निर्णय नं. ८५५ - जग्गा खिचोला
निर्णय नं. ८५५ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०२९ सालको दे.फु.नं. १४३
फैसला भएको मिति : २०३१।९।५।६ मा
निवेदक : डोटी सावल लुंसाकोट गाउँ पञ्चायत वार्ड नं.२ वखते गाउँ बस्ने तारानाथ ओझा समेत
विरूद्ध
विपाक्षी : ऐ.ऐ. खडगाडा गाउँ बस्ने कालो वोहरा समेत
मुद्दा : जग्गा खिचोला
(१) हद माथि वा मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्न पर्ने, पहिले नै कोर्टफी राखेकोमा पछि खुलाएको विगोबाट हदमाथिको गर्न नमिल्ने ।
यसमा यो मुद्दा अञ्चल अदालतले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने नलाग्ने हदमुनि या माथि के रहेछ भन्ने तर्फ हेर्दा सेती अञ्चल अदालतको ०२६।४।२० को फैसलामा विगोबाट हदमाथिको हुँदा पुनरावेदन लाग्ने भनी म्याद दिएको आधारमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता हुन आएको देखिन्छ विगो के कति रहेछ भन्नेतर्फ हेर्दा प्रस्तुत नालेसमा वादीले दावीको जग्गाको आज भोलिको बिक्री दरले रू.१०००। मोल जाने भनी खुलाएको र शुरूमा नालेस गर्दा र शूरु उपर पुनरावेदन दिंदा समेत सोही विगोलाई कायम मानी लाग्ने कोर्टफी दाखिल गरे गराएको पाइन्छ । सेती अञ्चल अदालतको फैसलाको १ दफामा ०२६।४।२० मा छुट भनी दाखिल गरेको कोर्टफी रू.१०३।७५ भन्ने उल्लेख गरेको हकमा सो ०२६।४।२० मै उक्त अञ्चल अदालतले फैसला गरेको उक्त फैसलामा उल्लेख गरे अनुसार छुट भनी कोर्टफी रू.२०३।७५ दाखिल गरे गराएको कुनै आधार र आम्दानी बाँधेको निस्सा समेत मिसिलमा पाउन सकिएन । यदि पछि बढी मोल विगो खुलाई छुट्टै कोर्टफी भनी दाखिला गरे गराएकै भए पनि मुद्दा हदमाथि या मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्नु पर्ने यसरी पहिले नै कोर्टफी रहेकोमा पछि खुलाएको विगोबाट हदमाथि गर्न नमिल्ने समेत हुँदा वादीले नालेसमा रू.१०००। मात्र मोल विगो खुलाई कोर्टफी दाखिल गरेको यो मुद्दा तत्काल प्रचलित न्याय प्रशासन विविध व्यवस्था ऐन, ०१८ को संशोधित दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार हद मुनिको हुने भई सेती अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन तसर्थ सेती अञ्चल अदालतको फैसला उपर वादी पक्षले सर्वोच्च अदालतमा दिएको पुनरावेदन खारेज हुने ठहर्छ पुनरावेदन खारेज हुने ठहरेकोले अरू कुरा विचार गरिरहनु परेन, वादी पक्षको पुनरावेदन कायम मानी ०२८।२।२६।४ को डिभिजन बेञ्चले फैसला गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट :
विपक्षी तर्फवाट :
उल्लिखित मुद्दा :
फैसला
न्या. ईश्वरीराज मिश्र
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजधिाराजबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यस प्रकार छ : हामीहरूका पुर्खाका दिनदेखि खर्क खरबारी समेतको माझ थलो भन्ने जग्गा चलन भोग गरिआएको जग्गा मध्ये फलानो भन्ने आवादी पाखो जग्गा समेतलाई हाल आवादी दर्ता गराई पाउँ भनी ०१ सालमा डोटी मालमा दर्खास्त गरेको सो जग्गा हामीहरूको भोग चलनको हुँदा जग्गा थामिपाउँ दरखास्त बदर गरिपाउँ भनी फिराद गर्दा फलानो गडो जग्गा सरकारको नाउँमा दर्तासम्म राखी मु.रंगनाथ समेत ७ जनाले बराबर हिस्सा लगाई म लाले तारानाथले खर्क बनाएको खेत र खोल्सादेखि पूर्वपट्टि निज सुकाको भाग छोडी पश्चिमतर्फको जग्गा हामीले खाने गरी डो.मो.अ.मा मिलापत्र समेत गरेको सुकाले मलाई शुभ भएन जग्गा तपाईंले खानु होस् भनी भन्दा ०८ सालदेखि आवाद गरी रोप्ने समेत गरी गोठ समेत बनाई ०९ सालदेखि एकलौटी भोग गरी आएको छु प्र.कालो बोहोरा समेतले ०२४ साल आषाढ १६ गते फलानो भन्ने जग्गामा बाली लगाई खिचोला गरी चलन हटक गरेकोले सो जग्गा हामीहरूलाई थामिपाउँ भन्ने समेत मु.रंगनाथ ओझा समेतको वादी ।
३. वादी दावीका ४ किल्ला भित्रमा वादीको भोग चलन छैन पाखो जतिमा खडगडा गाउँका म समेतका सबै रैतीको र खेत जतिमा काँशीको चलन छ मुद्दा परी मिलापत्र भएको भन्ने कुरामा म नाबालखैमा बाबु बाजे मरिसकेका खेत रू.३ को चिफले पाटो पाखो रू...को हादेमेलोलाई आफनो भनी फिरादीले झुठ्ठा उजूर गरेको हो भन्ने अलोवाराको र वादी दावी ४ किल्ला भित्र ४९ सालको दर्ता रू.३ चिफले पाटो खेत काशी ओझाको र ०२ सालको नम्बरी दर्ता रू.३ दर्ताको हेदेमेलो भन्ने पाखो जग्गा समेत पर्छ पूर्व पश्चिम खोलो उत्तर दक्षिण बाटो चिफले पाटोको किल्ला र खोलादेखि पूर्व ठुला खोलादेखि पश्चिम कोटाबाटा दक्षिण भारको खेतदेखि उत्तर हादेमेला पाखो जग्गाको किल्ला छ पाखो किल्ला दर्ता मोठमा पनि लेखिएको छ सो हुँदा उक्त जग्गा हामीलाई थामिपाउँ भन्ने वा. समेत हरे बोहराको प्रतिउत्तरपत्र ।
४. मिलापत्रबाट खडगडाको सुका र यो मुद्दाका वादीहरू समेतले बराबर भोगचलन गर्ने भन्ने लेखेको देखिनाले मिलापत्र बमोजिम वादीहरूको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत डोटी तथा बाजुरा जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने दुवै थरीको पुनरावेदन ।
६. २००१।१२।१५।३ का मिलापत्रबाट समेत फलानो भन्ने जग्गामा वादीहरूको हक पुगेको नदेखिएको त्यस्तो पछि गर्ने शर्तसम्मको मिलापत्रको आडले समुच्चा सोह्रै आना फलानो भन्ने जग्गामा वादीहरूको हक दावी नै नपुग्नेमा हाम्रो हकको जग्गा भनी उजूर गरेका यी वादीहरूको दावी नै खारेज हुने ठहर्छ भन्ने समेत सेती अञ्चल अदालतको फैसला ।
७. चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
८. फलानो भन्ने पाखो जग्गा हाल आवादीमा दर्ता गराउन सुका बोहराले दर्खास्त दिएकोमा हाम्रो साविक दर्ता हो दर्खास्त बदर गरिपाउँ भनी यिनै फिरादी मध्येका मु.रंगनाथ ओझा समेतले उजूर गर्दा दर्खास्तमा उल्लेख भएका केही किल्ला कटाई बाँकी जग्गा सुकाका नाउँमा दर्ता गराई २ थरले बराबर खाने गरी १ साल चैत्रमा मिलापत्र गरेको सो पुरै जग्गा भोग गर्नु भनी सुकाले भनेबाट हक भएको भनी जिकिर लिएको त्यसतर्फको लिखितको सबूत दाखिला गर्न नसकेको र मिलापत्र बमोजिम आधामासम्म हक पुग्ने भई त्यसको निर्णय दिनुपर्छ कि भन्ने पनि मिलापत्र बमोजिम दर्ता गराई तिरो भरो गरेका छौं भन्न फिरादीले नसकेकोले कानूनको रीत पुर्याई आफनो हक कायम गराउन नसकेका जग्गा उपरको उजूरीमा अदालतबाट हक बेहकको निर्णय दिई इन्साफ बोल्न नमिल्ने हुँदा फिरादीको उजूर पछि बुझिएका प्रमाणबाट खारेज गर्ने गरी छिनेको इन्साफ सेती अञ्चल अदालतको मनासिव छ भन्ने समेत २०२८।२।२६।४ को डिभिजन बेञ्चको फैसला ।
९. यसमा यो मुद्दा अञ्चल अदालतले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने नलाग्ने हदमुनि या माथि के रहेछ भन्ने तर्फ हेर्दा सेती अञ्चल अदालतको ०२६।४।२० को फैसलामा विगोबाट हदमाथिको हुँदा पुनरावेदन लाग्ने भनी म्याद दिएको आधारमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता हुन आएको देखिन्छ विगो के कति रहेछ भन्नेतर्फ हेर्दा प्रस्तुत नालेसमा वादीले दावीको जग्गाको आज भोलिको बिक्री दरले रू.१०००। मोल जाने भनी खुलाएको र शुरूमा नालेस गर्दा र शूरु उपर पुनरावेदन दिंदा समेत सोही विगोलाई कायम मानी लाग्ने कोर्टफी दाखिल गरे गराएको पाइन्छ । सेती अञ्चल अदालतको फैसलाको १ दफामा ०२६।४।२० मा छुट भनी दाखिल गरेको कोर्टफी रू.१०३।७५ भन्ने उल्लेख गरेको हकमा सो ०२६।४।२० मै उक्त अञ्चल अदालतले फैसला गरेको उक्त फैसलामा उल्लेख गरे अनुसार छुट भनी कोर्टफी रू.२०३।७५ दाखिल गरे गराएको कुनै आधार र आम्दानी बाँधेको निस्सा समेत मिसिलमा पाउन सकिएन । यदि पछि बढी मोल विगो खुलाई छुट्टै कोर्टफी भनी दाखिला गरे गराएकै भए पनि मुद्दा हदमाथि या मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्नु पर्ने यसरी पहिले नै कोर्टफी रहेकोमा पछि खुलाएको विगोबाट हदमाथि गर्न नमिल्ने समेत हुँदा वादीले नालेसमा रू.१०००। मात्र मोल विगो खुलाई कोर्टफी दाखिल गरेको यो मुद्दा तत्काल प्रचलित न्याय प्रशासन विविध व्यवस्था ऐन, ०१८ को संशोधित दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार हद मुनिको हुने भई सेती अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन तसर्थ सेती अञ्चल अदालतको फैसला उपर वादी पक्षले सर्वोच्च अदालतमा दिएको पुनरावेदन खारेज हुने ठहर्छ पुनरावेदन खारेज हुने ठहरेकोले अरू कुरा विचार गरिरहनु परेन, वादी पक्षको पुनरावेदन कायम मानी ०२८।२।२६।४ को डिभिजन बेञ्चले फैसला गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी डोटी सापेल दरालु साकोट पञ्चायत वडा नं.२ बखते गाउँ बस्ने मनिराम ओझा जौशी १, टिकादत्त वझा उपाध्या १, जैदेव ऐ.१, जय ऐ.१, बालु जैशी १, विश्वनाथ वझा उपाध्याय १, तारानाथ ऐ.१, मनु बा जैशी १, परी ऐ.१, देवदत्त ऐ.१, किलु ऐ.१, अर्जुन ऐ.१, सहदेव ओझा उपाध्याय १, पुरधरको छोरा जैदेव ऐ.१, ठगी ओझा जैशी १, मु.रंगनाथ वझा उपाध्याय १ समेत जना १६ के सेती अञ्चल अदालतउपर ०२६।४।२०२ मा सेती अञ्चल अदालतमा दाखिल गरेको कोर्टफी रू.३८।७ नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम फिर्ता दिनु भनी सेती अञ्चल अदालतलाई लेखी पठाउन का.जि.अ.तहसिलमा लगत दिनु.......................१
ऐ ऐ.बस्ने वादी देहायका मानिस के मुद्दा दोहर्याउदा ०२९।१०।१२।५ मा सर्वोच्च अदालतमा दाखेला गरेको देहाय बमोजिम कोर्टफी नलाग्ने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ बर्षभित्र फिर्र्ता लिन आएमा कानून बमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसिलमा ऐ................२
तारानाथ ओझा के १।५३, जयदेब ओझा के १।५३, विश्वनाथ ओझा के १।५३, नरि ओझा के १।५२, किटु ओझा के १।५२, सहदेव ओझा के १।५२, मनिराम ओझा के १।५३, कालु ओझा के १।५३, मनुवा ओझा के १।५२, अर्जुन ओझा के १।५२, जयदेव ओझा के १।५२, रंगनाथ ओझा के १।५२
नियम बमोजिम मिसिल बुझाइदिनु............३
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. हेरम्बराज
इति सम्वत् २०३१ साल पौष ५ गते रोज ६ शुभम ।