निर्णय नं. ९१०६ - रैकर लगत कट्टाको निर्णय बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
आदेश मिति M २०७०।१०।५।१
०६९–CI–०९६३ र ९६४
मुद्दाः रैकर लगत कट्टाको निर्णय बदर ।
निवेदक M ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ७१ को सुशीला श्रेष्ठसमेत
विरूद्ध
प्रत्यर्थी M गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंसमेत
§ गुठी वा रैकर जग्गाको यकीन नै नगरी जग्गाको लगत नभिडेको अवस्थामा अनुमानको भरमा १५ बर्ष भन्दा अघिदेखि तहतह हक हस्तान्तरण भई आएको एकाको नाममा दर्ता भईसकेको जग्गालाई बिनाआधार बिनाप्रमाण लगत भिडेको भनी रैकर जग्गालाई गुठी कायम गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठी संस्थानलाई दिएको नदेखिँने ।
(प्रकरण नं.६)
निवेदकका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री खगेन्द्र अधिकारी
प्रत्यर्थीका तर्फबाट M विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरल
अवलम्बित नजीर M
सम्बद्ध कानून M
§ गुठी संस्थान ऐन, २०३३ को दफा ३९-१_
शुरू निर्णय गर्ने M– श्री विष्णुप्रसाद सिग्देल
गुठी संस्थान केन्द्रीय कार्यालय ।
पुनरावेदनमा फैसला गर्ने M– माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा
माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
फैसला
न्या.बैद्यनाथ उपाध्याय M पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम छ M–
विश्वरूप गुठीको लगत नं.४६ मा भिड्ने ल.पु.न.पा.वडा नं.५(झ) कि.नं.७० क्षेत्रफल १–२–० जग्गा गुठी लगतमा मेरो नाममा दर्ता भएको जोताहा कृष्णकुमारी भन्ने नैनकुमारी भएकोमा नैनकुमारीको अघि नै मृत्यु भएको र फिल्डबुकको किसानको व्यहोरामा उल्लेख मेरा दाजु न्हुच्छेलालसमेत परलोक भै उक्त जग्गा मैले नै जोती कमाई हालसम्म भोगचलन गरी आएको हुँदा तिरो तिरान गरी मेरो नाममा जग्गाधनी प्रमाण प"र्जा पाऊँ भनी ललितपुर टंगालको हाल ल.पु.न.पा.१९ बस्ने धनकृष्ण महर्जन ज्यापुको मिति २०४६।३।९ मा परेको निवेदन ।
उक्त जग्गाको फिल्डबुक उतार हेर्दा ललितपुर नगर वडा नं.५(झ) कि.नं.७० को क्षेत्रफल १–२–० जग्गाको जोताहाको नाम थर वतनमा कृष्णकुमारी भन्ने नैनकुमारी किसानको व्यहोरामा यो जग्गा ललितपुर टंगालटोल बस्ने न्हुच्छेलालको हो मैले अधियामा जोती खाएको छु भन्ने उल्लेख भएको, निवेदकले माग गरेको जग्गा मालपोत कार्यालयको मिति २०३५ असारको निर्णयले शिवलाल ताम्राकारले रैकर दर्ता गरेको साविक पा मंगल, ५९।१५२८ नं.को दर्ता भएको खेत सपाजछु ।।२ थसीखेल ।– जग्गामा भिडाएको देखिन्छ ।
शिवलाल ताम्राकारले उक्त जग्गा मेरो रैकर जग्गा हो गुठी होइन भनी मिति २०४६।८।१८ मा बयान कागज गरेको देखिन्छ भने सुशीला श्रेष्ठले मिति २०४३।२।२९ मा खरीद गरी लिएको छु आफैँ कमाई आएको छु भनी मिति २०४६।१२।१६ मा बयान गरेको कागजबाट देखिन्छ ।
फिल्डबुकमा उल्लेखित न्हुच्छेलाललाई म्याद पठाउँदा निजको मृत्यु भै सकेको निजको छोरा सानुकाजीले उक्त जग्गा विश्वरूप गुठीको लगत नं.४६ मा मेरो जिजुबाजे धनकृष्णको नाममा दर्ता भएको गुठी जग्गा हो । शिवलाल ताम्राकार ।५९।१५२८ सपाज खेत भनेको जग्गा चापागाउँ जाने बाटोमा पर्दछ र थसीखेलको जग्गा साविक ०–५–० मात्र भएकोले यो जग्गा उक्त साविक लगतसँग भिड्ने जग्गा होइन । गुठीको लगतमा उल्लेखित धनकृष्ण ज्यापु १९९६ साल वैशाख महिनामा परलोक भएको र धनबीर ज्यापुले धनकृष्ण भनी निवेदन गरेको जालसाजी हो भनी ललितपुर गुठी तहसीलमा निवेदन दिएको ।
विवादित जग्गा कार्यालयमा रहेको लगतसमेतबाट विश्वरूप गुठीको लगत नं.४६ खेत ।६ को मोही धनकृष्ण त्यागल स.चा.१।७।२४ नगदी ।८० को ०२५।२६ सालको लगतबमोजिम बाँकी भनी उल्लेख भएको देखिन्छ ।
विवादित जग्गा साविक लगतबाट गुठीकै देखिएकोले रैकर लगत कट्टा भै गुठी नै कायम हुनुपर्ने व्यहोराको ललितपुर गुठी तहसील तथा खर्च कार्यालबाट किटानी रायसाथ फायल यस संस्थानमा प्राप्त हुन आएको ।
यसमा ललितपुर नगरपालिका वडा नं.५(झ) कि.नं.७० को १–२–० जग्गा नापीका समयमा फिल्डबुकमा गुठी लेखाउन छूट हुन गएको भएतापनि साविक गुठी लगतभित्रको जग्गा भएको कार्यालयको लगतबाट देखिन आएकोले यस्तो प्रकारको गुठीको जग्गा रैकरतर्फ दर्ता हुन गएको देखिएकोले गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम उक्त रैकर लगत कट्टा भै विश्वरूप गुठीको कायम हुने ठहर्छ भन्ने गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५५।१।६ को निर्णय पर्चा ।
साविक जोताहा मोहीको मृत्युपछि निजको हकखाने छोरा कृष्णबहादुरले मिति २०३७ सालमा आफ्ना नाममा जोत नामसारी गरेको साविक दर्ताभित्रको जग्गा साविक भिडी निर्विवादरूपमा २०३५ सालमा दर्तासमेत भै कृष्णबहादुरले जग्गा प्राप्त गरेपछि जोतसमेत कट्टा गरी साविक जग्गाको वस्तुस्थिति परिवर्तन भई तहतह हक हस्तान्तरण भै मेरा नाउँमा आएपछि नक्सा पास भै घर निर्माण गरी भोगचलन गरी आएकोमा श्रेस्ताबाट देखिने जग्गाधनीलाई बुझ्दै नबुझी दावीको जग्गा गुठीको हो भन्ने एउटै पनि आधार प्रमाण नहुँदा नहुँदै पनि अड्डामा रहेको श्रेस्ता प्रमाणको प्रतिकूल हुने गरी गुठी कायम गर्ने गरी भएको मिति २०५५।१।६ को निर्णय वदर गरी रैकर जग्गाको दर्ता श्रेस्ता यथावत् राखी पाऊँ भन्ने सुधिरबहादुर श्रेष्ठको पुनरावेदनपत्र ।
साविक जोताहा मोहीको मृत्युपछि निजको हकखाने छोरा कृष्णबहादुरले मिति २०३७ सालमा आफ्ना नाममा जोत नामसारी गरेको साविक दर्ताभित्रको जग्गा साविक भिडी निर्विवादरूपमा २०३५ सालमा दर्तासमेत भै कृष्णबहादुरले जग्गा प्राप्त गरेपछि जोतसमेत कट्टा गरी साविक जग्गाको वस्तुस्थिति परिवर्तन भई तहतह हक हस्तान्तरण भै मेरा नाउँमा आएपछि नक्सा पास भै घर निर्माण गरी भोगचलन गरी आएकोमा श्रेस्ताबाट देखिने जग्गाधनीलाई बुझ्दै नबुझी दावीको जग्गा गुठीको हो भन्ने एउटै पनि आधार प्रमाण नहुँदा नहुँदै पनि अड्डामा रहेको श्रेस्ता प्रमाणको प्रतिकूल हुने गरी गुठी कायम गर्ने गरी भएको मिति २०५५।१।६ को निर्णय बदर गरी रैकर जग्गाको दर्ता श्रेस्ता यथावत् राखी पाऊँ भन्ने सुशीला श्रेष्ठको पुनरावेदनपत्र ।
यसमा विवादित जग्गा शिवलाल ताम्राकारका नाउँमा २०३५ सालमा रैकरमा दर्ता भएको कुरा गुठी संस्थानको मिति २०५५।१।६ को निर्णयमा उल्लेख भएको देखिन्छ । शिवलालबाट मोही जनिएको नैनकुमारीको छोरा कृष्णबहादुरका नाउँमा २०३७।५।२ मा गएको पाइन्छ । कृष्णबहादुरबाट दिवाकर आचार्यमा गएको र दिवाकरबाट २०४३ सालको लिखतबाट सुशीलाका नाउँमा आएको देखिन्छ । यसपछि नक्सापास गरी घर निर्माण भएको र केही जग्गा बाटोका लागि छुट्याइएको अवस्थामा मिति २०५५।१।६ को निर्णयले गुठी कायम भएको भनी २०६७।१।६ को पत्रबाट जनाउ दिएको गुठीको निर्णय फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं.एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि वा अवधि व्यतीत भएपछि लगाउको मुद्दा साथै राखी नियमानुसार पेश गर्नु भन्ने मिति २०६७।५।२० को पुनरावेदन अदालत, पाटनको आदेश ।
कि.नं.७० को जमिन शिवलालले मेरो साविक १५५८ दर्ताको सताजरू १० आना र ठसीखेल ५ आना गरी २ खलाको जग्गा कि.नं.७० को १–२–० जग्गा हो भनी ती खलामा भिडाई दर्ता गराएको देखिन आएको छ । सो खलाहरूको दर्ता भिडाई निज शिवलालले चापागाउँ जाने बाटोका र लगनखेलका जग्गा दर्ता गराएका हुन् भनी सानुकाजी महर्जनले मिति २०४७।१।२८ मा निवेदन दिएको देखिन आएको छ । किन एकै ठाउँमा भएका जोडिएका जमिन बेगल बेगल २ खला कायम भएर साविकमा दर्ता भयो सो कुरा प्रस्तुत मुद्दामा कहिँ पनि खुल्न आएको पाइएन । ती २ खला जग्गामध्ये एक खला शिवलालले खरीद गरेर आफ्नो नाममा नामसारी गराएको भन्ने पनि देखिन आएन । शिवलालले उक्त दुबै खला आफ्नो खलाको हो भनेका, कि.नं.७० को फिल्डबुकमा नाम लेखिएका जग्गाधनी भनिएका न्हुच्छेलालको छोरा तथा धनकृष्णको निवेदन तथा गुठी लगत नं. ४६ खलाको विवादित जग्गा होइन भन्ने कुराको पुनरावेदकले भरपर्दो जिकीर पुर्याउन सकेको नपाइएको । जहाँसम्म पुनरावेदकतर्फका विद्वान अधिवक्ताहरूले २०४९ सालमा गुठी प्रशासकले रैकरलाई बदर गर्न पाउने अधिकार पाएका छन् त्यसभन्दा अगाडिको रैकर दर्तालाई बदर गर्न मिल्दैन भनी लिनुभएको जिकीरतर्फ गुठी संस्थान ऐन, २०३३ को संशोधित दफा ३९ ले सो दफा लागू भएपछिमात्र रैकरमा दर्ता भएको जग्गालाई गुठीमा परिवर्तन गर्न पाउने हो भन्न उपयुक्त हुदैन । यस कारणसमेतबाट कि.नं.७० को जमिन रैकरको लगत कट्टा गरेर गुठी कायम गर्ने गरी गरेको गुठी संस्थानको मिति २०५५।१।६ को निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६८।६।३ को फैसला ।
२०२१ सालको सर्वे नापी हुँदा ललितपुर जिल्ला, ललितपुर नगर पञ्चायत वडा नं.५(झ) कि.नं.७० को १–२–० जग्गा निर्विवाद रैकर जनिई न्हुच्छेलालका नाममा दर्ता श्रेष्ता खडा भै न्हुच्छेलालको हक खाने गुठीमा उजूर गर्ने सानुकाजीले हकदावी छाडी कानूनबमोजिम मिति २०३५।३।१३ मा शिवलाल ताम्राकारको नाममा दर्ता भई निज शिवलालबाट मिति २०३७।५।२ को हा.ब. लिखतबाट उक्त जग्गाको मोही कृष्णबहादुर खड्काको नाममा, निज कृष्णबहादुरबाट दिवाकर आचार्यको नाममा, दिवाकर आचार्यबाट मिति २०४३।२।२९ मा हा.ब. लिखतले म सुशीला श्रेष्ठको नाममा र मिति २०५१।४।२१ को पारीत छोडपत्रको लिखतले पुनरावेदक मध्येका सुधिर श्रेष्ठका नाममा दर्ता कायम हुन आई अख्तियारप्राप्त निकाय ललितपुर उपमहानगरपालिकाबाट नक्सा पास गराई घरको चारतला निर्माण कार्य पूरा गरी सोको प्रमाण लिई बसोबास गरी आएको घरजग्गाको सन्दर्भमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) आकर्षित हुन सक्ने होइन । निवेदकको पाटन थसीखेलको पाखोबारी, भिट मकैबारीको कि.नं.७० को जग्गालाई पाटन बल्खुको धनहर खेततर्फको ४६ नं. गुठी मछिन्द्रनाथको खेत रसिद लगतसँग भिडाई ठोस प्रमाण बेगर रैकर दर्ता बदर गर्ने गरेको गुठी संस्थानको मिति २०५५।१।६ को निर्णय तथा सोलाई सदर गर्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को निर्णयमा सबूत प्रमाणको मूल्याङ्कन एवं गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) को गम्भीर त्रुटी विद्यमान भएकोले उक्त पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को फैसला दोहोर्याई पाऊँ भन्ने व्यहोराको निवेदक प्रतिवादी सुशीला श्रेष्ठको यस अदालतमा परेको निवेदन ।
२०२१ सालको सर्वे नापी हुँदा ललितपुर जिल्ला, ललितपुर नगर पञ्चायत वडा नं.५(झ) कि.नं.७० को १–२–० जग्गा निर्विवाद रैकर जनिई न्हुच्छेलालका नाममा दर्ता श्रेष्ता खडा भै न्हुच्छेलालको हक खाने गुठीमा उजूर गर्ने सानुकाजीले हकदावी छाडी कानूनबमोजिम मिति २०३५।३।१३ मा शिवलाल ताम्राकारको नाममा दर्ता भई निज शिवलालबाट मिति २०३७।५।२ को हा.ब. लिखतबाट उक्त जग्गाको मोही कृष्णबहादुर खड्काको नाममा, निज कृष्णबहादुरबाट दिवाकर आचार्यको नाममा, दिवाकर आचार्यबाट मिति २०४३।२।२९ मा हा.ब. लिखतले म सुशीला श्रेष्ठको नाममा र मिति २०५१।४।२१ को पारीत छोडपत्रको लिखतले म निवेदक सुधिरबहादुर श्रेष्ठका नाममा दर्ता कायम हुन आई अख्तियारप्राप्त निकाय ललितपुर उपमहानगरपालिकामा मिति २०५४।१२।२५ मा नक्सा पास निवेदन दिई मिति २०५५।१।२७ मा नक्सा पास गराई घर निर्माण गरी त्यसपछि पटकपटक नक्सा पास गराई तला थप गरी सोको प्रमाण लिई बसोबास गरी आएको घरजग्गाको सन्दर्भमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) आकर्षित हुन सक्ने होइन । निवेदकको पाटन थसीखेलको पाखोबारी, भिट मकैबारीको कि.नं.७० को जग्गालाई पाटन बल्खुको धनहर खेततर्फको ४६ नं. गुठी मछिन्द्रनाथको खेत रसिद लगतसँग भिडाई ठोस प्रमाण बेगर रैकर दर्ता बदर गर्ने गरेको गुठी संस्थानको मिति २०५५।१।६ को निर्णय तथा सोलाई सदर गर्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को निर्णयमा सबूत प्रमाणको मूल्याङ्कन एवं गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) को गम्भीर त्रुटी विद्यमान भएकोले उक्त पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को फैसला दोहोर्याई पाऊँ भन्ने व्यहोराको निवेदक प्रतिवादी सुधिरबहादुर श्रेष्ठको यस अदालतमा परेको निवेदन ।
यसमा निवेदन दावीको जग्गा सर्भे नापीमा कि.नं.७० कायम भई मोही कृष्णकुमारी भन्ने नैनकुमारी तथा जग्गाधनीमा न्हुच्छेलाल जनिई रैकर जग्गा भन्ने स्पष्टरूपमा देखिएको भनी जिकीर लिएको अवस्थामा विश्वरूप गुठीको ४६ नं.लगतको स्रेस्तासँग भिडेको भनी गुठी संस्थानका प्रशासकबाट गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम रैकरतर्फको लगत कट्टा भई गुठी कायम हुने ठहर्याई मिति २०५५।१।६ मा निर्णय भएको देखिन्छ । गुठी संस्थान ऐनको दफा ३९ ले साविकको गुठी तैनाथी जग्गा, गुठी अधीनस्थ जग्गा वा गुठी रैतान नम्बरीमा दर्ता गर्न सक्ने अधिकार प्रदान गरेको भए तापनि विवादको जग्गा गुठी हो वा रैकरतर्फको हो भन्ने सम्बन्धमा साविक लगत, मोठ, श्रेस्तालगायतका प्रमाणहरूको विश्लेषण गरी गुठी संस्थानबाट निर्णय भएको भन्ने देखिँदैन । फिल्डबुकमा गुठी भन्ने जनिएको र नक्सापास गराई घरसमेत बनाई बसेको कित्ता नं.७० को जग्गाको सम्बन्धमा कुनै विश्लेषण नै नगरी गुठी संस्थानको निर्णय सदर हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को फैसलामा गुठी संस्थान ऐन, २०३३ को दफा ३९, प्रमाण ऐन, २०३१ को दफा ५४ तथा यस अदालतबाट प्रतिपादित नजीर सिद्धान्त (ने.का.प.२०४३, अंक १२, नि.नं.२९२५, पृष्ठ ११४७) समेतको त्रुटी रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत निवेदनलाई पुनरावेदनको लगतमा दर्ता गरी विपक्षीहरूसमेत झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६९।१२।१६ को यस अदालतको आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री खगेन्द्र अधिकारीले साविक जोताहा मोहीको मृत्युपछि निजको हकखाने छोरा कृष्णबहादुरले मिति २०३७ सालमा आफ्ना नाममा जोत नामसारी गरेको साविक दर्ताभित्रको जग्गा निर्विवादरूपमा २०३५ सालमा दर्तासमेत भै कृष्णबहादुरले जग्गा प्राप्त गरेपछि जोतसमेत कट्टा गरी तहतह हक हस्तान्तरण भै सुधिरबहादुर श्रेष्ठको नाउँमा आएपछि नक्सा पास भै घर निर्माण पटकपटक तला थप गरी भोगचलन गरी आएको, गुठीको ४६ नं.लगत धनहर खेतभएको र भिडाएको कि.नं.७० को जग्गा भीठ भनी हाल साविक नभिडेको, श्रेस्ताबाट देखिने जग्गाधनीलाई बुझ्दै नबुझी दावीको जग्गा गुठीको हो भन्ने एउटै पनि आधार प्रमाण नहुँदा नहुँदै पनि अड्डामा रहेको श्रेस्ता प्रमाणको प्रतिकूल हुने गरी गुठी कायम गर्ने गरी भएको मिति २०५५।१।६ को निर्णय सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला बदर गरी रैकर जग्गाको दर्ता श्रेस्ता यथावत् कायम हुनुपर्छ भनी बहस गर्नु भयो । प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरलले फिल्डबुकमा लेखिएको व्यहोरालाई विपक्षीहरूले स्वीकार गरेको, फिल्डबुकमा लेखिएको जग्गाधनीका छोरा सानुलाल महर्जनलाई बुझ्दा जग्गा गुठीको हो भनी कागज गरिदिएको र गुठी संस्थानमा रहेको ऐतिहासिक दस्तावेजसमेतका प्रमाणबाट गुठी देखिएकोमा लगत रहे नरहेको कुराले महत्त्व नपाउने हुँदा गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णय सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला अन्यथा हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित बहस सुन्नुका साथै मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी शुरू गुठी संस्थान केन्द्रिलयले गरेको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
2. निर्णयतर्फ विचार गर्दा, यसमा २०२१ सालमा सर्भे नापी हुँदा ललितपुर जिल्ला, ललितपुर नगर पञ्चायत वडा नं.५(झ) कि.नं.७० को १–२–० जग्गा रैकरको लगत कट्टा गरी गुठी कायम गरेको गुठी संस्थानको मिति २०५५।१।६ को निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा मुख्यतः गम्भीर कानूनी त्रुटी भै सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्तको पालना नभएको र गलत किसिमले व्याख्या गरेको हुँदा दोहर्याई हेर्ने निस्सा पाऊँ भनी प्रतिवादीहरूको यस अदालतमा छुट्टाछुट्टै निवेदन परेकोमा यस अदालतबाट पुनरावेदन अदालत, पाटनको फैसला दोह¥याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको देखियो ।
3. यसमा विवादित जग्गा मिति २०३५।३।१३ मा शिवलाल ताम्राकारको नाममा रैकर दर्ता भई शिवलालबाट मोही जनिएका नैनकुमारीको छोरा कृष्णबहादुर खड्काको नाउँमा मिति २०३७।५।२ मा हालैको बकसपत्रबाट दर्ता हुन आएको देखिन्छ । निज कृष्णबहादुरबाट दिवाकर आचार्य हुँदै मिति २०४३।२।२९ मा हालैको बकसपत्रबाट पुनरावेदक प्रतिवादी सुशीला श्रेष्ठको नाममा आएको र मिति २०५१।४।२१ को पारीत छोडपत्रको लिखतले सुधिर श्रेष्ठको नाममा दर्ता भई अख्तियारप्राप्त निकाय ललितपुर उपमहानगरपालिकाबाट नक्सा पास गराई घर निर्माण गरी पटकपटक तला थप गरी भोग चलन गरी आएको अवस्थामा उक्त जग्गा विश्वरूप गुठीको लगत नं.४६ को हो भनी मिति २०५५।१।६ मा गुठी संस्थानबाट उक्त रैकर दर्ता बदर गरी गुठी कायम गरेको देखिन्छ ।
4. गुठी संस्थानले गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम रैकरतर्फको लगत कट्टा भै गुठी कायम गर्ने गरी निर्णय गर्दा सुशीला श्रेष्ठ र सुधिरबहादुर श्रेष्ठ तथा निवेदकहरूले उक्त जग्गा प्राप्त गरेका निजहरूका दाताहरूलाई बुझ्दै नबुझी विश्वरूप गुठीको ४६ नं. लगतको स्रेस्तासँग भिडेको भनी गुठी कायम हुने ठहर गरेको देखिन्छ । लगत नं.४६ को जग्गा खेत हो भनी गुठीको लगतमा उल्लेख भएको देखिन्छ तर उक्त कि.नं.७० को जग्गाको क्षेत्रीय किताबको विरह महलमा पाखो भनी जनिएको देखिन्छ भने मोहीको महलमा कृष्णकुमारी भन्ने नैनकुमारी लेखिएको र किसानको व्यहोरामा यो जग्गा नुच्छेलालको हो मैले अधिया तिरी जोती खाएको छु भन्ने क्षेत्रीय किताबमा व्यहोरा उल्लेख भएको देखिन्छ । लगतमा र क्षेत्रीय किताबमा विरह फरक फरक रहेको र क्षेत्रीय किताब र श्रेस्ता पूर्जामा समेत गुठी जनिएको अवस्था देखिन आउँदैन । उजूरी गर्नेले पनि सो जग्गा कुन आधार, कारण र प्रमाणबाट गुठीको हो भनी देखाउन सकेको छैन । लगत नं.४६ को जग्गा कि.नं.७० सँग भिडेको छ भन्ने कुनै स्पष्ट आधार देखाउन सकेको पनि पाईएन । सो हुँदा विवादित जग्गा वादीतर्फबाट दावी लिएबमोजिम गुठीकै जग्गा हो भनी भन्न सक्ने अवस्था देखिदैन ।
5. दावीको जग्गा नापी हुँदा रैकर भनी नापी भएको र दर्ता गराई तहतह मालपोत कार्यालयको निर्णयले हकप्राप्त व्यक्तिमा हक हस्तान्तरणसमेत हुँदै आएकोमा सोलाई हक पुग्ने व्यक्ति शिवलाल ताम्राकारले आफ्नो नाउँमा दर्तासमेत गराएको देखिन्छ । उक्त विवादित जग्गामा नक्सापास गराई घर निर्माण भई भोग चलन गरी आएको पनि देखिन्छ । यसरी दर्ता श्रेस्ता प्राप्त गरी सो जग्गामा घर निर्माण गरी लामो समयसम्म भोग चलन गरी आएको तथ्यमा कुनै विवाद रहेको देखिन आएन ।
6. गुठी संस्थान ऐन, २०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भएतापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रैकरको लगत कट्टा गरी गुठीको जग्गामा दर्ता गरिने छ भन्ने व्यवस्था रहेको देखिन्छ । सोबमोजिम रैकर लगत कट्टा गर्नका लागि सर्वप्रथम उक्त जग्गा गुठीको जग्गा हो भनी लिखत प्रमाणबाट प्रमाणित भएको हुनुपर्दछ । तर प्रस्तुत विवादमा गुठी संस्थानले यो जग्गा साविकदेखि हालसम्म यसरी रहेको र यो प्रमाणबाट गुठीको जग्गा हो भनी देखाउन प्रमाणित गर्न सकेको देखिँदैन । गुठी वा रैकर जग्गाको यकीन नै नगरी जग्गाको लगत नभिडेको अवस्थामा अनुमानको भरमा १५ बर्ष भन्दा अघिदेखि तहतह हक हस्तान्तरण भई आएको एकाको नाममा दर्ता भईसकेको जग्गालाई बिनाआधार बिनाप्रमाण लगत भिडेको भनी रैकर जग्गालाई गुठी कायम गर्ने अधिकार उक्त दफाले गुठी संस्थानलाई दिएको देखिँदैन । सो हुँदा उक्त जग्गा रैकरको लगत कट्टा गरी गुठी जग्गामा दर्ता गर्न मिल्ने देखिँदैन ।
7. तसर्थ कि.नं.७० को जग्गा गुठीको हो भन्ने प्रमाणबाट नदेखिएको र हक हस्तान्तरण हुँदै प्रतिवादीहरूका नाउँमा दर्ता भई नक्सा पास गरी घर निर्माण गरी भोग चलनसमेत गरी आएको अवस्थामा उक्त जग्गालाई गुठीको जग्गा ठहर्याएको गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भै कि.नं.७० को जग्गा रैकर कायम हुने ठहरी फैसला भएकोले शुरू गुठी संस्थान केन्द्रीय कार्यालयको निर्णयबमोजिम कायम गरेको गुठीको लगत कट्टा गर्नु भनी गुठी संस्थान केन्द्रीय कार्यालयमा र गुठी संस्थान शाखा कार्यालय, ललितपुरमा लेखी पठाउनू.........................................................................१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू................................................१
उक्त रायमा सहमत छु ।
न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७० साल माघ ५ गते रोज १ शुभम्.......................................
इजलास अधिकृतः मनोज श्रेष्ठ