निर्णय नं. ८२२ - गठी जालसाजी

निर्णय नं. ८२२ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको फौ.फु.नं. २७
फैसला भएको मिति : २०३१।१।१०।३
निवेदक : नेपालगञ्ज धुम्वोजी लाइन बस्ने रामलखन भन्ने लखनलाल काडु
विरुद्ध
विपक्षी : ऐ.घरबारी टोल बस्ने डिल्लीराम न्यौपानेसमेत
मुद्दा : गठी जालसाजी
(१) वादीका लेखबाटै देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको, ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी गरेको नालिस अ.बं.७२।८२ र ठगीको १ नं.बमोजिम खारेज हुने ।
यसमा ठगी र जालसाजीको ऐनअन्तर्गत दावी गरी विगो भराइपाउँ भन्ने समेत वादी कानूनबमोजिम देवानी मुद्दा वा फौजदारी मुद्दाको फिराद दायर गर्न पाउने वादीलाई कानूनले बन्देज लगाएको छैन । फौजदारी अपराधमा नोक्सान हुन गएको विगोमासमेत फौजदारी मुद्दाबाटै दावी गर्न सकिने कुरा हो । विगोमा दावी गर्यो भन्दैमा देवानी मुद्दासमेत मिश्रित भएको भनी डिभिजन बेञ्चले अ.बं.७२ नं.लगाई खारेज गरेको मिलेको छैन भनी वादीतर्फका विद्वान अधिवक्ताले बहसमा जोड दिनुभयो । वादीको लेखाइमा हेर्दा बयान गरेको रू.२३२३। र तपाईंले थैली थपी राजीनामा लिइदिनुहोस् भनी बयानको कागजको साथै डिल्लीरामलाई दिएको रू.१६००। सम्बन्धित जग्गामा देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ समेत भराइपाउँ र डिल्लीरामको छोराको नाममा सम्बन्धित घर जग्गाको जालसाजी राजीनामा गरेको बदर गराइपाउँ भन्ने समेत वादीको लेखाइमा खुलाएको देखिन्छ । बयानको लिखत गरी लिनुदिनु गरेको भनेको र लिखतै नगरी पत्यारले डिल्लीरामलाई रू.१६००। दिए भनेको कलमका हकमा ठगीको १ नं. को परिभाषाभित्र नपर्ने, पत्यारमा कार–व्यवहार गरेको भन्ने उल्लेख देखिने, देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ वादीले जो खर्च गरेको भनेको छ, सो कुनै भनाई वा ललाई फकाइमा परी वा झुक्यानमा परी खर्च गरेको भन्ने नदेखिएको हुनाले सो कलमको दावी फौजदारी भन्न नमिल्नेसमेत वादीकै लेखबाट देखिन आउँछ । वादीतर्फका विद्वान अधिवक्ताले प्रस्तुत मुद्दामा देवानीको बिषय समावेश भएको छैन भनी गर्नुभएको तर्क युक्तिसंगत भएन । वादीका लेखबाट देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी नालिस गरेको देखिएको हुनाले समेत अ.बं.७२।८२ र ठगीको १ नं. बमोजिम यो वादीको फिरादबाट कारवाही तहकिकात गर्न नमिल्ने देखिँदा खारेज गर्ने गरी ०२८।८।५।१ को डिभिजन बेञ्चले फैसला गरेको मनासिव ठहर्छ । निवेदक रामलखन भन्ने लखनलाल कादुले मुद्दा दोहर्याएमा डिभिजन बेञ्चका फैसलाले जरिवाना गरेको नहुँदा अ.बं.२०४।२०३ नं.बमोजिम रू.१। एक जरिवाना हुन्छ । वारेस हुँदा असूल गर्न लगत दिन नियमबमोजिम मिसिल बुझाइदिनु ।
(प्रकरण नं. १३)
फैसला
न्या. झपटसिं रावल
