निर्णय नं. ८४३ - दर्ता बदर

निर्णय नं. ८४३ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३० सालको दे.फु.नं. १०५
आदेश भएको मिति : २०३१।६।२५।६
पुनरावेदक : विदुर उप्रेती समेत
विरुद्ध
विपक्षी : खम्बसिंह बस्नेत समेत
मुद्दा : दर्ता बदर
(१) प्रमाण निमित्त आएको निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दालाई मुल्तवी जगाई कारवाई किनारा गर्न जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरिपठाउन मिल्ने नदेखिने ।
यसमा निर्णयतर्फ विचार गर्दा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको ६ थान मुद्दा चाँडो किनारा गर्नु र सोउपर पुनरावेदन परे सो टुंगो लागेपछि र नपरे म्याद नाघेपछि प्रमाणलाई पठाउनु भनी प्रस्तुत दर्ता बदर मुद्दाको पुनरावेदनको दायरीको लगत कायम राखी सो कार्य सम्पन्न भई आएपछि पेश गर्नु भन्ने मा.न्या.श्री जयदेव भट्टको राय भएकोमा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको उक्त मुद्दाहरू किनारा गराई आएपछि प्रस्तुत मुद्दामा निर्णय गर्ने गरी भएको मा.न्या.श्री जयदेव भट्टको निर्णयमा सहमतै भएको मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको कारवाई किनारा गर्न अञ्चल अदालतमा पठाई कारवाई किनारा गर्न लगाउन मिल्नेमा नमिल्ने भनी मोरङ जि.अ.मा पठाउने गरेकोमा सम्म सहमत नभएको भन्ने मा.न्या.श्री त्रैलोक्यराज अर्यालको राय भई डिभिजन बेञ्चको माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको देखिएकोले प्रस्तुत मुद्दामा मुख्य जि.अ.मोरङमा दायर भई मुल्तवी रहेको मुद्दा कारवाई किनारा गर्न कुन अदालतमा पठाउनु पर्ने हो त्यस कुराको सम्म निर्णय दिनु पर्ने हुन आएको छ ।
(प्रकरण नं. ३)
तत्सम्बन्धमा विचार गर्दा उक्त मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको भनेको ६ थान मुद्दाहरू किनारा भइसकेकोमा पुनरावेदन तहबाट कारवाई किनारा गर्ने स्थितिमा यस सर्वोच्च अदालतमा आएको नभई यस सर्वोच्च अदालतमा दायर भएको प्रस्तुत दर्ता बदर हुँदाको प्रमाण निमित्तसम्म आएको मुद्दाहरू देखिएको त्यसरी प्रमाण निमित्त आएको मोरङ जि.अ.बाट निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दाहरूलाई मुल्तवी जगाई कारवाई किनारा गर्न मोरङ जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरी पठाउन मिल्ने देखिँदैन । तसर्थ मुल्तवी जगाई कारवाई किनारा गर्न मुद्दा दायर भएको मोरंग जि.अ.मा पठाउने भन्ने मा.न्या.श्री जयदेव भट्टको राय मनासिव ठहर्छ । सोबमोजिम गर्नु ।
(प्रकरण नं. ४)
पुनरावेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह
१. प्रस्तुत मुद्दा २०३०।८।१९।३ को डिभिजन बेञ्चमा पेश हुँदा हाल आवादी जग्गालाई आफ्नो नाममा नपाई खिचोला गरे खिचोला मेटाई मेरो नाममा दर्ता गरिपाउँ भनी केवलीप्रसाद समेतले यस मुद्दाको फिरादी खम्वसिं समेत उपर दायर गराएको जग्गा खिचोला मुद्दालाई यस मुद्दाको जरियाबाट मोरङ जि.अ.ले मुल्तवी राखेको देखियो । हाम्रो साविक दर्ता जग्गा भन्ने वादी हाम्रो हाल आवादी भन्ने प्रतिवादी भएको यस मुद्दालाई अन्तिम तहको यस अदालतबाट निर्णय बोली दिँदा उक्त मुद्दालाई असर पर्न जाने भई साथै निर्णय हुनु पर्ने देखिन आयो । शुरू अदालतमा दायर भई निर्णय दिन बाँकी छँदै अञ्चल अदालतबाट कारवाई किनारा गर्नु भनी तोकिदिँदा मुद्दा सारेको हुन जान्छ र शुरू कारवाई किनारा गर्ने जि.अ.को अधिकार क्षेत्र हनन हुन जान्छ । यतिमात्र होइन तह काटिनुको साथै जि.अ.उपरको जनआस्थामा आँच आउने किसिमको वातावरण सिर्जना हुन जाने भएको सम्भावना रहन्छ । आफ्नो अधिकार क्षेत्र ग्रहण गरी एक तह हेरी किनारा गरिसकेको निर्णय बदर भई पुनः निर्णय गर्न पठाउनलाई अदालत तोक्ने कुरा र आफूले पाएको अधिकार क्षेत्र ग्रहण गरी निर्णय दिने काम बाँकी छँदै माथिल्लो तहका अदालतबाट हेराउन मिसिल झिकी सार्नु यी दुई बेग्लाबेग्लै क्रिया हुनाले शुरू कारवाई किनारा गर्न अञ्चल अदालतमा पठाउन मिल्दैन र उक्त दुई क्रिया एकै हुन् भन्ने अर्थ गर्न पनि मिल्दैन । शुरू मोरङ जि.अ.मा दायर भई किनारा हुन बाँकी रही मुल्तवी राखेको मुद्दा थान ६ मा चाँडो कारवाई किनारा गर्न भनी मोरंग जि.अ.मा पठाइदिनु । अञ्चल अदालतमा पठाउने भनी सहयोगी मा.न्या.ले गर्नुभएको तर्कमा मेरो सहमती नहुँदा फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री जयदेव भट्टको राय र मोरंग जि.अ.मा दायर भई मुल्तवी रहेको मुद्दाहरू किनारा गराइआएपछि प्रस्तुत मुद्दा निर्णय गर्ने गरी गर्नु भएको निर्णयमा मेरो पनि सहमत भएकै छ । शुरू अदालत बाहेक अञ्चल अदालतबाट शुरू कारवाही र किनारा गर्ने गराउने गर्दा शुरू अदालतलाई भएकै अधिकार क्षेत्रको हनन हुन आउने देखिन आउँदैन । न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ५ (क) बमोजिम सर्वोच्च अदालतबाट मुद्दाको अवस्था र औचित्य हेरी अं.अ.लाई शुरू कारवाई र किनारा गर्न तोकी पठाउन मिलेन । कानूनद्वारा प्रदत्त अधिकार भएकोमा शुरू अदालतमा परेको मुद्दाको मिसिलको अवस्थाबाट अञ्चल अदालतबाट शुरू कारवाही र किनारा गराउन उचित नदेखिएमा अञ्चल अदालतबाट शुरू कारवाही र किनारा गर्न मिल्ने नै देखिन आउनेमा अञ्चल अदालतबाट हेरी निर्णय गर्न पठाउन नमिल्ने भनी मा.न्या.श्री जयदेव भट्टले गर्नुभएको ऐनको व्याख्यामा सहमत नभएको भन्ने मा.न्या.श्री त्रैलोक्यराज अर्यालको राय भई मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. पुनरावेदक विदुर उप्रेतीतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले आफ्नो बहसमा न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ४, ५ ले अञ्चल अदालतले हेर्न मिल्ने हुनाले अञ्चल अदालतमा शुरू कारवाही किनारा गर्ने गरी पठाउने गरेको मा.न्या.श्री त्रैलोक्यराजको राय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
३. यसमा निर्णयतर्फ विचार गर्दा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको ६ थान मुद्दा चाँडो किनारा गर्नु र सोउपर पुनरावेदन परे सो टुंगो लागेपछि र नपरे म्याद नाघेपछि प्रमाणलाई पठाउनु भनी प्रस्तुत दर्ता बदर मुद्दाको पुनरावेदनको दायरीको लगत कायम राखी सो कार्य सम्पन्न भई आएपछि पेश गर्नु भन्ने मा.न्या.श्री जयदेव भट्टको राय भएकोमा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको उक्त मुद्दाहरू किनारा गराई आएपछि प्रस्तुत मुद्दामा निर्णय गर्ने गरी भएको मा.न्या.श्री जयदेव भट्टको निर्णयमा सहमतै भएको मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको कारवाई किनारा गर्न अञ्चल अदालतमा पठाई कारवाई किनारा गर्न लगाउन मिल्नेमा नमिल्ने भनी मोरङ जि.अ.मा पठाउने गरेकोमा सम्म सहमत नभएको भन्ने मा.न्या.श्री त्रैलोक्यराज अर्यालको राय भई डिभिजन बेञ्चको माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको देखिएकोले प्रस्तुत मुद्दामा मुख्य जि.अ.मोरङमा दायर भई मुल्तवी रहेको मुद्दा कारवाई किनारा गर्न कुन अदालतमा पठाउनु पर्ने हो त्यस कुराको सम्म निर्णय दिनु पर्ने हुन आएको छ ।
४. तत्सम्बन्धमा विचार गर्दा उक्त मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको भनेको ६ थान मुद्दाहरू किनारा भइसकेकोमा पुनरावेदन तहबाट कारवाई किनारा गर्ने स्थितिमा यस सर्वोच्च अदालतमा आएको नभई यस सर्वोच्च अदालतमा दायर भएको प्रस्तुत दर्ता बदर हुँदाको प्रमाण निमित्तसम्म आएको मुद्दाहरू देखिएको त्यसरी प्रमाण निमित्त आएको मोरङ जि.अ.बाट निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दाहरूलाई मुल्तवी जगाई कारवाई किनारा गर्न मोरङ जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरी पठाउन मिल्ने देखिँदैन । तसर्थ मुल्तवी जगाई कारवाई किनारा गर्न मुद्दा दायर भएको मोरंग जि.अ.मा पठाउने भन्ने मा.न्या.श्री जयदेव भट्टको राय मनासिव ठहर्छ । सोबमोजिम गर्नु ।
हामीहरूको सहमती छ ।
न्या. झपटसिंह रावल,
न्या. हेरम्बराज
इति सम्वत् २०३१ साल आश्विन २५ गते रोज ६ शुभम् ।