निर्णय नं. ८१७ - लिखत बदर
निर्णय नं. ८१७ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०२८ सालको दे.फु.नं. ११७
फैसला भएको मिति : २०३१।३।१४।६
निवेदक : जि.सप्तरी प्र.जगदर मौजे वभुवा बस्ने बुनिमाझीको सकार गर्ने झौलाई चौधरी थारु कानून चौधरी थारु
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने हंसावति थरुनी मगली थरुनी समेत
मुद्दा : लिखत बदर
(१) धेरैजना उपरको छुट्टाछुट्टै बिषयको कुरामा अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने ।
तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अदालती बन्दोबस्तको ९८ नं.मा एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै बिषयको कुरा लेखिल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै बिषयको कुरा लेखिल्याएको भए पनि लिई सोबमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी दावीको २ लिखतको आसामीसम्म एउटै भए पनि राजीनामा दिएको जग्गा मिति साहूसमेत फरक भएको र लिखत बदर गरिपाउँ हंसावती मंगलीले गराएको दर्ता बदर गरिपाउँ आफ्नो नाममा दर्ता गराइपाउँ भन्ने ३ किसिमको वादीको माग दावी भएको समेतबाट झगडाको बिषय एउटै नभई छुट्टाछुट्टै हो भन्नमा कुनै शंका छैन । यस्तो धेरैजनाउपरको छुट्टाछुट्टै बिषयको कुरामा उक्त अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने कानूनी व्यवस्था प्रष्ट छ ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : अधिवक्ता झुलेन्द्रप्रसाद छतकुली
फैसला
न्या. झपट सिं रावल
१. प्रस्तुत मुद्दा ०२४।१०।२३।३ को डिभिजन बेञ्चबाट निर्णय भएको दोहर्याइपाउँ भन्ने वादी पक्षको निवेदन परेकोमा व्यहोरा साँचो भया डिभिजन बेञ्चले फैसला गरेको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत ०२८।२।११।३ मा हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : मेरो छोरा जेठो धोनीलाल माइला झौलाई साइला मुटाई काइला कानून कान्छा पाचु ५ भाइ हुन् पाचु २००७ सालमा परलोक भएपछि बाबुको नामको जग्गा कठ्ठा द्र४ समेत जेठो छोरा धोनीलालका नाममा दर्ता गराइराखेको मेरो मन्जुरीबेगर कसैलाई दिन नपाउनेमा धोनीका नामको दर्तामध्ये मौजे डधेनाको नं.५५९।४४७ मध्ये १३।२ भा.रू.१५०० मा हंसावतिलाई १९।११।१३ मा घरायसमा राजीनामा गरी लिए ऐ.१६ गते रजिष्ट्रेशन पास गरेको र मौजे बधाखालको नं.८५६,८५७ को जग्गा कठ्ठा द्र४ भा.रू.५०० मा मंगलीलाई ०१९।११।२४ मा राजीनामा गरी ऐ.१५ गते रजिष्ट्रेशन पास गरी दिएको कुरा २०२०।२।१५ मा थाहापाएको सो राजीनामा लिखत र हंसावति मंगलीले गराएको दर्ता दाखिलसमेत बदर गरी जग्गा मलाई थामी मेरा नाममा दर्ता गराइपाउँ भन्ने समेत वादी । हामीहरूको बाबु धोनीलाल र बाजे वादीसमेत तीसौं बर्ष अघि नै भिन्न भई कान्छा बाबु पाचु र हाम्रो बाबु धोनीसँग बस्नु भएको बाबु पाचु र बाबुको अंशको पछि बाजेको जग्गासमेत २ भाइले भोगिआएको पाचु मरेपछि पाचुको अंशको जग्गासमेत बाबु धोनीलालकै नाममा दर्ता गराउनु भएको धोनीलाले आफ्नो खुसी गर्न पाउने जग्गा राजीनामा रजिष्ट्रेशन पास गराई दिएलिएको हो लिखत बदर हुन सक्ने होइन भन्ने समेत हंसावति मंगलीको प्रतिवादी ।
३. २००४ सालकै नापीमा धोनीलालको नाममा नं.८५६।८५७ को जग्गा नापी भएको र नं.४४७ को जग्गा बुनीबाट राजीनामा गरी धोनीलालका नाममा दर्ता हुन आएको देखिनाले भिन्न भएको देखिन्छ । मंगलीलाई राजीनामा गरिदिएको नं.८५६।८५७ को जग्गा र बुनीबाट राजीनामा गरी धोनीलालका नाममा दर्ता भएको हंसावतिलाई दिएको जग्गासमेत धोनीलालकै आर्जन देखिनाले साहू आसामीको ८ नं.बमोजिम मन्जुरी नभए पनि सदर हुने ठहर्छ । हंसावतिले लिएको नं.५५९ को जग्गा कठ्ठा ।।।४ को हकमा पाचुले राजीनामा गरी लिई दर्ता गराएको निज पाचुकै आर्जन देखिन्छ तापनि पाचु मरी धोनीलालका नाममा दर्ता भएको तर पाचु धोनीलाल सगोलमा रहेको भन्ने मिसिलबाट नदेखिएको बाबु छँदै अपुताली छोराको हक पुग्न नसक्ने दर्तातर्फ बुनीको म्यादै भित्रको उजूर भएकोले नं.५५९ नं. को मध्ये ।।।४ धोनीलालबाट हंसावतिले गराई लिएको राजीनामा बदर हुने ठहर्छ भन्ने समेत ई.अ.हनुमाननगरको ०२१।७।३०।१ को फैसला ।
४. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको र प्र.हंसावतीको पुनरावेदन ।
५. बुनीलालले नै सामान्य तवरले छोराका नाममा दर्ता गराएको नभई निजको राजीनामाबाट निजको छोरा धोनीलालको नाउँ झगडा परेको नं.४४७ को जग्गा दर्ता हुन गएको देखिएबाट सगोलमा बसेको भन्न मिल्दैन । पाचुको नाउँको जग्गा दाखिल दर्ता गर्ने सम्बन्धमा धोनीलालले मालमा दर्खास्त दिई मालको आदेशबमोजिम ०१९।१०।२८।१ मा भएको मुचुल्काबाट पाचु र धोनी, बुनीसँग छुट्टी भिन्न भई पाचु र धोनीसँग बसेको देखिन्छ । त्यस्तो सगोलमा बसेको पाचुको अपुताली भिन्न भएको बाबुको हुन्छ भन्न नमिल्ने हुनाले धोनीकै हक हुने देखिँदा हंसावतीसँग लिई राजीनामा गराई लिएको सदर हुने ठहर्छ भन्ने सुरूको केही उल्टी गरी सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चले गरेको ०२२।३।३०।४ को फैसला ।
६. सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
७. धोनीलालले कि.नं.८५६।८५७।८५९ र ४४७ को जग्गामध्येबाट हंसावतीलाई १द्र३।२ र मंगलीलाई द्र४ राजीनामा गरिदिएको देखिएको र निजै धोनीलालले नं.८५६।८५७ को जग्गा आफ्ना नाममा दर्ता गराएको पनि देखिन्छ । नं.५५९ को जग्गा पाचुको नाममा दर्ता रहेको पाचु मर्दा मेरा नाममा दर्ता गरिपाउँ भनी धोनीलालले हनुमान नगर मालमा दर्खास्त दिएकोमा सरजमिन बुझ्दा बुनी र निजका छोरा झौलाईसमेत छुट्टी भिन्न भई पाचु धोनीलाई सँगै बसेको भन्ने समेत लेखिदिएकोबाट उक्त कि.नं.५५९ को जग्गा पाचुको नामबाट धोनीलालको नाममा दर्ता दाखिल भएको देखिएको सो मुचुल्का विरुद्ध वादीले उजूर गरी बदर गराएको नदेखिएको नं.४४७ को हकमा राजीनाबाट दर्ता गराएको भन्ने १ नं.फाराममा जनिएकोमा राजीनामा पेश हुन नसकेको भन्ने हकमा राजीनामा धोनीलालबाट पेश हुनु पर्ने निज प्रस्तुत मुद्दा शुरू नहुँदै ०१९ सालमा मरेको भन्न वादी लेखबाटै देखिएको छ । यसमा अरू धेरै कित्ता जग्गा धोनीलालका नाममा देखिएकोले सो धोनीलाल र पाचु बुनीसँग अगावै भिन्दै भई आफू–आफू सगोलमा रही पाचु मर्दा धोनीको हक हुन आएको जग्गा धोनीलालले छोरी हंसावतिलाई र मंगलीलाई राजीनामा गरिदिई पास भएको सिद्ध हुन आएकोबाट धोनीलालले गरिदिएको राजीनामाहरू बदर हुन सक्दैन । इन्साफ सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चको मनासिव छ भन्ने ०२४।१०।२३।३ को डिभिजन बेञ्चको फैसला ।
८. यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री सर्वज्ञरत्नले साविक अंशबण्डाको ४९ नं.बमोजिम बण्डापत्रको लिखत बेगर वादी बुनीसँग पाचु धोनीहरू छुट्टिएको भन्न मिल्दैन । बुनीले धोनीलाई राजीनामा गरिदिएको भनेको पेश हुन आएको पनि छैन । पाचुको नामबाट धोनीको नाममा दर्ता हुन आए पनि सगोलको जग्गा बाबु बुनीको मञ्जुरीबेगर छोरा धोनीले राजीनामा गरिदिएको सदर हुन नसक्ने हुँदा दावीबमोजिम लिखत बदर हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुलीले दर्तासमेतको प्रमाणबाट पाचु धोनीहरू बुनीसँग छुट्टी भिन्न भएको प्रमाणित भएको छ । पाचुको दर्ता निज मरेपछि सरजमिनसमेत बुझी पाचु धोनी सगोलमा बसेको कायम भई धोनीका नाममा दर्ता सरेको हो । सो सरजमिन दर्ताउपर वादीको उजूरै छैन । धोनीलालले आफू खुसी गर्न पाउने जग्गा बिक्री गरेको बदर हुनसक्ने स्थिति छैन । छुट्टाछुट्टै मानिसउपर छुट्टाछुट्टै बिषयको एउटै उजूर तत्कालिन अ.बं.९८ नं. ले लाग्न सक्ने पनि होइन । उजूर खारेज हुनुपर्छ यदि खारेज हुँदैन भने डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९. यसमा घरको मुख्य म बाबु छँदै सगोलको छोरा धोनीलालले मौजे दुधेनाको कि.नं.५५९।४४७ को जग्गा विगाहा १द्र३।२ भा.रू.१५००। मा ०१९।११।१३ मा हंसावतिलाई र मौजे बधाखापको कि.नं.८५६।८५७ को जग्गा कठ्ठा ४ भा.रू.५०० मा ०१९।११।२४ मा मंगलीलाई राजीनामा गरिदिएको लिखत र हंसावती मंगलीले आफ्ना नाममा गराएको दर्ता दाखिलसमेत बदर गरी मेरा नाममा दर्ता गराइपाउँ भन्ने वादीको दावी परी चलेको यो मुद्दा रहेछ, लिखतको मिति, जग्गा र साहूसमेत फरक फरक भएको झगडाको बिषय छुट्टा–छुट्टै भएको यस्तो कुरामा तत्काल प्रचलित अ.बं.९८ नं. ले एउटै नालिस लाग्न नसक्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले प्रारम्भिक आपत्ति व्यक्त गर्नु भएकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आएको छ ।
१०. तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अदालती बन्दोबस्तको ९८ नं.मा एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै बिषयको कुरा लेखिल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै बिषयको कुरा लेखिल्याएको भए पनि लिई सोबमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी दावीको २ लिखतको आसामीसम्म एउटै भए पनि राजीनामा दिएको जग्गा मिति साहूसमेत फरक भएको र लिखत बदर गरिपाउँ हंसावती मंगलीले गराएको दर्ता बदर गरिपाउँ आफ्नो नाममा दर्ता गराइपाउँ भन्ने ३ किसिमको वादीको माग दावी भएको समेतबाट झगडाको बिषय एउटै नभई छुट्टाछुट्टै हो भन्नमा कुनै शंका छैन । यस्तो धेरैजनाउपरको छुट्टाछुट्टै बिषयको कुरामा उक्त अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने कानूनी व्यवस्था प्रष्ट छ ।
११. एउटै नालिसमा धेरैजनाउपर धेरै बिषयको कुरा लेखी ल्याएकोमा फिरादपत्र फिर्ता गर्न भने नहुने बढी जति लेखिल्याएको कुराको यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अरू अड्डा वा यसै अड्डाबाट अर्को फिरादपत्र दिएमात्र इन्साफ गर्नुपर्ने भनी सो फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने भएको जति कुरा सोही फिरादपत्रको भरपाईमा लेखिदिनु पर्ने उक्त अ.बं.९८ नं. ले निर्देश गरेको कानूनी व्यवस्था हो तर शुरू इलाका अदालत हनुमान नगरले सोअनुसार नगरी छुट्टा–छुट्टै बिषयको धेरैजनाउपरको एउटै नालिस दर्ता गरी तह–तह इन्साफ गर्दै ल्याएको भए पनि उक्त अ.बं.९८ नं. को कानूनी व्यवस्थाको मर्यादा कायम राख्न एउटै लिखतको झगडा परेको बिषयमा मात्र प्रस्तुत नालिसबाट इन्साफ गरिदिनु पर्ने देखिन्छ । अब कुन लिखत र साहूउपरको दावीमा प्रस्तुत नालिसबाट इन्साफ गरिदिनु पर्ने हो भन्नेतर्फ यस अदालतले मानिआएको सिद्धान्तअनुसार फिरादपत्रमा मैले नाम उल्लेख भएका हंसावतिउपरको दावीमा सम्म प्रस्तुत नालिसबाट इन्साफ हुने र मंगली थरुनीतर्फको दावीमा प्रस्तुत नालिसबाट इन्साफ ठहर गर्न नमिल्ने देखिन्छ । त्यसकारण मंगली थरुनीउपरको दावीको हकमा शुरू तथा सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्च र ०२४।१०।२३।३ को डिभिजन बेञ्च समेतबाट इन्साफ ठहर गरेको मिलेको नदेखिँदा तह तह इन्साफ ठहर गर्दै ल्याएको बदर हुने ठहर्छ ।
१२. अब हंसावतितर्फको हकमा अञ्चल अदालतले छिनेउपर पुनरावेदन लाग्ने नलाग्ने हद मुनि माथिको के हो भन्ने प्रश्न उपस्थित भएकोले इन्साफको औचित्यमा प्रवेश गर्नुभन्दा पहिले उक्त प्रश्नकै निराकरण गर्नु प्रासंगिक हुन आएको छ । यस सन्दर्भमा हेर्दा धोनीलालले निज हंसावतीलाई गरिदिएको भनेको जुन राजीनामा लिखत उपरको वादीको दावी छ, सो राजीनामा लिखतको थैलीमा रू.१५००। भएको तत्काल प्रचलित सटही दर भा.रू.१०० को ने.रू.१६०। ले थैली अंक ने.रू.२४०० मात्र हुन आउँछ। तत्काल प्रचलित न्याय प्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (१) अनुसार शुरू र अञ्चल अदालतको राय नमिलेकोमा रू.३,०००। भन्दा माथिको विगोमा मात्र अञ्चल अदालतउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्था छ, यस कलमको विगो अंक रू.३,०००। भन्दा घटी नै भएकोले उक्त ऐनअनुसार सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन नै लाग्न नसक्ने हदमुनिको देखिन्छ । त्यसकारण सर्वोच्च अदालतले पुनरावेदन सुनी इन्साफ ठहर गरेको नै मिलेको नदेखिँदा इन्साफतर्फ अरू कुरा विचार गरिरहनु परेन । सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चउपरको वादीको पुनरावेदन खारेज हुने ठहर्छ, अरू तपसीलबमोजिम गर्नु ।
तपसील
वादी वुनी चौधरी थारुको हाल मुद्दा सकार गर्ने झौलाई चौधरी थारु कानून चौधरी थारुहरूले देहायबमोजिम कोर्टफी नलाग्ने हुँदा कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी का.जि.तहसीलमा लगत दिनु......................१
वादी बुनिलालले सुरूउपर पुनरावेदन गर्दा जग्गा कठ्ठा ।३।२ को विगो रू.१२००। को कोर्टफी रू.९। सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चमा ०२१।११।१९।३ मा दाखिल गरेको सोमध्ये मंगलीतर्फ कठ्ठा ४ को विगो भा.रू.५०० का हुने ने.रू.८००। को दामासाहीले पर्न आउने रू.६।
ऐ ऐ.ले सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चमार्फत सर्वोच्च अदालतमा पुनरावेदन गर्दा उक्त अञ्चल अदालतमा २२।७।११।४ मा दाखिल गरेको रू.१।५० मुद्दा दोहर्याउँदा ०२८।५।३० मा सर्वोच्च अदालत लगत नगदी विभागमा झौलाई चौधरी कानून चौधरीले दाखिल गरेको रू.१।
तत्कालिन हनुमान नगर अं.अ.का न्यायाधीश माणिकलाल वैद्य हाल बहाल नहुँदा तत्कालिन सगरमाथा अञ्चल अदालत राजवीराज बेञ्चका अञ्चल न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको मंगलीतर्फ यस मुद्दाबाट इन्साफ ठहर गर्न नमिल्नेमा इन्साफ ठहर गरी ऐन छाडी काम गरेको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु........................२
नियमबमोजिम मिसिल बुझाइदिनु......................३
हामीहरूको सहमती छ ।
न्या. प्रकाशबहादुर के.सी.,
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३१ साल आषाढ १४ गते रोज ६ शुभम् ।