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।१।२८ मा हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : रामलखन बनियाको घर सो उत्तर समेतको कि.नं. को जग्गा विगाहा द्र२।४ जग्गा २० दिनभित्र राजीनामा रजिष्ट्रेशन पास गरिदिनु बोलकबोल गरी मेरो दाजु रामहर्ष कादुको विकाताभित्रको जंजीर १ समेत चौहद्धीभित्र पर्ने प्र.गंगाप्रसाद मिश्रिलालले रू.९६००। मा मलाई बिक्री गरी दिने भई ०२२ साल फागुनमा रू.२३२३। मबाट लिई बैना बापतको कागज गरी मलाई दिएको थियो । बोलकबोल हजारीलाल कादु, कन्धलाल कादु, दुवर कादु, असर्फि धोवीहरूको सम्मुख भएको र कागज डिल्लीरामले लेख्नु भएको थियो । देवालसमेत बनाउन ठे.नसिम शेषबाट इँटा खरीद गरी रमजानले ठेक्का लिई इँटा गिराई बनाउन लाग्दा जम्मै रूपैयाँ भुक्तान नगरी बनाउन दिन्न भनी गंगाप्रसाद, मिश्रीलालले रोकिदिएपछि मेरो महाजन डिल्लीरामसँग रूपैयाँ दिनुहोस्, जग्गा राजीनामा गराउँछु भनी मैले भनेपछि रू.१६००। र बयानको कागज मलाई देउ बाँकी रूपैयाँ दिएर आफ्ना नाउँमा निस्सा निमित्त लेखाइलिन्छु । मेरो रूपैयाँ भुक्तानपछि तपाईंको नाममा राजीनामा लेखाइदिन्छु भनी प्र.डिल्लीरामले भन्नु भई बैना कागज र रू.१६००। मबाट लिनु भएको थियो । बैना रू.२३२३। र डिल्लीरामले दिएको रू.१६००। समेत रू.३९२३ को अतिरिक्त देवाल फड बनाउन छाउनसमेत रू.४७७१।९८ पैसा मेरो खर्च भएको छ । तपाईंको रू.५६७७। लिनुहोस् जग्गा राजीनामा लेखाइदिनुहोस् भनी ०२३ साल आषाढमा डिल्लीराम, भगवतीप्रसाद, गंगाप्रसाद, मिश्रीलालहरूसँग भन्दा रू.१२७९८। थैली राखी ०२३।३।५ गते घर जग्गा ०२२।११।२७ को मिति राखी मेरो छोरा भगवतीप्रसादको नाममा राजीनामा लेखाइसकेको छु । तपाईको नाउँमा राजीनामा हुन सक्दैन भनी डिल्लीराम भगवतीप्रसादले र सोहीबमोजिम गंगाप्रसाद, मिश्रीलालसमेतले जवाफ दिए गंगाप्रसाद, मिश्रीलालहरूले मैले बनाएको देवाल फड टिनको छानासमेत डिल्लीराम, भगवती प्रसादहरूसँग मिली फाइदा उठाई मलाई बैना लिखत गरिदिएको जग्गा भगवतीको नाममा राजीनामा लेखी–लेखाइदिएबाट ठगी जालसाजी गरेमा ऐनबमोजिम सजाय गरी ठगी जालसाजीबाट गराएको ०२२।११।२७ को राजीनामासमेत बदर गरी रू.२३२३। गंगाप्रसाद, मिश्रीलालबाट र रू.१६००। डिल्लीरामबाट रू.४७७१।९८ डिल्लीराम, भगवतीप्रसाद, गंगाप्रसाद, मिश्रीलालहरूबाट भराइपाउँ भन्ने समेत वादी ।
३. ठगी जालसाजी गरेको होइन । वादी दावीको जग्गा रू.१२७९८। मा वादीको नाममा बिक्री गर्ने गरी रू.२३२३। बैना लिई ०२२।१०।११ मा कागज गरी त्यसपछि वादीको बाबु घुरेसमेतलाई नपुग रू.डिल्लीरामले दिनुहुन्छ । पछि उहाँको थैली दिई उहाँका छोराबाट मेरो छोराको नाममा पास गराउने भनी ०२२।११।२७ मा वादीको बैनाको कागज घुरेले फट्टा गरी बाँकी रूपैयाँ डिल्लीरामले दिई वादीको बाबुसमेतले सहिछाप गरी कागज लिनुदिनु गरेको हो । म घुरेलाई डिल्लीरामको ललाइफकाइमा लागी मैले सहिछाप गरेको हो । म तीर्थमान श्रेष्ठ, गोकुलप्रसाद कुर्मीको व्यहोरा घुरे साहूले बनाएको घर, छाना र दर्तावाला मिश्रीलाल र निजको सगोलको बाबुसमेतले बिक्री गर्न मञ्जुर भई सिर्फ जग्गाको मात्र विकातामा लेखेबमोजिमको मोल मिश्रीलालले लिएका हुन् टिनको घरसमेत पछि डिल्लीरामको छोराको नामबाट वादीको नाममा रजिष्ट्रेशन पास गरिदिने गरी हामी साक्षी बसेका छौं । पछि डिल्लीरामले बेइमानी गरी घुरे साहूसमेतको मञ्जुरीबाट व्यवहार भएको साँचो हो भन्ने समेत गंगाप्रसाद कुर्मी, मिश्रीलाल कुर्मी, गोकुलप्रसाद कुर्मी, घुरे कादु तीर्थमान श्रेष्ठसमेतको संयुक्त प्रतिवादी ।
४. मिश्रीलाल कुर्मीले भगवतीप्रसादबाट रू.१२–७९८। लिई कि.नं.११२० को घर जग्गासमेत ०२२।११।२७ मा घरसारमा राजीनामा गरेको यसमा म र मिश्रीलालको एकासगोलको बाबु गंगाप्रसाद तथा गोकुलप्रसाद रामदीन वादीको बाबु घुरे कादु रामहर्ष कादुसमेत साक्षी छन् र उक्त जग्गाको पटवारी तीर्थमान श्रेष्ठ लिखत साक्षी भएको सो घर जग्गा वादीका हकको होइन । ठगी जालसाजीको दावा झुठ्ठा हो भन्नेसमेत मगरे कुर्मीको प्रतिवादी ।
५. गंगाप्रसाद कुर्मीले कि.नं.११२० को जग्गा रू.९६००। मा रामलखनलाई बिक्री गर्छु, त्यसैमध्ये रू.२३३३। बयान बुझी बाँकी रूपैयाँ फागुन २२ गतेसम्ममा लिई राजीनामा गरिदिनेछु भरपाई कागज लेखिदिनु भनी ०२२।१०।२२ मा भनेकाले भरपाई लेखिदिएको थिएँ । वादीले मलाई बैनाको कागज र रू.१६००। समेत दिएको होइन भन्ने डिल्लीराम र मिश्रीलालले मबाट रू.१२७९८। लिई कि.नं.१२२० को जग्गामा बनेको इँटाको देवाल टिनको छाप्रो भएको घर जग्गा ०२२।११।२७ मा राजीनामा गरिदिएको हो । ठगी जालसाजी गरेको होइन भन्नेसमेत भगवतीप्रसाद न्यौपानेसमेत जना २ को संयुक्त प्रतिवादी ।
६. विश्वास गरी भगवतीका नाममा विकाता गराई इँटाको देवाल टिनको छाप्रोसहितको मिल बनाई चालु गरेको देखी बेइमानी गरी लिने नियत गरी प्र.डिल्लीरामले ठगी गरेको र भगवतीप्रसाद, डिल्लीरामको छोरा शर्तबमोजिम निजका नाममासम्म लिखत भएगरेको देखिएको हुँदा निजले र अरू प्रतिवादीहरुले निजको बाबु घुरेको मञ्जुरी भई शर्त व्यवहार गरेअनुसार लिखत लेखी साक्षी बसेको हुनाले कुनै कसूर नहुँदा निजहरूले ठगी जालसाजी गरेको ठहर्दैन । डिल्लीरामले ठगी गरेको ठहरेकोले ०२२।११।२७ को भगवतीप्रसादको नामको राजीनामा बदर हुन्छ । वादीले भरिपाउँ भनेको विगोको हकमा लिखत बदर भएकोले सो जग्गा आफैंले डिल्लीरामको परेको थैली तिरी लिन पाउने हुँदा विगो भरिदिन नपर्ने भन्ने समेत ०२५।५।१०।१ को बाँके जि.अ.को फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने भगवतीप्रसाद, डिल्लीरामको पुनरावेदन ।
८. वादीको बाबु घुरे कादु समेतको संयुक्त प्रतिवादीमा प्र.डिल्लीराम, गंगाप्रसादले सो बैनाको कागज वादीको एकासगोलको बाबु घुरेको फट्टा गरी दिनु भएको भनी लेखेकोबाट समेत बैनाको कागज डिल्लीरामलाई दिएको नदेखिएमा पनि साक्षी जग्गा राजीनामा गराइदिनेछु भनी लिएको भन्ने लेख देखिँदा ठगीको १ नं.ऐनमा मिल्न नआई लेनदेन व्यवहारको १ नं.बमोजिम गराइलिनु पर्ने मिश्रीलालबाट भगवतीप्रसादले लिएको घर जग्गामा वादीको हक पुगेको कुनै सबूत वादीबाट पेश हुन नआएबाट हक नपुग्ने घर जग्गाको लिखत बदर गराइपाउँ भन्ने वादीको उजूर अ.बं.८२ नं.ऐनसमेतबाट हकबेहक ठहर गर्न नमिली अ.बं.१८ नं.बमोजिम खारेज हुनेमा शुरूले हकबेहक ठहर गरी गल्ती गरेको ठहर्छ भन्ने समेत ०२५।९।९।२ को भेरी अञ्चल अदालतको फैसला ।
९. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
१०. वादीले प्रतिवादीहरूउपर ठगीको ४, ५ नं.कीर्ते कागजको १० नं. समेतबमोजिम सजाय गरी विगो रू.८६९४।९८ भराइपाउँ भनी दावा गरेको देखियो, वादीको फिराद दावी देवानी फौजदारी बिषयको मिश्रित भएकोले अ.बं.७२ नं.प्रतिकूल देखिन्छ, यस्तो दावी फिराद लेखाइको रूपबाटै खारेज गरिदिनुपर्नेमा नगरी इन्साफ तहकिकात गरेको बाँके जिल्ला अदालतको ठहर नमिल्नुको साथै भेरी अञ्चल अदालतको फैसला अ.बं.८२ नं. को आधारमा वादी दावी खारेज गर्ने गरेको नलाग्ने ऐनको प्रयोग गरेको प्रष्ट छ । माथि व्यक्त गरिएको रायको आधारमा वादी दावी नै नलाग्ने भएपछि प्रस्तुत मुद्दामा ठगी र जालसाजीमा सजाय गरी विगो भरिपाउँ भन्ने वादीको पुनरावदेन जिकिर पुग्न सक्दैन भन्ने समेत २०२८।८।५।१ को डिभिजन बेञ्चको फैसला ।
११. प्रस्तुत मुद्दा दोहराइदिनु भन्ने बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा मुद्दाको औचित्यभित्र प्रवेश नगरी प्रारम्भिक कानूनको आधारमा नै डिभिजन बेञ्चले वादी दावी खारेज हुने ठहर गरेकोले प्रस्तुत मुद्दामा माथि उद्धृत गरेबमोजिम अ.बं.७२ नं. को आधार लिई देवानी फौजदारी बिषयको मिश्रित फिराद भएको भनी वादी दावी खारेज गरेको उपयुक्त छ छैन भनी हेर्नुपर्ने हुन आएको छ । अ.बं.७२ नं. को अवलोकन गर्दा फिरादपत्र लिइँदा देवानी फौजदारी मुद्दाको छुट्टाछुट्टै लिनुपर्छ भन्ने लेखिएको देखिन्छ । प्रस्तुत मुद्दामा वादीको फिराद दावी हेर्दा फौजदारी र देवानी मिश्रित दावी भएको देखिँदैन । ठगी र जालसाजीमा दावी गरेको फिरादपत्र कानूनले फौजदारी मुद्दा कायम हुने हो वा देवानी फौजदारी दुई मिश्रित बिषय हुने हो भनी अदालती बन्दोबस्तको महलतर्फ ध्याद दिँदा अ.बं.९ नं.मा उल्लेख भएअनुसार ठगीको महलले सजाय हुने मुद्दा र कीर्ते जालसाजी मुद्दासमेत दुवै प्रकारको मुद्दा फौजदारी हुने भन्ने स्पष्टरूपले कानूनमा व्यवस्था भएको पाइन्छ । यस्तो कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत दावी गरेको फिरादपत्र उक्त ऐनले फौजदारी मुद्दा कायम हुनेमा देवानी फौजदारी बिषयको दावी गरेको भनी हुँदै नभएको शंका उठाई नलाग्ने अ.बं.७२ नं.प्रयोग गरी सर्वोच्च अदालतले कानूनको उल्लंघन गरी वादी दावी खारेज गरेको देखिन्छ भन्ने समेत उल्लेख भएको ।
१२. यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले ठगी र जालसाजी दुवै फौजदारी बिषयको दावी छ । फौजदारी अपराधमा नोक्सान हुन गएको विगोमा समेत फौजदारी मुद्दाबाटै दावी गर्न सकिने कुरा हो । विगोमा दावी गर्यो भन्दैमा देवानी मुद्दासमेत मिश्रित भएको भनी डिभिजन बेञ्चले अ.बं.७२ नं.लगाई खारेज गरेको मिलेको छैन भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले ठगी र जालसाजी फौजदारी र लिखत बदर गरिपाउँ । रूपैयाँ भराइपाउँ भन्ने देवानी दुई बिषयको दावी गरेको फिराद लेखबाटै देखिएको छ । फौजदारी मुद्दाको मात्र दावी भएको भन्न मिल्ने अवस्था छैन । डिभिजन बेञ्चले खारेज गरेको कानूनसंगत छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१३. यसमा ठगी र जालसाजीको ऐनअन्तर्गत दावी गरी विगो भराइपाउँ भन्ने समेत वादी कानूनबमोजिम देवानी मुद्दा वा फौजदारी मुद्दाको फिराद दायर गर्न पाउने वादीलाई कानूनले बन्देज लगाएको छैन । फौजदारी अपराधमा नोक्सान हुन गएको विगोमासमेत फौजदारी मुद्दाबाटै दावी गर्न सकिने कुरा हो । विगोमा दावी गर्यो भन्दैमा देवानी मुद्दासमेत मिश्रित भएको भनी डिभिजन बेञ्चले अ.बं.७२ नं.लगाई खारेज गरेको मिलेको छैन भनी वादीतर्फका विद्वान अधिवक्ताले बहसमा जोड दिनुभयो । वादीको लेखाइमा हेर्दा बयान गरेको रू.२३२३। र तपाईंले थैली थपी राजीनामा लिइदिनुहोस् भनी बयानको कागजको साथै डिल्लीरामलाई दिएको रू.१६००। सम्बन्धित जग्गामा देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ समेत भराइपाउँ र डिल्लीरामको छोराको नाममा सम्बन्धित घर जग्गाको जालसाजी राजीनामा गरेको बदर गराइपाउँ भन्ने समेत वादीको लेखाइमा खुलाएको देखिन्छ । बयानको लिखत गरी लिनुदिनु गरेको भनेको र लिखतै नगरी पत्यारले डिल्लीरामलाई रू.१६००। दिए भनेको कलमका हकमा ठगीको १ नं. को परिभाषाभित्र नपर्ने, पत्यारमा कार–व्यवहार गरेको भन्ने उल्लेख देखिने, देवालसमेत बनाउँदाको खर्च रू.४७७१।९८ वादीले जो खर्च गरेको भनेको छ, सो कुनै भनाई वा ललाई फकाइमा परी वा झुक्यानमा परी खर्च गरेको भन्ने नदेखिएको हुनाले सो कलमको दावी फौजदारी भन्न नमिल्नेसमेत वादीकै लेखबाट देखिन आउँछ । वादीतर्फका विद्वान अधिवक्ताले प्रस्तुत मुद्दामा देवानीको बिषय समावेश भएको छैन भनी गर्नुभएको तर्क युक्तिसंगत भएन । वादीका लेखबाट देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी नालिस गरेको देखिएको हुनाले समेत अ.बं.७२।८२ र ठगीको १ नं.बमोजिम यो वादीको फिरादबाट कारवाही तहकिकात गर्न नमिल्ने देखिँदा खारेज गर्ने गरी ०२८।८।५।१ को डिभिजन बेञ्चले फैसला गरेको मनासिव ठहर्छ । निवेदक रामलखन भन्ने लखनलाल कादुले मुद्दा दोहर्याएमा डिभिजन बेञ्चका फैसलाले जरिवाना गरेको नहुँदा अ.बं.२०४।२०३ नं.बमोजिम रू.१। एक जरिवाना हुन्छ । वारेस हुँदा असूल गर्न लगत दिन नियमबमोजिम मिसिल बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०१३ साल वैशाख १० गते रोज ३ शुभम् ।