शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३१ - गुठी धर्मलोप

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८३१      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०३० सालको दे.फु.नं. ९१

फैसला भएको मिति : २०३१।५।७।६

पुनरावेदक : का.न.पा.वडा नं.१० वटुटोल बस्ने शम्भु भन्ने समुंदिन मियाँसमेत

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने महमद अहसन मुसलमानसमेत

मुद्दा : गुठी धर्मलोप

(१)   एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्र भई गुठीको हक प्राप्त गरेको हुनु पर्ने अनिमात्र गुठियार कायम हुन सक्ने ।

            गुठियार भनेको गुठीको ऐनअनुसार गुठी राख्ने वा उनका सन्तान हकदार वा दान दिई राखेको गुठी रहेछ भने पाउने हकदारलाई मान्नु पर्ने देखिन्छ । एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्रमै गुठीको हक प्राप्त गरेको हुनुपर्छ अनिमात्र गुठियार कायम हुन सक्ने हुन्छ पञ्च कश्मिरी मुसलमानहरूका पुर्खाले राखेको गुठीमा पञ्च कश्मिरी बाहेकका सबै नेपाली मुसलमानहरूको हक स्थापित भएको कानूनबमोजिम लिखत सबूतको अभावमा सबै नेपाली मुसलमानको हक लाग्ने गुठी हो भन्न ठहराउन मिल्ने देखिँदैन ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्षी तर्फबाट      : अधिवक्ता गणेशराज शर्मा

उल्लिखित मुद्दा :    

फैसला

            प्र.न्या. रत्नबहादुर विष्ट

            १.     प्रस्तुत मुद्दा ०३०।४।१७।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय नमिली सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यसबेञ्चमा पेश हुन आएको छ ।

            २.    तथ्य यसप्रकार छ : घण्टाघरदेखि उत्तरतर्फको कश्मिरी मस्जिद तकिया नेपाली मुसलमान मात्रको धर्मस्थल हो । संरक्षकको लागि रहेको चलअचल श्रीसम्पत्ति सबै व्यक्तिगत पारिवारिक गुठी हो भनी प्रतिवादीहरूले उक्त तकियाको अचल जग्गा आफ्नो नाममा दर्ता गरी गराई उक्त मस्जिदको सम्पत्ति हिनामिना गरेकोले मस्जिदको सम्पत्ति यत्रतत्र गर्न पाइन्न नेपाली मुसलमान मात्रको अगाडि हिसाब देखाई बुझाउँ भन्दा मस्जिदमा प्रार्थना गर्न नमाज पढ्नसमेत दिएनन् । मस्जिदको चलअचल घर जग्गा जमीन सारा श्रीसम्पत्ति नेपाली मुसलमान मात्रको सार्वजनिक सम्पत्ति कायम गरी घरको बहाल उठाई हिनामिना गरी खाएको रू.४८००। विपक्षीहरूबाट दाखिल गराई धर्मलोप गरेमा विपक्षीहरूलाई गुठीबाट बाहेक गराई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी ।

            ३.    कश्मिरी मस्जिद तकिया कश्मिरबाट आएका हाम्रा पुर्खाले सरकारसँग जमीन बक्साई लालमोहर तामापत्रसमेतबाट पाएको जग्गा गुठी राखी कश्मिरीका सल्लाहले मनोनित प्रतिनिधिद्वारा मस्जिद तकिया धर्मशालासमेतको संरक्षण गरी गुठी चलाई आएका छौं । धनसम्पत्ति मस्जिद तकियाको हिनामिना गरे पारेको र खाएको छैन । मस्जिदमा नमाज पढ्न रोक लगाएको होइन । सबै मुसलमानहरूलाई मस्जिदमा जान खुल्लै छ । घरको बहाल उठाई खाई मासे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी ।

            ४.    वादी लेखको कश्मिरी तकिया मस्जिद बुझिएसम्मका प्रमाणबाट प्रतिवादीहरूका पुर्खाका पालामा बक्साई स्थापित गरेको र पछि लालमोहर र पटक पटक झगडा हुँदासमेत प्रतिवादीहरूले जिती पाएको समेत प्रमाणबाट नेपाली मुसलमानको मात्र सार्वजनिक धर्मस्थल हो भन्ने र गुठी धर्मलोप गरे भन्ने दावीसमेत झुठ्ठा ठहर्छ भन्ने बागमती विशेष अदालतका अध्यक्ष न्यायाधीश जगन्नाथ र सदस्य शेरबहादुर थापाको राय फैसला ।

            ५.    घरको बहाल उठाई रू.४८००। हिनामिना गरेभन्ने वादी दावाको सम्बन्धमा यो यसले यो यति बहाल दिएलिए भन्ने समेत किटानी लेख नहुँदा प्रतिवादीहरूले हिनामिना गरेको ठहर्दैन भन्ने अध्यक्षज्यू समेतको रायमा सहमत छु र कश्मिरी तकिया मस्जिद प्रतिवादीहरूको एकलौटी ठहरेतर्फ १८५८ सालको लालमोहरबाट २० रोपनी जग्गा बक्स पाई गुठी राख्ने चाफज्यू भन्ने व्यक्ति कश्मिरी नै हुन भन्ने उक्त लालमोहरबाट देखिँदैन । त्यसपछि १८५१।१८५२ सालमा समेत अख्तियारी चिताईदारी र १९०४।१९७१।१९२३।१९७१ सालमा समेत जितापत्र जमावन्दी फैसला पञ्च कश्मिरीहरूको नाममासम्म भएको देखिएको उक्त लालमोहर जितापत्रमा समेत उक्त घर जग्गाहरू पारिवारिक र वंशज व्यक्तिगत गुठीको सपत्ति हो भन्ने नै देखिएकाले समेत नेपाली नागरिक मुसलमान मात्रको गुठी सम्पत्ति हुँदा कश्मिरी मुसलमानहरूको मात्र एकलौटी गुठी भन्ने प्रतिवादीहरूको जिकिर पुग्न सक्दैन भन्ने सदस्य न्या.सुरवीरको छुट्टै राय फैसला ।

            ६.    सदस्य न्या.सुरवीरको रायमा चित्त बुझेन भन्ने वादीहरूको र दुवै राय फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन ।

            ७.    ०२९।९।४।२ को डिभिजन बेञ्चको आदेशबमोजिम सञ्चालक समिति गठन गरेको हिजरि सन् १३८३ मा करम सोवादुल २७ को उर्दु भाषाको कागज सुनाउँदा सयद अफजल साहा, स्याजा महमद अहसन र ख्याजा अहसन साहाको हस्ताक्षर ८ बर्षपछि थपे लेखेको हुँदा उक्त कागज प्रमाण लाग्ने होइन । जालसाजी र कीर्ते हो निजहरू झिकी बुझिपाउँ भन्ने समेत वासईदु दिंमुसलमानको र जालसाज होइन भन्ने महमद दिर्सामिल्लाको उक्त कागज घरायसी भई ऐनले प्रमाण नलाग्ने हुँदा र तपसीलमा मेरो नाम लेखिएको हस्ताक्षर मेरो होइन । जालसाज कीर्ते हो बदर गरिपाउँ भन्ने महमद अहसन सयदज अफजल साहासमेतको बयान ।

            ८.    उक्त सक्कल उर्दु अक्षरले कागजको हकमा सो कागजको शिर व्यहोराको हस्ता मेरो हो सोमाथि पनि मानिस थकालीहरूको नाम लेखिएको थियो सो कागज गुम गरिदिएको छ । उद्देम ७८६ देखिएको नेपाली कागज लेख्दाको श्री जस्तो हो, त्यो अक्षर हस्ता मेरो होइन, तल नाम रंगीचंगी मसीले लेखेको र मिति लेखिएको हकमा पनि मेरो होइन । नं.४३ देखि ५० तकको नाम थपी पछि लेखी पेश गरेको जालसाजी हो । शिर व्यहोरादेखि तल त्याजा अहसन लेखिएको नाम र हस्ता मेरो होइन । थकालीहरू ५ जवान थिए १ जवानले काम गर्दा ४ जवानलाई कायम गर्न साल महिना मिति थाहा छैन १०।११ बर्ष पहिले मैले लेखिराखेको कागजमा पछि नाम थपी गरेको कागज हो । ४३, ४४, ४८, ४९ र ५० का व्यक्ति कश्मिरी नस्लका होइनन् । यस सम्बन्धमा वा.सईदुदीनले गरेको बयानसमेत यसको अंक मानी प्रमाण लगाइपाउँ यो कागज वादीले आफ्नो फिराद पुनरावेदन कतै पनि प्रमाण नदिएकोले ऐनले प्रमाण नलाग्ने कागज हुँदा बदर गरिपाउँ भन्ने हाकिम स्याजा हसन साहाको बयान ।

            ९.    घरको बहाल उठाई रू.४८००। मासी हिनामिना गरे भन्ने वादीहरूको दावीतर्फ के रहेछ भन्नेतर्फ हेर्दा प्रतिवादीहरूको प्रत्युत्तर लेखबाट क्षेत्रपाटी, असनसमेतको गुठी घर बहालमा दिइराखेको भन्ने समेत उल्लेख गरेको पाइन्छ । तर यो यो व्यक्तिलाई यो यतिका दरले बहालमा राखेको भन्ने वादी तथा प्रतिवादी लेखबाट देखिन नआएकोले घर बहाल रू.४८००। प्रतिवादीहरूले हिनामिना गरेको रहेछ भन्न सबूतको अभावमा मिल्ने देखिँदैन र यसतर्फ बागमती विशेष अदालतका अध्यक्ष र सदस्य न्यायाधीशहरूको आफ्नोफ्नो रायमा समेत सहमती जनाएको देखिएकोले वादी दावा झुठ्ठा ठहराएको बागमती विशेष अदालतको इन्साफ मिलेकै देखियो । झगडा परेको गुठी घर सम्पत्ति वादी लेखअनुसार वादीसमतेको आम नेपाली मुसलमानसमेतको सामूहिक सम्पत्ति हो भन्ने फिराद दावी र हामी प्रतिवादीहरूका पुर्खा कश्मिरी मुसलमानहरूले मल्ल राजाका समयदेखि बक्स पाई पटक पटक भएका लालमोहर जितापत्र समेतबाट वंशजको नाताले हामी पञ्च कश्मिरीहरूको मात्र एकलौटी हो । वादीहरूको हक दावी लाग्ने हैन भन्ने समेत प्रत्युत्तरमा जिकिर लिएको देखिएकोले झगडा परेको तकिया मस्जिद, गुठीघरसमेत गुठीका १ नं.ऐनबमोजिम कस्ले प्राप्त गरिराखेको रहेछ भन्ने निष्कर्षमा पुग्नु पर्ने भई हेर्दा तत्सम्बन्धमा पेश भइरहेको लालमोहरहरू र जितापत्र समेतको मिसिल संलग्न कागजहरू अध्ययन गरी हेर्दा सम्वत् १८४७ साल आषाढ सुदी ५।५ को एक १८५२ साल वैशाख वदीको एक १८७१ साल श्रावण वदी १४।७ को एक र २००४।५।२।२ मा भएको लालमोहर समेतबाट उपरोक्त तकिया, मस्जिद, पंव कश्मिरी मुसलमानहरूको नाममा जग्गा बक्सी घण्टाघर उत्तरपट्टिको मस्जिद र स्वयम्भू समिपमा तकियासमेत बनाई उपभोग गर्दै आएको देखिन आएको तसर्थ पञ्च कश्मिरीहरूको मस्जिद र तकिया रहेछ भन्ने निर्विवाद सिद्ध हुन आएको छ । वादीहरूको लेखअनुसार नेपाली नागरिक मात्र आम मुसलमानको सामूहिक गुठी सम्पत्ति हो भन्ने दावा लिएतर्फ माथि लेखिएबमोजिम १८४७ सालदेखि पटक पटक हुँदै आएका रुक्कासनदहरू र १९७१ सालमा भएको गुठी बन्दोबस्त अड्डाका फैसलासमेतबाट मुसलमानका महाजपमा पञ्च कश्मिरी मिलिराखेको गुठी ठहर्ने भन्ने उल्लेख भएको देखिएकोले नेपाली नागरिक आम मुसलमानहरूको गुठी हो भन्ने वादीहरूको दावी जिकिर निराधार देखिन आउँछ । नमाज पढ्न बाधा गरेकोले सजाय गरिपाउँ भन्ने वादी दावीतर्फ वादीहरू ११ जवानमध्ये महमद बुतु, महमद विसमिल्ला, अजितुल्ला ३ जनालाई कश्मिरी वंशको गुठीको हकदार होइन, नमाज पढ्न, पुजापाठ गर्ने हकमा इस्लाम धर्मावलम्बी सबै मुसलमानहरूले पाउने नै हो भनी प्रतिवादीहरूको जिकिरमै लेखिएका ३ जना वादीहरूलाई मात्र गुठीमा सम्मिलित हुन इन्कार गरी वादीमध्ये अन्य ८ जना मुसलमानहरूलाई गुठियारमा सम्मिलित गर्न स्वीकार गरेकै देखिन आएकोले सो लेखिएका महमद कुतु, महमद विस मिल्ला, अजितुल्लासमेत ३ जनाका हकमा नमाज पढ्न र पाठ पूजा गर्नमा प्रतिवादीहरूबाट पनि कुनै किसिमको बाधा विरोध गरेको नहुनाले त्यसतर्फ नमाज पढ्न र पाठ पूजा गर्न पाउने नै देखिन आएको र गुठियार हो होइन भन्ने हकमा प्रतिवादीहरूको लेखाई जिकिरबाट कश्मिरी वंशको गुठियार भनी सकार गरेको वादीहरूमध्ये शम्भु भन्ने सम्सुद्धिन मियासमेत जवान ८ देखिन आएको र सो गुठियार मध्येकै शम्भु भन्ने समसुद्धिन समेत जवान ८ ले गठियारमा सकार गरी निज महमद कुतु, महमद विसमिल्ला, अजितुल्ला समेतका ३ जना र प्रतिवादीहरूले इन्कार नगरेका अन्य वादी ८ जनासमेत ११ जना मिली एउटै फिरादपत्र गरेको देखिन आएकोले निज वादीमध्येका महमद कुतु, समेतका ३ जना कश्मिरी मुसलमानहरूको मस्जिद गुठीमा गुठियार भई सम्मिलित भएको रहेनछन् भनी भन्न माथि लेखिएका स्थिति कारणबाट मिल्न नआउने भएकाले वादीहरू सबैजना गुठीको हकदार भई धर्म अनुकूल पुजापाठ गरी गुठीमा सम्मिलित हुन पाउने नै देखिन ठहरिन आएको हुँदा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधानज्यूको रायमा सहमत हुँदा छुट्टै राय प्रस्तुत गर्दछु भन्ने मा.न्या.श्री त्रैलोक्यराजको राय र,

            १०.    घण्टाघरनेरको वादी दावीको तकिया नेपाली नागरिक पञ्च कश्मिरीहरूको कायम गरेको र प्रतिवादीहरुले धर्मलोप गरेको नठहराएको र सबै मुसलमानले नमाज पढ्नमा प्रतिवादीले बाधा पुर्‍याएको नदेखिनाले वादीमध्येका महमद कुतु, महमद विसमिल्ला, अजितुल्लासमेत ३ जनाले पनि नमाज पढ्न पाउने राय व्यक्त गर्नुभएकोमा सहमत नै छ । उक्त महमद विसमिल्ला, अवितुल्ला महमद, कुतु पनि सो गुठीको गुठियार कायम गर्नुभएतर्फ नेपाल वंशजको आम मुसलमानहरूको भन्ने वादीहरू र नेपाल वंशज पञ्च कश्मिरी मुसलमानहरूको मात्र हो र वादी ११ जनामध्ये उक्त महमद विसमिल्लासमेत ३ जना नेपाली वंशजको काश्मिरी मुसलमान होइन भन्ने प्रतिवादी जिकिर भएको सो वादी दावीको तकिया कश्मिरीको कायम भएकोले फिरादवाला मध्येका काश्मिरी भनी प्रतिवादीले स्वीकार नगरेका महमद विसमिल्लासमेत ३ जना नेपाली वंशजको काश्मिरी मुश्लिम भएमा सो गुठीमा सामेल हुन पाउने गैर काश्मिरी भएमा गुठीमा सामेल हुन नपाउने अवस्थाको काश्मिरी हुँ भन्नेतर्फबाट दावा नगरी आम मुसलमानको गुठी भनी दावा गरकोले यसै मुद्दाबाट महमद विसमिल्लासमेत ३ तीन जनालाई पञ्च काश्मिरीको गुठीमा गुठियार कायम मिल्दैन, गुठियार कायम गर्ने गरेको सहयोगी साथीहरूको रायमा सहमत हुन सकिएन । डिभिजन बेञ्चको लगत काटी फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय भएको ०३०।४।१७।४ को डिभिजन बेञ्चको फैसला ।

            ११.    यस बेञ्चसमक्ष वादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले प्रतिवादीले पेश गरेको कागजमा पनि वादी मध्ये १ जनाको नाम लेखेको केरिराखेको छ । नालिसमा हामी कश्मिरी हो नभनेका ८ जना वादीहरूलाई प्रतिवादीहरूले मानेकै छन् भने ३ जनालाई किन नमान्ने यो गुठी सबै नेपाली मुसलमानको हक लाग्ने भन्ने कुरा मिसिलमा पेश भएका कागजहरूसमेतबाट देखिएकै छ । मा.न्या.चन्द्रप्रसादको रायमा ३ जना वादीलाई अलग गराएको मिलेको छैन । तिनीहरू समेतको सो गुठीमा हक कायम हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्माले मिसिलमा पेश भएको लालमोहर, तामापत्र, जितापत्र, फैसला आदि कागजहरूबाट यो गुठी कश्मिरी वंशका मुसलमानहरूको पुर्खाले राखेको कश्मिरी वंशका मुसलमानहरूको हक लाग्ने भन्ने प्रष्ट देखिएको वादीहरूमध्ये महमद विसमिल्ला, अजिमुल्ला, महमद कुतु ३ जनाको हकमा निजहरू काश्मिरी वंशका नभएकाले निजहरूलाई गुठियारमा सम्मिलित नगर्ने मेरो पक्षहरूले विरोध गरका हुन् । निजहरू ३ जनाको सो गुठीमा हक नलाग्नेसमेत हुँदा मेरो पक्षको प्रतिवादी जिकिरअनुसार कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

            १२.   यसमा ०३०।४।१७।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीहरू मध्ये महमद विसमिल्ला अजितुल्ला महमद कुतु ३ जनाको हकमा यो झगडा परेको तकिया गुठीको गुठियार कायम गर्न मिल्ने नमिल्ने सम्बन्धमा माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकेको रहेछ, उक्त मतैक्य हुन नसकेको बिषयमा यस बेञ्चबाट निर्णय दिनु पर्ने हुन आएको छ ।

            १३.   वादीहरुको के कस्तो दावी रहेछ भन्नेतर्फ हेर्दा सो तकिया गुठी सबै नेपाली मुसलमानको सार्वजनिक हक कायम गरिपाउँ भन्ने समेत दावी गरेको देखिन्छ । तत्सम्बन्धमा प्रमाणमा पेश भइराखेको पुराना कागजहरू हेर्दा चिताइदार सतहुल्ला गैर कश्मिरीका नाममा भएको १८५६ साल मिति आषाढ वदी १२ को जितापत्रमा घन्जु तेवारको बराजु जगमोहनलाई रू.१२००। दण्ड लागी निज भागी पाटन गएको उसको धोबीखोला टुकुचाको खेत रोपनी २५ राजाले जफत गरी सिद्धिकी गैह्र कश्मिरी छेउ राजाले बेची कश्मिरीहरूले मसानमा फकिराना गुठी राखेकोमा धै्रजु नेवारले फरियाद गर्दा फकिराना गुठी नै थामिएको व्यहोरा उल्लेख भएको र, वाफजी कश्मिरीका नाममा भएको १८४७ साल आषाढ सुदी ५ रोज ५ को लालमोहर, सनाउल्ला कश्मिरीका नाममा भएको १८५१ साल वैशाख वदी ११ रोज १ को लालमोहर, सनाउल्ला कश्मिरीको नाममा भएको १८५२ साल वैशाख वदी ७ रोज ७ को जितापत्र, अजितुल्ला हरिप कश्मिरीका नाममा भएको १८६३ साल श्रावण वदी १४ रोज ७ को तामापत्र गुठी बन्दोवस्त अड्डाको १९७१ साल आश्विन २८ गते रोज ४ को फैसला समदुला समेत पञ्च कश्मिरीका नाममा भएको १९२३ साल श्रावण सुदी ५ को कोटसिंको जितापत्र समेतको कागजहरूमा उल्लिखित व्यहोरासमेतबाट सो तकिया गुठी पञ्च कश्मिरी मुसलमानहरूले नै राखेको र पञ्च कश्मिरीहरूकै गुठी थामी पटक पटक लालमोहर तामापत्र जितापत्र भइराखेको निसन्देह प्रष्ट हुन्छ, वादीहरूको दावीअनुसार सबै नेपाली मुसलमानहरूको हक लाग्ने सार्वजनिक गुठी हो भन्ने कुराको तथ्ययुक्त सबूत वादीहरूले पेश दाखिल गर्न सकेको पाइएन ।

            १४.   गुठियार भनेको गुठीको ऐनअनुसार गुठी राख्ने वा उनका सन्तान हकदार वा दान दिई राखेको गुठी रहेछ भने पाउने हकदारलाई मान्नु पर्ने देखिन्छ । एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्रमै गुठीको हक प्राप्त गरेको हुनुपर्छ अनिमात्र गुठियार कायम हुन सक्ने हुन्छ पञ्च कश्मिरी मुसलमानहरूका पुर्खाले राखेको गुठीमा पञ्च कश्मिरी बाहेकका सबै नेपाली मुसलमानहरूको हक स्थापित भएको कानूनबमोजिम लिखत सबूतको अभावमा सबै नेपाली मुसलमानको हक लाग्ने गुठी हो भन्न ठहराउन मिल्ने देखिँदैन ।

            १५.   सो तकिया गुठीको व्यवस्था चलाउने बन्देजपत्र सञ्चालक समितिको गठन, जायजातसमेतको सम्बन्धमा भएका कागजहरूमा कश्मिरी वंशजबाहेकका अरू नेपाली मुसलमानहरूलाई पनि सम्मिलित गराइए नगराइएको भन्ने बिषयमा वादी प्रतिवादी दुवै पक्षबाट पेश हुन आएको मिति मितिको उर्दु हरफको कागजहरू परस्पर सुनाई सद्दे कीर्तेमा बयान गराउनेसमेत कारवाई चलेको भए पनि मस्जिद मानी नमाज पढ्न र पाठ पूजा गर्नमा कसैलाई रोकतोक नहुने सबै मुसलमानहरूले गर्न पाउने कुरामा प्रतिवादीहरू मञ्जुरै देखिन्छन् । त्यस्तो गुठीको व्यवस्था चलाउने, जायजातको संरक्षण गर्ने सञ्चालक समितिको गठन गर्ने आदि कागजहरूमा कश्मिरी बाहेकका अरू मुसलमानहरू पनि सम्मिलित गराइए अथवा नगराइएको सम्म कारणले प्रस्तुत विवादको गुठीमा हक लाग्ने गुठियार कायम हुने नहुने कुरामा कुनै महत्त्व राख्दैन, किनकी गुठियार कायम हुनालाई हक स्थापित भएको कानूनबमोजिम लिखतपत्र चाहिने कुरा माथिको प्रकरणमा व्यक्त भइसकेको छ । त्यसकारण ति कागजहरू सद्दे कीर्तेमा सुनाइरहनु पर्ने नै नदेखिएकोले ति कागजहरूको सम्बन्धमा अरू विचार गरिरहनु परेन ।

            १६.    अतः झगडा परेको तकिया गुठी पञ्च कश्मिरी वंशका मुसलमानहरूले राखेको भन्ने प्रष्टै भएको, त्यसमा पञ्च कश्मिरी बाहेकका अरू मुसलमानहरूको नमाज पढ्ने पाठ पूजा गर्नेबाहेक अरू हक लाग्न नसक्ने र प्रतिवादीहरूले पञ्चकश्मिरी वंशका भनी स्वीकार नगरेका वादीहरूमध्ये महम्मद विसमिल्ला अजितुल्ला, महमद कुतु ३ जनाको हकमा निजहरूले नै हामी पञ्च कश्मिरी वंशका मुसलमान हो भनी सो नाताले दावी गरेको देखिन नआएको समेत हुँदा निजहरू ३ जनालाई यसै मुद्दाबाट पञ्च कश्मिरी वंशका मुसलमानहरूको गुठीमा गुठियार कायम गर्न नमिल्ने समेत ठहराई ०३०।४।१७।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री चन्द्रप्रसाद प्रधानले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ, अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादीहरूले शुरू र पुनरावेदन गर्दा राखेको कोर्टफीको हकमा झगडा परेको तकिया गुठीमा सबै नेपाली मुसलमानको हक लाग्ने भन्ने निजहरूको मुल्तवी कायम नठहरेकाले सो कोर्टफी लाग्ने नै हुँदा अरू केही गर्नुपरेन........................१

प्रतिवादी महमद, अहसन मुसलमान रवाजा हसन साह मुसलमान, सैयद अफजल शाह मुसलमान जना ३ को शुरू बागमती विशेष अदालतका सदस्य जि.न्या.सुरवीर अधिकारीको राय फैसलाउपर पुनरावेदन गर्दा शुरू कोर्टफी रू.१९१४। को कोर्टफी ऐन, २०१७ को दफा १८ बमोजिम सयकडा १५ ले रू.२८७।१० कोर्टफी लाग्नेमा पुनरावेदन गर्दा ०२५।९।१५।१ मा रू.१।५० मात्र सर्वोच्च अदालतमा दाखिल गरेको देखिएको सो रू.१।५० कटाई नपुग रू.२८५।६० को हकमा देहायका प्रतिवादीहरूबाट दामासाहीले देहायबमोजिम असूलउपर हुन सक्ने जति निज वादीहरूबाट र निजहरूबाट असूलउपर हुन नसकेको निज प्रतिवादीहरूबाटै कानूनबमोजिम असूल गर्ने गरी रुजु रहेको महमद विसमिल्लाबाट असूल गरी बेरुजुका हकमा असूल गर्न का.जि.अ.तहसिलमा लगत दिनु........................२

शम्भु भन्ने सम्मुदिन मियाँके रू.२५।९७ ,एकर मुदिं मिया के रू.२५।९७, सादुदिन मिया के रू.२५।९७, अजीमुदिन मिया के रू.२५।९७, महमद कुतु मिया के रू.२५।९६, महमद विसमिल्ला के रू.२५।९६, अमिनुदिन मिया के रू.२५।९६, फैयाजुदिनु मिया के रू.२५।९६, सैसुदिन मिया के रू.२५।९६, अजितुल्ला मिया के रू.२५।९६, चेराउदिन मिया के रू.२५।९६

ऐ ऐ.निजहरूले पुनरावेदन गर्दा ०२५।९।१५।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१।५० माथि २ दफामा नाम लेखिएका प्रतिवादी ११ जनाबाट बराबरका दरले भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) को बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी का.जि.अ.तहसिलमा ऐ.ए..........................३

नियमबमोजिम मिसिल बुझाइदिनु.........................४

 

हामीहरूको सहमती छ ।

 

न्या. वाशुदेव शर्मा,

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३१ साल भाद्र ७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु