शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२० - अंश

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८२०      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको दे.फु.नं. ११८

फैसला भएको मिति : २०३१।३।२५।३

निवेदक : नुवाकोट जिल्ला वेलकोट बस्ने सोमकुमारी उपाध्याय

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने चेतमाया जैसिनी

मुद्दा : अंश

(१)   तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भनी नालिस २०१९।२।१७।४ मा दर्ता भएको देखिए नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. बमोजिम निर्णय हुने ।

            यसमा प्रतिवादी सोमराजबाट पनि अंश दिलाइपाउँ भनी वादीले दावी गरेकोमा निज सोमराजपट्टिको हकमा वादीले केही सम्पत्ति लिनुदिनु गरी दावी छाडी मिलापत्र गरिसकेकी देखिनाले प्रतिवादी सोमकुमारीपट्टि मात्र निजबाट वादीले अंश पाउने नपाउने र पाउने भए के कति भाग पाउने हुन्, त्यतिसम्म कुराको अहिले यसबेञ्चबाट निर्णय हुनु पर्ने देखिन्छ । प्रतिवादी सोमकुमारीसमेतबाट वादीले अंश पाउने ठहराई बागमती अञ्चल अदालतले छिनेउपर प्रतिवादी सोमकुमारीले पुनरावेदन नै नगरेकी र हाल बहससमेतमा निज सोमकुमारीले वादी अंशियारै होइन, मैले अंश दिनु पर्दैन भन्नेतर्फ कुनै जिकिर पनि नउठाएकीले निज सोमकुमारीबाट वादीले अंश पाउने कुरा निर्विवाद हुँदा त्यसतर्फ अरू शंका गरिरहनु परेन । अब के कति भाग पाउने हो भन्नेतर्फ वादी आफू ल्याइते भन्ने कुरामा स्वयं सावित हुनाले तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भन्ने हाल प्रतिवादी सोमकुमारीको मुख्य जिकिर भएको र न्यायिक समितिबाट पनि तर्क उठाइएकोले त्यसतर्फ हेरेमा वादी आफू वैद्यनाथको ल्याइते स्वास्नी हुँ भनी फिरादपत्रमै उल्लेख गरेकी र प्रस्तुत नालिस नयाँ मुलुकी ऐन लागू हुनुभन्दा अगावै २०१९।२।१७।४ मा दर्ता भएको देखिन आएर दे.फु.नं. ३३६ धनकुमारी विरुद्ध पवनकुमारीको अंश धनमाल मुद्दामा ०२२।९।१३।३ को फुल बेञ्चबाट निर्णय हुँदा कानून व्याख्यासम्बन्धी सिद्धान्तअनुसार वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा जुन ऐन लागू थियो, साधारणतः सोही ऐनबमोजिम पक्षहरूको हकबेहकको निर्णय गर्नुपर्ने ठहर भइराखेको समेत हुँदा नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. को तालिका अनुसार ल्याइते वादीले २० को १७ खण्डे हिसाबले पाउनेजति मात्र अंश पाउने देखिन्छ । तसर्थ वादी चेतमाया १ प्रतिवादी सोमराज १, प्रतिवादी सोमकुमारी १ समेत ३ अंशियार देखिएकोले शुरू फैसलाले कायम गरिराखेको सोमकुमारीको तायदातीबमोजिमको निजको जिम्मा रहेको विगो रू.८३७८। सम्पत्ति उक्त अंशबण्डाको ६ नं. अनुसार २० को १७ खण्डे हिसाबले सोमकुमारीको भाग २० सोमराजको भाग २०। वादी चेतकुमारीको भाग १७ समेत जम्मा ५७। मा १७ भाग वादीले पाउने हुँदा सो हिसाबबाट हुन आउने जम्मा रू.२४९८।७० को श्रीसम्पत्ति वादीले प्रतिवादी सोमकुमारीबाट अंश पाउने ठहर्छ । ३ खण्डको १ खण्ड पाउने ठहराएको सम्म ०२९।२।१७।३ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

विपक्षी तर्फबाट :

उल्लिखित मुद्दा : (दे.फु.नं. ३३६ धनकुमारी वि.पवनकुमारी, अंश)

फैसला

     प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा दोहर्‍याइपाउँ भन्ने निवेदकको निवेदन परेकोमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूमप्रमांगीबमोजिम मुद्दा दोहोरिएबाट निर्णयको लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : खसम वैद्यनाथको म ल्याइता स्वास्नी हुँ, खसम छँदै ०१४ सालमा केही जग्गा र घर दिई मानो छुट्याई दिनुभएको खसम परलोक भएपछि घरबाट निकाला गरे अंश नदिएकोले अंश दिलाइपाउँ भन्ने समेत वादी चेतमायाको फिरादपत्र ।

