शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१४ - डाँका

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६१४            ने.का.प. २०२८

डिभिजन बेञ्च

न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह

न्यायाधीश श्री झपट सिं रावल

सम्वत् २०२५ सालको फौज्दारी पुनरावेदन नम्वर ६९६

फैसला भएको मिति :      २०२८।१।२०।२

पुनरावेदक : प. १ नं.धादिङ्ग धैरेती बस्ने बुद्धिवलको छोरा सदर कारागार वन्दी भई बस्ने रिफेल भन्ने दलबहादुर लुंगेली मगर

विरुद्ध

विपक्षी : ऐ धादिङ्ग रातीवारी बस्ने रणकुमारी वोहारनी क्षेत्रीनीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : डाँका

(१)   पोल गर्नेले पोलाई बस्नेलाई झुठ्ठा दोष लगाई बयान गर्ने गरी आएको देखिएमाअरू सर्जमिन प्रमाणबाट पनि पोलाई बस्नेले कसूर गरेको तथ्य प्रमाण नदेखिएमानिज पोलाई बस्नेले कसूर अपराध गरेको नठहर्ने ।

            पोल गर्ने खड्गबहादुरले वादी श्री ५ को सरकार प्रतिवादी निजै खड्गबहादुरसमेत भएको चोरी मुद्दामा पनि निज रिफेल भन्ने दलबहादुरलाई पोल गरेकोमा मुद्दा फैसला हुँदा झुठ्ठा पोल गरेको ठहरी रिफेल भन्ने दलबहादुरले सफाई पाई ०२४।१०।२९।३ मा धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको र वादी सनमान खड्का प्रतिवादी निजै खड्गबहादुरसमेत भएको डाँका मुद्दामा पनि रिफेल भन्ने दलबहादुरलाई खड्गबहादुरले पोलेकोमा रिफेल भन्ने दलबहादुर नठहरी सफाई पाई ०२४।१०।१ गते धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको देखिएकोले निज खड्गबहादुरले यो पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुरलाई मुद्दामा फसाउँन झुठ्ठा दोष लगाई बयान गर्ने गरिआएको रहेछ भन्ने देखिएको र अरू सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदन गरिआएको रहेछ भन्ने देखिएको र अरु सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरउपर कसूर गराउनको तथ्य प्रमाण देखिन नआई शंकासम्म गरेको देखिन्छ । शंका गर्दैमा कसूर अपराध गरेको ठर्हछ भनी निष्कर्षमा पुग्ने प्रमाण पुग्यो भन्न नमिल्ने हुँदा निज प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरले डाँका चोरी गरेको ठहर्दैन ।

(प्रकरण नं. २५)

पुनरावेदक तर्फबाट : अधिवक्ता श्री शुशिलकुमार सिन्हा

विपक्षी तर्फबाट      :    

उल्लेखित मुद्दा :    

फैसला

     न्यायाधीश श्री झपट सिंह रावल

      १.     २०११।५।१० गतेको रात र ऐ १२ गतेको रात मेरा घरमा डाँका गरेकोले विवरण खुलाई तालुकदार वीरबहादुरलाई जाहेर गरेकोमा तालुकले खोजी पक्रेमा भीमबहादुर दमाई, कृष्णबहादुर मगर, हस्तबहादुर मगर, वालकृष्ण कामी, चन्द्रबहादुर मगरलाई पक्राउ गरी केही माल समेत बरामत भइ आएकोले इलाकामा जान बाटो टाढा डाँडा काँडा हुँदा स.पु.गो. मा दरखास्त परेको ११।५।१० गते र ऐ १२ गतेको रातसमेत कुकुर भुकेकोले झ्याल खोली हेर्दा मानिस बसीरहेको डाँका गर्न आएको भनेकोले छोरी ठूली कान्छीले खुकुरीले हानी रगतपक्ष भइ गएपछि फेरी १२।१३ जना आई उत्तरपट्टिको बन्दी झ्याल खोली डाँका गरी लगेको बलरामेसमेत जना ६ पक्री दाखेल गरेको छु अरू कोको भई डाँका गरेको हो निजहरूबाट खुलाई बिगो भराई पाउँ भन्नेसमेत रणकुमारीको कागज र अदालतमा बयान रहेछ ।

      २.    साहिलो हवल्दारको छोरा काहिलो कान्छो भनेको मेरो काहिलो दाज्यू र कान्छो भाइ रिफेल भन्ने मेरो कान्छा बाबुको छोरा माने मगरसँग भेट हुँदा सो १० गते डाँका गर्न जाँदा नगदी फेला नपरेबाट १२ गते रिफेल १ मेरो कान्छो भाइ १ साने १ जेते घर्ती १ भिमबहादुर १ बलराम १ हस्तबहादुर १ म समेत जम्मा ८ भई डाँका गर्न गई वादी रणकुमारीका दावीबमोजिम डाँका गरी वनमा लगी भागबण्डा गरिलिएको हो भन्ने, १० गते डाँका गर्न जाँदा नगद फेला नपरेकोले डाँका गर्न आएका छ भनी रिफेलले भनेको सुनेको थिएं, १० गतेको डाँका म छैन, डाँका मध्येका बोकाको मासु दाज्यूलाई काइलाले ल्याएको थिए भन्ने चन्द्रबहादुरको ठाडो कागज रहेछ।

      ३.    २०११।५।१२ गते म रिफेल भन्ने मगर जाँदा हवल्दारको छोरा कान्छा १ साने मगर १ सेते घर्ती १ निज रिफेल पक्राउमा आएका भिमबहादुर १ बलीकृष्ण १ कृष्णबहादुर मगर १ चन्द्रबहादुर मगर १ हस्तबहादुर १ र म १ समेत भई डाँका गर्न गएको म बाहिर बसेकोले रूपैयाँ फेला परे नपरे थाहा छैन, भाद्र १० गतेको डाँकामा म गएको नहुँदा मलाई थाहा छैन, १२ गते डाँका गर्न गएको हो भन्नेसमेत बलराम मगरको बयान ।

      ४.    ०११।५।१० गते माथि लेखिएका सबै भई डाँका गरी ल्याएको हो, १२ गते म गएको छैन भन्ने कृष्णबहादुरको कागज रहेछ ।

      ५.    २०११।५।१० गतेको डाँका गरेको मलाई थाहा छैन, १२ गते रिफेल १ हवलदारको छोरा काइलो कान्छो सेते घर्ती भीमबहादुर, बालकृष्ण, बलराम, कृष्णबहादुर, चन्द्रबहादुर समेत भई डाँका गरेको हो भन्ने हस्तबहादुरको कागज ।

      ६.    २०११।५।१० रिफेल भन्ने पाले हवल्दारको काहिलो छोरो १, कान्छो छोरा १, साने मगर १, सेते घर्ती १, भीमबहादुर १, कृष्णबहादुर १, हस्तबहादुर १, चन्द्रबहादुर १, बलराम म १ समेत भई डाँका गरेको हो, १२ गते डाँका गर्न म गएको नहुँदा मलाई थाहा छैन भन्नेसमेत बालकृष्ण कामीको कागज ।

      ७.    ०११।५।१० गते रिफेल १ हवल्दारको छोरा काइलो कान्छो साने सेतेसमेत भई डाँका गर्न गएको र १२ गते पनि डाँका गरी ल्याई बाँडी लिएको भनी बालकृष्ण कामीको कागज ।

      ८.    ०११ साल भाद्र १२ गते के हो म समेत भई डाँका गरी ल्याई बोको काटी भाग लगाएको हो भन्नेसमेत खड्गबहादुरको बयान रहेछ ।

      ९.    भाद्र ९ गते सिरानचोक अदुवा दारी गई १३ गते फर्किआएकोले डाँका गरेको छैन भन्ने व्यहोराको भीमबहादुरको बयान ।

      १०.    भाद्र ८ गते धादिङ्गमा दिदीको घर गई १३ गते घर फर्की आएकोले डाँका गरेको छैन भन्नेसमेत हस्तबहादुरको बयान ।

      ११.    भाद्र १०।१२ गते कामजरो आएकोले घरैमा छु, थानामा लगी कुटपिट गरी सावित कागज गराएको हो भन्नेसमेत चन्द्रबहादुरको बयान ।

      १२.   भाद्र ९ गते विहे हेर्न गाउँमा गई १४ गते कर्फी आएकोले डाँका गरेको छैन भनी समेत बालकृष्णको बयान ।

      १३.   भाद्र १० गते १२ गते बिरामी भई घरमा छु, डाँका गर्न गएको छैन, थानामा कुटी सासना गरी साविती कागज गरी लिएको हो भन्नेसमेत बलरामको बयान ।

      १४.   फरार हुने हवल्दारको छोरा काइलो कान्छो सेते घर्ती रिफेल भन्ने मगरको हकमा फरारमा लेखी अरूका हकमा इन्साफ भएको धादिङ्ग अदालतको फैसला ।

      १५.   २०११।५।१०।१२ गतेका रातमा मैले डाँका चोरी गरेको होइन, ११ सालको तिजलाई बैनी लिन भनी ०११ साल भाद्र ११ गते थाई लामीडाँडा कटुवाल पौवामा बस्ने कान्छा मगरको घर आई बसी १२ गते बसी १३ गते बैनी लिई घर गएको छु, १० गते घरमै भएतापनि डाँका चोरी गर्न गएको छैन । चन्द्रबहादुरलाई चोर भनी मैले घोक्रा्याइदिएको रिस इवीले मात्र पोलेको हो, अरू रिस इवी केही छैन, निजहरूले किन पोलेर सर्जमिनले किन शंका गरे निजैहरू जानून् भन्नेसमेत रिफेल भन्ने दलबहादुरको इन्कारी बयान रहेछ ।

      १६.    ०११।५।१०।१२ गते जाहेरवालाको रणकुमारीको घरमा डाँका चोरी गर्न गएको अभियोग लगाएको फरार भैरहेको पक्राउ भई आएको रिफेल भन्ने दलबहादुरले बयान गर्दा इन्कार भए पनि पक्का प्रमाणको सवुत गुजार्न नसकेको मौकामा पक्राउ भई आएका चन्द्रबहादुर समेतउपर निर्णय भई फरार भईरहेको फैसलाबाट देखिएको रिफेल भन्ने दलबहादुलाई चन्द्रबहादुरसमेत जना ७ ले एकै मिलानसँग पोलिएको पक्राउ भई आएको सर्जमिनहरूले शंका गरेको भाद्र १०।१२ गते २ पटक वादीको धनमाल चोरी डाँका गरेको ठर्हछ भन्नेसमेत शुरू धा.जि.अ.को फैसला ।

      १७.   जाहेरवाला रणकुमारीको दरखास्तमा पनि म निर्देाष मानिसलाई देखाइ दरखास्त दिएको पनि छैन, सो दरखास्त र गाउँ सर्जमिन समेतलाई किटानी गरी सर्जमिन मुचुल्कामा समेत त्यस्ता कुनै प्रमाण नभएको र खड्गबहादुर मगर आफ्नो इवी रिसको मानिस भएकोले मलाइ पोल गरेको हो, मैले चोरी डाँका गरेको छैन खड्गबहादुरले मानिस चिनेको नाउँ नजानेको भनी गाउँ मिलाइ नाउँ राना मगर भनी लेखाए पोल गरेको मेरो कसूर भए अरूले पनि पोल गर्नुपर्ने गाउँ नाउँ नमिले पछि मेरोउपर कारवाई नै नचल्ने मुद्दामा अन्यायसँग ठहराइ फैसला गरेकोले चित्त बुझेन भन्नेसमेत प्र.रिफेल भन्ने दलबहादुरको पुनरावेदन जिकिर रहेछ ।

      १८.   जाहेरवाला रणकुमारीका घरमा डाँका चोरी गरेमा इन्कारी बयान गरेतापनि साक्षी सबुद गुजार्न नसकेको र बुझिएका मौका सर्जमिन सावितीहरूले गरेको मौका कागजअनुसार पुनरावेदक समेत भई २ वारदात गरी २ पटक रणकुमारीका घरमा डाँका चोरी गरेको भन्ने देखिन आएको हुनाले पुनरावेदन जिकिर मुनासिव देखिन आएन, इन्साफ शुरूबाट ठहराएको मुनासिव ठहर्छ भन्नेसमेत बाग्मती अञ्चल अदालतको फैसला ।

      १९.    शुरु धादिङ्ग जिल्लाअदालतको फैसला सदर गरी बाग्मती अञ्चलअदालतले गरेको फैसलामा चित्त बुझेन इन्साफ पाउँ भन्ने रिफेल भन्ने दलबहादुर लुँगेली मगरको पुनरावेदन ।

२०.   यसमा पुनरावेदक रिफेल भन्ने दलबहादुर लुँगेली मगर पक्राउ भई धादिङ थानाको चलानी साथ आएको भनी ०२२।९।१६ को निजको बयानमा उल्लेख भएको धादिङ थानाले पठाएको चलानी मिसिल सामेल नभएकोले सो चलानी कहाँ कुन मिसिलमा छ, सो मिसिल र दलबहादुरलाई दिएको थुनुवा पुर्जीमा उल्लेख भएको पाण्डवराज समेत सँगको चोरी मुद्दाको सनमान खड्गासँगको डाँका चोरी मुद्दासमेत अहिले हाल कहाँ कुन अवस्थामा छ ? मिसिल तहाँ भए पठाउनु र नभए कहाँ कुन अड्डामा छ ? जवाफ पठाउनु भनी धादिङ्ग जि.अ.लाई लेखी पठाई मिसिल र जवाफ आएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने मिति ०२६।१।६ को डिभिजन बेञ्चको आदेश ।

      २१.   यसमा पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुरलाई अदालतमा आई बयान गरी पोल गर्ने खड्गबहादुर सिजाले मगर देखिएको निजको बयानबाट बोका १ को भाग बण्डा २।३ पाउ मासु परेको सो खायौं र अरू धनमाल डाँका गरेको छैन भन्ने लेखेको र सो बाहेक अरूले अदालतमा आई निजलाई पोलेको नभई आफूसमेत इन्कारी रहेको देखिन आयो, अदालतबाट म्याद टाँस हुँदा रिफेले भन्ने पाले मगर देखिएको मानिस घरमा नभएकाले निजको घर दैलामा टाँसी दिएका छौं भनी अ.बं.१३६ नं.का ऐन रीत नपुगेको वेरीत म्याद तामेल भएको देखिएकोले र हाल दलबहादुर पक्री बयान हुँदा निजले इन्कार गरेको र घर धनी रणकुमारीले पनि निजको नाम किटी लेखेको देखिएन । प्रहरीमा प्रतिवादी चन्द्रबहादुर समेतको ठाडो कागजमा पनि डाँका गर्ने सल्लाह गरेको समय समेत एक मिलान साथ पोल भएका नदेखिएको र अहिले पक्राउ भई आएको दलबहादुरउपर यिनै खड्गबहादुरले पोल गरेको सनमान खड्कासमेतको डाँका मुद्दामा धादिङ्ग जिल्ला अदालतबाट निज रिफेल भन्ने दलबहादुर निर्दोष ठहरी सफाई पाएको देखिएको र त्यस्तै निजै खड्गबहादुरले पोलेको अर्को मोतीलाल समेतको चोरी मुद्दामा पनि दलबहादुरलाई सफाई दिई खड्गबहादुरले झुट्टा पोलेको ठहराई जि.अ.ले. फैसला गरेकोमा पुनरावेदनसमेत परेको देखिन नआएकोले निज रिफेल भन्ने दलबहादुरलाई झुट्टै पोलेको रहेछ भन्ने देखिन आएकोले प्रस्तुत मुद्दामा मात्र निजलाई डाँकामा पोलिएको भनी ठहराई शुरूबाट ९ वर्ष र अञ्चल अदालतबाट १५ वर्ष कैद गर्ने गरेको मिलेको नदेखिएकोले अ.बं.२०२ नं र स.अ. नियमावलीबमोजिम छलफलको निमित्त सरकारी अधिवक्ता पठाउनु भन्ने मिति ०२७।५।२१ को डिभिजन बेञ्चको आदेश ।

      २२.   वादी श्री ५ को सरकार प्रतिवादी रिफेल भन्ने दलबहादुर लुङेली मगर भएको डाँका मुद्दा ०२७।७।३।२ गतेका दिन पेश हुने भन्ने त्यस अदालतको सूचनापत्र प्राप्त हुनआयो, तत्सम्बन्धमा उक्त मुद्दाको केश फाइल निमित्त स.अ.तथा स.अ.वाग्मती अञ्चलाधीश कार्यालयमा लेखापढी चल्दै रहेको थियो । तदानुसार त्यस अदालतको सूचनापत्र पनि ०२७।७।३० गतेका दिन मात्र यस कार्यालयमा प्राप्त हुन आइ सोही दिन मै ताकेतापत्र लेखी पठाइएको हुँदा सो फाइल प्राप्त भइ नसकेकाले मुद्दा अध्ययन गर्न नपाइएको हुँदा उक्त मुद्दाको पेशीको तारेख २०२७।७।३।२ गतेका मितिबाट १ महिना जति पर सारी केश फाइल अध्ययन गर्न भ्याउने गरी समयमै सूचना पाउने समेत सम्मानित अदालत समक्ष सादरअनुरोध गरिन्छ भन्ने महान्यायधीवक्ताको कार्यालयबाट लेखिआएको हुँदा मागबमोजिम समय दिई अर्को पेशीको तारेख तोकी नियमबमोजिम पेशगर्नु भन्ने मिति ०२७।७।३ को डिभिजन बेञ्चको आदेश ।

      २३.   ०२७।५।२१।१ को डिभीजनबेञ्चबाट सरकारी अधिवक्तालाई उपस्थित गराएकोमा नेपाल गजेट भाग ४ संख्या ७ मिति ०१८।२।१६ को कानून न्याय तथा संसदीय प्रबन्ध मन्त्रालयको विज्ञप्ति बमोजिम ०१७ साल भन्दा अगाडी ०११ साल भाद्र २१ गते जाहेरवाला रणकुमारी वोहरा क्षेत्रीनीको दरखास्तबाट कारवाई भएको प्रस्तुत मुद्दामा सरकारी अधिवक्ताले बहस गर्न नमिल्ने भनी का.मु. सरकारी अधिवक्ता श्री शोमकर उपाध्यक्षले बेञ्चसमक्ष निवेदन गरेकोले प्रस्तुत मुद्दामा माथि उल्लेख भए बमोजिम छलफलको लागि अ.बं. २०२ नं. र स.अ नियमावली बमोजिम जाहेरवाला रणकुमारीलाई नोटिस म्याद पठाइ हाजिर भएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने मिति ०२७।९।६ को डिभिजन बेञ्चको आदेश ।

      २४.   यसमा पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुर लुँगेली मगरलाई कारगारबाट झिकाइ निजलाई रोहवरमा राखी निजकातर्फबाट वैतनिक विद्वान अभिवक्ता श्री सुशिलकुमारको बहससमेत सुनी निर्णय दिनेतर्फ विचार गर्दा अरूहरूको हकमा अघि फैसला भइसकेको पुनरावेदकको हकमा उस वखत मुलतवी रही हाल कारवाही भई पुनरावेदकलाई डाँका गरेको ठहराइ शुरू धादिङ जिल्ला अदालत बाग्मती अञ्चल अदालतले समेत फैसला गरेमा पुनरावेदकको पुनरावेदन परी आएको र मिसिल हेर्दा प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुँगेली मगरले डाँका चोरी गरेको हैन भनी इन्कारी बयान गरेको निजलाई पोल्ने खड्गबहादुर सिजाली मगरले डाँका चोरी गरी ल्याएको बोका काटी मासु २।३ पाउ बाँडी खाएको भनी बयान गरेको देखिन्छ । घर धनी रणकुमारीको उजुर बयानमा पनि प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुँगेली मगरको नाम किटाई लेखेको देखिंदैन । पोल गर्ने खड्गबहादुरले वादी श्री ५ को सरकार प्रतिवादी निजै खड्गबहादुर समेत भएको चोरी मुद्दामा पनि निज रिफेल भन्ने दलबहादुरलाई पोल गरेकोमा मुद्दा फैसला हुँदा झुठ्ठा पोल गरेको ठहरी रिफेल भन्ने दलबहादुरले सफाई पाई ०२४।१०।२९।३ मा धादिङ जिल्ला अदालतबाट फैसला भएको र वादी सनमान खड्गाका प्रतिवादी निजै खड्गबहादुर समेत भएको डाँका मुद्दामा पनि रिफेल भन्ने दलबहादुरलाई खड्गबहादुरले पोलेकोमा रिफेल भन्ने दलबहादुर नठहरी सफाई पाइ ०२४।१०।१ गते धादिङ जिल्ला अदालतबाट फैसला भएको देखिएकोले निज खड्गबहादुरले यो पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुरलाई मुद्दामा फँसाउन झुठ्ठा दोष लगाइ बयान गर्ने गरिआएको रहेछ भन्ने देखिएको र अरू सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदक गरिआएको रहेछ भन्ने देखिएको र अरू सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुँगेली मगरउपर कसूर गडाउको तथ्य प्रमाण देखिन नआई शंकासम्म गरेको देखिन्छ । शंका गर्दैमा कसूर अपराध गरेको ठहर्छ भनी निष्कर्षमा पुग्ने प्रमाण पुग्यो भन्न नमिल्ने हुँदा निज प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुँगेली मगरले डाँका चोरी गरेको ठहर्दैन । शुरू र अञ्चलअदालतको समेत उल्टी ठहर्छ । निजलाई धादिङ्ग जिल्ला अदालतको ०२४ बैशाख ५ गतेका फैसलाले गर्ने गरेको कैद वर्ष ९ जरिवाना रु.१६१४।७५ र बाग्मती अञ्चल अदालतको ०२५ साल बैशाख ५ गतेको फैसलाले शुरूले छुटाएको र थपसमेत भनी गर्ने गरेको कैद वर्ष ७ महिना ६समेत नलाग्ने हुँदा सो लगत काटी दिनु भनी का.श्रे.अ.त.मा लगत दिई निजलाई बन्दीबाट मुक्त गरी भनी कारागारलाई पनि लेखी पठाउनु । उल्टी भएमा जिल्ला न्यायाधीश विष्णुराज अं.अ.का न्या.घनानाथ उपाध्यायको रेकर्ड राखी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

न्या.श्री राजा इश्वरी जङ्गबहादुर सिंह

 

उक्त रायमा म सहमत छु ।

 

 

इति सम्वत् २०२८ साल वैशाख २० गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु