सच्चिएको भनी कैफियत जनिएको समेतबाट यस्तो भरपाईलाई सद्दे साँचो व्यहोराको हो भनी मान्यता दिन मिल्ने देखिएन । तमसुक अनुसारको व्याजसमेत हरहिसाब भई सो समेतको जम्मा अंकको भरपाई हुनु पर्ने सो नभई सिर्फ सावाँको अंकको मात्र भरपाई देखिएबाट पनि वादीले थैली बुझिदिएको भरपाई हो भन्ने प्रतित हुन आउँदैन विशेषज्ञको जाँचबाट मुख्य आधारभूत मानिने कारणीको ल्याप्चे सही नभिडेपछि त्यस्तो भरपाईबाट थैली बुझिसकेको ठहराई लिखत पास गरिपाउँ भन्ने वादी दावी नपुग्ने निर्णय भएको कानूनअनुरूप छैन भन्ने समेत उल्लेख भएको ।
१२. यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले ल्याप्चे सही नभिडेको र मिति अंक सच्चिएको समेतबाट भरपाई कीर्ते हो भन्ने देखिएको छ । नालिस परिसकेपछि कसरी थैली बुझायो होला कीर्ते भरपाई ऐनले प्रमाण नलाग्ने हुनाले मेरो पक्षको दावीबमोजिम लिखत पास हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्षले भरपाईको मिति अंक पछि सच्याएको समेत होइन सो भरपाई वादीको बाबुले लेखेको भन्ने कुरामा विरोध छैन । थैली नबुझेको भए वादीकै बाबुले कसरी भरपाई लेख्यो होला सो भरपाई मेरो पक्षलाई किन दियो होला उसमा पनि सो भरपाईमा भएको लेखात्मक सही वादीको हस्तासहीसँग मिल्छ भनी विशेषज्ञले दिएको समेतबाट भरपाई सद्दे भन्ने देखिएकै छ । ल्याप्चे सही नमिलेको भन्ने हकमा कति कारणले नमिल्ने देखेको हो, विशेषज्ञले प्रष्ट राय व्यक्त गर्न सकेको छैन । खुदै रूपैयाँ बुझिसकेको हुँदा लिखत पास गरिदिनु पर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१३. यसमा प्रतिवादीले रू.८०१। लिई २०।८।११ मा गरिदिएको दृष्टिबन्धकी तमसुक पास गरिदिएन पास गराइपाउँ भन्ने वादीको दावी र वादीको तमसुकको रूपैयाँ ०२१।३।३० गते बुझाई भरपाई लिएको हुँदा पास गरिदिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको रहेछ, वादी दावीको तमसुक पास हुने नहुने के हो ? यो कुराको निर्णयको लागि प्रतिवादीले पेश गरेको ०२१।३।३० को भरपाई उपर नै सर्व प्रथम विचार गर्नु पर्ने हुन आएकोछ । प्रतिवादीले रूपैयाँ बुझाउन आएकोले उक्त भरपाई लेखिएको भन्ने कुरा वादीले पनि स्वीकार गरेकै पाइन्छ, उक्त भरपाई वादीकै बाबु नारायणबहादुरकै स्वहस्ताले लेखिएको भन्ने कुरामा विवाद पनि छैन, भरपाई लेखिसकेपछि आफ्नो मानिसलाई देखाई आउँछु भनी लिई गएको फर्की नआई सोही भरपाईमा मिति सच्याई सहिछाप कीर्ते गरी दाखिल गरेको भन्ने वादीको मुख्य जिकिर भएको हकमा एक त रूपैयाँ नबुझी स्वयं वादीको बाबुको स्वहस्ताले लेखेको भरपाई आसामीको हातमा दिई पठाएको भन्ने कुरा व्यवहारिक र प्रतितलायक नै देखिँदैन । अर्कोकुरा उक्त भरपाईमा भएको हस्तासही वादीको हस्तासहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जनाउँदा मिल्छ भनी लेखिदिएकोले हस्तासही कीर्ते गरेको भन्ने वादीको जिकिर समर्थित हुन आएको पनि छैन, मितिको अंक सच्याएको भन्ने हकमा सो मिति अगाडिकोलाई पछाडिको गराई बनाएकै भए पनि त्यसबाट प्रतिवादीलाई के फाइदा हुने र रूपैयाँ बुझाएको भन्ने कुरामा त्यसबाट के असर पुग्ने हो सो कारण वादीपक्षले देखाउन नसकेको समेत हुँदा त्यो कुरा त्यति महत्त्वको देखिँदैन । खास गरी सो भरपाईमा लागेको ल्याप्चे सही वादीको ल्याप्चे सहीसँग मिल्दैन भनी विशेषज्ञले लेखिदिएकोले कसो हो भन्ने तर्क उठेको हकमा लेख्न जान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुन्छ । लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य हुँदैन । यतिमात्र कि लेख्न जान्नेको हस्तासही मात्र भई ल्याप्चे सही नभएकोमा कागज जाँचको ८ नं. अनुसार रू.२०। सम्म जरिवाना गरी त्यो कागज प्रमाण लाग्न सक्ने कानूनी व्यवस्था छ । त्यसकारण खुदै वादीको बाबुको स्वहस्ताले लेखेको र वादीको लेखात्मक सही मिल्न भिड्न पनि आएको यस्तो अवस्थामा उक्त भरपाइको ल्याप्चे सही कति कारणले नमिल्ने हो विशेषज्ञको रायमा प्रष्ट नखुलेको उक्त ल्याप्चे सही नमिल्ने भनी विशेषज्ञले लेखिदिएको भन्ने सम्म कारणले रूपैयाँ बुझाएको होइन भनी ठहर गर्न नमिल्ने देखिन्छ । तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट वादीले थैली बुझी भरपाई गरी दिइसकेको प्रमाणित हुन आएको हुँदा वादी दावीको लिखत पास हुन नसक्ने ठहराएको शुरू तथा बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
न्या. वाशुदेव शर्मा,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३१ साल जेठ २२ गते रोज ३ शुभम् ।