निर्णय नं. ८२५ - जग्गा खिचोला

निर्णय नं. ८२५ ने.का.प. २०३१
फुल बेञ्च
मानननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०२९ सालको दे.फु.नं. १३३
फैसला भएको मिति : २०३१।४।१८।६
निवेदक : भक्तपुर ठिमी नासननी बस्ने आशबहादुर प्रजापति
विरुद्ध
विपक्षी : ऐ. पोवु बस्ने लक्ष्मीमाया प्रजापतिसमेत
मुद्दा : जग्गा खिचोला
(१) जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारको हक स्वतः समाप्त हुने जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने ।
पहिले लालमोहर हुँदा धनपुरसिं कुमालले खाएको जग्गा निजकै जागिर जानी भोग गर्न पाउने गरी खान्गीमा ठेकिएको भए पनि १९८० सालको नापीमा जग्गा कमाउने मोही धिर्जमानका नाममा दर्ता हुन गएकोछ र २००३ सालमा सो कुमालले खान्गीमा यो प्रतिवादी आशाबहादुर हुँदा जग्गै आफूले भोग गर्ने गरी पाएको नभई बालीसम्म खान पाउने गरी पाएको निजका नामको २००५ सालको तिर्जामा २००५ सालको गहुँ बाली खाने भन्ने उल्लेख भएबाट प्रमाणित हुन्छ, यस्तो जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारहरुको हक स्वतः समाप्त हुने र जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने हो यो कुरा स्वयं प्रतिवादीले पनि मानिराखेकै पाइन्छ । खान्गी खारेज भएपछि तिर्जावाला जागिरदारकै नाममा दर्ता हुने कानूनी व्यवस्था भएको पाउन सकिएन ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : अधिवक्ता इच्छाहर्ष बज्राचार्य
उल्लिखित मुद्दा :
फैसला
न्या. ईश्वरीराज मिश्र
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : सीताराम कुमालका नाममा मोहियानी दर्ता भएको कंपुकोतमा भाडा बुझाउने कुमाले खान्गीको मचा ।४।१८।७।७ गहुँ ।१४।७।९ घिउ ।९२।३ लागेको हनुमन्ते ताकुया भन्ने खेत ५।३ जग्गा ७५ सालमा हंसराजले सीतारामसँग राजीनामा गरी लिई ७८।११।५ गते निजले मलाई राजीनामा गरी आधा आफैंले ९० सालमा भोग चलन गरिआएका थिए । निज मरेपछि खान्गीदारको हैसियतले आशाबहादुर कुमाल गहुँवालीदेखि भर्ना भई ०३ सालको बाली बुझाई आएको ०४ सालको धानबालीमा प्रतिवादीले खिचोला गरेकोले जग्गा खिचोला र जालसाजी मुद्दासमेत परेकोमा हाम्रै मोहियानी हक ठहरी जालसाजी नठहरी फैसला भयो । त्यसपछि विपक्षीलाई खान्गीबाट झिकी बुद्धिनारायण भर्ना भयो । निजले पनि बाली नबुझेकोले बुझाइपाउँ भन्ने नालिस दिई बुझाउन पाउने ठहरी ०७।८।२७।६ मा फैसला भयो । ०९ सालमा खान्गी खारेज भएपछि मालमा गई हामीहरूका नाममा दर्ता गरिपाउँ भनी दर्खास्त दिएपछि विपक्षीले पनि नामसारी गरिपाउँ भनी दर्खास्त दिएको रहेछ । मालबाट हाम्रो नाममा नामसारी गर्ने फैसला भएकोमा पुनरावेदन परी मध्यमाञ्चल उच्च अदालतमा हकबेहक गरिआउनु भनी सुनाइदिने भन्ने फैसला भयो हुकूमप्रमांगीबमोजिम सर्वोच्च अदालतबाट इन्साफ जाँच हुँदा म.उ.अ.को सदर भई ०२३।९।४।२ मा डिभिजन बेञ्चबाट फैसला भएको सो मितिले ३५ दिनभित्र नालिस गर्न आएको छु । खिचोला मेटाइपाउँ भन्ने समेत वादी ।
३. १८७९ सालको लालमोहरबमोजिम कम्पुकोतमा चाहिँदो भाडा बुझाउने शर्तमा पाएको झगडा परेको जग्गा मेरो जेठा बाबु आशानारायणले आफैं मोहीसमेत भई कमाई आउनु भएको म मगनीमा धीर्जमानलाई कमाउन दिइराखेको ८० सालमा खोलो लागी जग्गा बाँझो भएकोले धीर्जमानले जग्गा छोडी दिई मेरा जेठा बाबुले लक्ष्मीमाया र लक्ष्मीकुमारको बाबु लक्ष्मीनारायणलाई ८२ सालदेखि कमाउन दिएको थियो ८० सालको नापीअनुसार तिर्जा आउँदा धिर्जमानका नाममा भइआएकोले जेठाबाबु आशानारायणले उजूरी गरी २०००।४।१३।४ को कम्पु तिर्जा अड्डाको फैसलाबाट समेत विपक्षीहरू यो जग्गाको मगनी मोही हुन् भन्ने प्रष्ट देखिन्छ । कबुलियतबमोजिमको बाली बुझाई पूर्ववत मगनीवाला भई कमाउँछौ भनी कमाइरहेका बाली नबुझाई बाँकी राखेको ०३ सालदेखि ०५ साल तकको मालमा धरौटी राखेको बालीमा नपुग भएको र ०६ सालदेखि १७ साल तकको बाँकी बाली दिलाई जग्गा पजनी गरिपाउँ भनी मैले नालिस दिएकोमा बाली भरिपाउने र मगनीवाला मोहीहरूलाई पजनी गरी जग्गा आफूखुस गर्न पाउने ठहरी ०१९।२।५।६ मा फैसला भएको छ । यो जग्गामा बुद्धिनारान भर्ना भएको र निजले समेत बाली बुझी नलिँदा बाली बुझी लिनु पर्ने फैसला भएको भन्ने हकमा २००४ सालमा बुद्धिमान भर्ना भएपछि निज मरी ०५ सालदेखि पुनः म नै भर्ना भई साविकबमोमिज उक्त जग्गा मेरो अधिकारमा आएको हो खास म मोही र विपक्षीहरू मगनी मोही ठहरी जग्गाबाट समेत पजनी भइसकेको हुनाले र कमको जग्गा मालमा दाखिल हुँदा मोही नै जग्गावाला भई दर्ता हुने श्री ५ को सरकारको निर्णयसमेत बमोजिम मेरै नाममा दर्ता हुने प्रष्ट छ । झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी ।
४. पटक पटक अदालतबाट भएको फैसलाहरूबाट जग्गा जोत्ने खास किसानहरू वादीहरू हुन् भन्ने प्रष्ट देखिन आउँछ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को खण्ड (२) को (क) को (१) अनुसार श्री ५ को सरकारलाई मालपोत बुझाई मालअड्डामा आफ्नो नाममा जग्गा दर्ता गराउने व्यक्ति जग्गावाला मानिन्छ र जग्गावाला वादीहरू कायम भई दर्तासमेत भइसकेको र सो दर्ताउपर उजूर पनि नभएको लालपुर्जा वादीहरूकै देखिएको प्रतिवादी जागिरसरहको खान्गीका रकमी भएबाटसमेत प्रतिवादीको हकको जग्गा ठहर्दैन वादीहरूकै नाममा रैकरमा दर्ता हुने ठहर्छ भन्ने भ.पु.जिल्ला अदालतको फैसला ।
५. सोउपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
६. ०६।१२।१८ को फैसला नक्कल हेर्दा यिनै वादी प्रतिवादीहरूको जालसाजी जग्गा खिचोला बाली बुझाइपाउँ भन्ने समेत मुद्दा परी जालसाजी गरेको र जग्गामा प्रतिवादीले खिचोला गरेको बाली बुझी नलिएको ठहरेको देखिएकोले र जग्गा मगनीमा कमाएको हो । वादीलाई जग्गै कमाउन दिन नपरोस् भन्ने प्रतिवादी भनाई भएकैबाट पनि वादी जग्गा कमोद गरी प्रतिवादीलाई बाली बुझाउन पर्ने व्यक्ति भएको देखिँदा जग्गावाला नै वादी कायम गरी फैसला भएको रहेछ भन्ने देखिन आएन । जग्गा खिचोला मुद्दा परी २००६।८।६।२ मा फैसला भएको सो मुद्दामा बाली आशानारायणलाई बुझाउने गरी जग्गा कमोद गरेको भन्ने वादीको लेख भई दर्तावाला जग्गावाला नै म हुँ भन्ने निज वादीको दावी नभएको आशाबहादुरलाई बुझाउनु पर्ने बाली बुझाउने गरी कमोद गर्न पाउने जग्गामा कमोद गर्न पाउने कुरामा सम्म खिचोला गरेको भन्ने वादी दावी हुँदा यो वादी जग्गावाल नै कायम भई फैसला भएको देखिन आउँदैन । तिर्जावाला आशाबहादुर देखिन आएकोसमेतबाट जग्गावालाको हैसियतमा वादीको हक पुग्न नसक्ने हुनाले मेरो हक कायम गरी खिचोला मेटाइपाउँ भन्ने वादीले झुठ्ठै दावी गरेको ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२७।३।२१।५ को फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन ।
८. यिनै वादी प्रतिवादीहरूको यसै जग्गा बिषयमा जग्गा खिचोला १, जालसाजी १, बाली बुझाइपाउँ भन्ने १ समेत मुद्दाहरू परेकोमा वादीको जग्गामा प्रतिवादी आशाबहादुरले खिचोला गरेको ठहरी जग्गा खिचोला मुद्दामा २००६।८।६।२ मा भ.पु.अ.बाट फैसला भएको जालसाजी मुद्दा पनि सोही मितिमा प्रतिवादी आशाबहादुर समेतले जग्गा आफ्नो कायम गराउन मुचुल्का जालसाज गरेको ठहरी र बाली बुझाइपाउँ भन्ने मुद्दा पनि भ.पु.अ.बाट ०६।१२।१८ गते फैसला भएको २००४ सालको बाली बुझी नदिएकोले बुझाइपाउँ भन्ने वादीको दावा भएकोमा वादी दावाबमोजिम बाली बुझिनलिएको ठहरी फैसला भएको देखिएको प्रतिवादीले जग्गावाला म हुँ । सो जग्गाको उब्जनी बाली वादीहरूले मलाई तिर्नुपर्ने ठहरी १९ सालमा भ.पु.जि.अ.बाट फैसला भएको, त्यसउपर वादीहरूको पुनरावेदन परेकोमा डिसमिस भएको र २०००।४।१३ गते कम्पु तिर्जा अड्डाबाट गरेको फैसलाबाट पनि प्रतिवादीको जग्गा भन्ने देखिन्छ भन्ने बहस भएकोलाई कम्पु तिर्जा अड्डाको उक्त मितिको फैसला नक्कलबाट विन्तिपत्रको कारवाई गर्नुपर्दैन भन्ने दस्तखत भई विन्तिपत्र तामेलीमा राखिदिने भन्ने उल्लेख भएको देखिएको जग्गामा निर्णय गरेको नदेखिएको जग्गाको आयस्ता बाली नै लिएको भन्नेतर्फ पनि वादीहरूले यो वादी दावीको जग्गा ०९ सालमा खान्गी खारेज भएपछि मालमा दर्ता गरिपाउँ भन्ने निवेदन दिई कारवाई हुँदा हक बेहकमा नालिस दिनु भनी सुनाइदिनु पर्ने डिभिजन बेञ्चबाट फैसला भई यो मुद्दा दायर भएको मुद्दा पर्दापर्दैको बालीमा प्रतिवादीको उजुुर परी बाली पाउने फैसला भए पनि सो फैसला आयस्ता बालीको हकमासम्म भएको जग्गा निर्णय नभएको फैसलाले ०६ सालमा वादीहरुको जग्गा ठहरी भएको अन्तिम फैसलालाई असर पार्न सक्दैन सो बाली मुद्दाको फैसलाबाट जग्गामा प्रतिवादीको हक भएको भन्न मिलेन २००६ सालको जग्गा खिचोला मुद्दा समेतको फैसलाहरूबाट जग्गा वादीकै हक देखिएको हुनाले र सो जग्गालाई मेरो भनि प्रतिवादीले जिकिर लिएको हुँदा वादीको जग्गामा प्रतिवादीले खिचोला गरेको देखियो । बा.अं.अ.ले फैसला गरेको मिलेन । वादीहरूको हकभोगको जग्गा ठहराई फैसला गरेको भ.पु.जि.अ.को ०२५।६।२४।५ को फैसला मनासिव छ भन्ने ०२९।५।१२।१ को डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुत मुद्दा दोहर्याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा ०६ सालको जग्गा खिचोला मुद्दामा भएको फैसलाहरूबाट आशाबहादुरलाई बुझाउनु पर्ने बाली बुझाउने गरी कमोद गरी आएको जग्गामा कमोद गर्न नपाएको कुरासम्ममा खिचोला गरेको ठहर भएको छ । वादी नै जग्गावाला कायम भई फैसला भएको देखिँदैन । जालसाजी मुद्दामा कृष्णमाया खर्वुजाको बाली कट्टी मुचुकामा म लक्ष्मीनारायणलाई सहिछाप गरी लगेको थियो । हाल बुझ्दा मगनीमा कमाउने भन्ने लेखिएको र कबुलियत रसिदमा समेत तिरो बढाई जालसाज गरे सजाय गरिपाउँ भन्ने जालसाजीमा वादी दावी भएको उपर्युक्त फैसलाहरूको निर्णय उल्लेख गरी सर्जमिन मुचुल्का जालसाजबाट गरेको ठहर्छ भन्ने फैसला भएको देखियो । सो फैसलाहरूबाट दर्तावाला खान्गीदार प्रतिवादीहरूको खान्गीको जग्गामा हक टुटेको देखिँदैन । वादी लक्ष्मीमाया प्रजापतिसमेतले प्रतिवादी बुद्धिनारायण हरिवंश कुमाललाई ०६ सालको बाली बुझाइपाउँ भनी दायर गरेको बाली मुद्दामा प्रतिवादीले बाली बुझी नलिएको ठहर्छ भनी ०७।८।२७।२ मा भ.पु.अ.बाट भएको फैसला समेतबाट झगडा परेको जग्गा वादीहरुले कमाउनसम्म पाई बाली प्रतिवादीहरूलाई नै बुझाई आएको पुष्टि हुन्छ । ०९ सालमा खान्गी खारेज भएपछि खान्गीको जग्गा तिर्जावालाका नाममा हुने कानूनी व्यवस्था भएकोले तिर्जा नभएका व्यक्तिका नाममा दर्ता गर्न नमिल्ने प्रष्ट छ । प्रतिवादीको हक कायम हुन सक्ने कानूनी र न्यायिक आधार देखिँदैन भन्ने समेत उल्लेख भएको ।
१०. यसबेञ्चसमक्ष निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले जग्गा आफ्नो हक भएको भन्ने आधार राजीनामा वादीले पेश गर्न सकेका छैनन् । कम्पु तिर्जा अड्डाको २००० सालको फैसला समेतबाट जग्गा खान्गीदारको कायम गरेको प्रष्ट छ । भ.पु.ई.अ.को १९ सालको फैसलाले पनि वादीहरूको जग्गामा हक लाग्दैन जग्गामा मेरै पक्षको हक कायम हुनुपर्छ भन्ने समेत र वादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्ष वज्राचार्यले कम्पु तिर्जा अड्डाको २००० सालको फैसलाले जग्गामा हक बेहक गरेको छैन जग्गा खिचोला र जालसाजी मुद्दासमेतमा भएको २००६ सालको फैसलाले मेरो पक्षहरू मोही कायम भइसकेका छन् । २०१९ सालको भ.पु.ई.अ.को भनेको फैसला मुद्दा पर्दापर्दैको अवस्थाको प्रमाण लाग्दैन । भूमिसुधार लागू भएपछि हालको सर्भे नापीमा मेरै पक्षका नाममा नापी दर्ता भइसकेको समेत हुँदा डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने समेत बहस पेश गर्नुभयो ।
११. यसमा पम्पुकोतमा भाडा बुझाउने कुमाले खान्गीमा ठेकिएको झगडा परेको जग्गा ०९ सालमा खान्गी खारेज भएपछि पहिलेदेखि मोही भई कमाई आएको हाम्रो हकको हामीहरूका नाममा दर्ता हुने भन्ने वादीहरू र जागिरदार भएको नाताले मेरो हक लाग्ने मेरो नाममा दर्ता हुने भन्ने प्रतिवादी भई जग्गा हकबेहकमा यो मुद्दा चलेको रहेछ । सो जग्गा वादी या प्रतिवादी कस्को हक पुग्ने हो सोकुराको निर्णय दिनुपरेको छ ।
१२. पहिले धनपुर सिंह कुमालेले खाइआएको सो जग्गा १८७९ साल चैत सुदि १३ रोज ४ को लालमोहरबमोजिम जागिर जानी भोग गर्ने गरी निज धनपुर सिंहले पाएकोमा १९८० सालको नापीमा आशा मदु कुमालेको हाल मोही धीर्जमान भनी दर्ता भएको रहेछ, सो दर्ताको सम्बन्धमा लालमोहरिया जागिरदारको सन्तान हुँ भन्ने आशानारायणले विन्तिपत्र दिई कारवाई भएकोमा राजीनामा गराई लिइराख्ने जिम्मावालको छोरा हरिचरणले जागिरदारलाई नै राजीनामा गरिदिन्छु भनी विन्ति चढाएका व्यहोरा जाहेर हुँदा सो विन्तिपत्रमा कारवाही गरिरहनु पर्दैन भन्ने श्री प.क.ज.को दस्तखत भई आएकोले विन्तिपत्र तामेलीमा राखिदिने भन्ने कम्पु तिर्जा अड्डाबाट २०००।४।१३।४ मा फैसला भएको र दर्ताको हकमा धिर्जमानकै नाममा कायम रहेको प्रतिवादी आशाबहादुरको नामको २००५ सालको तिर्जासमेतबाट देखिन्छ ।
१३. मगनीमा धिर्जमानलाई कमाउन दिइराखेको मौका १९८० सालको नापीमा धिर्जमानले नै मोहियामा नाम लेखाए पनि निजले जग्गा कमाउन छोडिदिँदा वादी लक्ष्मीमाया र कुमारको बाबु लक्ष्मीनारायणलाई कमाउन दिएको थियो भन्ने प्रतिवादीको लेखाई भएको र कम्पु तिर्जा अड्डाको २०००।४।१३।४ को फैसलामा पनि धिर्जमान पछि लक्ष्मीनारायणले कमाई आएको भन्ने उल्लेख भएकोसमेतबाट सो वादीहरूले नै कमाई आएको देखिन आयो ।
१४. जग्गै हाम्रो हक भई हामीहरू मोही भई कमाई जागिरदारलाई बाली बुझाई आएको भन्ने वादीहरू र वादी मगनी मोहीसम्म हुन् भन्ने प्रतिवादी भई यसै कुरामा मुख्य विवाद भएकोमा कम्पु तिर्जा अड्डाको २०००।४।१३।४ को फैसलामा मगनीवाला लक्ष्मीनारायण भन्ने उल्लेख भए पनि हामीहरू खुद मोहीलाई मगनीवाला भनी जालसाज गरे भनी दावी लिई यिनै वादीहरूले जालसाजी मुद्दा दिएकोमा रैकर जग्गा २ बर्षसम्म तिरोभरो गरेपछि ऐनले मोही हक सदर हुनेमा मगनीमा कमाउने भनी लेखी जालसाज गरेको ठहर्छ भनी २००३ सालमा आशाबहादुर भर्ना भएपछि तिमीहरू मगनीमा कमाउने हुँदा यो सालदेखि जग्गा कमाउन पाउँदैनौ भनी हटक खिचोला गर्यो न यिनै वादीहरूले यिनै प्रतिवादीउपर अर्को जग्गा खिचोला मुद्दा दिएकोमा उक्त जालसाजी मुद्दाको फैसला समेतलाई आधार लिई जग्गामा खिचोला गरेको ठहर्छ भनी एकै मिति २००६।८।६।२ मा भक्तपुर अदालतबाट फैसला भई वादीहरू मोही कायम भएको देखिन्छ । जसबाट वादीहरू मगनी मोहीसम्म हुन् भन्ने प्रतिवादी जिकिर समर्थित हुँदैन ।
१५. पहिले लालमोहर हुँदा धनपुरसिं कुमालले खाएको जग्गा निजकै जागिर जानी भोग गर्न पाउने गरी खान्गीमा ठेकिएको भए पनि १९८० सालको नापीमा जग्गा कमाउने मोही धिर्जमानका नाममा दर्ता हुन गएकोछ र २००३ सालमा सो कुमालले खान्गीमा यो प्रतिवादी आशाबहादुर हुँदा जग्गै आफूले भोग गर्ने गरी पाएको नभई बालीसम्म खान पाउने गरी पाएको निजका नामको २००५ सालको तिर्जामा २००५ सालको गहुँ बाली खाने भन्ने उल्लेख भएबाट प्रमाणित हुन्छ, यस्तो जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारहरुको हक स्वतः समाप्त हुने र जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने हो यो कुरा स्वयं प्रतिवादीले पनि मानिराखेकै पाइन्छ । खान्गी खारेज भएपछि तिर्जावाला जागिरदारकै नाममा दर्ता हुने कानूनी व्यवस्था भएको पाउन सकिएन।
१६. २००६ सालदेखि २०१७ सालतकको बाली भराइपाउँ भनी यो मुद्दाको प्रतिवादी आशाबहादुरले यो मुद्दाका वादीहरूउपर नालिस गरेकोमा बाली भरिपाउने ठहरी ०१९।२।५।६ मा भ.पु.ई.अ.बाट फैसला भएको भन्ने हकमा खान्गी खारेज भएपछि सो जग्गा दर्ता गरिपाउँ भन्ने दर्खास्त परी मालबाट कारवाई चलेको मुद्दामा हकबेहकमा अदालतमा नालिस गर्नु भन्ने समेत ०२३।९।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएपछि हकबेहकमा यो मुद्दा परेको यसरी मुद्दा चल्दाचल्दै सोही जग्गाको खान्गी खारेज भइसकेपछिका सालको समेत बाली भराइपाउँ भनी बीचमा नालिस गरी बालीको हकमा सम्म भएको उक्त फैसलालाई यस मुद्दामा प्रमाण लगाउन मिल्ने देखिँदैन ।
१७. तसर्थ उपरोक्त कारणहरूबाट झगडा परेको जग्गा खान्गी खारेज भएपछि जग्गा कमाउने मोही वादीहरूको हक पुगी वादीहरूको नाममा दर्ता हुने प्रष्टै हुँदा मेरो हक लाग्ने मेरो नाममा दर्ता हुने भन्ने समेत प्रतिवादीको जिकिर पुग्न सक्दैन जग्गामा वादीहरुको हक कायम गरी प्रतिवादीले खिचोला गरेको समेत ठहराई ०२९।५।१२।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले यो मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
हामीहरूको सहमती छ
न्या. प्रकाशबहादुर के.सी.,
न्या. हेरम्बराज
इति सम्वत् २०३१ साल श्रावण १८ गते रोज ६ शुभम् ।