निर्णय नं. ८१७९ - जबरजस्ती करणी
निर्णय नं. ८१७९ २०६६ असोज अङ्क ६
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६२ सालको फौ.पु.नं. ––३५८२
फैसला मितिः २०६६।२।१८।२
मुद्दा :– जबरजस्ती करणी ।
पुनरावेदक वादीः शिवानी कार्की (नाम परिवर्तन) को जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः उदयपुर जिल्ला हडिया गा.वि.स. वडा नं. ६ बस्ने नारायणबहादुर राउत
शुरु तहमा फैसला गर्ने
मा.जि.न्या. श्री शिवप्रसाद पराजुली
पुनरावेदन फैसला गर्ने
मा.न्या. श्री कोमलनाथ शर्मा
मा.न्या. श्री गौरीबहादुर कार्की
§ जबरजस्ती करणी मुद्दामा करणी स्थापित गर्ने विषयमा पीडित तथा अन्य व्यक्तिको भनाइ महत्त्वपूर्ण रहदाँरहँदै पनि अकाट्य भने हुदैन । जबरजस्ती करणीका सम्बन्धमा पीडित तथा अन्य व्यक्तिहरूले व्यक्त गरेको कुरालाई पीडित तथा पीडकको शारीरिक परीक्षणलगायतका अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा प्रमाणमा लिनुपर्ने ।
§ पहिला अनुसन्धान अधिकारी समक्ष जबरजस्ती करणी भएको हो भनी कागज गरिदिएको र सो कुरा प्रतिवादीको वयान लगायतका अन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी पीडित तथा अन्य व्यक्तिले वकपत्र गरेको आधारमा मात्र प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय प्रतिवेदन ( Medical Report) को प्रतिकूल हुनेगरी जबरजस्ती करणी भएको होइन भन्ने निष्कर्षमा पुग्न नसकिने।
(प्रकरण नं.३)
§ अन्य प्रमाणबाट कसूर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केवल पीडित तथा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत हुनेगरी गरेको वकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिदै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने र अपराधीहरूले कहिल्यै पनि सजाय पाउने अवस्था नआई दण्डहीनताको स्थिति सिर्जना भइ अन्ततः समाज नै अराजकतातर्फ जाने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटः
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजीरः
§ नेकाप २०६१, पृष्ठ ८९३, नि.नं. ७४११
सम्बद्ध कानूनः
प्रमाण ऐन, २०३१ को दफा ९
§ जबरजस्ती करणी महलको १, ३(२) र १० नंं
फैसला
न्या. राजेन्द्रप्रसाद कोइरालाःपुनरावेदन अदालत राजविराजको मिति २०६२।५।२८ के फैसलाउपर वादी पक्षबाट मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यसप्रकार छः–
मिति २०६०।१।२३ गते अं. १४.०० वजेको समयमा म र मेरी बहिनी सहित जिल्ला उदयपुर हडिया गा.वि.स. वडा नं. ४ स्थित राजावास खेतमा मकै रुँग्न गई आधा डोको घाँस समेत काटी वसिरहेको अवस्थामा एक्कासी नारायणबहादुर राउत हामी भएको ठाऊँमा आई सल्लाह छ भन्ने निहुँ गरी नजिक आई हात समातेर भुइमा लडाई मेरो मुख समेत थुनेर जबरजस्ती करणी गरी बुबा आमालाई भनिस् भने मारी दिन्छु भनी गएको हुँदा कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने शिवानी कार्कीको जाहेरी दरखास्त ।
जि. उदयपुर हडिया गा.वि.स. वडा नं. ४ राजावास स्थित सम्भ्रान्तबहादुर कार्कीको मकै खेतमा प्रतिवादी नारायणबहादुर राउतले जाहेरीबाली शिवानी कार्कीलाई जबरजस्ती करणी गरेको, घटनास्थलमा मकै भाँचिएको भुइमा लडेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।
पीडित शिवानी कार्कीको योनीमा जबरजस्ती करणी भए नभएको भन्ने वारेमा भेजिनल स्वावको रिपोर्ट हेरेपछि मात्र भन्न सकिने, निजको योनी सुनीएको, योनीको वाहिर सेतो पदार्थ देखिएको, प्रतिवादी नारायणबहादुर राउतको दाहिने घुँडा माथि छाला खुइलिएको, निजले मादक पदार्थ समेत सेबन गरेको भन्ने समेत व्यहोराको जिल्ला अस्पताल उदयपुरबाट प्राप्त स्वास्थ्य परीक्षण रिपोर्ट ।
मेरो गाईको बाछी हराएकोले खोज्दै जाँदा मिति २०६०।१।२३ गते नाम थाहा नभएको १ जना नेवारको घरमा जाँड किनेर खाई वाछी खोज्दै जाँदा जाहेरबाली शिवानी कार्की भएको ठाउँमा पुगेपछि निजलाई समेत मैले वाछी देखिनौ भनेर सोधो । त्यसपछि निजले देखिन भनेपछि मैले चुरोट खाने निहुंले सलाई मागे सलाई पनि छैन भन्ने जवाफ आएपछि जाहेरबाली शिवानी कार्की र निजको बहिनी अञ्जली कार्की (नाम परिवर्तन)लाई एक्लै मकैवारीमा भएको देखेपछि मलाई यौन चाहना जागेर आयो । अनि म निजहरू वसेको ठाउँ नजिक गई निज शिवानी कार्कीको टाउको सुमसुमाई गाला टोकी दुध पनि समाएँ । त्यसपछि शिवानी कार्की रुन थालिन । त्यसपछि ममा झन यौन उत्तेजना वढेर आयो । अनि मैले शिवानी कार्कीको हात समातेर भुइमा लडाई निजको कट्टु फुकालेर फ्याकी निज माथि चढेर निजको योनीमा लिङ्ग छिराउन खोज्दा निज सानो उमेरकी भएको कारण लिङ्ग योनी भित्र छिर्न नसकेकोले योनी वाहिर नै रगडिएर मेरो विर्य स्खलन भयो । त्यसपछि मैले उठेर बुबा आमालाई भनिस भने मारी दिन्छु भनी डर देखाएँ । निजहरू रुदै आफ्नो घर तर्फ लागे भन्ने समेत व्यहोराको प्रतिवादी नारायणबहादुर राउतको कागज ।
मिति २०६०।१।१३ गते दिउसो म आफ्नो श्रीमतीलाई गाडी चढाई घरतर्फ आइरहेको अवस्थामा जाहेरबाली शिवानी कार्की र निजको बहिनी अञ्जली कार्की रुँदै आइरहेको देखि के भयो ? किन रोएको ? सर्पले टोक्यो कि क्या हो भनी सोध्दा निजले रुँदै जादै गरेको मानिसले जबरजस्ती करणी गर्यो भनेर देखाएपछि मैले निजहरूलाई नरोइकन घर जाओ करणी गर्ने मानिस नारायणबहादुर राउत हो घरमा गएर बुबा आमालाई भन्नु भनी सम्झाएर घर पठाएँ । निज शिवानी कार्कीको त्यसवेलाको अवस्था हेर्दा कपडामा धुलो लागेको र खुट्टा समेत राम्रो नटेकेको देख्दा र प्रतिवादी नारायणबहादुर राउतले पटक पटक गाउँमा फटाहा काम गरेर भागि काठमाडौंतर्फ जाने र शान्त भएपछि फेरी घर आउने गरेको हुँदा निज प्रतिवादीले जाहेरबालीलाई जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मोहन सदाको कागज ।
मिति २०६०।१।२३ गते दिउँसो प्रतिवादी नारायणबहादुर राउतले मेरो बाछी हराएर खोज्न हिँडेको भोक लाग्यो भन्दै मेरो घरमा आएपछि मैले खाना बनाउन लगाएर खाउ भन्दा खाना खान्न जाँड रक्सि जे भए पनि हुन्छ दिनु भनेपछि एक वटुको जाँड र कुखुराको अण्डा पकाएर दिएपछि खाएर गएका थिए । त्यसपछि वेलुका गाउँभरमा होहल्ला भई निज नारायण राउतले शिवानी कार्कीलाई जबरजस्ती करणी गरेको हो भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोरको कुम्भ नारायण श्रेष्ठको कागज ।
मिति २०६०।१।२३ गते मैले मेरो छोरी शिवानी कार्की र अञ्जली कार्कीलाई राजावास खेतमा मकै रुग्न र घाँस काट्न भनी पठाएकोमा दिउँसो अ. ३ वजे तिर छोरीहरू रुदै घरमा आएपछि किन के भयो र रोएको भनी सोधेपछी छोरी शिवानी कार्कीले मलाई हडिया–६ बस्ने नारायणबहादुर राउतले मकै रुंगी राखेको ठाऊँमा आई सलाई छ भन्ने निहुँ गरी मेरो नजीक आई मलाई समातेर मुख थुनी भुइमा लडाई तिघ्रा समेत चेपेर चल्न चटपटाउन नदिई जबरजस्ती करणी गर्यो भनेपछि मैले तत्काल इलाका प्रहरी कार्यालय हडिया (सुन्दरपुर) मा मौखिक खवर गरेपछि तत्कालै त्यहाँबाट प्रहरी खटाई निज नारायणबहादुर राउतलाई पक्राउ गरी ल्याएपछि छोरी शिवानी कार्कीले पनि मलाई जबरजस्ती करणी गर्ने मानिस यहि हो भनेपछि निज प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएको हो । यसरी मेरी नाबालीक छोरीलाई डर धाक देखाई मुख थुनी वोल्न चल्न चटपटाउन नदिई छेउछाउ गाउँ नभएको एकान्त ठाउँमा समातेर लडाई वोलिस कराइस भने मारी दिन्छु भन्दै समातेर भुइमा लडाई निजको उत्तेजित लिङ्गले मेरी छोरीको योनीमा छिराई करणी गरेको हो भन्ने समेत व्यहोराको सम्भ्रान्तबहादुर कार्की (नाम परिवर्तन) को कागज ।
मिति २०६०।१।२३ गते मलाई र मेरो दिदी शिवानी कार्कीलाई बुबाले मकै रुँग्न र घास काट्न भनी राजावास खेतमा पठाउनु भएकोमा हामी दुवैजना खेतमा गई मकै रुँगी आधा डोको जति घाँस काटी गोटी खेली वसीरहेको ठाउँमा के कहाँबाट हामीले नचिनेका मानिस आई मलाई सलाई छ भनी सोधे । हामीले छैन भनी जवाफ दिएपछि निज हामी भएको ठाउँ नजीक आई दिदी शिवानी कार्कीलाई समाती गाला टोके । दिदी रुन थालेपछि दिदीलाई भुइमा लडाए । त्यसपछी दिदी चिच्याएर रुन कराउन थालेपछि दिदीको मुख थुन्यो र म पनि रुन थालेपछि दीदीले मलाई जा वुवालाई ले भनेपछि म घर तिर जाँदै गर्दा बाटैमा दिदी पनि आउनु भयो । बाटोमा मोेहन सदासँग भेट भयो । त्यसपछि निजले के भयो भनी सोधनी गर्दा दिदीले जाँदै गरेको मानिसलाई देखाई मलाई जबरजस्ती करणी गर्यो भनेपछि उसले त्यो मानिस नारायणबहादुर राउत हो नरोईकन घर जाओ र वुवालाई भन भनेपछि हामी घर गई वुवालाई दिदी शिवानी कार्कीले नारायणबहादुर राउतले मलाई जबरजस्ती करणी गरेको भनी सुनाएको भन्ने समेत व्यहोराको अञ्जली कार्कीको कागज ।
छोरी शिवानी कार्की र अर्की सानी छोरी अञ्जली कार्कीलाई मकै रुँग्न र घाँस काट्न भनी खेतमा पठाएकोमा दिउँसो ३ वजेतिर छोरीहरू रुदै घरमा आएपछि श्रीमानले किन रोएको के भयो भनी सोधेपछि मलाई एउटा मानिसले मकैवारीमा समातेर लडाई गाला टोकि लछारपछार गर्दै उसको खुट्टा घुँडाले मेरो तिघ्रा थिचि वोलिस कराइस भने मारिदिन्छु भनी जबरजस्ती करणी गरेर भाग्यो । त्यो मानिस नारायणबहादुर राउत अरे । हामीलाई बाटामा मोहन सदाले भनेको भनेर छोरी शिवानी कार्कीले भनेपछि श्रीमानले तत्कालै इ.प्र. का. हडियामा छोरीलाई लगेर अपराधी पक्राउ गरेछन् । छोरीको त्यो वेलाको अवस्था हेर्दा जबरजस्ती करणी गरेकै हुन् भन्ने लागेको छ भन्ने समेत व्यहोराको सरोजिनी कार्की (नाम परिवर्तन) को कागज ।
मिति २०६०।१।२३ गते दिउसो सम्भ्रान्तबहादुर कार्कीले जाहेरबाली छोरीहरूलाई मकै रुँग्न भनी वारीमा पठाएको वेला प्रतिवादी नारायणबहादुर राउतले डरधाक धम्कि देखाई शिवानी कार्कीलाई मकैवारीमा जबरजस्ती करणी गरेको र भागेको, केटीहरू रुँदै घर जाँदा बाटोमा मोहनसदा मुसहरले भेटेर सोधेपछि त्यो मानिस नारायणबहादुर राउत भन्ने कुरा थाहा भएको, शिवानी कार्कीलाई निजको अवस्था हेर्दा जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको प्राय सवैजनाको एकै मिलानको डम्वरबहादुर कार्की समेत ७ जनाले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
जाहेरी दरखास्त, पीडित शिवानी कार्कीको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान बुझिएका अञ्जली कार्की समेतको कागज एवं वस्तुस्थिति मुचुल्का समेतबाट मिति २०६०।१।२३ गते अं. १४।०० वजेको समयमा प्रतिवादी नारायणबहादुर राउतले वर्ष १४ कि नाबालीका शिवानी कार्कीलाई जोरजुलुम गरी जबरजस्ती करणी गरेको कुरा पुष्टि हुन आएको हुँदा प्रतिवादी नारायणबहादुर राउतले मुलुकी ऐन जबरजस्ती करणीको महलको (संशोधन सहित) को १ नं. को कसूर गरेको हुँदा प्रतिवादी नारायणबहादुर राउतलाई ऐ. महलको ३ नं. को देहाय २ अनुसार सजाय हुनका साथै ऐ. महलको १० नं. अनुसार जाहेरबाली शिवानी कार्कीलाई प्रतिवादी नारायणबहादुर राउतको आधा अंश दिलाई दिन माग दावी लिई प्रतिवादी नारायणबहादुर राउतलाई अभियोगपत्र साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
अभियोग दावीबमोजिम मैले जाहेरबालीलाई जबरजस्ती करणी गरेको छैन । अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन । जाहेरबालीलाई चिन्दीन कुनै कुनै कुरा जाहेरी ठीक हो । मैले जाहेरबालीलाई पक्रिएको लडाएको भन्ने ठीक हो र मैले जाहेरबालीको पेन्टी तानी छिनी फ्याँकी दिएको हो र अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान मेरो हो । सो वयानमा भएको सहिछाप र व्यहोरा मेरो हो । वस्तुस्थिति मुचुल्काको व्यहोरा ठीक हो भन्ने समेत व्यहोराको प्रतिवादी नारायणबहादुर राउतले अदालतमा गरेको बयान ।
वादी प्रतिवादीको साक्षीहरूको वकपत्र भइ मिसिल संलग्न रहेको ।
शिवानी कार्कीको Vaginal Swab को रिपोर्टमा Spermatozoa Positive देखिएको र नारायणबहादुर राउतको लिङ्गको Swab परीक्षणमा Spermatozoa Positive देखिएको हुँदा परीक्षण रिपोर्ट अनुसार करणी भएको देखिन्छ । परीक्षण रिपोर्ट साथै पठाइएको छ भन्ने उदयपुर अस्पतालको च. नं. १२९ मिति २०६१।९।१८ गतेको रायपत्र ।
प्रतिवादी नारायणबहादुर राउतले जाहेरबालीलाई जबरजस्ती करणी गरेको कुरा विवादरहित र स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन नआई शंकास्पद देखिएबाट प्रतिवादीले आरोपीत कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको उदयपुर जिल्ला अदालतको मिति २०६१।११।५ को फैसला ।
पीडित पक्ष जाहेरबालीले संरक्षक बाबुको रोहवरमा दिएको जाहेरी दरखास्त, प्रतिवादीको मौकाको वयानमा गरेको स्विकारोक्ती समेतको मूल्याङ्कन नगरी प्रतिवादीलाई अभियोगबाट सफाइ दिने ठहराएको उदपयुर जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
पीडित भनिएकी व्यक्ति निजकी बहिनी तथा प्रहरीमा कागज गर्ने अन्य व्यक्तिले अदालतमा आई वकपत्र गर्दा जबरजस्ती करणी भएको होइन भनी वकपत्र गरेको अवस्थामा अभियोग दावी पुग्न नसक्ने भनी भएको उदयपुर जिल्ला अदालतको २०६१।११।५ को फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्ने पुनरावेदन अदालत राजविराजको २०६२।५।२८ को फैसला ।
प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष कसूर गरेमा सावित भै अदालतमा समेत प्रहरीमा भएको वयान मेरो हो भनी स्वीकार गरेको अवस्था छ । प्रतिवादीको सावितीलाई जाहेरी दरखास्त पीडितको शारीरिक परीक्षणबाट पुष्टि भएको छ । यस्तो अवस्थामा प्रहरीमा कागज गर्ने व्यक्तिहरूले अदालतमा अन्यथा वयान गर्दैमा कसूर नभएको भन्न मिल्ने हुँदैन । पुनरावेदन अदालत राजविराजको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ मुलुकी ऐन अ. वं. १८४क नं. को त्रुटि भएकोले मुद्दा दोहोर्याई हेरी उक्त फैसला बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा पीडितको मौकाको कागज, प्रतिवादीको साविती वयान र दुवैको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतको अध्ययनबाट पीडित शिवानी कार्कीलाई जबरजस्ती करणी गरेको तथ्य प्रमाणित भइरहेको अवस्थामा अदालतमा वकपत्र गर्दा जाहेरीलाई अस्वीकार गरेको मात्र कारणबाट अभियोग दावी पुग्न नसक्ने ठहर गरेको शुरु उदयपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा प्रमाण ऐन, २०३१ दफा ५४ तथा अ. वं. १८४क को त्रुटि विद्यमान हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने मिति २०६२।१०।१९ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री योगराज वरालले कसूर गरेमा प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष सावित भएका छन् । अदालतमा बयान गर्दा समेत प्रहरीमा भएको वयान आफ्नो हो भनी स्वीकार गरेका छन् । निजको वयान जाहेरी दरखास्त, प्रहरीमा कागज गर्ने अन्य व्यक्ति तथा शारीरिक परीक्षण प्रतिवेदन समेतबाट पुष्टि भएको छ । यस्तो अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरेको फैसला नमिलेको हुँदा उल्टी हुनुपर्छ भनी वहस गर्नुभयो । प्रतिवादी नारायणबहादुर राउतको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, अम्वर राउत तथा भीमबहादुर ढकालले पीडित भनिएकी व्यक्तिले अदालतमा आई वकपत्र गर्दा आफू उपर जबरजस्ती करणी नभएको भनेकी छन् । अनुसन्धान अधिकारी समक्ष कागज गर्ने अन्य व्यक्तिहरूले पनि अदालतमा वकपत्र गर्दा जबरजस्ती करणीको वारदात नभएको भनी वकपत्र गरेको अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो । विद्वान कानून व्यवसायीहरूको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीलाई सफाइ दिने ठहर गरेको उदयपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।
यसमा प्रतिवादी नारायणबहादुर राउतले नावालिका वर्ष १४ की शिवानी कार्कीलाई जबरजस्ती करणी गरेकोले मु. ऐन जबरजस्ती करणीको महलको १ नं. को कसूरमा सोही महलको ३(२) नं. अनुसार सजाय गरी १० नं. अनुसार पीडितलाई आधा अंश दिलाई पाउँ भनी वादी नेपाल सरकार तर्फबाट अभियोग पत्र दायर भएकोमा शुरु उदयपुर जिल्ला अदालत तथा पुनरावेदन अदालत राजविराजले प्रतिवादीलाई सफाइ दिने ठहर गरेको फैसलामा वादी पक्षको निवेदन परी यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भएपछि प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको छ ।
२. प्रस्तुत मुद्दामा २०६०।१।२३ गते दिनको १४.०० वजेको समयमा पीडित शिवानी कार्की र निजकी बहिनी समेत घाँस काटी रहेको अवस्थामा प्रतिवादी नारायणबहादुर राउत आइ सल्लाह गर्नु छ भनी शिवानी कार्कीलाई भुइमा लडाई जबरजस्ती करणी गरेको भन्ने शिवानी कार्कीको जाहेरी दरखास्त देखिन्छ । घटनास्थल मुचुल्काबाट जवजस्ती करणी भएको भनिएको ठाउँको मकै भाँचिई भुइमा लडेको भन्ने देखिन्छ । उदयपुर जिल्ला अस्पतालबाट प्राप्त स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनी सुनिएको योनीको वाहिर सेतो पदार्थ देखिएको र नारायणबहादुर राउतको दाहिने घुँडा माथि छाला खुईलिएको, निजले मादक पदार्थ सेबन गरेको भन्ने लेखिएको छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा मादक पदार्थ सेबन गरेपछि शिवानी कार्की भएको ठाउँमा पुगी शिवानी कार्कीको संवेदनशिल अंगहरू सुमसुम्याएपछि यौन उत्तेजना जागेकोले शिवानी कार्कीलाई भुइमा लडाई जबरजस्ती करणी गर्दा योनी भित्र लिङ्ग प्रवेश हुन नसकी योनी वाहिर नै वीर्य स्खलन भएको भनी वयान गरेका छन् । पीडित जाहेरबालीलाई जबरजस्ती करणी भएपश्चात घर जान लाग्दा बाटोमा भेट भई घटनाको वारेमा वताएको भनी मोहन सदाले कागज गरिदिएका छन् । घटना हुँदाको दिनमा दिउसो प्रतिवादीले आफ्नो घरमा एक वटुको जाँड र कुखुराको अण्डा खाएर गएको भनी कुम्भनारायण श्रेष्ठले कागज गरी दिएको देखिन्छ । पीडितका बाबु सम्भ्रान्तबहादुर कार्की, आमा सरोजिनी कार्कीले पनि प्रहरीमा कागज गर्दा आफ्नो छोरी माथि भएको घटनाको विवरण लेखाई दिएको पाईन्छ । पीडितकी बहिनी अञ्जली कार्कीले पनि घटनाको वारेमा विस्तृत विवरण खुलाई कागज गर्नुका साथै वस्तुस्थिति मुचुल्काका मानिसले पनि जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भनी लेखाई दिएको देखिन्छ । प्रतिवादीले अदालतसमक्ष वयान गर्दा अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान मेरो हो र वयानमा भएको सहिछाप र व्यहोरा मेरो हो भनी कसूरमा सावीत रहेको पाईन्छ । शिवानी कार्कीको Vaginal Swab को रिपोर्टमा Spermatozoa Positive देखिएको र नारायणबहादुर राउतको लिङ्गको Swab परीक्षणमा Spermatozoa Positive देखिएको हुँदा परीक्षण रिपोर्ट अनुसार करणी भएको देखिन्छ भनी जिल्ला स्वास्थ्य कार्यालय उदयपुरबाट लेखी आएको देखिन्छ । पीडित, निजका बाबु आमा लगायतले अदालतमा वकपत्र गर्दा जबरजस्ती करणी भएको होइन भनी वकपत्र गरेको पाईन्छ । पीडित लगायत अनुसन्धान अधिकारी समक्ष कागज गर्ने अन्य व्यक्तिहरूले अदालतमा वकपत्र गर्दा जबरजस्ती करणी भएको होइन भने तापनि प्रतिवादी नारायणबहादुर राउतले अनुसन्धान अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा आफूले जबरजस्ती करणी गरेको भनी स्वीकार गरेको पाईन्छ । जाहेरी दरखास्त, अनुसन्धान अधिकारी समक्ष कागज गर्ने व्यक्तिहरूको कागज समेतबाट प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको वयानमा उल्लेखित विवरण मादक पदार्थ सेबन गरेको देखि लिएर शिवानी कार्कीलाई जबरजस्ती करणी गरेको र शिवानी कार्की घरमा जाँदा सम्मको घटनाको विवरण पुष्टि भएको छ । पीडित तथा प्रतिवादीको शारीरिक परीक्षण प्रतिवेदनले पनि प्रतिवादीको स्वीकारोक्तिलाई समर्थन गरेको देखिन्छ ।
३. जबरजस्ती करणी मुद्दामा करणी स्थापित गर्ने विषयमा पीडित तथा अन्य व्यक्तिको भनाइ महत्वपूर्ण रहेको हुन्छ । उनिहरूको भनाइ महत्वपूर्ण रहदाँरहँदै पनि अकाट्य भने हुदैन । जबरजस्ती करणीका सम्बन्धमा पीडित तथा अन्य व्यक्तिहरूले व्यक्त गरेको कुरालाई पीडित तथा पीडकको शारीरिक परीक्षण लगायतका अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा प्रमाणमा लिनु पर्ने हुन्छ । तर पहिला अनुसन्धान अधिकारी समक्ष जबरजस्ती करणी भएको हो भनी कागज गरिदिएको र सो कुरा प्रतिवादीको वयान लगायतका अन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी पीडित तथा अन्य व्यक्तिले वकपत्र गरेको आधारमा मात्र प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय प्रतिवेदन (Medical Report) को प्रतिकूल हुनेगरी जबरजस्ती करणी भएको होइन भन्ने निष्कर्शमा पुग्न सकिदैन । पीडितको वकपत्र सम्बन्धमा यस अदालतबाट नेकाप २०६१, अङ्क ७, पृष्ठ ८९३, नि.नं. ७४११ मा ”... अपराधीलाई वचाइदिने नियतले स्वयं पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने वयान दिदैमा अभियुक्त निरपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध वयान दिदैंमा अपराधी ठहरिनैपर्ने भन्न सकिन्न। व्यक्तिको वयानलाई सवूदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उक्त सिद्धान्तमा असहमत हुनुपर्ने अवस्था पनि छैन ।
४. फौजदारी मुद्दामा कहिलेकाँही पीडित तथा अन्य व्यक्तिले विभिन्न कारणले पहिला आफूले गरेको वयान कागजको प्रतिकूल हुनेगरी प्रतिवादीलाई वचाइदिने गरी वकपत्र गर्ने गरेको पाइन्छ । अन्य प्रमाणबाट कसूर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केवल पीडित तथा अनुसन्धान अधिकारी समक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत हुनेगरी गरेको वकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिदेै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने अपराधीहरूले कहिल्यै पनि सजाय पाउने अवस्था आउदैन । यसबाट दण्डहीनताको स्थिति सिर्जना भइ अन्ततः समाज नै अराजकतातर्फ जान्छ ।
५. प्रस्तुत मुद्दामा पीडितको Vaginal Swab तथा प्रतिवादीको लिङ्गको Swab परीक्षणबाट Spermatozoa Positive देखिई करणी भएको देखिन्छ भन्ने उदयपुर अस्पतालको पत्रबाट करणी भएको भन्ने तथ्य स्थापित भएको पाईन्छ । परीक्षण प्रतिवेदन लगायतका अन्य प्रमाणबाट समर्थित भएको प्रतिवादीको बयान प्रमाण ऐन, २०३१ को दफा ९ ले निजका विरुद्धमा प्रमाण लाग्ने हुन्छ । पीडित लगायतका अन्य व्यक्तिले अदालतसमक्ष वकपत्र गर्दा जबरजस्ती करणी भएको होइन भने तापनि माथि उल्लेखित सबुद प्रमाणबाट प्रतिवादीले जबरजस्ती करणी गरेको भनी गरेको बयान समर्थित हुन आएकोले यी प्रतिवादीले जबरजस्ती करणीको कसूर गरेको ठहर्छ । निजलाई सफाइ दिने गरी भएका उदयपुर जिल्ला अदालत तथा पुनरावेदन अदालत राजविराजको फैसला उल्टी हुन्छ । पीडित शिवानी कार्की घटना घटेको समयमा १४ वर्षकी वालिका भएको देखिएको हुँदा जबरजस्ती करणीको महलको ३(२) नं. अनुसार प्रतिवादी नारायणबहादुर राउतलाई ७(सात) वर्ष कैद तथा सोही महलको १० नं. अनुसार प्रतिवादीको आधा अंश पीडितलाई भराई दिने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएअनुसार उदयपुर जिल्ला अदालत तथा पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भई प्रतिवादीलाई ७ वर्ष कैद सजाय हुने ठहर भएकोले निज प्रतिवादी २०६०।१।२४ देखि प्रहरी हिरासतमा रही उदयपुर जिल्ला अदालतको मिति २०६०।२।१९ को आदेश अनुसार कारागारमा वसी उदयपुर जिल्ला अदालतको फैसला अनुसार २०६१।११।५ मा छुट्टि गै १ वर्ष ९ महिना ११ दिन कैद वसिसकेको देखिँदा बाँकी ५ वर्ष २ महिना १९ दिन कैदको लगत कसी असुल उपर गर्नु भनी शुरु उदयपुर जिल्ला अदालतमा लेखी पठाउनू .... १
जबरजस्ती करणीको १० नं. अनुसार प्रतिवादीको आधा अंश पीडित शिवानी कार्कीलाई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू –––३
माथि ठहर खण्डमा लेखिएअनुसार उदयपुर जिल्ला अदालत तथा पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भई प्रतिवादीलाई सजाय हुने ठहरी जाहेरी दरखास्त झूठा नभइ सही भएको दिखिएकोले झूठा जाहेरी दिएवापत जाहेरवालालाई रु १००।– जरीवाना गर्ने गरी उदयपुर जिल्ला अदालतको फैसलाको तपसिल खण्डको २ नं अनुसार राखेको लगत कट्टा गरिदिनु भनी उदयपुर जिल्ला अदालतमा लेखी पठाउनू –४
फैसलाको जनाउ पुनरावेदन तथा प्रत्यर्थीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू –––५
उक्त रायमा सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् २०६६ साल जेठ १८ गते रोज २ शुभम्
इजलास अधिकृत –शिशिरराज ढकाल