निर्णय नं. ८१४ - लेनदेन जालासाजी

निर्णय नं. ८१४ ने.का.प. २०३१
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०२२ सालको देवानी पुनरावेदन नम्वर १९७९
फैसला भएको मिति : २०२४।१०।२५।५
निवेदक : यांगरूप यागसिं बड बस्ने मानबहादुर लिम्बु समेत
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने गजलाल लिम्बु
मुद्दा : लेनदेन जालासाजी
(१) भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुने ।
यसमा आदेशबमोजिम झिकाइएका वादी गजलाल लिम्बुलाई २३।९।१७ गते हाजिर हुन आउनु भनी यस सर्वोच्च अदालतबाट तोकेको तारिखदेखि नै हाजिर नभई तारिख गुजारी बसेका र प्रस्तुत मुद्दाको धरौटी पुनरावेदन जिकिर समेतको मिसिल हेर्दा वादीले आफ्ना बाबु मानबहादुरलाई समेत प्रतिवादी बनाई जालसाजी मुद्दामा मेची जिल्ला अदालतको ०२१।७।२८।६ को फैसलामा वादीको हक पुग्ने अवस्थामा नालिस परेमा ठहरेबमोजिम हुने गरी वादीको नालिस हाल खारेज हुने ठहर गरेको देखियो । निजहरूको जग्गा मुद्दामा गजलालको बाबु जीवितै देखिँदा वादीको हक पुग्ने अवस्थामा नालिस गरे ठहरेबमोजिम हुने भनी लेखिएको व्यहोरा यस मुद्दामा मिल्न आउँदैन । वादीले आफ्नै बाबुलाई प्रतिवादी तुल्याई मुद्दा गरेकोमा बाबु छँदै उजूर नलाग्ने भनी ठहर गर्नुहुँदैन । ऐनबमोजिम ईन्साफ गर्न पर्ने देखिन्छ । ०१०।२।१३।३ मा पास गरेको लिखतलाई जालसाज गरे भनी ०२०।५।१८ गते फिराद लाग्न सक्छ सक्दैन भनी विचार गर्नुपरेको छ । कीर्ते कागजको नं.१८ मा सरकारीया छाप लागेको र सरकारीया अड्डामा रहेको कागजबाहेक अरू कीर्ते वा जालसाजी गर्यो भन्नेसमेत मुद्दामा सो काम भए गरेको मितिले २ बर्षभित्र नालिस लाग्न सक्दैन भन्ने लेखिएको छ । भएगरेको मितिले हदम्याद शुरू हुने देखिएकाले यो मुद्दामा कुन मितिदेखि हदम्याद शुरू हुने हो भनी व्यवस्था गर्नुछ । मिति ०१०।२।१३।३ मा रजिष्ट्रेशन पास भएको मितिदेखि वा बाली लुटपिट गरेको भनी वादीले लेखेको मिति ०१९।७।१७।७ देखि शुरू हुने हो ? जब दुवैथर मिली जालसाज कागज खडा गर्छन् तिनीहरूले सो कागजमा उजूर नपरोस् भनी प्रयत्न गर्छन् । पास भएको मितिदेखि हदको म्याद शुरू गर्दाको हदको म्याद भरी कागज गुम पारी पछि पेश गर्न ल्याउँदा सो कागजउपर मुद्दा नचल्ने हो भने जालसाज गर्नेहरूलाई ठूलो मौका मिल्न जान्छ । लिखत तयार गरेकै अवस्थामा त्यस्तो उद्देश्य प्राप्त गर्नु निमित्त लेखिएको हुन्छ । यदि लिखत उद्देश्य पूरा गर्न पाएन भने त्यो लिखतको स्थान रहँदै उद्देश्यमा पुग्नु नै लिखत गरेको पूर्ण अवस्था हो । त्यसकारणले भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुन्छ । उपरोक्त ऐनको गरेको भन्ने पदको (अर्थ–संयोजक) त्यही हो यदि लिखत भएको अरू नै अवस्थामा थाहा पाएको रहेछ भने भएको भन्ने पद उक्त ऐनमा परेबमोजिम लिखत भएको मितिदेखि नै हदम्यादको शुरू हुन्छ, ऐनबमोजिम यो मुद्दा कारवाही किनारा गर्नु भनी शुरू मिसिल नियमबमोजिम गरी मेची अञ्चल अदालतमा पठाइदिनु । धरौट पुनरावेदकलाई फैसला भएको जनाउ समेतदिनु ।
(प्रकरण नं. ८)
फैसला
न्या. नयनबहादुर के.सी.
१. ९६ सालदेखि छुट्टी बाबुले नै विपक्षी नरबहादुरलाई जेठा बाबु बछिमान विदेश बेपत्ता भएकोले ३ भाइ बिना अंशबण्डा हुँदैन धर्मपुत्रको मुचुल्काबाट छुट्टी बस्नु भनेकाले छुट्टिदा यो मेरो लुटपिट उजूर परेको जग्गा कामिटार किपट खेतको पछि नरबहादुर र मलाई आधि–आधि खानु भन्ने भएको आधि–आधि लिई पछि नरबहादुर र मैले ९६ सालदेखि आफ्नो–आफ्नो भाग सुफत खाई भोगी आएकोमा ०२९ सालको बाली विपक्षीहरूले लुटी खाएमा उजूर गरेको छु । साहू दशरथ आसामी नरबहादुर भई २०१० मा जाली तमसुक पास गरी गुम गरिराखेको विपक्षीहरूले साहू दशरथको थैलीमा ५६७। मानबहादुरले बुझाई न्हेडिक पास गरिलिएको ०१३ सालको बालीदेखि वादीले बालीमा पक्राउ गरेका कामिटार जग्गाको बाली बाबु मानबहादुरले नै खाँदैछन् । उक्त गुम पारी जाली तमसुक खडा गरेको र मेरो पटक पटक मुद्दा परी जितेको कामिटार जग्गा जति मलाई थामी सजाय गरिपाउँ भन्ने वांलीसमेत गजलालको २०२०।५।१८।३ को वादी ।
२. ९६ सालमा बाबु मानबहादुरले अंश मुचुल्काको बण्डा लिएको छ भनी लेखे तापनि सो मुचुल्का कीर्ते ठहरी फैसला भएको छ । सो कामिटार जग्गामा ७८ सालमा दशरथसँग कं.रू.४००। खाई बन्धकी सोही रूपैयाँ थपबढ गरी भा.रू.५६८। मा साहू दशरथलाई ०१०।२।१३।३ मा पास गरिदिएको हो । सो रूपैयाँ तिरी न्हेडिकमा नरबहादुरले १२।१२।६।२ मा पास गरी लिएको छ । वादीको हकै नलाग्ने भई हामीले नै भोगचलन गरी आएकोबाट वादी दावीबमोजिम उजूर नपुग्ने जग्गामा दुःख दिनलाई उजूर दिएमा वादीलाई नै सजाय गरी हाम्रो सदर गरिपाउँ भन्ने समेत २०२०।८।२७।६ को मानबहादुर नरबहादुर किताप सिंसमेत जना ३ को एउटै प्रतिवादी ।
३. वादीले ९६ सालको बण्डापत्रले जग्गा मेरो हक हुन आएको हो भनी उजूर गर्नु भएकोमा सो बण्डापत्र बदर हुने ठहरी २०२०।३।३ मा किनारा भएको छिनुवा मिसिलबाट देखिएकोले प्रमाण नलाग्ने पास भइसकेको अड्डाको छाप लागेको उक्त लिखत कागज जालसाज गरे भनी भन्न नहुने हुँदा र सो पास भएगरेका मितिले कीर्ते कागजको १८ नं.ऐनका म्याद २ बर्षभित्रको उजूरसमेत नहुँदा यो फैसलाबाट इन्साफ दिन नमिल्ने भई खारेज हुने ठहर्छ भन्ने समेत २०२१।३।३० को तत्कालिन इलाका अदालत फिदिमको फैसला ।
४. फिदिम इलाका अदालतले गरेको ०२१।३।३०।२ को इन्साफमा चित्त बुझेन भन्ने समेत वादी गजलाल लिम्बुको पुनरावेदन ।
५. कीर्ते कागजको १८ नं. मा सरकारीया छाप लागेको र सरकारीया अड्डामा रहेका कागजबाहेक अरू कीर्ते जालसाजी गर्यो भन्ने समेत कुरामा सो काम भएगरेको मितिले २ बर्षसम्ममा नालिस नदिए लाग्न सक्दैन । लेखिएको मुलुकी ऐन, २०२० साल भाद्र १ गतेमात्र आरम्भ भएको साविक मुलुकी ऐनमा जालसाजीमा म्याद लेखिएको नदेखिएको थाहापाएका मितिले म्यादभित्र नालिस गरे हुन्छ भन्ने फिरादपत्रमा जिकिर भएकोले सो कीर्ते कागजका १८ नं.बमोजिम २ बर्षको म्याद नाघेको भन्ने इ.अ.को राय सहमत भएन निजैहरूको जग्गा बाली मुद्दामा वादी गजलालको बाबु जीवितै हुँदा वादीको हक पुग्ने अवस्थामा नालिस परेमा ठहरेबमोजिम हुने भन्ने समेत भई आजका मितिमा फैसला भएकोले यसमा पनि वादीको हक पुगेका बखत नालिस परे यो ठहरेबमोजिम हुने नै भन्ने वादीको नालिस हाल खारेज हुने ठहर्छ भन्ने समेत २०२१।७।२८।६ को तत्कालिन मेची जिल्ला अदालतको फैसला ।
६. साविक मुलुकी ऐन कीर्ते कागजको नं.२१ ले हाल २०२० साल भाद्र १ गतेदेखि प्रारम्भ भएको कीर्ते कागजको १८ नं. ले यकीन २ बर्षको हद कायम गरेको समेत हुने । पास भएको मितिले सो म्याद नाघी यो उजूर दायर भएकोले लेनदेन पासमा जालसाजी भन्ने दावी नपुगेमा हक पुगेमा नालिस गरेको ठहरेबमोजिम हुन्छ भन्ने अर्थ लागू हुनै नसक्ने हुँदा सुरूको इन्साफ कायम गरिपाउँ भन्ने समेत प्रतिवादी कितापसिं १ नरबहादुरसमेतको २०२२।१।३।५ को पुनरावेदन ।
७. ऐनले उजूर गर्ने हदम्यादको व्यवस्था लागू हुने जालसाजी भन्ने यस्तो कुरामा वादीको हक पुग्ने अवस्थामा नालिस परेमा ठहरेबमोजिम हुने भनी अनिश्चित रूपले पछि उजूर गर्न पाउने हक बाँकी राखी मेची जिल्ला अदालतले छिनेको मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादी गजलाल लिम्बुलाई रुल नियमबमोजिम झिकाई आएपछि पेश गर्नु भन्ने २०२३।४।१०।२ को डिभिजन बेञ्चको आदेश ।
८. यसमा आदेशबमोजिम झिकाइएका वादी गजलाल लिम्बुलाई २३।९।१७ गते हाजिर हुन आउनु भनी यस सर्वोच्च अदालतबाट तोकेको तारिखदेखि नै हाजिर नभई तारिख गुजारी बसेका र प्रस्तुत मुद्दाको धरौटी पुनरावेदन जिकिर समेतको मिसिल हेर्दा वादीले आफ्ना बाबु मानबहादुरलाई समेत प्रतिवादी बनाई जालसाजी मुद्दामा मेची जिल्ला अदालतको ०२१।७।२८।६ को फैसलामा वादीको हक पुग्ने अवस्थामा नालिस परेमा ठहरेबमोजिम हुने गरी वादीको नालिस हाल खारेज हुने ठहर गरेको देखियो । निजहरूको जग्गा मुद्दामा गजलालको बाबु जीवितै देखिँदा वादीको हक पुग्ने अवस्थामा नालिस गरे ठहरेबमोजिम हुने भनी लेखिएको व्यहोरा यस मुद्दामा मिल्न आउँदैन । वादीले आफ्नै बाबुलाई प्रतिवादी तुल्याई मुद्दा गरेकोमा बाबु छँदै उजूर नलाग्ने भनी ठहर गर्नुहुँदैन । ऐनबमोजिम ईन्साफ गर्न पर्ने देखिन्छ । ०१०।२।१३।३ मा पास गरेको लिखतलाई जालसाज गरे भनी ०२०।५।१८ गते फिराद लाग्न सक्छ सक्दैन भनी विचार गर्नुपरेको छ । कीर्ते कागजको नं.१८ मा सरकारीया छाप लागेको र सरकारीया अड्डामा रहेको कागजबाहेक अरू कीर्ते वा जालसाजी गर्यो भन्नेसमेत मुद्दामा सो काम भए गरेको मितिले २ बर्षभित्र नालिस लाग्न सक्दैन भन्ने लेखिएको छ । भएगरेको मितिले हदम्याद शुरू हुने देखिएकाले यो मुद्दामा कुन मितिदेखि हदम्याद शुरू हुने हो भनी व्यवस्था गर्नुछ । मिति ०१०।२।१३।३ मा रजिष्ट्रेशन पास भएको मितिदेखि वा बाली लुटपिट गरेको भनी वादीले लेखेको मिति ०१९।७।१७।७ देखि शुरू हुने हो ? जब दुवैथर मिली जालसाज कागज खडा गर्छन् तिनीहरूले सो कागजमा उजूर नपरोस् भनी प्रयत्न गर्छन् । पास भएको मितिदेखि हदको म्याद शुरू गर्दाको हदको म्याद भरी कागज गुम पारी पछि पेश गर्न ल्याउँदा सो कागजउपर मुद्दा नचल्ने हो भने जालसाज गर्नेहरूलाई ठूलो मौका मिल्न जान्छ । लिखत तयार गरेकै अवस्थामा त्यस्तो उद्देश्य प्राप्त गर्नु निमित्त लेखिएको हुन्छ । यदि लिखत उद्देश्य पूरा गर्न पाएन भने त्यो लिखतको स्थान रहँदै उद्देश्यमा पुग्नु नै लिखत गरेको पूर्ण अवस्था हो । त्यसकारणले भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुन्छ । उपरोक्त ऐनको गरेको भन्ने पदको (अर्थ–संयोजक) त्यही हो यदि लिखत भएको अरू नै अवस्थामा थाहा पाएको रहेछ भने भएको भन्ने पद उक्त ऐनमा परेबमोजिम लिखत भएको मितिदेखि नै हदम्यादको शुरू हुन्छ, ऐनबमोजिम यो मुद्दा कारवाही किनारा गर्नु भनी शुरू मिसिल नियमबमोजिम गरी मेची अञ्चल अदालतमा पठाइदिनु । धरौट पुनरावेदकलाई फैसला भएको जनाउ समेतदिनु ।
सहमति छ ।
न्या. हेरम्बराज
इति सम्वत् २०२४ साल माघ २५ गते रोज ५ शुभम् ।