निर्णय नं. ८५० - लिखत जालसाजी

निर्णय नं. ८५० ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०२९ सालको फौ.फु.नं. ३५
फैसला भएको मिति : २०३१।८।२८।६
निवेदक : वैतडी जिल्ला श्रीकोट मौनाकोट बस्ने नारद जोशी
विरुद्ध
विपक्षी : ऐ.ऐ. मौनाकोट बस्ने जयानन्द जोशीसमेत
मुद्दा : लिखत जालसाजी
(१) पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजीको ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने नदेखिने ।
वादीको फिराद दावी हेर्दा मेरो हकभोगको जग्गा प्रतिवादी मिली जालसाजी गरी राजीनामा पास गरिदिएकोले जालसाजीमा सजाय गरी जालसाजी खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत वादीले दावी लिएको देखिएको र कीर्ते कागजको ३ नं. ले पनि कसैले आफ्नो हक मेटिने गरी जालसाजी व्यवहार गर्छ भने असर पर्ने व्यक्तिले जालसाजी गरे भनी जालसाजीमा फौजदारी मुद्दा गर्न पाउने नै देखिएकोले पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजी गरी राजीनामा गरेको हो होइन भन्ने ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लगाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने देखिँदैन । अतः देवानी मुद्दा चलाउनु पर्ने भनी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । डिभिजन बेञ्चको ०२८।१२।४ को फैसला बदर गरी दिएको छ । प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले इन्साफतर्फ कुनै ठहर निर्णय गरेको नदेखिनाले अञ्चल अदालतउपर प्रतिवादीको परेको पुनरावदेनमा कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी तपसीलको कलममा तपसीलबमोजिम गरी तारिखमा रहेका वादी प्रतिवादी दुवै पक्षलाई तारिख तोकी न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ अनुसार सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत नेपालगञ्जमा मिसिल नियमबमोजिम पठाइदिनु ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : महानन्दका नाममा दर्ता भएको कि.नं.५० रू.२।४० को अैरी काफ्ले खेतसमेतका पाखो खेत जग्गा मेरो हकभोग चलनको भई निजहरूका नाममा दर्ता भए पनि जिल्ला थितिबमोजिम मैले भोगचलन गरी आएकोमा विपक्षी महानन्दले तिरो बुझी रसिद गरी दिएका ०२१ सालको मालपोत बुझी रसिद गरी नदिएको महानन्द र कौसल्ला मिली रगि पुग्नेलाई साक्षी राखी रू.३,०००। को विगो हाली मेरा हकभोगको लेखिएको जग्गाको राजीनामा खडा गरी ०२०।२।१३ मा रजिष्ट्रेशन पास गराएको रहेछ । जालसाजी राजीनामा खडा गरी पास गराएको हुनाले सजाय गरी जालसाजी खडा गरेको राजीनामा लिखत बदर गरिपाउँ भन्ने समेत वादी नारदको फिरादपत्र ।
३. वादी महानन्द, पूर्णानन्द, जयानन्द दर्ताको जग्गा खाने होइन । मानदेवका सन्तान प्रजापति, ठगी दर्ताबाट खाने हो मेरो पेवाबाट अैरी खेतसमेतको रू.३,०००। दिई राजीनामा लिएको हो । जालसाजी गरेको होइन भन्ने कौशिल्ला देवीको प्रतिवादी ।
४. म महानन्दसमेतको ४ भाइ ९३ सालमा वण्डाबमोजिम जग्गा आ–आफ्ना नाममा दर्ता यो वादी ठगी जोशी दर्ताबाट खाने ठहरी फैसला भएको र फैसलाले समेत आफ्नो हक पक्का भइसकेको जग्गाको रसिद दियो होला भन्ने पत्यारै नपर्ने म महानन्दको जग्गा हुँदा कौशिल्लालाई बिक्री गरेको भन्ने महानन्द र लिनुदिनु भएबाट साक्षी बसेको हो । जालसाजी गरेको होइन भन्ने समेत भनेबाट, रजीनाथ समेत तीनैजनाको एउटै प्रतिवादी ।
५. वादीले पेश गरेको टिप्पणी रसिद गरिदिएको होइन । पद्मराज, नन्दराम, मनोरथ, वादी नारदसमेतले हस्ता मिलाई कीर्ते गरेको हो भन्ने समेत प्र.महानन्द समेतको वा.जयदेवको बयान ।
६. मैले पेश गरेको रसिद सबै हुन् । प्रतिवादीले पेश गरेको रसिद जालसाजी भन्ने समेत वादी वा.नन्दरामको बयान ।
७. कीर्ते खडा गरेको होइन, रसिद सद्दे हो भन्ने मनोरथ, पद्मराज, नन्दराम समेतको छुट्टाछुट्टै बयान ।
८. हामीले रसिद गरिदिएको होइन, कीर्ते खडा गरी पेश गरेको हुन भन्ने समेत जयानन्दको वा.समेतको पूर्णानन्दको बयान ।
९. वादीले पेश गरेको ६ थान रसिद वादी नारद र नन्दरामले कीर्ते खडा गरेको ठहर्छ, पद्मराज, मनोरथउपर कीर्ते गरे भनी झुठ्ठा जिकिर लिएको देखिन्छ, जालसाजी लिखत खडा गरेको बदर गरिपाउँ भनी झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत वैतडी जिल्ला अदालतको फैसला ।
१०. चित्त बुझेन भन्ने समेत वादी नारदमुनिको एक र मनोरथ, पद्मराजलाई कीर्तेमा सफाई दिएको चित्त बुझेन भन्ने समेत प्र.मु.महानन्द समेतको छुट्टाछुट्टै पुनरावेदन ।
११. महानन्दले काँशीलाई जालसाजीबाट मालमा नै रजिष्ट्रेशन पास गरी लिखत गरिदिएको देखिएकोले त्यसरी खडा गरेको राजीनामा लिखत जालसाजी ठहर्छ । बदर हुने ठहर्छ भन्ने समेत महाकाली अञ्चल अदालतको फैसला ।
१२. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.मु.महानन्दसमेतको पुनरावेदन ।
१३. रोपनी ८० भन्दा बढी भएमा सरकार लाग्ने कुराको बचाउ हुने जग्गा पनि अन्यत्र नजाने व्यहोरासँग जालसाजी राजीनामा गरेमा सजाय गरिपाउँ भन्ने फिराद देखिन्छ । ८० रोपनीभन्दा बढी नहुने गरी बचाउ गरे भन्नेतर्फ भूमिसम्बन्धी ऐनतर्फको मुद्दा हुन जान्छ । कीर्ते कागजको ३ नं. ले नभएको झुठ्ठा कुरा भएको छ भनेमा जालसाजी मुद्दा हुन्छ । मेरो जग्गा राजीनामा गरे गराए भन्ने कुरा हकबेहकसम्बन्धी प्रश्न हुनाले दिन नपाउने जग्गा दियो लियो भन्ने इत्यादि रूपको देवानी मुद्दा चलाउनु पर्छ । कीर्ते कागजको १० नं.बमोजिम सजाय गरी जालसाजीसँग खडा गरेको लिखत बदर गरिपाउँ भन्ने यो दावी लाग्न सक्दैन । जालसाजीको परिवन्द नपुगेको यस्तो फिराद अदालतबाट दायर गर्न हुँदैन । दायर नहुने फिरादबाट मुद्दा चलेको हुँदा महाकाली अं.अ.वैतडी जि.अ.ले गरेको फैसला मनासिव देखिएन भन्ने समेत स.अ.डिभिजन बेञ्चबाट ०२८।१२।४ मा निर्णय भएको रहेछ ।
१४. प्रस्तुत मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा कसैले हक मेटिने जालसाजी व्यवहार गर्छ भने त असर पर्नेले जालसाजी गरे भनी फौजदारी मुद्दा गर्न पनि अवश्य पाउँछ । जालसाजी उजूर गर्नै पाउँदैन । देवानी मुद्दा चलाउनुपर्छ भनी पक्षलाई कर लगाउन मिल्ने कुनै कानून छैन । जालसाजीको परिवन्द पुग्ने नपुग्ने त सबूत प्रमाणको मूल्यांकनबाट थाहा हुने कुरा हो । जालसाजीको फौजदारी मुद्दा दायर गरेकोमा हकबेहकसम्बन्धी देवानी मुद्दा बिषयमा निर्णय गर्नुपर्ने भएमा सो बिषयको बयान गराउने कोर्टफी लिने इत्यादि प्रक्रिया अनुसरण गरेर मात्र हकबेहकको समाधान गर्न सकिन्छ भन्ने लागेमा सोअनुसार कारवाई गरी अंग पुर्याउने दिशातर्फ लगाउनुपर्छ । जालसाजी दावी लाग्न सक्दैन । देवानी मुद्दा चलाउनु पर्ने भनी फिरादीलाई नियन्त्रण गर्न सकिँदैन । जालसाजीमा सजाय गराउने अभिप्राय लिई दावा गर्छ भने देवानी मुद्दा चलाउनुपर्छ भनी अदालतले पक्षको बाटो साङ्ग्राउनु मिल्ने कुरा हैन । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।
१५. निवेदकतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले प्रतिवादी आफैं तालुकदार भई निवेदक वादीबाट तिरो बुझी रसिद गरिदिएको जग्गामा हकै नपुग्ने प्रतिवादीले राजीनामा गरिदिएको लिखत जालसाजी भन्ने वादी दावी कीर्ते कागजको ३ नं. अन्तर्गतको उजूरी भएकोमा फिराद खारेज गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । इन्साफ हुनुपर्छ भन्ने समेत र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले वादीको दावीको कीर्ते कागजको ३ नं भित्रको दावी नहुनाले खारेज गरेको सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा मेरो जग्गा राजीनामा गरे गराए भन्ने कुरा हकबेहकसम्बन्धी प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने इत्यादिरूपको देवानी मुद्दा चलाउनुपर्छ । कीर्ते कागजको १० नं.बमोजिम सजाय गरी जालसाजी खडा गरेको लिखत बदर गरिपाउँ भन्ने यो दावी लाग्न सक्दैन । जालसाजीको परिवन्द नपुगेको यस्तो फिराद अदालतबाट दायर गर्न हुँदैन भनी डिभिजन बेञ्चले खारेज गरेको देखिएकोले कीर्ते कागजको ३ नं. अन्तर्गत पर्ने नपर्ने र जालसाजीमा दावी लाग्ने नलाग्ने के हो ? सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आएको छ ।
१७. वादीको फिराद दावी हेर्दा मेरा हकभोगको जग्गा प्रतिवादी मिली जालसाजी गरी राजीनामा पास गरिदिएकोले जालसाजीमा सजाय गरी जालसाजी खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत वादीले दावी लिएको देखिएको र कीर्ते कागजको ३ नं. ले पनि कसैले आफ्नो हक मेटिने गरी जालसाजी व्यहार गर्छ भने असर पर्ने व्यक्तिले जालसाजी गरे भनी जालसाजीमा फौजदारी मुद्दा गर्न पाउने नै देखिएकोले पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भन्ने जालसाजी गरी राजीनामा गरेको हो होइन भन्ने ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लगाउनुपर्छ जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने देखिँदैन । अतः देवानी मुद्दा चलाउनु पर्ने भनी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । डिभिजन बेञ्चको ०२८।१२।४ को फैसला बदर गरिदिएको छ । प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले इन्साफतर्फ कुनै ठहर निर्णय गरेको नदेखिनाले अञ्चल अदालतउपर प्रतिवादीको परेको पुनरावेदनमा कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी तपसीलको कलममा तपसीलबमोजिम गरी तारिखमा रहेका वादी प्रतिवादी दुवै पक्षलाई तारिख तोकी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ अनुसार सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत नेपालगञ्जमा मिसिल नियमबमोजिम पठाइदिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२८।१२।४ को फैसलाले देहायको कलममा देहायबमोजिम गर्ने गरेकोमा हाल सोबमोजिम गर्नुपरेन व्यहोरा जनाई सो लगत काटिदिनु भनी वैतडी जि.अ.मा लेखिपठाउन का.श्रे.अ.त.मा कानूनबमोजिम लगत दिने............................१
महाकाली अं.अ.को ०२६।९।११ को फैसलाले देहायको मानिसलाई लाग्ने गरेको जरिवाना नलाग्ने हुँदा महाकाली अं.अ.मा दाखिल गरेको रू.९३७।५० फिर्ता दिने गरेको कलम, १
मु.महानन्द जोशी के रू.३१२।५० जयानन्द जोशी के.रू.१२५। पूर्णानन्द जोशी के.रू.१२५। रगिनाथ के रू.१८७।५० कौशिला देवीको मु.स.गर्ने नित्यानन्द जोशी के रू.१८७।५० मनेभाट के गर्ने नित्यानन्द जोशी के रू.१८७।५०, मनेभाट के गर्ने गरेको जरिवाना रू.१८७।५० असुल भए फिर्ता नभए लगत काटिदिने गरेको कलम............................२
वैतडी जि.अ.को ०२४।३।१३ को फैसलाबमोजिमको लागेको जरिवाना नलाग्ने हुँदा देहायबमोजिम नलाग्ने भनी लगत दिने गरेको कलम..................३
महानन्द जोशी कै वैतडी जि.अ.मा दाखिल गरेको शुरू जरिवाना रू.३।६० पुनरावेदन गर्दा वैतडी जि.अ.मा धरौट राखेको रू.१।८ मध्ये ।३६ समेत रू.३।९६ जयानन्द के ऐ.ऐ.ऐ.३।५६, पूर्णानन्दकै वैतडी जि.अ.मा बुझाएको रू.३।६० पुनरावेदन गर्दा वैतडी जि.अ.मा राखेको रू.१।८० मध्ये रू.।३६ समेत रू.३।९६, नारद जोशी के बैतडी जि.अ.मा बुझाएको रू.३७५। नन्दराम जोशी के ०२४।४।९ मा बुझाएको ३२।४४ र ०२४।७।४ मा बुझाएको रू.१०।८० समेत रू.४३।२४ देहायको साक्षीहरू के बैतडी जि.अ.को ०२४।३।३ को फैसलाले लाग्ने गरेको जरिवाना देहायबमोजिम असुल भए फिर्ता र नभए लगत काटिदिने गरेको कलम......................४
तारा भट के रू.१। मान सिं के रू.१। केशवराज जोशी के रू.१। लाल सिं के रू.१। उल्टीमा देहायको न्यायाधीशहरूको रिकर्ड राख्ने गरेकोमा हाल सोबमोजिम गर्नुपर्दैन भनी सर्वोच्च अदालत प्रशासन शाखामा सूचना गर्ने......................५
महाकाली अञ्चल अदालतको अञ्चल न्यायाधीश त्रिलोकप्रताप राणा,१ वैतडी जि.अ.को जि.न्या.पशुपति खरेल, १
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३१ साल मार्ग २८ गते रोज ६ शुभम् ।