निर्णय नं. ८२१ - लिखत पास
निर्णय नं. ८२१ ने.का.प. २०३१
फुल बेञ्च
सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको दे.फु.नं. १५८
फैसला भएको मिति : २०३१।३।१८।३
निवेदक : जि.बारा ब्रहृमपुरी गा.पं.बस्ने नरसिंहप्रसाद साहू
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने वनवारी साहू तेली
मुद्दा : लिखत पास
(१) घरको मुख्य जानिफकार बाबु छँदाछँदै १७ बर्षको छोराको नाममा गराएको लिखत कानूनले बन्देज गराएको कुरा नहुने ।
सो राजीनामामा हक छाडिदिएको जग्गा विगाहा २ जग्गा विगाहा २।।।२।।।४ मध्ये भन्ने लेखिएकोमा सो २।।।२।।।४ को अंक बेगलै मसीले पछि थपेको भन्ने जुन तर्क उठाइएको छ, त्यसको सम्बन्धमा उक्त राजीनामा लिखत हेर्दा २।।।२।।।४ को अंकको मसी केही गाढा जस्तो देखिन आएको पनि खुद हक छाडिदिएको जग्गा विगाहा २ को अंक त्यस्तो नभएकोले मध्ये जनाएको अंकको मसी केही गाढा हुँदैमा त्यसले लिखतको औचित्यमा कुनै असर पुर्याउने देखिँदैन । घरको मुख्य जानिफकार बाबु छँदाछँदै बर्ष १७ को छोराको नाममा लिखत गराएको भन्ने हकमा त्यो कानूनले बन्देज गरेको कुरा होइन र झुक्याई सही गराएको भन्ने प्रतिवादी जिकिरलाई त्यसले कुनै मद्दत गर्न पनि सक्दैन ।
(प्रकरण नं. १५)
(२) कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु नपर्ने त्यस्तो रसिद सौंपनु पर्ने कारण राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउने ।
खास गरी पहिले प्रतिवादीमा कपाली तमसुक भनी झुक्याई सही गराएको भन्ने जिकिर लिए पनि पछि कागज सुनाई बयान गराउँदा जग्गा लेखिदिएको भन्ने कुरा स्वीकार गरी निज प्रतिवादीले बयान गरेको छ । उक्त राजीनामामा लिखतमा ०२१ सालको रसिद नक्कल सौंपि दिएँ भन्ने लेखिएको ०३०।३।१५।६ को फुबलेञ्चको आदेशबमोजिम सो रसिद नक्कल वादीबाट पेश दाखिल गराई प्रतिवादीलाई देखाए सुनाएकोमा सो रसिद नक्कलको पिठमा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त छ भनी लेखिएको ठाउँमा लागेको दायाँ ल्याप्चे सहिछाप कीर्ते हो भनी प्रतिवादीले बयान गरेको देखिन्छ । तर सो ल्याप्चे सहिछाप निज प्रतिवादीको मिसिल सामेल ०२९।७।६।६ को वारेसनामामा लागेको ल्याप्चे सहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जचाउँदा वारेसनामामा लागेको दोस्रो ल्याप्चे नबुझिने र पहिलो ल्याप्चे रसिदको पिठमा लागेको पहिलो ल्याप्चेसँग मिलेको भनी विशेषज्ञले राय व्यक्त गरेकोबाट सो ल्याप्चे सही कीर्ते हो भन्ने प्रतिवादीको जिकिर समर्थित हुन आएन । कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु पर्दैन । त्यस्तो रसिदको नक्कल सौंपनु पर्ने कारण त राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउँछ किनकी रजिष्ट्रेशनको १७ नं. अनुसार राजीनामा लिखत रजिष्ट्रेशन पास गराउँदा राजीनामा दिएको जग्गामा आसामीको हक भएको हकको प्रमाण पेश गर्नुपर्छ । राजीनामा गरिदिएको नभए लिखतसाथ रसिदको नक्कल सौंपिदिनु पर्ने नै थिएन । यसबाटै राजीनामा लिखत गरी दिएलिएको सद्दे साँचो व्यवहार रहेछ भन्ने प्रष्ट हुन्छ ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : अधिवक्ता केशवनाथ शर्मा
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भनी निवेदकले दिएको निवेदनमा भएका न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्यादिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : बनवारी साहु तेलीले रू.४८०१। लिई मौजे मटिअरियाको जमीनमध्ये पोत रू.३० लाग्ने २ विगाहा जग्गा २०२२ साल फागुन ५ गते सुक्रिविक्री राजीनामा लेखिदिएको लिखत पास गराइपाउँ भन्ने समेत नरसिंह प्रसाद तेलीको वादी।
जग्गा सुक्रिविक्री राजीनामा लेखिदिएको होइन । आमाको कृया गर्न वादी नरसिंहप्रसादको बाबु तुल्सी साहूले सामानहरू किनमेल गर्न जम्मा कं.रू.३५१। मात्र खर्च दिई खर्चको हिसाबसमेत मलाई सुम्पिदिएको सो बाँकी कं.रू.३५१। को कपाली भनी सही गराई लिएका थिए । झुक्याई कपाली भनी सुक्रिविक्रीको लिखत गराई लिँदैमा लिखत पास हुनु पर्ने होइन । झुठ्ठा दावीबाट फुर्सद गराइपाउँ भन्ने समेत वनवारी साहु तेलीको प्रतिवादी ।
३. वादीले पास गरिपाउँ भनेको लिखत ०२२।११।५ को भएको प्रतिवादीले पेश गरेको हिसाब टिपोटमा ११३।। फागुन ७ गते हुँनिज भनी लेखिदिएकोले फागुन ५ गते लिखत भइसकेपछि त्यसको २ दिन पछि लेखिएको हिसाबसमेत वापतमा वादीले पास गरिपाउँ भनेको कागज अगावै कसरी झुक्याई गराए होला, त्यसो हुँदा वादीको रू.४८०१। को राजीनामाको कागज जालसाजी ठहर्दैन, पास हुने ठहर्छ भन्ने समेत ०२४।७।२० को बारा जि.अ.को फैसला ।
४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.वनवारीलालको पुनरावेदन ।
५. फार्छे राजीनामा हेर्दा पेट व्यहोरामा जम्मा गरी जग्गा २।।।२।।।४ विगाहा २ राजीनामा गरेको भन्ने देखिन आएको सो जम्मा जग्गामध्ये २।।।२।।।४ लेखिएको ठाउँमा व्यहोरा लेख्दै जाँदा अंक खाली राखी व्यहोरा लेखिसकेपछि खाली राखेको ठाउँमा २।।।२।।।४ पछि भरेको भन्ने कुरा मसी फरक परेबाट देखिन आउने केवल राजीनामको व्यहोरासम्म लेखी आसामीको सहिछाप चुकाउने कामसम्म सिध्याई राख्ने उद्देश्यले गर्दा खाली राख्नु पर्ने अवस्था पर्न आउने भई अंक खाली राखी राजीनामा लेखी आसामीको सहिछाप थिच्याइसकेपछि अंक हेरी बुझी खाली ठाउँमा भरिराख्दा मसी फरक पर्न जाने भएको हुनाले राजीनामा झुक्याई गराएको ठहर्छ । पास गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत ०२५।८।७ को नारायणी अञ्चल अदालतलको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी नरसिंहप्रसाद साहूको पुनरावेदन ।
७. फिरादीका बाबुले नगदी जिन्सी गरी प्र.वनवारीको छोरा सतनारान समेत हस्ते कर्जा दिएको लिखतबाट माघ २५ गतेदेखि फागुन ७ गतेसम्म प्र.कृसेमा बसेको बखत गयाको कर्जाको लिखत गराउँदा आफ्नो एकाघरको छोराका नाममा राजीनामा गराएको भन्ने कुरा राजीनामा र फिरादीका बाबुले टिपेको टिपोटबाट प्रष्ट देखिन आयो । फागुन ५ गते रू.४८०१। कर्जा लिई लिखत गरिदिएको भए त्यसको पर्सिपल्ट कृया खर्चलाई पनि नगद कपडा फिरादीको बाबुसँग कर्जा लिनु पर्ने कारण सबूतबाट नदेखिनाले सुद्ध लेनदेन भएको र जानी बुझी मञ्जुरीसाथ लिखत गरिदिएको हो भन्ने उपरोक्त दुवै लिखतका व्यवहारले नमिल्ने हुँदा पास गरिपाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्याई छिनेको इन्साफ नारायणी अं.अ.को मनासिव ठहर्छ भन्ने ०२८।३।१३ को डिभिजन बेञ्चको निर्णय रहेछ ।
८. प्रस्तुत मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा डिभिजन बेञ्चको निर्णयको आधार रू.४८०१। को लिखत गरिदिएको भए त्यसको पर्सिपल्टै नगद कपडा उधारो दिनु नपर्ने भन्ने हकमा लिखत गरिदिएमा प्रतिवादी सावितै रहेको रू.३५१। को टिपोट हुनुभन्दा २ दिन अघि रू.४८०१। लिइसकेको भए पनि त्यसपछि समेत लिन पर्ने हरहिसाब एकैचोटी जोड जम्मा गरी चुक्ता गर्नु र त्यस्ता आसामीलाई साहूले हरहिसाबको रिपोर्ट गरिदिनु कुनै अस्वाभाविक कुरा नदेखिएकोले डिभिजन बेञ्चको तर्क युक्तिसंगत देखिँदैन । नारायणी अं.अ.ले पछि थपेको भनेको जुन २।।।२।।।४ को अंकको केही गाढा मसिसम्म देखिन आएको सो लिखत सुनाउँदा जग्गा लेखिदिएको हो भन्ने प्र.ले नै बयान गरेको देखिएको । जग्गा लेखिदिने व्यहोराको लिखत गरिदिएमा स्वयं प्रतिवादी सावितै भएको अरू लिखतको अनुहार तथा साक्षी लगायतबाट कुनै शंका नदेखिएको झुक्यान करकापतर्फ मौकामा उजूर पनि नपरेको लिखतलाई झुक्यानमा पारी गराएको ठहर गर्न शंकारहित प्रमाण पर्याप्त मात्रामा दाखिल हुन सक्नुपर्छ जसको प्रस्तुत मुद्दामा पूर्णतया अभाव छ, दोहर्याउन आदेश बक्सनु पर्ने भन्ने उल्लेख भएको रहेछ ।
९. ०३०।३।१५ को फुबलेञ्चका आदेशबमोजिम वादी पक्षबाट पेश हुन आएको वनवारी साहूतेलीका नामको ०२१ सालको रसिद नक्कलको पिठमा सक्कलबमोजिम नक्कल ठीक छ भनी लेखेको ठाउँमा भएको ल्याप्चे सहिछाप वनवारी साहू तेलीको हो होइन देखाउन सुनाउन पेश गर्नु भन्ने ०३०।७।२८ को फुल बेञ्चको आदेश ।
१०. वानवारी साहूतेलीको नामको मालपोत बुझाएको ०२१।१।१९ को रसिदको नक्कलको पिठमा सक्कलबमोजिम नक्कल दुरुस्त छ भनी सहिछाप गर्ने वानवारी साहूतेली भन्ने लेखिएको ठाउँमा लागेको २ ल्याप्चे सहिछाप मेरो होइन कीर्ते हो भन्ने समेत वनवारी साहू तेलीले गरेको बयान ।
११. उक्त रसिदमा लागेको ल्याप्चे सहिछाप वनवारीकै भई सद्दे हो कीर्ते होइन भन्ने समेत वादी नरसिंहप्रसाद साहूतेलीको बयान ।
१२. यसबेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले प्रतिवादीले पहिले प्रतिवादीमा कपाली तमसुक पनि सही गराएको भन्ने लेखे पनि पछि बयान गर्दा जग्गा लेखिदिएको भनी लेखेको छ । राजीनामा रसिद नक्कल सुम्पिदिएको भनी लेखेको सो रसिद दाखिल गराई पिठमा भएको सहिछाप जचाउँदा प्रतिवादीको सहीसँग मिल्छ भनी विशेषज्ञले लेखिदिएको कपाली तमसुक गरेको भए रसिद नक्कल सुम्पिदिनु नपर्ने समेत कारणबाट राजीनामा सद्दे साँचो देखिएकै छ । दावीबमोजिम रजिष्ट्रेशन पास गरिपाउनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री केशवनाथ शर्माले लिखतमा मुख्य जग्गाको अंकको मसी फरक भएको सो लिखतमा आसामीको एकाघरको छोरालाई साक्षीसम्म नराखेको २ दिन अगाडि राजीनामा भएको साँचो भए २ दिनपछि लिनु पर्ने हिसाबको छुट्टै टिपोट हुनु नपर्नेसमेत कारणहरूबाट राजीनामा सद्दे देखिँदैन । कपाली तमसुक भनी झुक्याई सही गराएको प्रष्ट देखिएकै छ । रसिदको पिठमा भएको एउटा सहिछाप प्रतिवादीको सहीसँग मिल्छ भनी विशेषज्ञ हचुवा लेखाइकै आधारमा राजीनामा सद्दे मान्न मिल्दैन । डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१३. यसमा प्रतिवादीले रू.४८०१। लिई गरिदिएको ०२२।११।५ को राजीनामा पास गरिदिएन पास गराइपाउँ भन्ने वादीको दावी र आमाको कृयामा नगदी र कपडासमेत गरी रू.३५१। लिएको त्यसको कपाली तमसुक भनी झुक्याई राजीनामा सही गराएकोले पास गरिदिनु नपर्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भई विवाद उठेको रहेछ । सो राजीनामा सद्दे या झुक्याई गराएको के हो त्यसतर्फ नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
१४. वादीको बाबु तुल्सी साहूको हस्ताले लेखिदिएको भनी कलम कलमको गरी रू.३५१। को टिपोट प्रतिवादीले पेश गरेको वादीको बाबु तुल्सी साहूलाई सुनाउँदा वनवारीको आमाको कृया श्राद्ध गर्न नगदी कपडा इत्यादि वनवारीलाई दिई सम्झनाको निमित्त मेरो हस्ताले लेखिदिएको हुँ । यो कागजको राजीनामा लिखतसँग केही सरोकार छैन । सो रू.३५१। मैले पाइसकेको छु भनी बयान गरेको पाइन्छ । फागुन ४ गतेसम्म नगदी कपडासमेत लिएको र फागुन ७ गते फेरि नगदी कपडासमेत लिएको हिसाबको कचावार खुलेको उक्त छुट्टै टिपोट पेश हुन अएकोले ०२२।११।५ को राजीनामा प्रति सामान्य रूपमा केही शंका उठ्न सक्छ, तर आमाको कृया श्राद्धमा लिएको रूपैयाँ कपडासमेतको हिसाब छुट्टै मिलाउने गरी फागुन ४ गतेसम्मको सो कलमको फुटकर हिसाब फागुन ५ गतेको राजीनामामा नगभ्याउनु र फागुन ५ गतेपछि फेरि अरू नगदी कपडासमेत थप लिएको हुनु यी कुराहरू व्यवहारमा हुनै नसक्ने होइन किनकी यो लिने दिनेको इच्छामा र मञ्जुरीमा निर्भर गर्ने कुरा हो ।
१५. सो राजीनामा हक छाडिदिएको जग्गा विगाहा २।।।२।।।४ मध्ये भन्ने लेखिएकोमा सो २।।।२।।।४ को अंक बेग्लै मसीले पछि थपेको भन्ने जुन तर्क उठाइएको छ, त्यसको सम्बन्धमा उक्त राजीनामा लिखत हेर्दा २।।।२।।।४ को अंकको मसी केही गाढाजस्तो देखिन आए पनि खुद हक छाडिदिएको जग्गा विगाहा २ को अंक त्यस्तो नभएकोले मध्ये जनाएको अंकको मसी केही गाढा हुँदैमा त्यसले लिखतको औचित्यमा कुनै असर पुर्याउने देखिँदैन । घरको मुख्य जानिफकार बाबु छँदाछँदै बर्ष १७ को छोराको नाममा लिखत गराएको भन्ने हकमा त्यो कानूनले बन्देज गरेको कुरा होइन र झुक्याई सही गराएको भन्ने प्रतिवादी जिकिरलाई त्यसले कुनै मद्दत गर्न पनि सक्दैन ।
१६. खास गरी पहिले प्रतिवादीमा कपाली तमसुक भनी झुक्याई सही गराएको भन्ने जिकिर लिए पनि पछि कागज सुनाई बयान गराउँदा जग्गा लेखिदिएको भन्ने कुरा स्वीकार गरी निज प्रतिवादीले बयान गरेको छ । उक्त राजीनामामा लिखतमा ०२१ सालको रसिद नक्कल सौंपि दिएँ भन्ने लेखिएको ०३०।३।१५।६ को फुबलेञ्चको आदेशबमोजिम सो रसिद नक्कल वादीबाट पेश दाखिल गराई प्रतिवादीलाई देखाए सुनाएकोमा सो रसिद नक्कलको पिठमा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त छ भनी लेखिएको ठाउँमा लागेको दायाँ ल्याप्चे सहिछाप कीर्ते हो भनी प्रतिवादीले बयान गरेको देखिन्छ । तर सो ल्याप्चे सहिछाप निज प्रतिवादीको मिसिल सामेल ०२९।७।६।६ को वारेसनामामा लागेको ल्याप्चे सहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जचाउँदा वारेसनामामा लागेको दोस्रो ल्याप्चे नबुझिने र पहिलो ल्याप्चे रसिदको पिठमा लागेको पहिलो ल्याप्चेसँग मिलेको भनी विशेषज्ञले राय व्यक्त गरेकोबाट सो ल्याप्चे सही कीर्ते हो भन्ने प्रतिवादीको जिकिर समर्थित हुन आएन । कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु पर्दैन । त्यस्तो रसिदको नक्कल सौंपनु पर्ने कारण त राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउँछ किनकी रजिष्ट्रेशनको १७ नं. अनुसार राजीनामा लिखत रजिष्ट्रेशन पास गराउँदा राजीनामा दिएको जग्गामा आसामीको हक भएको हकको प्रमाण पेश गर्नुपर्छ । राजीनामा गरिदिएको नभए लिखतसाथ रसिदको नक्कल सौंपिदिनु पर्ने नै थिएन । यसबाटै राजीनामा लिखत गरी दिएलिएको सद्दे साँचो व्यवहार रहेछ भन्ने प्रष्ट हुन्छ ।
१७. तसर्थ उपरोक्त कारणहरूबाट वादी दावीको राजीनामा कपाली तमसुक भनी झुक्याई गराएको भन्ने रसिदको पिठमा लागेको ल्याप्चे सहिछाप कीर्ते भन्ने समेत प्रतिवादीको जिकिर पुग्न सक्दैन । राजीनामा सद्दे साँचो र पास गरिदिनु पर्ने ठहराई शुरू बारा जिल्ला अदालतले २०२४।७।२०।२ मा छिनेको इन्साफ मनासिव ठहर्छ, सो राजीनामा झुक्याई गराएको पास हुन नसक्ने भनी नारायणी अञ्चल अदालतको सदर गरी ०२८।३।१३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी वनवारी साहू तेली के शुरू बारा जि.अ.को ०२४।७।२० को फैसला गर्ने गरेका जरिवाना रू.१०। असूल भइसकेको निजलाई फिर्ता दिने र शुरू उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० वादीबाट भरपाई दिने गरी नारायणी अञ्चल अदालतको ०२५।८।५।४ को फैसलाबमोजिम लगत दिएकोमा सो जरिवाना र कोर्टफी लाग्ने नहुँदा उक्त अञ्चल अदालतको फैसलाबमोजिम गर्नुपर्दैन । उक्त फैसलाबमोजिमको लगत काटिदिनु भनी नारायणी अञ्चल अदालतलाई लेखिपठाउन का.जि.अ.तहसिल फाँटमा लगत दिनु....................१
वादी नरसिंहप्रसाद साहू तेलीके शुरू बारा जि.अ.को ०२४।७।२० को फैसलाबमोजिम प्रतिवादीबाट भराइदिने गरेको कोर्टफी रू.१०। प्रतिवादीले २४।१०।१९।६ मा नारायणी अञ्चल अदालतमा धरौट राखेको देखिँदा सो रू.१०। भराइपाउँ भनी दर्खास्त परेमा सोही धरौट राखेकोबाट भराइदिनु भनी ऐ.ऐ....................२
वादी नरसिंहप्रसाद साहूके ०२२।११।५ को राजीनामा पास गराइपाउँ भनी ऐ.का म्यादभित्र दर्खास्त दिएमा पास गरिदिनु भनी भु.प्र.कार्यालयलाई लेखी पठाइदिने भन्ने शुरू बारा जि.अ.को फैसलाबमोजिम लगत नारायणी अञ्चल अदालतको ०२५।८।५।४ को फैसलाले काटिदिने गरेकोमा सोअनुसार गर्नुपर्दैन शुरू फैसलाबमोजिम लगत कायम राख्नु भनी बारा जि.अ.लाई लेखी पठाउन ऐ.ऐ....................३
वादी नरसिंहप्रसाद साहू तेलीके निजले राखेको देहायबमोमिज कोर्टफी प्रतिवादी वनवारी साहू तेलीबाट भरपाई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु....................४
सर्वोच्च अदालतमा पुनरावदेन गर्दा नारायणी अञ्चल अदालतमा ०२५।११।१५ मा दाखिल गरेको रू.१।५०
मुद्दा दोहर्याउँदा ०२८।१२।१४।२ मा सर्वोच्च अदालत ल.न.विभाग १
प्रतिवादी वनवारी साहू तेलीके रसिदको पिठमा लागेको ल्याप्चे सही कीर्ते भनी झुठ्ठा दावी गरेका विगो नखुलेको हुँदा ठहरे कीर्ते कागजको ९ नं. ले विपक्षीलाई हुने रू.१०। को दण्डसजायको १८ नं. ले आदि रू.५। जरिवाना हुन्छ वारेस हुँदा असूल गर्न ऐ.ऐ............................५
नियमबमोजिम मिसिल बुझाइदिनु..........................६
हामीहरूको सहमती छ ।
न्या. वाशुदेव शर्मा
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३१ साल आषाढ १८ गते रोज ३ शुभम् ।