निर्णय नं. ८२४ - बिक्री बदर

निर्णय नं. ८२४ ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०३० सालको दे.फु.नं. १०७
फैसला भएको मिति : २०३१।४।११।६
निवेदक : रुकुम मुसिकोट लहु गाउँ बस्ने तिलकराम खड्का
विरुद्ध
विपक्षी : ऐ. थमारु गाउँ बस्ने जङ्गबहादुर वलीसमेत
मुद्दा : बिक्री बदर
(१) वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्थाको नदेखिई वादीको वारेसले तारिख गुजारेको मुद्दा अ.बं.१७९ तथा १८५ क.अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने ।
वादी दावीको प्रसंगसमेतबाट प्रस्तुत मुद्दामा वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्नलाई वादी दावीमा ५ खण्डको ४ खण्ड बदर गरिपाउँ भनेकोमा दावीअनुसार ४ खण्ड नै बदर हुने हो भनी पूरैमा ४ खण्ड बदर हुने होइन ३ खण्ड २ खण्ड १ खण्डमात्र बदर हुने हो भनी आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको प्रतिउत्तरपत्र वा मिसिल सामेल रहेको अरू प्रमाणबाट देखिन ठहर्न आउनुपर्छ, अनिमात्र त्यस्तो भन्न मिल्ने हुन्छ । प्रतिउत्तरपत्र हेर्दा लेखिएको खेत निजहरूको भागबण्डामा पर्ने भए पनि मौकामा नै उजूर गर्नुपर्ने थियो भन्ने उल्लेख गरेको र वादीमध्ये सर्वजीतबाट रू.८५०। झुमलालबाट रू.८५०। प्रतिवादी अम्बरबहादुरबाट रू.१५००। मा घरायसमा छुट्टाछुट्टै राजीनामा गराइलिएको भनी अरू अरू जग्गाको राजीनामा लिखतहरू प्रमाण दिई पेश गरेको समेतबाट झगडा परेको जग्गा वादीहरूको भागबण्डामा पर्ने होइन भन्ने व्यक्त गरेको पाइन्छ । वादी दावीअनुसार वादीहरूसमेतको भागबण्डा लाग्ने र लिखत बदर हुनु पर्ने भन्ने कुरा प्रतिउत्तरपत्रमा कतै पनि स्वीकार गरेको नदेखिएको र त्यस्तो कुनै प्रमाण पेश पनि नभएकोले वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्था देखिएन ।
(प्रकरण नं. १६)
तसर्थ उपरोक्त कारणहरूबाट शुरूमा वादीहरूको वारेसले तारिख गुजारेको यो मुद्दा अ.बं.१७९ तथा १८५ क.नं. अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने हुँदा शुरू रुकुम जिल्ला अदालतले ०२८।७।१८।५ मा डिसमिस गरेको मनासिव छ इन्साफ गर्ने गरेको राप्ती अञ्चल अदालतको सदर गरी ०२९।११।२५।५ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : अन्यायको अम्बरबहादुर र हामीहरू समेत ०१८।२।१५ गते मानो छुट्टी बसी अचल सम्पत्ति सगोलमा राखी आयस्ता बण्डा गरी खाने गरिआएकोमा सिमलबोट भन्ने खेत मुरी ।१० मध्ये ।३ हामीहरू घरमा नभएको अवस्था अन्यायको अम्बरबहादुर दिने तीलकरामले लिने गरी रू.३५००। मा ०२६।१२।२७ मा राजीनामा पास गरी दिनुलिनु गरेको ०२७।८।२९ गते थाहा पाएको हुँदा हाम्रो समेत अंश भागमा पर्ने जग्गा हामीहरूको मञ्जुरी नलिई लिनुदिनु गरेको राजीनामा बदर गरी हाम्रो हक ५ खण्डको ४ खण्ड फिर्ता गराइपाउँ भन्ने समेत जङ्गबहादुर, रूपलाल, सर्वजीत नन्दकलीसमेतको फिराद ।
३. वादीहरूको बेमञ्जुरी भए यी वादीवाला मध्ये सर्वजीत वलीले मबाट रू.८५०। र झुपलाल वलीले रू.८५०। प्रतिवादी अम्बरबहादुर वलीले रू.१५००। लिई घरसारमा राजीनामा गरिदिएपछि कसरी उनीहरूको बेमञ्जुरीबाट बिक्री भएको हो भन्नु पर्ने स्थिति नै आउँदैन र लेखिएको खेत निजहरूको भागबण्डामा पर्ने भएपछि मौकामा नै उजूर गर्नुपर्ने थियो सो गर्न नसकेको कारणबाट ०६।१२।१४ गते रुकुम जिल्ला अदालतबाट पारित हुने ठहराई फैसला भई सो फैसलाको आधारबाट ०२६।१२।२७ गते मेरा नाममा पारित भइसकेपछि बेमञ्जुरी रहेछ भन्न नसक्ने स्थिति देखिन्छ । नकरा परिपञ्च रची बिक्री बदर गरिपाउँ भन्ने उजूर दिएका मात्र हुन् भन्ने समेत तीलकरामको प्रतिवादी ।
४. प्रतिवादी अम्बरबहादुरले प्रतिवादी नदिई म्याद गुजारेको ।
५. प्रतिवादी तीलकरामले पेश गरेको राजीनामा रसिदहरू वादीहरूलाई सुनाउँदा जालसाजी भन्ने समेत वादीहरूको र सद्दे भन्ने प्रतिवादीको बयान भएको ।
६. वादीको वा.प्रेमबहादुरले ०२८।६।२७ को तारिख गुजारेको हुँदा अ.बं.१७९ नं. अनुसार डिसमिस हुन्छ भन्ने ०२८।७।१८ को रुकुम जिल्ला अदालतबाट भएको डिसमिस फैसला ।
७. हाम्रो वारेसले तारिख गुजारे पनि प्र.तीलकराम हाजिरै भएको र वादी दावी पूरै स्वीकार गरेको भई सो हदसम्म अ.बं.१८५क.नं.बमोजिम इन्साफ गरी मुद्दा फैसला गर्नुपर्नेमा वेरीतसँग डिसमिस गरिदिएको हुँदा चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन ।
८. अ.बं.१७९ नं.मा श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा दुवैथर झगडियाले तारिख गुजारेमा सो मुद्दा डिसमिस हुन्छ भन्ने उल्लेख भएको परन्तु प्रस्तुत मुद्दामा प्रतिवादी तारिखमै रहेको वादीले मात्र गुजारेको र अ.बं.१८५क. नं. को देहाय दफा २ मा श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अरू मुद्दामा प्रतिवादी हाजिर भएको तर वादी हाजिर नभएकोमा प्रतिउत्तर र मिसिल सामेल रहेका अरू प्रमाणबाट प्रतिवादीले वादीको दावी पूरै वा आंशिक तवरले स्वीकार गरेको देखिन आएको ठहरेमा सो हदसम्म इन्साफ गर्ने गरी र स्वीकार नगरेको वा नठहरेको हदसम्म डिसमिस गर्ने गरी मुद्दा फैसला गर्नुपर्छ भन्ने उल्लेख भएको देखिनाले र प्रस्तुत मुद्दाको रूपबाट प्रतिवादीले वादी दावी स्वीकारै नगरेको भन्न नमिलेकोले डिसमिस गर्न मिल्दैन । डिसमिस हुने भन्ने शुरूको निर्णय गल्ती ठहर्छ । प्रस्तुत मुद्दामा कानूनबमोजिम गर्नु भनी शुरूमा पठाइदिने भन्ने राप्ती अञ्चल अदालतको ०२९।३।३१ को फैसला ।
९. राप्ती अञ्चल अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी तिलकरामको पुनरावेदन ।
१०. हाम्रोसमेत हक लाग्ने सम्पत्ति हामीहरूलाई थाहा जानकारी नदिई प्रतिवादीहरूले राजीनामा लिएको हक जति बदर गरिपाउँ भन्ने वादीहरूको लेनदेन व्यवहारको १० नं.ऐनअन्तर्गत दावी परेको र वादीवालालाई राजीनामा दिने व्यक्तिको हकदार होइनन् भन्न प्रतिवादीले सकेको छैन । वादीलाई सम्बन्धित सम्पत्तिको हकदारै होइनन् वा निजहरूको राजीनामा लिखतमा स्वीकृति मञ्जुरी छ भन्ने कुरा मिसिलबाट नदेखिएपछि अ.बं.१८५क नं.बमोजिम ठहर इन्साफ गर्नु भनी अं.अ.ले निर्णय दिएको मनासिव देखिन्छ भन्ने ०२९।११।२५।५ को डिभिजन बेञ्चको फैसला ।
११. प्रस्तुत मुद्दा दोहर्याइदिनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा कुनै पनि बिषयको दावी गर्दा वादीले कुनै वस्तुस्थितिको आधार लिई केही कुरा गरिपाउँ भन्ने दावी लिएको हुन्छ । उक्त वादीले वर्णन गरेको वस्तुस्थितिमा प्रतिवादीले विरोध जनाउँदैन भन्ने उक्त कुराले वादीको दावीको रूप ग्रहण गर्दैन । जुनकुरा गराइपाउँ भन्ने वादी माग छ, सो माग मात्र वादी दावी हुन जान्छ जस्तो कि प्रस्तुत केशमा हामी अंशियारले सगोल राखी आयस्ता बण्डा खाने गरी आएकोमा अन्यायवाला अम्बरबहादुरले बिक्री गरिदिने तिलकराम लिने भई राजीनामा गराइसकेका रहेछन् । हाम्रो ५ खण्डको ४ खण्ड फिर्ता गराई सजायसमेत गरिपाउँ भन्ने वादी दावी र नाता हो वा होइन भन्ने कुरा नउठाई खाली राजीनामा बदर हुनु पर्ने होइन, मेरै कायम गरिपाउँ भन्ने प्रतिवाद भएपछि उक्त लिखत बदर हुनु पर्ने वा नपर्ने भन्नेसम्म कुराको निर्णय गर्नुपर्ने प्रष्ट छ । विवादबस्तुमा वादी प्रतिवादीको कतिपय मुख मिलेको रहेनछ भन्ने प्रष्ट छ, वादीले ५ खण्डको ४ खण्ड बदर गराइपाउँ भनी दावी गरेकोमा प्रतिवादीले ४ खण्ड होइन । एक वा दुई वा तीन खण्डमात्र बदर हुनु पर्ने हो भनेको भएमात्र त्यति कुरामा मुख मिलेको भन्न मिल्ने हुन्छ । खाली नातेदार हो रहेछ भन्ने कुरामा तर्क गर्न मिल्दैन, त्यो त सिर्फ लिखत बदर गर्ने मागको आधारमात्र हो । प्रस्तुत मुद्दामा त्यो झगडाको बिषय बनेको छैन । लिखत बदर गर्नुपर्ने वा नपर्ने भन्ने कुरा निर्णय गर्नुपर्ने प्रश्न प्रष्ट भएको र सोकुरामा प्रतिवादीले इन्कार गरेको हुनाले अ.बं.१८५क नं.बमोजिम प्रस्तुत मुद्दा पूरै डिसमिस गरिदिनुपर्नेमा नातादार हो भन्ने कुरा स्वीकार गरेकोले इन्साफ गर्नुपर्ने भनी डिभिजन बेञ्चबाट निर्णय भएको मिलेको देखिँदैन भन्ने समेत उल्लेख भएको ।
१२. यस बेञ्चसमक्ष वादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले वादीहरू नातेदार हुन् भन्ने कुरा प्रतिवादी तीलकरामले स्वीकार गरेकै छ बिक्री गरेको जग्गामा वादीहरूको हक नलाग्ने कारण देखाउन र सबूत दिन प्र.तिलकरामले सकेको छैन । अ.बं.१८५ क.नं.मा वादी दावी पूरै वा आंशिक तवरले स्वीकार गरेको देखिन आएमा वा ठहरेमा सो हदसम्म डिसमिस नहुने व्यवस्था छ । वादी दावी स्वीकार गरेको प्रतिवादीमा प्रस्तुत उल्लेख नभएको भए पनि परिबन्दबाट स्वीकार गरेको ठहर्न आउने यस्तो मुद्दा उक्त ऐनअनुसार डिसमिस हुन नसक्ने हुँदा डिभिजन बेञ्चको फैसला कायम हुनुपर्छ भन्ने समेत बहस पेश गर्नुभयो ।
१३. यसमा प्रस्तुत मुद्दा शुरूमा दायर छँदा वादीहरूको वारेसले तारिख गुजारेको कारणबाट डिसमिस हुन सक्ने नसक्ने के हो भन्ने प्रश्न उपस्थित भएकोमा ०२९।११।२५।५ को डिभिजन बेञ्चबाट निर्णय हुँदा अ.बं.१८५ क.नं. को उल्लेख गर्दै वादीलाई सम्बन्धित सम्पत्तिको हकदार होइन वा निजहरूको राजीनामा लिखतमा स्वीकृति मञ्जुरी छ भन्ने कुरा मिसिलबाट नदेखिपछि उक्त ऐनबमोजिम इन्साफ ठहर गर्नु भनी अञ्चल अदालतले निर्णय दिएको मनासिव छ भन्ने ठहर गरेको रहेछ । यसै प्रश्नमा न्यायिक समितिको सिफारिशमा बक्स भएका हुकूम प्रमांगीबमोजिम यो मुद्दा दोहरिएको हुँदा डिसमिस हुन सक्ने नसक्ने विवादग्रस्त उक्त प्रश्नउपर नै निर्णय दिनु पर्ने हुन आएको छ ।
१४. जहाँसम्म अ.बं.१८५क. नं. को कुरा छ, त्यसमा श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अरू मुद्दामा प्रतिवादी हाजिर भएको तर वादी हाजिर नभएकोमा प्रतिउत्तरपत्र र मिसिल सामेल रहेका अरू प्रमाणबाट प्रतिवादीको दावी पूरै वा आंशिक तवरले स्वीकार गरेको देखिन आएमा वा नठहरेमा सो हदसम्म इन्साफ गर्ने गरी र स्वीकार नगरेको वा नठहरेको हदसम्म डिसमिस गर्ने गरी मुद्दा फैसला गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ ।
१५. प्रस्तुत मुद्दाको फिरादपत्रमा अचल सम्पत्ति जति सगोलमा राखी आयस्ता बण्डा गरी खाने गरी अन्यायवाला अम्बरबहादुर र हामीहरूसमेत छुट्टी भिन्न भई बसेकोमा हामीहरू समेतको भागबण्डामा पर्ने जग्गा अम्बरबहादुरले तिलकरामलाई बेचेको राजीनामा लिखत बदर गरी हाम्रो भाग ५ खण्डको ४ खण्ड फिर्ता गराइपाउँ भन्ने वादीहरूको मुख्य दावी भएकोले दावीअनुसार लिखत बदर हुने नहुने के हो भन्ने कुराको मुख्य आधार विवाद उठेको जग्गामा वादीहरूको अंश हक लाग्ने हो होइन भन्ने कुरा नै हुन आउँछ । त्यसकारण उपरोक्त अ.बं.१८५क.नं. को प्रयोजनको लागि हामीहरूसमेतको भागबण्डामा पर्ने भन्ने वादी दावी प्रतिवादीले पूरै वा आंशिक रूपले स्वीकार गरेको भन्न मिल्ने अवस्था छ छैन, त्यसतर्फ नै हेर्नुपरेको छ ।
१६. वादी दावीको प्रसंगसमेतबाट प्रस्तुत मुद्दामा वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्नलाई वादी दावीमा ५ खण्डको ४ खण्ड बदर गरिपाउँ भनेकोमा दावीअनुसार ४ खण्ड नै बदर हुने हो भनी पूरैमा ४ खण्ड बदर हुने होइन ३ खण्ड २ खण्ड १ खण्डमात्र बदर हुने हो भनी आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको प्रतिउत्तरपत्र वा मिसिल सामेल रहेको अरू प्रमाणबाट देखिन ठहर्न आउनुपर्छ, अनिमात्र त्यस्तो भन्न मिल्ने हुन्छ । प्रतिउत्तरपत्र हेर्दा लेखिएको खेत निजहरूको भागबण्डामा पर्ने भए पनि मौकामा नै उजूर गर्नुपर्ने थियो भन्ने उल्लेख गरेको र वादीमध्ये सर्वजीतबाट रू.८५०। झुमलालबाट रू.८५०। प्रतिवादी अम्बरबहादुरबाट रू.१५००। मा घरायसमा छुट्टाछुट्टै राजीनामा गराइलिएको भनी अरू अरू जग्गाको राजीनामा लिखतहरू प्रमाण दिई पेश गरेको समेतबाट झगडा परेको जग्गा वादीहरूको भागबण्डामा पर्ने होइन भन्ने व्यक्त गरेको पाइन्छ । वादी दावीअनुसार वादीहरूसमेतको भागबण्डा लाग्ने र लिखत बदर हुनु पर्ने भन्ने कुरा प्रतिउत्तरपत्रमा कतै पनि स्वीकार गरेको नदेखिएको र त्यस्तो कुनै प्रमाण पेश पनि नभएकोले वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्था देखिएन ।
१७. तसर्थ उपरोक्त कारणहरूबाट शुरूमा वादीहरूको वारेसले तारिख गुजारेको यो मुद्दा अ.बं.१७९ तथा १८५ क.नं. अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने हुँदा शुरू रुकुम जिल्ला अदालतले ०२८।७।१८।५ मा डिसमिस गरेको मनासिव छ इन्साफ गर्ने गरेको राप्ती अञ्चल अदालतको सदर गरी ०२९।११।२५।५ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी तिलकराम खड्का के निजले राखेको देहायबमोमिजको कोर्टफी वादी जंगबहादुर वली क्षेत्री १, झुपलाल वली क्षेत्री १, सर्वजीत वली क्षेत्री नन्दकली वलेनी क्षेत्रीनी १, समेत जना ४ बाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु........................१
सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राप्ती अञ्चल अदालतमा ०२९।५।२२।४ मा दाखिल गरेको रू.१।५०
मुद्दा दोहर्याउँदा सर्वोच्च अदालतमा लगत नगदी विभागमा ०३०।११।११।६ मा ऐ.रू.१
वादी झुपलाल वली क्षेत्री १, सर्वजीत वली क्षेत्री १, जङ्गबहादुर वली क्षेत्री १, नन्दकली वलेनी क्षेत्रीनी १ समेत जना ४ ले पुनरावेदन गर्दा ०२८।८।१५ मा राप्ती अञ्चल अदालतमा दाखिल गरेको कोर्टफी रू.१।५० राप्ती अञ्चल अदालतको ०२९।३।३१।६ को फैसलाले फिर्ता दिने गरेकोमा फिर्ता नपाउने हुँदा फिर्ता दिने गरेको लगत काटिदिनु भनी राप्ती अञ्चल अदालतलाई लेखिपठाउन ऐ........................२
राप्ती अञ्चल अदालतको ०२९।३।३१।६ को फैसलाले तत्कालिन रुकुम जिल्ला अदालतका जि.न्या.नन्दप्रसाद पौडेलको उल्टीको रेकर्ड राख्ने गरेको लगत काटिदिनु भनी राप्ती अञ्चल अदालतलाई लेखिपठाइदिनु............................३
राप्ती अञ्चल अदालतका का.मु.अञ्चल न्यायाधीश लिलाप्रसाद गिरीको इन्साफ उल्टोको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु.....................४
नियमबमोजिम मिसिल बुझाइदिनु..........................५
हामीहरूको सहमती छ ।
न्या. विश्वनाथ उपाध्याय,
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३१ साल श्रावण ११ गते रोज ६ शुभम् ।