शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६० - चोरी विजन दर्ता बदर

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८६०      ने.का.प. २०३१

फुल बेञ्च

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत

सम्वत् ०२१ साल दे.फु.नं. २९०

फैसला भएको मिति : २०२२।६।१।६ मा

अपीलाट : पूर्व २ नं.वेताली मध्ये दारखा देउराली बस्ने जंगध्वज कार्की

विरुद्ध

विपक्षी : ऐ.ऐ. सुर्के गैरी बस्ने बखतबहादुर कार्की समेत

मुद्दा : चोरी विजन दर्ता बदर

(१)   कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ नमिली वा बाझिएको मान्नु पर्ने हुन्छ ।

(प्रकरण नं. १८)

(२)   यो कारण र यो कानूनले प्रस्तुत उजूर हदम्याद नाघेको भन्ने नमिल्ने समेत कुनै कानूनी सिद्धान्त कायम गरी निर्णय नदिएमा रुलिङ मान्न नमिल्ने ।

(प्रकरण नं. १९)

अपीलाट तर्फबाट : प्लिडर खगराज

रेस्पोण्डेण्ट तर्फबाट : एडभोकेट कृष्णप्रसाद पन्त

उल्लिखित मुद्दा : अपीलाट वादी रामवर्ण कुर्मी, विपक्षी प्रतिवादी भिखी अहिर वालीको फुल बेञ्च

फैसला

      १.     ७५ साल र त्यस अघिदेखि अंश र किनुवा समेत गरी भोगेको घरबारी गल्ली मुनि १ ज्यामिरे घरबारीको पुछार ज्यामिरेबाटै १ विमिरे बारी १ पेधेँरेबारी पल्लो कुलल नुनथला समेत १ फेडवीबारी १ तर्फ पुछारको खर्क १ पाखोला बागिसिङ्गेका स्वारो १ रमिते गैरी खर्क १ सुर्केको गैरी बहार १ तल्लो माथिल्लो पाखोका र कोलापानी पातल खर्क समेतमा धर्मपुत्र बस्न गएको साहिँलो भाइ शेरबहादुरलाई निकाली दिँदा सबै भाइका अंशबाट झिकी पुर्‍याउँदा मेरो भागको सुर्केको गैरी टाहार दिई भरपाई भएको सो बाहेक अरू उक्त लेखिएको खर्क जग्गा समेत अरू कसैको दावी खिचोला नपरी विजन जाँच समेत मेरै भई भोगी आएको थिएँ । ०१५।११।१ गते श्रीपञ्चमीका दिन अन्याय मध्ये तालुकदार बाहेक अरू ५ जना प्रतिवादीहरू आई ज्यामिरे बोटको कुडलपारी १ विमिरेको छेउ नूनथला १ ज्यामिरे बोटे १ समेत ३ ठाउँको बारी बखतबहादुरको बाबु शेरबहादुरका नाउँमा विजन दर्ता भएको रहेछ जग्गा छाडी दे भनेबाट उसै दिन तालुकदारकहाँ गई सो घडा हामी समेतलाई थाहा नदिई दर्ता गरी पठाई दिएछन् भनेकाले चोरी विजन दर्ता गराएको थाहा पाएका ३५ दिनभित्र नालेश गर्न आएको छु सजाय गरी सो चोरी विजन दर्ता गराएको लगत कट्टा गराई जग्गाको दावीसमेत मेटाई पाउँ । मेरो हक जाने कागज गराएको भए देख्न पाएका बखत उजूर गर्नेछु भन्ने समेत वादी ।

      २.    वादीको अंशमा ६ कित्तामा वादीको नाममा विजन दर्ता छ । गल्ली पुछार डिल पश्चिम ज्यामिरे बोटे काउले कुनै विमिरे छेउ नूनथला ज्यामिरे बोटे मुनि कुदुल बारी समेत ४ कित्ता जग्गा हाम्रा बाबु शेरबहादुरका नाउँमा विजन माना ।४।४ दर्ता भई बाबा मरी हामीले भोगचलन गरी खाएको देखिएको जग्गा बाहेक वादीको जग्गा छैन वादीको विमिरे भन्ने ।।२ मानाको जग्गा विजन खोल्सा पारी उत्तरपट्टि छुट्टै छ मेरो तल्लो माथिल्लो पाटा खोला कालापानी खर्क रमिते गैरी धारी वादीको हकको होइन भन्ने समेत प्रतिवादी ।

      ३.    प्रतिवादीबाट दाखिला भएको विजन पुर्जाहरूबाट सो विजन जाँच भएको ०३ सालमा देखिएको र जग्गा सदाई पाउँ भन्ने उजूरी लेखमा पनि यो मिति यो किल्ला भित्रको जग्गामा खिचोला गरे भन्ने वादीले नै लेखेको नहुँदा यो मुद्दा खारेज हुने ठहर्छ भन्ने पूर्व २ नं.दोलखा अदालतको ०१६।५।२८ को फैसला ।

      ४.    पदेँरे कुदुल बारी रू.४६ मा ८५।९।११।३ मा कटकबहादुर कार्की क्षेत्रीले विमिरे बारी ८६।१२।१५।२ मा रू.२१। मा धनवीर प्रणिध्वज कार्कीहरूले र ज्यामिरे बोटे बारी रू.२२।।। म जितमान सुनुवारसँग राजीनामा गराई लिएको र तिरो भरो समेत मैले नै गरेको शेरबहादुरले त्यस ठाउँमा अंश पाएको भर्पाइबाट नदेखिने शेरबहादुरले अंशमा पाएको भन्न र अघिल्लो सालमा यो हिसाबबाट लगत दर्ता भएको औ फलानासँग किनी लिएको भनी लेख्न नसकेको भएपछि बिना लगत निस्सा बेगरको विजन दर्तालाई रीतपूर्वकको भन्न नभई खास चोरी दर्ता गरेको देखिने, प्रतिवादीले मेरो जग्गै छैन भन्न समेत नसकी खोल्सी पारी छ भनेपछि कहाँ कस्को कति रहेछ छुट्याई दुबैतर्फको जग्गा एउटै देखिएमा दोहरा दर्ता गरेको ठहर्ने भई दोहरा दर्ता गरेकोमा म्यादमा निजको उजूर नपरेको भन्न नहुने यस्तो कुरामा म्यादभित्रको उजूर नभएको भनी शुरूले खारेज गरेको हुँदा चित्त बुझेन भन्ने समेत वादीको अपील ।

      ५.    प्रतिवादीले ८२ सालको छोडपत्रको जग्गा हो वादीको जग्गा होइन भनी छलफलमा जिकिर लिएकोले सो लिखत हेर्दा गैरी धारा भन्ने गैरी खर्क जग्गा छोडपत्र हुँदा यिनै वादी साक्षी प्रतिवादीले लिएको देखिँदा वादीको दर्ता जग्गा यो रहेछ भन्न मनासिव नदेखिँदा वादीको दर्ता जग्गा छुट्टै अर्को छ भनी प्रतिवादीले जिकिर लिएको र झगडा परेको जग्गामा वादी नै साक्षी बसी प्रतिवादीले लिएको देखिँदा वादीको जग्गा यो झगडा परेको रहेछ भन्न नभई म्याद नाघेपछि उजूर गरेको अ.बं.१०६ नं. ले पनि वादीको नालेस दावा नपुग्ने हुँदा शुरूले खारेज गरेको मनासिव ठहर्छ भन्ने अपील दोश्राको ०१६।२६ को फैसला ।

      ६.    अपीलले हदमुनि गरी छिनेकोमा अपील दिन पाउँ भन्ने वादीको निवेदन परी सनदले हदमाथिको हुने हुँदा अपील लिई दिनु भन्ने मध्यमाञ्चल उच्च अदालतबाट आदेश  भएको ।

      ७.    ९९ सालमा रामेछाप मालमा मेरो नाउँमा दर्ता गराई रसिद दिंदा जग्गा छुट्याई दिएको र धर्मपुत्र बस्ने बखतबहादुरको बाबु शेरबहादुरले अंश बुझी लिएको भरपाईमा अन्तैको जग्गा देखिएकोले मिसिलमा पेश भइरहेकै भएपछि ति निस्सा प्रमाणबाट विजन दर्ता गराएको रहेछ, तहकिकात नगरी झगडै नपरेको जग्गाको छोडपत्रबाट जग्गा प्रतिवादीको ठहर गरी छिनेकोले चित्त बुझेन भन्ने समेत वादीको अपील ।

      ८.    वादीको दावी जिकिरको जग्गा कुन कुन हो प्रतिवादीका किल्ला समेत प्रष्ट देखिने गरी नक्सा गरी पठाई दिनु भनी इलाका अदालत चरिकोटलाई लेखी पठाई काम तामेल भई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१९।२।७।१ को आदेश ।

      ९.    तिरो दर्ता भोग गरेको जग्गामा विजन दर्ता गरेको छ भन्ने व्यहोराले प्रतिवादीले खिचोला गरे भन्ने दावी भएको देखिँदा झगडा परेको जग्गा कस्को तिरो दर्ता हकको रहेछ यसका हकको भन्ने समेत किनारा भएको नदेखिँदा ऐन बमोजिम इन्साफ गर्नु भनी का.जि.अ.प्र.मा पठाई दिनु भन्ने डिभिजन बेञ्चको ०१९।१०।२९।२ को फैसला ।

      १०.    २ बर्ष नाघेपछि उजूर हुँदा लाग्न नसक्ने भनी अघि शुरू र अपीलबाट फैसला गरेकोमा त्यसतर्फ डिभिजन बेञ्चका फैसलामा कुनै निर्देश भएको नहुँदा विजन दर्ता लगत कट्टा गरिपाउँ भन्ने कुराको निर्णयतर्फ हाल केही विचार गर्नुपर्ने आवश्यक पर्न आएन, डिभिजन बेञ्चको फैसलामा लेखिए बमोजिम झगडा परेका जग्गा यसको हकको भन्ने समेत किनारा भएको नदेखिँदा ऐन बमोजिम इन्साफ गर्नुपर्ने भई विचार गर्दा वादीको फिरादपत्रमा आफ्नो हक भोग चलनको जग्गामा हाल विजन सिपाई वा अरू कुनै किसिमबाट आफ्नो हकको जग्गामा भोगचलन गर्न नदिई खिचोला गरे भन्ने फिरादपत्रमा दावी लेखिएको नभई दावी गरेका जग्गा हाम्रो बाबुको नाउँमा दर्ता भएकोले छाडी दिनैपर्छ हामीले खानुपर्छ भने अनुसार प्रतिवादीले भनेको भन्नेसम्म देखिएको यो भनेअनुसार प्रतिवादीहरूले जग्गामा दखल कब्जा गरे भन्ने वादी दावी भएको नदेखिएकाले खास जग्गामा दखलै नपरी मुखले पनि गएकै भनेको भरबाट हक बेहकमा निर्णय गर्न आवश्यक पर्न नआउने र पछि नक्सा हुँदा जग्गामा झगडा जनिएको आएकोबाट सो झगडा जनिएको जग्गाहरू वादी प्रतिवादी कस्को हक दर्ताको रहेछ भनी निर्णय गरी दिनु पर्ने हो कि भने पनि वादी फिरादपत्रमा जग्गा दखल कब्जा गरे भन्ने वादी दावी नभई त्यसपछि हुँदै गएका वादविवादको लेख लेखाईबाट देखिन आएको झगडाको निर्णय गर्न पनि मिल्ने देखिन आउँदैन, वादी प्रतिवादी दुबैतर्फ विजन जाँच हुँदा दर्ता भएकै देखिएकोले आफ्नोफ्नो दर्ता तिरो हकभोग चलनको जग्गामा चापी मिची वा हल विजन मिसाई वा अरू कुनै किसिमबाट आफूलाई भोगचलन गरी खान नदिई कब्जा खिचोला गरेमा उसै बखत ऐन बमोजिम नालेश गर्न पाउने हक सुरक्षित हुनाले सो बमोजिम उजूर परेमा ठहरे बमोजिम हुने भन्ने समेतको जि.अ.को ०२०।१०।२।५ को फैसला ।

      ११.    मेरो वेवर्जित लेखाएको विजन जग्गामा हल विजन गर्न नआएबाट मैले थाहा नै नपाउने र थाहा पाएपछि म्यादभित्र उजूर गरेको छु । यस्तोमा २ बर्षको हक नलाग्ने हुनाले समेत चित्त बुझेन भन्ने वादीको अपील ।

      १२.   हाल आवादी गर्न पाउँ भन्ने दर्खास्त पर्न आएकोमा सरजमिन बुझ्दा सो हाल आवादी गर्ने जग्गाको साथ जोडिएको जिम्मावाल तालुकदार सँधियारका मानिस नबुझी वरपरका मानिस राखी सरजमिन बुझ्न हुँदैन, विदेश गएको र सदरमै भए पनि अन्त ठाउँमा जागिरे भई बसेको वा नोकरी गरी बसेको बाहेक अरू साँध जोडिएका सँधियारा मानिस बुझी हाल आवादी दर्ता हुने ठहरे सवाल सनद बमोजिम नम्बरी दर्ता गरिदिनु, नजिकको तालुकदार जिम्मवाला सँधियार नबुझी वरपरका मानिस बुझी जग्गा दर्ता गरी दिएको र साथ जोडिएका जिम्मावाला तालुकदार सँधियार मानिसको सो जग्गा आवाद गर्न नहुने भन्ने उजूर परी ठहरेमा समेत सो जग्गा दर्ता गरी तिरो भरो गरिसकेको भए पनि तिरोको नाताले जग्गा आवाद गर्नेले पाउँदैन भन्ने समेत ९५।३।६।२ मा सदर भएको खड्गनिसाना रिपोर्ट सदर बमोजिमको पहाड मालका नाउँमा भएको थप सवालको दफा २ मा उल्लेख भएको र चोरी विजन दर्ता गरे भन्ने वादी दावी भएकोले उक्त चोरी विजन दर्ता भएको हो होइन भन्ने कुराको निर्णय गर्नुपर्ने हूँदा अ.बं.२०२ नं.नियम बमोजिम छलफलमा झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२१।४।२८।४ को आदेश ।

      १३.   प्रस्तुत मुद्दा हाल आवादी गर्न पाउँ भन्ने दर्खास्त परी हाल आवादीमा दर्ता गरायो भन्ने र यो मितिमा यो किल्ला भित्रको जग्गामा खिचोला गरे भन्ने वादी दावी नभई चोरी विजन दर्ता गरी दिनेलाई सजाय गरी निजको विजन लगत कट्टा गरी जग्गाको दावीसमेत मेटाई पाउँ भन्ने समेत वादीको दावी भएको, मिसिल सामेल रहेको दर्ता उतारबाट प्रतिवादीको नाउँमा ०३ सालमा विजन दर्ता भएको देखिएको सो दर्ता बदर गरिपाउँ भन्ने वादीको फिराद । ०१५।११।१३।३ मा मात्र परेको र तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.मा थुनुवा भएको जग्गा दिए लिएको र थुनुवा बालीको कुरा बाहेक २ बर्षभित्र नालिस नपरे नसुन्नु भन्ने उल्लेख भएका पाइन्छ ।

      १४.   उपरोक्त उल्लेख गरे बमोजिम वादीको दावी कानूनले निर्धारित गरेको हदम्यादभित्र परेको नदेखिएकोले ऐनको हदम्याद भित्र निच मारी बस्ने वादीलाई कानूनले मद्दत गर्न नसक्ने भएकोले वादी दावी खारेज गर्ने गरेको शुरूको र अपीलको इन्साफ मनासिव छ । खारेज गर्नुपर्ने मुद्दामा झगडा परेको जग्गा कस्को तिरो दर्ता हकको रहेछ यसको हकको भन्ने समेत किनारा भएको नदेखिँदा ऐन बमोजिम इन्साफ गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१९।१०।२९।२ मा भएको फैसलासँग राय सहमत नहुँदा सर्वोच्च अदालत नियमावली बमोजिम फुल बेञ्चमा पेश गर्न तारेखमा रहेका पक्ष विपक्षीलाई तारेख तोकी मिसिल फुल बेञ्चको लगतमा दर्ता अपील दर्तामा बुझाई दिनु भन्ने समेत ०२१।११।२०।४ को डिभिजन बेञ्चको फैसला ।

      १५.   तारेखमा रहेको दुबै पक्षका वारेस रोहवरमा रही ०२२।५।२५।६ मा पेश भई वादी जंगध्वज तर्फबाट विद्वान प्लिडर खगराजले र विपक्षी प्रतिवादीतर्फबाट विद्वान एडभोकेट कृष्णप्रसाद पन्तले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०३ सालमा विजन दर्ता भएको मितिले २ बर्षभित्र उजूर नहुँदा खारेज हुने भनी शुरू र अपीलबाट फैसला भएकोमा अपील तहवली आई पेश हुँदा तिरो दर्ता भोग गरेको जग्गामा विजन दर्ता गरेको छ भन्ने व्यहोराले प्रतिवादीले खिचोला गरे भन्ने दावी भएको देखिँदा झगडा परेको जग्गा कस्को तिरो दर्ता हकको रहेछ यसको हकको भन्ने समेत किनारा भएको नदेखिँदा ऐन बमोजिम इन्साफ गर्नु भनी का.जि.अ.पै.मा पठाई दिनु भन्ने १९।१०।२९।२ को डिभिजन बेञ्चबाट फैसला भएको र सो फैसला अनुसार मिसिल का.जि.अ.मा गएकोमा इन्साफको तहबाट खारेजै गर्ने गरी ०२०।१०।२।५ मा का.जि.अ.ले फैसला गरे उपर अपील गरी आई पेश हुँदा ०३ सालमा विजन दर्ता गरेको बदर गरिपाउँ भन्ने फिराद १५।११।१३।३ मा मात्र परेको तत्काल प्रचलित जग्गा मिच्नेको २१ नं.मा थुनुवा भएको जग्गा दिए लिएको र थुनुवा बालीको कुरा बाहेक २ बर्षभित्र नालेस नपरे नसुन्नु भन्ने उल्लेख भएको वादीको दावी उक्त कानूनले निर्धारित गरेको हदम्याद भित्र परेको नदेखिएकोले वादी दावी खारेज गर्ने गरेको शुरू र अपीलको इन्साफ मनासिव छ । ०१९।१०।२९।२ को डिभिजन बेञ्चको फैसलासँग राय सहमत नहुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०२१।११।२०।४ को डिभिजन बेञ्चबाट फैसला भई रुलिङ्ग बाझिएको भनी यस बेञ्चमा पेश हुन आएको रहेछ ।

      १६.    ०१९।१०।१९।२ को डिभिजन बेञ्चबाट भएको फैसला अन्तरिम आदेश सरहको हो त्यसबाट कुनै कानूनी सिद्धान्त कायम गरी अन्तिम निर्णय दिइएको छैन । त्यसकारण ०२१।११।२०।४ को डिभिजन बेञ्चको फैसलासँग उक्त ०१९।१०।२९।२ को डिभिजन बेञ्चको फैसलाको रुलिङ्ग बाझिएको भन्न नमिल्ने भन्ने विपक्षी प्रतिवादीतर्फका विद्वान एडभोकेटले प्रारम्भिक आपत्ति गर्नु भएकोले उक्त ०२१।११।२०।४, ०१९।१०।२९।२ को डिभिजन बेञ्चको फैसलाको रुलिङ्ग बाझिएको भन्न मिल्ने नमिल्ने के हो भन्ने तर्फ नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आयो ।

      १७.   सर्वोच्च अदालत नियमावलीको नियम ३३ को (ख) मा एउटा डिभिजन बेञ्चले अर्को डिभिजन बेञ्चबाट भएको रुलिङ्गसँग सहमत नभई फुल बेञ्चमा पेश गर्नु भनी सोही बेञ्चमा प्रधान न्यायाधीशबाट आदेश भएको भन्ने उल्लेख भएको छ । अब रुलिङ्ग शब्दको के अर्थ हुन्छ र के कस्तो अवस्थामा रुलिङ्ग बाझिएको भन्न मिल्छ भन्नेतर्फ हेर्दा कुनै पनि मुद्दाको मिसिलबाट देखिएको तथ्यमा न्यायिक मन लगाई निर्णय दिंदा मुद्दाको रोहमा जुन कानूनी सिद्धान्त ठहराइएको हुन्छ वा प्रतिपादित भएको हुन्छ त्यसलाई रुलिङ्ग भनिने र त्यसरी मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले ठहराएको कानूनी सिद्धान्त नजीरको रूपमा बस्ने र संविधानको धारा ७३ बमोजिम सबै अदालतले मान्नु पर्ने हुनाले एकै किसिमको मुद्दामा दुई डिभिजन बेञ्चको दुई रुलिङ्ग हुन गएमा उपरोक्त सिद्धान्तमा असर पर्ने हुँदा दुई रुलिङ्ग हुन गई रुलिङ्ग बाझिएमा त्यसको समुचित निर्णय फुल बेञ्चबाट गराउने गरी नियम बनेको देखिएको छ ।

      १८.   कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ्ग नमिली बाझिएको मान्नु पर्ने हुन्छ र यस्तो रुलिङ्ग बाझिएको सम्बन्धमा अपीलाट वादी रामवर्ण कुर्मी विपक्षी प्रतिवादी भिखी अहिरसमेतको बाली मुद्दामा कुनै एक बेञ्चबाट भएको फैसलामा स्थापित सिद्धान्तसँग यदि अर्को कुनै बेञ्च सहमत नभई अर्कै सिद्धान्त स्थापित हुने फैसला गर्छ भने त्यस अवस्थामा रुलिङ्ग बाझिएको भन्नु पर्ने भन्ने ०२१।५।१३।६ मा फुल बेञ्चबाट फैसला भइरहेको पनि  देखिन्छ ।

      १९.    प्रस्तुत केशमा ०१९।१०।२९।२ को डिभिजन बेञ्चबाट भएको फैसलामा के कानूनी सिद्धान्त प्रतिपादित भएको छ भन्नेतर्फ हेरेमा ०३ सालमा विजन दर्ता भएको मितिले २ बर्षभित्रको उजूर नभएकोले खारेज हुने भनी शुरू र अपीलले फैसला गरेकोमा झगडा परेको जग्गा कस्को तिरो दर्ता हकको रहेछ यसको हकको भन्ने समेत किनारा भएको नदेखिँदा ऐनबमोजिम इन्साफ गर्नु भनी का.जि.अ.मा पठाई दिने भन्ने सम्म कारवाईको रूपमा उक्त ०१९।१०।२९।२ को डिभिजन बेञ्चबाट फैसला भएको देखिन्छ । उक्त फैसलाबाट यो कारण र यो कानूनले प्रस्तुत उजूर हदम्याद नाघेको भन्न नमिल्ने भन्ने समेत कुनै कानूनी सिद्धान्त कायम गरी निर्णय दिएको नदेखिएकोबाट त्यस्तो कुरालाई रुलिङ्ग मान्न नमिल्ने उसमाथि उक्त ०१९।१०।२९।२ को डिभिजन बेञ्चको फैसला कार्यान्वित भइसकेको पनि देखिएको र ०२१।११।२०।४ को डिभिजन बेञ्चबाट भएको फैसलाले यस्तो चोरी विजन दर्ता गर्‍यो भन्ने मुद्दामा जग्गा मिच्नेको २१ नं. ले निर्धारित गरेको म्याद २ बर्षभित्र उजूर परेको नदेखिएकोले खारेज हुने भन्ने कानूनी सिद्धान्त प्रतिपादित गरेको देखिनाले उक्त ०१९।२०।२९।२ र ०२१।११।२०।४ को डिभिजन बेञ्चको फैसलाको रुलिङ्ग नमिली बाझिएको भन्न मिल्ने देखिएन ।

      २०.   तसर्थ रुलिङ्ग बाझिएको भनी यस बेञ्च समक्ष प्रस्तुत हुन आएको यस केशमा उपरोक्त कारणहरूबाट उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिली बाझिएको भन्नै नमिल्ने देखिन आएको हुँदा यस बेञ्चबाट कुरा हेर्न मिलेन । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

न्या. नयनबहादुर के.सी.,

न्या. वासुदेव शर्मा,

न्या. सुरेन्द्रबहादुर बस्नेत

 

इति सम्वत् २०२२ साल आश्विन १ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु