शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२८ - बन्धकी निखनाइपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८२८      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको दे.फु.नं. १३२

फैसला भएको मिति : २०३१।५।११।३

निवेदक : पूर्व १ नं.सि.पा.जि.थुंली स्त्री मौजेपैर माझगाउँ बस्ने विकुलाल श्रेष्ठ

विरुद्ध

विपक्षी : ऐ. बस्ने हरिभक्त श्रेष्ठ

मुद्दा : बन्धकी निखनाइपाउँ

(१)   पहिलो राजीनामा यथावत भएपछि पछि लिखत गराई लिनेको जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाइपाउँ भन्ने वादी पुग्न नसक्ने ।

            विवादास्पद जग्गा प्रतिवादी विकुलालले नै भोग गरी आएको भन्ने कुरामा विवाद छैन रू.१७। को बन्धकीमा भोगी आएको भन्ने कुराको लिखत दोहरी केही देखिएन । विकुलाललाई अघिको लिखतको सट्टा ०१४।११।१५ मा गरिदिएको रू.६०। को राजीनामा झुक्याई सही गराएको भनी सार्किगोले तामाङ्गले बयान गरे तापनि त्यसको सबूत प्रमाण केही दिन सकेको छैन्, सो प्रतिवादी विकुलालको ०१४।११।१५ को राजीनामा यथावत भएपछि सोभन्दा पछि ०१५।६।१७ मा लिखत गराई लिने हरिभक्तका जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाउन पाउँ भन्ने वादी दावी पुग्न आएन ।

(प्रकरण नं. १६)

निवेदक तर्फबाट :

विपक्षी तर्फबाट :

उल्लिखित मुद्दा :

फैसला

     न्या. वाशुदेव शर्मा

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : पूर्व दुर्गाप्रसादको खेत पश्चिम देवीप्रसादको खेत, उत्तर शिवप्रसादको खेत, दक्षिण खोल्सो यति ४ किल्लाभित्रको ५६७ नं.पैरे चौतारो मुरी ।२।१५ खेत सार्किगोले तामाङ्गले मबाट रू.८३। लिई बाउनेमाला माले जङ्गलाललाई ने.रू.१७ मा भोगबन्धकीमा दिएको निज जङ्गलाल मरेकोले निजको छोरा विकुलाललाई तिरी जम्मा ने.रू.१००। मा राजीनामा निखन्नु भनी ०१५।६।१७ मा मलाई राजीनामा गरिदिएको उक्त ने.रू.१७। बुझाउन जाँदा बुझी नलिएकोले सिं.पा.मालमा धरौट राखेकोमा बाबु जङ्गलालले ६७ मा राजीनामा लिएको भनी विपक्षीले बयान गरेको इलाका अदालतमा नालिस दिनु भनी मालले जनाउ दिएकोले नालिस गर्न आएको छु । बन्धकी थैली रू.१७। बुझ्न लगाई राजीनामा सदर गराइपाउँ भन्ने  वादी ।

      ३.    ५६७ नं. पैरे चौतारे भन्ने कागे खेत मेरा बाबु जङ्गलालले पुपुलामासँग ६७ सालमा रू.६०। राजीनामा लिई सोसमेतको जग्गा ८९।२।१२ मा कालिकाप्रसादलाई बन्धकी दिएको म र भाइ हरिकृष्णले ०१४।१०।१६ मा थैली बुझाई निखनेको सो कागजसहित ०१४।११।५ मा घर आगलागी भई परेकोले दाता पुपुलामाको हक खाने नाति सार्किगोले तामाङ्गले ०१४।११।१५ मा रू.६० को राजीनामा सकार गरी अर्को राजीनामा मेरो नाममा फेरी दिएको छ । बन्धकी नभएकोले निखन्न दिनु नपर्ने भन्ने समेत प्रतिवादी ।

      ४.    सो खेत मेरो बाबु नेमा लामाले विकुलालको बाबु जङ्गलाललाई रू.१७। मा बन्धकी दिएको हो । बन्धकी रू.१७। बुझाई खानु भनी थप रू.८३। लिई जम्मा रू.१०० मा हरिभक्तलाई ०१५।६।१७ मा राजीनामा गरिदिएको हुँ । विकुलाललाई ०१४।११।१५ मा राजीनामा गरिदिएको छैन भन्ने सार्किगोले तामाङको बयान ।

      ५.    प्र.ले पेश गरेको रू.६०। को ०१४।११।१५ को राजीनामा मैले खुसीराजीसँग गरिदिएको होइन । कुनै किसिमबाट निजको मानिसद्वारा झुक्याई सही गराएको हो भन्ने सार्किगोलेको र झुक्याई गराएको छैन सद्दे भन्ने विकुलालको बयान ।

      ६.    प्रतिवादी विकुलालको बाबु जङ्गलालले कालिकाप्रसादलाई ९८।२।१२ मा भोगबन्धकी लिखत गरिदिएको वादीको बाबु देवीप्रसादले ८९।२।२७ मा थाहा पाएको समेत देखियो । सो चौतारे कागे खेत प्र.विकुलालकै हक ठहरी वादी विकुलाल र प्र.देवप्रसादको जग्गाबाली लुटपिट मुद्दा किनारा भएको समेतबाट पछि गराएको लिखत सार्किगोलेले जालसाजी भन्ने झुठ्ठा दावी गरेको र अघिको राजीनामा आगलागीमा परेपछि अर्को गरिदिएको राजीनामा देखिनाले वादीले निखन्न नपाउने ठहर्छ भन्ने सिन्धुपाल्चोक जिल्ला अदालतको ०२१।११।१०।१ को फैसला।

      ७.    सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ८.    वादी दावीको जग्गा प्र.विकुलालको बाबु जङ्गलालले कालिकाप्रसादलाई भोगबन्धक दिएको र पछि लगत कट्टा भएको समेत होइन भन्ने प्रमाण वादी हरिभक्त र सार्किगोले समेतले दिन गुजार्न नसकेको समेतबाट इन्साफ शुरूको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०२४।८।२७।४ को फैसला ।

      ९.    बा.अं.अ.ले हदमुनि गरी छिनेको इन्साफ जाँचिपाउँ भन्ने वादीको निवेदन परेकोमा व्यहोरा साँचो रहेछ भने सयकडा ५ को नियममा नपरेको भए पनि प्रधान न्यायाधीशले हेरी न्याय नपरेको भन्ने लागेजति एकपटक रुल नियमबमोजिम गरी इन्साफ जाँचिदिनु भन्ने ०२४।११।१।३ मा हुकूम प्रमांगी बक्स भई आएको र बक्स भएमा हु.प्र.बमोजिम इन्साफ जाँचको लागि लगतमा दर्ता गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भएको ।

      १०.    सार्किगोलेले वादीलाई गरिदिएको ०१५।६।१७।६ को रू.१००। को राजीनामा प्रतिवादीलाई सुनाउँदा सार्किगोले तामाङ्गले मेरो बाबुलाई २०१४ सालमै राजीनामा गरी दिइसकेकोले रू.१७। मा बन्धकी दिएको भनी नभएको कुरालाई लेखी सार्किगोले तामाङ्ग हरिभक्त श्रेष्ठ र सो कागजको लेखक र अन्तरसाक्षी समेत मिली जालसाजीबाट खडा गरेको भन्ने विकुलालको बयान ।

      ११.    दर्ता उतारबाट निखनीपाउँ भनेको ५६७ नं. को कित्ता साहू दुर्गा नरसिंहलाई भोगबन्धक गएको ५६७ नं.चौतारे सीम खेत ।२।१५ धा.वा.व्यू.।५।२ भनी ६५ सालदेखि बाली आउने भनी ६७ सालमा नम्बरी भएको रहेछ । ६० सालमा जङ्गलालले राजीनामा दिइसकेको भए ६५ सालदेखि बाली आउने गरी भनी भोगबन्धक दिएको व्यहोरा लेख्नु पर्ने भएबाट ६० सालमा राजीनामा गरिलिएको भन्ने सार्किगोलेको व्यहोरा झुठ्ठा हुन आउँदा सार्किगोलेले विकुलाललाई अघिको राजीनामा आगलागीमा पर्‍यो भनी नयाँ राजीनामा जानीजानी गरेको छैन भनेकाले समेत सार्किगोलेको लिखत विकुलालले झुक्याई खडा गरेको देखिन्छ । जङ्गलालले राजीनामा गरेको देखिन आई सार्किगोलेले हरिभक्तलाई राजीनामा गरेबमोजिम हरिभक्तले धरौट राखेको रू.१७। विकुलालले बुझ्नु पर्ने ठहर्छ भन्ने ०२९।३।८।४ को डिभिजन बेञ्चको फैसला ।

      १२.   प्रस्तुत मुद्दा दोहर्‍याउने बारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा प्रस्ततु मुद्दा डिभिजन बेञ्चले जुन एकमात्र बुँदाको आधारमा तल्लो अदालतको इन्साफ उल्टाएको छ । सोही बुँदामा हुँदै नभएको ६० सालमा राजीनामा दिइसकेको भनेको बिल्कुल गलत तथ्य उल्लेख भएको छ । प्रतिवादीको जिकिरलाई गलत उद्धरण गरी त्यस्तो गलत उद्धरणलाई नै निष्कर्षको एकमात्र आधार बनाई डिभिजन बेञ्चले गरेको फैसला न्याय प्रतिकूल र साथै कानून विपरीत पनि छ । राजीनामा लिने जङ्गलाल राजीनामा दिने पुपुलामा भन्ने प्रतिवाद जिकिर भएकोमा ६० सालमा जङ्गलालले राजीनामा दिइसकेको भए भन्ने निष्कर्ष खण्डमा उल्लेख भएकोबाट राजीनामा दिने र लिने भनिएका व्यक्तिहरू बारेमै पनि डिभिजन बेञ्चलाई भ्रम भएको देखिन्छ । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको ।

      १३.   हरिभक्तलाई सार्किगोलेले गरिदिएको राजीनामा जालसाजी भनी विकुलालले बयान गरेकोमा सो जालसाजीतर्फको प्रतिवादीको बयान भएको नदेखिएकोले सार्कीगोले तामाङ्ग बागमान तामाङ्ग, चतुरमान तामाङ्ग, नोरचे तामाङ्ग, तारानकृष्ण श्रेष्ठलाई म्याद पठाई झिकाई तारिखमा रहेको हरिभक्त श्रेष्ठसमेतको बयान गराउन पेश गर्नुपर्ने भन्ने ०३०।१०।२६।६ को फुल बेञ्चको आदेश ।

      १४.   सो लिखत जालसाजी नभई सद्दे हो भन्ने सार्की गोलेको वा.जगतकुमार हरिभक्त श्रेष्ठ समेतको बयान ।

      १५.   यसमा निर्णयतर्फ हेर्दा विकुलाललाई रू.१७। बुझाई खानु भनी रू.८३। लिई रू.१००। को सार्किगोले तामाङ्गले ०१५।६।१७ मा राजीनामा गरिदिएको सो बन्धकी थैली बुझाउन जाँदा बुझी लिएन बुझाइपाउँ भन्ने वादीको दावी र सार्कीगोले तामाङ्गको बाजे पुपुलामाबाट मेरा बाबु जङ्गलालले १९६७ सालमा राजीनामा गराई लिएको जग्गा हो सो जग्गा मैले भोगी आएको छु । सो राजीनामा आगलागीमा परी सार्कीगोले तामाङ्गले ०१४।११।१५ मा अर्को लिखत राजीनामा गरिदिएको छ । बन्धकी होइन भन्ने प्र.विकुलालको जिकिर देखिन्छ । सार्कीगोले तामाङ्ग बुझिँदा वादी हरिभक्तलाई राजीनामा गरिदिएकोमा स्वीकार गरेको प्रतिवादी विकुलाललाई अर्को राजीनामा लिखत गरिदिएको भनेको ०१४।११।१५ को लिखत सुनाउँदा मैले खुसीराजीले गरिदिएको होइन, कुनै किसिमबाट निजका निजको अरू कुनै मानिसले झुक्याई सहिछाप गराएको हो भन्ने बयान गरेको छ ।

      १६.    विवादास्पद जग्गा प्रतिवादी विकुलालले नै भोग गरी आएको भन्ने कुरामा विवाद छैन । रू.१७। को बन्धकी भोगी आएको भन्ने कुराको लिखत दोहरी केही देखिएन । विकुलाललाई अघिको लिखतको सट्टा ०१४।११।१५ मा गरिदिएको रू.६०। को राजीनामा झुक्याई सही गराएको भनी सार्किगोले तामाङ्गले बयान गरे तापनि त्यसको सबूत प्रमाण केही दिन सकेको छैन । सो प्रतिवादी विकुलालको ०१४।११।१५ को राजीनामा यथावत भएपछि सोभन्दा पछि ०१५।६।१७ मा लिखत गराई लिने हरिभक्तका जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाउन पाउँ भन्ने वादी दावी पुग्न आएन ।

      १७.   डिभिजन बेञ्चको फैसलामा जुन जग्गा ६५ सालदेखि बाली आउने गरी मोठ लगतमा दर्ता भएको र बन्धकी जनिएको छ, सो जग्गा ६० सालमा विकुलालको बाबु जङ्गलाललाई राजीनामा भएको भन्न नमिल्ने भनी वादी दावी कायम गरी फैसला गरेको देखिन्छ । सोअनुसार ६० सालमा विकुलालको बाबुले राजीनामा लिएको भन्ने कुनै लिखतपत्र वा लेख जिकिर केही उल्लेख नभएको, सार्किगोले तामाङ्गले १४ साल फागुन १५ गते विकुलाललाई गरिदिएको अर्को राजीनामामा मेरो पुपुलामाले रू.६० मा ६७ सालमा राजीनामा दिएको भन्ने उल्लेख गरेको देखिन्छ । ६५ सालमा बन्धकी जनिई दर्ता भएको जग्गा ६७ सालमा राजीनामा हुन नसक्ने अवस्था पनि छैन । सोबमोजिम लिखतमा उल्लेख भएको छँदै ६० सालमा राजीनामा लिएदिए भन्ने कुराको बुझ्दा लेखी वादी दावी कायम गरेको ०२९।३।८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । वादी दावा नपुग्ने ठहराएको शुरूको सदर गरेको अञ्चल अदालतको इन्साफ सदर हुने ठहर्छ । तपसीलको कलममा तपसीलबमोजिम गर्न मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले स.अ.डिभिजन बेञ्चको ०२९।३।८।४ को फैसलाले देहायको कलममा देहायबमोजिम लगत काटिदिने समेत गरेकोमा हाल सोबमोजिम गर्नु परेन, सो डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत कट्टा गरिदिनु भनी कानूनबमोजिम का.जि.अ.तहसिलमा लगत दिने................................१

सार्कीगोले तामाङ्ग के.सिं.पा.जि.अ.का.०२१।११।१० को फैसलाले लागेको जरिवाना रू.१०। सिं.पा.जि.अ.मा ०२१।११।२४ मा बुझाएको फिर्ता गर्ने र बा.अं.अ.ले थप गरेको रू.१। असूल भए फिर्ता नभए लगत काटिदिने गरेको डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत काटिदिने,

हरिभक्तले सिं.पा.जि.अ.ले गरेको जरिवाना रू.।४३ सिं.पा.जि.अ.मा ०२१।११।१४ मा दाखिल गरेको फिर्ता गर्ने र बा.अं.अ.ले गरेको रू.।५ असूल भए फिर्ता र नभए लगत काटिदिने गरेको डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत काटिदिने,

प्र.विकुलालके देहायको कलममा देहायबमोजिम गर्नु भनी ऐ......................२

डिभिजन बेञ्चको ०२९।३।८ को फैसलाले लिखत झुक्याई खडा गरेबापत रू.१। निखन्न दिन नपरोस् भन्ने भा.रू.।४३ समेत रू.१।४३ जरिवाना गर्ने गरेको हाल नलाग्ने भएकोले असूल भए फिर्ता र नभए व्यहोराजनाई लगत कट्टागरिदिने,

मुद्दा दोहर्‍याएवापत स.अ.मा ०२९।९।२४ मा राखेको कोर्टफी रू.।१० दस पैसा वादी हरिभक्तबाट भरी पाउने हुँदा नेपाल कोर्टफी ऐन, ०१७ को दफा १५(११) अनुसार भराइपाउँ भनी ३ बर्षभित्र दर्खास्त परे वादी हरिभक्तबाट दस्तुर केही नलिई कानूनबमोजिमको रीत पुर्‍याई भराइदिने,

स.अ.डिभिजन बेञ्चको फैसलाले देहायको व्यक्तिको इन्साफ उल्टीमा रकेर्ड राख्ने गरेको हाल सोबमोजिम गर्न परेन भनी स.अ.प्रशासन शाखामा लेखिपठाउने..........................३

सिं.पा.जि.अ.को जि. न्या.अमरबहादुर,

बागमती अं.अ.को अं.न्या. हरिहरलाल राजभण्डारी,

 

हामीहरूको सहमती छ ।

 

प्र.न्या. रत्नबहादुर विष्ट

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३१ साल भाद्र ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु