निर्णय नं. ४८३२ - दर्ता बदर

निर्णय नं. ४८३२ ने.का.प. २०५० (ग) अङ्क १२
संयूक्त इजलास
माननीय न्यायधीश श्री गजेन्द्रकेशरी वास्तोला
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्बत २०४७ सालको दे.पु.नं. – ३६४
फैसला मितिः– २०५०।९।५।२
मुद्दा : दर्ता बदर ।
पुनराबेदक/प्रतिबादी: का.जि.का.न.पा.वडा नं. २८ न्ह्रयोखा बहाल बस्ने भक्तमान श्रेष्ठको मु.स. गर्ने प्रेमकृष्ण श्रेष्ठ ।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने काशीलाल श्रेष्ठ ।
(१) नक्सा ट्रेस लिंदा थाहा भयो भनी ज.प.को १७ नं.बमोजिम थाहा पाएको मितिले ६ महिना भित्र बादीले फिराद दिएकोलाई हदम्याद नघाई परेको भन्न नमिल्ने भई म्याद भित्र नै फिराद परेको देखिने ।
(प्र.नं.१४)
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्का
फैसला
न्या. उदयराज उपाध्याय
१. मध्यमाञ्चल श्रेत्रीय अदालतको इन्साफ उपर पुनरावेदलनको अनुमति प्रदान भइ आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।
२. काकी हेरामायाले मिति २००५।३।१६ गतेमा शेषपछिको बक्सपत्र गरी दिएको काकीको शेषपछी मैले भोग गरी आएको स्ववासी घर जग्गा सर्भे हुँदा का.न.पं.वडा नं.२८ कि.नं.६९८, ६९७ कायम भई सर्भे भएकोमा कि.नं. ६९८ को घरको लिग लगापात मध्येको घरबाहेकको उत्तरतर्फ अं.०–०–०–२ जति मेरो जग्गामा विपक्षीको कि.नं. ६९९ को क्षेत्रफल ०–०–१–२ जति मेरो जग्गामा घुसाई सर्भेमा लेखाई विपक्षीको नाममा दर्ता गरिएको रहेछन् आफ्नो हक दावी नै नपुग्ने मेरो हकको ०–०–०–२ मेरो फार्छे भित्रको जग्गा आफ्नो नाममा दर्ता गराएको विपक्षी भक्तमानको नामको दर्ताबाट ज. प.को १७ नं. अनुसार दर्ता वदर गरी मेरो कि नं. ६९८ को जग्गा घरमा समावेश गराई ज.प.को २ नं. अनुसार मेरो नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत ब्यहोराको मिति २०४१।७।२८ गतेको बादी काशी लालको फिरादपत्र ।
३. फिराद दावा झुट्ठा हो । मैले कुनै जग्गा दर्तागरेको छैन । मेरो भोग चलनको जग्गा २०३४ सालमा सर्भे नापी भै कि.नं.६९९ भै नापजाँच भएकोछ । २०६४ सालको सर्भे मापीबाट दर्ता भएको कुरामा मिति २०४१।७।२८ गतेमा दायर भएको फिराद हद म्याद भित्र नपरेकोले खारेजभागी छ कि नं. ६९९ को घर जग्गामा प्रवेश गर्ने बिपक्षीको कुनै बाटो छैन भन्ने समेत ब्यहोराको मिति २०४१।९।३० गतेको भक्तमान श्रेष्ठको प्रतिउत्तर–पत्र ।
४. वादी दावी मुलुकी ऐन ज.मि.को १८ मं.को म्याद नाघी मिति ०४१।७।२८ गतेमा बादीको फिराद परेको देखिदा वादी दावा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४३।११।५ गतेको काठमाडौ जिल्ला अदालतको फैसला ।
५. काठमाडौं जिल्ला अदालतको फैसलामा चित्र बुझेन उक्त फैसला वदर गरी मेरो फिराद–पत्र र पुनरावेदन जिकिर बमोजिम गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको वागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. शुरु काठमाडौं जिल्ला अदालतले हदम्यादको अभावमा खारेज गरेको निर्णय मिलेकै देखिन्छ । अतः वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०४६।३।१८।१ को बागमती अंचल अदालतको फैसला ।
७. काठमाडौं जिल्ला अदालतको फैसलाई सदर गर्ने गरी गरेको वागमती अंचल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ४ को खण्ड (ख) (ग) समेतको अबस्था विद्यमान भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको बादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको मिति २०३६।४।२३ गतेको निवेदन पत्र ।
८. बागमती अंचल अदालतको इन्साफमा न्याय प्रशासन सुधार ऐनको दफा १३, ४(ख) को त्रुटी देखिएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएन छ, कानून बमोजिम गरी पेश गर्न भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।२४ गतेको आदेश ।
९. वादीले नापीमा गइ नक्सा ट्रेसको उतार समेत मिति २०४१।७।२८ गतेमा परेको फिराद ज.प.को म्याद भित्रै देखिन आएकोले हदम्याद खिलाफ भनी फिराद खारेज गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरी बागमती अंचल अदालतले गरेको पुनरावेदन फैसला कानूनी त्रुटीपूर्ण हुँदा उक्त दुबै फैसला वदर हुन्छ । बुझ्नु पर्ने प्रमाण बाँकी भए सो समेत बुझी कानून बमोजिम ठहर निर्णय गर्नु भनी उपस्थित रहेका पक्षलाई तारिख तोकी मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ज.प.को १७नं. को प्रत्यक्ष त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने भक्तमान श्रेष्ठको वा प्रेमकृष्ण श्रेष्ठको यस सर्बोच्च अदालतमा दर्ता हुन आएको निवेदन–पत्र ।
११. जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ र ज. प. को १७ नं. को व्याख्यात्मक त्रुटी भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५) (ख) को अवस्था विद्यमान देखिदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा बढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदनलाई वारम्बार पुकार गर्दा पनि इजलास समक्ष उपस्थित नभएका र प्रत्यर्थी तर्फबाट उपस्थित बिद्धान अधिबक्ता श्री पे्रम बहादुर खड्काले विवादित कि.नं.६९८ को जग्गा कम भएको स्थिति मिति २०४१।७।२ गतेमा नक्सा ट्रेश उतार गर्दा वास्तविकता थाहा भएकोले मिति २०४१।७।२८ गतेमा ज. प. १७ नं. बमोजिम फिराद दायर गरेको कानूनसंगत हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले शुरुमा निर्णय गर्न पठाएको मनासिब छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नू भयो ।
१३. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब वेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१४. यसमा निर्णय तर्फ विचार गर्दा बादीले हेरामायाबाट मिति २००५।३।१९ गतेमा प्राप्त गरेको शेषपछिको वस्सपत्रबाट यो यति जग्गा भन्ने खुलेको नदेखिदा क्षेत्रीय उतार किताब र २०३८ सालमा प्राप्त गरेको जग्गा धनी प्रमाण पूर्जा समेतबाट विवादको कि.न.ं६९८ को कित्तामा जग्गा कम भयो भएन एकिन हुने स्थिति परेको देखिन आउदैन । घर जग्गा साविकदेखि भोग चलन गरि आए बमोजिम नक्सा प्रकृतिबाट देखिन नआएमा मात्र जग्गा कम भएको जानकारी हुने स्थिति पर्ने हुनाले मिति २०४१।७।२ गतेमा नक्सा ट्रेस लिदा थाहा भयो भनी ज.प.को १७नं. बमोजिम थाहा पाएको मितिले ६ महिना भित्र २०४१।७।२८ मा बादीले फिराद दिएकोलाई हदम्याद नघाई फिराद परेको भन्न नमिल्ने भई म्याद भित्र नै फिराद परेको देखिन आयो । तसर्थ फिराद खारेज गर्ने ठहराएको काठमाडौ अञ्चल अदालको फैसला समेत बदर गरी बुझ्नुपर्ने प्रमाण बाँकी भए बुझी कानून बमोजिम ठहर निर्णय गर्न मिसिल काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जीकिर पुग्न सक्दैन । कोर्टफि राखी पुनरावेदन–पत्र दायर गरेको देखिदा केही गरिरहन परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति संबत २०५० साल पौष ५ गते रोज २ शुभम् ।