शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४२ - जग्गा

भाग: १७ साल: २०३२ महिना: बैशाख अंक:

निर्णय नं. ९४२            ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३१ सालको दे.फु.नं. ९१

निवेदक : जि. बारा वसन्तपुर मौजे गडहल बस्ने विसुन दयाल साहु तेली

विरुद्ध

विपक्षी : जि. बारा प्र.खश्राहा मौजे रामपुर बस्ने राजहरण तुराहा समेत

मुद्दा : जग्गा

(१)   अ.बं.२०१ नं.अ.बं.२०१ नं. को व्यवस्थाअनुसार तारेखमा नबस्ने गरी धरौटीमा राखी पुनरावेदन गरेकोमा त्यस्तो पुनरावेदन डिसमिस हुनलाई पुनरावेदन सुुन्ने अदालतले झिकाएको म्यादमा हाजिर भई तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनुपर्ने कि आफै तारेखमा रही गुजारेको हुनुपर्ने ।

(प्र.नं. ९)

विपक्षी तर्फबाट      : अधिवक्ता गणेशराज शर्मा

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यो बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : जग्गा बिगाहा २।।.।।२।। कविलास थारुलाई जिम्मा दिई भोला खा थारुलाई जोत्न दिएको हाल डुमरवमा गा.पं.वार्ड नं.५ को कित्ता नं. ५ मा परेको मोहियानीबारे खिचोला परेको हक बेहक छुट्टिएपछि मोहियानी निर्णय हुने भनी विशेष अदालतबाट फैसला भएको उक्त जग्गाको विपक्षीबाट खिचोला मेटाई पाउँ भन्ने वादी । १० सालदेखि ०१९ साल तकको पोत बुझाई ०१९।१०।२८।१ मा चलन पुर्जि लिई भोगचलन गरिआएको मेरो नम्बरी दर्ता भोगको जग्गा हुँदा वादी झुट्टा हो भन्ने प्रतिवादी भएकोमा राजेन्द्रप्रसादका जग्गामा विसुन दयालले दावी गरी ल्याएको नालिस लाग्न नसक्ने हुँदा अ.बं.१८० नं. ले खारेज हुन्छ भनी बारा जिल्ला अदालतबाट फैसला गरे उपर पुनरावेदन खारेजमा नबस्ने भनी इन्साफ सदर भएमा लाग्ने दशौंद धरौट राखी वादीको पुनरावेदन परेकोमा नारायणी अञ्चल अदालतबाट निजलाई छलफलमा झिकाउने आदेश भई म्याद दिएको सो म्यादभित्र हाजिर नभई गुजारेको भनी उक्त अञ्चल अदालतले अ.बं.१७९ नं.बमोजिम भनी डिसमिस फैसला गरेको रहेछ ।

      ३.    उक्त अञ्चल अदालतबाट वेरीतसँग डिसमिस भयो चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ४.    अञ्चल अदालतले वेरीतसँग डिसमिस गरेको भन्ने जिकिर हुँदा सो डिसमिस गरेको रीतपुर्वक छ वा छैन भन्ने कुरा मात्र विचार गर्नु परेको छ । अञ्चल अदालतमा पुनरावेदन दिँदा तारेखमा नबस्ने गरी पुनरावेदन दर्ता भएकोमा अदालतले झिकाउनु पर्ने ठहर्‍याई म्याद पुर्जि पुनरावेदकलाई पठाएकोमा अदालतमा हाजिर नभई गुजारेको हुनाले अ.बं.२०१ नं.बमोजिम डिसमिस गरेको छ । अदालतबाट हाजिर हुनु भनी तारेख पर्चा दिनु वा मुद्दामा यो मितिमा हाजिर हुन आउनू भनी म्याद पुर्जि दिनुमा पृथकपृथक असर हो भन्न मिल्ने देखिएन । तसर्थ अञ्चल अदालतबाट जारी भएको १५ दिने म्यादमा हाजिर नभएको हुँदा डिसमिस हुन्छ भनी गरेको अञ्चल अदातलको फैसला मनासिव छ भन्ने ०३०।३।२२।६ को डिभिजन बेञ्चको फैसला ।

      ५.    प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिश व्यहोरामा अ.बं.२०१ नं.मा प्रयोग भएको शब्दले झगडिया झिकाइएर तारिखमा रहेको वा आफै पैरवी गर्छु भनी तारिखमा रहेको अवस्थामा मात्र सो तारिख गुजारेमा मुद्दा डिसमिस हुन सक्ने व्यवस्था गरेको प्रष्ट पारेको छ र यी शब्दहरू यति प्रष्ट छन् कि यिनमा व्याख्या गर्नुपर्ने कुनै गुञ्जाइस छैन धरौटी पुनरावेदन परेको मुद्दामा जबसम्म अदालतले झिकाएर वा आफै हाजिर भएर झगडिया वारिसमा रहँदैन र त्यसरी तारिखमा रहेपछि तारेख गुजारेको हुँदैन तवसम्म कुनै हालतमा पनि उसको पुनरावेदन डिसमिस हुन सक्तैन । झिकाएको म्यादमा हाजिर नभएकोलाई तारिखमा रही तारिख गुजारेको भन्ने कुरासँग जोड्न कदापि मिल्दैन । हाजिर हुन झिकाएको म्यादमा झगडीया हाजिर नभएमा मुद्दाको स्थिति अनुसार फैसला गरिदिनुपर्छ किनभने धरौटी राखी पुनरावेदन दर्ता गराएको भएपछि सो पुनरावेदनमा फैसला गराउन पाउने पक्षको अधिकार नै हुन्छ कानूनले यस अवस्थामा डिसमिस हुन्छ भनी किटानी व्यवस्था गरेको अवस्था नपरी मुद्दा डिसमिस हुन सक्दैन तारिख गुजार्नु भन्नु र म्यादमा हाजिर नहुनु भन्नु एउटै कुरा हो भन्ने तर्क गरी मुद्दा डिसमिस हुने अवस्थाको व्याख्याद्वारा क्षेत्र विस्तार गर्नु न्यायोचित नहुनुको साथै सोझै कानून प्रतिकूल पनि हुन्छ भन्नेसमेत उल्लेख भएको ।

      ६.    यसबेञ्च समक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले छलफलमा झिकाएकोमा हाजिर भई तारेखमा बसेको त्यस्तो तारेख गुजारेको भएमात्र अ.बं.२०१ नं.बमोजिम डिसमिस हुन सक्ने हो मेरो पक्ष त्यसरी तारेखमा रहेको छैन म्यादमा हाजिर भएको भन्नु र तारेख गुजारेको भन्नु फरक हो त्यसकारण तारेख गुजारेको पनि वेरीतसँग डिसमिस भएको बदर हुनुपर्छ भन्नेसमेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्माले अ.बं.२०१ नं.तात्पर्यको लागि म्याद गुजारेको भन्नु तारेख गुजारेको भन्नुमा कुनै तात्विक फरक पर्दैन अदालतले दिएको म्याद गुजारेपछि तारेख गुजारे सरह नै मान्नुपर्छ । डिसमिस गरेको कानून अनुकूल छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

      ७.    यसमा बारा जिल्ला अदालतको ०२६।९।१६।४ को फैसला उपर वादी विसुन दयालले नारायणी अं.अदालतमा पुनरावेदन गर्दा पुनरावेदन तारेखमा नबस्ने भनी अ.बं.२०१ नं. को व्यवस्था अनुसार सुरु कोर्टफी रु.१४०। को इन्साफ सदर भएमा सयकडा १५ ले लाग्ने कोर्टफी रु.२१। धरौट राखी पुनरावेदन दर्ता गरेको र पछि नारायणी अञ्चल अदालतले निज विसुन दयाललाई छलफल निमित्त झिकाउने आदेश गरी म्याद दिएकोमा सो म्यादमा हाजिरै नभई गुजारेको भनी उक्त नारायणी अञ्चल अदालतले पुनरावदेन डिसमिस गरेको र सो उपर पुनरावेदन परेकोमा सो डिसमिस गरेको सदर गरी ०३०।३।२२।६ को डि.बे.बाट निर्णय भएकोसमेत रहेछ । उक्त म्याद गुजारेको कारणले पुनरावेदन डिसमिस हुने नहुने के हो ? सो कुराको निर्णय दिनुपर्ने मूल प्रश्न उपस्थित भएको छ ।

      ८.    तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा अ.बं.२०१ नं.मा पुनरावेदन दिँदा तारेखमा बस्न पाउने भएका वा पुनरावेदन दिई तारेखमा रहेका झगडियाले पुनरावेदन फैसला हुँदा सुरु हुने अड्डाकै इन्साफ सदर ठहरेमा लाग्न सक्ने सजायको रुपैयाँ पहिले नै धरौट राख्दछ भने त्यस्तो झगडियाले तारेखमा नबसे पनि हुन्छ, तारेखमा नबसेको भनी मुद्दा डिसमिस हुन सक्तैन पुनरावदेन सुन्ने अड्डाबाट इन्साफ जाँची सो झगडिया झिकाउनु पर्ने देखिएकोमा झिकाई कानूनबमोजिम फैसला गरिदिनुपर्छ, सो बमोजिम झगडिया झिकाई तारेखमा रहेकोमा वा सो झगडिया आफैलाई तारेखमा बसी पैरवी गर्छु भनी तारेखमा रहेकोमा निजले तारेख गुजार्‍यो भने कानूनबमोजिम सो मुद्दा डिसमिस हुन सक्तछ भन्नेसमेत उल्लेख भएको पाइन्छ ।

      ९.    उक्त अ.बं.२०१ नं. को व्यवस्था अनुसार तारेखमा नबस्ने गरी धरौट राखी पुनरावदेन गरेकोमा त्यस्तो पुनरावेदन डिसमिस हुनालाई कि त पुनरावेदन सुन्ने अदालतले झिकाएको म्यादमा हाजिर भई तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनु पर्‍यो, कि त आफैलाई तारेखमा बसी पैरवी गर्छु भनी तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनुपर्‍यो, यी दुई अवस्थामा मात्र त्यस्तै पुनरावेदन डिसमिस हुनसक्ने उक्त ऐनको मनसाय प्रष्टै छ । पुनरावेदक विसुन दयाल नारायणी अञ्चल अदालतले दिएको म्यादमा हाजिर भई तारेखमा बसिसकेको नभई म्यादमै हाजिर नभई गुजारेकोले त्यस्तो म्यादसम्म गुजारेकोलाई उक्त अ.बं.२०१ नं. अनुसार पुनरावेदन डिसमिस हुने तात्पर्यको लागि तारेख गुजारेको सरह मान्न मिल्ने देखिँदैन, किनकि छलफलमा झिकाएको म्यादमा हाजिर भई तारेखमा रहिसकेपछि पहिले धरौट राखी तारेखमा नबसेको अवस्था विद्यमान रहिरहन नसक्ने र यही म्यादमा हाजिर भई तारेखमा बसेकै छैन भने पहिले धरौट राखी तारेखमा नबसेको अवस्था विद्यमान रहिरहने हुनाले या म्याद जुन गुजारेको भए पनि त्यसको तात्वीक परिणम एकै हुन्छ भन्नु उक्त अ.बं.२०१ नं. को वास्तविक अर्थको विपरीत हुन जान्छ । अर्को दृष्टिमा छलफलमा झिकाएको म्यादमा हाजिर हुँदैन भने अदालतले झिकाएअनुसार छलफलमा आफू उपस्थित हुन पाउने हकसम्मबाट बञ्चित हुन जाने अवस्था पर्छ एउटा कामको निमित्त भनी दिइएको म्याद गुजारेको कारणले सो म्यादमा उल्लेख भए बाहेक अरू कुरामा पक्षलाई असर पुर्‍याउन सक्तैन ।

      १०.    अतः उपरोक्त उल्लेखित भएबमोजिम अ.बं.२०१ नं. को व्यवस्थाबाट निवेदक वादी विसुन दयालको पुनरावेदन डिसमिस हुन नसक्ने देखिन आएको हुँदा नारायणी अञ्चल अदालतले डिसमिस गरेको सदर गरी ०३०।३।२२।६ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन, निज वादीको पुनरावेदन कानूनबमोजिम निर्णय गरिदिनु भनी तारेखमा रहेका पक्षहरूलाई तारेख तोकी मिसिल नारायणी अञ्चल अदालतमा पठाई दिनु । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी विसुन दयालले राखेको देहायबमोजिम कोर्टफी प्रतिवादी राजहरण तुराहा सभापति लाल कायस्थ चन्द्रप्रसाद अधिकारीबाट बराबर दरले भराइ पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दरर्खास्त दिएमा दस्तुर केही नलिइ भराई दिनु भनी का.जि.अ तहसिलमा लगत दिनु ...............................१

स.अदालतमा पुनरावेदन गर्दा ०२९।५।१७।६ मा दाखिल गरेको रु.१।५० मुद्दा दोहर्‍याउँदा ०३१।८।३०।१ मा ऐ १

नारायणी अञ्चल अदालतका तत्कालीन अं.न्या.गजेन्द्रकेशरी वास्तोलाको डिसमिस गर्न नहुने गरी ऐन छाडी काम गरेको रेकर्ड राख्न सर्वोच्च अदातल प्रशासन शाखामा सूचना दिनु ............................२

नियमबमोजिम मिसिल बुझाई दिनु .......................३

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा

न्या. इश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३२ साल माघ १३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु