निर्णय नं. ६०७ - घर चलन चलाईपाउँ भन्ने
निर्णय नं. ६०७ ने.का.प. २०२८
डिभिजन बेञ्च
न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२७ सालको दे.फु.नं. १९६७।२२३८
फैसला भएको मिति : २०२८।२।१४।६
पुनरावेदक : का.जि.भोंसिको टोल भई हाल का.जि.डिल्लीबजार बस्ने उमादेवी श्रेष्ठनी
विरूद्ध
प्रतिवादी : का.जि. भोंसिको टोल बस्ने देवकुमारी श्रेष्ठनी
मुद्दा : घर चलन चलाईपाउँ भन्ने
(१) सर्वोच्च अदालतको अन्तिम फैसलाबाट कसैको हकको ठहरेको (जस्तोः घर पसलको हक) सगोल भनी अरूले जिकिर लिए पनि अन्य सबूद प्रमाणको अभाव भएमा–उक्त जिकिर पुग्न नसक्ने ।
त्यसरी सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घर पसल सगोलको भनी देवकुमारीले जिकिर लिए पनि अन्य सबूद प्रमाण दिन नसकेकोले देवकुमारीको पुनरावेदन जिकिर पुग्दैन ।
(प्रकरण नं. ८)
पुनरावेदक देवकुमारी तर्फबाट : वैतनिक वकिल श्री टोपबहादुर
पुनरावेदक उमादेवी तर्फबाट : वैतनिक वकिल श्री इच्छाहर्ष र अधिवक्ता श्री दिनेशमान प्रधान
उल्लेखित मुद्दा :
फैसला
न्यायाधीश श्री चन्द्रप्रसाद
१. श्री सर्वोच्चअदालत डिभिजन बेञ्चबाट मेरो दाइजो पेवाको ठहरी २०२५।९।२४ गतेका फैसलाले जिती पाएको मेरो भोंसिंको टोलको ब्लक नं.१०।३०१ को घरमा विपक्षीहरू बसिरहेका घर खाली गराउन सकेको छन् छैनन्, बहाल तिरी बसेकी छु । साहु रूद्रमानले देवकुमारीको नाउँमा नालेस गरी थैली भराई लिनुपर्ने आजसम्म गरेको छैन । घर खाली गराई जिउको समेत शान्ति सुरक्षा गरिदिनु भन्ने बाग्मती अञ्चलाधीशज्यूको नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी उमादेवीले चढाउनु भएको निवेदनपत्रमा श्री बाग्मती अञ्चल अदालत यसमा व्यहोरा साँचो भए त्यस ठाडै बुझी निवेदकको हकको घर कानूनबमोजिम गरी चलन चलाई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको रहेछ ।
२. मेरो निवेदन जिकिरमा लेखएिबमोजिमको मेरो हकको घरमा बस्ने विपक्षीहरूलाई घरबाट उठाई खाली गराई बक्स भएका हुकुम प्रमांगीबमोजिम चलन चलाई पाउँ भन्नेसमेत निवेदीका वादी उमादेवीको २०२६।५।२५।४ को बयान ।
३. वादीसँगको घर खिचोला मुद्दामा श्री सर्वोच्चअदालत डिभिजन बेञ्चबाट भएको फैसला बन्धकी लिखत बदर गरिपाउँ भन्ने दावी नभएकोले त्यसतर्फ अहिले बोली रहन पर्ने अवस्था देखिदैंन भनी किटान साथ लेखि भोगबन्धकी लिखत यथावत कायम राखेको चलन चलाई पाउँ भनेको घर वादी सगोल छदैं वादीको लोग्ने सितल काजीसँग रु.१०००१। मा २०१३।८।१५ गते भोगबन्धकी पास गराई म रुद्रमानले लिएको हुँदा उक्त बन्धकी रुपैंवा तिर्न नपर्ने गराउने बिचारबाट वादीले झुठा उजुर गरेकी हुन् भन्ने रुद्रमान दुर्गादेवी समेतको वा भई आफ्ना हकमा समेत हीराकाजीको बयान ।
४. वादीको दाइजो पेवा र एकलौटी हकको ठहरी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको भन्ने कुरा वादीको झुठ्ठा हो । दाइजो पेवा र वादीको एकलौटी ठहरेको छैन । तसर्थ घर सगोलको हुन्छ । सो घर मेरा छोरा वादीको लाग्ने सितलकाजीसँग अंशबण्डा हुँदा मेरो भागमा परेको छ । सो घर रुद्रमानलाई भोगबन्धकी दिएको लिखत श्री सर्वौच्च अदालतबाट पनि कायम गरेको छ । छोरा सितलकाजी र वादी सगोलमा बसेकोले घर चलन चलाई पाउँ भन्ने वादीको उजुर खारेज गरिपाउँ भन्ने देवकुमारीको र सो घर पसल हामीले २०२५ साल फल्गुण मसान्त मै छाडी दिइसकेकोले हामीले चलन दिनुपर्ने होइन छैन भन्नेसमेत हरि महर्जन र हीरा माया समेतको वा निलप्रसादको बयान ।
५. रुद्रमान समेतको मानिसले चलन चलाई पाउँ भनेको घर निवेदीकाको लोग्ने सितल काजीबाट २०२३।८।१५ मा रु.१०००१।। मा भोगबन्धकी लिएको भनी बयान गरेको श्री स.अ. डिभिजन बेञ्चबाट फैसला हुँदा पनि भोगवन्धकीको हकमा सोध बन्धकी लिने साहुको बन्धकी बदर हुन्छ की भन्नलाई प्र.उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजुर वाजुर गरेको समेत नदेखिंदा बन्धकीतर्फ अहिले अदालतले बोली रहनुपर्ने अवस्था देखिंदैन भनी आफ्नु फैसलामा किटानी उल्लेख गरेबाट भोगबन्धकी यथावत कायम राखेको हुँदा भोगबन्धकीको घर खाली गरीदिनु पर्ने स्थिति नै नभएको भन्नेसमेत व्यहोराको र देवकुमारीले बयान गर्दा चलन चलाई पाउँ भन्ने घर मेरो बण्डा परेको निवेदीका समेत अहिलेसम्म सगोलमै भई सगोल कै घर भएकोले घर चलन दिनुपर्ने होइन भन्ने र श्री स.अ. डिभिजन बेञ्चबाट चलन चलाई पाउँ भनेको घर मेरो हक ठहरीसकेको फैसलाबाट स्पष्टै भएको मेरो हकको घर अरूले भोगबन्धकी दिएको सदर नभई कपाली हुने स्वसिद्धै छ भनी उमादेवीले छलफल गर्नु भएको विपक्षीतर्फका वकिलहरूले श्री स.अ.बाट समेत भोगबन्धकी कायमै राखेको हुँदा कपाली भइसकेको भन्ने निवेदीकाको निवेदन व्यहोरा साँचो नदेखिएको र घरसमेत बण्डामा परेको र अहिलेसम्म सगोलमै हुँदा सगोलैको हो भन्नेसमेत जिरह लिई बहस गर्नुभएबाट निवेदीकाको निवेदनमा वक्स भई आएका हुकुम प्रमांगीबमोजिम चलन चलाई दिनुपर्ने हो होइन भन्ने प्रश्न उपस्थित हुन आएको देखियो । उक्त प्रश्न समाधानको लागि प्रमाण मिसिलसमेत अध्ययन गरिएमा श्री स.अ.को २०२५।९।२४ को फैसलामा सितलकाजी र निजको आमाको मिति २०२०।२।५ को बण्डापत्रबाट आमाको भागमा परेको घर म्यूनिसिपल्टीले पाताल बनाउने आदेश गरेपछि पुरानो घर भत्काई नयाँ घर बनाउँदा उमादेवी नाउँबाट दरखास्त परी उमादेवीको नाउँमा घर बनेको देखियो । त्यसरी बुहारीको नाममा बनेको घर निजको मन्जुर बेगर बण्डापत्रमा र अरूका भागमा परेको सदर हुन सक्तैन । उमादेवीको नाममा यो घर बनेको देखिंदा उमादेवीले घर खिचोला गरेको भन्न मिल्दैन । तसर्थ चलन चलाई पाउँ भन्ने घर निवेदीकाको हकको कायम गरेको स्पष्ट देखिन आएकोले बण्डापत्रमा परेको नाताबाट सगोलको भन्ने विपक्षहरूको जिरह मनासिव देखिन आउँदैन र निवेदीकाको निवेदनबमोजिम निवेदिकाकै हकको देखिन आउँछ । तर बन्धकी साहुतर्फ श्री स.अ.बाट सो समबन्धमा निवेदीकाको उजुर नपरेबाट सदर बदर केही नबोलेको स्पष्ट हुँदा निवेदीकाको भनाईबमोजिम घरमा निजको हककायम भएको नाताबाट निजको बदर गरिपाउँ भन्ने उजुर वेगर कपाली भइसकेको भनी भन्न नमिल्ने हुँदा साहुको बन्धकी कपाली भइसकेको भन्ने निवेदक भनाइको व्यवहोरा साँचो पनि नदेखिएको र बन्धकीमा दिएको घर सो बन्धकी बदर नभएसम्म वा बुझाउनु पर्नेले थैली नबुझाएसम्म चलन चलाई दिन कानूनले नमिल्ने हुँदा निवेदीकाको दावी खारेज हुने ठहर्छ भन्नेसमेत २०२७।१।१०।५ को बाग्मती अञ्चलअदालतको फैसला ।
६. वाग्मती अञ्चल अदालतको फैसलामा चित्त बुझन भन्नेसमेत उमादेवी श्रेष्ठनी देवकुमारी श्रेष्ठनीको पृथक पृथक पुनरावेदन ।
७. नियमबमोजिम कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी प्रतिवादी पुनरावेदक देवकुमारी श्रेष्ठनीकोतर्फबाट वैतनिक वकिल श्री टोपबहादुरले गर्नुभएको बहस र वादी पुनरावेदक उमादेवी श्रेष्ठनीकोतर्फबाट वैतनिक वकिल श्री इच्छाहर्ष बज्राचार्य र विद्वान अधिवक्ता श्री दिनेशमान प्रधानले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गरी हेरेमा दुवैतर्फको अधिवक्ताहरूले उमादेवी र देवकुमारीको खिचौला मेटाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०२५।९।२४ गतेको फैसलाले आ–आफ्नो हक हो भन्नेतर्फ देखाई बहस गर्नुभएको थियो । उक्त फैसला हेरेमा घर खिचोलामा देवकुमारीको उमादेवीको नाउँमा नालिस परेकोमा बन्धकीमा लिने भनेको रूद्रमानसमेत बुझिएको मुद्दामा घर प्रतिवादीकै दाइजो पेवाबाट बनेको रहेछ भन्ने देखिन आएको, यस्तो फैसलाले उमादेवीको हक ठहरेको घर निजको लोग्ने सितलकाजीले दृष्टि भोगबन्धक र बण्डा गर्दा आमा वादी देवकुमारीमा पारी गरेको व्यवहार प्रतिवादीको मञ्जुरी बेगर सदर नहुने भई त्यस्तो हक नपुग्नेबाट बन्धकी लिने रूद्रमानको समेत त्यस घरमा हक कायम हुने ठहर्दैन भन्ने कठमाडौं जिल्ला अदालत र वादी देवकुमारीको अंश भागमा परेको वादी दावीको घर मेरो भनी उमादेवीले खिचोला गरेको ठहर्छ भनी बाग्मती अञ्चल अदालतबाट फैसला भएकोमा त्यसउपर उमादेवीको पुनरावेदन परेकोमा सितलकाजी र निजको आमाको २०२०।२।५।१ बण्डापत्रबाट आमाको भागमा परेको घर म्यूनिसिपल्टीले पाताल बनाउने आदेश गरेपछि पुरानो घर भत्काई नयाँ घर बनाउँने आदेश गरेपछि पुरानो घर भक्ताई नयाँ घर बनाउँदा उमादेवीको नाउँबाट दरखास्त परी उमा देवीको नाउँमा घर बनेको देखियो । निजको मञ्जुर बेगर बण्डापत्रमा अरूको भागमा पारेको सदर हुन सक्तैन । उमा देवीको नाउँमा यो घर बनेको देखिंदा उमादेवीले खिचोला गरेको भन्न मिल्दैन । घरको नाताले दायित्व पुरा गर्नुपर्दा जसको नाउँमा घर बनेको छ, उसैले गर्नुपर्छ । अरूको हक भोग भएको सबुद प्रमाणले खम्वीर गरेमा बाहेक सबूद प्रमाण बेगर एकाका नाउँमा बनेका घरमा अरूको पनि हक लाग्छ भन्ने कानून र व्यवहारले समेत मिल्ने देखिदैन । सो घर बन्धकीमा लिने साहुको बन्धकी बदर हुन्छ कि भन्नालाई प्रतिवादी उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजुर बाजुर गरेको नदेखिंदा बन्धकीतर्फ अहिले अदालतले बोली रहनु पर्ने अवस्था देखिदैन भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अन्तिम फैसला भैरहेको रहेछ ।
८. त्यसरी स.अ.को अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घरपसल सगोलको भनी देव कुमारीले जिकिर लिए पनि अन्य सबुदप्रमाण दिन नसकेकोले देवकुमारीको पु.जिकिर पुग्दैन ।
९. घर चलन पाउनु पर्ने भन्ने उमादेवीको पुनरावेदनतर्फ माथि उल्लेख गरेबमोजिम उमा देवीले चढाएको निवेदनमा हुकुमका प्रमांगी बक्स भएको ।
१०. रुद्रमानको तमसुक कपाली ठहरीसकेको छ भन्ने निवेदनमा किटान गरी लेखिएको छैन । कपाली भयो भनी निवेदन जो लेखिएको सो आफै विचारलाई लिई लेखेको भन्नुपर्छ ।
११. त्यसकारण बन्धकी बदर गरिपाउँ भन्ने उजुरी वेगर कपाली भैसकेको भन्ने व्यहोरा साँचो नदेखिएको भन्ने अञ्चल अदालतको भनाई मिल्ने नै होइन ।
१२. सर्वोच्च अदालतका २०२५।९।२४ का फैसलाले घरमा उमादेवीको हक कायम भएको देखिनाले निजलाई सो घर चलन चलाई दिने ठहर्छ । अरू तपसीलबमोजिम गर्नु ।
तपसील
पुनरावेदन प्रतिवादी देवकुमारी के सर्वोच्चअदालतमा पुनरावेदन गर्दा केर्टफी राखेको हुँदा अरू केही गर्न नपर्ने...१
पुनरावेदक प्रतिवादी देवकुमारी श्रेष्ठ वादी उमादेवीले सर्वोच्चअदालतमा पुनरावेदन गर्दा राख्नु पर्ने कोर्टफीमा मुद्दा किनारा हुँदा ठहरेबमोजिम हुने गरी हाल कोर्टफीमा पक्राउ नगरी कानूनबमोजिम गर्नुभन्ने आदेश भएकोबाट कोर्टफी नरहेको र माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले वादीबाट राख्नुपर्ने कोर्टफीमा रु.६३।। प्रतिवादी देवकुमारीको वारिस हुँदा कानूनबमोजिम असूलउपर गर्नु भनी लगत दिनु.....................२
पुनरावेदक वादी उमादेवीकै बाग्मती अञ्चल अदालतको फैसलाले लाग्ने गरेको कोर्टफी रु.४२०। प्रतिवादी देवकुमारीबाट भरी पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ का म्याद ३ वर्षभत्र आएमा उक्त प्रतिवादीबाट भरी भराउ गरी दिनु भनी लगत दिनु........................३
पुनरावेदक वादी उमादेवीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले सर्वोच्च अदालत डिभिजन बेञ्चको २०२५।९।२४ को फैसलाले उमादेवीले जिती पाएको भोंसिको टोलका ब्लक नं.१०।३०१ को घर चलन चलाई पाउँ भनी कानूनबमोजिम दरखास्त गरेमा चलन चलाएको घरको मोल रु.१००००। को सयकडा २।। दस्तुर लिई कानूनको रीतपुर्याई चलन चलाई दिनु भनी लगत दिनु............................४
इन्साफ उल्टेमा अ.न्या.श्री हरण्यश्वरमान प्रधानको रिकर्ड राख्न स.अ.जनरल विभागमा लेखी पठाउनु...........५
मिसिल नियमबमोजिम बुझाई दिनु........................६
उक्त रायमा म सहमत छु ।
न्या.श्री विश्वनाथ
इति सम्वत् २०२८ साल जेष्ठ १४ गते रोज ६ शुभम् ।