निर्णय नं. ८१६ - ज्यान

निर्णय नं. ८१६ ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०२८ सालको फौ.फु.नं. ३५
फैसला भएको मिति : २०३१।३।२८।६
पुनरावेदक : खिल शर्माको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी : प.१ नं.नु.जि. दाङमै बस्ने रुद्रप्रसाद सेढाइँ समेत
मुद्दा : ज्यान
(१) अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न नहुने ।
सहअभियोगी हुँ भन्ने कान्छी पँडेनीले रुद्रप्रसादलाई पोल गरेको छ । निज रुद्रप्रसाद इन्कारमा रहेको छ । सहअभियोगीले पोल गरेको कुरा अरू प्रष्ट प्रमाणले समर्थन के कति गर्न सकेको छ भन्नेतर्फ हेर्दा रुद्रप्रसादको कमिज सुरूवालमा रगत लागेको भन्ने उल्लेख छ । सो रगतको सम्बन्धमा मौका सर्जमिनले लेख्दा रगतको दागजस्तो भनी उल्लेख गरेका छन् । रुद्रप्रसादले अदालतमा बयान गर्दा रगतको छिटा लागेको कपडा देखें सो रगत होइन । अघिदेखिको फोहर लागेको दाग भने र के को दाग हो भन्न सक्दिन भन्ने पनि बयान गरेको छ । सो दाग लागेको रगत हो कि होइन भनी वैज्ञानिक जाँचबाट निष्कर्ष आउन सकेको छैन । रगतको दाग हो भन्ने निश्चिय हुनु र सो पनि मानिसको रगत हो भन्ने देखिनु पर्छ र वारदात भएको समयमा लागेको दाग हो भन्ने निश्चयमा पुगेमात्र सो रगतको जस्तो दाग भनेकोलाई प्रमाणको आधार मान्नु पर्ने स्थिति हुन आउँथ्यो । सोबमोजिम नभई अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न भएन । सोबाहेक अरू कुनै सबूत प्रमाण पनि देखिँदैन ।
(प्रकरण नं. २०)
पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल
विपक्षी तर्फबाट : वैतनिक अधिवक्ता कुलराज गुरुघराना
फैसला
न्या. वाशुदेव शर्मा
१. प्रस्तुत मुद्दा ०२८।८।८।५ को डिजिजन बेञ्चका माननीय न्यायाधीशज्यूहरूको मतैक्य हुन नसकी रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : ०२३ साल माघ १५ गते छोरी सावित्री बाख्रा चराउन गएकी घर नफर्केकी खोजतलास गर्दा फेला परिनन्, भोलिपल्ट १७ मुरे खेतका खोल्साको अँगेरीको बोटमुनी लास फेला पर्यो । कानको माडवारी नभएको र रुद्रप्रसादको कर्तव्यबाट मरेको यकीन भएकोले जाहेर गर्न आएको छु भन्ने मर्नेको बाबु खिल शर्मा सेढाइँको जाहेरी दर्खास्त ।
३. ०२३ साल माघ १५ गते रामबहादुरको घर गई ३ बजे घर आइपुगी भात पकाई खाई सुतेँ भोलिपल्ट बिहान भात खाने बेलामा भाइ र आमा १० मुरे खेततर्फ हेर्न लागे, के हेरेको भनी सोधनी गर्दा खिल शर्माको छोरीको लास भेटियो रे भनेबाट हेर्न गएँ मरेको देखें । निज सावित्रीलाई मैले मारेको होइन, लास रहेको ठाउँ छरिएको पोते बहिनी कान्छी पँडेनीले लगाएको देखेकोले निजैले सावित्रीलाई कर्तव्य गरी मारेको होला अरूउपर शंका लाग्दैन भन्ने समेत प्रहरीमा भएको रुद्रप्रसाद सेढाइँंको कागज ।
४. दाजु रुद्रप्रसादको र मेरो दाउरा घाँस लिन जाँदादेखि करणी भएको थियो । ०२३ साल माघ १५ गते म बारीमा कोदो टिप्न भनी गएँ । एक थुन्चे जति नल काटिसकेपछि मर्ने सावित्री र कृष्ण थपिलयाकी छोरी सानु आई एकछिन बसी निजहरू तलतिर झरे । दिसा गर्न म खोल्सातिर जाँदा ठूलो दाजु पनि बाख्रा धपाउन भनी आएको थिए । मैले दिसा धोई जान लाग्दा दाजु कटुसको बोटमुनि बसेको रहेछ भेट भयो । दाजुले दूध समाई सुत भन्नु भयो । करणी लिनुदिनु भयो । सावित्रीले देखेपछि सबैलाई भनिदिन्छु भनी यसले सबैलाई भन्दिने भई, थाहा हुने भयो । यसलाई मार्नुपर्यो भनी मनमा उठी घाँटीमा समाती हँसियाले पुर्पुरोमा हिकाई मलाई ढुङ्गाले हिर्काई मैले निजलाई समाई लडाएँ र घाँटीमा अठ्याई ठूलो दाइ ठूलो दाइ भनी विस्तारै बोलाएँ । दाइ आई पुग्नु भयो । यसले करणी भएको कुरा देखिछ, भनिदिन्छु भन्छे भनें । त्यसोभए मारिदिनुपर्छ भनी मैले समातेको घाँटीमा दाजुले समाते मैले दुवै हात समातें एकछिनपछि खुट्टा तनक्क तानी मैले छोडी दिएँ दाजुले पनि छोडिदिनु भयो । मरेपछि माडबारी मैले लुछी लिएँ । भोलि मानिसहरूले थाहा पाउलान् मैले नै मारेको भन्नु भनें दाजु घरतर्फ गए म पनि नल लिई घर गएँ भन्ने समेत प्रहरीमा कान्छीको कागज ।
५. सावित्रीलाई कर्तव्य गरी मारेकोमा कान्छी आफू सावित भई दाजु रुद्रप्रसादलाई समेत सहमती भनी पोलेकी सर्जमिनका मानिसले रुद्रप्रसादउपर कर्तव्यको शंका देखाएकोले रुद्रप्रसाद र कान्छीको कर्तव्यबाट सावित्रीलाई मारेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धीको १३ नं. को ३ दफाअनुसार सजाय हुन पेश गरेको छु भन्ने वादी श्री ५ को सरकारको तर्फबाट प्रस्तुत गरेको अभियोगपत्र ।
६. घटनास्थलमा छरिएको पोते बहिनी कान्छीको हो । सावित्रीलाई मारेमा बहिनीउपर शंका लाग्छ । मैले बहिनीलाई करणी गरेको र मसमेत भई सावित्रीलाई मारेको होइन म निर्दोष छु भन्ने रुद्रप्रसाद सेढाइँंले अदालतमा गरेको बयान ।
७. म दिसा गरेर दिसा धोइसकेपछि दाजु रुद्रप्रसाद पनि त्यहीँ आई करणी गरौं भनेकोले करणी गर्यौं । करणी गरेको मर्ने सावित्रीले देखिछ । करणी गरेको भनिदिन्छु भनेको कारणबाट सावित्रीलाई मैले र दाजु रुद्रप्रसाद भई मारेको हुँ भन्ने समेत कान्छी पँडेनीले अदालतमा गरेको बयान ।
८. दाजु र म भई मारेको हुँ भनी कान्छी पँडेनी सावित भएको रुद्रप्रसाद इन्कार गर्छ तापनि कान्छीले पोल गर्नुपर्ने कारण देखाउन नसकेको अधिकांश सर्जमिनहरूले शंका गरेको रुद्रप्रसादको साक्षी हाजिरै हुन नआएको अरू सफाइको सबूत रुद्रप्रसादबाट गुज्रन नआएकोले कान्छी र रुद्रप्रसाद भई मारेको ठहर्छ । कान्छीलाई ज्यानसम्बन्धीको १३ नं. को ३ दफाअनुसार गर्ने कान्छीको बयानबाट कान्छीले मर्ने अवस्थामा पुर्याइसकेपछि रुद्रप्रसाद पुगेको भन्ने देखिएबाट तत्काल उठेको रीस थाम्न नसकी अन्तिम अवस्थामा ज्यान मार्ने अपराधमा सम्मिलित भएको देखिएको त्यस्तो अवस्थामा जन्मकैद गर्दा चर्को पर्ने चित्तमा लागेकोले ज्यानसम्बन्धीको १४ नं. अनुसार १० बर्ष कैद गर्नुपर्ने ठहर्छ भन्ने समेत रसुवा तथा नुवाकोट जि.अ.को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी पक्षबाट सरकारी अधिवक्ता र प्रतिवादी रुद्रप्रसादको छुट्टाछुट्टै पुनरावेदन ।
१०. रुद्रप्रसादको विरुद्ध तथ्ययुक्त किटानी सबूत प्रमाण नहुँदा रुद्रप्रसाद समेत भई कर्तव्य गरी मारेको ठहर्दैन । निजलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजाय गरेको रसुवा तथा नुवाकोट जि.अ.को इन्साफ गल्ती र कान्छी पँडेनी सावित भएकोले निजलाई सर्वश्वसहित जन्मकैद गर्नुपर्नेमा सर्वश्व गर्न छुटाएकोले सजाय केही घटी पारेकोसमेत ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।
११. सो फैसलाउपर चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।
१२. मर्ने सावित्रीलाई कुटी घाँटी अठ्याई मारेमा कान्छी पँडेनी सावित भएकोले कान्छी पँडेनीलाई कर्तव्य गरी मारेको भन्ने वादी दावी समर्थित हुन आएको देखिएकोले कान्छी पँडेनीको मनमा सावित्रीलाई मार्ने विचार उब्जी घाँटी अठ्याउने र हतियार आँसीको चुच्चाले हान्दासम्म रुद्रप्रसादलाई बोलाएको देखिँदैन । त्यसपछि विस्तारै बोलाउँदा आएको भनिएको छ, त्यतिको घटना हुँदासम्म खोल्साबाट पहिले नै उत्तरतर्फ गइसकेको भनिएको रुद्रप्रसाद टाढा पुगिसकेको हुनु पर्ने बिस्तरै बोलाउँदा पनि सुन्न सकिने अवस्था भएको देखिँदैन । मार्न भनी कुटिसकेपछि रुद्रप्रसादलाई बोलाउनु पर्ने कारण पनि देखिँदैन । बुझिएको साक्षी सर्जमिन कतैबाट पनि हाडनातामा करणी गरेको देखिँदैन । मुद्दा चलाएको पनि छैन । हाडनातामा करणी भएको नदेखिएकोले कान्छीको पोल निराधार देखियो । रुद्रप्रसादके सुरूवालको दाग रगत हो भन्ने तर्क उठेको भए पनि सो रगतकै दाग हो भन्ने प्रमाणबाट देखिन नआएको रुद्रप्रसादले सावित्रीलाई मारेको हो भन्ने विश्वास लाग्दो सबूत नदेखिएको शंकाको भरमा कसूर गरेको भन्न नमिल्नेसमेत हुनाले कान्छी पँडेनीलाई सर्वश्वसहित जन्मकैद गरेको र रुद्रप्रसादलाई सफाई दिने गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत मा.न्या.श्री ब्रम्हदत्त तिवारीको राय र सर्जमिनले रुद्रप्रसादउपर पूरा शंका गरी लेखाइदिएको र लास रहेको ठाउँमा १ जनाले मात्र लास बोकी ल्याई राखिदिन सक्ने अवस्था नभएकोले भनी दुवैजनाउपर कारणसमेत देखाई शंका गरेको देखिन आएको रुद्रप्रसादको भाइले कागज गर्दा कान्छी आफू सावित भई रुद्रप्रसादलाई पनि बताएकोले निजहरूले मारेको शंका लाग्छ भनी लेखिदिएको समेत मिसिल प्रमाणबाट प्र.रुद्रप्रसादसमेत कसूर अपराधमा सम्मिलित भएको देखिन आएको रुद्रप्रसादको बयानबमोजिम सफाइतर्फ हेर्दा साक्षीहरू म्याद गुजारी हाजिर नभएको सफाइतर्फ निराधार भएकोले समेत कान्छी पँडेनीको बयानमा लेखिएबमोजिम रुद्रप्रसादले घाँटी अठ्याई सावित्रीलाई मारेको ठहर्छ । रुद्रप्रसादलाई जन्मकैदको सजाय हुनेमा रिहाई दिने गरेको निर्णयमा मेरो राय सहमत नभएकोले छुट्टै राय प्रकट गरेको छु । कान्छी पँडेनीको हकमा निज सावित भएको हुनाले सर्वश्वसहित जन्मकैद गर्ने ठहराई जाहेर गरेकोमा २ जना भई मारेको ठहरेको र यसको चोटले मरेको भन्ने नखुलेको हुँदा ज्यानसम्बन्धीको १३ नं. दफा २ ले जन्मकैद मात्र हुने हुँदा सर्वश्व गर्न पर्दैन । कान्छी पँडेनीलाई जन्मकैद गर्दा चर्को पर्ने चित्तमा लागेकोले १० बर्ष कैद गरी छाडिदिन उचित लागेकोले चित्तमा लागेको राय पनि व्यक्त गरेको छु भन्ने समेत मा.न्या.श्री त्रैलोक्यराजको राय भएको ०२८।८।८ मा डिभिजन बेञ्चको फैसला ।
१३. कृष्ण थपलियाकी छोरी सानुलाई पहिले म्याद जारी भएकोमा मानिस घरद्वारसमेत पत्ता नलागेको भनी म्याद तामेल भएको निज नबुझी नहुने मुख्य प्रमाणकी भएकीले अ.बं.११५ नं.बमोजिम गरी बुझ्नेसमेत ०२९।१।२७।३ मा आदेश भई बुझिएकोमा मलाई केही थाहा छैन । सावित्री भन्ने मानिस मैले चिनेको थिइन । २२ साल माघ १५ गते म मेरो बाबुको घरमा थिएँ हुँला । सो टायममा म नाबालख हुनाले मैले कुनै जाने थाहा पाएकी छैन । कान्छी पँडेनीलाई मैले मितिनी दिदी भन्ने गरेको पनि थिइन । मेरा कुनै दिदीसँग निज कान्छी पँडेनीले मितेरी लगाएकी पनि थाहा छैन भन्ने समेत सानुभन्ने खोलकुमारीले बयान गरेकी ।
१४. रगतको दाग लागेको भनेकी कान्छी पँडेनीको फरिया र रुद्रप्रसादको कमिज सुरूवालमा लागेको दाग मानिसको रगतको हो होइन । हो भने कान्छी पँडेनीको फरिया र रुद्रप्रसादको कमिज सुरूवालमा लागेको भनेको दाग एकै किसिमको या बेगल के हो वीर अस्पतालबाट जाँच गराउने ०२९।१।२७।३ को फुल बेञ्चबाट आदेश भएकोमा सो रगत जाँच्ने काम यस अस्पतालबाट हुन नसक्ने भनी वीरअस्पतालले जवाफ दिएको ।
१५. यस बेञ्चसमक्ष वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले दाजुलाई बहिनीले झुठ्ठा पोल गर्नुको कारण पत्यारलायक छैन, दाजु बहिनीको करणीको कुरा प्रकाश हुन नदिनुको कारणबाटै मारेको मिसिल प्रमाणबाट देखिएकैछ । मारेको ठाउँबाट लास घिसारेर होइन उठाएर खोल्सामा लगी फ्याँक्ने काम कान्छी १ जना स्वास्नी मानिसको मात्र साहस र बलबाट हुन सक्ने होइन । त्यसकारण रुद्रप्रसादसमेत भई मारेको प्रमाणित भएकै छ । डिभिजन बेञ्चमा मा.न्या.त्रैलोक्यराजले व्यक्त गर्नुभएको राय कायम हुनुपर्छ भन्ने समेत र थुनुवा अभियुक्तहरू तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री कुलराज गुरुघरानाले दिनको टायममा दाजुबहिनीको करणी भएको भन्ने कुरा नै असम्भव छ । हाडनाता करणीमा मुद्दा चलाइएको पनि छैन, त्यसकारण करणीको कुरा प्रकाश हुन नदिन कर्तव्य गरी मारेको भन्ने कुरा त्यति भरपर्दो छैन । रुद्रप्रसादसमेत भई मारेको देख्ने सबूत कोही छैनन् । पोलसम्मको भरमा कसूर ठहराउन मिल्दैन । रुद्रप्रसादले सफाई पाउनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१६. यसमा प्रस्तुत मुद्दा डिभिजन बेञ्चमा पेश हुँदा प्रतिवादी रुद्रप्रसाद र कान्छी पँडेनी दुवैजना ज्यानमाराको अपराधी ठहर्छन् भनी मा.न्या.त्रैलोक्यराजले र कान्छी पँडेनी सावित भएकी निजको सावितीलाई सबूतले समर्थन गरेको रुद्रप्रसादका हकमा पोलमात्र भएको सबूत नभएको हुनाले रुद्रप्रसादले सफाई पाउने भनी मा.न्या.श्री ब्रम्हदत्तले राय गर्नु भई २०२८।८।८।५ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकेकोबाट यसबेञ्चमा पेश हुन आएको छ । कान्छी पँडेनीका हकमा डिभिजन बेञ्चका दुवै मा.न्या.हरूले कसूरदार ठहराएको हुनाले रायबाझी भएको रुद्रप्रसादका हकमा निजले कसूर अपराध गरेको ठहर्छ ठहर्दैन भन्नेकुराको निर्णय दिनुपरेको छ ।
१७. निज रुद्रप्रसादउपर प्र.कान्छी पँडेनीले आफू अपराधमा सावित भई पोलेकी छन् । झुठ्ठा पोल गर्नुपर्ने मनासिव माफिकको कारण रुद्रप्रसादले देखाउन सकेको छैन । एउटै कान्छी पँडेनीले मर्ने सावित्रीको लास वारदात भएको ठाउँबाट उचाली लास रहेको ठाउँ पानीको डोविल्कोमा राख्न कसरी सक्छ ? ज्यान मार्नको कारण कान्छी पँडेनी र रुद्रप्रसादसमेतलाई एउटै जरुरत परेको देखिन्छ भन्ने समेत निज रुद्रप्रसादलाई कसूर ठहराउनेतर्फ मा.न्या.श्री त्रैलोक्यराजको रायमा बुँदा उल्लेख भएको पाइन्छ ।
१८. कान्छी पँडेनीको बयानतर्फ हेर्दा निज सावित्रीदेवी गोरु लिन आएकी रहिछ र करणी गरेको देखिछ र मलाई तिम्रो करणीको कुरा भनिदिन्छु भनेकीले मैले सावित्री भएको ठाउँमा गई भन्छेस् भनी सोद्धा भन्छु भनी त्यसपछि निज सावित्रीको हात समाती सोद्धा पनि भन्छु भनेकीले मैले मर्ने सावित्रीको घाँटीमा दुवै हातले समातें, सावित्रीले मेरो कम्मरमा समाती, मैले एक हातले निज सावित्रीको हात फुस्काएँ, अनि मर्ने सावित्रीले मेरो अगाडिपट्टिबाट मलाई समाती मैले हँसियाले निधारमा हिर्काएँ, चर्को स्वरले कराउन लागी मेरो एक हातले घाँटीमा समातिराखेकोले बेस्सरी कराउन सकिन, विस्तारै मारी बाबा भनी कराई सो कुरा कसैले पनि सुनेनन् । त्यसपछि हँसिया निज मर्ने सावित्रीले समातेकी मैले खोसेर फालें, त्यसपछि सावित्रीले मेरो पटुका समातेर लछार पछार गर्दा मेरो पटुका पनि च्यातियो, पोते पनि चुँडियो । हँसियाको धारतर्फ सावित्रीले समातेकोले मैले बिंड समातेकोमा तानातानी हुँदा निजको दुवै हातमा घाउ पनि भएको र मैले निधारमा हिर्काएको चोटले सावित्रीको निधारबाट र हातबाट पनि रगत बगेको, ढुङ्गाले पनि हिर्काएकी सोही ढुङ्गाले मैले पनि हानें, यस्तै हुँदाहुँदै निज सावित्रीलाई पछाडि उत्तानो पारी दुवै हातले घाँटीमा समाती विस्तारै ठुल्दाई भनी बोलाएँ, अनि रुद्रप्रसाद सर्किनीको खेतको छेउबाट आए । सावित्रीको र मेरो कुस्ता कुस्ती भएको रुद्रप्रसादले देखे नदेखेको मलाई थाहा भएन सो ठाउँमा आईपुगेपछि सावित्री विस्तारै बोल्दै थिई, रुद्रप्रसादलाई यसले करणीको कुरा भनिदिन्छु भनेकीले यसलाई मार्न घाँटी समातेको भनें, मारौं कि के गरौं भनी सोध्नलाई बोलाएको भनें र दाजुले पनि मार्न पर्छ भनी घाँटीमा समाते मैले दुवै पाखुरामा समातेपछि मर्ने सावित्रीले पहिले दाहिने खुट्टा पछि देव्रे खुट्टा तानी त्यसपछि हात छाडिदिएँ, दाइले पानी ल्याई मुखमा हालेका थिए पानी केही निलें अनि निलिएन, त्यसपछि दुवै हात तानी र मरी मृतकको कानबाट दुईटा माडवारी, मुन्द्री लुछी लिएँ, दाजु र मसमेत भई उचाली पानीको डोविल्कोमा लास राखिदिएका हौं भन्ने समेत उल्लेख गरेको देखिन्छ ।
१९. सावित्रीले करणीसम्बन्धको कुरा भनिदिन्छु भनी कान्छी पँडेनीलाई मात्र भनेको छ, त्यसबखत रुद्रप्रसाद छैन । कान्छी पँडेनीले नै निजलाई समाती तानातान लछारपछार, हँसिया र ढुङ्गाले कुटपिट गरी मर्ने सावित्रीलाई उत्तानो पारी घाँटी अठ्याई विस्तारै बोल्न सक्ने स्थितिमा पुर्याइसकेपछि दाजुलाई बोलाएको भन्ने देखिन्छ । सो भनाइबाट मार्नको निमित्त आफ्नो तागतले नपुगी दाजुलाई मद्दत निमित्त बोलाएको भन्ने कुरा देखिँदैन । निजको भनाइबाट पनि मारौं कि के गरौं भनी सोध्न बोलाएको भन्ने उल्लेख छ । पहिले नै कुटपिट लछारपछार गरी उत्तानो पारी घाँटी दवाई अलि अलिमात्र बोल्न सक्ने हालतमा पुर्याइसकेपछि मार्ने कि के गर्ने भन्ने सल्लाह निमित्त बोलाएको भन्ने कुरा प्रतितलायक छैन । यदि सल्लाह गर्नुपरेको भए वा निजको तागतले नसक्ने भएका कारणबाट मद्दतको निमित्त बोलाउनु परेको भए वारदात शुरू हुनुभन्दा अगाडि बोलाउन नसक्ने स्थिति देखिँदैन । जुन कि विस्तारै बोलाउँदै रुद्रप्रसाद आएको भनिएको छ, त्यसकारण निज रुद्रप्रसादउपर कान्छी पँडेनीको पोलबाटै, खँदिलो र भरपर्दो छैन ।
२०. सहअभियोगी हुँ भन्ने कान्छी पँडेनीले रुद्रप्रसादलाई पोल गरेको छ । निज रुद्रप्रसाद इन्कारमा रहेको छ । सहअभियोगीले पोल गरेको कुरा अरू प्रष्ट प्रमाणले समर्थन के कति गर्न सकेको छ भन्नेतर्फ हेर्दा रुद्रप्रसादको कमिज सुरूवालमा रगत लागेको भन्ने उल्लेख छ । सो रगतको सम्बन्धमा मौका सर्जमिनले लेख्दा रगतको दागजस्तो भनी उल्लेख गरेका छन् । रुद्रप्रसादले अदालतमा बयान गर्दा रगतको छिटा लागेको कपडा देखें सो रगत होइन । अघिदेखिको फोहर लागेको दाग भने र के को दाग हो भन्न सक्दिन भन्ने पनि बयान गरेको छ । सो दाग लागेको रगत हो कि होइन भनी वैज्ञानिक जाँचबाट निष्कर्ष आउन सकेको छैन । रगतको दाग हो भन्ने निश्चिय हुनु र सो पनि मानिसको रगत हो भन्ने देखिनु पर्छ र वारदात भएको समयमा लागेको दाग हो भन्ने निश्चयमा पुगेमात्र सो रगतको जस्तो दाग भनेकोलाई प्रमाणको आधार मान्नु पर्ने स्थिति हुन आउँथ्यो । सोबमोजिम नभई अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न भएन । सोबाहेक अरू कुनै सबूत प्रमाण पनि देखिँदैन ।
२१. एक्लै कान्छी पँडेनीले मर्ने सावित्रीलाई कसरी मार्न सक्छे, कसरी लास उचालेर अन्य स्थानमा राख्न सक्छे भन्ने समेत तर्कका हकमा मर्ने सावित्री १३ बर्षकी र कान्छी पँडेनी १७ बर्षकी भन्ने उल्लेख छ । निजको बयानबाट आफैं कुटपिट गरी पछाडि घाँटी दवाई सकेको समेत देखिन्छ । त्यस स्थितिमा निज एक्लैले मार्न सक्दैन, त्यस्तो भन्ने तर्क युक्तिसंगत हुँदैन । उसैमाथि मार्न सक्छन्, सक्दैन लास उचाली लग्न सक्छ सक्दैन भन्ने अनुमानित तर्क हुन माथि लेखिएबमोजम तथ्य प्रमाणको अभावमा त्यस्ता अनुमानित तर्कवितर्कको आधारमा कसूरदार ठहर्याई सजाय दिन न्यायोचित हुँदैन ।
२२. तसर्थ प्रमाणको अभावमा प्रतिवादी रुद्रप्रसाद कसूरदार नठहर्ने भनी बागमती अञ्चल अदालतले फैसला गरेको सदर गरी ०२८।८।८।५ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्तले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ, रुद्रप्रसादको हकमा कसूर ठहराएको मा.न्या.श्री त्रैलोक्यराजको राय मिलेको देखिएन । कान्छी पँडेनीको हकमा डिभिजन बेञ्चका मा.न्या.श्री त्रैलोक्यराजले अ.बं.१८८ नं.बमोजिम सजाय घटी गर्ने राय गर्नुभएकोमा वारदातको अवस्था हेर्दा सो राय उपयुक्त नै देखिएको हुनाले निज कान्छी पँडेनी ०२३।११।२३ देखि थुनामा रहेको हुँदा करिव ७।। बर्ष कैदमा परिसकेको हुनाले निजलाई सो सजाय नै पर्याप्त भइसकेको देखिनाले निजलाई र न्याय पाउने ठहरेको रुद्रप्रसादलाई समेत शुरू रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०२४।१२।१४।४ को फैसलाले गर्ने गरेको जन्मकैदको र बा.अं.अ.को ०२७।१।३०।१ को फैसलाले गर्ने गरेको सर्वश्वसमेतको लगत काटी सर्वश्व रोक्का भइसकेको भए फुकुवा गरिदिनु भनी का.जि.अ.तहसिलमा लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।
मेरो सहमती छ ।
न्या. झपटसिंह रावल
प्र.न्या.रत्नबहादुर विष्टको राय
यसमा लास जाँच मौका तहकिकात मुचुल्कासमेतबाट मर्ने सावित्री कर्तव्यबाटै मरेकी भन्ने कुरा निर्विवाद सिद्ध भइराखेको छ । कान्छी पँडेनी रुद्रप्रसाद सेढाइँ २ जनाले कर्तव्य गरी मारेको भनी निजहरूउपर मुद्दा चलाएकोमा अभियुक्त कान्छी पँडेनीको हकमा कसूर ठहराएतर्फ डिभिजन बेञ्चका माननीय न्यायाधीश दुवैजनाको राय मिलिराखेकै छ र कान्छी पँडेनीले पोल गरेकी सहअभियुक्त रुद्रप्रसाद सेढाइँको हकमा सम्म निजले कसूर गरेनगरेको के हो भन्नेकुरामा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी यस बेञ्चसमक्ष पेश हुन आएको हुँदा निज रुद्रप्रसादले कसूर गरेको हो होइन सो कुरा मुख्य रूपले विचार गर्नुपर्ने हुन आएको छ । मर्ने सावित्रीको मृत्यु निजलाई लडाई घाँटी अठ्याइदिएको कारणबाट हुन गएको भन्ने कान्छी पँडेनीले बयान गरेकी र लास जाँच मुचुल्काबाट पनि घाँटीमा छाला खुइलिएको रातो डाम भई छाला सारो भएको भन्ने देखिन आएकोले घाँटी अठ्याएको बाटै सावित्रीको मृत्यु हुन गएको भन्नेमा कुनै शंका छैन । तत्काल मर्ने सावित्री १३ बर्ष उमेरकी र कान्छी पँडेनी १७ बर्ष उमेरकी भन्ने लेखाएकाले १३ बर्ष उमेरकी सावित्रीलाई १७ बर्ष उमेरकी कान्छी पँडेनी १ जनामात्रले घाँटी अठ्याई मार्न सक्ने अवस्था छ छैन भन्नेतर्फ हेर्दा पहिले २ जनाको कुस्ताकुस्ती हानाहानसमेत भएको भन्ने कान्छी पँडेनीकै बयानबाट देखिन्छ । उमेरमा कान्छीभन्दा सावित्रीको केही कम भए पनि जोडतोडको साथ कान्छीसँग कुस्ताकुस्ती गर्न सक्ने बल भएकी सावित्रीलाई कुस्ताकुस्ती हुँदा कान्छी पछारी घाँटी अठ्याए पनि सावित्रीले आफ्नो हात खुट्टासमेतको बल प्रयोग गरी कान्छीले घाँटी अठ्याएको फुत्काउन चिच्याउनु कराउन सम्भव हुन सक्ने हुँदा मर्ने सावित्रीलाई कान्छी १ जनामात्रले घाँटी अठ्याई मार्न सक्नेसम्मको वारदातको रूप अवस्था देखिन आउँदैन । मोदीको मेडिकल जुडीस प्रोडेन्सको पाना १६७ को प्रकरण २ को औंठा हरफमा उमेर पुगेका मानिसहरूको भीडन्तमा मर्ने यदि कमजोर छ नातागति छ अथवा पहिले नै निजलाई कुनै नसा खुवाई दुर्वल पारेको छ भनेमात्र हातले गलो अठ्याई एकजनाले अर्कोलाई मार्ने सम्भव छ भन्ने उल्लेख भएको छ । वारदातको रूपबाट कान्छीको पोलबमोजिम निज सावित्रीलाई घाँटी अठ्याई मारेमा रुद्रप्रसादसमेतको सहयोग भएको भन्ने कुरा समर्थित हुन आउँछ । कान्छी र रुद्रप्रसाद सहोदर दाजुबहिनी भन्ने देखिए रुद्रप्रसादको कसूर नभए आफ्नो दाजुलाई ज्यान र करणीजस्तो दोषमा बहिनी कान्छीले झुठ्ठा पोल गर्नुपर्नेसम्मको विश्वासलायक कुनै कारण रुद्रप्रसादले देखाउन सकेको पनि पाइँदैन । मर्ने सावित्रीको लास वारदात भएको ठाउँमै रहे राखेको नभई वारदात भएको ठाउँबाट १५ हात पर पानीको डोविल्कामा लगी राखेको फेला परेको छ । सो लास दाजु रुद्रप्रसादले टाउकोतर्फ मैले खुट्टातर्फ समाती त्यहाँ लगी राखेको भन्ने कान्छीको बयान गराई छ । वारदात भएको ठाउँबाट लास रहेको ठाउँसम्म जमीन घस्रिए माडिएको भन्ने लासजाँच मुचुल्काबाट नदेखिनाले घिसारी लगेको भन्ने नभई कान्छीको बयानबमोजिम मरेको ठाउँबाट जुरुक्क उचाली लगी पानीको डोविल्कामा राखेको भन्ने कुरा नै पुष्टि हुन्छ, के स्वास्नीमानिस कान्छी १ जनामात्रले १३ बर्ष उमेरकी सावित्रीको लास जुरुक्क उचाली बोकी १५ हात पर पानीको डोविल्कामा लगी राख्न सकी होलिन् ? यो कुरा विश्वासलायक देखिन आउँदैन । त्यसरी लास एक ठाउँबाट उठाई अर्को ठाउँमा लगी राख्नलाई अर्को मानिसको पनि सहयोग चाहिने अवस्था देखिन्छ र यसबाट रुद्रप्रसादसमेत भई लास उठाई पानीको डोविल्कामा लगी राखेको भन्ने कान्छीको पोलबाट प्रमाणित हुन्छ । वारदात हुँदा दाजुको कमिजमा पनि रगतको छिटा लागेको भनी कान्छीले आफ्नो बयानमा लेखाएकी रगतको दाग लागेको भनी रुद्रप्रसदको कमिज सुरूवाल मौकैमा बरामद हुन आएको मौकामा तहकिकातका केही सर्जमिनले पनि सो कमिज सुरूवालमा परेको दाग रगतजस्तो लागेको भनी लेखिदिएको समेत पाइन्छ । सो दागको सम्बन्धमा अभियुक्त रुद्रप्रसादले पहिले प्रहरीमा कागज गर्दा २० सालदेखि नै फोहरमैलाको दाग लागेको हो, रगतको दाग लागेको होइन, पसिनाको भावबाट लागेको दाग हो भनी लेखाएको र अदालतमा बयान गर्दा कतै २० सालदेखि नै फोरह मैलाको दाग लागेको र रगत होइन पसिनाको दाग लागेको हो भन्ने कतै २० सालदेखि सो लुगा बराबर धुँदा पनि नगएकोले के को दाग लागेको हो भन्न सक्दिन भन्ने, कतै ठाउँ ठाउँ रगतको छिटा लागेको नैनसुतको सुरूवाल र कमिजसमेत मेरै हो, सुरूवाल कमिजमा लागेको रगत होइन के को दाग हो भन्न सक्दिनँ भनेको समेत भई निजको बयानको कुरा परस्पर मिल्न आएको छैन । ठाउँ ठाउँमा रगतको छिटा लागेको नैनसुतको सुरूवाल कमिजसमेत मेरो हो भनी आफैंले सनाखत गरेको छ । करणी गरिसकेपछि उत्तरतर्फ गइसकेको भनिएको दाजु रुद्रप्रसाद टाढा पुगिसकेको हुनु पर्ने कान्छीले विस्तारै बोलाएको सुन्न सकी आउन सक्ने अवस्था भएको देखिँदैन भन्ने डिभिजन बेञ्चका मा.न्या.श्री ब्रम्हदत्तले आफ्नो रायमा तर्क उठाउनु भएको यससम्बन्धमा कान्छीको बयानमा करणी भइसकेपछि उत्तरपट्टिको खेतको पानीको कुलाबाट तिमीहरूको त्यस्तो भएछ सबैलाई भनिदिन्छु भनी सावित्रीले भनेको कुरा मैले सुनें, दाजुले सुने नसुनेको थाहा पाइनँ, दाजुले फुकालेको सुरूवाल लगाई उत्तरतर्फको खेततर्फ आई केही मास्तिर लाग्नुभयो । निज सावित्रीलाई दाजुले पनि देखेको हुनुपर्छ भनी लेखेको छ । निज कान्छी तत्कालै वारदात भएको ठाउँ कटुसको बोटनेर आई सावित्रीसँग त्यसैकुरामा भनाभन कुस्ताकुस्तीसमेत भई वारदात भएको निज कान्छीको बयानबाट देखिन्छ, यसरी कान्छी रुद्रप्रसाद दुवै करणी गरेको भनेको थलामै छँदै सावित्रीले परबाट भनिदिन्छु भनेकी र तत्काल कान्छी त्यहाँ आई २ जनाको भनाभन कुस्ताकुस्तीसमेत भएको रुद्रप्रसादले देखे नसुनेको होला भन्न सकिने अवस्था नभएको र सावित्रीले रुद्रप्रसाद कान्छी दुई दाजुबहिनीको जुन करणीको कुरा भनिदिन्छु भनी कान्छी सावित्री २ जनाको भनाभन कुस्ताकुस्ती हुन लागेको देखे सुनेपछि रुद्रप्रसाद केही माथि आएको भए पनि आफ्नो करणीको कुरा छिपाउन कान्छीले उठाएकी वारदातमा चासो राखी त्यहाँ अडिनु स्वाभाविक हुनाले कान्छीले विस्तारै बोलाएको रुद्रप्रसादले सुनी आउन सक्ने अवस्थै नभएको भन्ने कल्पना गर्न मिल्दैन । सावित्रीलाई कर्तव्य गरी मार्नुपर्ने मुख्य कारण कान्छी र रुद्रप्रसाद दुई दाजुबुहिनीको करणी भएको सावित्रीले देखे भनिदिन्छु भनेकीबाट हो भन्ने कुरा कान्छीको बयानबाट देखिन आएको छ, सोबाहेक सावित्रीलाई मार्नुपर्नेसम्मको अरू कारण भएको मिसिल प्रमाणबाट नदेखिएको र आफू पनि सजाय भागी हुन्छ भन्ने जानकारी भई कान्छी पँडेनीले पोल गरेकी र निज कान्छी पँडेनीको पोल परीस्थिति सबूतबाट यथार्थ रूपमा समर्थिन हुन आएकोसमेत हुँदा निज रुद्रप्रसाद निर्दोष रहेछ भन्न मिल्ने देखिएन । कान्छी रुद्रप्रसाद दुवैजना भई सावित्रीको घाँटी अठ्याई मारेको ठहर्याई ०२८।८।८।५ को डिभिजन बेञ्चमा मा.न्या.श्री त्रैलोक्यराजले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ । यस बेञ्चका सहयोगी मा.न्या.हरूले रुद्रप्रसादलाई सफाई दिने ठहर गर्नुभएको र यसमा मेरो सहमती नहुँदा आफ्नो राय छुट्टै व्यक्त गरेको छ । नियमबमोजिम बहुमतको राय सदर हुने हुँदा सो अनुसार गर्नु ।
इति सम्वत् २०३१ साल आषाढ २८ गते रोज ६ शुभम् ।