निर्णय नं. ८१८ - तहविल मसोट
निर्णय नं. ८१८ ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३० सालको फौ.फु.नं. २२
फैसला भएको मिति : २०३१।३।२१।६
पुनरावेदक : श्री ५ को सरकार, विशेष प्रहरी विभाग
विरुद्ध
विपक्षी : पाल्पा तानसेन घर भई ल.पु.जि. डेरा गरी बस्ने गणेशलाल प्रधान
मुद्दा : तहविल मसोट
(१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने ।
दोस्रो प्रश्नको हकमा भ्रष्टाचार निवारण ऐन, ०२२ द्वारा संशोधित मूल ऐनको दफा २९ (१) मा यस ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याएको रहेछ भने त्यस्तो कसूरवापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा गैरकानूनी हानी गरेको विगो असूल गरिनेछ भन्ने लेखिएको हुनाले भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउँछ । विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने देखिँदैन ।
(प्रकरण नं. ३२)
पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल
पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
उल्लिखित मुद्दा : (श्री ५ को सरकार वि.दशरथ दाहाल, घुस रिसवत)
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा ०३०।५।१५।६ को डिभिजन बेञ्चबाट निर्णय हुँदा मा.न्या. श्री ब्रम्हदत्त तिवारी मा.प्र.न्या.रत्नबहादुर विष्ट श्री त्रैलोक्यराज अर्यालको राय नमिलेकोबाट सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ अनुसार निर्णयार्थ यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : रोयल नेपाल एकेडेमीका एकाउण्टेण्ट गणेशलाल प्रधानले सो एकेडेमीको रूपैयाँ मासी हिनामिना गरेको कार्यवाही होस् भन्ने डम्बरबहादुर मानन्धरले विशेष प्रहरी विभागमा दिएको निवेदनपत्र ।
३. राजकीय प्रज्ञाप्रतिष्ठानका एकाउण्टेण्ट गणेशलालले चेकद्वारा बैंकबाट झिकेको रूपैयाँमध्ये रू.४५६६०।८१ झिकेको ४ महिनापछि दाखिल गरेको र कलम कलमको गरी जम्मा रू. ९७७२४।७८ मसौट गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२) र दफा १३ अन्तर्गत कारवाही हुन अनुरोध गर्दछु भन्ने विशेष प्रहरी विभागको ०२५।५।९।६ को आरोप पत्र।
४. म नभएको मौका म बस्ने कोठाको ताला खोली नगदी कागजपत्रहरू समेत हिनामिना गरेको र महालेखा परीक्षकको विभागबाट पनि आर्थिक विवरण समेतको कागज बदली अङ्कहरू सच्याई नभएको ठाडो बाँकी कायम गरी विशेष प्रहरी विभागमा लेखिपठाएको हो । मैले उजूरी दावाअनुसार मसौट गरेको र प्रज्ञाप्रतिष्ठानको रूपैयाँ निजी काममा लगाएको छैन । वि.प्र.विभागमा गराएको कागज पनि मेरो इच्छाअनुसार स्वतन्त्र रूपमा भएको होइन भन्ने समेत प्रतिवादी एकाउण्टेण्ट गणेशलाल प्रधानले २०२४।५।२० मा बागमती विशेष अदालतमा गरेको बयान ।
५. बागमती विशेष अदालतमा दायर भएको उक्त मुद्दा बागमती विशेष अदालतबाट झिकी बागमती अञ्चल अदालतबाट हेरी कानूनबमोजिम चाँडो छिनिदिनु भन्ने समेत ०२६।५।१७।३ मा बक्स भएको हुकूमको प्रमांगी ।
६. अस्थायी मसौट गरेको भनी दावा लिएको रू.१५,०००। को कलम १ रू.४५६६०।८१ को कलम रू.५,०००। को कलम १ समेतको जम्मा रू.६५६६०।८१ निजी काममा चलन गरी धेरै अवधि पछि मात्र दाखिल गरेको भन्ने सबूत नभएकोले त्यसतर्फको दावा पुग्दैन । रू.३७६६।५७ को कलम १२३५।५० को कलम १ पनि श्रेस्ताबाट मासेको नदेखिनाले दावा पुग्दैन । सोबाहेक कलम कलमको गरी वादी दावामध्येको रू.९३२०।७१ को हकमा निज गणेशलालले विभागबाट बुझिलिई श्रेस्तामा आम्दानी नबाँधी मसौट गरेको ठहर्छ । उक्त विगो रू.९३७२०।७१ राजकीय प्रज्ञाप्रतिष्ठानको म्यादभित्र दर्खास्त परे माग गरेको कानूनअनुसार प्रज्ञाप्रतिष्ठानलाई प्रतिवादी गणेशलालबाट भराइदिने प्र.गणेशलाललाई भ्रष्टाचार गरेबापत भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ को उपदफा (२) र दफा २९ अनुसार कैद बर्ष १।४ र जरिवाना रू.१०००। हुन्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२८।७।१४।१ को फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने दुवै पक्षको पुनरावदेन । ०३०।५।१५।६ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्त तिवारीले व्यक्त गर्नुभएको राय ।
८. म्यादभित्रको उजूरी हो होइन भन्नेतर्फ नेपाल एकेडेमी ऐन, ०१४ को दफा ११ ले नियम बनाउन एकेडेमीलाई तोकेको उक्त ऐनअन्तर्गत बनेको नियम, २०२२ को नियम १६ को उपनियम (१) ले हरहिसाब राख्ने र बही बुझाउने कामको जिम्मेवारी एकाउण्टेण्टलाई तोकेको नियम १९ मा हरहिसाब जाँच चान्सलरबाट तोकिएको अडिटरले जाँच गरी चान्सलरमा पेश गर्ने र चान्सलरको स्वीकृति गराउन पर्ने व्यवस्था भएकोले मुलुकी ऐन बाँकी नतिर्नेको नं.९,११ को ऐन यो बिषयमा मिल्न नआएको र उक्त ११ नं. को हदम्याद पनि नाघेको निम्नलिखित नजीरको देखिँदैन । वादी श्री ५ को सरकार वि.प्र.विभाग प्र.दशरथ दाहाल भएको घुस मुद्दामा फुल बेञ्चबाट २०२६।६।२१।३ मा फैसला भई भ्र.नि.ऐनअन्तर्गत विभागीय कारवाही टुंगिएको मितिले हदका म्यादसम्म उजूर लाग्ने सिद्धान्त प्रतिपादित भएको ए.गणेशलालउपर अनुसन्धान सस्पेण्ड आदि विभागीय कारवाहीको प्रतिवेदन जाहेर भई श्री ५ महाराजाधिराज सरकारबाट बर्खास्त गरिदिनु भन्ने हु.प्र.भएबमोजिम प्रतिवादी गणेशलाल एकाउण्टेण्ट पदबाट २०२४।५।९।५ मा बर्खास्त भई विभागीय कारवाही टुंगिएपछि ३ दिनभित्र ०२४।५।१२ मा बागमती विशेष अदालतमा उजूर परेको हुनाले उजूर म्यादभित्र परेको देखिन्छ ।
९. प्रज्ञाप्रतिष्ठानको रूपैयाँ रू.९७७२८।२६ मसौट गरेको रू.६५६६०।८१ बैंकमा दाखिल नगरी धेरै अवधिसम्म आफूले चलन गरी काम लिई दाखिल गरेको भन्ने उजूरी दावा छ । एकाउण्टेण्ट गणेशलाललाई थुनामा रहेको मितिदेखि सेवाबाट मुक्त गरिदिनु । बाँकी अनुसन्धान र सजायबारे श्री ५ को सरकारको अन्य कर्मचारीसरह भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाही गर्न लगाई कारवाही टुंग्याई ठहर जाहेर गर्नु भन्ने हुकूम बक्सेको भन्ने समेत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट ०२४।५।९।६ मा लेखिआएको पत्रको प्रतिलिपि मिसिल सामेल भएको । यो मुद्दा पहिले बागमती विशेष अदालतबाट कारवाही भएकोमा बागमती अञ्चल अदालतले झिकी हेरी कानूनबमोजिम गरी चाँडो छिनिदिनु भन्ने ०२६।५।१७ मा हुकूम प्रमांगी बक्स भई बागमती अञ्चल अदालतबाट कारवाही किनारा भएको देखिन्छ ।
१०. उजूरी दावामध्ये विभागहरूबाट सोधभर्ना गर्न बुझाएको रू.८२०७०।६० को मसौट गरेको भन्नेतर्फ सो रूपैयाँको कच्चाको अंक गद्य साहित्य विभागबाट रू.१७८२०। कला विभागबाट रू.३५२५८।६७ को कलम १ रू.१५८२९। को कलम संस्कृति विभागबाट रू.१३१६२।९३ रहेछ, उक्त रूपैयाँ सोधभर्ना गर्न पठाएको नेपाल राष्ट्र बैंकका नामको प्रमाण निमित्त पेश भएका चेकहरूबाट देखिएको रू.१७८२०। को चेकमा सूर्यविक्रमले दस्तखत गरी चेक काटेको भए पनि सोधभर्ना भइसक्यो भनी एकाउण्टेण्ट गणेशलालले टिप्पणी उठाई पेश गरेको टिप्पणीमा गणेशलालको हस्ताक्षरको सही भएको देखिएको, आम्दानी बाँधेको नदेखिएकोले बैंकबाट प्र.गणेशलालले नबुझेको भन्न मिलेन ।
११. रू. ३५३५८।६७ कला विभागबाट पुनरावेदक गणेशलाल प्रधानले चे.नं. ८८०५३४। बाट बुझी ०२२।११।२ मा भरपाई दिएको देखिन्छ । उक्त रूपैयाँ केन्द्रको श्रेस्तामा आम्दानी बाँधेको देखिँदैन । कला विभागको श्रेस्ता कला विभागकै कर्मचारी जिम्मा रहेको, झिकाई हेर्दा कला विभागको खातामा ०२२ साल भाद्र महिनाको तलव र आश्विन महिनामा दशैं पेश्की दिन खातामा रूपैयाँ नभएकोले केन्द्रीय अफिसबाट लिएको मिति ०२२ साल भाद्र महिनाको तलव र आश्विन महिनामा दशैं पेश्की दिन खातामा रूपैयाँ नभएकोले केन्द्रीय अफिसबाट लिएको मिति ०२२।११।२ मा सोधभर्ना गरिएको नं.८८०५४३। को चेकद्वारा एकाउण्टेण्ट गणेशलालको भरपाई अनुसार खर्च र उक्त चेकबाट आम्दानी हुन आएको पनि ०२२।११।२ को स्याहामा उक्त रू.३५२५८।६७ आम्दानी बाँधी सो रूपैयाँ ०२४।१।१५ मा तलव बापतको रकम केन्द्रीय खातामा सोधभर्ना गएको यसमा खर्च लेख्न छुट हुन गएको गणेशलालको ०२२।१२।२ को भरपाई बमोजिम रू.३५२५८।६७ खर्च लेखिएको भन्ने व्यहोरा जनाई कलाविभागको श्रेस्तामा आम्दानी खर्च लेखेको देखिन्छ । केन्द्रमा सोधभर्ना गर्न ०२२।११।२ मा चेक काटेको सोही मितिमा सो चेकको रूपैयाँ कलाविभागमा ल्याई त्यही मितिमा आम्दानी बाँध्नु पर्ने कारण नहुँदा कला विभागमै आम्दानी बाँधिएको भन्ने पुनरावेदक गणेशलालको जिकिर मनासिव देखिएन ।
१२. कला विभागको १५८२९। रूपैयाँ कला विभागबाट केन्द्रमा सोधभर्ना गर्नानिमित्त कला विभागका प्रमुख माधवप्रसाद घिमिरेले नेपाल राष्ट्र बैंकबाट भुक्तानी लिने गरी चेक काटी उक्त चेक गणेशलालले ०२२।२।३ मा बुझी लिई कला विभागलाई भरपाई गरिदिनु भएको सो रूपैयाँ बैंकबाट भुक्तानी लिइसक्नु भएको भन्ने देखिएको, केन्द्रीय खातामा आम्दानी बाँध्नु भएको देखिएन । संस्कृति विभागबाट सोधभर्ना आएको रू.१३१६२।९३ को चेक ०२१।१२।१२ मा पुनरावेदक गणेशलाल प्रधानकै नाममा चेक काटेको सो रूपैयाँ ०२१।१२।१३ मा बैंकबाट रूपैयाँ भुक्तानी लिनु भएको केन्द्रको खातामा आम्दानी बाँधेको देखिएन ।
१३. उक्त रू.८२०७०।६० को कच्चाको विवरण माथि उल्लेख भएबमोजिम देखिएको र सोबाहेक वादी दावाको अन्य कलमहरूतर्फ हेर्दा रू.८४८७।७१ कला विभागतर्फको बाजा झिकाउन एल.सी.खाता खोलेको रू.२८०५०।९७ मध्ये रू.८४८७।७१ रूपैयाँ केन्द्रको खातामा उज्राती खर्च लेखी सो रूपैयाँ आफैंले मास्नु भएको भन्ने दावा भएकोमा सम्बन्धित कागजबाट चेक दुईको केन्द्रको र चेक एकको रू.८४८७।७१ समेत जम्मा तीनवटा चेकको रू.२८०५०।९७ राष्ट्र बैंकमा दाखिल भएको सो तीन चेकको भरपाई एउटै भए पनि उज्राती खर्च लेख्दा केन्द्रको खातामा रू.१९५४३।२६ मात्र खर्च लेख्नुपर्नेमा कला विभागको श्रेस्तामा उज्राती खर्च लेखिएको रू.८४८७।७१ समेत गरी रू.२८०५०।९७ केन्द्रको खातामा उज्राती खर्च लेखिएको देखिनाले केन्द्रबाट उज्राती खर्च नै नभएको ८४८७।७१ खर्च लेखेको देखिन आयो ।
१४. रू.५९५।५१ को हकमा उक्त प्रतिष्ठानको आम्दानी खर्चको खाता र आर्थिक विवरणसमेतबाट आम्दानीमा खर्च कटाउँदा रू.६१२।५० बाँकी देखिन आएकोमा आर्थिक विवरण दिँदा तहविल मौज्दात रू.१६।९९ मात्र भएको भन्ने श्रेस्तामा नै लेखिएकोबाट सो मौज्दात रू.१६।९९ कट्टा गर्दा रू.५९५।५१ ठाडो बाँकी देखिन आएकोले मैले मासेको छैन भन्ने पुनरावेदन जिकिर मनासिव देखिएन ।
१५. साहित्य विभागले केन्द्रमा ०२१।१०।२३ मा दाखिल गर्न पठाएको रू.२५६६।८९ को चेक थान ६ उक्त मितिमा निज गणेशलालकै नाममा चेक काटी निजले सहिछाप गरी बुझिलिनु भएको आम्दानी नबाँधेको भन्ने दावी भएतर्फ पेश भएको प्रतिलिपिबाट चेक थान ६ गणेशलालकै नाममा काटिएको उक्त चेकहरूको पिठमा गणेशलालले नै सही गर्नुभएको देखिन्छ । पास बुकमा पनि चेक नं.१८२६०८ को रू.५००। बाहेक अरू रूपैयाँ गणेशलालले नै बुझिलिनु भएको देखिएको उक्त रू.५००। पनि बुकबाट भुक्तानी नलिएको बैंकमै बाँकी भएको प्र.ले देखाएको देखिँदा पुनरावेदक गणेशलालले साहित्य विभागले खर्च लेखेको उक्त रूपैयाँको खर्च जाँच गरिदिएको खर्चको कलममा यो हिसाब ठीक भएकोले फछ््र्योट गरिएको छ भनी ०२१।१०।२३ मा सहिछाप गरेको देखिएको उक्त रूपैयाँ केन्द्रको खातामा आम्दानी बाँधेको नदेखिएकोले प्रतिवादीको पुनरावेदन जिकिर मनासिव देखिएन ।
१६. सोधभर्ना गर्न बुझी लिएको रू.१,६०,०००। मध्ये गद्य साहित्य विभागको सोधभर्ना गर्न ०२३।९।१३ मा चेक बुझी उक्त चेकको रू.१५,०००। प्र.गणेशलालले ने.रा.बैंकबाट ०२३।९।१५ मा भुक्तानी लिएकोमा ०२३।१०।३ मा मात्र आम्दानी बाँधेको । कला विभागको ०२३।७।१६ मा फिर्ता बुझेको रू.४५६६०।८१ चार महिनापछि ०२३।११।१८ मा दाखिल गरेको चित्रकला विभागबाट सोधभर्ना गर्न ०२३।९।२५ मा भरपाई गरी बुझेको रू.५,०००। भनी ढीला गरी आम्दानी बाँधेको आम्दानी बाँध्न ढीला गरेजति समय उक्त रूपैयाँ चलन गरी नाजायज फाइदा लिई भ्रष्टाचार गरेको भन्ने उजूरी भएकोमा सो रूपैयाँ निजी काममा चलन गरेको छैन । रूपैयाँ तहविलको सेपमै रहेको थियो भन्ने प्रतिवादीको जिकिर देखिन्छ । सो रूपैयाँ तहविलमा थिएन । निजी काममा लगाएको भन्ने सबूत नभएकोले निजी काममा लगाई भ्रष्टाचार गरेको भन्न मिल्ने देखिन आएन ।
१७. रू.३७६६।५७ अकर्णमा भन्दा आर्थिक विवरणमा घटी अंक देखाई मसौट गरेको भन्ने र रू.२३५।५० बढी खर्च लेखेको भन्ने वादी पक्षको पुनरावेदन जिकिरतर्फ महालेखा परीक्षककै कारिन्दा जिम्मा श्रेस्ता झिकाई हेर्दा रू.३७६६।५७ आम्दानी खर्चको श्रेस्तामा आम्दानीमा घटाई श्रेस्ता गरेको नदेखिएको यो मितिमा यति आम्दानी हुनेमा घटाएको भन्न वादी पुनरावेदकले नसक्नु भएको अकर्ण दिएको आम्दानी अंक र आर्थिक विवरणमा लेखेको आम्दानीको अंक फरक हुन गएकै कारणले श्रेस्ताबाट मसौट नदेखिनेमा मसौट गरेको भन्न नमिल्ने रू.२३५।५० बढी खर्च लेखेको भन्ने वादीको पुनरावेदन जिकिरतर्फ श्रेस्तामा रू.२३५।५० बढी खर्च लेखेको देखिन आएन, विगो भ्र.नि.ऐन, ०१७ को दफा २९ (१) ले दर्खास्त नभए पनि अड्डाबाट भराइदिनु पर्ने भन्ने वादीपक्षको जिकिर भएकोमा राजकीय प्रज्ञाप्रतिष्ठान व्यक्तिसरह नालिस उजूर गर्ने संस्थान हुनाले दर्खास्त नपरे पनि अड्डैबाट भराइदिनु पर्ने भन्ने जिकिर मनासिव देखिएन ।
१८. माथि उल्लेख भएको रू.१५,०००। को कलम १ रू.४५६६०।८० को कलम १ रू.५,०००। को कलम १ समेतको जम्मा रू.६५६६०।८१ अस्थायी मसौट गरेको नठहराएको र रू.३७६६।५७ को कलम १ रू.२३५।५० को कलम १ समेत मसौट गरेको नठहराएको र रू.१७८२०। को कलम १ रू.३५२५८।६७ को कलम १ रू.१५८२९। को कलम १ रू.१३१६२।९३ को कलम १ रू.८४८७।७१ को कलम १ रू.५९५।५१ को कलम १ रू.२५६६।८९ को कलम १ समेतको जम्मा रू.९३७२०।७१ प्रतिवादी गणेशलालले मासेको ठहराई प्र.गणेशलालाई जरिवाना रू.१०००। एक हजार कैद बर्ष १।४ एक बर्ष चार महिना गरी विगो रू.९३७२०।७१ गणेशलालबाट राजकीय प्रज्ञाप्रतिष्ठानले भरी पाउने गरी फैसला गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव छ।
०३०।५।१५।६ को डिभिजन बेञ्चमा मा.न्या. श्री त्रैलोक्यराजले व्यक्त गर्नुभएको राय :
१९. साहित्य विभागलाई पछि सोधभर्ना गर्ने गरी केन्द्रीय कोषबाट गइरहेको रू.१७८२०। को वेएर चेक थान २ को भुक्तानी मिति ०२२।२।१९ र ०२२।२।२३ देखिएको कला विभागका कर्मचारीलाई तलब बाँड्न गएको रू.१५९२९। संस्कृति विभागको कर्मचारीलाई तलब बाँड्नसमेत गएको रू.१३१६२।९३ पछि सोधभर्ना गर्ने गरी केन्द्रीय हिसाबबाट गएको सो दुवै कलमको रू. २८९९१।९३ को दुई थान चेकको भुक्तानी मिति ०२२।३।३ र ०२१।१२।१३ मा भुक्तानी भएको देखिन आएको र आरोपपत्र ०२४।५।१२ मा दायर हुन आएको देखिन्छ । यस बिषयमा कुन ऐनको हदम्याद के कस्तो छ भनी सर्वप्रथम हेर्नुपर्ने देखिन आउँछ । भ्र.नि.ऐन, ०१७ को दफा ३५ मा अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमहरूमा लेखिएकोमा सोहीबमोजिम र अरूमा प्रचलित अन्य नेपाल कानूनबमोजिम हुनेछ भन्ने उल्लेख भएको उक्त ऐनमा हदम्याद कहीँ उल्लेख नभएको नेपाल ऐकेडेमी ऐन, ०१४ मा पनि हदम्यादको व्यवस्था नगरेको र अ.बं.३६ नं.मा हदम्याद नलेखिएकोमा जहिलेसुकै पनि नालिस लाग्न सक्ने देखिन्छ । तर यस्तै बील मसौटसम्बन्धमा बाँकी नतिर्नेको ऐन पनि सम्बन्धित हुन आएको उक्त ऐनको ९ नं.मा सरकारी बाहेक अरूको काम गर्ने कामदारले आफ्ना जिम्माको तहविल मासेमा विगो भराई जरिवाना गर्ने व्यवस्था भएको ऐन ११ नं.मा ९ नं.बमोजिमको कसूरमा भएगरेका मितिले २ बर्षभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने देखिन आएको एकेडेमी ऐन, ०१४ को दफा १ को उपदफा २ बमोजिम अवछिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था भएको देखिएकोले सरकारी बाहेकको संस्थानको काम गर्ने कर्मचारी जिम्माको तहसील मसौटसम्बन्धी हुनाले उक्त बाँकी नतिर्नेको ११ नं. को २ बर्षको हदम्याद कायम गर्न सन्देह देखिँदैन । वादी श्री ५ को सरकार प्र.दशरथ दाहाल भएको घुस रिसवत मुद्दामा ०२४।८।१।६ र ०२६।६।१ को फुल बेञ्चबाट भ्र.नि.ऐनमा हदम्यादको व्यवस्था नभएकोमा अन्य प्रचलित कानूनबमोजिमको हदम्याद कायम गर्नुपर्ने सिद्धान्त प्रतिपादित भइसकेको र कर्मचारीउपर विभागीय कारवाहीको अन्तिम टुंगो लागेपछि हदम्याद शुरू हुने भन्ने उक्त फुल बेञ्चको निर्णय भएकोमा यस मुद्दामा कर्मचारीउपर वि.प्र.वि.बाट विभागीय कारवाही गरे गराएको नदेखिएकोले भएगरेको मितिबाट हदम्यादे शुरू हुन आउने र उक्त बाँकी नतिर्नेको ११ नं. को हदम्याद नाघी दायर हुन आएको देखिएकोले रू.१७८२०। रू.२८९९१।९३ समेतको कलममा वादी दावी खारेज हुने ठहर्छ ।
२०. विभागलाई पटक पटक गरी गएको सोधभर्ना गर्न दिँदा एकैमुष्ट रू.३५२५८।६७ को एउटै कित्ता हुन आएको यस कलममा चेक कला विभागबाट ०२२।११।२ मा प्र.गणेशलालले बुझिलिएको फाँटवारीबाट देखिन्छ । कला विभागबाट झिकाई आएको स्याहाको आम्दानीतर्फको पानासमेत भिडाई हेर्दा प्र.गणेशलालले ०२२।११।२ को चेक नं.८८०५३४। को चेक बुझिलिएको सोही चेकबमोजिमको रू.३५२५८।६७ उही मिति ०२२।११।२ मा कला विभागको श्रेस्तामा आम्दानी बाँधेको देखिन आउँछ । सो रूपैयाँ केन्द्रीय कार्यालयलाई सोधभर्ना निमित्त भनी चेक आएको हुनाले केन्द्रीय श्रेस्तामा आम्दानी बाँधी खर्च हुनु पर्ने तर केन्द्रीय श्रेस्तामा आम्दानी नबाँधिएकोले मसौट गरेको हो होइन भनी विचार गर्दा सो रूपैयाँ कला विभागको श्रेस्तामा उसै दिन पूरा रकमको चेक नम्बरसमेत जनाई गणेशलाल हस्ते भनी आम्दानी बाँधेको देखिन आएको र बैंकबाट रूपैयाँ पछिमात्र भुक्तानी लिएको देखिएकोले कसरी आम्दानी बाँधिने भन्ने हकमा नगदी सरहको वियरर चेक भएको र चेकको नम्बर जनाई आम्दानी बाँधेको देखिएकोले चेकबाट आम्दानी बाँधेको देखिन आएको र नगद रूपैयाँ पछि भुक्तानी लिएपछि स्याहामा आम्दानी बाँधिएबमोजिमको नगद खोजी लिनु पर्ने विभागको काम भएकोमा विभागबाट खोजी बुझी लिएको देखिन आएकोले विभागमा आम्दानी बाँधिएबमोजिमको रूपैयाँ नपुग हुने देखिन्छ । तर विभागउपर वादी दावी नभई केन्द्रीय हिसाबबाट मसौट गरेको भनी वादी दावी हुन आएको । केन्द्रीय श्रेस्ता नआएको रकम केन्द्रीय हिसाबबाट मसौट गरेको भन्न नमिल्ने आम्दानी बाँधिएको विभागमा मौज्दात नभए विभागउपर पनि दावी हुनु पर्ने नभएको खास गरी वि.प्र.वि.बाट आरोपपत्र दायर गर्दा महालेखा परीक्षकको विभागबाट लेखिआएको पत्रलाई आधार गराई दावी गरेको सो पत्रमा मसौट गरेको किटानी व्यहोरा नभई केवल आशंकामात्र भएकोमा आरोप दावीमा मात्र मसौट गरेको भनी किटानी लेखिएको भए पनि श्रेस्ता जाँचबाट हुन आउने बेरुजुलाई मसौट भनी दावी गरेको देखिन आएको छ । महालेखा परीक्षकको विभागबाट लेखा जाँचको कारवाही उठिसकेको यो रकम मसौट गरेको भन्न श्रेस्ता प्रमाणसमेतबाट मिल्ने देखिन आउँदैन । कलाविभागको श्रेस्तामा आम्दानी बाँधिएको रकम मौज्दात नभएमा र केन्द्रतर्फको उज्राती बाँकी नं.मै श्रेस्ताको बेरुजु हुन आएकोमा नेपाल एकेडेमी ऐन, ०१४ को दफा ३ (४) रोयल नेपाल एकेडेमी नियम, ०२२ को नियम २१ बमोजिम मिनाहा मोजरा नभई हिनामिना गरेको भए सो गर्ने व्यक्तिउपर प्रज्ञाप्रतिष्ठानले व्यक्तिसरह नालिस उजूर गरी असूलउपर गर्न पाउने व्यवस्था भएको देखिएकोले बागमती अञ्चल अदालतले भ्र.नि.ऐनअन्तर्गत कसूर गरेको ठहराएको मिलेको देखिएन ।
२१. गद्य साहित्य विभागबाट सोधभर्ना आएको रू.१५,०००। कला विभागबाट आएको रू.५४३३९।१९ मध्ये रू.४५६६०।९५ चित्रकला विभागबाट आएको रू.५,०००। तीन दिन नघाई ढीला गरी दाखिल गरेको भन्ने हकमा ३ दिन नघाएमा दसौंद र १५ दिन नघाएमा विगोबमोजिम जरिवानासमेत गरी आम्दानी बाँध्न लगाउने सरकारी रकम असूल फछ््र्यौट ऐन, ०२५ को दफा ६ को उपदफामा व्यवस्था भएको साविक मुलुकी सवाल खारेज भइसकेको हालको सरकारी रकम असूल फछ््र्यौट ऐन प्रारम्भ नभएको बीचको अवस्थामा सो भएको देखिन आएको सो अवस्थामा बहाल रहेको रोयल नेपाल एकेडेमी नियम, ०२२ को नियम १९ मा दैनिक आम्दानी र खर्चको रकम दिनहुँ चढाई राख्नुपर्छ भन्ने उजूर भएको पाइन्छ, ढिलासुस्ती भएमा यसो हुन्छ भन्ने प्रष्ट किटानी व्यवस्था भएको देखिन नआएको कर्तव्य पालनामा अनियमित भएमा उक्त नियम १२ को उपनियम ३,४,५,६ मा व्यवस्था भएअनुसार विभागीय कारवाही गर्न सक्ने भएकोले सोबमोजिम प्रज्ञाप्रतिष्ठानबाट हुने कुरासम्म देखिन आएकोले ढिला गरी आम्दानी दावी अस्थायी मसौटमा कारवाही गर्ने ऐनमा व्यवस्था नभएकोले उपरोक्त कलमहरू अस्थायी मसौट गरी कसूर गरेको नठहराएको बागमती अञ्चल अदालतको इन्साफ मिलेको देखिन्छ ।
२२. बाजा झिकाउने काममा कला विभागले बैंकमा एल.सी.खोली डिपोजिट गरेको रू.८४८७।११ केन्द्रीय कोषतर्फ उज्राती देखाई आफूले निजी व्यवहार गरी मसौट गरेको भन्ने दावी भएकोमा कला विभागले काटेको चेकको रू.८४८७।७१ समेत कुल जम्मा २८०५०।९७ को मोठ एउटै भरपाई दिएको देखिन आएको छ । जहाँ जहाँबाट जे जति रकमको चेक प्राप्त भएको थियो उही उही कार्यालयको नाममा भरपाई दिनु पर्ने तीनैवटा चेकको एउटै भरपाई केन्द्रीय कार्यालयको नाममा गरिदिएको हुँदा सो भरपाईबमोजिम केन्द्रीय कार्यालयबाट खर्च लेखेको देखिन आएको छ । कला विभागले पनि आफूले काटेको चेक बुझेको भरपाई लिई सोबमोजिम खर्च लेख्नुपर्नेमा भरपाईको खोजी नगरी त्यसै खर्च लेखिदिएको देखिन आएबाट यता केन्द्रीय कार्यालयबाट खर्च लेखेबमोजिमको चेक काटिएको भिडान हुन नआएको र उता कला विभागले खर्च लेखेबमोजिम ने.रा.बैंकमा दाखिल भएको कला विभागका नामको भरपाई भिडान हुन नआई श्रेस्ता बेरुजु हुन आएको देखिएको श्रेस्ता बेरुजु हुन गएकोमा भ्र.नि.ऐनअन्तर्गत कारवाही गर्न मिल्ने देखिन नआएकोले नेपाल एकेडेमी ऐन, ०१४ को दफा ३ (४) रोयल नेपाल एकेडेमी नियम, ०२२ को नियम, ०२१ बमोजिम मिनाहा मोजरा नभई हिनामिना भएको भए सो गर्ने व्यक्तिउपर प्रज्ञाप्रतिष्ठानले व्यक्तिसरह नालिस उजूर गरी असूल गर्न पाउने व्यवस्था भएको देखिएकोले तहविलमा नआउँदै भ्र.नि.ऐनअन्तर्गत सजाय गर्ने बागमती अञ्चल अदालतको इन्साफ मनासिव देखिएन ।
२३. साहित्य विभागले खर्च गरी बाँकी रहेको भनी बुझाएको २०२१।१०।२३ को चेक थान ६ को रू.२५६६।८९ को कलमको हकमा पर्याप्त स्रेस्ता उपलब्ध हुन नसकेको यो रकम ०१५ सालदेखि २०२१ साल मार्ग १ गतेसम्मको निचोडबाट उत्रिन आएको देखिएको श्रेस्ता हेर्दा २०२१।१०।२३ मा चेक थान ६ बाट रू.२५६६।८९ को चेक भएको देखिएको बैंकबाट भुक्तानी लिएको मिति खोलिएको नदेखिएको ०२१।८।१ गतेसम्को निचोडको रकम ०२१।१०।२३ गतेको चेक बुझिलिएको र ०२४।५।१२ ०२४।५।१२ मा आरोपपत्र दायर हुन आएको हुनाले बाँकी नतिर्नेको ११ नं. को म्याद २ बर्ष अघि नाघी परेको आरोपपत्रबाट निर्णय गर्न नमिल्ने भएकोले खारेज हुने र मसौट गरेको ठहराएको बा.अं.अ.को इन्साफ गल्ती ठहर्छ ।
२४. लेखापरीक्षण गर्ने सिलसिलामा नगदी अकर्ण दिँदा लेखिएको आम्दानीको अंकमा आर्थिक विवरण दिँदा घटी देखाई रू.३७६८।५७ कम गरिदिएकोबाट चोखै झिकी निजी व्यवहारमा लगाएको भन्ने हकमा महालेखाबाट आएको श्रेस्ताहरू भिडाई हेर्दा प्र.गणेशलालले ०२३।१२।१७ गते तहविल परीक्षण गराउन दिएको अकर्णमा आम्दानी भनी देखाएकोमा श्रेस्ता परीक्षण हुँदा जम्मा जम्मीमा रू.३।८८ घटाएको देखिएकोले सो जोड गर्दा हुन आउने आम्दानी रू.१६३१५८९।७९ कायम हुने र यसपछि आम्दानीको विवरण पनि आर्थिक विवरण दिँदा आम्दानी रू.१६२७८१७।३४ देखाएकोबाट श्रेस्ताबाट कायम हुन आएको आम्दानीभन्दा रू.३७७२।४५ फरक परी खाएको भनी महालेखा परीक्षकको विभागबाट लेखिआएको देखिन्छ ।
२५. ०२३।५।२८ मा बैंकमा रू.३७६६।९५ दाखिल गरेको र पिउन हरिकृष्णबाट फिर्ता आएको भनी रू.१।६२ समेत रू.३७६८।५७ बैंक दाखिल भएकै देखिन आएको अकर्ण वा आर्थिक विवरणमा जतिसुकै लेखिन गए पनि यसको मुल श्रेस्ता दैनिक आम्दानी खर्चको स्याहाबमोजिम अकर्ण तथा आर्थिक विवरण सप्तरोजा मास्केवारी इत्यादि लेख्दा मूल आम्दानी खर्चको स्याहाको आधारमा पछि बनाइने श्रेस्तामा फरक परे पनि मूल स्याहाबमोजिम नै मान्यता प्राप्त हुने र मूल स्याहामा र अकर्णबमोजिमको मौज्दात मिलेकै देखिन आएकोले मसौट गरी भ्रष्टाचार गरेको ठहर्दैन भनी बा.अं.अ.ले छिनेको मनासिव छ ।
२६. विवरणमा खर्च भएको भनी देखाएको कच्चावारीमा भएको वास्तविक खर्चमा रू.२३५।५० थपी जम्मा जम्मी देखाएकोले रु.२३५।५० हिनामिना गरेको भन्ने गरेको दावी भएकोमा श्रेस्ता हेर्दा प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरूको तलव बाँड्दा मन्दिरा दलीको रू.८२।५० पूर्णकुमारीको ८।५० विष्णुप्रसादको ६०।५० समेत ३ कलमको रू.२२५।५० तलब बुझी लिएको भरपाइबमोजिम खर्च लेखिएको देखिएको र सोही रूपैयाँलाई अर्को ठाउँमा हिसाबको जोड निकाल्दा यो कलमको २२५।५० को कलम पनि राखी जम्मा गरेकोमा अंक जोड गरेको देखिन आएको छ । कलम–कलमको हिसाबको जोड गर्दा २२५।५० को कलम पनि राखी जम्माजम्मी गरेकोमा अंक चढे पनि मूल स्याहामा दोहरा खर्च लेखेको देखिन नआएको र ०२३ साल कार्तिक महिनाको कर्मचारी सञ्चयकोष दाखिल हुने रकम कट्टी गर्दा रू.४७९। कट्टा गरी लिएको प्रतिष्ठानबाट दिइने थप रू.४७९। समेत जम्मा रू.९५८। दाखिल गरेकोमा खर्च लेख्दा ९६८। खर्च लेखी रू.१० बढी खर्च लेखेको देखिन आएकोले स्याहामा खर्च लेखिएबमोजिम भरपाई भिड्न नआई रू.१०। बेरुजु निक्लन आएको देखिन्छ । श्रेस्ताबाट निकालेको बेरुजुमा मिनाहा मोजरा नभए प्रज्ञाप्रतिष्ठानले व्यक्तिसरह नालिस उजूर गरी असूलउपर गर्न पाउने व्यवस्था भएकोले यो कलम मसौट गरेको ठहर्दैन भनी बा.अं.अ.ले छिनेको मनासिव छ ।
२७. तहविल परीक्षण गराउन दिएको अकर्णमा देखाएको आम्दानीतर्फ रू.१६३१५८५।९१ देखाएको लेखापरीक्षणबाट आम्दानी बाँध्न छुटेको रू.३।८८ समेत जम्मा गरी रू.१६३१५८९।७९ कायम भएको र सो आम्दानी खर्च भएको कटाउँदा बाँकी हुनु पर्ने मौज्दातमा नपुग हुन आएको भनी दावी भएको रू.५९५।९१ को कलम यस मिति यो चेकबाट झिकी खाएको वा यहाँबाट आएको यो रकमको आम्दानी नबाँधी मसौट गरी खाएको भन्ने आरोप दावी प्रष्ट नभई हचुवा किसिमको देखिन्छ । ०२३ साल श्रावण १ गतेदेखिको श्रेस्ताको कच्चावारी जाँच गर्दै लाँदा निस्कन आएको हिसाब बक्यौताबाट बाँकी लाग्न आएको मसौट भनी दावी गरेको देखिन आएको र १६ लाख चानचुनको हिसाबको कच्चावारी जाँचबाट निस्कन आएको बाँकी बक्यौताको अंकलाई तहविल मसौट भनी भ्र.नि.ऐनअन्तर्गत सजायको माग दावी भएकोलाई यस कलमको रकम यस किसिमसँग वदनियत वा जालसाज गरी मसौट गरेको भन्ने वादीतर्फबाट कुनै प्रमाण दाखिल नभएको लेखापरीक्षणबाट त्यसकिसिमको प्रमाण देखिन नआएको हिसाबबाट नपुग हुन आएको अंक देखाई दावी गरेको यसप्रकार श्रेस्ता हिसाब जाँचबाट नपुग हुन आएको बेरुजु रकम मिनाहा मोजरा नभएमा प्रज्ञाप्रतिष्ठानले व्यक्तिसरह नालिस गरी असूल फछ््र्यौट गर्न पाउने व्यवस्था भएको देखिएकोले यस कलममा दावीबमोजिम बदनियत तथा जालसाज गरेको प्रमाणको अभावमा भ्र.नि.ऐनअनुसार सजाय गरी विगोउपर गर्न कानूनसंगत नभएकोले बागमती अञ्चल अदालतको इन्साफ गल्ती ठहर्छ ।
फुल बेञ्चको ठहर
२८. यसमा बागमती अञ्चल अदालतउपर दुवैपक्षको पुनरावेदन पर्न आई डिभिजन बेञ्चबाट ०३०।५।१५ गते फैसला हुँदा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको रायबाझी फैसला भएबाट यसबेञ्चमा पेश हुन आएको छ ।
२९. यस बेञ्चसमक्ष वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रतिवादी गणेशलाल कुनै व्यक्तिको कामदार नभई सरकारको पूँजी लागेको एउटा संस्थानको कर्मचारी हो, त्यसकारण बाँकी नतिर्नेको महलको हदम्याद लाग्दैन, बक्स भएको हु.प्र.बमोजिम भ्र.नि.ऐनअन्तर्गत कारवाही चलेको मुद्दामा बाँकी नतिर्नेको महलको हदम्याद लाग्ने प्रश्नै आउँदैन । बेरुजु भनेको नियमित खर्च नभएको मिन्हा नहुने भनी पक्राउ भएकोलाई भनिन्छ । यसरी कलम कलम सिखाएकोलाई बेरुजु भन्न पनि मिल्दैन । उजूरीबमोजिम प्रतिवादीले प्रज्ञाप्रतिष्ठानको रकम नासी मासी खाएको मिसिल प्रमाणबाट प्रष्ट देखिएकै छ । दावीबमोजिम आरोप कायम भई भ्र.नि.ऐनअन्तर्गत सजायको साथै खाएमासेको विगो भरिपाउनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले विगो भराइपाउँ भन्ने वादी दावी नै छैन । विगो असूल गर्नेबारे नियममा अर्को व्यवस्था छ । चान्सलरबाट लिने ठहरेपछि मात्र लिइने हो । विगो भराउनेतर्फ दावीसमेत बेगर अदालतले विचार गर्न मिल्दैन । प्रज्ञाप्रतिष्ठान व्यक्तिसरह हो । बाँकी नतिर्नेको ९,११ नं.लाग्छ । सो ऐनको हदम्याद नाघेको कलममा कारवाही हुन सक्दैन । १७ हज्जार चानचुन सदस्य सूर्यविक्रम ज्ञवालीले चेकमा सही गरी लिएको कलम पनि मेरो पक्षले खाएमासेको भनी आरोप लगाएको मिलेको छैन । श्रेस्ताको बेरुजु कलममा भ्र.नि.ऐनअन्तर्गत मुद्दा चल्न पनि सक्दैन र मेरो पक्षले सफाई पाउनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
३०. प्रस्तुत मुद्दामा बागमती अञ्चल अदालतले गरेको इन्साफ मिलेको छ, छैन । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्नेकुराको विचार गर्नुपरेको छ । सो सन्दर्भमा निम्नलिखित कानूनी प्रश्नहरू उपस्थित हुन आउँछन् ।
१. राजकीय प्रज्ञाप्रतिष्ठानको रकम हिनामिना भएकोमा बाँकी नतिर्नेको ९,११ नं.का ऐनबमोजिमको हदम्याद लागू हुने हो होइन ?
२. सो रकम हिनामिना नासमास गरेको भनी भ्र.नि.ऐनअन्तगत कारवाही भई मुद्दा दायर भएकोमा सो मुद्दाबाट विगो दिलाउने भराउने कुरा कानूनअन्तर्गत पर्न आउँछ आउँदैन ?
३१. पहिलो प्रश्नमा विचार गर्दा राजकीय प्रज्ञाप्रतिष्ठानको नियमअनुसार हरहिसाब जाँच गर्न चान्सलरमा जाहेर भई महालेखा परीक्षकलाई हिसाब जाँच गर्नु भनी अडिटर नियुक्त गरिबक्सेबमोजिम महालेखा परीक्षकले जाँचबुझ गरी ०२४।३।२० गते प्रतिवेदन जाहेर गरेको र बक्स भएका हुकूम प्रमांगीबमोजिम विशेष प्रहरी विभागले भ्र.न.ऐन अन्तर्गत कारवाही गरी ०२४।५।१२ मा विशेष अदालतमा मुद्दा दायर गरेको देखिन्छ । विशेष प्रहरी विभागले कारवाही गरी दायर गर्ने मुद्दामा अभियुक्तउपर विभागीय कारवाहीको अन्तिम टुंगो लागेपछि हदम्यादको शुरू हुने भन्ने वादी श्री ५ को सरकार प्रतिवादी दशरथ दाहाल भएको घुस रिसवतसम्बन्धी मुद्दामा ०२६।६।१ मा फुल बेञ्चबाट कानूनी सिद्धान्त प्रतिपादित भएको देखिन्छ । यस मुद्दामा प्रतिवादी गणेशलालउपर विभागीय कारवाही विशेष प्रहरी विभागबाट हुने नभई राजकीय प्रज्ञाप्रतिष्ठानको बैठकले चान्सलर श्री ५ महाराजाधिराज सरकारका हजुरमा प्रस्ताव पेश गरेकोमा निज गणेशलाललाई सेवाबाट मुक्त गरिदिनु, बाँकी अनुसन्धान र सजायबारे श्री ५ को सरकारको अन्य कर्मचारी सरह भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाही गर्न लगाई कारवाही टुंग्याई ठहर जाहेर गर्नु भन्ने हुकूम बक्सी प्रस्ताव पास भई ०२४।५।९।५ मा सेवाबाट मुक्त भएपछि ०२४।५।१२ मा प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । यस्तो स्थितिमा हदम्याद नाघेको भन्न मिल्ने देखिएन ।
३२. दोस्रो प्रश्नको हकमा भ्रष्टाचार निवारण ऐन, ०२२ द्वारा संशोधित मूल ऐनको दफा २९ (१) मा यस ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याएको रहेछ भने त्यस्तो कसूरवापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा गैरकानूनी हानी गरेको विगो असूल गरिनेछ भन्ने लेखिएको हुनाले भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउँछ । विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने देखिँदैन ।
३३. अब इन्साफतर्फको हकमा प्रतिवादी गणेशलालउपर विशेष प्रहरी विभागले दावी गरेको रकम निजले खाएमासे हिनामिना गरेको हो होइन भए के कति रकम खाएमासे हिनामिना गरेको हो भन्नेतर्फका हकमा नं.५५२३१२ को चेक बुझी २१।१२।९ मा गणेशलालले गरिदिएको भरपाइबमोजिम रू.१३१६२।९३ र ०२२।३।३ गतेको नं.८८०५०७ को चेकको रू.१५८२९। समेत रू.२८९९१।९३ कला विभाग संस्कृति विभागलाई तलव मसलन्दको निमित्त केन्द्रीय विभागबाट सापट गएको सो कला विभाग सांस्कृतिक विभागबाट केन्द्रीय विभागलाई सोधभर्ना हुन आएकोमा सो रकम प्रतिवादी गणेशलालले बैंकबाट भुक्तानी लिएको देखिन्छ । केन्द्रीय विभागमा आम्दानी बाँधिएको देखिँदैन । रू.३५२५८।६७ कला विभागलाई केन्द्रीय विभागबाट सापटी गएको कला विभागको बजेटबाट सोधभर्ना भएपछि सो रकम गणेशलालले ०२२।२।१२ र ०२२।२।१३ मा भुक्तानी लिएको सो रकम केन्द्रीयको खातामा आम्दानी बाँधिएको नदेखिएको कला विभागमै आम्दानी बाँधिएको छ । भनी गणेशलालले बयान जिकिर गरेकोमा केन्द्रीय विभागलाई भुक्तानी दिएको रकम भुक्तानी दिने कला विभागमै आम्दानी बाँध्ने आवश्यकै नभएको सो पनि कला विभागमा आम्दानी बाँधिएको मितिभन्दा पछि बैंकबाट गणेशलाले रकम भुक्तानी लिएको देखिएकोले कला विभागमा आम्दानी बाँधियो भन्नेकुराको श्रेस्तासम्म देखिन्छ । गणेशलालले बैंकबाट भुक्तानी लिएपछि सो रकम कहीँ आम्दानी बाँधिएको नदेखिएको हुनालेसमेत यी दुवै कलमको जम्मा ६४२५०।६० श्रेस्तामै आम्दानी नबाँधी गणेशलालले मासी हिनामिना गरी खाएको नै भन्नु पर्ने देखियो ।
३४. रू.२५६६।८९ को कलम १ रू.८४८७।७१ को कलम १ समेतको जम्मा रू.११०५४।६० को हकमा काम काममा खर्च भई बाँकी रहेको केन्द्रीय विभागमा दाखिल गर्न गणेशलालको नाममा चेक काटिएको सो रकम गणेशलालले भुक्तानी लिई केन्द्रीय विभागमा आम्दानी नबाँधेको र रू.५९५।९१ कला विभागको लागि बाजा झिकाउन एल.सी.खोल्दा दोहरो खर्च लेखी लिएकोसमेत रू.११०५४।६० पनि गणेशलालकै पेट बाँकी देखियो ।
३५. गद्य विभागलाई केन्द्रीय विभागबाट सापटी गएको गद्य विभागबाट केन्द्रीय विभागमा सोधभर्ना भएको रू.१७८२०। को हकमा सो रकम केन्द्रमा आम्दानी नबाँधिएको हुनाले प्र.गणेशलालकै ठाडो बाँकी भनी अञ्चल अदालत र डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारीको रायमा उल्लेख भएको छ । सो रकम गणेशलाले बैंकबाट भुक्तान लिएको वा भरपाई गरिलिएको नदेखिएको प्रज्ञाप्रतिष्ठानका सदस्य श्री सूर्यविक्रम ज्ञवालीको नाममा चेक काटी उहाँकै हस्ताबाट भुक्तानी लिएको हुनाले सो रकम गणेशलालले खाएमासेको भन्न मिलेन ।
३६. तसर्थ माथिका प्रकरणहरूमा गणेशलालले खाएमासेको ठहरेको जम्मा रू.७५९०१।११ का हकमा बागमती अञ्चल अदालतको सदर गरेको ०३०।५।१५।६ को डिभिजन बेञ्चका मा.न्या.श्री त्रैलोक्यराजको राय मिलेको देखिएन । रू.१७८२०। को कलमको हकमा गणेशलालले खाएमासेको ठहर्दैन । सो कलममा मा.न्या.श्री ब्रम्हदत्तको राय मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु।
तपसील
बागमती अञ्चल अदालतको ०२८।७।१४।१ को फैसलाबमोजिम प्रतिवादी गणेशलालबाट राजकीय प्रज्ञाप्रतिष्ठानलाई भराइदिने गरेको विगो रू.९३७२०।७१ मध्ये यो फैसला निज गणेशलालबाट लेखाए मासेको नठहरेको विगो रू.१७८२०। कटाई लगत कट्टा गरी बाँकी रू.७५९००।७१ मात्र भराइदिने गरी लगत कायम राख्नु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिनु....................१
तत्कालिन बागमती अञ्चल अदालतका न्यायाधीश तेजप्रसाद धितालको इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु....................२
०३०।५।१५ का डिभिजन बेञ्चका मा.न्या.श्री ब्रम्हदत्तको रायमा उल्लेख भएको कलमको लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु..............................३
हामीहरूको सहमती छ ।
न्या. वाशुदेव शर्मा
न्या. झपटसिंह रावल
इति सम्वत् २०३१ साल आषाढ २१ गते रोज ६ शुभम् ।