      ३.    वादीलाई कामकाज गराउन निमित्त हामीहरूकहाँ ल्याएकोमा घरमा जत्रतत्र गरेकोले निकाला गरिदिएकोले अंशमा झुठ्ठा उजूर गरेको हुन् भन्ने समेत सोमराज, सोमकुमारीको प्रतिउत्तर ।

      ४.    प्र.सोमराजको र वादी चेतमायाको वादीले अरू अंश दावी नगर्ने गरी मुख्य मानिससँग मिलापत्र गरेकोले सोमकुमारीको हकमा तहकिकात गर्नुपर्छ कि भन्नालाई मुख्य मानिस मिलिसकेकोले केही गर्नु नपर्ने भन्ने समेत नुवाकोट अदालतको आदेश ।

      ५.    सोउपर चित्त बुझेन भन्ने चेतमायाको पुनरावेदन ।

      ६.    नुवाकोट जिल्ला अदालतबाट गरेको पर्चा मनासिव छ भन्ने ०२२।१।२२ को बागमती अञ्चल अदालतको फैसला ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी चेतमायाको पुनरावेदन ।

      ८.    सोमकुमारी, सोमराज भिन्न बसेको भन्ने देखिएकोले सोमकुमारीबाट वादीले अंश नपाउने गरेको शुरू र अञ्चलको इन्साफ गल्ती ठहर्छ । ०१९।२।१८ सम्मको तायदाती लिई बण्डा गरिदिनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

      ९.    वादीसँग मिलापत्र गर्‍यो भन्ने इवीले अंश नलाग्ने जग्गा देखाई सोमकुमारीले दिएको तायदाती बदर गरिपाउँ भन्ने सोमराजको बयान ।

      १०.    तायदातीमा लेखिएको बडहरै खेत र घरबारी भन्ने जग्गा राजीनामा लिई भोग गरिआएको छु । मुद्दा परेको नभनेबाट थाहा नपाई लिएको हुँ भन्ने समेत लिनानाथको बयान ।

      ११.    सोमकुमारीले लिनानाथलाई ०२३।१०।२६ मा राजीनामा गरिदिएको जग्गा बण्डा गरिदिनु पर्दैन भन्न नमिल्ने हुँदा सोमकुमारीको तायदातीबमोजिम विगो रू.८३७८। को आधा ४१८९। को श्रीसम्पत्ति वादीले अंश पाउने ठहर्छ भन्ने समेतको रसुवा तथा नुवाकोट जिल्लाअदालतको ०२५।६।३० को फैसला ।

      १२.   उक्त इन्साफमा चित्त बुझेन पास भएको लिखत बदर हुनु पर्ने होइन भन्ने समेत लिलानाथसमेतको पुनरावेदन ।

      १३.   वादी र सोमराज सोमकुमारी ३ जना अंशियार भएको र वादी अंशियार हुँ भन्ने कुरा मिलापत्रबाट देखिएको ३ खण्डको १ खण्ड वादीले अंश पाउनुपर्नेमा मिलापत्रबाट केही सम्पत्ति वादीले पाइसकेको र सोमकुमारी जिम्माको श्रीसम्पत्तिबाट आधा अंश छुट्याइदिने गरेको देखियो । वादी प्रतिवादी ३ अंशियार भएपछि तीनैजना अंशियारलाई बराबर अंश हुनुपर्नेमा सोबमोजिम नगरी सोमकुमारी जिम्माको सम्पत्तिबाट आधा वादी चेतमायालाई दिलाउने गरेको शुरू रसुवा तथा नुवाकोट जिल्ला अदालतको इन्साफ गल्टी ठहर्छ । मिलापत्रबाट प्र.सोमराजबाट वादी चेतमायाले पाएको कट्टी गरी वादीले पाउनु पर्ने १ भागमा नपुगजति सोमकुमारीले दिएको फाँटवारीमा देखाइएको सम्पत्तिसमेतबाट ३ खण्डको १ खण्ड वादी चेतमायाले पाउने भन्ने समेत बा.अं.अ. को फैसला ।

      १४.   उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत सोमराजको पुनरावेदनपत्र ।

      १५.   वादी प्रतिवादीहरू ३ अंशियार भएको देखिएकोमा सोमराजबाट पाउने अंशमा वादी र सोमराजको मिलापत्र भइसकेको हुँदा निजको अंशसमेत मिसाई बागमती अञ्चल अदालतले गरेको फैसला मिलेको देखिएन । प्रतिवादी सोमकुमारीबाट वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत ०२९।२।१७ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

      १६.    प्रस्तुत मुद्दा दोहर्‍याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा न्यायिक समितिको सिफारिशमा फुल बेञ्चबाट पुरानो मुलुकी ऐन अंशबण्डाको महल लागू छँदाको अवस्थामा नालिस दायर भएको मुद्दामा सोही महलअनुसार बण्डा हुने सिद्धान्त प्रतिपादित भएको देखिने डिभिजन बेञ्चले साविक मुलुकी ऐन अंशबण्डाको महल लागू भएको अवस्थामा दायर भई चलेको प्रस्तुत मुद्दामा उक्त महलअनुसार खण्डे अंश पाउने वादीलाई पूरा अंश पाउनेसरह अंश पाउने निर्णय गरेको देखिन्छ । फुल बेञ्चबाट प्रतिपादित सिद्धान्त विरुद्ध डिभिजन बेञ्चबाट निर्णय हुने हो भने सर्वोच्च अदालतले ठहर्‍याएको कानूनी सिद्धान्त सबै अदालतले मान्न कर लाग्ने संवैधानिक व्यवस्थाको उल्लंघन हुन्छ । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको ।

      १७.   प्रतिवादी सोमकुमारीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेवभट्टले पुरानो अंशबण्डाको ऐन लागू छँदैका अवस्था अंशमा दावी परी नालिस परेकोमा पुरानो अंशबण्डाको ६ नं. को तालिकाअनुसार नै ल्याइते वादीले २० को १७ को हिसाबले खण्डे अंश पाउनुपर्छ ३ खण्डको १ खण्ड पूरै अंश दिलाउने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १८.   यसमा प्रतिवादी सोमराजबाट पनि अंश दिलाइपाउँ भनी वादीले दावी गरेकोमा निज सोमराजपट्टिको हकमा वादीले केही सम्पत्ति लिनुदिनु गरी दावी छाडी मिलापत्र गरिसकेकी देखिनाले प्रतिवादी सोमकुमारीपट्टि मात्र निजबाट वादीले अंश पाउने नपाउने र पाउने भए के कति भाग पाउने हुन्, त्यतिसम्म कुराको अहिले यसबेञ्चबाट निर्णय हुनु पर्ने देखिन्छ । प्रतिवादी सोमकुमारीसमेतबाट वादीले अंश पाउने ठहराई बागमती अञ्चल अदालतले छिनेउपर प्रतिवादी सोमकुमारीले पुनरावेदन नै नगरेकी र हाल बहससमेतमा निज सोमकुमारीले वादी अंशियारै होइन, मैले अंश दिनु पर्दैन भन्नेतर्फ कुनै जिकिर पनि नउठाएकीले निज सोमकुमारीबाट वादीले अंश पाउने कुरा निर्विवाद हुँदा त्यसतर्फ अरू शंका गरिरहनु परेन । अब के कति भाग पाउने हो भन्नेतर्फ वादी आफू ल्याइते भन्ने कुरामा स्वयं सावित हुनाले तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भन्ने हाल प्रतिवादी सोमकुमारीको मुख्य जिकिर भएको र न्यायिक समितिबाट पनि तर्क उठाइएकोले त्यसतर्फ हेरेमा वादी आफू वैद्यनाथको ल्याइते स्वास्नी हुँ भनी फिरादपत्रमै उल्लेख गरेकी र प्रस्तुत नालिस नयाँ मुलुकी ऐन लागू हुनुभन्दा अगावै २०१९।२।१७।४ मा दर्ता भएको देखिन आएर दे.फु.नं. ३३६ धनकुमारी विरुद्ध पवनकुमारीको अंश धनमाल मुद्दामा ०२२।९।१३।३ को फुल बेञ्चबाट निर्णय हुँदा कानून व्याख्यासम्बन्धी सिद्धान्तअनुसार वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा जुन ऐन लागू थियो, साधारणतः सोही ऐनबमोजिम पक्षहरूको हकबेहकको निर्णय गर्नुपर्ने ठहर भइराखेको समेत हुँदा नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. को तालिका अनुसार ल्याइते वादीले २० को १७ खण्डे हिसाबले पाउनेजति मात्र अंश पाउने देखिन्छ । तसर्थ वादी चेतमाया १ प्रतिवादी सोमराज १, प्रतिवादी सोमकुमारी १ समेत ३ अंशियार देखिएकोले शुरू फैसलाले कायम गरिराखेको सोमकुमारीको तायदातीबमोजिमको निजको जिम्मा रहेको विगो रू.८३७८। सम्पत्ति उक्त अंशबण्डाको ६ नं. अनुसार २० को १७ खण्डे हिसाबले सोमकुमारीको भाग २० सोमराजको भाग २०। वादी चेतकुमारीको भाग १७ समेत जम्मा ५७। मा १७ भाग वादीले पाउने हुँदा सो हिसाबबाट हुन आउने जम्मा रू.२४९८।७० को श्रीसम्पत्ति वादीले प्रतिवादी सोमकुमारीबाट अंश पाउने ठहर्छ । ३ खण्डको १ खण्ड पाउने ठहराएको सम्म ०२९।२।१७।३ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी चेतमाया जैसिनीको निजबाट शुरू कोर्टफी रू.१८७।५६ दाखिल भइराखेकोमा निजले अंश पाउने ठहरेको अंक रू.२४९८।७० को शुरू कोर्टफी रू.११९।९५ मात्र लाग्ने हुँदा शुरू रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०२५।६।३०।२ को फैसलाले निज वादीलाई प्रतिवादीबाट भराइदिने गरेको रू.१८७।५६ मध्ये रू.११९।९५ मात्र भराइदिने गरी त्यतिसम्मको लगत कायम राखी बढी रू.६७।६१ को लगत काटिदिनु सो रू.६७।६१ बढी आएको नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ बर्षभित्र फिर्ता लिन आएमा वादीलाई नै फिर्ता दिनु भनी रसुवा तथा नुवाकोट जिल्ला अदालतलाई लेखिपठाउन का.जि.अ. तहसिलमा लगत दिनु...................१

प्रतिवादी सोमकुमारीले पुनरावेदन गर्दा शुरू फैसलाले निजबाट वादीलाई भराइदिने गरेको कोर्टफी रू.९३।७८ का.श्रे.अ.त.मा ०२५।१०।६।१ मा धरौट राखेकी सो रूपैयाँ वादी चेतमायाको दर्खास्त परेमा निजलाई भराइदिने भनी बागमती अञ्चल अदालतलको ०२७।७।११।३ को फैसलाबमोजिम लगत दिएकोमा रू.५९।९७ मात्र सोमकुमारीबाट वादी चेतमायाले भरिपाउने हुँदा सो धरौट रू.५९।९७ मात्र वादीलाई भराई दिने लगत कायम राखी बढी रू.३३।८१ प्रतिवादी सोमकुमारीले कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ बर्षभित्र फिर्ता लिन आएमा निजलाई नै फिर्ता दिने गरी लगत संशोधन गर्नु भनी का.जि.अ.तहसिलमा लगत दिनु..........................२

प्रतिवादी सोमकुमारीको बागमती अञ्चल अदालतको ०२७।७।११।३ को फैसलाले प्रतिवादी सोमराजबाट भराइदिने गरेको कोर्टफी रू.१५।५७ भराउनु नपर्ने हुँदा उक्त लगत काटिदिनु निज सोमराजले पुनरावेदन गर्दा सो कोर्टफी रू.१५।५७ सर्वोच्च अदालत लगत नगदी विभागमा ०२७।८।७।१ मा धरौट दाखिल गरेको निज सोमराजलाई नै कानूनबमोजिम फिर्ता दिनु भनी ऐ.............३

प्रतिवादी सोमराज पाध्या के निजले पुनरावेदन गर्दा ०२७।८।७।१ मा स.अ.ल.न.विभागमा दाखिल गरेको कोर्टफी रू.२५। प्र.सोमकुमारीबाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधन दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी ऐ.ऐ.......................४

प्रतिवादी सोमकुमारी उपाध्यायके निजले मुद्दा दोहर्‍याउँदा स.अ.ल.न.विभागमा ०२९।७।१४।२ मा दाखिल गरेको कोर्टफी रू.१३।१८ वादी चेतमायाबाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी ऐ.ऐ....................५

वादी चेतमाया जैसीनीके निजले अंश भाग छुट्याइपाउँ भनी दण्डसजायको ४६ नं. को म्यादभित्र दर्खास्त दिएमा प्रतिवादी सोकुमारीको ०२४।२।२४ को तायदातीबमोजिम निजको साथमा भएको विगो रू.८३७८। को आधा रू.४१८९। को श्रीसम्पत्ति प्रतिवादी सोमकुमारीबाट निज वादी चेतमायालाई अंश छुट्याइदिने गरी शुरू फैसलाबमोजिम लगत कसी राखेकोमा हाल यो फैसलाबाट वादीले आधा नपाउने २० को १७ को हिसाबले अंश भाग पाउने ठहरी सोही सावाँबाट रू.२४९८।७० मात्रको श्रीसम्पत्ति प्रतिवादी सोमकुमारीबाट छुट्याउने वडा लिन पाउने कायम भएको हुँदा उक्त उल्लेख भएबमोजिम रू.२४९८।७० मात्रको श्रीसम्पत्ति कानूनको रीत पुर्‍याई अंश भाग छुट्याइदिने गरी शुरू फैसलाबमोजिमको उपरोक्त लगतमा संशोधन गर्नु भनी रसुवा तथा नुवाकोट जिल्ला अदालतलाई लेखिपठाउने ऐ....................६

बागमती अञ्चल अदालतका तत्कालिन अञ्चल न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तवको इन्साफ केही उल्टी रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु.....................७

नियमबमोजिम मिसिल बुझाइदिनु...................८

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेश शर्मा,

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३१ साल आषाढ २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु