निर्णय नं. ८१९ - ज्यान

निर्णय नं. ८१९ ने.का.प. २०३१
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
सम्वत् २०३० सालको फौ.सा.नं.६४, फौ.पु.नं. ५७९
फैसला भएको मिति : २०३१।३।१०।२ मा
पुनरावेदक : श्री ५ को सरकार
विरुद्ध
विपक्षी : रामेछाप जिल्ला गागल गा.पं.वडा नं.९ साहूने बस्ने धनमाया क्षेत्रीनी
मुद्दा : ज्यान
(१) जबरजस्ती करणी गरेको रीस थाम्न नसकी १ घण्टाभित्रै करणी लिएको थलोमै मारेको देखिन आए सजायको भागी नहुने ।
अब कस्ले कर्तव्य गरी मारेको हो भन्नेतर्फ विचार गर्दा चुलामा आई छोरा नरबहादुरले मलाई लडाई बलात्कार करणी गर्यो । ढोका उघार्न जाँदा उघार्न दिएन आधा घण्टापछि मझेरीमा जबरजस्ती करणी गर्यो । सोपछि पनि मलाई नछोडी १ घण्टापछि ओछ्यानमा करणी गरेपछि लठ्ठ जस्तो भई सुतेकोले म आमाजस्तोलाई करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी गरेको १ घण्टाभित्रै मासु काट्ने खुकुरीले रेटिदिएँ । छटपट गर्दै थियो । रेटेको रेट्यै गरी चल्न छाडेपछि छोरा सेरिई मरे भनी खलबल गरें मेरै कर्तव्यबाट मरेको भन्ने प्र.धनमायाले प्रहरीमा कागज गरी सावित भएको सोकुरा लालबहादुर जैसी भन्नेले सिकाएबाट भनेको हुँ, मेरो कर्तव्य होइन, आफैं सेरिई मरेको हो भनी धनमाया अदालतमा आई इन्कारी भए तापनि लालबहादुर, र जसि भन्ने कनिकादेवीले सिकाएको भन्ने कुरामा प्र.धनमायाले सबूत प्रमाण दिन गुजार्न नसकेकोले निजहरूले सिकाएको भन्न मिल्ने देखिँदैन । मौका तहकिकात लासजाँच सर्जमिन मुचुल्काबाट मर्ने नरबहादुर धनमायाकै कर्तव्यबाट मरेकोमा शंका देखाई सर्जमिनहरूले लेखिदिएको देखिएको लासजाँच सर्जमिनबाट र प्रहरी प्रतिवेदनबाट धनमायाले प्रहरीमा गरेको सावित कागज समर्थित भएको देखिने सो कागज गरिदिएको हुँ भनी धनमाया आफैंले अदालतमा पनि बयान गरेकोबाट समेत प्र.धनमायाले नै कर्तव्य गरी नरबहादुरलाई मारेको देखिन आउँछ । त्यसरी छोरालाई मार्नुपर्ने अन्य रिस कारण पनि देखिन नआई मर्ने छोरा नरबहादुरले जबरजस्ती करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी लिएको १ घण्टाभित्रै करणी लिएको थलोमै खुकुरीले रेटी छोरा नरबहादुरलाई मारेको देखिन आएको र प्रहरी प्रतिवेदनमा पनि जबरजस्ती करणीको ८ नं. अनुसार गर्नुपर्ने भन्ने उल्लेख भएबाट समेत जबरजस्ती करणीको ८ नं. ले कर्तव्यवाला प्र.धनमाया सजायको भागी नहुने हुँदा सजाय गर्ने गरेको शुरू जि.अ. रामेछापको इन्साफ उल्टी गरी रिहाई दिने ठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन गरेबापत वादी श्री ५ को सरकारलाई केही गर्नु परेन मुद्दा किनारा भएको जानकारी निमित्त यो फैसलाको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइदिनु ।
(प्रकरण नं. १७)
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा जनकपुर अञ्चल अदालतको इन्साफउपर वादी श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : २०२४ साल आश्विन ११ गते धनमायाले गुहार पुकार गरेको सुनी जाँदा नरबहादुर घाँटीमा हतियारले काटेको चोटबाट मरिरहेछ, मगज विग्रेको मानिस हो । आफैं अपहत्या गरी मर्यो वा कर्तव्य परी मरेको हो थाहा भएन भनी धनमायाले भनेको हेर्दा घाँटी काटिएको देखिएकोले लासजाँच मौका तहकिकात गरिपाउँ भन्ने समेत खिलबहादुरको जाहेरी दर्खास्त ।
३. छोरा नरबहादुर मगज बिग्रेको मानिस हुनाले आफैं सेरिई मरेको हुनुपर्छ, कर्तव्यबाट मरेको होइन भन्ने समेत ०२४।६।१५।१ को धनमायाको खटिई आएको डोरमा भएको ठाडो कागज रहेछ ।
४. ०२४।६।१० गते बाख्रा काटी १ विसौली मासु घरैमा थियो । ऐ.११ गते भानिज चन्द्रबहादुर मेरो घरको बाटो गरी आए, बोलाई भानिजलाई र छोरालाई खिर दिएँ, मैले पनि खाएँ, कान्छी घर नभएकीले भाग राखिदिएँ, कान्छी आई खिर खाई बाख्रा लिन वनतर्फ गई । भानिज घर गए, अं.१० बजेको टायममा बाख्राको मासु पकाउन खुकुरीले चुलोमा बसी काट्न लागेको थिएँ । छोरा नरबहादुर भान्छाको नजिकै ओछ्यानमा बसेका थिए । उठी ढोका र झ्यालको आग्लो लगाई चुलामा आई मलाई लडाई बलात्कार करणी गर्यो, ढोका उघार्न जाँदा उघार्न दिएन । आधा घण्टापछि मझेरीमा जबरजस्ती करणी गर्यो । सोपछि पनि मलाई नछोडी १ घण्टापछि ओछ्यानमा करणी गरेपछि केही लठ्ठ जस्तो भई सुतेकोले म आमाजस्तोलाई करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी गरेको १ घण्टाभित्रै मासु काटेको खुकुरीले रेटिदिएँ । छटपट गर्दैथियो । रेटेको रेट्यै गरी चल्न छाडेपछि पनेरामा गई लुगामा लागेको रगत पखाली छोरो सेरिई मरे भनी खलबल गरें मेरै कर्तव्यबाट मारेको भन्ने समेत ०२४।६।१९।५ मा जि.प्रहरी कार्यालय रामेछापमा भएको धनमायाको कागज ।
५. नरबहादुर आमा धनमायाकै कर्तव्यबाट मरेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धीको १३ नं. को दफा ३ अनुसार सजाय गरिपाउँ भनी अनुरोध गर्नु पर्नेमा धनमायाले नरबहादुरलाई आफूलाई जबरजस्ती करणी गरी सतित्व डगाएको रीस थाम्न नसकी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले धनमायालाई जबरजस्ती करणीको ८ नं. अनुसार गर्नुपर्ने देखिँदा प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन रहेछ ।
६. छोरा नरबहादुरलाई मैले कर्तव्य गरी मारेको छैन, छोरा नरबहादुर विदेश गएको यो साल जनैपूर्णिमाको दिन घरमा आएको कसैसँग बोलचाल नगरी सुतिरहन्थ्यो । कहिले कहिले पागलजस्तो कुरा गर्ने गथ्र्यो, आश्विन ११ गते नरबहादुरलाई घरमा छाडी म घाँस काट्न बारीमा गई घाँस काटी घरभित्र जाँदा मझेरीमा नरबहादुर उत्तानो परी लडिरहेको वरिपरि रगतपक्षे भइरहेको घाँटीमा खुकुरी रहेको देखें । निज आफैं सेरिई मरेको हो, मेरो कर्तव्य होइन, निजले मलाई करणी गरेको होइन । पुलिसमा लेखाएको कुरा होइन, लालबहादुर र दलबहादुरकी श्रीमती जसि भन्नेले सिकाएबाट मात्र त्यसो भनेको हुँ भन्ने समेत धनमायाको बयान ।
७. मर्नेको आमाले कर्तव्य गरी मारेको भनी गाउँमा भनेको भन्ने हल्ला भएबाट धनमायाले मारेको मेरो मनमा शंका लागेको कुरा सर्जमिनमा लेखिदिएको छु, मैले सिकाएको होइन भन्ने समेत लालबहादुरको बयान ।
८. नरबहादुर कसका कर्तव्यबाट मरेका हुन् म जान्दिन धनमायालाई कुरा सिकाएको होइन भनेसमेत जसि भन्ने कनिकादेवीको बयान ।
९. आश्विन ११ गते खेती हेर्नलाई आएको धनमायाको घर आइपुगेको थिएँ । माइजु पर्ने धनमाया पिँढीमा बसेकी रहेछिन् नरबहादुर घरभित्र रहेछन् । घाँस काटिदिनुस् भने मैले घाँस आगनमा राखी दिइसकेपछि खाजा खाएर जानु भनेकोले घरभित्र पसी ओछ्यानमा बसेँ, नरबहादुर पनि मसँगै बसे, धनमाया चुलामा बसेकी थिइन्, थालमा मलाई र नरबहादुरलाई खिर दिए । खाई म आफ्नो घरतर्फ गएँ, नरबहादुर कस्को कर्तव्यबाट मरे मलाई थाहा छैन भन्ने समेत धनमायाको ठाडो कागजको पेटबोलीबाट बुझिएको चन्द्रबहादुरको बयान ।
१०. बाख्रा लिई वनमा गएको थिएँ । बाख्रा फुकाई लाँदा नरबहादुरलाई केही भएको थिएन । नरबहादुर मर्यो भन्ने कुरा वनमै सुनेको हुँ भन्ने समेत धनमायाको ठाडो कागजको पेटबोलीबाट बुझिएको कान्छी यामकुमारीको बयान ।
११. छोरो आफैं सेरिई मरेछ भनी धनमायाले बयान गरिसकेपछि प्रहरीमा आई छोरोले जबरजस्ती करणी गरेकोले सहन नसकी मारेकी हुँ भनी कागज गरेको सो कागज अधिकार प्राप्त अधिकारी छेउ भएको भन्न नमिल्ने भन्ने अञ्चल न्यायाधीशज्यूको आदेशले सो कागज बदर भइसकेकोले त्यसलाई प्रमाण लिन मिलेन । धनमया अदालतमा आई इन्कारी गरेकी र आफैं अपहत्या भई मरेको भनी शंका लिन रुद्रघण्टी माथि च्यापु भेट्ने गरी वारपार काटी पछाडिपट्टिको हड्डीमात्र बाँकी रही काटिएको अरू घा चोट कहीँ नदेखिएको आफैं सेरिई मरेको भए आफ्नो घाँटी रेट्दा लेखिएजति पछाडिपट्टि हड्डीसम्म काटी घा पुर्याउन सम्भव नदेखिनाका साथै मर्ने नरबहादुरले आफैं हातले बरामद भएको खुकुरी समाई काटेको भए त्यति जोड पर्ने अवस्थामा कुनै हातको हत्केला औंलामा खुकुरीले केही काटिएको खोस्रिएको सानोतिनो घा पर्नुपर्ने अत्यावश्यक पर्ने सो पनि नदेखिएको, खुकुरी छातीमा हुँदा मैले गग्रेटोमा राखेको हुँ भन्ने धनमायाको भनाई भएको नरबहादुरले आफैं घिच्रो रेटेको भए कुनै हालतमा छातिमाथि खुकुरी रहनाको सम्भव छैन र लास प्रकृतिबाट नरबहादुरको दाहिने हात भिनामा चेपी थिचिएको र देब्रे हात मुठ्ठी परिरहेको देखिन्छ । यस परिवन्दबाट नरबहादुरको ज्यान कर्तव्यबाट मरेको सिद्ध हुन आउँछ । कर्तव्यवालाको विचार गर्दा धनमायाकै कर्तव्य भनी धेरैजसो सर्जमिनले शंका गरेका छन् । इन्कारी लिने धनमायाले कुनै सबूत दिन नसकेकीबाट नरबहादुरलाई कर्तव्य गरी मार्ने प्र.धनमाया नै ठहर्छ । लालबहादुर कनिकादेवीले सिकाएबाट करणी गर्दा मारें भनी भनेको कागज बदर भइसकेको र ति मानिसप्रति शंका नगरेको र कुनै कसूर देखिन नआएकोले कनिकादेवी लालबहादुरले सफाई पाउनेसमेत ठहराई ०२६।२।८।४ मा रामेछाप जि.अ.बाट भएको जाहेरी फैसला।
१२. उक्त इन्साफमा चित्त बुझेन भन्ने धनमायाको पुनरावेदन ।
१३. मर्ने नरबहादुरको लास प्रकृति मुचुल्काबाट आफैं अपहत्या गरी मरेको देखिन आउँदैन । कर्तव्यबाट नै मरेको देखिन आउँछ । धनमायाबाहेक अन्य मानिसले नरबहादुरलाई प्रहार गरेको कतैबाट खुल्न आउँदैन । लालबहादुर जसि भन्ने कनिकादेवीले सिकाएबाट मात्र भनेको हुँ भन्ने धनमायाले अदालतमा जिकिर लिए पनि त्यसको सबूत गुज्रन आएन । अतः धनमायालाई सिकाएको भन्न मिलेन । प्रहरीमा भएको कागजलाई मैले गरेको भनी धनमाया सावितै भएकोले स्वेच्छाले भए गरेको साँचो व्यहोरा नै लेखिएको देखिन आयो । भान्सामा १ फेरा आधाघण्टापछि मझेरीमा त्यसपछि पनि नछोडी करीब १ घण्टापछि ओछ्यानमा फेरि १ पटक करणी गरेपछि केही लठ्ठ जस्तो भई सुतेकोले म आमाजस्तोलाई जबरजस्ती करणी गरेको रीस थाम्न नसकी पछि करणी गरेको १ घण्टाभित्रै घाँटीमा खुकुरीले रेटिदिएँ । रेटेकोरेट्यै गरी चल्न छाडेपछि ढोका उघारी लुगामा लागेको रगत पखाली सुकाएको भन्ने समेत धनमायाले प्रहरीमा गरेको कागजमा उल्लेख भएको देखिएको धनमायाको फरियामा र चोलामा रगतको टाटो भएको भन्ने सर्जमिनका केही व्यक्तिहरूले बकेकोले धनमायाले प्रहरीमा गरेको बयान समर्थित हुन आयो । धनमायालाई जबरजस्तीसँग ३ पटक करणी गरी आमासँग पशुवत् व्यवहार गरेकोले निज धनमायाले रीस थाम्न नसकी १ घण्टाभित्रै करणी लिएकै थलामा नरबहादुरलाई घाँटीमा रेटी मारेको देखिन आयो । सोही कुराको समर्थन प्रहरीको प्रतिवेदनबाट पनि देखिएको र धनमायाले छोरालाई मार्नुपर्ने अन्य रीस कारण पनि देखिन आएन । अतः जबरजस्ती करणीको ८ नं. ले धनमाया सजाय भागी नहुने हुँदा रिहा पाउने ठहर्छ भन्ने समेत ०२९।३।१६ मा जनकपुर अञ्चल अदालतबाट भएको जाहेरी फैसला ।
१४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावदेन रहेछ ।
१५. पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिई आउनु भएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले आफ्नो बहसमा जबरजस्ती करणी गरेकोबाट मारेको भन्ने कुरा जाहेरी दर्खास्तमा उल्लेख नभएको मरी हल्लाखल्ला गर्दा पनि सो कुरा हल्ला भएको नदेखिने अपराधबाट बच्नसम्म प्रहरीमा जबरजस्ती करणी गरेकोबाट मारेको भन्ने भनेकोसम्म देखिने अदालतमा सो कुरा सिकाएबाट भनेको भन्ने बयान भएको आफूले मारेमा धनमया सावितै भएको सर्जमिनको भनाइबाट समेत प्र.धनमायाले छोरा नरबहादुरलाई कर्तव्य गरी मारेको देखिएकोमा सफाई दिने गरेको अञ्चल अदालतको इन्साफ मिलेको छैन । प्र.धनमायाले ज्यानसम्बन्धीको नं.१३ को दफा ३ अनुसार सजाय हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभएको छ ।
१६. निर्णयतर्फ हेर्दा मर्ने नरबहादुर आफैं सेरिई मरेको हो मैले कर्तव्य गरी मारेको होइन भनी प्र.धनमाया अदालतमा इन्कारी भएकोबाट मर्ने नरबहादुर आफैं अपहत्या गरी सेरिई मरेको हो कि भन्नालाई लास प्रकृति मुचुल्काबाट रुद्रघण्टी माथि च्यापु भेटिने गरी वारपार काटी पछाडिपट्टिको हड्डीमात्र बाँकी रही घाँटी काटिएको देखिने अरू घा चोट केही नदेखिएको आफैं सेरिई मरेको भए मर्नेले आफ्नो घाँटी रेट्दा वारपार गरी पछाडिको हड्डीसम्म पुग्ने गरी आफ्नो घाँटी आफैंले रेट्न सक्ने सम्भव देखिन आउँदैन । रेटिएको हतियार खुकुरी पनि मर्नेको छातिमाथि हुँदा मैले गग्रेटोमा राखेको भन्ने प्र.धनमायाको भनाई भएको मर्ने नरबहादुरले आफैं घाँटी रेटेको भए सो खुकुरी छातिमाथि कुनै हालतमा रहने थिएन । यस्तो लास प्रकृतिबाट पनि आफैं सेरिई मरेको देखिन नआई अर्को व्यक्तिको कर्तव्यबाट मरेको देखिन्छ ।
१७. अब कस्ले कर्तव्य गरी मारेको हो भन्नेतर्फ विचार गर्दा चुलामा आई छोरा नरबहादुरले मलाई लडाई बलात्कार करणी गर्यो । ढोका उघार्न जाँदा उघार्न दिएन आधा घण्टापछि मझेरीमा जबरजस्ती करणी गर्यो । सोपछि पनि मलाई नछोडी १ घण्टापछि ओछ्यानमा करणी गरेपछि लठ्ठ जस्तो भई सुतेकोले म आमाजस्तोलाई करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी गरेको १ घण्टाभित्रै मासु काट्ने खुकुरीले रेटिदिएँ । छटपट गर्दै थियो । रेटेको रेट्यै गरी चल्न छाडेपछि छोरा सेरिई मर्यो भनी खलबल गरें मेरै कर्तव्यबाट मरेको भन्ने प्र.धनमायाले प्रहरीमा कागज गरी सावित भएको सो कुरा लालबहादुर जैसी भन्नेले सिकाएबाट भनेको हुँ, मेरो कर्तव्य होइन, आफैं सेरिई मरेको हो भनी धनमाया अदालतमा आई इन्कारी भए तापनि लालबहादुर, र जसि भन्ने कनिकादेवीले सिकाएको भन्ने कुरामा प्र.धनमायाले सबूत प्रमाण दिन गुजार्न नसकेकोले निजहरूले सिकाएको भन्न मिल्ने देखिँदैन । मौका तहकिकात लासजाँच सर्जमिन मुचुल्काबाट मर्ने नरबहादुर धनमायाकै कर्तव्यबाट मरेकोमा शंका देखाई सर्जमिनहरूले लेखिदिएको देखिएको लासजाँच सर्जमिनबाट र प्रहरी प्रतिवेदनबाट धनमायाले प्रहरीमा गरेको सावित कागज समर्थित भएको देखिने सो कागज गरिदिएको हुँ भनी धनमाया आफैंले अदालतमा पनि बयान गरेकोबाट समेत प्र.धनमायाले नै कर्तव्य गरी नरबहादुरलाई मारेको देखिन आउँछ । त्यसरी छोरालाई मार्नुपर्ने अन्य रिस कारण पनि देखिन नआई मर्ने छोरा नरबहादुरले जबरजस्ती करणी गरेको रीस थाम्न नसकी पछिल्लो करणी लिएको १ घण्टाभित्रै करणी लिएको थलोमै खुकुरीले रेटी छोरा नरबहादुरलाई मारेको देखिन आएको र प्रहरी प्रतिवेदनमा पनि जबरजस्ती करणीको ८ नं. अनुसार गर्नुपर्ने भन्ने उल्लेख भएबाट समेत जबरजस्ती करणीको ८ नं. ले कर्तव्यवाला प्र.धनमाया सजायको भागी नहुने हुँदा सजाय गर्ने गरेको शुरू जि.अ.रामेछापको इन्साफ उल्टी गरी रिहाई दिने ठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन गरेबापत वादी श्री ५ को सरकारलाई केही गर्नु परेन मुद्दा किनारा भएको जानकारी निमित्त यो फैसलाको प्रतिलिपि म. न्या. को कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइ दिनु ।
उक्त रायमा सहमती छ ।
न्या. प्रकाशबहादुर के.सी.
इति सम्वत् २०३१ साल आषाढ १० गते रोज २ शुभम् ।