शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८४१                  ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् ०३० सालको रि.फु.नं. ५२

आदेश भएको मिति  : ०३१।५।२१।६ मा

निवदेक      : जि.भू.प.मौजे धवौली मलीवारा टोल बस्ने सोखत अन्सारी

विरुद्ध

विपक्षी : ऐ.ऐ.भलियवारा पछवारी टोल बस्ने रामविलास पाण्डे भूमिहार समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुअगावै मोहियानीमा कमाएको भन्ने र भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ भइसकेपछि कमाएको भन्ने तथ्यमा फरक परी डिभिजन बेञ्चबाट कानून प्रयोग गरी भएको निर्णयलाई रुलिंग बाझिएको भन्न मिल्ने नदेखिने ।

            यसमा रि.नं.२२१ निवेदक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०२४।६।२।२ को डिभिजन बेञ्चबाट निर्णय हुँदा भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६ बमोजिम मोही कायम गरी लगत प्रकाशित भएउपर नियम ७ बमोजिम उजूर परेमात्र लगत सच्चिन सक्ने भन्ने सिद्धान्त कायम भइसकेको र प्रस्तुत मुद्दामा पनि म निवेदकले जो.अ.नि.प्राप्त गरी लगत प्रकाशित भएकोमा नियम ७ बमोजिम कसैको उजूर नपरेकोमा ०२९।४।१९।५ को डिभिजन बेञ्चबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम कबुलियत नहुँदा कानूनबमोजिम हक प्राप्त मोही नदेखिएको भन्ने निर्णय हुन गएकोले एकै बिषयमा २ किसिमको रुलिंग हुन गई बाझिएको भन्ने निवेदकको मुख्य जिकिर रहेछ । मिसिल हेर्दा रि.नं.२२१ निवदेक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अगावैदेखि मोहियानीमा कमाएको भन्ने र प्रस्तुत मुद्दामा चाहिँ भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ भइसकेपछि ०२६ सालदेखि कमाएको भन्ने भई तथ्यमा फरक देखिन्छ, मोहियानी हक प्राप्तिको सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (१) मा यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाइआएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेदबमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र सोही दफा २५ को उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेदबमोजिमको हक प्राप्त मोही हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त २ मुद्दाको भिन्न तथ्य भएकोमा भिन्नभिन्न कानूनको प्रयोग गरी ०२४।६।२।२ र ०२९।४।१८।५ को डिभिजन बेञ्चबाट निर्णय भएको देखिएकोले उक्त २ डिभिजबेञ्चको रुलिंग नमिलेको भन्न मिल्ने देखिएन । अतः रुलिंग बाझिएको नै नदेखिएपछि अरू कुरा विचार गरिरहनु परेन, तामेलीमा राख्न नियमबमोजिम बुझाइदिनु ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : अधिवक्ता इच्छाहर्ष

विपक्षी तर्फबाट      : सरकारी अधिवक्ता रतनलाल कनौडिया

आदेश

            प्र.न्या. रत्नबहादुर विष्ट

            १.     प्रस्तुत मुद्दा निवेदक तीर्थबहादुर खत्री क्षेत्री, विपक्षी जि.भू.सु.अ.ल.पु.को भू.सु.अधिकारी भएको उत्प्रेषणको रिट निवेदनमा ०२५।६।२ मा भएको डिभिजन बेञ्चको निर्णयको रुलिंगसँग यस मुद्दामा ०२९।४।१९ को डिभिजन बेञ्चबाट भएको निर्णयको रुलिंग बाझिएकोले फुल बेञ्चमा पेश गरिपाउँ भन्ने निवेदकको निवेदन परेकोमा रुलिंग बाझिएकै जस्तो देखिएकोले स.अ.नियमावली, ०२१ को नियम ३३ को खण्ड (ख) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०३०।३।१४।५ मा सं.मा.प्रधान न्यायाधीशज्यूबाट भएको आदेशअनुसार निर्णयको लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : चन्डेश्वर पाण्डेको निर्सुपाण्डेको, रामविलास पाण्डेको जग्गा कमाउन दिएकोमा ०२६।७।७ मा बाली लगाउन जाँदा धान बाली हामी आफैंले लगाएका छौं । मुसुरी बाली लगाउन दिँदैनौं भनी मोही हक वेदखली गर्ने प्रयास गरेकोले मोही हक सुरक्षा गरिपाउँ भन्ने निवेदक सौखत अन्सारीको निवेदन बयान उक्त जग्गा कसैलाई मोहियामा कमाउन दिएको होइन । हामी आफैंले आवाद गरी आएका छौं । हामीले जो.अ.नि.प्राप्त गरी सर्भेमा मोही हाम्रै कायम भएको छ भन्ने वा.रामचन्द्र र चन्देश्वरको पृथकपृथक बयान भएको मोहियानी मुद्दामा जग्गाधनीले जग्गा कमाउन दिएको बुझिन नआएको केवल जग्गाधनीले धनीहरू र पञ्चायतको केही कार्यकारीको मनोमालिन्यबाट मोहीलाई झुठ्ठा प्रमाणहरूको रचनाको अन्धकारमा प्रेरणा दिएकोले सोही आधारलाई प्रमाण बनाई सौखत अन्सारीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत ०२७।१।२४।५ मा प्रतिपक्षी महोत्तरी भू.सु.कार्यालयबाट निर्णय भएको रहेछ ।

            ३.    निवेदक सौखत अन्सारीले आफ्नो रिट निवेदनमा प्रतिपक्षीहरूले मलाई मोहियानीमा कमाउन दिएको जग्गाको फाराम भरी लगत प्रकाशित हुँदा प्रतिपक्षी चन्डेश्वर, रामविलास, निर्सुपाण्डेको जग्गा लेखी लगत प्रकाशित भएको थियो, सोउपर उजूर नगरी चित्त बुझाई मोही कायम गरी चुप लागी बसेको हो । म्यादभित्र उजूरबाजुर गर्न नसकेकोमा मेरो कानूनले पक्का भइसकेको जोताहा अस्थायी निस्सालाई कृतिम भनी दावीभन्दा बाहिर गई निर्णय गर्ने अधिकार प्रतिपक्षी अधिकारीलाई छैन । लगत प्रकाशित भइसकेकोमा भूमिसम्बन्धी नियम ७ (१) बमोजिम पर्न आउने उजूरीले मात्र बदर गर्न सक्ने सिद्धान्त कायम भई डिभिजन बेञ्चबाट निर्णय भएको पनि छ । मेरो मोहिया हकको जग्गामा प्रतिपक्षीहरूले मेरो मोहिया हकमा वेदखली गर्ने प्रयास गरेको हो होइन भन्नेसम्म निर्णय दिनुपर्नेमा दावीभन्दा बाहिर गई कृत्रिम मोही भनी उल्टो मलाई नै जरिवाना गरी निर्णय गर्ने अधिकार छैन । वेदखल गर्ने प्रयास गरेको भन्नेसम्म मेरो दावीमा नलाग्ने ऐन लगाई कानून बाहिर गई निर्णय गरेको छ, नलाग्ने ऐन लगाई नलाग्ने जरिवाना गरेकोमा सो जरिवानाको कुरालाई अञ्चल अदालतमा पुनरावेदन गरेको पनि छु । लेखिएबमोजिम अनाधिकार गैरकानूनीसँग गरेको प्रतिपक्षीको ०२७।१।२४।५ को फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो मागबमोजिम पुनः निर्णय गरिदिनु भन्ने परमादेश जारी गरिपाउँ भन्ने समेत निवेदकले मुख्य निवेदन जिकिर लिएको देखिन्छ ।

            ४.    भूमिसम्बन्धी ऐन, ०२१ महोत्तरी जिल्लामा ०२२ साल मार्ग १ गतेदेखि प्रारम्भ भएको हो । ०२६ साल आषाढदेखि जग्गा कमाएको छु भनेकोबाट जगाधनी मोहीको बीच कबुलियत हुनु र दफा ३४ बमोजिम पञ्चायतमा र दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) अनुसार सम्बन्धित अधिकारीलाई सूचना दिनुपर्छ । गैरकानूनी तरिकाबाट अस्थायी निस्सा लिँदैमा जग्गामा हक प्राप्त भइसकेको मानिने होइन । मोहियानी हकको तेरो मेरो मुद्दा तोकिएको अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र गरेको न्याय निरोपण सम्बन्धमा रिट लाग्न सक्ने होइन । खारेज गरिपाउँ भन्ने समेत रामविलास चन्डेश्वर र रामचन्द्रको एउटै लिखितजवाफ रहेछ ।

            ५.    नियम कानूनको परिधिभित्र रही निर्णय भएको छ, कानूनबमोजिम निर्णय भएकोले, निवेदकको संवैधानिक अधिकारको हनन भएको छैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रतिपक्षी भू.प्र.का.महोत्तरीको लिखितजवाफ रहेछ ।

            ६.    निवेदकले दावी लिएको जग्गा २६ सालदेखि कमाउन लिएको भनेकोले निवेदकले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (२) बमोजिम मोहियानी हक प्राप्त भएको व्यक्ति म हुँ भनी दावी लिएको देखिन्छ । जग्गा कमाउन लिँदा उक्त ऐनको दफा ३४ बमोजिम कबुलियत गराइलिन सक्नु पर्ने सोबमोजिम कबुलियत गराइलिएको छु र बाली बुझाई रसिद लिएको छु भन्न निवेदक कानूनबमोजिम हक प्राप्त मोही देखिन सकेको छैन । उसमा पनि निवेदककै उजूरीबाट अधिकार प्राप्त अधिकारीले निर्णय गरेको जो.अ.नि.बदर गरेको देखिँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत ०२९।४।१९।५ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

            ७.    यस बेञ्चसमक्ष निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यले रि.नं.२२१ को मुद्दामा ०२५।६।२ को डिभिजन बेञ्चबाट नियम ६ बमोजिम लगत प्रकाशन भएकोमा नियम ७ बमोजिम उजूर नपरेकोमा मोहियानीको लगत सच्चिन नसक्ने निर्णय भएको छ, प्रस्तुत मुद्दामा भने नियम ७ बमोजिम लगत प्रकाशनमा नियम ७ बमोजिम उजूरै नपरेकोमा कबुलियत नभएकोले कानूनबमोजिम हक प्राप्त मोही नदेखिने भनी ०२९।४।१९ को डिभिजन बेञ्चले निर्णय गरेकोबाट एकै बिषयमा भिन्न भिन्न सिद्धान्त भई रुलिंग बाझिन आएको प्रष्ट देखिएको छ । उचित निर्णय हुनुपर्छ भन्ने समेत र, प्रतिरक्षी भू.सु.का तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले रि.नं.२२१ को मुद्दामा भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अगावैदेखि मोहियानीमा कमाइआएको भनेको त्यस्तोमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा १ अनुसार मोहियानी हक प्राप्त हुने र प्रस्तुत मुद्दामा भूमिसम्बन्धी ऐन, ०२१ लागू भइसकेपछि ०२६ सालदेखि मात्र मोहियानीमा कमाएको भन्ने भई सोही दफा २५ को उपदफा (२) अनुसार मोहियानी हक प्राप्त हुने फरक तथ्य र छुट्टाछुट्टै कानूनी व्यवस्था भएको प्रष्ट छ । भूमिसम्बन्धी ऐन प्रारम्भ भइसकेपछि जग्गा कमाउन दिए लिएकोमा नियम ६, ७ लागू हुने पनि होइन । यस्तोमा त भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम दोहरो कबुलियत हुनुपर्छ र १ प्रति भू.प्र.का.मा दाखिल गर्नुपर्छ फरक फरक तथ्य र कानूनी व्यवस्था भएकोमा फरक फरक निर्णय हुनु स्वाभाविक हो । रुलिंग बाझिएको भन्न मिल्ने अवस्था छैन भन्ने समेत र अरू विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले विद्वान सरकारी अधिवक्ताको बहसलाई समर्थन गर्दै बहस प्रस्तुत गर्नुभयो ।

            ८     यसमा रि.नं.२२१ निवेदक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०२४।६।२।२ को डिभिजन बेञ्चबाट निर्णय हुँदा भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६ बमोजिम मोही कायम गरी लगत प्रकाशित भएउपर नियम ७ बमोजिम उजूर परेमात्र लगत सच्चिन सक्ने भन्ने सिद्धान्त कायम भइसकेको र प्रस्तुत मुद्दामा पनि म निवेदकले जो.अ.नि.प्राप्त गरी लगत प्रकाशित भएकोमा नियम ७ बमोजिम कसैको उजूर नपरेकोमा ०२९।४।१९।५ को डिभिजन बेञ्चबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम कबुलियत नहुँदा कानूनबमोजिम हक प्राप्त मोही नदेखिएको भन्ने निर्णय हुन गएकोले एकै बिषयमा २ किसिमको रुलिंग हुन गई बाझिएको भन्ने निवेदकको मुख्य जिकिर रहेछ । मिसिल हेर्दा रि.नं.२२१ निवदेक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अगावैदेखि मोहियानीमा कमाएको भन्ने र प्रस्तुत मुद्दामा चाहिँ भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ भइसकेपछि ०२६ सालदेखि कमाएको भन्ने भई तथ्यमा फरक देखिन्छ, मोहियानी हक प्राप्तिको सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (१) मा यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाइआएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेदबमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र सोही दफा २५ को उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेदबमोजिमको हक प्राप्त मोही हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त २ मुद्दाको भिन्न तथ्य भएकोमा भिन्नभिन्न कानूनको प्रयोग गरी ०२४।६।२।२ र ०२९।४।१८।५ को डिभिजन बेञ्चबाट निर्णय भएको देखिएकोले उक्त २ डिभिजबेञ्चको रुलिंग नमिलेको भन्न मिल्ने देखिएन । अतः रुलिंग बाझिएको नै नदेखिएपछि अरू कुरा विचार गरिरहनु परेन, तामेलीमा राख्न नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. प्रकाशबहादुर के.सी.

न्या. झपटसिंह रावल,

न्या. विश्वनाथ उपाध्याय

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३१ साल भाद्र २१ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु