निर्णय नं. ६५२ - अंश

निर्णय नं. ६५२ ने.का.प. २०२८
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री झपट सिंह रावल
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत २०२६ सालको देवानी फुल बेञ्च नम्बर ८०
आदेश भएको मिति : २०२८।८।१४।३
पुनरावेदक : का.जि.सेतोदरवार बस्ने देबेन्द्रसम्शेर ज.व.राणा
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने ज.लिला सम्शेर ज.व.राणा
विषय : अंश
(१) बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने ।
यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठ समेतको अंश मुद्दामा ०१०।११।२७।४ को फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता भोग तिरो बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्न मुनासिव नपर्ने भन्ने र दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट बण्डापत्र लिखत नभएको भनी पुनःबण्डा गरिदिने गर्दा पहिले दुवै पक्षको मन्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धकी लिनुदिनु समेत भए गरेको व्यवहारमा असर पुग्न जाने हुँदा वादी दावीबमोजिम बण्डा गरिदिनु पर्ने भन्न नमिल्ने भन्ने र दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पाण्डेनी समेतको अंश मुद्दामा ०२८।१।७।३।को फुल बेञ्चबाट ८४ सालमै छुट्टि भिन्न भई अंशबण्डा गरी वादीले आफ्नो अंश भाग लिइसकेको बण्डापत्र लिखत पेश नभएकोसम्म कारणले बण्डा नभएको कायम मान्न नमिल्ने भन्ने तर्क गर्न धेरै वर्ष अघि बण्डा भई दर्ता भोग तिरोसमेत गरी आएको दुनियाँको व्यवहारमा असर पुग्न जाने र बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने भन्ने ठहर निर्णय भइराखेकोसमेत पाइन्छ । प्रस्तुत मुद्दामा ०९।१।२९ मा वादी प्रतिवादीसमेत सबै अंशियारको मन्जुरीले बण्डापत्र गरी आ–आफ्नो बण्डाको जग्गा आ–आफ्नो नाममा दर्ता गराई भोगतिरो बिक्री व्यवहारसमेत गर्दै आएको र वादीले यता अंश मुद्दा दायर गर्दै गर्ने र उता आफ्ना नाममा बण्डापत्रको मिति पछि दर्ता दाखेल गराएको जग्गा धमाधम बिक्री गर्दै गरेकोबाट वादीले आफ्नो नाममा दर्ता दाखेल गरेको जग्गा बिक्री गरिसकी अरू अंशियारका नाममा दर्ता दाखेल भएको जग्गा हातपार्ने र अघि अंशबण्डा लिनेमध्येकी भक्तीदेवी परलोक हुनुभइसकेको हुनाले १ अंशियार घट्न गएकोबाट अब बण्डा हुँदा बढी सम्पत्ति पाउँला भन्ने नियत लिई नालिस गरेको समेत देखियो ।
(प्रकरण नं. २०)
पुनरावेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे ।
प्रतिवादी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा ।
उल्लिखित मुद्दा :
फैसला
न्यायाधीश श्री झपट सिंह रावल
१. मे.ज.लीला सम्शेरको ३ स्वास्नीमा जेठी विवाहिता रानी भक्तिदेवी राणातर्फको छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर ज.व.रा.र माहिली अनारदेवीतर्फबाट सन्तानै नभएको कान्छी मेरो मुमा शर्मादेवीतर्फबाट म देवेन्द्र सम्शेर ज.वा.रा.१ छोरा मात्र जायजन्म भएको सौतेनी घर भई घरमा शान्ति हुने नभई बराबर कलह झगडा मात्र हुने हुँदा जेठी मुमा भक्तिदेवी र उहाँको छोरा चूडाराज सम्शेर समेत ०९ साल वैशाखदेखि मानु छुट्टि भिन्न बस्नुभएको हुँदा ठूलो मुमा छुट्टिने अवस्था नगद गहनाको एउटा बण्डामा लाग्ने भागसम्म छुट्याई लिई हाम्रो भाग पनि देखाएको भए पनि लिए दिएको नभई बुबाकै साथमा माहिली मुमा अनारदेवी कान्छी मेरो मुमा शर्मादेवी म सगोलैमा रहे बसेको हुँदा बाँडिलिन बाँकी सगोलैमा रही आएको थियो, रजिष्ट्रेशनका ३ र ३ (क) अनुसार बण्डा र मानो छुट्टिएको लिखत समेत कुनै कानूनबमोजिम पास गरी लिनु दिनु नभएको र वण्डा लिनु दिनु पर्ने चल अचल गैह्रको तायदाती फाँट खोली बण्डापत्र समेत भएको छैन । मेरो विश्वज्योति हलमा मेनेजरी काम गर्ने माधवलालको शिकायत कुरा सुनी ०१६ साल वैशाख १५ गतेका दिन थुनी करकापबाट बुवा मुमाहरूले कागज गराउनु भएतर्फ म्यादै भित्रै मैले नालिस दिएको मुद्दा दायरै छ । त्यस दिनदेखि चित्त नमिली ०१६।१।१६ देखि भिन्न बसेको छु । इज्जत आमदअनुसार अंशबण्डाको २८ नं बमोजिम बुबाज्यूबाट बक्सनु पर्ने थियो, रीतपूर्वक बुबाको गाथ छँदै बण्डा छुट्याइ राख्ने श्रेयदेखी नालिस दिन आएको छु, म मानो छुट्टि भिन्न बसेको मिति ०१६।१।१६ का अघिल्ला मिति तकको बुबाज्यू मे.ज.लीलासम्शेर ज.व.रा.बाट चल अचल श्री सम्पत्ति गैह्रको तायदाति फाँट लिई बुवा १ जेठी मुमा भक्तिदेवी १ उहाँको छोरा चुडाराज सम्शेर १ जना ३ को पुरा भाग र महिली मुमा अनारदेवी १ मेरी मुमा शर्मादेवी १ म देवेन्द्र सम्शेर १ जना ३ को खण्डे भागसमेत अड्डैबाट रीतपूर्वकको अंश बण्डाको २ नं.बमोजिम छुट्याई मैले पाउने १ बण्डा दिलाई पाउँ भन्नेसमेत ०१७।९।२२ को वादी ।
२. वादी देवेन्द्र सम्शेर छोरा हो निजको आमा शर्मादेवी समेतसँग सगोलमै बसी ०९।१।२९।१ मा जेठा छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर निजको आमा भक्तिदेवी र मसमेत ३ को पुरा अंश र वादी देवेन्द्र सम्शेर र निजको आमा शर्मादेवी र अनारदेवी समेतको खण्डे अंशवण्डा गरी छुट्याई बेग्लै बसी उसै बखत बण्डापत्र खडा गरी बाँडी लिए दिएको सोही बण्डाको आधारमा आफू–आफूले भोग चलन गरी आएको वादीले अंशबण्डा गर्दा घरदरवारको मोल कसी नगदी लिएको बस्ने बन्दोवस्त मिली नसक्दा मेरा भागको घरमा पश्चिमपट्टिको खण्डमा बस्न दिएको सो मलाई नै चाहिएकोले खाली गरी देउ भन्दा नमानेकोले निजलाई सो घरबाट उठाई पाउँ भनी मैले दर्खास्त गरेकोबाट रिसाई झट्टा उजुर गरेको छ । वादीले म समेतका नाउँमा करकापसँग थुनी कागज गरायो भन्ने मुद्दामा भने ठूली मुमाले सहीछाप गर्नलाई भन्नु हुँदा मैले सही गर्नुपर्ने कारण छैन भिन्न भई छुट्टै बसेको छोराको मन्जुरी चाहिने छैन भन्ने इत्यादि लेखनबाट स्वयम् वादी ०१६।१।१६ भन्दा अघि नै छुट्टि भिन्न बसेको प्रष्ट देखिंदा हालको वादी दावा झुठ्ठा छ । ठूलो हीरा बिक्री भई आएको मोल वादीले आफ्नो भाग ०१४।४।२४ मा भा रु.९५५९। र २९।७।१९५७ मा भा.रु.७८५३६।३१ समेत गरी दुई पटक गरी जम्मा रु.८८०९५।३१ बुझी गरिदिएको भरपाई मसँग छ जेठा छोरा भू.पु.मन्त्री चुडाराज सम्शेरले आफ्नो अंश भागको जग्गा माधव सम्शेरलाई फार्छे लेखिदिंदा मसमेत वादीले पनि साक्षी बसी लिखत भएको र आफ्नो भागमा परेको जग्गामा सिनेमा हल राख्न नगरपालिकाबाट नक्सा पास गराई सो जग्गा वादीले ०१७।९।५।२ मा माल दोस्राबाट आफ्नो नाउँमा दर्ता गरेको मौजुद छ ०९ साल असोजमा विश्वज्योति सिनेमा हल चलाउन मबाट रु.११४००। को शेयर वापत लिएको भनी जनाई भरपाई गरी दिएकोबाट पनि अंश बण्डा गर्दा जग्गा जमीन छुट्याई आफ्नो भोग चलन गरेको भए सो घरवापत भनी लिएको जनाई रहनु पर्ने थिएन, ०९ साल वैशाख २९ गतेका बण्डापत्रबमोजिम गोश्वारा बाहेक अरू अंश बण्डा बाँकी छ भन्ने र सो रकममा पनि पुगेन भन्नेसमेत कौनै कुराको उजुर गर्ने छैन भनी मन्जुर गरी वण्डा लिइसकेको हुँदा वादीलाई अंश दिनु नपर्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी ।
३. ०९।१।२९ को बण्डापत्र १,०१४।४।२४ को हीरा मोल बुझेको भरपाई १, अंग्रेजी हरफको २९।७।५७ को कागजसमेत ३ थानमा बण्डापत्र ऐनको रीत पुगी रजिष्ट्रेशनका ३।३ क, ७ नं.अंश बण्डाको ३९।४६ नं.को रीत नपुगेकोले जवाफदेही गर्नुपर्ने होइन कागजको हकमा दाजु चुडाराज सम्शेरसँग मानो छुट्टि भिन्न बस्नु भयो उक्त कागज थान ३ कानूनले मान्यता दिन नहुने मेरो सहि परे पनि खेश्रा सरहको कागज हो भन्नेसमेत देवेन्द्र सम्शेरको वा.माधवप्रसादको बयान ।
४. अंश वण्डाको ४९ नं.ले चल जतिलाई घरसारमा भएको कागज मान्यता हुने र यस मुद्दामा पेश भएको बण्डापत्र सही परेको हो भनी वादी आफै सावित हुनाले जानी बुझी सहीछाप गरेको अ.बं.३४ नं.ले सदर हुन जाने कागजलाई खेश्रा सरहको भन्ने वादीको भनाई मनासिव नहुने र वादीले माल दोस्रामा बिर्ता जग्गा दर्ता गरेको र आयस्ता पनि आफ्नो भाग तहसिलबाट बुझेको देखिएको सिनेमा हलको जग्गा पनि दर्ता भोग चलन गरेको ०९।६।१४ गते बुवा लीला सम्शेरसँग विश्वज्योती सिनेमा हलमा शेयर राख्न भनी सुन तोला १०० को भाउ कसी रु.११४००। लिएकोले पनि वेग्लै रहेछन् भन्ने बुझिएको ठूलो हीरा बिक्री भई आएको तिमीहरूको भागमध्ये नोट भा.रु.९५५९। भनी दिएको दावी र वादीकी आमा शर्मादेवी समेतले लिएको रु.७८५३६।३१ समेत पनि बुझी लिएका सो कागज पनि सद्दे नै भएकोले बण्डापत्र बुझेको पास नभएको मान्यता हुन सक्तैन कि भन्नालाई ०१६ साल कार्तिकमा प्रकाशित कानून पत्रिका भाग २ अंक ९ मा गोपाल श्रेष्ठको र कैलास श्रेष्ठ समेतको अंश मुद्दामा फुल बेञ्चबाट ०१६।६।११ गते भएको फैसलामा घरसारमा बण्डा गरी भोग तिरो गरेकोमा बण्डापत्र सदर हुने गरी फैसला भएको नजीर पनि देखिएको र वादीले पनि घरसारमा भएको बण्डापत्रमा आफ्नो भाग लिए बुझेको भोग व्यवहार गरेको दाखिल खारेज गर्नुपर्ने पनि केही नदेखिएको बिर्ता जग्गा दर्ता गरी भोगी खाई आएको यस्तोमा ९०।१।३ को सनदले पास गर्नु नपरी घरसारमा लिए बुझेको भाग सदर हुने र अ.व. ३४ नं.ले वादीको सहीछाप परेको सदर हुने नै देखिनाले १ पटक अंश बण्डा भई वादीले अंश बुझी लिएको सिद्ध हुनाले अंश पाएको होइन भनी फेरी अंश पाउँ भन्ने वादी दावी पुग्न सक्तैन झुठ्ठा ठहर्छ भन्नेसमेत ०१८।६।१६।२ को काठमाडौं देवानी इलाका अदालतको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
६. प्रतिवादीबाट पेश भएको बण्डापत्र हेरेमा अंशियार सबैको बण्डा छुट्याइएको देखिन आएको र सो बण्डा भएपछि वादी सगोलमा बसिआएको अन्य सबूद वादीबाट गुज्रन नआएको हुनाले र उक्त बण्डापत्रबाट वादीलाई अंशमा घटीबढी परिरहेको भन्ने पनि वादीले लेख्नु भएको पाइएन, केवल तत्कालिन मुलुकी ऐन रजिष्ट्रेशनको ३ र ३क. अनुसार बण्डापत्र पास नभएको भन्ने फिरादमा देखाएको छ । बण्डापत्र ऐनबमोजिम पास नभए पनि ठूलो हीरा बिक्रीबाट आएको भाग शान्ति रूपैयाँ वादीले बुझी लिई भरपाई गरिदिएको र अंश बण्डा भएको ८ वर्ष पछिमात्र वादीको फिरादपत्र आएको समेतबाट पुनरावेदन जिकिर मनासिव देखिन आएन । इन्साफ सुरुको मुनासिव ठहर्छ भन्नेसमेत ०२४।८।८।६ को बाग्मती अञ्चल अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
८. प्रतिवादी मे.ज.लीला सम्शेर ज.व.राणाबाट मैले पाउने खण्ड अंश कानूनको रीतपुर्याई दिलाई पाउँ भन्ने वादी देवेन्द्र सम्शेर ज.व.रा को दावा भएको प्रस्तुत मुद्दामा प्रतिवादी लीला सम्शेर ज.व.रा.बाट ०९।१।२९ मा घरसारमा बण्डापत्र गरी वादी देवेन्द्र सम्शेर, तथा वादीको मुमा शर्मादेवी र वादीकै जेठी मुमा भक्तिदेवी राणा उहाँको छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर ज.ब.राणा माहिली मुमा अनारदेवी समेतले आफ्नो–आफ्नो भागमा परेको बण्डापत्र छुट्याइ लिई भोग चलन गरी आएको देखिएको उक्त मितिमा बण्डा भएपछि वादी देवेन्द्र सम्शेर तथा निजको मुमा शर्मादेवीसमेत प्रतिवादी ज.लील सम्शेर ज.व.राणाको साथसँग रहे बसेको भन्ने कुरा कहीं कतैबाट देखिएन । अर्को कुरा प्रतिवादीसँग वादी देवेन्द्र सम्शेरले आफूले पाउने अंश भाग लिई नसकेको भए उस बखत ०९।१।२९ गते निजहरूको बण्डापत्र खडा हुँदा सो बण्डापत्रमा नगद, सुना, चाँदी, जवाहरात, घर, क्याम्पा, गाईसमेत जो–जो जहाँ–जहाँ छ बण्डा गरी बण्डापत्र खडा गरी तपसीलबमोजिमको भाग राजी खुशीले बुझी लिई सहीछाप गरी दियौं भनी निज वादी देवेन्द्र सम्शेरले पुरा भागको ६ खण्डको १ खण्ड बुझी लिएको भन्ने उक्त बण्डापत्रबाट देखिन आएको र सोही बण्डापत्रकै व्यहोरामा ओजन पचासी क्यारेटको ठूलो हिरा एक बण्डा गर्न असजिलो भएकोले बिक्री भई नगदी आएपछि भाग शान्तिले बण्डा हुने भन्नेसमेत उल्लेख भएको र उक्त हीरा पछि बिक्री भई आएको तिमीहरूको भाग भनी ज.लीला सम्शेरबाट दिएको रु.९५५९, र रु.७८५३६।३१ समेत वादीले बुझी लिई भरपाई गरी दिएको पनि देखिन आयो । वादी आफू छुट्टि भिन्न भई नबस्नु भएको भए वादीले त्यसरी आफ्नो भागको रूपैयाँ बुझी लिई भरपाई गरी दिनु पर्ने कुनै अवस्था पनि पर्न जाने थिएन र अंश छुट्टिएको नभए ०९।६।१४।२ मा स्वयं देवेन्द्र सम्शेरले आफ्ना पिता मे.ज.लीला सम्शेरबाट रु.११४००। सो रूपैयाँ लिई विश्वज्योति सिनेमा हलमा शेयर राखी बक्सन बुवासँग सुन तोला १००। को आजको भाउले ११४००। बुझी लिएँ भनी वादीले रीतपूर्वक भरपाई गरी दिन पर्ने स्थिति पनि कुनै अवस्थामा पर्न जाने थिएन । उक्त ०९।१।२९ मा भएको बण्डापत्रलाई वादी दावीअनुसार केवल रजिष्ट्रेशनका ३, ३(क) अनुसार पास नभएको भन्ने कुरालाई लिई पुनः अंश बण्डा गर्नुपर्छ कि भन्ने तर्कका हकमा पनि तत्कालीन अंश वण्डाको ४९ नं.ले चल जतिलाई घरसारमा भएको कागज मान्यता हुने र प्रस्तुत मुद्दामा प्रतिवादीतर्फबाट पेश भई रहेको बण्डापत्रमा मेरो सही परेको हो भनी वादी स्वयम् सावित हुनु भएकोबाट पनि आफूले जानी बुझी सहीछाप गरेको कुरालाई अ.बं.३४ नं.ले सदरै हुन जाने त्यस्तो कानूनी मान्य कागजलाई खेश्रा सरहको भन्ने वादीको भनाई उक्त कुराबाट मान्यता हुन आएन । दोस्रो कुरा यो पनि छ कि वादीले ०९।१।२९ आफ्ना पिता यस मुद्दाका प्रतिवादी लीला सम्शेर ज.व.राणासँग आफूले पाउने आफ्नो भागको अंश लिई सोअनुसार आफ्ना–आफ्ना भागमा परेका जग्गाहरू पनि वादीले आफ्ना नाउँमा विवरण नं.८९७ बाट दर्ता गरी सोमध्ये हाल मोही श्री देवेन्द्र सम्शेर भनी ०१७।९।५।६ मा दर्ता भएको समेत का.माल दोस्रोको ०१८।६।८।१ को पत्रसाथ प्राप्त भएको फा.नं.२६ को दर्ता उतार नक्कलबाट समेत देखिन आएकोले वादीले नगद, सुना, चाँदी, जुहारात घर क्याम्पासमेत माथि लेखिएबमोजिम बण्डापत्रअनुसार बण्डा छुट्याई लिएको नभई उक्त जग्गाहरूको आफ्ना नाउँमा दर्ता हुन नपर्ने । यस्तो स्थितिमा जग्गाहरूको साल–सालको आयस्तासमेत तहसिलबाट वादीले बुझि लिई रसिद भरपाई गरी दिएको समेत देखिँदा अंशबण्डा भएको छैन भनी इन्साफ दिन न्यायोचित देखिएन । प्रतिवादीतर्फबाट प्रमाण निमित्त भनी पेश हुन आएको रजिष्ट्रेशन पास भएको समेत कागजका ०२५।३।२८।५ मा धनी नेपाल टोवाको कम्पनी, ऋणी वादी देवेन्द्र सम्शेर भई रु.४६१९२।४८ मा र धनी गरीबनाथ सराफ ऋणी निजै देवेन्द्र सम्शेर भई रु.४५००००। मा धनी श्री कान्छी महारानी हेलेन शाह ऋणी देवेन्द्र सम्शेर भई रु.३०६२५। मा समेत पटक–पटक उक्त व्यक्तिहरूलाई आफ्नो हक भोग तिरोको भनी जग्गा घरहरूसमेत बिक्री राजिनामा गरिदिएको देखिएबाट पनि आफूले अंशै नपाएको भए त्यस किसिमसँग आफ्नो हक भोग दर्ता तिरोको भनी उक्त घर जग्गाहरू बिक्री गरेको निजले पहिले नै आफ्नो अंश त्यस किसिमसँग दर्ता गरी बिक्री गरेको रहेछ भन्ने उक्त लिखतहरूले सो–सिद्ध नै गराएको छ आफूले पाउने अंशबण्डापत्र मन्जुरीबमोजिम वादी देवेन्द्र सम्शेरले राजी खुशीले आफ्ना भागमा परेका जग्गाहरू आफ्ना नाउँमा दर्ता गरी आफ्नो अंश हक भोग मान्नु भएको पनि देखिन आएकै छ । त्यस्तै आफ्ना अंशियार मुमा शर्मादेवी, दाजु चुडाराज शम्सेर, अनारदेवी समेतले आफ्ना–आफ्ना नाउँमा आफ्नो अंश भागको जग्गा दर्ता गरी त्यसमध्ये केही बिक्रीसमेत गरिसकेको भन्ने उक्त लेखन कागजहरूबाटै प्रष्ट देखिन आएको आफू समेतले गराएको दर्तामा मन्जुर नभए प्रस्तुत फिराद दायर हुनु अगावै जग्गा दर्ता समेत भएको कुरामा सो दर्ता बदर गराउनेतर्फ तत्कालीन मुलुकी ऐन जग्गा पजनीको ३४ नं.जग्गा मिच्नेका २१ नं.अनुसार म्यादभित्र नालेस उजुर परी आफ्नु दर्तासमेत बदर गराउन सक्नुपर्ने सो पनि गर्न नसकी आफ्नो अंशतर्फ भए गरेको काममा मन्जुर भई आफ्नो–आफ्नो भागका जग्गा वादी समेतका सबै अंशियारहरूले बिक्री गर्दै अन्यत्र व्यक्तिहरूका हातमा जग्गा पुगिसकेको पनि मिसिल कागजबाट देखिन आउँछ । उपर्युक्त आफूले गरेका काममा मान्यता दिएमा आफ्ना भागको पर्न आउने जवाहरात इत्यादिको मोल रूपैयाँ बुझी भरपाई गरिदिएको कुरा र आफ्नो अंशबण्डामा परी दर्ता तिरो भरो चलाएको जग्गासमेत अन्य व्यक्तिहरूमा बिक्री गरिएको कुरा समेत प्रमाणबाटै प्रस्तुत मुद्दाबाट प्रष्ट देखिन आउँछ तर वादीका लेखाइमा भने रजिष्ट्रेशन नभएकाले चल अचलको फाँट लिई अंश दिलाई भराई पाउँ भन्ने फिराद दावी हुँदा माथि लेखिएका परिवन्दबाट प्रतिवादीका बीच अंशबण्डा भई वादीले आफूले पाउनु पर्ने जति चल अचल अंश भाग पाई सकेकै देखिंदा एकपटक अंशबण्डा भई पाई दर्ता बिक्री वितरणसमेत भइसकेपछि पुनः अंश दिलाई दिनुपर्छ भन्ने ऐनमा त्यस्तो व्यवस्थासमेत नहुँदा अंश दिलाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराई इलाका अदालत देवानीबाटसमेत गरेको इन्साफ बेमुनासिव भन्न मिल्ने देखिएन । अतः शुरूको इन्साफलाई सदर गरी बाग्मती अञ्चल अदालतबाट भएको ०२४।८।८ को इन्साफ मनासिव छ भन्ने मा.न्यायाधीश श्री रंगनाथ उप्रेतीको राय र,
९. म मानो छुट्टि भिन्न बसेका मिति ०१६।१।१६ का अघिल्ला मिति तकको बुबाज्यू मे.ज.लीला सम्शेर ज.वा.राणाबाट चल अचल श्री सम्पत्ति गैह्रको तायदाती फाँट लिई अंश छुट्याई मैले पाउने १ बण्डा दिलाई पाउँ भन्ने वादीको दावा र ०९।१।२९ मा बण्डापत्र खडा गरी अंश बाँडी लिए दिएको छ वादीलाई अँश दिनु पर्ने छैन भन्ने प्रतिवादीको जिकिर भएको प्रस्तुत मुद्दामा दावीबमोजिम प्रतिवादीबाट वादीले अँश पाउने वा नपाउने के रहेछ भनी बुझ्दा वादीले ०९।१।२९ मा आफ्ना बुवा प्र.लीला सम्शेर ज.व.रा.समेतको बीचमा हाल तहसीलको आम्दानी–गोश्वारा राखी भाग बण्डाबमोजिम तहसीलबाटै बाँडी लिने र अरू ढुकुटीको आजसम्मको नगद सुना, चाँदी, जवाहारात, घर, क्याम्पा, गाईसमेत जो–जो जहाँ–जहाँ छ बण्डागरी बण्डापत्र खडा गरी ओजन पचासी क्यारेटको ठूलो हीरा एक बण्डा गर्न असजिलो भएकोले सो बिक्री भई नगदी आएपछि माथि लेखिएबमोजिम भाग शान्तिले बण्डा हुने भई तपसीलको भाग राजिखुशीले बुझिलियौं गोश्वारा भाग बाहेक अरू बण्डा छ भनी उजुर गर्ने छैनौ भन्नेसमेत व्यहोराबाट घरसारमा बण्डापत्र खडा भएको रहेछ । उक्त बण्डापत्रमा अंशियारहरूमा बण्डा भएका नगद सुन, चाँदी, जवाहरात, घर, क्याम्पासमेत सबै वस्तुको केवल मोलमात्र अंकित गरिएको देखिन आयो । घर, जग्गा, क्याम्पा अचल सम्पत्तिहरू पूर्णतया रूपबाट अंश भाग गरेको भए ती सबै घर, जग्गा क्याम्पाका चौहदी यथार्य खुल्नुपर्ने थियो । त्यस्तो नभई केबल घर क्याम्पा भनी २१ भाग लगाउँदा यस ठाउँको यो यसको भाग भन्ने पनि उक्त बण्डाबाट दुरुस्त खुल्न आएको देखिदैन । त्यसरी जुन कागजबाट आ–आफना हक भोगमा दावा लाग्छ त्यो कागज यसका हक भोगको यो यस ठाउँको भनी नामाकरणै उल्लेख भएको छैन भने त्यस्तो कागजलाई कुनै कानूनले आधारित भएको कागज हो भन्न मिल्ने देखिंदैन । प्रतिवादीबाट वादीले आफ्नो पाउने अंश बुझिली सक्नु भएको छ कि भन्ने तर्क गर्नालाई उस बखत ०९।१।२९ मा खडा भएको भनेको बण्डापत्रमा नै अचल सम्पत्ति घर, क्याम्पा जे–जो जहाँ–जहाँ छ बण्डागरी बण्डापत्रमा खडा गरी भन्ने उक्ति सो बण्डापत्रमा पर्नु नै केवल चल सम्पत्ति घर, क्याम्पा जे–जो जहाँ–जहाँ छ बण्डागरी बण्डापत्र खडा गरी भन्ने उक्ति सो बण्डापत्रमा पर्नु नै केवल चल सम्पत्ति सुना, चाँदी, जवाहरातको मात्र भाग बण्डा गरेको त्यस्मा पनि प्रललित कानूनअनुसार कागज भएको नदेखिएकोबाटै प्रतिवादीका साथ जो–जे भएको चलअचल घर, क्याम्पा जग्गासमेत अबण्डै रहेको भन्ने पनि उक्त व्यहोराबाट देखिन आएको छ । त्यसरी आफ्नो जिम्मामा अचल सम्पत्ति राखी बण्डापत्र खडा गरी वादीले बण्डा लगाई पाउँ भनी फिराद गर्दा अंश दिन पर्ने छैन भनी प्रतिवादीले जिरह लिएको तत्कालिन प्रचलित मुलुकी ऐन अंश बण्डाको ४९ नं.ले मनासिव हो भन्न मिल्दैन । यदि सम्पूर्ण कुरा कानूनको रीतपूर्वक बण्डा भएको भए सो प्रतिवादीले पेश गरेको बण्डापत्र भनेको कागज तत्कालीन प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनका ३, ३क. अनुसार रजिष्ट्रेशन पास हुन गर्नपर्ने सो कानूनको रीत पुगेको पनि देखिएन त्यसरी कानूनको रीत नपुगेको कागजलाई न्यायको दृष्टिबाट मान्यता दिन मिलेन । वादी देवेन्द्र सम्शेरले आफ्ना हक भोग तिराको जग्गा भनी पटक–पटक बिक्री गरेको घर जग्गाहरू बिक्री हुँदा आफूले अंश लिएको र अंश बण्डाबाट पाएको भई ती कागजहरूमा सोही व्यहोरा दर्शाइ रजिष्ट्रेशन हुन पर्ने यदि ती कागजहरूमा उक्त कुरा नभए पनि बण्डापत्र भनेको ०९।१।२९ को कागजमा निजको भागमा परेको यो यो घर जग्गा भनी प्रष्ट रूपबाट खुलेको हुनु पथ्र्यो सोसमेत नहुनु नै धेरै जग्गा हुनेले एकाघरका हरेक व्यक्तिका नाउँमा जग्गाहरू पृथक–पृथक राख्नु र बिक्री वितरण पनि दर्तावालाकै नामबाट हुनु कुनै असम्भव र त्यस्तोमा कुनै कानूनले बाधा पुर्याएको पनि देखिन आउँदैन । तसर्थ वादीले आफ्नो हक भोगका चीजवस्तु भनी अन्यत्र बिक्री व्यवहार गर्दैमा अंश लिइसकेको भन्न न्यायोचित हुन आउँदैन । वादीले मुद्दा पर्नुभन्दा अगावै आफ्नो भागमा परेको भनी बिक्री गरेको पनि देखिदैन । यदि वादीले प्रतिवादीसँग अंश लिई सक्नुभएको भए प्रतिवादीले आफ्ना छोरा तथा पत्नीहरूमा र स्वयं आफैमा पनि कानूनले निर्देशित गराइराखेको कुरालाई ध्यानमा लिनु भई रजिष्ट्रेशनका ३, ३क. अनुसार बण्डापत्र पास अवश्य गराउन सक्नुपर्ने कुरा थियो । जहाँ त्यसो नभई उक्त बण्डा कागज त्यसै रहन आयो त्यहाँ निज वादी प्रतिवादीहरूका बीच आफ्नो भए भरका घर, जग्गा इत्यादि सम्पूर्ण अंश बण्डा हुनु लाग्नु पर्ने चीज वस्तु त्यो बण्डापत्रमा परेका रहेछन र अंश बण्डा हुन पनि बाँकी रहेछ भन्ने कुरा देखिन आउँछ । राजधानीका राणा कुलका परिवारले अचल सम्पत्ति बण्डा गर्दा कानूनले रजिष्ट्रेशन पास गर्नु बाध्य गरेको छ भन्ने कानून नजानेको नबुझेको होला भन्ने शुभ शंका लिई रहनु गुञ्जायस पनि छैन । ०९।१।२९ मा खडा भएको बण्डापत्रलाई चल जतिमा अंशबण्डाको ४९ नं.ले मान्यता दिए पनि उक्त बण्डामा तहसीलका आम्दानी गोश्वारा राखी भन्ने र नगद, सुना, चाँदी, जावहरात घर क्याम्प, गाई समेत जो–जो जहाँ–जहाँ छ बण्डा गरी बण्डापत्र खडा गरी भन्ने शब्द रहनु नै वादी प्रतिवादीको बीचमा अचल सम्पत्तिमा कानूनी तरीकाबाट बण्डा भएको छ भन्न मिल्दैन । केवल प्रतिवादीबाट पेश हुन आएको आफ्ना छोरा वादी देवेन्द्र सम्शेर तथा चूडाराज सम्शेर स्वास्नी शर्मादेवी समेतका बीच घर जग्गाहरू दर्ता रही फिराद परेपछि बिक्री वितरण भएको भन्ने उक्त कागज नक्कलबाट देखिन आएपनि ती व्यवहार हुनु माथि लेखिएबमोजिम धेरै जग्गा हुने र धेरै गुणका छोरा सन्तान हुने व्यक्तिहरूमा प्रत्येक छोरो सन्तानहरूका नाउँमा जग्गा दर्ता गरी राख्नु र त्यसैबाट बिक्री हुनु पनि चल्ती भई आएकै कुरा र आफ्नो अंशियारहरूसँग मानु छुट्टि अंश नलिइ बेगल पनि उपार्जन गर्नु तथा जीवन निर्वाहको निमित्त लिएका जग्गा घरहरू पनि त्यसरी बिक्री वितरण हुन सक्तैन भन्न कानूनले रोकेको कुरासमेत नहुँदा त्यस्ता कागजको भरबाट वादी प्रतिवादीका बीच अंशबण्डाको ४९ नं.को रीतपूर्वक बण्डा भैसकेको छ भन्ने कुरा युक्तिसङ्गत देखिंदैन । पुनः १९८९ सालको सनदमा ९० साल बैशाख १ गतेदेखि घरसारमा लिनु दिनु गरी कागज भएकोमा ६ महिनाभित्र पास गर्ने गराउने गर्नु भन्ने भैरहेको तथा नेपाल मुलुक भर लागू हुने गरी प्रचलनमा आएको मुलुकी ऐन रजिष्ट्रेशनका ३, ३क. अनुसार प्रस्तुत मुद्दामा उक्त दुवै कुरा आधार लिई ऐन सनदबमोजिम भए गरेको पनि नदेखिएको र त्यसरी कानून विपरीत काम भए गरेका कुरालाई प्रकाशित कानून पत्रिकामा उल्लेख भएका उक्त नजिरलाई पनि पूर्णरूपले मान्यता दिन पर्ने यस्तो कानूनी स्थितिलाई सर्वोपरी मान्यता दिई प्रचलित कानूनले बन्देज गराएको काम कुरा हुनु गर्नु नै कानूनसङ्गत र त्यस्तो काम कुरालाई थिंन्या गरी राख्नु नै गैरकानून कुरा हुन पर्न जाने स्वभाविकै देखिँदा प्रतिवादीबाट पेश भएको ०९।१।२९ को बण्डापत्रलाई उक्त रजिष्ट्रेशनका ३,३क. नं.ले मान्यता दिएको नदेखिंदा शुरूले अंशबण्डा भइसकेको भनी गरेको फैसलालाई अञ्चल अदालतबाट सदर गर्ने गरेको इन्साफ मिलेको नभई वादीलाई प्रतिवादीले अंश दिनुपर्ने ठहर्छ । अतः सहयोगी साथी माननीय न्यायाधीश श्री रंगनाथ उप्रेतीज्यूले प्रस्तुत मुद्दामा उक्त ०९।१।२९ को बण्डापत्रलाई नै मान्यता दिनु भई गर्नुभएको इन्साफसँग मेरो राय सहमत नभएको हुँदा फुल बेञ्चबाट निर्णय हुनपर्ने भएकोले सर्वोच्च अदालत नियमावली, २०२१ को दफा ३३ क.अनुसार फुल बेञ्चमा पेश गरी राय सदर भई आएमा तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु भन्ने मा.न्या.श्री प्रकाशबहादुर के.सी.को राय भएको ०२६।५।१९।५को डि.बेञ्चको फैसला ।
१०. वादी प्रतिवादीका पेटबोलीमा लेखिएका अरू अंशियार भक्तिदेवी राणा, चुडाराज सम्शेर, अनारदेवी राणा, शर्मादेवी राणाहरूलाई बुझेको नदेखिएकोले अ.बं.१३६ नं.बमोजिम पेट बोलीबाट बुझ्न म्याद जारी गरी झिकाई पेश गर्नुभन्ने ०२७।८।१२।६को फु.बे.को आदेश ।
११. वादी देवेन्द्र सम्शेर प्रतिवादी लीला सम्शेर र चुडाराज सम्शेर भक्तिदेवी, अनारदेवी र म समेत ६ अंशियारका बीच ०९ साल बैशाखमा जस्तो लाग्छ अंशबण्डा छुट्याई बण्डा पत्रको कागजसमेत भएको छ । मेरो भाग सम्पत्ति लिई मैले उपभोग गरी आएको छु सर्भे हुँदा घरक्याम्पको जग्गा आ–आफ्नो नाममा दर्ता भएको छ भन्नेसमेत शर्मादेवीको बयान ।
१२. मसमेतका अंशियारको अंशबण्डा भैसकेकोले मैले अंश पाईसकेको छु, ०९।१।२९ गते अंश बण्डा भएको हो, बण्डापत्रको कागज भएको अंशभाग छुट्याई पाएको जग्गा सबै अंशियारले आ–आफ्नो नाममा सर्भेमा दर्ता गराई भोग गरी आएको छौं भन्ने अनारदेवीको बयान ।
१३. देवेन्द्र सम्शेरको नाममा दर्ता उतारमा बिर्ता नं.८९७ बाट आएको भन्ने जनिएकोले सो विर्ता नं.८९७ मा के व्यहोरा जनाई कसका नाममा कहाँको के कति रोपनी दर्तां भएको रहेछ बिर्ताको लगत श्रेस्ता पत्ता लगाई हेरी त्यसको वाजाफता उतार पठाई दिनु भनी गोश्वारा तहविलसमेत जो जसलाई लेख्नुपर्छ लेखी पठाई झिकाई आएपछि पेश गर्नुभन्ने ०२८।२।१४।६ को फुल बेञ्चको आदेश ।
१४. यसमा तारेखमा पक्षहरू रोहवरमा रही ०२८।७।३० मा पेश भई पुनरावेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र प्रतिवादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले गर्नुभएको बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०२६।५।१९।५ को डिभिजन बेञ्चका माननीय न्यायाधीशरूको राय नमिलेको वादी प्रतिवादीहरूको अंश बण्डा गरीदिनु पर्ने नपर्ने के हो भन्ने विषयमा यस बेञ्चबाट निर्णय दिनुपर्ने हुन आएको छ ।
१५. उक्त निर्णयको लागि हेर्दा जुहारत जाँच्ने व्यक्तिहरू र वादी प्रतिावदीका हकदारहरूसमेत राखी वादीसमेत सबै अंशियारको ०९।१।२९।१ मा बण्डापत्र खडागरी अंशबण्डा भई वादीसमेतले आफ्नो अंश भाग लिइसकेको समेत हुँदा पुनः अंशबण्डा गरी दिनु नपर्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र उक्त ०९।१।२९।१ को बण्डापत्र लिखत प्रतिावदीतर्फबाट प्रमाणमा पेश भैराखेको समेत पाइन्छ । उक्त ०९।१।२९।१ को बण्डापत्र लिखत तत्काल प्रचलित रजिष्ट्रेशनको ३ नं.बमोजिम रजिष्ट्रेशन पास नभएको र त्यस्तो पास नभएको बण्डापत्र अंशबण्डाको ४९ नं.बमोजिम सदर कायम मान्न नमिल्ने भनी वादी पक्षका विद्वान अधिवक्ताले बहसमा जोड दिनुभएको छ । तदानुसार पास हुनुपर्ने कानूनमा व्यवस्था भएको पनि छ ।
१६. उक्त ०९।१।२९।१ को बण्डापत्रको सम्बन्धमा अरू अंशियार भक्तिदेवी राणा चुडाराज सम्शेर, अनारदेवी राणा, शर्मादेवी राणाहरूलाई पेटवोलीबाट बुझ्न ०२७।८।१२।६ को फुल बेञ्चका आदेशबमोजिम म्याद जारी भएकोमा भक्तिदेवी राणा परलोक भैसक्नु भएको भन्ने म्याद तामेलीमा लेखिएको र चुडाराज सम्शेर म्यादमा हाजिर नभई गुजारेको शर्मादेवी, अनारदेवी २ जना हाजिर भई ०९।१।२९।१ मा बण्डापत्र खडा गरी आ–आफ्नो अंश लिई पाई भोग चलन गरिआएको समेत भनी उक्त बण्डापत्रलाई स्वीकारै गरेको देखिन आयो ।
१७. उक्त बण्डापत्र ठूली मुमाहरू छुटिने अवस्थामा नगद गहनाको एउटा बण्डामा लाग्ने खडा गरी वहाँहरूको भागसम्म छुट्याई बाँडी दिई हाम्रो भाग पनि देखाएको भएतापनि लिएको नभई बुबाकै साथमा सगोल रहिआएको भन्ने वादीको लेखाई भएको हकमा उक्त बण्डापत्रको शिर व्यहोरामा तपसीलबमोजिमको भाग राजिखुशिले बुझीलियौं भन्ने बोली परेको वादीको उपरोक्त भनाइलाई समर्थन गर्ने अन्य लिखत सबुद वादीले पेश दाखेल गर्न नसकेको र उक्त बण्डापत्रमा वजन पचासी क्यारेटको ठूलो हीरा एक बण्डा गर्न असजिलो भएकोले बिक्री भई नगदी आएपछि भाग शान्तिले बण्डा हुने भन्ने लेखिएकोमा उक्त हीरा पछि बिक्री भई आएको नगदीमा तिमीहरूको भाग बण्डा भनी ज.लिला सम्शेरले दिनु भएको रु.९५५९। र ७८५३६।३१ बुझी लिई २०१४।४।२४।५ मा र इस्वी सन् ५७।७।२९ मा भरपाई गरिदिएको भन्ने कुरामा वादीले कुनै विरोध गर्न पनि नसकेको मुख्यतः उक्त बण्डापत्रमा लेखिएबमोजिम आफ्नो भाग बण्डामा परेको जग्गा यो मुद्दा पर्नुभन्दा अगावै ०१७।९।५।६ मा आफ्नो नाममा दर्ता गराई यो मुद्दा परिसकेपछि वादी आफैले केही जग्गा घरसमेत आफ्नो हकमा भनी श्री ५ कान्छी महारानी हेलेन शाहलाई ०२३।४।३१।२ मा मोतीमाया कुसलेनीलाई ०२३।९।२८।५ मा गरीबनाथलाई ०२५।८।२६।४ मा नेपाल टोबाको कम्पनीलाई ०२५।३।३१।१ मा समेत फार्छे राजिनामा रजिष्ट्रेशन पास गरिदिएको र ०९।१।२९।१ को बण्डापत्रमा आयस्ता बाँडी लिने भनेको जग्गाको आयस्ता नारायणहिटी गोश्वारा तहसीलबाट आफ्नो भागवण्डा बुझी लिई रसिद भरपाई गरी दिएको समेत लिखतहरू प्रमाणमा पेश हुन आएको देखिन्छ ।
१८. वादीले जस्तै आफ्नो हकको भनी अर्को अंशियार चुडाराज सम्शेरले केही घर जग्गा ०९।७।१२।३ मा श्री ले.ज.माधव सम्शेरलाई बिक्री गरेको घरायसीको फार्छे पत्रमा वादी देवेन्द्र सम्शेर पनि साक्षी बस्नु भएको र शर्मादेवी राणा अनारदेवी राणा चुडाराज सम्शेर समेतले अरुहरूलाई पनि जग्गा बिक्री गरी राजिनामा रजिष्ट्रेशन पास गरी दिएको देखिएकोले वादी प्रतिवादी समेतका सबै अंशियारका बीच भएको ०९।१।२९।१ को बण्डापत्र रजिष्ट्रेशन पास नभएपनि सो बण्डापत्र भएपछि अंशियारहरूले आ–आफ्नो बण्डा हकको जग्गा राजिनामा बिक्री व्यवहार गरी रजिष्ट्रेशन पास गरीदिएको देखिएकाले अघिल्लो बण्डापत्र रजिष्ट्रेशन पास नभएको भन्नेमात्र अवस्था देखिदैंन ।
१९. उक्त ०९।१।२९।१ को बण्डापत्रबमोजिम अंशबण्डा बुझी लिने वादी र प्रतिवादी बाहेक वादी प्रतिावदीका अरू अंशियार चुडाराज सम्शेर, अनारदेवी, शर्मादेवी र उस बखतमा बण्डा लिई परलोक हुनु भएकी भक्तिदेवीको हक खाने व्यक्ति समेतहरूले आ–आफ्नो अंशमा चित्त बुझाई भोगचलन गरी बसेको हुँदा वादी र प्रतिवादी २ जनाको विवादबाट अरू उक्त अंशियारको सम्पत्तिसमेत मिलाई बण्डागर्दा कुनैले सम्पत्ति घटाएको र कुनैले बण्डाको सम्पत्ति कायमै राखिछोडेको अवस्थामा सम्पत्तिको यथोचित विवरण नभई घटीबढी पर्न जाने र सम्पत्ति खर्च गरी सक्नेलाई फाइदा तथा जगेरा गरी राख्नेलाई नोक्सानीको समाना गर्नुपर्ने अवस्थासमेत पर्न जाने देखिएकोले फेरी अंशबण्डा गर्ने भन्ने तर्क न्यायोचित देखिदैन ।
२०. यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलाश श्रेष्ट समेतको अंश मुद्दामा ०१०।११।२७।४ को फुल बेञ्चबाट घरायसमा बण्डागरी आफ्नो भाग दर्ता भोग तिरो बिक्री व्यवहार समेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्न मुनासिव नपर्ने भन्ने र दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट बण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरिदिने गर्दा पहिले दुवै पक्षको मन्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन र बिक्री बन्धकी लिनु दिनुसमेत भए गरेको व्यवहारमा असर पुग्न जाने हुँदा वादी दावीबमोजिम बण्डागरी दिनुपर्ने भन्न नमिल्ने भन्ने र दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाँडे प्रतिवादी महालक्ष्मी पडेनीसमेतको अंश मुद्दामा ०२८।१।७।३ को फुल बेञ्चबाट ८४ साल मै छुट्टि भिन्न भई अंशबण्डा गरी वादीले आफ्नो अंश भाग लिई सकेको बण्डापत्र लिखत पेश नभएकोसम्म कारणले बण्डा नभएको कायम मान्न नमिल्ने भन्ने तर्क गर्न धेरै वर्ष अघि बण्डा भई दर्ता भोग तिरोसमेत गरी आएको दुनियाँको व्यवहारमा असर पुग्न जाने र बण्डापत्र लिखत नभएपनि दुवै पक्षको मञ्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्ने नमिल्ने भन्ने ठहर निर्णय भैरखेको समेत पाइन्छ । प्रस्तुत मुद्दामा ०९।१।२९ मा वादी प्रतिवादीसमेत सबै अंशियारको मञ्जुरीले बण्डापत्र गरी आ–आफ्नो बण्डाको जग्गा आ–आफ्नो नाममा दर्ता गराई भोग तिरो बिक्री व्यवहारसमेत गर्दै आएको र वादीले यता अंश मुद्दा दायर गर्दै गर्ने र उता आफ्ना नाममा बण्डापत्रको मिति पछि दर्ता दाखेल गराएको जग्गा धमाधम बिक्री गर्दै गरेकोबाट वादीले आफ्नो नाममा दर्ता दाखेल गरेको जग्गा बिक्री गरीसकी अरू अंशियारका नाममा दर्ता दाखेल भएको जग्गा हात पार्ने र अघि अंशबण्डा लिने मध्येकी भक्तिदेवी परलोक हुनु भैसकेको हुनाले १ अंशियार घट्न गएकाबाट अब बण्डा हुँदा बढी सम्पत्ति पाउँला भन्ने नियत लिई नालेस गरेको समेत देखियो ।
२१. उक्त ०९।१।२९।१ को बण्डापत्रअनुसार गोश्वारामा राखिएको बण्डा हुन वाँकी सम्पत्ति देखिएकोमा सो अंशण्डा सम्पत्तिको मात्र बण्डा पाउँ भनी सो सम्पत्तिमा दैयादार समेतउपर यो मुद्दामा दावी नभएकोले त्यसतर्फ विचार गरिरहनु परेन ।
२२. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट अंशबण्डा गराईपाउँ भन्ने वादी पुग्न सक्तैन, वादी दावी पुग्न नसक्ने ठहराएको शुरू तथा बाग्मती अञ्चल अदालतको सदर गरी ०२६।५।१९।५ को डिभिजन बेञ्चमा मा.न्या.श्री रंगनाथ उप्रेतीले व्यक्त गर्नुभएको राय मुनासिव ठहर्छ । नियमबमोजिम मिसिल बुझाईदिनु ।
प्र.न्या.श्री रत्नबहादुर विष्ट
उपरोक्त ठहरमा मेरो सहमत छ ।
न्या.श्री विश्वनाथ उपाध्यायको राय
२३. यसमा डिभिजन बेञ्चका माननीय न्यायधीश श्री रङ्गनाथ उप्रेती र माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. को राय नमिली फुल बेञ्चमा प्रस्तुत भएको यस मुद्दामा २००९।१।२९ को घरसारको बण्डापत्रको आधारमा वादी देवेन्द्र सम्शेर र प्रतिवादी मे.ज.लीला सम्शेरको अंशबण्डा भैसकेको ठहराउन मिल्ने वा नमिल्ने के हो ? भन्ने निर्णय गर्नुपर्ने मुख्य प्रश्न छ । उक्त बण्डापत्रका अतिरिक्त ठूलो हीराको बिक्री मोलको आफ्नो अंशभाग र बण्डापत्रमा लेखिएबमोजिम सगोल रहेका जग्गाहरूको आयस्ता साल सालै तहसिलबाट बुझी लिई वादी देवेन्द्र सम्शेरले गरीदिएको भरपाइहरू तथा एक कित्ता जग्गा वादीले २०१७ सालमा आफ्नो नाममा दर्ता गराएको र केही जग्गा अरूलाई बिक्री गरेको आधारमा माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेतीले वादी र प्रतिावदीका बीचमा अंशबण्डा भैसकेको ठहराई राय व्यक्त गर्नुभएको र साविक मुलुकी ऐन अंशबण्डाको महलको नं.४९ र रजिष्ट्रेशनको महलको नं.३ र ३ (क) अनुसार रजिष्ट्रेशन पारित नभएको बण्डापत्रको लिखत सदर नहुने कानूनी व्यवस्थाअनुसार २००९।१।२९ को घरसारको बण्डापत्रका आधारमा वादी र प्रतिवादीका बीचमा अंशवण्डा भइसकेको भन्न कानून सङ्गत नहुने भन्ने माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.ले राय व्यक्त गर्नुभएको देखिन्छ । यस सम्बन्धमाा उल्लेख गरिएका नजीरहरूलाई हेर्दा विभिन्न फुल बेञ्चहरूबाट विभिन्न किसिमका निर्णयहरू भई कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभएसम्म अंशवण्डा भएको भन्न नमिल्ने भनी निर्णय भएको र कुनैमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभए पनि अरू व्यवहारबाट बण्डा भएको देखिन्छ भने घरसारमा भएको बण्डा पनि सदरै हुने भन्ने सिद्धान्त प्रतिपादित भएको पाइन्छ । वादी गणेशलाल श्रेष्ठ विरूद्ध प्रतिवादी आशालाल श्रेष्ठ फुल बेञ्च निर्णय नं.१९० (२०२० ने.का.प.३८) वादी सूर्यमाया गुभाजुनी विरूद्ध मोहनमाया, फुल बेञ्च निर्णय नं.२०७ (२०२० ने.का.प.१२८) र वादी त्रिलोचन भट्टराई विरूद्ध प्रतिवादी कपिलदेव भट्टराई फुल बेञ्च निर्णय मिति २०२६।२।१०।६ इत्यादि मुद्दाहरूमा मुलुकी ऐन अंशवण्डाको र रजिष्ट्रेशनको महलको उपर्युक्त कानूनी व्यवस्थाहरूको आधारमा रजिष्ट्रेशन पारित नभएको अचल सम्पत्तिको बण्डा सदर नहुने भन्ने निर्णय भएको देखिन्छ । त्यसको विपरीत वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध प्रतिवादी कैलाश श्रेष्ठ फुल बेञ्च निर्णय नं. ६६ (२०१६ ने.का.प. ३१०) वादी देवकुमारी खड्गिनी विरूद्ध प्रतिवादी द्रोणबहादुर खड्का फुल बेञ्च निर्णय १२२ (२०२० ने.का.प. १६१) दे.फु.नं. ९२ वादी गणेशबहादुर खड्का विरुद्ध प्रतिवादी अकलबहादुर खड्का फुल बेञ्च निर्णय मिति २०२७।१२।३ दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पडेनीसमेत फुल बेञ्च निर्णय मिति ०२८।१।७।३ इत्यादि मुद्दाहरूमा अन्य व्यवहारबाट बण्डा छुट्टिएको देखिन्छ भने रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभएपनि अंशवण्डालाई मान्यता दिनुपर्ने दृष्टिकोण लिइएको पाइन्छ । यस सम्बन्धमा अंशबण्डाको महल र रजिष्ट्रेशनको महलको उपर्युक्त कानूनी व्यवस्थाहरूलाई हेर्दा अचल सम्पत्तिको अंशबण्डा गर्दा बण्डापत्रको रीतपूर्वकको लिखत गरी रजिष्ट्रेशन पास गराउनु पर्ने बाध्यात्मक व्यवस्था गर्नको साथै रजिष्ट्रेशन पारित भएको बण्डापत्रको लिखत नभएसम्म व्यवस्था गर्नुको साथै रजिष्ट्रेशन पारित भएको बण्डापत्रको लिखत नभएसम्म अंशवण्डा सदर नहुने कुरा पनि किटानी साथ उल्लेख भएको देखिन्छ । यसप्रकार यस मुद्दामा वादीकातर्फबाट कानूनको किटानी व्यवस्था र सर्वोच्च अदालतका केही नजिरहरूको आधार लिइएको छ भने अर्कोतिर प्रतिवादीकातर्फबाट सर्वोच्च अदालतले नै केही मुद्दाहरूमा प्रतिपादित गरेको सिद्धान्तको सहारा लिइएको छ ।
२४. अब माथि उल्लेखित कानूनी व्यवस्थाका सन्दर्भमा यस मुद्दामा उपस्थित प्रश्नमा विचार गर्दा २००९।१।२९ को घरसारको उपर्युक्त बण्डापत्रलाई अचल सम्पत्ति (घर क्याम्प) का सम्बन्धमा कानूनीमान्यता दिन वा अन्य व्यवहारको विचार गरी वादी र प्रतिवादीका बीचमा अंशवण्डा भएको ठहर गर्न कुनै कानूनी आधार देखिंदैन यस अघिको केही फुल बेञ्चहरूबाट मर्काको विचार गरी घरसारकै बण्डालाई पनि मान्यता दिइएको देखिन्छ । तर मेरो रायमा मुद्दामा मुख्य सरोकारको किटानी र प्रष्ट कानूनी व्यवस्था छँदाछँदै अदालतले त्यसको उपेक्षा गरेर कुनै निर्णय गर्न मिल्दैन व्याख्याको गुन्जाइस नभएको कानूनी व्यवस्थालाई थपघट गरी कुनै व्याख्या गर्ने वा मर्काको विचार गरेर त्यसलाई निष्क्रिय तुल्याउने अधिकार अदालतलाई छैन । अदालतको काम कानूनबमोजिमको न्याय गर्नु हो, कानूनको विपरित व्यावहारिकताको इन्साफ गर्न वा व्यवस्थापिकाको स्थान ग्रहण गरी प्रचलित कानूनको विपरित नयाँ कानून वा कानूनी सिद्धान्तको निर्माण गर्ने काम अदालतको होइन । कानूनको रूपमा व्यक्त भएको व्यवस्थापिकाको विवेक जति सबै अव्यवहारिक भए पनि त्यसलाई अदालतले पालन गर्नैपर्छ त्यसको उपेक्षा गरी आफ्नो विवेकको प्रतिस्थापन गर्न हुँदैन । अचल सम्पत्तिको अंशबण्डा गर्दा बण्डापत्रको लिखत गरी रजिष्ट्रेशन पारित गराउनु पर्ने कानूनी व्यवस्थाको व्यवहारिक गुण र दोष दुवै हुन सक्तछन् । त्यसमा केही दोष छ अथवा त्यसले केही व्यावहारिक कठिनाई उत्पन्न हुन्छ भन्दैमा अदालतले त्यसको उपेक्षा गर्न मिल्दैन । कानून सामाजिक व्यवहारलाई निर्धारित गर्ने एउटा मापदण्ड हो । निश्चित कानूनबाट सधैं व्यवहारिक न्याय नै हुन्छ भन्न सकिन्न तापनि सभ्य सामाजिक व्यवस्था कायम राख्नका लागि कानून निश्चित हुनैपर्छ र अदालतले त्यसलाई मान्यता दिनैपर्छ । मानिसको व्यहारलाई हेरेर कानूनमा थपघट गरी अदालतले इन्साफ गर्ने परिपाटि अपनाउने हो भने निश्चित कानूनको दोषभन्दा त्यस परिपाटिमा आउन सक्ने सम्भावित दोष झन बढी खतरानाक हुन सक्तछ । त्यस्तो गर्ने छुट अदालतलाई कानूनले प्रदान गरेको पनि छैन । तसर्थः अंशबण्डा गर्दा साक्षी राखी कानूनबमोजिम बण्डापत्रको कागज खडा गरी लिने दिने र साक्षीकोसमेत सहीछाप गरी अचल सम्पत्तिको बण्डापत्र भए रजिष्ट्रेशन पारित गर्नुपर्छ । सोबमोजिम नभएको बण्डा सदर हुँदैन भन्ने किटानी र प्रष्ट कानूनी व्यवस्था भएको छँदाछँदै घरसारमा भएको बण्डालाई मान्यता दिई कुनैकुनै फुल बेञ्चहरूबाट उपर्युक्त केही मुद्दाहरूमा भएका फैसलाहरूसँग सहमत हुने उचित वा कानून सङ्गत आधार छ भन्ने मलाई लाग्दैन । यथार्थमा उक्त फैसलाहरूलाई हेर्दा ती फैसलाहरूमा अंशबण्डाको महल र रजिष्ट्रेशनको महलको उपर्युक्त कानूनी व्यवस्थाहरूको कुनै तर्कपूर्ण व्याख्या भएको पनि पाइँदैन । मुद्दामा ती कानूनी व्यवस्थाहरूको प्रश्न उपस्थित हुँदाहुँदै पनि त्यस सम्बन्धमा कुनै चर्चा नगरी सिर्फ व्यवहारिकताका आधारमा ती फैसलाहरू भएका देखिन्छन् । यस स्थितिमा ती फैसलाहरूलाई नजिर मान्नुपर्ने अवस्था पनि म देख्तिन । कुनै कानूनी व्यवस्थाको उचित र तर्कसङ्गत व्याख्या गरेर कुनै निष्कर्षमा पुग्नु एउटा कुरा हो । सरोकारका कानूनी व्यवस्थातिर आँखा चिम्लेर न्यायाधीशले आफ्नै स्वविवेकले अर्को निर्णय गर्नु अर्को कुरा हो, प्रस्तुत मुद्दामा जस्तै आफ्नो अंशको चल सम्पत्ति र अचल सम्पत्तिको मोलसमेत बुझी लिई अंशको छोडपत्र गरेको लिखतलाई चलका हकमा सदर ठहराएको र अचलका हकमा सदर नहुने ठहराएको वादी गणेशलाल श्रेष्ठ विरूद्ध प्रतिवादी आशालाल श्रेष्ठ (फुल बेञ्च निर्णय नं.१९०, २०२० ने.का.प.३८) को मुद्दामा कानून र व्यवहार दुवैको विवेचना भएको छ र त्यसको नजीर यस मुद्दामा पूर्णतः लागू हुन्छ । यस मुद्दामा उक्त नजिरसँग असहमत हुनपर्ने कुनै कारण वा आधार छैन ।
२५. माथि उल्लेखित कुराहरूलाई केही छिनका लागि अलग राखेर विचार गर्ने हो भने पनि वादी र प्रतिवादीका बीचमा अचल सम्पत्तिको बण्डा छुट्टिसकेको भन्न कुनै मनासिव आधार देखिदैन । घरसारको बण्डापत्रबमोजिम अंशियारहरूले आ–आफ्नो नाममा जग्गा दर्ता गरी आ–आफ्नो व्यवहार अलग गरेको भन्ने मुख्य प्रतिवाद जिकिर छ । तर सो बण्डापत्र हेर्दा कुन जग्गा वा कुन घर वा कुन घरको कुनभाग, अंशियारको कुन अंशमा परेको छ भन्ने देखिने गरी कित्ता क्षेत्रफल चौहदी वा विवरण खुलाई बण्डा भएको देखिंदैन । यस स्थितिमा बण्डापत्रबमोजिम अंशियारहरूले आ–आफ्नो अंशको जग्गा आ–आफ्नो नाममा दर्ता गराएको भन्न कुनै आधार छैन । वादी देवेन्द्र सम्शेरका नाममा २०१७ सालमा एक कित्ता जग्गासम्म दर्ता भएको देखिन्छ । त्यो पनि अंश बण्डाबाट पाएको भनेर दर्ता भएको छैन । सो दुई कित्ता जग्गा सिनेमासम्बन्धी व्यवहार मिलाउनमात्र वादीका नाममा दर्ता भएको भन्ने वादीतर्फको जिकिर छ र सो जग्गामा वादीका नाममा सिनेमा हल रहेको कुरा पनि मिसिलबाट देखिन आउँछ । यस स्थितिमा वादीका नाममा सो एक कित्ता जग्गा दर्ता हुँदैमा निजले अचल सम्पत्तिको आफ्नो अंश भाग पाइसकेको भन्न कानून, न्याय, विवेक र औचित्यको दृष्टिकोणले मिल्दैन । जहाँसम्म अगाडी वादीले केही जग्गा बिक्री गरेको कुरा छ मुद्दा पर्नुभन्दा अगाडी वादीले कुनै जग्गा बिक्री गरेको देखिदैन । मुद्दा परिसकेपछि क–कसले के–कति जग्गा बिक्री गर्यो भन्ने आधारमा मुद्दा पर्दाको अवस्थाको कानूनी स्थितिको निर्धारण गर्न हुँदैन । तसर्थ देवेन्द्र सम्शेरले मुद्दा परिसकेपछि केही जग्गा बिक्री गरेको कारणले मात्र निजले अचल सम्पत्तिको अंश पाइसकेको भन्न मिल्दैन ।
२६. माथि उल्लेखित कुराहरूका आधारमा मेरो रायमा २००९।१।२९ को घरसारको बण्डापत्रलाई चल सम्पत्तिको बण्डाका हकमा मात्र सदर मान्नु पर्ने देखिन्छ । अचल सम्पत्तिको हकमा कानूनले नै सो बण्डापत्र सदर हुँदैन भन्ने किटानी साथ व्यवस्था गरेको र कानूनी प्रश्नमा प्रतिरोध (Estoppels) का सिद्धान्त पनि लागू नै हुने हुनाले वादीको दावी मनासिव र कानून सङ्गत देखिन्छ । यथार्थमा उक्त बण्डापत्र अचल सम्पत्तिको हकमा कानूनले नै सदर नहुने भएपछि त्यसलाई वादीका विरूद्ध प्रमाण लगाई कुनै निर्णय गर्न मिल्दैन । तसर्थ मेरो रायमा वादी देवेन्द्र सम्शेरले उक्त बण्डापत्रबमोजिम चल सम्पत्तिमा आफ्नो अंश पाइसकेको र अचल सम्पत्तिमा वादी र प्रतिवादीका बीचमा कानूनबमोजिम अंशबण्डा नभएकोले वादीले अचल सम्पत्तिमा अंश पाउनुपर्ने ठहर्छ । तर सम्माननीय प्रधान न्यायाधीश र माननीय न्यायाधीश श्री झपट सिंह रावलको बहुमतबाट वादीको दावी पुग्न नसक्ने भनी ठहर भएकोले यस सम्बन्धमा मैले अरू केही भनी रहनु परेन बहुमतको निर्णय बमोजिम गर्नु ।
इति सम्वत् २०२८ साल मार्ग १४ गते रोज ३ शुभम् ।