शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५४ - ठगी

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं ८५४            ने.का.प. २०३१

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२४ सालको फौ.पु.नं. ५२०।५४१

फैसला भएको मिति  : २०२८।९।२९।५ मा

पुनरावेदन : का.इ. ठमेल बस्ने भगिरथ नरसिं प्रधान

विरुद्ध

विपक्षी : का.ई. जुद्ध सडक बस्ने वि.एल.शर्मा भन्ने विश्वम्भरलाल शर्मा, इन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौं स्थित अफिसर इन्चार्ज का.ई.कुपन्डोल बस्ने सत्यदास गुडा

मुद्दा : ठगी

(क)  जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम पूरा गरेको नदेखिए पछि धोका दिएको होइन भन्न नमिल्ने ।

(ख)  हिस्सेदारको रूपबाट दिएको रूपैयाँ आफूतर्फबाट दाखिला गरेकोमा बेइमानीको नियतले धोका दिई गफलतमा पारी ठगी गरेको प्रष्ट हुने ।

            अब प्रतिवादी वि.एल.शर्माले वादीबाट लिएको रूपैयाँ वादी दावी बमोजिम गफलतमा पारी ठगी गर्दै जाने कार्य गरेको हो होइन भन्नेतर्फ हेर्दा यिनै वादी प्रतिवादीहरूको हरहिसाब दिलाई पाउँ भन्ने मुद्दाको मिसिलसाथ रहेको वि.एल.शर्मा आगे भई भगिरथ नरसिंहलाई गरी दिएको ०१२।३।२१ को साझा हिस्सेदारको कागजको दफा १ मा आधा आधा हिस्सेदारमा तपाईं भगिरथ नरसिंहलाई पनि कायम गरिएको छ भन्ने समेत लेखिएको देखिन्छ सोही मुद्दाको मिसिलसाथ रहेको मिति ६ नोभेम्बर १९५५ को वि.एल.शर्माले असिस्टेन्ट ट्राफीक मैनेजर इयन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौंलाई पत्र लेखी बोधार्थ वि.एन.प्रधानलाई दिएको सो पत्रमा वि.एन.प्रधान र वि.एल.शर्मा दुवै बराबर हिस्सेदार भएको जनाउ हामीहरूले तपाईलाई दिएको छु हिस्सेदारी स्वीकृति गर्नु भई यस कम्पनीलाई तिरिने सबै आयस्ता वि.एल.शर्मा कम्पनीको नाउँमा क्रश चेकमै पठाइयोस भन्ने समेत लेखिएको देखिन्छ तर सो पत्र एयर लाइन्स कर्पोरेशनमा पठाएको भन्ने देखिन नआई वि.एन.प्रधानलाई बोधार्थसम्म दिएको देखिन आएको छ । उक्त मिसिल सामेल रहेको इन्डीयन एयर लाईन्स कर्पोरेशन काठमाडौंले २९ मार्ग १९५६ मा श्री एम.एन.प्रधानलाई लेखेको पत्रमा तपाईको हिस्सेदारी भएकोबारे तथा वि.एल.शर्मा कम्पनीमा तपाई मार्फत केही रूपैयाँ राखेको बारेमा समेत प्रत्यक्ष तरीकाबाट हामीहरूले खबर नपाएको हुँदा वि.एल.शर्मा उनको कम्पनीसंगको तपाईको निजी कारवाइहरू केही भएको भएमा हामीहरूलाई केही सरोकार छैन भन्ने समेत उल्लेख भएको र प्रस्तुत मुद्दाको वादीको फिरादपत्रमा सो कम्पनीको एजेन्सीको हिस्सेदार भन्न आई.ए.सी.कम्पनीको पूर्व स्वीकृती लिनु पर्ने रहेछ तर सो लिएको रहेछ भन्ने समेत लेखिएको देखियो तर सो बमोजिम वादी हिस्सेदार बन्न आई.ए.सी.कम्पनीको स्वीकृति भएको र लिएको छ भनी प्रतिवादी वि.एल.शर्माले भन्न र सो कुराको प्रमाण पेश गर्न सकेको देखिँदैन । उक्त मिसिल सामेल रहेको मिति ५ जुलाई ५५ को इन्डीयन एयर लाइन्स कर्पोरेशनको कागजमा काठमाडौं जुद्ध सडकको बि.एल.शर्मा कम्पनीबाट धरौटी पच्चीस हजार एक रूपैयाँ सधन्यवाद प्राप्त भयो भन्ने उल्लेख भएको र सो कागजबाट वि.एल.शर्माले वि.एन.प्रधानबाट लिएको रूपैयाँ त्यसमा गाभिएको भन्ने देखिन नआएबाट वि.एल.शर्माले वादी भगिरथ नरसिंसँग जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम वि.एल.शर्माले पुरा गरेको भन्ने देखिन आएको छैन जहाँ सो कार्य पुरा गरेको नदेखिएपछि बि.एल.शर्माले वादीलाई धोका दिएको होइन भन्न मिल्ने देखिएन अतः हिस्सेदारको रूपबाट वादीले दिएको रूपैयाँ वि.एल.शर्माले आफूतर्फबाट आई.ए.सी.मा दाखिला गरेको हुँदा प्रत्यक्ष वि.एल.शर्माले बेइमानीको नियतले वादीलाई धोका दिई गफलतमा पारी वादीसँग दिएको रूपैयाँ ठगी गरेकै हो भन्न प्रष्ट हुन आएको छ ।

(प्रकरण नं. १२)

पुनरावेदन तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी प्रतिवादी तर्फवाट : अधिवक्ता मधुप्रसाद शर्मा, अधिवक्ता कृष्णकुमार बर्मा

उल्लिखित मुद्दा :

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     आई.ए.सी.का वि.एल.शर्माले मलाई आफ्नो एजेन्सीको आधा हिस्साको हिस्सेदार बन भनी हिस्सेदारीको कागज समेत गरी दिई एजेन्सीको काममा डिपोजिट राख भनी भा.रू.१५,०००। र त्यसपछि सोही एजेन्सीको काम गर्न भनी पटक पटक रू.५००३ समेत निज वि.एल.शर्माले मसँग लियो तर आई.ए.सी.बाट पाउनु पर्ने कमिसन नआएको भनी जालझेल कुरा गरी हिसाब नदेखाएबाट हिसाव मिलाई पाउँ भनी वि.एल.शर्मा र आई.ए.सी.का नाउँमा नालेस गरेको शुरू फैसला उपर मेरो र आई.ए.सी.को अपील परे उपर इन्साफ हुँदा कम्पनी कानून अनुसार इन्डीयन एयर लाइन्स कर्पोरेशनको स्वीकृतिले हिस्सेदार बनाइएको देखिन आएन स्वीकृति नलिएकोले आई.ए.सी.ले हर हिसाब दिन नपर्ने वि.एल.शर्माको हकमा कर्पोरेशनको स्वीकृति नलिई हिस्सेदार बनाउँछु भनी प्रलोभनमा पारी जम्मा रू.२०००३ हिस्सेदारीको लिखत समेत गरी दिएको आई.ए.सी.मा हिस्सेदारीको सम्बन्धमा दाखिला भयो भन्ने नदेखाई वि.एल.शर्माले आफैंतर्फबाट गएको देखाए दाखिल गरेको यो मुद्दाका हिसाब दिलाई पाउँ भन्ने दावी गरेकोले रूपैयाँ यस मुद्दाबाट भरी भराउ गर्न नमिल्ने हुँदा ऐन बमोजिम नालेस गर्नु भनी सुनाई दिने भनी सर्वोच्च अदालतबाट समेत फैसला भएको उपरोक्त मुद्दाबाट वि.एल.शर्माले मलाई ठगी गरेको थाहा भयो कम्पनीको पूर्व स्वीकृति नलिई मलाई हिस्सेदारी बनाउन नहुने हिस्सेदार भएको भन्नेबारे वि.एल.शर्माले आई.ए.सी.कम्पनीलाई लेखेको चिठ्ठीको मलाई वोधार्थ दिई आई.ए.सी.मा नपठाएका वि.एल.शर्माले मलाई गफलतमा पारी मबाट रूपैयाँ ठगी गर्दै जाने कार्य गरेका ढाँट ठग लुच्चाको ऐन अनुसार र फैसलाहरू अनुसार ठगी गरेको विगो मध्ये १५,०००। आई.ए.सी.मा दाखिल भएकोले भा.रू.१५,०००। आई.ए.सी.बाट र अरू बाँकी ५००४ को हकमा वि.एल.शर्मासँग रहन गएको जति निजबाट भराई पाउँ भन्ने भगिरथ नरसिंह प्रधानको फिराद ।

      २     वि.एल.शर्माले अर्जिको तारेख गुजारेको आई.ए.सी.का तर्फबाट सत्यदास गुडाले समनको म्याद गुजारेको जम्मा भा.रु.२००३ नै भगिरथ नरसिंको वि.एल.शर्मासँग परेको देखियो इन्डीयन एयर लाइन्स कपोरेशनमा दाखिला गरेको भा.रु.१५,०००। देखिन्छ वादीलाई वि.एल.शर्माले ठगी गरेको कुरा आई.ए.सी.लाई थाहाजनक थियो भन्ने कुरा वादीले जिकिर पनि नगरेको त्यस कुराको सबूत समेत नआएको ठगी ल्याएको १५,०००। डिपोजिट रहेको सो को हुने ने.रु २४०००। रूपैयाँ आई.ए.सी.ले वादीलाई तिर्नुपर्ने र बाँकी ५००३ को ने.रू.८००४।८० वि.एल.शर्माले दिएको नदेखिएकोले वि.एल.शर्माबाटै वादीले पाउने ठहर्छ भन्ने समेत इलाका अदालत काठमाडौं फौजदारीको ०२९।७।२८।१ को फैसला ।

      ३.    उक्त इन्साफमा चित बुझेन फिराद खारेज हुनुपर्छ भन्ने समेत प्रतिवादी वि.एल.शर्माको पुनरावेदनपत्र ।

      ४     पहिले हरहिसाव दिलाइपाउँ भनी नालेस गरी त्यसबाट आफू दावा नपुग्ने अन्तिम फैसला भएपछि फेरि ठगीमा नालेस गर्नु अ.बं.९९ नं. को विरूद्धको नालेस भएको एकपटक अदालतबाट निर्णय भइसकेको कुरा फेरि सोही कुरालाई दोहोरी आउनु अ.बं.१४४ नं. को विरुद्ध हुँदा फैसला बदर गरिपाउँ भन्ने इन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौं स्थित अफिसमा इन्चार्जको पुनरावेदनपत्र, विपक्ष झिकाई पेश गर्नु भन्ने बागमती अञ्चल अदालतको आदेश ।

      ५.    वि.एल.शर्माले ठगी ठहराएतर्फ इन्साफ शुरूबाट ठहराएको मनासिव छ ठगी गरी लिएको रूपैयाँ मध्ये भा.रु.१५,०००। आई.ए.सी.मा दाखिला भएको हो होइन भन्ने हकमा आई.ए.सी.कम्पनीमा वि.एल.शर्माले सो बखत एजेन्ट भई काम गरेको भन्ने कुरा देखिन आएको सो कम्पनीमा एजेन्ट भई काम गर्न वि.एल.शर्माबाट निजले भगिरथ नरसिंहलाई ठगी ल्याएका रुपैयाँमध्येबाट १५००० आई.ए.सी.मा दाखिल हुन गएको भन्ने सबूत देखिन नआएकोले समेत आई.ए.सी.ले भगिरथ नरसिंलाई बुझाउनु पर्दैन । वि.एल.शर्माले नै बुझाउनु पर्ने ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०२४।७१०।६ को फैसला ।

      ६.    उक्त इन्साफमा चित्त बुझेन अञ्चल अदालतबाट नलाग्ने ऐनका आधारमा ठगी ठहराइयो ठगीको परिभाषाभित्र पर्न नआउने कुरा स्पष्ट गरी सकेको बागमती अञ्चल अदालतको फैसला उल्टाई विपक्षी वादीको दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी वि.एल.शर्माको पुनरावेदनपत्र ।

      ७.    उक्त इन्साफमा चित्त बुझेन इ.का.फौजदारीकै इन्साफ सदर हुनु पर्ने भन्ने समेत वादी भगिरथ नरसिं प्रधानको पुनरावेदनपत्र ।

      ८.    ०१२।३।२१ को साझेदारी लिखित अनुसार भा.रु १५,०००। पुनरावेदक भगिरथ नरसिंले र भा.रु १००००। पुनरावेदक प्रतिवादी वि.एल.शर्माले इन्डीयन एयर लाइन्स कर्पोरेशनमा डिपोजिट राख्ने शर्त भए बमोजिम तारिख ५ जुलाई १९५५ मा इन्डीयन एयर लाइन्स कर्पोरेशनले डिपोजिट वापत भनी भा.रु २५,०००। बुझी लिएको मिसिल सामेल राखेको भरपाईबाट देखियो दुवै हिस्सेदारले ६ नोभेम्वर १९५५ मा इन्डीयन एयर लाइन्स कर्पोरेशनलाई हिस्सेदार भई काम गर्ने जनाउ समेत दिएको देखियो यस्तो अवस्थामा आफूले राखेको डिपोजिट वादी पुनरावेदकले इन्डीयन एयर लाइन्स कर्पोरेशनबाट नपाउने ठहराई बागमती अञ्चल अदालतले गरेको इन्साफ मिलेको नदेखिँदा अ.बं.२०२ र स.अ.नियमावली बमोजिम छलफलको लागि विपक्षी इन्डीयन एयरलाइन्स कर्पोरेशन स्टेशन म्यानेजर ईण्डीयन एअरलाईन्स काठमाडौंलाई नोटिस म्याद पठाई हाजिर हुन आएपछि वा म्याद नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२६।४।१३।२ को डिभिजबेञ्चको ०२६।११।१।५ को आदेश ।

      ९     इन्डीयन एयर लाईन्स कर्पोरेशनबाट वि.एल.शर्माले एजेन्सी प्राप्त गर्दा ति दुईको बीच के कस्तो शर्त बन्देज रहे भएको छ सो हेर्नुपर्ने भएकोले उक्त एजेन्सी प्राप्त गर्दाको शर्त बन्देजको कागज इन्डीयन एयरलाईन्स कर्पोरेशन स्टेशन म्यानेजरतर्फबाट वा. वि.एल.शर्मा भन्ने विश्वम्भरलालबाट कानून बमोजिम गरी दाखिला गराई नियम बमोजिम गरी पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२६।११।१।५ को आदेश ।

      १०.    एग्रिमेन्टको नक्कल लिई आउनु भनी प्र.वि.एल.शर्मालाई र उद्योग विभागसँग रजिष्टरीमा थपघट भए सो समेत देखिने गरी १ प्रतिलिपि झिकाई नियम बमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२७।८।११।५ को आदेश ।

      ११.    तारेखमा रहेको पुनरावेदक वादीको वारेस नरेन्द्र नरसिं प्रतिवादी पुनरावेदक वि.एल.शर्मा भन्ने विश्वम्भरलाल शर्माको वारेस कमलमानलाई र विपक्षी ईन्डीयन एयरलाइन्स कर्र्पोरेशनका जनरल एम.एल.निजलाई रोहवरमा राखी वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री मधुप्रसादले र श्री कृष्णकुमार बर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीको फिरादपत्रमा बि.एल.शर्मा आई.ए.सी.को एजेन्ट भएको र निजले मलाई सो कम्पनीको हिस्सेदार बनाउछु भनी प्रलोभन दिएबाट भा.रु.१५,०००। दिई हिस्सेदार भएको थिएँ सो कम्पनीको एजेन्सीको हिस्सेदार बन्न आइ.ए.सी.कम्पनीको पूर्व स्वीकृति लिनुपर्ने रहेछ तर सो लिएको रहेनछ भन्ने कुरा मलाई थाहा नभएको हुनाले मैले निज वि.एल.शर्मालाई पहिले भा.रु.१५,०००। दिई हिस्सेदार बने र त्यसपछि पटक पटक गरी भा.रू.५००३ दिएको थिएँ अन्यायी वि.एल.शर्माले मलाई गफलतमा पारी मबाट रूपैयाँ ठगी गर्दै जाने कार्य गरेको बिगो मध्ये भा.रु.१५,०००। आइ.ए.सी.मा दाखिल भए बाँकी भा.रू.५००३। बि.एल.शर्मासँग रहन गएको जति निजैबाट भराई पाउँ भन्ने समेत उल्लेख गरेको देखिन्छ प्रमाण निमित्त आएको यिनै वादी प्रतिवादीहरूको हरहिसाब दिलाई पाउँ भन्ने मुद्दामा प्रतिवादी वि.एल.शर्माको प्रतिउत्तरपत्रमा वादीको हिसाव पहिले डिपोजिट भा.रु.१५,०००। र पटक पटक ब्यालेनसिट कापी मुताविक वादीतर्फबाट कं.रू.५००३। समेत जम्मा ने.रू.२०००३। परेको भन्ने समेत लेखिएको र सो मुद्दामा जम्मा रू.२०००३। भगिरथ नरसिंको परेको देखियो हरहिसाव दिलाई पाउँ भन्ने दावी भएकोले रूपैयाँ यस मुद्दाबाट भरी भराई गर्न नमिल्ने भन्ने काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव भई ०१८।१२।१ मा फैसला भएको समेत देखिएको र प्रस्तुत मुद्दामा पनि प्रतिवादी वि.एल.शर्माले वादी दावी बमोजिमको रूपैयाँ लिएको होइन भनी इन्कार गर्न नसकेकोबाट समेत वादी दावी बमोजिमको रूपैयाँ वादीबाट प्रतिवादी बि.एल.शर्माले लिएको रहेछ भन्ने कुरा प्रष्ट हुन आएको छ ।

      १२.   अब प्रतिवादी वि.एल.शर्माले वादीबाट लिएको रूपैयाँ वादी दावी बमोजिम गफलतमा पारी ठगी गर्दै जाने कार्य गरेको हो होइन भन्नेतर्फ हेर्दा यिनै वादी प्रतिवादीहरूको हरहिसाब दिलाई पाउँ भन्ने मुद्दाको मिसिलसाथ रहेको वि.एल.शर्मा आगे भई भगिरथ नरसिंहलाई गरी दिएको ०१२।३।२१ को साझा हिस्सेदारको कागजको दफा १ मा आधा आधा हिस्सेदारमा तपाईं भगिरथ नरसिंहलाई पनि कायम गरिएको छ भन्ने समेत लेखिएको देखिन्छ सोही मुद्दाको मिसिलसाथ रहेको मिति ६ नोभेम्बर १९५५ को वि.एल.शर्माले असिस्टेन्ट ट्राफीक मैनेजर इयन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौंलाई पत्र लेखी बोधार्थ वि.एन.प्रधानलाई दिएको सो पत्रमा वि.एन.प्रधान र वि.एल.शर्मा दुवै बराबर हिस्सेदार भएको जनाउ हामीहरूले तपाईलाई दिएको छु हिस्सेदारी स्वीकृति गर्नु भई यस कम्पनीलाई तिरिने सबै आयस्ता वि.एल.शर्मा कम्पनीको नाउँमा क्रश चेकमै पठाइयोस भन्ने समेत लेखिएको देखिन्छ तर सो पत्र एयर लाइन्स कर्पोरेशनमा पठाएको भन्ने देखिन नआई वि.एन.प्रधानलाई बोधार्थसम्म दिएको देखिन आएको छ । उक्त मिसिल सामेल रहेको इन्डीयन एयर लाईन्स कर्पोरेशन काठमाडौंले २९ मार्ग १९५६ मा श्री एम.एन.प्रधानलाई लेखेको पत्रमा तपाईको हिस्सेदारी भएकोबारे तथा वि.एल.शर्मा कम्पनीमा तपाई मार्फत केही रूपैयाँ राखेको बारेमा समेत प्रत्यक्ष तरीकाबाट हामीहरूले खबर नपाएको हुँदा वि.एल.शर्मा उनको कम्पनीसंगको तपाईको निजी कारवाइहरू केही भएको भएमा हामीहरूलाई केही सरोकार छैन भन्ने समेत उल्लेख भएको र प्रस्तुत मुद्दाको वादीको फिरादपत्रमा सो कम्पनीको एजेन्सीको हिस्सेदार भन्न आई.ए.सी.कम्पनीको पूर्व स्वीकृती लिनु पर्ने रहेछ तर सो लिएको रहेछ भन्ने समेत लेखिएको देखियो तर सो बमोजिम वादी हिस्सेदार बन्न आई.ए.सी.कम्पनीको स्वीकृति भएको र लिएको छ भनी प्रतिवादी वि.एल.शर्माले भन्न र सो कुराको प्रमाण पेश गर्न सकेको देखिँदैन । उक्त मिसिल सामेल रहेको मिति ५ जुलाई ५५ को इन्डीयन एयर लाइन्स कर्पोरेशनको कागजमा काठमाडौं जुद्ध सडकको बि.एल.शर्मा कम्पनीबाट धरौटी पच्चीस हजार एक रूपैयाँ सधन्यवाद प्राप्त भयो भन्ने उल्लेख भएको र सो कागजबाट वि.एल.शर्माले वि.एन.प्रधानबाट लिएको रूपैयाँ त्यसमा गाभिएको भन्ने देखिन नआएबाट वि.एल.शर्माले वादी भगिरथ नरसिंसँग जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम वि.एल.शर्माले पुरा गरेको भन्ने देखिन आएको छैन जहाँ सो कार्य पुरा गरेको नदेखिएपछि बि.एल.शर्माले वादीलाई धोका दिएको होइन भन्न मिल्ने देखिएन अतः हिस्सेदारको रूपबाट वादीले दिएको रूपैयाँ वि.एल.शर्माले आफूतर्फबाट आई.ए.सी.मा दाखिला गरेको हुँदा प्रत्यक्ष वि.एल.शर्माले बेइमानीको नियतले वादीलाई धोका दिई गफलतमा पारी वादीसँग दिएको रूपैयाँ ठगी गरेकै हो भन्न प्रष्ट हुन आएको छ ।

      १३.   वादीले आफ्नो फिरादपत्रमा ठगी लिएको बिगोमध्येमा भा.रू.१५,०००। आई.ए.सी.मा दाखिला भएको आई.ए.सी.बाटै भराई पाउँ भन्ने उल्लेख गरी वादी गरे तर्फ हेर्दा प्रस्तुत मुद्दाको प्रतिवादी इन्डियन एयर लाइन्स कर्पोरेशन काठमाडौं स्थित अफिस इन्चार्ज सत्यदासको प्रतिवादी सरकारको पुनरावेदनमा वि.एल.शर्माले भगिरथ नरसिंसँगको लिएको २०,००३ मध्ये १५,०००। कर्पोरेशनमा दाखिला गरेको भन्ने छ तापनि सो रूपैयाँ भगिरथ नरसिंकै पनि वेसम्बन्धको कर्पोरेशन जवाफदेही हुन सारै अन्याय परेको छ भन्ने समेत उल्लेख गरेको देखिन्छ । आफ्नो फिरादपत्रमा सो कम्पनीको हिस्सेदार बन्न आई.ए.सी.कम्पनीको पूर्व स्वीकृति लिनु पर्ने रहेछ तर सो लिएको रहेनछ भन्ने समेत उल्लेख गरेको र यिनै वादी प्रतिवादीहरूको हरहिसाव दिलाई पाउँ भन्ने मुद्दाको मिसिलसाथ रहेको ईन्डियन एयर लाइन्स कर्पोरेशन काठमाडौंले २९ मार्च १९४६ मा श्री एम.एन.प्रधानलाई लेखेको पत्रमा तपाई हिस्सेदारी भएकोबारे तथा वि.एल.शर्मा कम्पनीमा तपाई मार्फत केही रूपैयाँ राखिएको बारेमा समेत प्रधान तरिकाबाट हामीहरूले नपाएको भन्ने समेत लेखिएको र वादीकै फिराद लेखाइबाटै कम्पनीको हिस्सेदार बन्न आइ.ए.सी.कम्पनीको स्वीकृति लिनुपर्नेमा सो नलिएको भन्ने देखिन आएको छ यिनै वादी प्रतिवादीहरूको हरहिसाव दिलाई पाउँ भन्ने मुद्दाको मिसिलसाथ रहेको इन्डियन एयर लाइन्स कर्पोरेशनको मिति ५ जुलाई ५५ को कागजमा काठमाडौं जुद्ध सडकको वि.एल.शर्मा कम्पनीबाट धरौटी पच्चीस हजार एक रूपैयाँ सधन्यवाद प्राप्त भयो भन्ने लेखिएको र त्यसमा वादीतर्फबाट लिएको रू.१५,०००। समेत पच्चीस हजार एक रूपैयाँ भन्ने उल्लेख नदेखिएको उपरोक्त उल्लेख गरे बमोजिम वादी हिस्सेदार बन्न आई.ए.सी.कम्पनीको स्वीकृति पनि नभएको र इन्डियन एयर लाइन्स कर्पोरेशन काठमाडौंले २९ मार्चमा वादीले लेखेको पत्रमै तपाई मार्फत केही रूपैयाँ राखेको बारेमा समेत हामीहरूले खवर नपाएको भन्ने समेत लेखिएको र प्रतिवादी बि.एल.शर्माले धरौटी रू.२५००१ मध्येमै वादीबाट लिएको रू.१५,०००। समेत परेको हो भन्ने कुराको पक्का लिखित सबूत पेश गर्न नसकेको हुनाले समेत यस्तोे स्थितिमा सबूत प्रमाण बेगर वादीको रू.१५,०००। उक्त धरौटी रू.२५००१ मध्येमा परेको हो भनी भन्न ठहराउन मिल्ने देखिएन ।

      १४.   अतः उपरोक्त उल्लेख गरे बमोजिम भएबाट वि.एल. शर्माले ठगी गरेको ठहराएतर्फ इन्साफ शुरूबाट ठहराएको मनासिव छ ठगी गरी ल्याएकै रूपैयाँ मध्येबाट भा.रु.१५,०००। आइ.ए.सी.दाखिला हुन गएको भन्ने सबूत देखिन नआएकोले समेत आइ.ए.सी.ले भगिरथ नरसिंहलाई बुझाउन पर्दैन बि.एल.शर्माले नै बुझाउनु पर्ने ठहर्छ भनी बागमती अञ्चल अदालतले ठहराई छिनेको मनासिव छ भा.रू.१००। का ने.रू.१६०। को दरले रहेको अवस्था वादीको फिराद ०१९ सालमा परेको देखिएको र जिल्ला अदालतले तत्कालिन दरलाई कायम गरी आफ्नो फैसलामा भा.रु १००। को ने.रू.१६० को दरले ने.रू.मा विगो कायम गरी सकेको देखिन्छ । यसरी एकपटक अदालतबाटै ने.रू.मा परिणत गरी बिगो कायम गरी सकेपछि अपील परेकोमा अञ्चल अदालतले सो अवस्थाको फेरी दर कायम गरी भा.रू.१००। को ने.रू.१०१।६० ले ने.रू.मा परिणत गरी विगो कायम गरेको सम्म मिलेको देखिएन । देहाय बमोजिम गर्नु ।

 

तपसील

का.जि. ठमेल बस्ने भगिरथ नरसिं प्रधान के बागमती अञ्चल अदालतको ०२४।७।१० को फैसलामा भा.रू.१००। को ने.रू.१०१।६० ले भा.रू.२०००३ को हुने ने.रू.२०३२३।५ वि.एल.शर्मा भन्ने विश्वम्भरलालको जेथा देखाई भरिपाउँ भनी भगिरथ नरसिंहको दरखास्त पर्न आए भराई दिनु भनी लगत दिने भन्ने लेखिएकोमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम भएबाट सो बमोजिम गर्न पर्दैन व्यहोरा जनही लगत काटिदिनु भनी लगत दिनु....................१

का.जि.ठमेल बस्ने भगिरथ नरसिं प्रधान के माथि इन्साफमा लेखिए बमोजिम भएबाट भा.रू.२०००३ को ने.रू.१६० का दरले हुने रू.३२००४।८० प्रतिवादी वि.एल.शर्मा भन्ने विश्वम्भरलालको जेथा देखाई भरी पाउँ भनी ऐनको म्याद ३ बर्ष भित्र दरखास्त परेमा भराएका धनको प्रतिवादीलाई जरिवाना भएकोले विसौंद नलाग्ने हुँदा वादीबाट दसौंद लिई कानूनको रीत पुर्‍याई वादीलाई भरी भराई गरी दिनु भनी ऐ........................२

पुनरावेदक भगिरथ नरसिं प्रधान के अञ्चल अदालतबाट जरिवाना भएको नदेखिएकोले पुनरावेदक गरे वापत तजविज रू.१ जरिवाना हुन्छ वारेस हुँदा कानून बमोजिम असुल उपर गर्नु भनी लगत दिनु..........................३

पुनरावेदक वि.एल.शर्मा भन्ने विश्वम्भरलाल शर्मा के पुनरावेदन गरे वापत अञ्चल अदालतले गर्ने गरेको जरिवाना रू.२५ को सयकडा १० ले रू.२।५० जरिवाना हुन्छ वारेस हुँदा कानून बमोजिम असुल उपर गर्नु भनी लगत दिनु...........................४

यो मिसिल नियम बमोजिम गरी बुझाई दिनु............................५

 

म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०२८ साल पौष २९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु