शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३५ - अंश दपोट

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६३५                 ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२६ सालको देवानी फुल नम्बर १०१

फैसला भएको मिति : २०२८।३।१५।३

निवेदक : ओखलढुड्डा ज्यामिरे गा.पं. बुगनाम ज्यामिरे बस्ने खड्गबहादुर बानिया क्षेत्री

विरूद्ध

विपक्षी : ऐ ऐ बस्ने चन्द्रबहादुर वानिया क्षेत्री

मुद्दा : अंश दपोट

(१)   तत्काल प्रचलित अंशबण्डाको ४६ नं.र हालको अंशबण्डाको २७ नं. : भाग बण्डा      (अंशबण्डा) भएको नदेखिएमाअंश दपोट गर्‍यो भन्ने उजुर नलाग्ने ।

            तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अंश बण्डाको ४६ नं.मा दवाएको छपाएको छैन भनी धर्म गरेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाई धर्म गर्ने चाहिंले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंशबण्डा गरी खानु भन्ने र नयाँ मुलुकी ऐन अंशबण्डाको २७ नं.मा दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाउनेले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन्, दवाएवापतको सजाय हुदैन भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा अंश मुद्दा परी मिलापत्र भई बण्डा उठी सकेपछि दवाए छपाएको देखिन आएको भन्ने मुख्य दावी भएकोले त्यसतर्फ हेर्दा यो मुद्दाको वादी खड्गबहादुर समेतको र प्रतिवादी चन्द्रबहादुरसमेतको अंश मुद्दा परेकोमा आफ्नो बाँड फाँडसमेत खुलाई ऐन सवालबमोजिम पास गर्नेसमेत गरी २००१।६।२८ गते घरसारमा बण्डा भई सकेबाट मिलापत्र गर्नमा दुवै थरको चित्त बुझेको भनी घरसारको बण्डापत्रलाई शिरान हाली २००१।७।२२।३ मा पूर्व ३ नं.अदालतमा मिलापत्र गरेको रहेछ, सो मिलापत्र भनेको कागज अदालतमा परेको मुद्दामा रेख रूप गर्ने कामसम्म छाड्ने गरी भएको देखिन्छ । उक्त मिलापत्रबाटै भागबण्डा छुट्याइ भागबण्डा भए गरेको देखिन आएन घर सारको भनेको २००१।६।२८ को बण्डापत्रको हकमा पास नभएको भन्नेसमेत वादीको लेखाई भएको सो बण्डापत्र सदर बदरबारे परी आएको यो मुद्दा नहुनाले त्यसतर्फ अहिले यस मुद्दाबाट निर्णय दिन मिल्ने नदेखिएकोले उक्त बण्डापत्रको सम्बन्धमा कुनै कुरा बोली रहन मिलेन । यस स्थितिमा उपरोक्त ऐनबमोजिम अंश दपोटमा वादीको उजुर लाग्न सक्ने अवस्था नदेखिएको समेत हुँदा वादीको नालेस खारेज गर्ने गरी ०२६।१।१२।५ को डिभिजन बेञ्चले छिनेको मुनासिव ठर्हछ ।

(प्रकरण नं. १०)

वादी तर्फबाट :

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लेखित मुद्दा :    

फैसला

            प्रधान न्यायाधीश श्री रत्नबहादुर

            १.     पिता मानबहादुरको २ पत्नीमा जेठीतर्फका जेठा अजयबहादुर, माहिला वीरबहादुर, साहिला दीपबहादुर, कान्छा अन्याय चन्द्रबहादुर र कान्छीतर्फका जेठो म र कान्छा हेमबहादुर हुनाले मेरी सौतेनी आमा परलोक हुनु भएपछि मेरी आमालाई विवाह गरी ल्याएपछि सँगोल छदै जेठा दाजु अजयबहादुर साहिला दीपबहादुर समेत परलोक भएबाट घरको सम्पूर्ण दामकाम पिताजीबाटै भैइरहेको १९९७ सालमा पिताको देहान्त भएको घरको सम्पूर्ण दामकाम महिला दाजु वीरबहादुरले र कान्छा विपक्षी चन्द्रबहादुरबाट चलाई आएको सँगोलमा मिल्न नसकी १९६६ सालमा हाम्रो मानो छुट्टिएको बखत म नावालख हुँदा व्यवहार सबै एकै ठाउँबाट चलेको थियो, रीतपूर्वक अंश गरौं भन्दा दाजुहरूले नमानेकोले ९९ सालमा यसै अदालतमा अंश मुद्दा दिए बाबा छँदै ८४ सालमा छुट्टि सकेकोले अंश दिन बाँकी छैन भनी प्रतिउत्तर परी २००१।६।२८ मा विपक्षी चन्द्रबहादुरले देखाए जति ६ बण्डा लगाई १ अंश बुझी लिई अड्डामा २००१।७।२२ मा मिलापत्र भयो, अंश पाउने आमा इन्द्रकुमारीको निमित्त नकुनै चिज अंश दियो, हालसालै भूमिसुधारको सिलसिलामा आफ्नो जग्गा जमिन खोजी गर्दा बाबु बाजेका पालको आर्जन समेतको अंशीले वण्डा गरी खान पाउने ३० किता खेत बारीहरू मलाई नदिई आफूले मात्र खाने उद्देश्य राखी विपक्षी दाजुले दवाई छपाई राख्नु भएछ, सो जग्गामध्ये कुनै आफ्नु नाउँमा र कुनै नावालख नातिको नाउँमा ७ नं.को फारम भरी दाखेल गरेकोले सो जग्गाहरू दवाई छपाई राखेको कुरा यही ०२३।११।२८ मा प्रष्ट जानकारी हुन आएकोले ऐनका म्यादभित्र नालेस दिएकोछु, दवाएको अंश नलाग्ने हुँदा ६ अंशीको ६ अंश गलाई ६ भागको १ भाग मलाई दिलाई अंश वण्डाका २७ नं.बमोजिम गरिपाउँ भन्नेसमेत ०२४।१।१९ को वादी ।

            २.    दावी उजुरी दावीबमोजिम नभई धेरै जन्मजाल भई एकाघरमा नमिली १९८६ सालमा बाबाले भएको चल अचल बाबा र कान्छी आमा समेतको जम्मा ८ भाग लगाई बाबा आमा र वादीसमेत बसेको फेरी अंशमा चित्तनबुझी खड्गबहादुरसमेतले म उपर यसै अड्डामा अंश दिलाइपाउँ भनी नालेस दिएकोमा २००१।६।२८ का घरसारको मिलापत्रले २००१।७।२२ मा यसै अड्डाबाट मिलापत्र गरी आफ्नो भाग भोगचलन गरेका छौ, कान्छी आमाले भाइसरहकै अंश सोही मितिमा बुझेको भरपाईमा सहीछाप गरी दिनु भएकोछ, वादीको भाइ हेमबहादुरसमेतले अंशपाउँ भनी भतिजो बम्बबहादुरसमेत उपर यसै अड्डामा नालेस दिएको प्रतिउत्तर परी हेमबहादुरले तारेख छाडी ०२३।६।१९ मा डिसमिस भई छिनुवा मिसिल यसै अड्डामा छ अंशीलाई ठगी जग्गा दवाई छपाई खाएको छैन भन्नेसमेत प्रतिवादी ।

            ३.    २००१ सालमा अंशमा यिनीहरूको नालिस परी आखिर मिली घरसारमा बण्डा खडा गरिसकेको पनि देखिन आएको त्यस किसिम दवाएको भए यिनै वादी सरह अंशियार वादीका भाइ हेमबहादुर आमा इन्द्रमायालेसमेत दवाएको कुरा नालेसमा उल्लेख हुनुपर्ने नदेखिएको सो मुद्दा पनि वादीले तारेख छाडी डिसमिस गराएको देखिन आएको दवाईएको भए वादी सरह कै अरू अंशीयारको पनि उजुर हुनुपर्ने नभएको जग्गा जमिन दवाएको भन्ने देखिंदा जग्गा जस्तो चिज २२।२३ बर्षसम्म लुक्न दबिन नसक्ने बण्डा भइसकेपछि र बिक्री हुँदैका अवस्था उजुर गरी बदर गर्न सक्नुपर्ने नसकेको अंशमा नालेस परी बण्डा भइसकी अदालतबाट मिलापत्रसमेत भइसकेको समेत उक्त मुद्दामा पेश भइरहेको बण्डा र मिलापत्र नक्कलहरूबाट देखिन आएकोले समेत यस्तोमा ईन्साफ दिई रहन नपरी यो उजुर खारेज हुने ठर्हछ भन्ने ०२४।३।२०।३ को ओखलढुड्डा जिल्ला अदालतको फैसला ।

            ४.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

            ५.    अंश मुद्दा परी २००१ सालमा अंशबण्डा खडा गरी मिलापत्र भएको यिनै वादी पट्टिका भाइ हेमबहादुर समेतले प्रतिवादीउपर अंशमा ०२१ सालमा नालिस गर्दा २००१ सालमा मानो छुटिएको भनी लेखेको र मानो छुटाए पछिको आर्जन दर्ताको जग्गा दपोट गरेको होइन भन्ने प्रतिवादी लेखाई र २४ वर्ष पछिको यो उजुर देखिएको अरू अंशियारको उजुर नभएको दपोट भनेको जग्गा कुनै खरीदी बिक्री समेत भइसकेको प्रतिवादी लेखाईबाट देखिएको जग्गा लिने दिनेउपर उजुर नदेखिनाले समेत इन्साफ शुरूको मनासिव भन्नेसमेत ०२४।११।१५।३ को सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला ।

            ६.    सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

            ७.    साविक मुलुकी ऐन, अंश वण्डाको नं.३९।४०।४१ र प्रचलित मुलुकी ऐन, अंश बण्डाको नं.२०।२१।२२ मा अंशको नालेस उजुरी परी अंशवण्डा गरी दिनुपर्ने देखिन आएपछि अंशवण्डा गर्दा गर्नुपर्ने कारवाही विषयमा लेखिएको र सोही महलको साविक ४६ नं.मा दवाए छपाएको छैन भनी धर्म गरेपछि दवाए धर्म गर्नेले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खानु भन्ने र हाल प्रचलित अंश बण्डाको २७ नं ऐनमा दवाए छपाएको छैन भनी कागज गरिसकेपछि दवाएको ठहर्‍यो भने नदवाउने अंशियारले खान पाउने लेखिएको यसमा लेखिएबमोजिम अड्डा अदालतबाट धर्म भकाई कागज गराई वण्डा गरी दिएपछि दवाएको देखिन आएको नभई आफूआफू अंशियार मिली अंश लिई अंश विषयमा अव उजुर नगर्ने भनी घरसारमा बण्डापत्र गरी लिई दिई अड्डा मिलापत्र समेत गरी वसेको धेरै वर्ष अघिको व्यवहार देखिन आउँछ । सो अंशियार मध्ये यस मुद्दामा अरू कसैको उजुर नपरी वादी पुनरावेदकको मात्र उजुर परेको देखिन आएकोले यस्तो परिस्थितिमा अड्डामा गरेको मिलापत्रले स्वीकार गरेको उक्त घरसारको बण्डापत्रलाई अड्डाबाट धर्म भकाई बण्डापत्र भएको सरह भन्न नमिल्ने र सबै अंशियारको जेथा मिसाई आफू खुसी लिनु दिनु गरिसकेको दपोट भनेका जग्गाहरू पनि कुनै कुनै वादी समेत स्वयं साक्षी वसी बिक्री बन्धक, दृष्टिसमेत हुँदा तहतह गईसकेको देखिन आउँछ । अतःउपरोक्त ऐनहरूबाट यस्तो घरसारी अंशबण्डाका व्यवहारमा दबाए छपाएको भन्ने वादीको दावी लाग्न सक्ने देखिन आउँदैन । तसर्थ वादी खारेज गर्ने गरेकोसम्म इन्साफ मनासिव छ भन्ने ०२६।१।१२।५ को डिभिजन बेञ्चको फैसला ।

            ८.    उक्त निर्णयउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने खड्गबहादुर बनिया क्षेत्रीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा डिभिजन बेञ्चको निर्णयमा इन्साफका बुँदा लेख्दै खारेज गरेको देखियो र इन्साफको बुँदा दावीका प्रत्येक कुरामा बोलेको पनि देखिएन । ९९ सालमा परेको अंश मुद्दामा भएको प्रमाण मिसिल साथको मिलापत्र प्रतिलिपिमा हेर्दा बाबु मानबहादुर बाजे समेतले आर्जेको र हामीहरूले आर्जेकोसमेत श्री सम्पत्ति दोपाया चोपाया सुनाचाँदी जग्गा जमीन हाडाभाडासमेत एकै ठाउँमा मिसी २००१ साल आश्विन २८ गते सो बण्डापत्रको तपसीलमा आफ्नो फाँटवारी समेत खुलाई ऐन सवालबमोजिम पाससमेत गर्ने गरी यही २००१।६।२८ मा घरसारमा बण्डापत्रसमेत भइसकेबाट सो बण्डापत्रबमोजिम अंश पाएबाट लेखिएबमोजिम मिलनमा हामी वादीहरूको र आफ्नो अंश बण्डा पाउने भई ००१।२६।२८ मा पाससमेत गर्ने गरी घरसारमा बण्डापत्रसमेत भइसकेबाट सो बण्डापत्रबमोजिम मिल्नमा हामी प्रतिवादीहरू समेतको चित्त बुझ्यो भन्ने लेखिएको, सो बण्डापत्र पास नभए पनि ०३।३।९ गतेको सनदले बदर नहुने भोगबमोजिम सदर हुने र मूल कुरा घरसारमा भएको लिखत र कागजमा धर्म भाकेको वाक्यांश नभएको भनी खारेज गरेको देखिंदा अड्डा अदालतमा परी उठेको कागज बण्डापत्र व्यवहारमा धर्म भाकेको भएमात्र उजुर लाग्ने घरसारमा भएको कागज बण्डापत्रमा धर्म भाकेको बोली नपरेको भए उजुर नलाग्नु के हो भन्ने कुराकै समाधान गर्नुपर्ने मूल प्रश्न उपस्थित हुन आएको देखियो । सर्वोच्च अदालतको उक्त उल्लेखित जुन ठहर निर्णयमा साविक मुलुकी ऐन अंश बण्डाको ४६ नं.मा दवाए छपाएको छैन भनी धर्म गरेपछि दवाएको ठहरे धर्म गर्नेले पाउँदैन भन्ने र हालको मुलुकी ऐन अंश बण्डाको २७ नं.मा दवाए छिपाएको छैन भनी कागज गरेपछि दवाएको ठहर्‍यो भने नदवाउने अंशियारले खान पाउने लेखिएको यसमा त्यस्तो नभएको भन्ने जुन आधार लिएकोछ, सो युक्ति सङ्गत देखिदैन । किनभने जुन घरसारको लिखत भनिएको छ सो बण्डापत्रको लिखत गरिएको कुरा अंश मुद्दामा भएको मिलापत्रमा उल्लेख गरिएको हुँदा त्यो बण्डापत्रलाई घरसारको सामान्य लिखत जस्तो मान्न मिल्दैन । त्यसरी मिलापत्र गर्न हुँदैन भनी ऐनले प्रतिबन्ध लगाएको पनि देखिदैन । तसर्थ सो बण्डापत्रलाई कानूनी मिलापत्रबमोजिम बण्डापत्र मान्नै पर्ने देखिन्छ । उक्त उल्लेखित अंश बण्डाको ४६ नम्बरमा धर्म भाक्ने जुन कुरा उल्लेख भएको हो त्यो कुरा भरसक फाँटवारी दिनेले नदवाओस नदवाए धर्म र दवाए पाप भागी हुने धर्मको भावमा सत्य व्यवहार गरोस् भन्ने देखाएको सम्म देखिन्छ, जुन कुरा हालको नयाँ मुलुकी ऐन अंशबण्डाको २७ नम्बरमा दवाए छपाएको छैन भनी कागज गरेपछि उजुर लाग्ने गरेको व्यवस्थाबाट प्रष्ट गर्दछ । जुन बण्डापत्रलाई घरसारको कागज मान्ने हो भने अन्य घरसारको ऐनले मान्यता हुने कागजका व्यवहारमा बण्डा गर्नुपर्ने जस्ता श्री सम्पत्ति नराखी थोरै मात्र लेखि गरेको रहेछ भने बण्डापत्रमा नलेखी दवाएको जति जसको भोग चलन जिम्मामा थियो, उसले एकलौटी खाएको खाई हुन जाने अन्य व्यवहारमा पनि बाधा पर्नजाने हुनजान्छ । तसर्थ दवाएको रहेछ भने त्यस्तो अवस्था पर्नजाने हुन दिनु न्यायोचितसमेत नहुनेसमेत देखिंदा उक्त ऐनहरूको वास्तविक व्याख्या अड्डा अदालतमा परेको धर्म भाकी गरेका कागज बण्डापत्रमा दवाएको कुरामा मात्र दपोटमा उजुर लाग्ने घरसारमा भएको कानूनले मान्यता हुने बण्डापत्र कागजमा दवाएको कुरामा उजुर नलाग्ने भन्न नमिल्ने हुँदा खारेज गर्नेगरेको स.अ.को निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिश गरेका जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखि आएको ०२६।११।२९।५ को हुकुम प्रमांगाी ।

            ९.    बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने तत्काल माननीय प्रधान न्यायाधीशज्यूको ०२६।१२।२।१ को आदेश ।

            १०.    यसमा पेशीको तारेख ०२८।२।४।६ मा पेश हुन आएकोमा निवेदक वादी खड्गबहादुरको पटकपटक नाम पुकार्दा पनि उपस्थित हुन नआएकोले प्रतिवादी चन्द्रबहादुरको वा. तिलकुमारी रोहवरमा रही पेश भई प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा अंश दपोट गरे भन्ने दावीको वादीको यो नालेस लाग्न सक्ने नसक्ने के हो भन्ने प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने भएको छ । तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ४६ नं.मा दवाए छपाएको छैन भनी धर्म गरेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाई धर्म गर्ने चाहिंले पाउँदैन नदवाउने अरू अंशियारले ऐनबमोजिम अंशबण्डा गरी खानु भन्ने र नयाँ मुलुकी ऐन अंशबण्डाको २७ नं.मा दवाए छपाएको छैन भनी कागज गरिसकेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाउनेले पाउँदैन नदावाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन् दवाए वापतको सजाय हुँदैन भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा अंश मुद्दा परी मिलापत्र भई बण्डा उठीसकेपछि दवाए छपाएको देखिन आएको भन्ने मुख्य दावी भएकोले त्यसतर्फ हेर्दा यो मुद्दाको वादी खड्गबहादुर समेतको र प्रतिवादी चन्द्रबहादुर समेतको अंश मुद्दा परेकोमा आफ्नोफ्नो बाँडफाँडसमेत खुलाई ऐन सवालबमोजिम पास गर्ने समेत गरी २००१।६।२८ गते घरसारमा बण्डा भैसकेबाट मिलापत्र गर्नमा दुबै थरको चित्त बुझेको भनी घरसारको बण्डापत्रलाई सिरान हाली २००१।७।२२।३ मा पूर्व ३ नं.अदालतमा मिलापत्र गरेको रहेछ, सो मिलापत्र भनेको कागज अदालतमा परेको मुद्दामा रेखरूप गर्ने कामसम्म छाड्ने गरी भएको देखिन्छ । उक्त मिलापत्रबाटै भागबण्डा छुट्याई भागबण्डा भए गरेको देखिन आएन । घरसार भनेको २००१।६।२८ को बण्डापत्रको हकमा पास नभएको भन्नेसमेत वादीको लेखाई भएको सो बण्डापत्र सदर बदरबारे परिआएको यो मुद्दा नहुनाले त्यसतर्फ अहिले यस मुद्दाबाट निर्णय दिनमिल्ने नदेखिएकोले उक्त बण्डापत्रको सम्बन्धमा कुनै कुरा बोलिरहन मिलेन । यसस्थितिमा उपरोक्त ऐनबमोजिम अंश दपोटमा वादीको उजुर लाग्न सक्ने अवस्था नदेखिएको समेत हुँदा वादीको नालिस खारेज गर्ने गरी ०२६।१।१२।५ को डिभिजन बेञ्चले छिनेको मुनासिवै ठहर्छ । निवेदक वादी खड्गबहादुरको कोर्टफी राखेको हुँदा दोहर्‍याए वापत अरू सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

न्या. श्री नयनबहादुर र

न्यायाधीश श्री चन्द्रप्रसाद 

 

इति सम्वत् २०२८ साल आषाढ १५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु