निर्णय नं. ८१५ - पास नामसारी बदर
निर्णय नं. ८१५ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १३४
फैसला भएको मिति : २०३०।१२।६।३
निवेदक : भ.पु. जि. इटाछे टोल बस्ने विष्णुदेवी धवला श्रेष्ठको हकमा र आफ्ना हकमा समेत ऐ. बस्ने जगतमान धवला श्रेष्ठ
विरुद्ध
विपक्षी : का.जि. भीमसेनस्थान बस्ने कृष्णखावा श्रेष्ठसमेत
मुद्दा : पास नामसारी बदर
(१) अन्य ज्यानमुद्दामा भएको अंश रोक्का मुचुल्काकै भरबाट अंश छुट्टिई भिन्न भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न नमिल्ने ।
यसमा निर्णयतर्फ विचार गर्दा जेठा बाजे रामनरसिंका नाममा दर्ता भई जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोग गरिआएको हाम्रो हकसमेत लाग्ने बिक्री गरेको बदर गरिपाउँ भन्ने बिषय लेनदेन व्यवहारको १० नं. ले रजिष्ट्रेशन भएको मितिले १ बर्षसम्ममा थाहापाएको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद नाघी फिराद दर्ता भएकोले खारेज हुने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । निवदेकतर्फका विद्वान अधिवक्ताले निवेदक वादी अघिदेखि अलग भई छुट्टिई जग्गाको भागशान्ति आयस्ता खाई छुट्टी भिन्न भई आएको र सोअनुसार नै ज्यान मुद्दामा प्रतिवादी माधवलालको अंश रोक्का हुँदा भएको मुचुल्काबाट पनि अंश भई छुट्टिसकेको भन्ने देखिएको हुँदा लेनदेन व्यवहारको १० नं.नलाग्ने ऐ.४० नं.कै हदम्याद लाग्ने भई म्यादभित्रै फिराद दायर भएको छ भन्ने बहसमा जिकिर लिएको हकमा मानिकलाल मरेको ज्यान मुद्दामा भ.पु.अ.त.बाट ०१५।६।१।४ मा प्रतिवादी माधवलालको अंश रोक्का भएको मुचुल्का हेर्दा मौका मौकामा आफ्नो भाग लिइसकेको र अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको माधवलालको धनमाल केही नभएको घरखेत लेखिदिएको छु । समुचा घरखेतमा माधवलालले ६ खण्डको १ खण्डमात्र पाउनेभन्ने उल्लेख भएको सम्म देखिने निवेदक वादी र प्रतिवादी माधवलाल, कृष्णमाया अंशियार हो भन्नेमा निवेदक वादीको मुख मिलेकै र ति अंशियारहरू भिन्न भई बण्डा भइसकेको अंश छुट्टी लगत भिन्न भएको कानूनको रीत पुगेको रजिष्ट्रेशन पास भई अंश अंश छुट्टी भिन्न भएको भन्ने र मानो छुट्टी अलग भएको समेतको रीतपूर्वकको लिखत प्रमाण छ भन्न र प्रमाणमा पेश दाखिल गर्न सकेको देखिँदैन । अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको ६ खण्डको १ खण्ड माधवलालले पाउने भन्ने ज्यानमुद्दामा भएको उक्त अंश रोक्का मुचुल्काकै भरबाट प्रतिवादी माधवलालसँग निवेदक वादीहरू अंश छुट्टी भिन्न अगल भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न मिल्दैन ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त
फैसला
न्या. विश्वनाथ उपाध्याय
१. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने निवेदक वादीको निवेदन परी न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यसबेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : जेठा बाजे रामनरसिंहको नाममा इखाछे ३४।४० नं.का पोता लगतमा दर्ता भएको २१।।२ रोपनीको खलैपिच्छे खण्डी लगाई खाई आएको, ज्यानमुद्दामा अन्यायवाला धेमाकर्ण भन्ने माधवलालको श्रीसम्पत्ति रोक्का हुँदा ६ खण्डको १ खण्ड हक लाग्ने भनी मुचुल्का भई गएको रामनरसिंहको नामका जग्गामध्ये १५ नं.मौजा २९ नं.मौजा, कुटुजे मौजा, सुवर्णपुर मौजाको समेत गरी जम्मा रोपनी ७।३ रू.३५०१। मा अन्याय माधवलालले कृष्णखावालाई कृष्णमाया साक्षी बसी १८।१।२७ मा फार्छे गरी सो लिखत पास गर्न उजूर गरी पास गर्ने ठहर्याई ०२२।१२।१० मा फैसला भई पाससमेत भएको ०२२।१२।२५ मा थाहा पाएको हुँदा बिक्री गरेको जग्गामध्ये ६ खण्डको ३ खण्डमा जगतमानको १ खण्ड म विष्णुदेवीको समेत हक टुटाई लेनदेन गर्न पाउने होइन । चुकअनुसार सजाय दिलाई अन्यायहरूले गरेको ०२२।१२।१० को फार्छे राजीनामा ०२१।२।२ को का.दे.ई.अ.को फैसला ०२१ साल कार्तिक बेमितिमा भएको नामसारीसमेत हाम्रो हकमा बदर गराइपाउँ भन्ने समेत वादी विष्णुदेवी, जगतमानको फिरादपत्र ।
३. विष्णुदेवीले आफ्नो भाग जगतमानलाई खुवाउने उपाय लिई दुवैले एउटै फिराद गरेको रामनरसिंहको दर्ता हुँदा गोश्वारा दर्ता गराउन सक्नु पर्ने किन सकेन उजूर गरी बदर गराउन र अंशमा दावी गरी भाग छुट्याई लिनु पर्ने सो नसकेको माधवलाल ऋणी भई एकाघरको आमा कृष्णमाया साक्षी राखी ७।३ जग्गा रू.३५०१ मा फार्छे लिई ०२१।१२।१० मा पास गरिदिने ठहराई फैसला भई पास भएका लिखतअनुसार लेनदेन व्यवहारको १०।११ नं. अनुसार म्यादभित्र उजूर नपरेको र अंशमा भाग लगाइपाउँ भन्ने मुद्दा दायर गर्न नसकेको हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी कृष्णखावा श्रेष्ठको प्रतिउत्तरपत्र ।
४. प्रतिवादीमध्येको धेमाकर्ण भन्ने माधवलाल र कृष्णमायाले शुरू म्यादै गुजारी बसेको ।
५. रीतपूर्वक अंशबण्डा नभई जग्गा समुच्चै सगोलमा रहेको देखिँदा वादी दावीबमोजिमको ६ खण्डको ३ खण्ड जगतमानको र बाँकी ३ खण्डमा १ खण्ड विष्णुदेवीको कटाई बाँकी २ खण्डमा धेमाकर्ण भन्ने माधवलाल १ निजकी आमा कृष्णमायाको मञ्जुरीबाट बिक्री गरी प्र.कृष्णखावाले खरीद गरेको देखिएकोले कुल जम्मा ६ खण्डको ४ खण्ड धनी वादीहरूको देखिँदा कुल जम्मा जग्गामा २ खण्ड दामासाहीले कृष्णमाया १ माधवलाल १ को भागमा लाग्नेसम्म बिक्री गरेको सदर हुने र बढी जति बदर हुने ठहर्छ भन्ने समेत ०२४।५।२५ मा भएको भ.पु.जि.अ. को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.कृष्णखावाको पुनरावेदनपत्र ।
७. ज्यानमुद्दामा धेमाकर्ण भन्ने माधवलालको अंश रोक्का हुँदा ०१५।६।१ मा भएको मुचुल्कामा कुल जग्गा २१।–२ मा जगतमानको आधि र आधिमा विष्णुदेवी कृष्णमाया, माधवलालसमेतको ६ भागमध्ये माधवलालको १ भाग रोक्का भएको जग्गा रीतपूर्वक बण्डा भएको जग्गा छुट्टिएको देखिन नआई सगोलमै रहेको देखिन आएको वादी दावीबमोजिम ६ खण्डको ३ खण्ड जगतमानको बाँकी ३ खण्डमा १ खण्ड विष्णुदेवीको कटाई बाँकी २ खण्ड धेमाकर्ण भन्ने माधवलाल निजको आमा कृष्णमायाको मञ्जुरीबाट बिक्री गरी कृष्णखावाले खरीद गरेको देखिएकोले ६ खण्डको ४ खण्ड धनी वादीहरूको देखिँदा कुल जम्मामा २ खण्ड दामासाहीले कृष्णमाया र माधवलाल समेतको भागमा लाग्नेसम्म बिक्री गरेको सदर हुने र बढी जति बदर हुने ठहराएको समेत इन्साफ सुरूको मनासिव छ भन्ने समेत ०२६।३।२१ मा बागमती अञ्चल अदालतबाट भएको फैसला ।
८. स्टेण्डिङ्ग कमिटिको निर्णयबमोजिम सयकडा ५ मा इन्साफ जाँच भई डिभिजन बेञ्चबाट निर्णय हुँदा जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोगिआएको भन्ने वादीका लेखबाट हाल बिक्री भएको जग्गा गोश्वारा अबण्डा भइरहेको भन्ने देखिन आएको छ । रीतपूर्वकको अंश नभई सगोलैमा रही भागशान्ति भोग गरिआएको गोश्वारा जग्गामध्ये बिक्री गरेको भन्ने वादी दावीबाटै देखिन आएकोले लेनदेन व्यवहारको १० नं.बमोजिम लिखत पास भएको मितिले १ बर्षसम्ममा थाहापाएको मितिले ३५ दिनभित्र उजूर गर्नुपर्ने बिषय देखिन आएको अदालतबाट भएको फैसलाबमोजिम ०२१।१२।१०।३ मा पास भएको लिखत बदर गरिपाउँ भनी पर्न आएको वादीको फिराद ०२३।१।२३ मा दर्ता भएको हुनाले लेनदेन व्यवहारको १० नं. को म्यादभित्र दर्ता नभई म्याद नाघी दर्ता भएको देखिएकोले वादी दावी खारेज हुनेमा अञ्चल अदालतले गल्ती निर्णय गरेको ठहर्छ भन्ने समेत ०२९।४।१३ मा भएको डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा माधवलालको अंश रोक्का रहेको मुचुल्का हेर्दा चल सम्पत्ति आफ्नो–आफ्नो भाग लिइसकेको अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लेखाइरहेको भन्ने लेखिएको यसबाट झगडा परेको गोश्वारा जग्गामा हक भएको अंशियारहरू एकाघरमा नबसी अलग बसेको भन्ने वादीको कथन पुष्टि हुन आउँछ । रीतपूर्वक अंशबण्डा नभई आफ्नो–आफ्नो भागशान्ति लगाई खाई भोगिआएको जग्गा कुनै अंशियारले अन्य अंशियारको मञ्जुरीबेगर उसको भाग पनि बेचबिखन गरेमा चित्त नबुझे अंशियारले उजूर गर्दा लेनदेन व्यवहारको १० नं. को हदम्याद प्रयोग हुने देखिँदैन । एकाघरमा बसेकोले बिक्री गरेकोमा मात्र उक्त १० नं.प्रयोग हुने प्रष्ट छ । अचल सम्पत्ति गोश्वारा रहेको नाताबाट एकाघरमा रहेको बसेको भन्ने संज्ञा दिन मिल्ने हैन अलग बसेको अंशियारले अरू अंशियारसमेतको हक लाग्ने अबण्डा गोश्वारा जग्गा बेचबिखन गरेउपर उजूर परेको प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं.लगाई हदम्याद नाघेको भनी गलत व्याख्या गरी सर्वोच्च अदालतले खारेज गरेको उपयुक्त देखिँदैन । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएकोले दोहर्याउन आदेश बक्सनु पर्ने भन्ने समेत उल्लेख भएको रहेछ ।
१०. निवेदक तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले आफ्नो बहसमा निवेदकहरू र विपक्षी माधवलालसमेत अघि नै अंश भई छुट्टी भिन्न भइसकेको निज माधवलालको ज्यानमुद्दामा अंश सर्वस्व रोक्का हुँद १५ सालमा भएको मुचुल्कामा पनि छुट्टी भिन्न भएको भन्ने प्रश्न उल्लेख भएकोबाट समेत छुट्टी भिन्न भइसकेको देखिने त्यसरी भिन्न भएकोले आफ्नो हकको जग्गा बिक्री गरेको लिखत बदरसमेतमा उजूर गर्न लेनदेन व्यवहारको ४० नं. अन्तर्गतकै म्याद हुँदा सो म्यादभित्र परेको उजूरीलाई लेनदेन व्यवहारको नलाग्ने १० नं.लगाई म्याद नाघेको भनी खारेज गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । बदर हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले अंश छुट्टी भिन्न भएको देखिने रीतपूर्वकको बण्डापत्र मानु छुट्टिएको समेत कुनै कागज प्रमाण छैन त्यसो हुँदा बण्डापत्र भई छुट्टिएको देखिँदैन । भिन्न भई छुट्टिसकेको भए झगडा परेको जग्गा नामसारी गर्दामा समेत पनि उजूर गर्न सक्नु पर्ने नसकेबाट समेत एकासगोलमा रहेभएको देखिने । त्यसरी एकासगोलले आफ्नो हकको जग्गा बिक्री गरेको बदरमा उजूर गर्नुपर्ने लेनदेन व्यवहारको १० नं. अन्तर्गतको म्यादभित्रै उजूर गर्नुपर्ने सो म्याद नाघी परेको निवेदकको उजूर खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेकै छ र सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
११. यसमा निर्णयतर्फ विचार गर्दा जेठा बाजे रामनरसिंका नाममा दर्ता भई जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोग गरिआएको हाम्रो हकसमेत लाग्ने बिक्री गरेको बदर गरिपाउँ भन्ने बिषय लेनदेन व्यवहारको १० नं. ले रजिष्ट्रेशन भएको मितिले १ बर्षसम्ममा थाहापाएको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद नाघी फिराद दर्ता भएकोले खारेज हुने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । निवदेकतर्फका विद्वान अधिवक्ताले निवेदक वादी अघिदेखि अलग भई छुट्टिई जग्गाको भागशान्ति आयस्ता खाई छुट्टी भिन्न भई आएको र सोअनुसार नै ज्यान मुद्दामा प्रतिवादी माधवलालको अंश रोक्का हुँदा भएको मुचुल्काबाट पनि अंश भई छुट्टिसकेको भन्ने देखिएको हुँदा लेनदेन व्यवहारको १० नं. नलाग्ने ऐ.४० नं.कै हदम्याद लाग्ने भई म्यादभित्रै फिराद दायर भएको छ भन्ने बहसमा जिकिर लिएको हकमा मानिकलाल मरेको ज्यान मुद्दामा भ.पु.अ.त.बाट ०१५।६।१।४ मा प्रतिवादी माधवलालको अंश रोक्का भएको मुचुल्का हेर्दा मौका मौकामा आफ्नो भाग लिइसकेको र अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको माधवलालको धनमाल केही नभएको घरखेत लेखिदिएको छु । समुचा घरखेतमा माधवलालले ६ खण्डको १ खण्डमात्र पाउनेभन्ने उल्लेख भएको सम्म देखिने निवेदक वादी र प्रतिवादी माधवलाल, कृष्णमाया अंशियार हो भन्नेमा निवेदक वादीको मुख मिलेकै र ति अंशियारहरू भिन्न भई बण्डा भइसकेको अंश छुट्टी लगत भिन्न भएको कानूनको रीत पुगेको रजिष्ट्रेशन पास भई अंश अंश छुट्टी भिन्न भएको भन्ने र मानो छुट्टी अलग भएको समेतको रीतपूर्वकको लिखत प्रमाण छ भन्न र प्रमाणमा पेश दाखिल गर्न सकेको देखिँदैन । अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको ६ खण्डको १ खण्ड माधवलालले पाउने भन्ने ज्यानमुद्दामा भएको उक्त अंश रोक्का मुचुल्काकै भरबाट प्रतिवादी माधवलालसँग निवेदक वादीहरू अंश छुट्टी भिन्न अगल भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न मिल्दैन ।
१२. यस्तो स्थितिमा प्रतिवादी माधवलालले बिक्री गरेको जग्गा रीतपूर्वको अंश नभई सगोलमै रही आएको निवेदक वादीले बदर गरी माग्न लेनदेन व्यहारको १० नं. को म्यादभित्र फिराद दायर गर्नुपर्ने देखिन्छ ।
१३. तर प्रतिवादी माधवलालले कृष्णखावा श्रेष्ठलाई २०१८।१।२७ मा गरिदिएको राजीनामा लिखत नालिस परी अदालतबाट भएको फैसलाबमोजिम ०२१।१३।१०।३ मा पारित भएको लिखतउपर परेको वादीको फिराद ०२३।१।२३।५ मा दर्ता भएको देखिएकोले उक्त लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र दर्ता नभई म्याद नाघी दर्ता भएको त्यस्तो म्याद नाघी दर्ता भएको फिराद खारेज गर्ने ठहराएको डिभिजन बेञ्चको ०२९।४।१३ को इन्साफ मनासिव ठहर्छ । मुद्दा दोहर्याएबापत लाग्ने कोर्टफी रू.२। निवेदक वादीबाट दाखिल भएको देखिनाले अरू केही गर्नुपरेन । मिसिल नियमबमोजिम बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
न्या. प्रकाशबहादुर के.सी.
न्या. चन्द्रप्रसाद प्रधान
इति सम्वत् २०३० साल चैत ६ गते रोज ३ शुभम् ।