शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५१ - हाडनाता करणी

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८५१                 ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२५ सालको फौ.पु.नं. ४००

फैसला भएको मिति  : २०२९।८।१९।२ मा

पुनरावेदक : पर्वत पैयु बस्ने मु.कृष्णप्रसाद खडाल

विरुद्ध

विपक्षी : ऐ. सर्खुश्वारा बस्ने उमाकान्त खडाल

मुद्दा : हाडनाता करणी

(१)   करणी गर्ने अनुकुल वातावरण नभएको र सरजमिनले पनि शंकासम्म नगरेकोमा करणी गरेको ठहराउन नमिल्ने ।

            गुमाले अदालतमा गरेको बयानमा कृष्णप्रसाद मेरो फुपू नाता पर्ने हुँदा निजले मलाइ रातमा खानलाई आफ्ना घरमा बोलाए, खानपीन गर्दा अबेला भएकोले निजकै घरमा सुतें । करणी लिनुदिनु भयो । सुतेको घरमा निज कृष्णप्रसादकी स्वास्नी, छोरी पनि सोही घरमा सुतेका थिए । निजको स्वास्नीले सो करणी भएको थाहा पाए पनि गाली गरेन, कहिले पनि केही भनिन । कृष्णप्रसादसँग हासख्याल हुँदैनथ्यो भन्ने समेत लेखाएको देखिएकोले उक्त गुमाको बयानबाट कृष्णप्रसादले रातमा खानलाई बोलाएकोमा खानपिन गर्दा अबेला भएकोले निजकै घरमा सुती करणी लिनुदिनु भएको भन्ने र सो घरमा कृष्णप्रसादको स्वास्नी छोरी पनि सुतेका थिए भन्ने देखिन्छ । तर खानाको निमित्त आफ्ना घरमा बोलाएको पाहुनालाई स्वास्नी छोरीहरू भएकै घरमा गुमालाई करणी गर्ने अवस्था नदेखिएको त्यसअघि पुनरावेदकसँग हाँसख्याल नभएको भन्ने निज गुमाकै बयानबाट देखिन आएको छ । पुनरावेदक कृष्णप्रसादको स्वास्नीले करणी भएको थाहा पाए पनि गाली गरेन भन्ने पनि बयान लेखाई देखिन्छ । आफ्नो लोग्नेको अरू आइमाइसँग अनुचित सम्बन्ध भएको कुरामा निजले समेत केही नभनी चुप लागी बस्ने स्थिति नदेखिएकोले समेत गुमाको उक्त बयान गराई पत्यारलायकको देखिँदैन ।

(प्रकरण नं. ११)

            मिसिलसाथ रहेको २०२४।२।३ को सरजमिन मुचुल्कामा बस्ने डिल्लीराम शर्मासमेतका अधिकांश व्यक्तिले गुमाको करणी गरेमा कृष्णप्रसादका हकमा शंका लाग्दैन भनी प्रष्टरूपले लेखाएको देखिन्छ । यदि कृष्णप्रसादले गुमाको करणी गरेकै भए ति सर्जमिनमा बस्ने व्यक्तिले शंका देखाई भन्नु र लेखाउनुपर्नेमा शंका लाग्दैन भनी भन्न र लेखाउन अवस्थासमेत नभएबाट उक्त सर्जमिनका अधिकांश व्यक्तिले पुनरावेदक कृष्णप्रसादउपर शंकासम्म पनि गरेको देखिँदैन ।

(प्रकरण नं. १२)

पुनरावदेक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

विपक्षी तर्फबाट      : मुकुन्द रेग्मी

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह

            १.     न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ अन्तर्गत प्रस्तुत पुनरावेदन परी यस डिभिजन बेञ्चसमक्ष पेश हुन आएको छ ।

            २.    तथ्य यसप्रकार छ : गुमा जैस्यानीलाई २०१९ साल जेठ महिनामा विवाह दान गरी घरमा ल्याई राखेको थिएँ । छुट्टी भिन्न हुनुभएका दाजु नारायणदत्त मामाका छोराहरूलाई समेत भेटघाट गरी आउनुपर्‍यो भन्ने मेरो विचार आई घरमा नाबालख छोरा २ र निज गुमालाई छाडी २०२१ साल श्रावण २२ गते घरबाट हिँडी कलकत्तामा र त्यसपछि आसाम नगरकट्टी भन्ने ठाउँमा गई बसेको थिएँ । हाल मार्ग १५ गतेमा मात्र घरमा आइपुगेको लेखिएअनुसार ठाउँठाउँमा गएको घरमा नभएको मौका २०२१ साल भाद्र २४ गतेका रातमा निज विपक्षमध्येका गुमा शशिधर मेरो घरको बाहिरी पिँडीमा एकैधुर गरी सुतेका रहेछन्, दाजु काशीराम जाँदा विपक्ष गुमा र शशिधर एकै ओछ्यानमा सुतिरहेको देख्नुभएछ । शशिधर भागी गएछ । निज गुमा केही दिन नावालख छोराहरूको संरक्षण गरी बस भनी भन्नुभएछ । कारवाई गर्छन् भन्ने डरका मारे निज गुमा रातको बीचमा भागी गइछ । दाजु काशीरामले २०२१।६।३ मा हु.द्वारा जाहेरी पनि गर्नुभएछ । हाल थाहा पाएबाट सुराक पत्ता लगाउँदा यही मार्ग २० गते निजकै माइतीघर नुलिमी मगरा सिरुवारी गुरायी घरमा फेला पारी पक्राउ गरी सोधपुछ गर्दा २०१९ सालको चैत महिनामा प्रधानपञ्च मु.कृष्णप्रसाद खनालसँग करणीमा बिग्रेकी र त्यसपछि २०२१ साल वैशाख महिनादेखि देवर नाताका माष्टर शशिधरसँग करणीमा बिग्रेकी थिएँ । त्यसपछि मौका पर्दा नाठाहरूसँग करणी हुँदै गथ्र्यो, २०२१ साल आषाढ महिनाको नाठो शशिधरसँगको करणी वीर्यबाट हाल पेटमा ६ महिनाको गर्भजातक छ भनी निज गुमा सावित भएकी नाठाहरू दुवैजनालाई खोजतलास गर्दा फेला नपरेका विपक्षी गुमालाई यस अड्डाबाट खोरखेर गरी निज नाठाहरूलाई पक्राउ गरी त्यस्तो ५ पुस्ताभित्र कि भाउजू नाताकी गुमाको करणी गरेबापत शशिधर खडाललाई हाडनातामा करणी गर्नेको ४ नं.का कानूनबमोजिम १ बर्षसम्म कैद र नाठो मु.कृष्णप्रसादका हकमा दोस्रो परी गुमाको करणी गरेबापत जारीका २ नं.का कानूनले विवाह खर्चवापतमा गर्न पाउने खतमध्ये ५ बर्ष कैद गराई र दोस्रो पारी नाठो कृष्णप्रसादलाई करणी दिएबापतमा विपक्षी गुमालाई जारीका ४ नं.बमोजिम नाठो कृष्णप्रसादलाई हुने कैद बर्ष ५ को ४ खण्डको १ खण्ड कैद बर्ष १।३ कैद र नाठो शशिधरलाई हाडनातामा करणी दिएमा निजलाई कैद बर्ष १ सम्म हुने हुँदा त्यसको उक्त जारीको ४ नं.बमोजिम ४ खण्डको १ खण्ड कैद महिना ३ समेत जम्मा १।६ एक बर्ष ६ महिना कैदको सजाय गरिपाउँ भन्ने समेत वि.उमाकान्तको फिराद परी प्रस्तुत मुद्दा चलेको रहेछ ।

      ३.    प्रतिपक्ष गुमाले २०१९ साल चैत महिना हो गते बारको सम्झना छैन । निज कृष्णप्रसाद मेरा फुपू नाता पर्ने हुँदा रातमा खानलाई आफ्ना घर बोलाए । खानपिन गर्दा अवेला भएकोले निजकै घरमा मझेरीमा सुतें । रात आधा गएका बखत कृष्णप्रसाद एकाएक उठी मेरो विछ्यौनामा आई करणीको आसयले मलाई समाउँदै हुँदैन भन्दा, डर मान्नु पर्दैन केही हुँदैन भन्दा उत्तर शिर, दक्षिण गोडा गरी सुतें र करणी लिनु दिनु भयो त्यसको वाद पनि मौका पारी निजै कृष्णप्रसादको घरमा बराबर करणी लिनुदिनु हुन्थ्यो २०२१ साल भाद्र महिनापछि निज कृष्णप्रसादसँग करणी लिनुदिनु भएको छैन । २०१९ साल चैतमा कृष्णप्रसादसँग प्रथम करणी भएको अवस्था म सुतेको घरमा निजकी स्वास्नी मेरो फुपू नाता पर्ने १, बर्ष ८ र २ कि छोरी पनि सोही घरमा सुतेका थिए । निजको स्वास्नी सो करणी भएको थाहा पाए पनि गाली गरिनन् । कहिले पनि केही भनिन् कृष्णप्रसादसँग बराबर निजकै घरमा करणी लिनुदिनु भएको छ । २०२१ साल वैशाखमा हो गते बारको सम्झना छैन । वनमा गएको त्यहाँबाट भारी लिई आउँदा साँझ परिसकेको थियो । शशिधरको घरनिर पुग्दा अँध्यारो हुन लागेको निजको घरको छेउमै रहेको बारी पाटोमा स्याउँला बिसाएको करणी गरौं कसैले देख्दैन केही हुन्न भन्दा मेरो इच्छा भई लोग्नेदेखि तेस्रो परी निजसँग करणी भयो, त्यसपछि निजसँग बराबर करणी लिनुदिनु हुँदैथियो । २०२१ साल भाद्र महिनामा निज शशिधरसँग करणी लिनुदिनु भइरहेको अवस्था मेरो जेठाजु काशीराम आई हामी दुवैलाई समाते हामी दुवै भागी आषाढ महिनामा म रजस्वला भएको ५ दिनका दिन शशिधरसँग करणी भएको, त्यसपछि मेरो रजस्वला बन्द भएकोले निजैको करणी वीर्यबाट गर्भ रहेको हो । कृष्णप्रसादसँग हासख्याल हुँदैनथियो । शशिधरसँग बराबर हाँसख्याल हुन्थ्यो, गाउँलेले थाहा पाउँ तर कसैले केही भनेन भन्ने समेत बयान गरेको रहेछ ।

      ४.    प्रतिपक्ष कृष्णप्रसाद, शशिधरले आफ्नो प्रतिवादीमा महेन्द्रजोति निकुञ्ज प्राइमरी आठौं कक्षाको शाखा स्कुलमा उमाकान्तलाई सेक्रेटरी बनाई दैनिक प्रशासन चलाउने र माष्टरलाई तलव खुवाउने गरी आएको शशिधरलाई पनि महिना १ को रू.४०। खाने माष्टरमा भर्ना गरी पढाइ चालु भएको ९ महिनाको तलव नदिएकाले शशिधर भन्न आएकोले शशिधरको तलव रोक्न भए दिनुपर्‍यो भनी भन्दा हुन्छ दिन्छु भनी गएपछि महिना ३ को रू.१२०। मात्र दिई ६ महिनाको बाँकी नै राखी दिएछ । हिसाव किताप लिन खोजेकै अवस्था २०२१।४।२२ मा भैरहवा कलकत्तातर्फ गएको उमाकान्तको श्रीमती कान्छी गुमा अग्नीधर भन्नेसँग बुढामावलीमा बसी वन मेलापात गर्दा निज अग्नीधरसँग प्रेम प्रीति बसी घरमा र माइतीमा समेत नबसी धेरैजसो बुढामावली मै बसी आएकी भन्नेकुरा निज उमाकान्त घरमा नभएको अवस्था उमाकान्तको दाजु काशीरामले थाहा पाएछ । निज काशीराम गुमाको माइतीमा गई सोधपुछ गर्दा अग्नीधरसँग पोइल गइसकी रे भन्दा सुनिएको छ । उतै खोजतलास गरी जो गर्नुपर्छ गर्नुहोस् भनी जवाफ दिएछन् । जाहेरीसम्म गरी आएँ । जो गर्नु पर्ला भाइ नै आई गर्ला भनेका थिए भैरहवाबाट घरमा आइपुगेपछि सहकारीको हिसाब पनि दिनुपर्छ यस्तो बेहिसाब गरी ठालु बन्न पाइँदैन भन्दा भनाभन हुँदा हाम्रो प्रति दागा धरेको सफल भएपछि दामासाही गरी खाने मलाई लालबहादुरलाई सहु गराउने र दिवाकर प्रजापति अन्तरसाक्षी हुने गरी म शशिधरका विक्षिप्त भएका बाबु जयनारायणलाई फर्काई रू.७०००। को बेदामी बन्धकी पास गराएछन् । हामी शशिधर कृष्णप्रसादले निजका सौंपुवा फिराद र गुमाका बयानबमोजिम निज गुमाको करणी गरेका र गर्भ रहेको भनेको समेत नै कुरा होइन । इवी साधन गर्न र बेदामी जालसाजीको प्रमाण खडा गर्न झुठ्ठा कपोलकल्पित अरोट सिकावटी सिर्जना गरी झुठ्ठै पोलावत गरेका मात्र हुन् । कृष्णप्रसादको घरमा प्रशस्त जहान भएका र युवती स्त्री भएकी भन्ने वादी निजकै बयानबाट देखिन आएको भएपछि घरको श्रीमतीको साथमा रही लेखबमोजिम गुमासँग करणी गरे होला भनी कसरी प्रतीत पर्ला । अन्यत्र हासख्याल हुन्थ्यो वन मेलापातमा करणी गरेको भन्न गुमाले सकेको छैन । शशिधरसँग करणी हुँदाहुँदै एकै घुरमा पक्रेको भई सावित भएका भए त्यस्तो हाडनातामा करणी दिएको देखी पक्री सावित भएकी गुमालाई बालबच्चा पाली बस भनी काशिरामले कुन रीति नीतिको फजुलको आधारमा भन्नु भन्ने नभई तुरुन्तै शशिधरलाई समेत पक्राउ गरी सौंपुवा गर्नुपर्ने अग्नीधरसँग पोइल गई निजका करणी वीर्यबाट गर्भसमेत बोकिएकी गुमालाई सकली नाठो अग्निधरलाई छिपाई हामीलाई झुठ्ठा करणीको दोष लगाई पोल्ने पोलाउने गरेमा कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत जिकिर लिएको रहेछ ।

      ५.    पर्वत जिल्ला अदालत कुश्माले शशीधरको हकमा डिसमिस भएको र कृष्णप्रसादका उजूरीका हकमा बुझिएका सबूतप्रमाण परिबन्दबाट वादी उमाकान्त समेतले यी प्रतिवादीलाई जालसाजीबाट करणी पोल्ने पोलाउने गरेको नठहरी सो जालसाजी मुद्दा आजै किनारा भएको भन्दै मिसिल रोहबाट प्र.गुमालाई विक हितेको सन्ते डगाई दोस्रो पारी कृष्णप्रसादले र तेस्रो पारी शशिधरले करणी गरेको ठहर्छ भनी गरेकोमा गण्डकी अञ्चल अदालतले गुमाको दोस्रो परी करणी गर्ने कृष्णप्रसाद र तेस्रो शशिधर ठहर्छ । जारी खतमा प्र.कृष्णप्रसादलाई कैद गराउन पाउने ठहराई छिनेको इन्साफ पर्वत जिल्ला अदालतको मनासिव छ भनी निर्णय गरेको रहेछ ।

      ६.    यसमा पुनरावेदक कृष्णप्रसाद खडालले गुमाको करणी गरे नगरेको के हो सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      ७.    पुनरावेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री लवदेव भट्टले हाडनाता र जारी दुवै कुराको एउटै नालिस लाग्न नसक्ने फिरादीले गुमालाई सौंपुवा गर्ने कानूनमा व्यवस्था छैन । यसबाट फिरादीले गुमालाई सिकाएको भन्ने प्रष्ट छ । गुमाको बयानमा पुनरावेदक कृष्णप्रसादसँग हासख्याल हुँदैन भन्ने लेखिएको छ । यस्तोमा पुनरावेदक कृष्णप्रसादले करणी गरेको हो भन्नेकुरा देखिन आउँदैन । अधिकांश सर्जमिनले शंका लाग्दैन भनेको छ, तसर्थ पुनरावेदकले सफाई पाउनुपर्दछ भनी र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले एकै बिषयको वादी हुँदा नालिस लाग्न सक्ने नै हो । गुमाले कृष्णप्रसादलाई र शशिधरलाई पोलेको छ । अर्कासँग करणीमा बिग्रेको मानिसले पहिलो लोग्नेको नियन्त्रणमा रहन नसक्ने हुँदा गुमालाई सिकाएको भन्ने कुरा देखिँदैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

      ८.    गुमालाई तेस्रो पारी शशिधरले करणी गरेको ठहराई शुरूले रू.१००। जरिवाना गरेकोमा त्यसतर्फ शशिधरले पुनरावेदन नगरी चित्त बुझाई बसेको र उक्त सजायमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन समेत पर्न नआएको हुनाले त्यसतर्फ विचार गर्नुपरेन ।

      ९.    वादीले आफ्नो फिरादपत्रमा कृष्णप्रसादको हकमा वादीको सत्य ंिसंदुर डगाई दोस्रो परी गुमाको करणी गरेवापत जारीका २ नं कानूनले विवाह खर्च वापतमा गर्न पाउने खतमध्ये ५ बर्ष कैद गराइपाउँ भन्ने समेत दावी लिएको र प्रतिवादी गुमाले अदालतमा गरेको बयानमा २०१९ सालमा कृष्णप्रसादसँग प्रथम करणी भएको २०२१ सालमा शशिधरसँग तेस्रो परी करणी भयो भन्ने समेत उल्लेख गरेकोबाट गुमाले करणी गरेमा पुनरावेदक कृष्णप्रसादलाई समेत पोल गरेको देखिन्छ ।

      १०.    वादीले फिरादपत्रमा दाजु काशिरामले गुमा र शशिधर एकै ओछ्यानमा सुतिरहेको देख्नुभएछ । शशिधर भागी गएछ । गुमालाई दाजुले सोधनी गर्दा देवर शशिधरसँग अघि २०२१ सालदेखि नै करणीमा बिग्रेकी छु भनी मुख सावित भएकी भन्ने समेत उल्लेख गरेको देखिन्छ । तर २०१९ सालमा गुमा र कृष्णप्रसादको बीचमा करणी लिनुदिनु भएको कुरा गुमाले भनेको थियो भनी वादीले फिरादपत्रमा लेख्न सकेको देखिएन । २०२१ सालमा अदालतमा आई २०१९ सालमा कृष्णप्रसादसँग प्रथम करणी भएको भनी भन्न सक्ने गुमाले वादीको दाजु काशिरामले सोधनी गर्दा पनि सो कुरा भन्न सक्नु पर्ने थियो । तर त्यसरी कृष्णप्रसादसँग करणी लिनुदिनु भएको छ भनी उस अवस्थामा भन्न सकेको देखिँदैन ।

      ११.    गुमाले अदालतमा गरेको बयानमा कृष्णप्रसाद मेरो फुपू नाता पर्ने हुँदा निजले मलाइ रातमा खानलाई आफ्ना घरमा बोलाए, खानपीन गर्दा अबेला भएकोले निजकै घरमा सुतें । करणी लिनुदिनु भयो । सुतेको घरमा निज कृष्णप्रसादकी स्वास्नी, छोरी पनि सोही घरमा सुतेका थिए । निजको स्वास्नीले सो करणी भएको थाहा पाए पनि गाली गरेन, कहिले पनि केही भनिन । कृष्णप्रसादसँग हासख्याल हुँदैनथ्यो भन्ने समेत लेखाएको देखिएकोले उक्त गुमाको बयानबाट कृष्णप्रसादले रातमा खानलाई बोलाएकोमा खानपिन गर्दा अबेला भएकोले निजकै घरमा सुती करणी लिनुदिनु भएको भन्ने र सो घरमा कृष्णप्रसादको स्वास्नी छोरी पनि सुतेका थिए भन्ने देखिन्छ । तर खानाको निमित्त आफ्ना घरमा बोलाएको पाहुनालाई स्वास्नी छोरीहरू भएकै घरमा गुमालाई करणी गर्ने अवस्था नदेखिएको त्यसअघि पुनरावेदकसँग हाँसख्याल नभएको भन्ने निज गुमाकै बयानबाट देखिन आएको छ । पुनरावेदक कृष्णप्रसादको स्वास्नीले करणी भएको थाहा पाए पनि गाली गरेन भन्ने पनि बयान लेखाई देखिन्छ । आफ्नो लोग्नेको अरू आइमाइसँग अनुचित सम्बन्ध भएको कुरामा निजले समेत केही नभनी चुप लागी बस्ने स्थिति नदेखिएकोले समेत गुमाको उक्त बयान गराई पत्यारलायकको देखिँदैन ।

      १२.   मिसिलसाथ रहेको २०२४।२।३ को सरजमिन मुचुल्कामा बस्ने डिल्लीराम शर्मासमेतका अधिकांश व्यक्तिले गुमाको करणी गरेमा कृष्णप्रसादका हकमा शंका लाग्दैन भनी प्रष्टरूपले लेखाएका देखिन्छ । यदि कृष्णप्रसादले गुमाको करणी गरेकै भए ति सर्जमिनमा बस्ने व्यक्तिले शंका लाग्दैन भनी भन्न र लेखाउने अवस्थासमेत नभएबाट उक्त सर्जमिनका अधिकांश व्यक्तिले पुनरावेदक कृष्णप्रसादउपर शंकासम्म पनि गरेको देखिँदैन ।

      १३.   अतः उपरोक्त उल्लेख गरेबमोजिम भएबाट पुनरावेदक कृष्णप्रसादले गुमाको करणी गरेको हो भनी भन्न ठहराउन न्यायोचित नदेखिएबाट निज पुनरावेदक कृष्णप्रसादले गुमाको करणी गरेको ठहर्दैन । गुमालाई विवाहितको सत्ते डगाई दोस्रो पारी कृष्णप्रसादले करणी गरेको ठहराएको सम्म शुरू र अञ्चल अदालतको इन्साफ मिलेको देखएन । देहायबमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक मु.कृष्णप्रसाद खडाल जैसीके माथि इन्साफ खण्डमा लेखिएबमोजिमको भएकोले शुरू र अञ्चल अदालतका देहायको मितिको फैसलाले गर्ने गरेको देहायबमोजिम कैद जरिवाना नलाग्ने हुँदा देहायबमोजिम गर्नु भनी पर्वत जिल्ला अदालतलाई सूचना गर्न लगत दिनु.....................१

पर्वत जिल्ला अदालत कुस्माको २०२४।५।१५ को फैसलाले गर्ने गरेको कैद बर्ष एक १।। गण्डकी अञ्चल अदालतको २०२५।३।२९ को फैसलाले गर्ने गरेको जरिवाना रू.३५। असुल भएको भए फिर्ता नभए व्यहोरा नजनाई लगत दिने रू.३५। पुनरावेदक ऐ.सर्वोच्च अदालतले पुनरावेदन गर्दा स.अ.ल.न.विभागमा २०२५।४।३० मा बुझाएको धरौट रू.१।७५ नलाग्ने हुँदा कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी लगत दिने.....................२

केही उल्टीमा पर्वत जि.अदालतका का.मु.जि.न्या.सूर्यमान श्रेष्ठको रिकर्ड राख्न स.अ.जनरल विभागमा लेखी पठाइदिनु...........३

फैसला भएको जनाउ पुनरावेदकलाई दिई मिसिल नियमबमोजिम गरी बुझाइदिनु...................४

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०२९ साल मार्ग १९ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु