शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५३ - घर खिचोला

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६५३                 ने.का.प. २०२८

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री झपट सिंह रावल

न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत २०२८ सालको देवानी फुल बेञ्च नम्बर १५७

फैसला भएको मिति : २०२८।८।२४।६

पुनरावेदक : का.जि.टंगाल गैरीधारा टुकुचा बस्ने बाबुलाल थापा मगर

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने गजवीर थापा मगर, ऐ बस्ने रत्नवीर थापा मगर

मुद्दा : घर खिचोला

(१)   बुहारी मरी अपुताली पर्दा देवर जेठाज्यू एकै पिंडीका हुन जाने ससुरा अघिल्लो पिंडीको हुन जाने हुनाले देवर जेठाज्यूको हकै नलाग्ने भन्न नमिल्ने ।

            बुहारी मरी परेको अपुतालीमा ससुरा नजिक हो वा मर्नेको लोग्नेका सहोदरका दाजु भाइ जेठाजू देवर भए निजहरू पनि नजिक हुन्छन् हुँदैनन्भन्ने हकमा देवर जेठाजू एकै ंिपढीका हुन जाने ससुरा अघिल्लो पिंढिको हुन जाने हुनाले देवर जेठाजूको हकै नलाग्ने भन्ने तर्क गर्न मिल्दैन । झगडा परेको घर वादीले भोगचलन गरिआएको भन्ने कुरा प्रतिवादीको लेखबाट पनि देखिन्छ । मैले बस्नसम्म दिएको भन्ने प्रतिवादीको भनाई भएकोमा त्यस कुराको लिखतपत्र छ भन्न र पेश गर्न प्रतिवादीले सकेको छैन यस स्थितिमा उक्त अपुताली वादी प्रतिवादीहरूले आपसमा बाँडचुड गरी भोगचलन गरेका र झगडा परेको घर वादीको भागमा परी वादीकै भोगचलनमा रहेको रहेछ भन्ने प्रष्ट हुन्छ ।

(प्रकरण नं. १३)

पुनरावेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी प्रतिवादीतर्फबाट : श्री कुलराज गुरूघराना

उल्लेखित मुद्दा :    

फैसला

            न्यायाधीश श्री झपट सिंह रावल

            १.     अन्यायवाला गजवीरका ३ छोरामा जेठा म बाबुलाल माहिला रत्नवीर र कान्छा हस्तबहादुर हुन् हामी चारै बाबु छोराहरू ०१३ सालमा ऐनबमोजिम बण्डागरी का.रजिष्ट्रेशन मार्फत बण्डापत्र पास गरी छुट्टि बण्डापत्र भएको थियो । कान्छा भाइ हस्तबहादुर २०१७ सालमा कालगतीले परलोक भएको र निज हस्तबहादुरकी श्रीमती भगवती थापा मगर्नी जिवित छँदासम्म निजको हेरविचार पालताल मैले गरी आएको थिएँ । निज भाइ बुहारी भगवती पनि ०१९ वैशाख १९ गते कालगतीले परलोक हुँदा निजको छोरा छोरीसमेत कोही नभएबाट काजकृयासमेत मैले आफ्नो खर्च लगाई काजकृया पिण्डपानी गरेकोछु, सो कुरा तपसीलको साक्षी बुझेकोमा प्रमाणित हुने नै छ । यसप्रकारले हकदारको हक खाने निजको श्रीमती भगवती मरेपछि निजको अपुतालीखान पाउने नजिकका हकदार तथा सहोदर दाजु म बाबुलाल १ माहिलो भाइ रत्नवीर १ अन्यायवाला बाबु गजवीर थापा १ समेत ३ जना हकवालालाई बराबर अपुतालीको हक लाग्ने भई निज मर्ने भगवतीको जो भएको चल अचल धनमाल घर जग्गा आफूआफू मै ३ भाग लगाई १ भाग अपुताली खाई भोगी आएका थियौं । अपुतालीबाट हक भोगचलन गरी आएको श्रीसम्पत्तिमध्ये पूर्व भैरवस्थान पश्चिम हलवाईको घर उत्तर मूल सडक दक्षिण हरिमान ज्यापूको गुठी जग्गा यति ४ किल्ला भित्रको हरिमान ज्यापूलाई तिरोभरो गर्नुपर्ने ४ कवल २ नाले ३ तले टायल छाना भएको वार्दली सहितको का.इ.टंगाल गैरीधारा टुकुचाको प्रचलित मोल रु.६०००। मोलिने पक्की घर र सो घरले चर्ची आएको चोक आँगनसमेतको लगापातसमेत उक्त लेखिएनुसार बण्डाको बण्डापत्र का.रजिष्ट्रेशन अड्डामा छ । यो फिरादमा दावा गरेअनुसार अपुतालीबाट समुचा घरमध्ये पसल मटान तलासमेत ३ भागको १ भाग म आफै बसी भोगचलन गरी आएको घरमा मेरोमात्र हकलाग्ने घर हो, आजै अहिले छाडी देऊ भनी मलाई सोही ०२१।३।२२ गते बेलुकादेखि अनेकौं डरधाक देखाई मेरो अपुतालीबाट हक पुगेको घरमा खिचोला गर्नु भयो अपुतालीको महलको १ नं.अन्तर्गत मेरो अपुताली हक लाग्ने अपुतालीको १२ नं.का ऐनले म भिन्न बसेकै भए पनि अपुताली कै महलको २० नं.को म्याद ३ वर्षभित्र फिराद गर्न आएको छु । प्रचलित मोल रु.६०००। मोलिने घरमध्ये ३ भागको १ भाग रु.२०००। मोलिने घर चोक लगायतसमेतको मेरो अपुताली हकमा खिचोला मेटाई पाउँ भन्नेसमेत व्यहोराको वादी बाबुलालको ०२१।३।२५ को फिरादपत्र ।

            २.    स्वास्नी सानी नानीबाट जायजन्म भएको अंश दिनुपर्ने जेठा वादी बाबुलाल भन्ने श्यामबहादुर, माहिला रत्नवीर, कान्छा हस्तबहादुरसमेत भएकोमा उक्त ३ छोराको र हामी लोग्ने स्वास्नीको समेतको ०१३ साल फागुण २८ गते बण्डा गरी सोही मितिमा का.रजिष्ट्रेशन अड्डाबाट पासगरी आफ्नोफ्नो भाग आफूआफूले भोगी आएको कान्छा छोरा हस्तबहादुर रोगी भई राम्रो आर्जन गर्न नसक्ने भएकोले मेरैसँग साथमा रही कालगतीले परलोक भएपछि बुहारी भगवतीलाई पनि साथैमा राखी हेरविचार पालन पोषण गरी राखेको अवस्था ०१९ साल वैशाख १९ गते आफ्ना कालगतीले परलोक भएकोले मैलेनै खर्च लगाई काजकृया गरेको वादी दावीअनुसार वादीले स्याहार सम्भार पालन पोषण गरेको र काजकृया गरेको समेत होइन । वादीले आफ्नो भागमा आएको घरसमेत बिक्री गरी उठाइसकेको बुहारी भगवतीले लोग्नेको काजकृया गर्न र घर खर्च गर्न भनी वापत जनाई मसँग ने.रु.२७७५। रूपैयाँ कर्जा लिई सयकडा १० का दरले व्याजसमेत बुझाउँला भनी ०१८।५।१५ गते कपाली तमसुक गरिदिएको तमसुक मसँग महजुदै भएकोबाट पनि मैले नै हेर विचार गरी पालन पोषण गरेको देखिने । वादीले हेरविचार नगरेको छोरा हस्तबहादुर बुहारी भगवतीसमेत मरेको र निजको ऋण पनि मैलेनै व्यहोरी काजकृया गरी मैलेनै अपुताली व्यहोरी आएको थिएँ । वादी लेखबमोजिम अपुताली बाँडी लिएदिएको र वादी दावीअनुसार वादीको भागमा परेको समेत होइन । यदि साँचैनै वादीको भए मेरो स्वास्नीलाई समेत भाग लगाई बाँडेको हुनुपर्र्ने र योयो यसको योयो भागमा परेको भनी सबैको भाग देखाउन सक्नुपर्ने सो देखाउनसमेत नसकेको वादी बस्ने ठाउँ नपाएबाट छोरा हुनाले खोजेकोसम्म हो वादीको हकै नभएको घरमा आफ्नो गराउन खाजेकोसम्म हो वादीको हकै नभएको घरमा मैले कसरी खिचोला गरेको ठहर्ने हो, र त्यसबाट वादी विलकुल झुट्टा हो भन्नेसमेत गजवीरको प्रतिवादी ।

            ३.    मेरो पिता गजवीरले निज भगवतीको काजकृया गर्नुभएको । दाजु बाबुलालले काजकृया गरेको र हेरचाह गरेको समेत छैन । हेरचाह पनि मेरो पिता गजवरीले नै गुर्न भएको थियो । भाइबुहारी बिरामी भई माईत गएको बखत माईतमा परलोक भएको धनमाल हाँडोभाँडो पनि बुहारीले माइतैमा लगेकी हुनाले धन माल केही पाइन तापनि काजकृया पिताले नै गर्नुभयो । अपुताली परेको वादी दावी घर दाजु र पिता गजवीर तथा मेरोसमेत हक र बण्डालाग्ने हो भन्नेसमेत रत्नवीरको बयान ।

            ४.    वादी बाबुलाल दाजु र प्रतिवादी गजवीर बाबु नाताको देखिन आएकोबाट नजिकको हकदार बाबु गजवीर छँदै वादी दाजु बाबुलालले अपुताली खान पाउँछ भन्नसमेत नहुने देखिन आएकोले अपुतालीबाट मेरो हक हुन आएको घरमध्ये ३ भागको १ भागमा खिचोला गरे भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत का.जि.अदालतबाट ०२२।१।२० मा फैसला ।

            ५.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत बाबुलालको पुनरावेदन ।

            ६.    छोरा बुहारी भगवती परलोक भएपछि बाबु गजवीरले अपुताली हक बेहोरी खाने नै हुँदा त्यस्तोमा अपुतालीबाट मेरो हक भएको घरमा प्र.गजवीरले खिचोला गर्‍यो भनी वादीले झुट्टै दावी गरेको ठहर्छ इन्साफ शुरुले ठहराएको मनासिव छ । हद मुनीको हुँदा अपील लाग्दैन भन्नेसमेतको बाग्मती अञ्चल अदालतको फैसला ।

            ७.    वादीको निवेदनबाट प्रस्तुत मुद्दामा बाबु छोरा ससुरा बुहारी दाजू जेठाजुहरूमा अपुतालीको नजिकको हकदार को ठहर्छ ? भन्नेतर्फ अपुतालीको १ नं.बमोजिम जटिल कानूनी प्रश्न समावेश भएको देखिनाले पुनरावेदन दिने अनुमती दिएको छ भन्ने माननीय प्रधान न्यायाधीशज्यूको ०२४।११।२२ को आदेश ।

            ८     बाग्मती अं.अ.ले गरेको फैसलामा चित्तबुझेन भन्नेसमेत वादीको स.अदालतमा पुनरावेदन ।

            ९.    हामी चारै बाबु छोराहरू ०१३ सालमा ऐनबमोजिम बण्डा गरी बण्डापत्र पास गरी छुट्टिएको भाइ हस्तबहादुर ०१७ सालमा भाइ बुहारी भगवती पनि ०१९ साल वैशाख १९ गते कालगतीले परलोक हुँदा काजकृयासमेत मैले आफ्नो खर्च लगाई गरेको मर्ने भगवतीको जो भएको चल अचल धनमाल घर जग्गा आफूआफूले ३ भाग लगाई १ भाग अपुताली खाई भोगी आएका थियौं । लेखिएको चार किल्ला भित्रको घरमध्ये तीनभाग एकभाग मेरो अपुताली हकमा खिचोला मेटाई पाउँ भन्नेसमेत वादी दावी भएकोमा प्रतिवादीले प्रतिवाद गर्दा ३ छोराको र हामी लोग्ने स्वास्नी समेतको ०१३ साल फाल्गुण २८ गते बण्डा पासगरी आफ्नोफ्नो भाग आफूआफूले भोगी आएको बुहारी भगवती पनि ०१९ साल बैशाख १९ गते आफ्ना कालगतीले परलोक भएकाले मैलेनै आफ्नै खर्च लगाई काजकृया गरेको वादीको हकै नभएको घरमा मैले कसरी खिचोला गरेको ठहर्ने भन्नेसमेत उल्लेख गरेको देखियो । उक्त वादी र प्रतिवादीको भनाई जिकिर गराइबाट ०१३ सालमा बण्डापत्र पासगरी छुट्टिएको भन्ने कुरामा दुबै पक्षको मुख मिलेकै देखियो । अब मर्ने भगवतीको काजकृयासमेत मैले गरेको भन्ने वादी, मैलेनै आफ्नै खर्च लगाई काजकृया गरेको भन्ने प्रतिवादीको भनाइ भएकोले सो अपुताली कसले पाउने हो भन्नेतर्फ हेर्दा प्रचलित मुलुकी ऐन अपुतालीको १ नं मा हकवाला भनेको ७ पुस्ता सम्मको पुरूषतर्फको हाँगामा सबै भन्दा नजिकको अंशियार हुन्छ सात पुस्ता नाघेको टाढाको दाजुभाई हुन्छ भन्नेसमेत लेखिएकोबाट हकवाला भनेको सात पुस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार र सात पुस्ता नाघेकोमा टाढाको दाजुभाइ हुन्छ भन्ने कुरा स्पष्ट तथा कानूनले व्यवस्था गरेको पाइन्छ । प्रतिवादी गजवीर वाबु हो भन्ने र बाबुबाट अंश लिई बण्डागरी भिन्न बसेको भन्ने कुरामा वादी सावितै रहेको हुँदा त्यसरी अंशबण्डा गरी दिने बाबुलाई नजिकको अंशियार होइन टाढाको अंशियार हो भनी र बाबुबाट अंश पाउने यो वादी बाबु भन्दा नजिक अंशियार हो भनी भन्न सम्झन नमिल्ने समेतबाट गजवीर नै नजिक अंशियार हुन आउँछ । मिसिल सामेल रहेको रत्नवीरको बयानमा भाइ बुहारी भगवती परलोक हुँदा निजको कोही सन्तान नहुनाले मेरो पिता गजवीरले नै निज भगवतीको काजकृया गर्नु भएको हो । दाजु बाबुलालले काजकृया गरेको र हेरचाह गरेको समेत हैन हेरचाह पनि मेरो पिताजी गजवीरले नै गर्नुपर्ने भएको थियो भन्नेसमेत लेखिएको देखिन्छ । यदि वादीको भनाइबमोजिम निज वादीले हेरविचार काजकृया गरेको भए निज रत्नवीरले त्यसरी बयान गर्नु नपर्ने र निज रत्नवीरको बयानमा वादीको भनाइबमोजिम मर्नेको चल अचल धनमाल घर जग्गामा ३ भाग लगाएको हो भन्ने उल्लेख गरेको पनि देखिदैन । त्यसरी ३ भाग लगाई १ भाग अपुताली खाई भोगी आएको भए त्यस कुराको पक्का लिखत सबुद वादीले दिन पेश गर्न सक्नुपर्ने सो सकेकोसमेत देखिन आएन । मिसिल साथ रहेको हरिमान आगे भई गरिदिएको रसिदमा गजवीर मगरसँग तपाईले घर १ बनाई बसेको घडेरीको पट्टि ०२० साल वर्ष १ को बाली धान मुरी १।७ भन्ने र तपाईले पर्खाल लगाई घेराएको जग्गाको बाली २।१० समेत बुझी लिई रसिद गरी दियौं भन्नेसमेत लेखिएकोबाट बुझाउनु पर्ने त्यो समेत प्रतिवादी गजवीरले नै बुझाई आएको भन्ने देखिन आएको हुनाले समेत वादीको दावी पुग्न सक्ने देखिएन । अतः छोरा बुहारी भगवती परलोक भएपछि बाबु गजवीरले अपुताली हक व्यहोरी खान पाउने नै हुँदा त्यस्तोमा अपुतालीबाट मेरो हक भएको घरमा प्र.जगवीरले खिचोला गर्‍यो भनी वादीले झुट्टै दावी गरेको ठहर्छ, भनी बा.अं.अ.ले गरेको इन्साफ मनासिव छ । कोर्टफी रहेको हुँदा अरू केही गर्न परेन बाबुलाल र गजवीरको बराबर हक लाग्नु पर्दछ भन्ने मेरो राय छ भन्नेसमेत सहयोगी मा.न्या.श्री विश्वनाथ उपाध्यायको रायमा म सहमत हुन सकिन निर्णयार्थ नियम बमोजिम फुल बेन्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय ।

            १०.    प्रस्तुत मुद्दामा कानूनको व्याख्याको एउटा जटील प्रश्न समावेश भएको छ । वर्तमान मुलुकी ऐन भन्दा अघि लागू रहेको मुलुकी ऐन भन्दा अघि लागू रहेको मुलुकी ऐनका अपुतालीको महलमा अपुतालीसम्बन्धी कानूनी व्यवस्था कतिपय कुराहरूमा अस्पष्ट अधुरो र दुविधापूर्ण भएकोले सो प्रश्न उपस्थित भएको हो र त्यस्तो समाधान न्यायिक निर्णयबाट गर्नुपर्ने हुन आएको छ । अपुतालीको प्रयोजनको लागि ससुरा (लोग्नेका बाबु) र जेठाजु (लोग्नेका सहोदर दाजु) बराबरका हकवाला हुन्छन् अथवा ससुरालाई मात्र हकवाला सम्झनु पर्ने होकि भन्ने प्रश्न प्रस्तुत मुद्दामा ठहर गर्नुपर्ने मुख्य प्रश्न भएको छ । यस सम्बन्धमा तत्काल प्रचलित मुुलुकी ऐन अपुतालीको महलको अध्ययन गर्दा छोरा बुहारी अथवा भाइ बुहारीको अपुतालीका सम्बन्धमा ससुरा वा जेठाजुको स्थान के हुन्छ भन्ने कुराको किटानी र प्रष्ट व्यवस्था भएको देखिदैन । अपुतालीको महलको १ नम्बरमा हकवाला भनेको सात पुस्तासम्मको १० दिन जुठो लाग्नेमा जति नजिकको छ उही हुन्छ भन्नेसम्म उल्लेख भएको देखिन्छ । तर प्रस्तुत मुद्दाको निर्णयमा यस कानूनी व्यवस्थाले विशेष सहायता प्राप्त हुनसक्ने देखिंदैन । यस सम्बन्धमा मुख्यतः दुईटा प्रश्न उठदछ (१) १० दिनसम्म जुठो नबार्ने वा जुठो बार्दै नबार्ने जातिका मानिसहरूमा हकवालाको निर्धारण कसरी गर्ने र (२) जुठो बार्नेमा पनि नजिक र टाढाको छुट्याउने आधार के ? जहाँसम्म पहिलो प्रश्नको सम्बन्ध छ मेरो रायमा सनातन हिन्दु धर्माबलम्बीहरूको धार्मिक र सामाजिक रितीस्थितिको आधारमा व्यवस्थित गरिएको उक्त कानूनी व्यवस्था अन्य धर्माबलम्बीहरूका सम्बन्धमा मात्र होइन हिन्दु धर्मको अबलम्बन गर्ने कतिपय सम्प्रदायहरूका सम्बन्ध मै पनि मिल्न आउँदैन । अपुतालीको प्रयोजनका लागि १० दिन जुठो नबार्ने वा जुठो बार्दै नाबार्ने जातिका मानिसका हकमा लागू गर्न नसकिने कुरा प्रष्ट छ । प्रस्तुत मुद्दामा अपुतालीको विवाद थापा मगर जातिका मानिसहरूका बीचका विवाद भएको र सो जातिमा केकस्तो जुठो कति दिन बार्नु पर्छ भन्ने कुरा साविक मुलुकी ऐनको आशौच बार्नेका महलमा केही उल्लेख भएको नदेखिएकोले सो १ नं.का आधारमा मात्र प्रस्तुत मुद्दाको निर्णय गर्न मिल्दैन । अब दोस्रो प्रश्नमा जाउँ १० दिन जुठो बार्ने जातिमा पनि जुठो बार्ने मानिसहरूमध्ये नजिक र टाढाको छुट्याउने आधार के ? त्यसको एउटा आधार नाता हुन सक्तछ । तर नाता मै पनि सधै र सबै अवस्थामा नजिक र टाढाको छुट्याउन सम्भव हुँदैन उदाहरणको रुपमा मर्ने व्यक्तिको भिन्न भएका आमा र बाबुका बीचमा अपुतालीको विवाद भएमा कसलाई नजिक मान्ने र किन त्यस्तै मर्नेका ससुरा (लोग्नेको बाबु) र देवर जेठाजु (लोग्नेको सहोदर भाइ र बाबु) मा को नजिक इत्यादि अरू पनि कैयौं उदाहरणहरू प्रस्तुत गर्न सकिन्छ तसर्थ अपुतालीको महलको १ नं.ले प्रस्तुत मुद्दाको जस्तो अवस्थाको अपुतालीको निर्णयमा कुनैसहायता प्रदान गर्नसक्ने देखिंदैन । उपयुक्त कुराहरूका अतिरिक्त यस सम्बन्धमा एउटा अर्को पनि विचारणीय छ । अपुतालीको महलको १ नं.को राम्रो विश्लेषण गरेर हेरेका खण्डमा हकवाला कुनै एउटा व्यक्ति भएतापनि वास्तवमा अपुताली पाउने व्यक्ति अर्को हुनसक्ने देखिन्छ । स्वास्नी र छोरा बाहेक तीन पुस्ताभित्रका भिन्न भएका अरू हकवाला भए पनि छोरी छ भन्ने त्यस्ता हकवालाले अपुताली पाउन सक्तैनन् छोरीले पाउँछ । त्यस्तै छोराहरू छन् भने पनि त्यस्ता छोराहरूले स्याहार संम्भार नगरी छोरी वा जुवाँईले नै अपुताली खान पाउँदछन । यसप्रकार यो कुरा प्रष्ट देखिन्छ कि अपुताली खाने व्यक्ति र हकवाला भिन्न भिन्न व्यक्ति पनि हुन सक्छन् । तसर्थ उक्त १ नं.अनुसार कुनै व्यक्ति नजिकको हकवाला हुँदैमा त्यसले मात्र अपुताली पाउँछ भन्न मिल्दैन यस कुराको पुष्टि अपुतालीको २ नं.को अध्ययनबाट पनि हुन्छ सो नम्बरबमोजिम स्वास्नी छोरा तीन पुस्तासम्मको सँग बसेको हकवाला र छोरीमध्ये कोही पनि नभएको अवस्थाका व्यक्तिको अपुताली तीन पुस्तासम्मको हकवाला भए तिनै हकवालाले पाउने व्यवस्था भएको देखिन्छ त्यसमा तीन पुस्तासम्मका हकवालामध्ये यसले वा उसले पाउने भन्ने केही उल्लेख नभई ३ पुस्तासम्मका मात्र हकवाला भएमा जम्मै तीनै हकवालाले भन्ने बहुवचनात्मक शब्दावली प्रयोग भएको छ । प्रस्तुत मुद्दामा पनि मर्ने भगवतीको लोग्ने छोरा छोरी तीन पुस्तासम्मका सँगबसेका हकवाला कोही नभई ससुरा र जेठाजुहरू तीनैजना तीन पुस्ताभित्रका भिन्न भएका हकवालाहरू भएकाले उक्त २ नं.बमोजिम निजको अपुताली तीनै जनाले बराबर खान पाउँदछन् भन्ने सम्झनुपर्ने देखिन्छ । यस प्रश्नलाई एउटा अर्को दृष्टिकोणबाट पनि विचार गर्न सकिन्छ । आफ्ना सन्तान नभएका व्यक्ति अर्थात अपुतालीको सम्पत्ति निजको शेषपछि कसले पाउने भन्ने कुराको निर्धारण गर्नु नै अपुतालीको कानून व्यवस्थाको मूल उद्देश्य हो । तर यससम्बन्धमा साविक मुलुकी ऐनको अपुतालीको महल प्रष्ट नभई दुविधापूर्ण र अधुरो छ भन्ने कुरा माथि व्यक्त गरिएका कुराहरूबाटै प्रष्ट छ । यस स्थितिमा यस्तो प्रश्नको निर्णय सामाजिक न्यायको दृष्टिकोणबाट तर्क सङ्गत आधारमा गरिनु उचित हुन्छ । आफ्ना सन्तान कोही नभएमा अपुताली अंशकोरुपमा पाएको सम्पत्ति निज हुँदै नभएको भए सबै अंशियारलाई बराबर भाग लाग्ने सम्पत्ति हुँदा निजको मृत्यु पछि पनि निज हुँदै नभए सरह नै मानेर बराबरका सबै अंशियारहरूलाई बराबर दिलाउनु नै न्याय र विवेकको दृष्टिकोणले उपयुक्त देखिन्छ । उपयुक्त कुराहरूबाट प्रस्तुत मुद्दामा भगवती मरी अपुताली परेको सम्पत्तिमा निजको ससुरा गजवीर जेठाजु बाबुलाल रत्नवीर तीनजनाको बराबर हक लाग्नु पर्नेमा अब गजवीरको पनि मृत्यु भइसकेकोले बाबुलाल र रत्नवीरमध्ये बाबुलाललाई एक भाग र गजवीरको समेत गरी रत्नवीरलाई दुईभाग हक लाग्नै पर्दछ भन्ने मेरो राय छ । तसर्थ अपुतालीमा गजवीरको मात्र हकलाग्ने गरी सहयोगी मा.न्या.बब्बरप्रसाद सिंहले गर्नु भन्ने माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय भएको ०२८।१।३०।४ को डिभिजन बेञ्चको फैसला ।

            ११.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।८।२१।३ सा पेश भई पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कुलराजले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी बाबुलालको बाबु प्रतिवादी गजवीर भाइ रत्नवीर हस्तबहादुर समेत ४ जना अंशियारमा ०१३ सालमा अंशवण्डा छुट्याई रजिष्ट्रेशन पास भएको सोमध्ये हस्तबहादुर ०१७ सालमा र निजकी स्वास्नी भगवती ०१९ सालमा मरी छोरा छोरी कोही नहुँदा अपुताली पर्न आएकोबाट सो अपुताली मसमेतका बाँकी ३ जनाले बाँडी मेरा भागमा परेको घर मैले भोग चलन गरिआएकोमा प्रतिवादीले खिचोला गर्‍यो भन्ने वादीको दावी भएको प्रतिवादी गजवीर बाबु छँदै वादी छोरा बाबुलालले अपुताली नपाउने हुँदा वादी दावा नपुग्ने भन्ने जि.अ.तथा अञ्चल अदालतको इन्साफ सदर गरी डिभिजन बेञ्चमा मा.न्या.श्री बब्बरप्रसादले र मर्ने हस्तबहादुर नभएको भए सो अपुताली परेको भन्नेको सम्पत्तिमासमेत वादीले हिस्सा बण्डा पाउने अवस्था भएको हस्तबहादुर मरी नभए सरहै भएपछि सो सम्पत्तिमा वादीको हक नलाग्ने भन्न नमिल्ने हुनालेसमेत वादीले पनि ३ भागको १ भाग पाउनु पर्ने भन्ने मा.न्या.श्री विश्वनाथको राय भई फुल बेञ्चमा पेश हुन आएको रहेछ ।

            १२.   वादीले दावी गर्दा अपुताली परेको सम्पत्तिको भाग फाँट छुट्याई पाउँ भन्ने दावी गरेको देखिदैन हामीले घरायसमै बाँडी भोगी आएका मेरा भागको घरमा खिचोला गर्‍यो भन्ने वादीको दावी देखिन्छ । वादीले सो अपुतालीको सम्पत्तिबाट भाग फाँट पाउने हो वा होइन भन्नेतर्फलाई छोरा मरी परेको अपुताली बाबु नगिच हुँदा बाबुले पाउने भन्ने तहतहका अदालत डिभिजन बेञ्चका मा.न्या.श्री बब्बरप्रसाद सिंहले तर्क गर्नुभएको छ । सो परेको भनेको अपुताली प्रतिवादी गजवीरको छोरा हस्तबहादुर मरेकोबाट अपुताली परेको नभई हस्तबहादुरका शेषपछि निजकी स्वास्नी भगवती मरेपछि मात्र वास्तवमा अपुताली पर्न आएको हुनाले छोरा मरी परेको अपुतालीमा बाबुलाई नगिचमान्नु पर्छ भन्ने तर्क यो मुद्दामा प्रासंगीक छैन ।

            १३.   बुहारी मरी परेको अपुतालीमा ससुरा नगिच हो वा मर्नेको लोग्नेका सहोदरका दाजुभाई जेठाजु देवर भए निजहरू पनि नगिच हुन्छन हुँदैनन् भन्ने हकमा देवर जेठाज्यू एकै पिडीका हुन जाने ससुरा अघिल्लो पिडीको हुन जाने हुनाले देवर जेठाज्यूको हकै नलाग्ने भन्ने तर्क गर्न मिल्दैन झगडा परेको घर वादीले भोग चलन गरिआएको भन्ने कुरा प्रतिवादीको लेखबाट पनि देखिन्छ मैले बस्नसम्म दिएको भन्ने प्रतिवादीको भनाई भएकोमा त्यस कुराको लिखत पत्र छ भन्न र पेश गर्न प्रतिवादीहरूले सकेको छैन । यस स्थितिमा उक्त अपुताली वादी प्रतिवादीहरूले आपसमा बाँडचुँड गरी भोग चलन गरेका र झगडा परेको घर वादीको भागमा परी वादी कै भोगचलनमा रहेको रहेछ भन्ने प्रष्ट हुन्छ ।

            १४.   तसर्थ, उपरोक्त उल्लेखित कारणहरू समेतबाट भगवती मरिपरेको अपुतालीको सम्पत्तिमा वादी समेतको हकलाग्ने कायम गर्नु भएको सम्म ०२८।१।३०।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री विश्वनाथ उपाध्यायले व्यक्त गर्नु भएको राय मुनासिव र अपुतालीबाट वादीको भागमा परी वादीले भोग चलन गरेको वादी दावीको घर ३ भागको १ भागमा प्रतिवादीले खिचोला गरेको ठहर्छ । उक्त ०२८।१।३०।४ को डिभिजन बेञ्चमा न्या.श्री विश्वनाथको रायमा लेखिए बमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

प्र.न्या.श्री रत्नबहादुर विष्ट र

न्या.श्री सुरेन्द्रप्रसाद सिंह

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२८ साल मार्ग २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु