शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८४४                 ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२९ सालको रिट नं.११५०

आदेश भएको मिति  : ०३१।५।३।२ मा

निवेदक      : बागमती अञ्चल प.१ नं.नुवाकोट जिल्ला बेलकोट गा.पं.वडा नं.५ तल्लो ति गाउँ बस्ने पद्मकुमारी थपलिया

विरुद्ध

विपक्षी : जिल्ला भूमिसुधार कार्यालय, प.१ नं.नुवाकोट विदुर, जिल्ला विलकोट गा.पं.वडा नं., ५ तल्लो ति गाउँ बस्ने धनबहादुर लोहनी

मुद्दा : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिए प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको देखिने ।

            यसमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । उजूरवाला जग्गाधनी तेजबहादुरबाट कमाउन लिएको भन्ने भएकोमा निवेदक तीर्थबहादुर थपलियाले पद्मकुमारी थपलियालाई जग्गाधनी देखाई प्रतिवाद गरेपछि निज पद्मकुमारीलाई आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      : का.मु.सरकारी अधिवक्ता शोभाकर उपाध्याय

उल्लिखित मुद्दा :

आदेश

            न्या. धनेन्द्रबहादुर सिंह

            १.     जिल्ला भूमिसुधार कार्यालय प.१ नं. नुवाकोट विदुरको ०२९।१०।२४।३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : तेजबहादुर पाण्डेको कित्ता ३ को जग्गा रोपनी ३।।। मोही भई अधिया आयस्ता बुझाउने गरी ७।१४ नं.फाराम भरी जो.अ.नि.लिई ०२७ सालको बालीसम्म कमाई आएको ०२८ सालको धान बाली पाकी तयार भएपछि ०२८ साल मार्ग ७ गते विपक्षी र नचिनेका २०२५ जना आई लुटपिट गरी लगी जग्गा चलन गर्न पाउँदैनस् भनी हटक खिचोला गरेकाले मोहियानी कायम गरिपाउँ भन्ने उजूरी परेकोमा वादीको दावीबमोजिम रोपनी ३।।। होइन खेत माटो मुरी १७।१२।४ को हो । सो जग्गा २०२० सालको बालीदेखि ललितकुमारीबाट मेरो श्रीमती पद्मकुमारीले रू.९०००। मा ०२१।२।२४ मा राजीनामा पास गराई लिएकी हुन् । ०२०।०२१ सालको बाली तेजबहादुर पाण्डेले लुटी लगेको ठहरी अञ्चल अदालतबाट समेत ०२८।३।७ मा फैसला भएको छ । मोहियानी भए राजीनामामा जनिनु पर्ने र लुटपिट मुद्दामा समेत वादी हुनु पर्ने सो छैन । वादीलाई मैले र मेरो श्रीमतीले राखेको मोही होइन । तेजबहादुरसँग पास जालसाजी लुटपिट मुद्दा परी जाल परिपञ्चबाट ज्वाईँ नाताको धनबहादुरलाई बनौटी मोही बनाई झुठ्ठा उजूर गरेको हो भन्ने समेत विपक्षीको प्रत्युत्तर बयान भएकोमा पक्षको जोत हो भन्ने साँध सँधियार सहितको सरजमिन मुचुल्का र आयस्ता बुझाएको भरपाई अ.जो.अ.नि.बाट समेत पक्ष नै साविक देखिको मोही भएको हुनाले धनबहादुरको मोहियानी ठहर्छ भन्ने समेत निर्णय गरेको  रहेछ ।

            ३.    उक्त निर्णय बदर गराइपाउँ भनी यस रिट निवेदनमा लिएको मुख्य जिकिर यसप्रकार छ :

            ४.    भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ (क) को विपरीत हकै नपुगेको तेजबहादुरले मोही भनी कायम गर्दैमा त्यसैलाई कानूनी मान्यता दिई मोही ठहराइएको छ । मेरो मोही हो भनी ठहराउनुभन्दा अगावै प्रचलित मुलुकी ऐन, अ.बं.१३९ नं.बमोजिम मलाई बुझिएको छैन र विपक्षी मोही नभएको सफाइको सबूतसमेत पेश गर्ने मौकासम्म पनि दिएको छैन ।

            ५.    जिल्ला भूमिसुधार कार्यालय प.१ नं.नुवाकोट विदुरको लिखितजवाफमा २०२० सालदेखि ०२८ सालसम्म धनबहादुरले जोतिआएको भन्ने सरजमिन मुचुल्काबाट देखिएको र ०२७ सालसम्मको बाली तेजबहादुर पाण्डेलाई बुझाई आएको भरपाई र ४ नं.जोताहाको अस्थाई निस्सासमेत पेश गरेको देखिएकोले पद्मकुमारीलाई नबुझी निर्णय गरिएको हो भन्ने समेत उल्लेख गरेको रहेछ ।

            ६.    विपक्षी धनबहादुर लोहनीको लिखितजवाफमा प्राप्त गरेको जोताहा निस्सालाई निवेदिकाले उजूर गरी बदर गराउन सकेको छैन र निजले जोतेको भन्ने प्रमाण सँधियारसमेतबाट देखिन अएको छैन । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ मा गरिएको व्यवस्थाले तीर्थबहादुर नै घरको मुख्य भएकोले पद्मकुमारीलाई बुझ्नु पर्ने अवस्था नभएबाट मेरो मोहियानी कायम गरी गरेको निर्णय कानून विपरीत छैन भन्ने समेत उल्लेख गरेको रहेछ ।

            ७.    निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले पद्मकुमारीको हकको जग्गा हुनाले निजलाई अ.बं.१३९ नं.बमोजिम बुझ्नुपर्नेमा बुझिएको छैन । जग्गावालाको हकै नभएकोलाई म जग्गावालाको मोही हुँ भन्नु र ठहराइदिनु कानून मिल्दो छैन र जग्गाधनीको लगत प्रकाशन भई जोताहा निस्सा लिएकोमा उजूर गर्न समेत नसकेकोले रिट जारी हुनुपर्दछ भन्ने र विपक्षीतर्फका का.मु.सरकारी अधिवक्ता श्री शोभाकर उपाध्यायले घरको मुख्य तीर्थबहादुर भएकोले निवेदिकालाई बुझ्ने आवश्यकता छैन । ०२० सालदेखि नै धनबहादुरले कमाएको छ भन्ने सरजमिन भएको छ । सर्जमिनमा तीर्थबहादुर उपस्थित हुन सकेको छैन । यसकारण कानूनबमोजिम सबूत प्रमाण बुझी धनबहादुर मोही ठहर गरी गरेको निर्णय कानून विपरीत छैन, सो नभएकोले निवेदन खारेज हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

            ८.    निवेदिकाको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

            ९.    अधिया आयस्ता बुझाउने गरी ७।१४ नं.फाराम भरी अघिदेखि मोही भई ०२७ को बालीसम्म कमाई आएको र ०२८ सालको धानबाली पाकी तयार भएपछि विपक्षी र नचिनेका २०।२५ जना आई लुटपिट गरी लगी जग्गामा चलन गर्न पाउँदैनस् भनी हटक खिचोला गरेकोले मोहियानी कायम गरिपाउँ भन्ने धनबहादुर लोहनीको उजूरी परेकोमा साँध सँधियारसहितको सरजमिन मुचुल्का र आयस्ता बुझाएको भरपाई ओ.जो. अ.नि. समेतबाट धनबहादुर साविक देखिको मोही भएको हुनाले मोहियानी हक निजकै ठहर्छ भन्ने जिल्ला भूमिसुधार कार्यालय पश्चिम १ नं.नुवाकोट विदुरले निर्णय गरेको देखियो ।

            १०.    यसमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । उजूरवाला जग्गाधनी तेजबहादुरबाट कमाउन लिएको भन्ने भएकोमा निवेदक तीर्थबहादुर थपलियाले पद्मकुमारी थपलियालाई जग्गाधनी देखाई प्रतिवाद गरेपछि निज पद्मकुमारीलाई आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ ।

            ११.    अतः उपरोक्त कारणबाट जिल्ला भूमिसुधार कार्यालय पश्चिम १ नं.नुवाकोटको ०२०।१०।२४।३ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. हेरम्वराज

 

इति सम्वत् २०३१ साल भाद्र ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु