शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं ८५३            ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् ०३१ सालको रिट नम्वर १५२९

आदेश भएको मिति  : २०३१।१०।२० मा

निवेदक : सिन्धुली जिल्ला भिमेश्वर सुर्कोट गा.पं.वडा नं.३ बस्ने नरविक्रम थापा

विरूद्ध

विपक्षी : श्री भुमिसुधार अधिकारी भिमबहादुर गुरुङ भू.सु.अ.कार्यालय, सिन्धुलीसमेत

बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   मोहिकै लगत दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेर भएको कारणवाट भने व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको नदेखिने ।

            यसमा भू.सं.ऐन, ०२१ को दफा २६ अनुसार मोहीको हक नजिक परी निजको पत्नी वा अन्य छोराहरू समेतमा जग्गावालाले पत्याएको व्यक्तिलाई दिन सक्ने अधिकार भएकोमा दर्तावाला मोही भक्तबहादुर जीवित छँदै अन्य व्यक्तिलाई भू.स.अ.ले मोही कायम गरेको त्यसलाई मान्ने बाध्य गराउन मिल्दैन भन्ने निवेदन जिकिर देखिन्छ भू.स.अ.ले भक्तबहादुर ७१ बर्षको बुढाले खेती गरी जग्गावालालाई बाली बुझाएको भन्न नमिल्ने भन्दै सनकबहादुर र बाबु भक्तबहादुर सगोल एकाघरकै देखिनाले भू.सं.ऐनको दफा २५ को उपदफा २ बमोजिम उल्लिखित जग्गाको मोही सनकबहादुरकै ठहर्छ भन्ने समेत निर्णय गरेको देखिन्छ यसरी मोहीको लगतमा दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेरको भएको कारणबाट अर्को व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको र अधिकार भू.सं.ऐन, ०२१ को दफा २५ को २ अन्तर्गत विपक्षीलाई मोही कायम गरेको देखिन्छ तर सो बमोजिम मोही कायम गर्न उक्त ऐनको दफा ३४ को १ बमोजिम कबुलियत हुनपर्ने बाध्यात्मक व्यवस्था छ त्यसको आधार लिई भू.सु.अ.ले निर्णय गरेको देखिँदैन ।

 (प्रकरण नं. ८)

आदेश

     न्या. हेरम्बराज

      १.     भूमिसुधार अधिकारीको ०३१।२।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।

      २.    तथ्य यस प्रकार छ : माझी भन्ने खेत मुरी १८।१३ मेरो पिता भक्तबहादुर कार्कीले ०१२ सालदेखि बर्ष १ को धान बाली आधा मात्र जग्गाधनीलाई बुझाउने गरेको थियो मेरो पिता मोही कायम भए पनि बृद्ध अवस्थाको हुँदा मेरो नाउँमा मोहायानी हक कायम गरिपाउँ भन्ने निवेदक सनकबहादुर कार्कीको उजूर निवेदन रहेछ । उक्त जग्गाको लसुन प्याज लेखिएको उब्जनी मध्ये आधा निवेदकलाई र आधा निजको बाबु भक्तबहादुरलाई प्रधानपञ्च समेत बसी भाग लगाई दिएको हो भन्ने समेत बलबहादुर थापाको बयान र उक्त जग्गा विमलबहादुरसँग चौलाराजले हक साफी गरी लिनु भई निजसँगबाट मेरो छोरा नरविक्रम थापाले र बलबहादुर थापा समेतले आधा आधा राजीनामा पारित गरी लिएको हो सो जग्गा भक्तबहादुरकै नाउँमा मोहियानी कायम छ भन्ने खड्गीबहादुर थापाको बयान भएकोमा भू.सु.ऐन, ०३१ को परिच्छेद ७ को संशोधित दफा २५ बमोजिम कारवाही हुने हो तापनि निवेदक सनकबहादुर र बाबु भक्तबहादुर सगोल एकाघरकै देखिनाले ऐ.ऐ.को दफा २५ को उपदफा २ बमोजिम उल्लिखित जग्गाको मोही सनकबहादुर नै ठहर्छ भन्ने समेत भू.सु.अ.को निर्णय ।

      ३.    उक्त निर्णय बदर गरिपाउँ भनी यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् : विपक्षी अधिकारीज्यूले निर्णय गर्दा मुख्यतः भूमिसम्वन्धी ऐन, ०२१ को दफा २५ (२) को आधार लिनु भएको छ जुन मिथ्या धारणाबाट प्रेरित भई ऐनको प्रयोग गरेको भन्ने कुरा ऐनको व्याख्या र निर्णयको अनुहारले नै प्रष्ट गर्दछ । दर्तावाला मोही ७१ बर्षको बुढो भएकोले भन्ने पनि निर्णयमा उल्लेख छ । मोहीको उमेरको हदबन्दीबारे कानूनी व्यवस्थाको अभावमा यस्तो तर्क लिनु अनुचित र गैरकानूनी हो । ऐनको परिच्छेद ७ र ८ मा दर्तावाला मोही फेरबदल हुन सक्ने अवस्थाहरूको व्यवस्था ऐनले नै गरेको छ सो अवस्था वाहेक दर्तावाला मोही कायम छँदै कानूनको अख्तियारी बिना र जग्गावालाको मञ्जूरी बेगर मोही परिवर्तन हुन सक्दैन यसरी आफू खुसी भूमिसुधार अधिकारीलाई मोही परिवर्तन गराउन पाउने अधिकार कानूनले प्रदान गरेको छैन ।

      ४.    विपक्षी भू.प्र.का.को लिखितजवाफमा सनकबहादुर भक्तबहादुरको सगोलको छोरा भएको र भक्तबहादुर ७१ बर्षको वृद्ध मानिसले जग्गा कमाएको भन्न नमिली विमलबहादुरका भरपाई बमोजिम सनकबहादुरको नाउँमा मोहियानी हक कायम गरिएकोमा सो निर्णय न्यायपूर्ण तरीकाले भएको छ भन्ने समेत उल्लेख भएको रहेछ ।

      ५.    विपक्षी सनकबहादुरका लिखितजवाफमा अ.बं.८२ नं अनुसार हेर्ने हो भने आफ्नो हक नपुग्ने बिषयमा निवेदन लाग्न नसक्ने व्यवस्था प्रष्टै छ अ.बं.८२ नं. ले यो रिट निवेदन स्वतः खारेज हुनुपर्छ भन्ने समेत उल्लेख भएको रहेछ ।

      ६.    निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      ७.    निवेदकतर्फका विभिन्न अधिवक्ता बलरामप्रसाद काफ्लेले प्रस्तुत मुद्दामा भू.सु.अ.ले मोही जीवित छँदाछँदै निजको छोराको नाउँमा मोहियानी हक हस्तान्तरण गरिदिएको छ जुन गैरकानूनी छ मोही मरिसकेपछि जग्गावालाले पत्याएको मोहीको पत्नी वा छोरा मध्ये कसैलाई जग्गा कमाउन दिन सक्नेछ भनी कानूनी व्यवस्था भएको पाइन्छ भन्ने समेत र विद्वान अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्यायले छोरा सनकबहादुरले जग्गावालाबाट पाएको मिति ०३० सालको बाली बुझेको भरपाई पेश भएकोले छोरा सनकबहादुरलाई मोही कायम गरेको न्यायोचित छ भन्ने समेत बहस गर्नुभयो ।

      ८.    यसमा भू.सं.ऐन, ०२१ को दफा २६ अनुसार मोहीको हक नजिक परी निजको पत्नी वा अन्य छोराहरू समेतमा जग्गावालाले पत्याएको व्यक्तिलाई दिन सक्ने अधिकार भएकोमा दर्तावाला मोही भक्तबहादुर जीवित छँदै अन्य व्यक्तिलाई भू.स.अ.ले मोही कायम गरेको त्यसलाई मान्ने बाध्य गराउन मिल्दैन भन्ने निवेदन जिकिर देखिन्छ भू.स.अ.ले भक्तबहादुर ७१ बर्षको बुढाले खेती गरी जग्गावालालाई बाली बुझाएको भन्न नमिल्ने भन्दै सनकबहादुर र बाबु भक्तबहादुर सगोल एकाघरकै देखिनाले भू.सं.ऐनको दफा २५ को उपदफा २ बमोजिम उल्लिखित जग्गाको मोही सनकबहादुरकै ठहर्छ भन्ने समेत निर्णय गरेको देखिन्छ यसरी मोहीको लगतमा दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेरको भएको कारणबाट अर्को व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको र अधिकार भू.सं.ऐन, ०२१ को दफा २५ को २ अन्तर्गत विपक्षीलाई मोही कायम गरेको देखिन्छ तर सो बमोजिम मोही कायम गर्न उक्त ऐनको दफा ३४ को १ बमोजिम कबुलियत हुनपर्ने बाध्यात्मक व्यवस्था छ त्यसको आधार लिई भू.सु.अ.ले निर्णय गरेको देखिँदैन ।

      ९.    अतः उपरोक्त कारणबाट भू.स.अ.को ०३१।२।२० को निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउँन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् ०३१ साल मार्ग २० गते रोज ५ शुभम ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु