शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२६ - डाँका

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८२६      ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०३० सालको फौजदारी पुनरावेदन नम्वर ८१३

फैसला भएको मिति : २०३०।१०।२६।६

पुनरावेदक : भारत जिल्ला मोतिहारी थाना तुर्कीलिया मौजे गोविन्दपुर घर भई हाल केन्द्रीय कारगार वीरगञ्जमा थुनामा रहेको रामचन्द्र राय अहिर

विरुद्ध

विपक्षी : अनुप महतो कोइरीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : डाँका

(१)   मरणासन्न अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने ।

            जाहेर उजूरवालाको जाहेरीमा ढोका तोडेको आवाजमा ब्युँझेको भन्ने र कागज बयानमा ढोकाभित्रको आलमाडी तोड्दा व्यूँझेको भन्ने लेखाई देखिन्छ र मौकामा ब्रहृमदेव र रामपरिछनलाई चिनें अरूलाई चिन्न सकिनँ भनी जाहेर उजूरवालाले उल्लेख गरेको छ । जाहेर उजूरवालाले चिनेका भनी उल्लेख गरेका व्यक्ति व्रहृमदेव र रामपरिछन समेत वारदातमा नठहरी सफाई दिएकोमा पुनरावेदन परेको देखिँदैन । उजूरवालाको घर मौका वारदातमा उजूरवाला र सर्जमिनका व्यक्तिसमेत कुनैले पनि प्र.पुनरावेदक रामचन्द्रलाई देखे चिनेको छैन । डाँकातर्फ बन्दुक फायर गरेको भनी मौकामा समात्न पक्रन नसक्ने उजूरवाला र नाम सर्जमिनका मानिस डाँका वारदात गरी गइसकेपछि डाँकाको पिछा गरी गएको भनिएको छ र खेतमा प्रतिवादी रामचन्द्रलाई भेट्टाएको भनी पक्राउ गरी कुटपिट गरी बेहोस भएपछि हथौडा (घन) र ट्रान्जिष्टर रेडियोको साथ पक्राउ गरी उजूरी दर्खास्त गर्नुभन्दा अगावै प्रहरीमा बुझाएको देखिन्छ । बरामद गराएको भनेको रेडियो गाउँपञ्चायतको भन्ने देखिन्छ । गाउँपञ्चायतको घरमा चोरी भएको छैन । रेडियो उजूरवालाका घरमा रहनु पर्ने मनासिव माफिकको कारण केही देखिँदैन । हतौडा (घन) भनेको पनि प्रतिवादी रामचन्द्रकै हो भन्ने नाम नं.घर अंकित हुने चिज होइन । सर्वसाधारण चिज हो सो हतौडा र रेडियो प्रतिवादीबाट बरामद भएको भन्ने कुरा नै शंकाजनक देखिन आउँछ । प्रतिवादी पुनरावेदक रामचन्द्र प्रहरीमा कागज गर्दा डाँका वारदात गरेमा सावित भई पुनरावेदन कागज गरिदिएको भन्ने हकमा प्रतिवादी पुनरावेदकलाई उजूरवाला समेतले पक्राउ गरी कुटपिट गरी बेहोस अवस्थामा प्रहरीमा बुझाएको प्रहरीले कागज गराएको मितिसम्मै निज प्र.रामचन्द्र मरणासन्न अवस्थामा रहेको डाक्टरको रायबाट देखिन आउँछ त्यस्तो अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने भएकोले समेत प्रतिवादी पुनरावेदक रामचन्द्रले डाँका गरेको ठहर्दैन । निजले सफाई पाउने ठहर्छ । तपसीलबमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाइदिनु ।

 (प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : वैतनिक अधिवक्ता बलराम काफ्ले

फैसला

     न्या. झपटसिंह रावल

      १.     बारा जिल्ला अदालतले गरेको इन्साफ सदर ठहराई नारायणी अञ्चल अदालतबाट भएको फैसलामा चित्त बुझेन भन्ने प्र.रामचन्द्र राय अहिरको पुनरावेदन परी आएको यस मुद्दाको तथ्य यसप्रकार छन् :

      २.    २०२६।६।२०।२ का रात म घरभित्र सुती निदाइरहेको बखत अं.१२, १ बजे रातको टायममा हातमा बन्दुक, भाला गडासा, घन, लाइटसमेत लिई २५, २६ जना आई ढोकामा फलामको घनले हिर्काउँदाको आवाजले निन्द्रा व्युँझी उठी हेर्दा, ठाकुर राउत अहिर ब्रहृमदेव र रामपरिछनसमेतलाई डाँकाले बालेका लाइटको उज्यालोले देखी चिनी ज्यान जोगाउन घरबाट बाहिर निस्की गाउँलेको मद्दतले डाँका भनी कराउँदा मेरा तपसीलका धनमालसमेत डाँका गरेकोले डाँकालाई लखेट्दै जाँदा डाँका गरिलिएको रेडियो १ समेत लिएका रामचन्द्र राय अहिरलाई चोट लागी पक्राउ भएको अरू भागेकाले बरामद भएको डाँकाले नै ल्याएको फलामको घन र रेडियोसमेत साथ दाखिल गरिएको छ । डाँका भएको धनमालको मोल रू.९,१४०। समेत डाँकाहरूबाट दिलाई डाँका गरेमा पक्राउ गरी सजाय गरिपाउँ भन्ने समेत ०२६।६।२२।४ को जाहेरी।

      ३.    ब्रहृमदेव, रामपरिछन, रामचन्द्र राय अहिरसमेतका २१ जनाविरुद्ध चोरीका ६ नं. को अपराधमा ऐ.१४(४) अन्तर्गत कारवाही चलाउने, पक्राउ भएका रामचन्द्र अहिर, रेडियो, घनसमेत दाखिल गरेको छु भन्ने समेत प्रहरी प्रतिवेदन ।

      ४.    जगरनाथ सिंह राजपुत, जैनुल खां मियासमेत २१ जना भई अनुप महतोको घरमा डाँका गरेको हो यसभन्दा अघि चोरी डाँका गरे गराएको र सजाय पाएको छैन भन्नेसमेत प्रहरीमा सावित भई अदालतमा बयान गराउँदा गाँजा खरीद गरी भारततर्फ जाँदा जाहेरवाला समेतले डाँका सम्झी कुटपिट गरी दाखिल गरिएको रेडियो र घन मेरो सँगसाथको होइन । ०२६।६।२३ का दिन प्रहरीमा भएको मेरो व्यहोराको कागज पढी बाची नसुनाई कुटपिटबाट भए गराएको हो । चैतन्य अवस्थामा कुनै कागज भएको छैन । दर्खास्तवाला र सर्जमिनले किन मलाई पोल गरे निजै जानुन् । कोही सँगसाथ भई जाहेरवालाको घर डाँका गरेको छैन भन्ने समेत बयान भएको रहेछ।

      ५.    जाहेरवालाको घरमा डकैती भएको कुरासम्म सुनें, कसरी के परिवन्दबाट भयो मैले डकैती गरेको छैन । ०२६।६।२० का दिन वीरगञ्जमा डा.खान कहाँ गई जँचाइ औषधी उपचार गर्न छपकैयामा डेरा गरिबसेको छु । दर्खास्तवालाका छोराको विरोधमा पञ्चायतको निर्वाचनमा मैले गुरु रामपरिछनलाई समर्थन गरेको हुँदा मेरो नाममा उजूर गरेका हुन् । सर्जमिनका ब्रहृमदेव भक्त कोइरी, भगत महतोसमेतसँग मुद्दा चली सजाय पाएको हुँदा सो रीसले जाहेरवालाको हुँदो गरी लेखाएका हुन् । दर्खास्त सर्जमिन झुठ्ठा हो भन्ने समेत ब्रहृमदेव राउत अहिरको बयान ।

      ६.    जाहरेवालाको घर ककस्ले के परिबन्दबाट डकैती गरे मलाई थाहा छैन । जाहेरवालाको घरमा मैले डकैती गरेको छैन । ०२६।६।२० का दिन म जि.रौतहट प्र.परोहा मौजे पोरैहमा जैकिशोर गिरीसँग बहिनी विरामी छन् भनी खबर आएकोले त्यस ठाउँमा गई बसी कार्तिक ७ गते काठमाडौं गएको हुँदा घर गाउँमा थिइन् । प्र.हरू को कहाँ थिए थाहा छैन । दर्खास्तवालाको छोरा पञ्चायतको प्र.पं.मा निर्वाचनमा लड्दा विकासको रूपैयाँ अरू नै काममा खर्च गरेबाट उजूर गरेको रीसले सर्जमिनले पनि निजकै हुँदो गरी लेखाइदिएका हुन् । दर्खास्त सर्जमिन झुठ्ठा हो भन्ने समेत रामपरिछन गिरीको बयान ।

      ७.    ०२६।६।२२ मा दिएको दर्खास्त मैले नै दिएको हो । डाँका अं.२५, २६ जना थिए । त्यसमध्ये रामपरिछन तथा ब्रहृमदेव राउतलाई मैले चिनें ५, ६ जना म सुतेको कोठामा र ५, ६ जना अर्को घरमा पस्यो । काठको बाकसमा रू.५० र चाँदीको हँसुलीबाहेक सबै सामान थियो, आल्माडीको ताल्चा तोडिसकेपछि आवाज आयो र म निन्द्राबाट व्युँझेँ, डाँका पनि भाग्यो म आफ्नो ज्यान बचाई गाउँमा दगुर्दै गएँ । डाँका डाँका भनी कराएपछि गाउँमा मानिस सबै आए डाँकाहरूका हातमा टर्च थियो । बालेको टर्चको उज्यालोबाट ब्रहृमदेव र रामपरिछनलाई चिनें अरू चिनिँन । ब्रहृमदेव, रामपरिछनको हातमा गडासा थियो । अरूको हातमा १ बन्दुक, भाला, गडासा थियो म भागेपछि बन्दुकको फायर गर्‍यो । छर्राले गाउँको मोती महतोलाई लाग्यो, गाउँलले डाँका पिछा गर्दा डाँका गरेको रेडियोसमेत ल्याएको हो । डाँकामध्ये रमचन्द्रको अंगुुली कसरी काटियो थाहा छैन । रामचन्द्र ब्रहृमदेव रामपरिछनको बयान झुठ्ठा हो । सबै उनीहरू मिली मेरो घरमा डाँका गरेको ठीकै हो । उनीहरूसँग रीसइवी थिएन, ज्यान मार्ने मनसाय थियो, थिएन भन्न सक्दिन तर डाँका गरेको हो भन्ने समेत जाहेरवाला अनुप महतो कोइरीले अदालतमा गरेको बयान रहेछ ।

      ८.    डाँका गरेमा र रेडियो घन रामचन्द्रको साथमा फेला परेको तथा ब्रहृमदेव र रामपरिछनले डाँका गर्न बोलाएकोमा प्रहरीमा रामचन्द्र अहिर सावित भएको अदालतमा इन्कार बयान गरेको छ । तापनि वारदातमा पक्राउ भई ३ अंगुलीको टुप्पासमेत काटिन गएको र रेडियो घनसमेत रामचन्द्रसाथ पक्राउ भएको देखिएको हो भनी सर्जमिनसमेतको भनाई भएकोले प्र.रामचन्द्र अहिरले वादी दावाबमोजिम जाहेरवालाका घरमा ०२६।६।२० को रात विगो रू.९१४०। को दामासाहीले हुने विगो रू.४८१।५ को धनमाल पहिलो पटक गरी डाँका गरेको ठहर्छ ।

      ९.    प्र.ब्रहृमदेव र रामपरिछन गिरीका हकमा निजहरूका साक्षीहरूले र निजहरूकै जिकिरलाई समर्थन गरी बकपत्र समेत भएको जाहेरवालाको दर्खास्त, घनले हिर्काएका आवाजले निद्रा ब्युँझेर डाँकाको लाइट बत्तीको उज्यालोले चिनें भन्ने र अदालतमा बयान गर्दा आलमाडी तोडिसकेपछि आवाज भयो म उठें भन्ने गवाहको रूपमा बयान गरेको देखिन्छ, मसाल उज्यालोले ब्रहृमदेव रामपरिछनलाई चिनेको भए कस्तो खालको लुगा लगाएका थिए सो लेख्न सक्नु पर्ने दर्खास्तमा लेख्न नसकेको दर्खास्त र बयान नमिली परस्परमा बाझिएको हुँदा ब्रहृमदेव र रामपरिछनको हकमा जाहेरवालाको पोल साँचो रहेछ भन्न नसकिने हुँदासमेत निजहरूले डाँका गरेको ठहर्दैन भन्ने समेत शुरू बारा जिल्ला अदालतबाट मिति ०२७।५।२६ मा भएको फैसला ।

      १०.    उक्त इन्साफमा चित्त बुझेन मेरो साक्षीलाई ज्यान मुद्दा भनी समन नगएको दोस्रो साक्षी हाजिरै नभए पनि डाँकाजस्तो मुद्दामा पुनः समन जारी गरी साक्षी बुझी इन्साफ दिनु पर्ने साक्षी नबुझी गरेको शुरूको इन्साफ उल्टाइपाउँ भन्ने समेत प्र.रामचन्द्र राय अहिरको र ब्रहृमदेव रामपरिछनलाई डाँकाले बालेको (बत्ती) लाइटको उज्यालोबाट चिनेँ भन्ने समेत जाहेरवाला र ब्रहृमदेव रामपरिछनले डाँका गर्न बोलाए भन्ने समेत प्रहरीमा र अदालतमा समेत साविती बयान दिएकोमा दर्खास्त र अदालतमा दिएको बयान फरक देखिएको भनी तर्क लगाई विपक्षीहरू अपराधी हुन् भन्ने कुरा मिसिल सामेल भएको सबूतको विचारै नगरी गरिएको फैसला बदर गरी प्रहरी प्रतिवेदनबमोजिम विपक्षीहरूलाई सजाय गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेको रहेछ ।

      ११.    गाँजा र साथमा रहेको मानिस भनी पक्राउ बरामदसमेत भएको नहुँदा शुरू जिल्ला अदालतको फैसलामा लेखिएबमोजिम डाँका गरेको ठहराएको रामचन्द्र उपरको इन्साफ मनासिव ठहर्छ । परिछन र ब्रहृमदेवको हकमा ४० फिट फरक हुने कपडाले मुख छोपेकोलाई रातमा अरूको टर्चबाट चिनेको भन्ने पत्यार नहुनाले समेत शुरूका फैसलामा लेखिएबमोजिम शुरूले निज दुईजनालाई सफाई दिएकोसमेत मनासिव ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतबाट मिति ०२९।९।२४।१ मा भएको फैसला ।

      १२.   उक्त इन्साफमा चित्त बुझेन दाखिल गरेको रेडियो पञ्चायतको सम्पत्ति हो । पञ्चायतमा डाँका भएको भन्ने नदेखिएपछि त्यो सम्पत्ति दशी भन्न नमिल्ने बाटो हिँडी गइरहेको म बटुवालाई बाटामा हमला गरी मेरो हात मैमा राखी औंला काटिदिएका हुन् । सो विशेषज्ञ जँचाए जबरजस्ती पक्रिएको प्रमाणित हुन्छ । म घा खतले होस ठेगान नभएको अवस्था कागजमा सहिछाप गराई लिएको सो कागजकै भरमा अपराधी ठहराउन नमिल्ने हुँदा अञ्चल अदालतको फैसला बदर गरी सुफत न्याय पाउँ भन्ने समेत प्र.रामचन्द्र राय अहिरको पुनरावेदन ।

      १३.   प्रहरीको साविती अन्य प्रमाणबाट समर्थित हुन नआएकोले समेत रामचन्द्रलाई डाँकाको कसूरदार ठहराएको अञ्चल अदालतको निर्णय मिलेको नदेखिनाले छलफल निमित्त अ.बं.२०२ नं.र स.अ.नियमावलीबमोजिम महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने समेत मिति ०३०।८।५।३ को डिभिजन बेञ्चको आदेश रहेछ ।

      १४.   यसमा प्रतिवादी थुनुवा रामचन्द्र राय अहिरको पुनरावदेन परी आएको प्रस्तुत मुद्दामा थुनुवा प्रतिवादी पुनरावेदक तर्फबाट खटाइएका विद्वान वैतनिक अधिवक्ता श्री बलराम काफ्लेको र उक्त डिभिजन बेञ्चका आदेशानुसार विपक्ष वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलको बहससमेत सुनी बुझ्दा यस मुद्दामा जाहेरवालाका जाहेरीबमोजिम प्र.रामचन्द्र राय अहिरले डाँका वारदात गरेको होइन र शुरूले डाँका ठहराएको इन्साफ सदर गरी नारायणी अञ्चल अदालतबाट डाँका गरेको ठहराएको इन्साफ मनासिव या बेमनासिव के छ निर्णय दिनुपरेको छ ।

      १५.   जाहेर उजूरवालाको जाहेरीमा ढोका तोडेको आवाजमा ब्युँझेको भन्ने र कागज बयानमा ढोकाभित्रको आलमाडी तोड्दा व्यूँझेको भन्ने लेखाई देखिन्छ र मौकामा ब्रहृमदेव र रामपरिछनलाई चिनें अरूलाई चिन्न सकिनँ भनी जाहेर उजूरवालाले उल्लेख गरेको छ । जाहेर उजूरवालाले चिनेका भनी उल्लेख गरेका व्यक्ति व्रहृमदेव र रामपरिछन समेत वारदातमा नठहरी सफाई दिएकोमा पुनरावेदन परेको देखिँदैन । उजूरवालाको घर मौका वारदातमा उजूरवाला र सर्जमिनका व्यक्तिसमेत कुनैले पनि प्र.पुनरावेदक रामचन्द्रलाई देखे चिनेको छैन । डाँकातर्फ बन्दुक फायर गरेको भनी मौकामा समात्न पक्रन नसक्ने उजूरवाला र नाम सर्जमिनका मानिस डाँका वारदात गरी गइसकेपछि डाँकाको पिछा गरी गएको भनिएको छ र खेतमा प्रतिवादी रामचन्द्रलाई भेट्टाएको भनी पक्राउ गरी कुटपिट गरी बेहोस भएपछि हथौडा (घन) र ट्रान्जिष्टर रेडियोको साथ पक्राउ गरी उजूरी दर्खास्त गर्नुभन्दा अगावै प्रहरीमा बुझाएको देखिन्छ । बरामद गराएको भनेको रेडियो गाउँपञ्चायतको भन्ने देखिन्छ । गाउँपञ्चायतको घरमा चोरी भएको छैन । रेडियो उजूरवालाका घरमा रहनु पर्ने मनासिव माफिकको कारण केही देखिँदैन । हतौडा (घन) भनेको पनि प्रतिवादी रामचन्द्रकै हो भन्ने नाम नं.घर अंकित हुने चिज होइन । सर्वसाधारण चिज हो सो हतौडा र रेडियो प्रतिवादीबाट बरामद भएको भन्ने कुरा नै शंकाजनक देखिन आउँछ । प्रतिवादी पुनरावेदक रामचन्द्र प्रहरीमा कागज गर्दा डाँका वारदात गरेमा सावित भई पुनरावेदन कागज गरिदिएको भन्ने हकमा प्रतिवादी पुनरावेदकलाई उजूरवाला समेतले पक्राउ गरी कुटपिट गरी बेहोस अवस्थामा प्रहरीमा बुझाएको प्रहरीले कागज गराएको मितिसम्मै निज प्र.रामचन्द्र मरणासन्न अवस्थामा रहेको डाक्टरको रायबाट देखिन आउँछ त्यस्तो अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने भएकोले समेत प्रतिवादी पुनरावेदक रामचन्द्रले डाँका गरेको ठहर्दैन । निजले सफाई पाउने ठहर्छ । तपसीलबमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

पुनरावेदक प्रतिवादी रामचन्द्र राय अहिरके शुरू बारा जिल्ला अदालतका मिति ०२७।५।२६ का फैसलाले निजलाई बर्ष ६ छ कैद र जरिवाना रू.१३७१०। गर्ने गरेकोमा नारायणी अञ्चल अदालतका मिति ०२९।९।२४ का फैसलाले त्यसको सयकडा १० ले थप गर्ने गरेको कैद महिना ।७।६ दिन र जरिवाना रू.१,३७१। समेत लाग्दैन । उक्त दुबै कलमको लगत कट्टा गरी निज केन्द्रीय कारागार कार्यालय वीरगञ्जमा थुनामा रहेको हुँदा अब यो मुद्दाबाहेक अन्य मुद्दाबाट थुनामा राख्न रहेनछ भने निज रामचन्द्र राय अहिरलाई थुनाबाट समेत मुक्त गरी छाडिदिनु भनी बारा जि.अ.लाई पत्र लेखी गएको छ । उक्तको जरिवानाको लगत काट्न पठाउन का.जि.अ.तहसिल फाँटमा लगत दिनु................................१

इन्साफ उल्टीमा नारायणी अञ्चल अदालतका का.मु.अतिरिक्त अञ्चल न्यायाधीश श्री वाशुदेव उपाध्यायको रेकर्ड राख्न स.अ.जनरल विभागलाई सूचना दिनु.........................२

 

हामीहरूको सहमती छ ।

 

न्या. वाशुदेव शर्मा

 

 

इति सम्वत् २०३० साल माघ २६ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु