निर्णय नं. ८११५ - कर्तव्य ज्यान

नि.नं. ८११५ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
फौ.पु.ई.नं.–०६५–CF–००१२
फैसला मितिः २०६६।३।४।५
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः शुकबहादुर राईको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. ११ मंगलवारे बस्ने अजय राई समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री हरिकुमार पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.का.मु.मु.न्या. श्री कामानन्दप्रसाद देव
मा.न्या. श्री खेमराज शर्मा
§ अदालतसमक्ष इन्कार रहँदैमा सफाइ पाउने भन्ने हुँदैन । अधिकारप्राप्त अधिकारीसमक्षको वयानलाई समर्थन गर्ने अन्य तथ्यहरू छन् भने ती तथ्यहरूलाई घटनाको समग्रतासँग दाँजेर हेर्नुपर्ने ।
(प्रकरण नं.३)
§ जसको पोलका आधारमा सन्दर्भ उठेको हो स्वयंले नै किटानीसाथ नभै सुनेको भनी व्यक्त गरेको कथनका आधारमा कसैलाई ज्यानसम्बन्धी कसूरमा कसूरदार ठहर्याउन नमिल्ने ।
§ केवल अभियोग लगाउनु मात्र कसूर स्थापित गर्ने आधार हुन सक्दैन, अभियोग प्रमाणित गर्ने दायित्व पनि वादी पक्षले वहन गर्नुपर्छ । फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसूरदार ठहर्याउन नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री बलराम शर्मा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धीको १३(१) नं. र १३(३) नं.
§ प्रमाण ऐन, २०३१ को दफा १०
फैसला
न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत धनकुटाको मिति २०६२।९।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम मिति २०६३।५।५ मा वादीको पुनरावेदन परेको र यसै मुद्दामा प्रतिवादी अजय राईको पुनरावेदन परी यस अदालतबाट मिति २०६३।९।१२ मा नै फैसला भइसकेको देखिँदा वादी नेपाल सरकारको पुनरावेदनको हकमा समानस्तरको संयुक्त इजलासबाट विचार गर्न नमिल्ने भई पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेशबमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :
जिल्ला धनकुटा आहाले स्थित पुरानो मूल गोठ घरमा रहेको बुवा पदमबहादुर राई आमा जयभक्ति राईलाई मिति २०६०।७।२७ गते राति अन्दाजी २.०० बजेको समयमा अज्ञात व्यक्तिहरू आई बाबुआमालाई धारिलो हतियारले प्रहार गरी बेहोस घाइते बनाई ३ तोला बराबरका सुनका गहना र नगद रु.३९,०००।– डाँका गरी फरार भएका र बाबुको मृत्यु भएको हुँदा अपराधीलाई खोजतलास गरी कानूनबमोजिम हदैसम्मको कारवाही सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
मृतक पदमबहादुर राईको देव्रे कानको बीच भागबाट देवे्रगालातर्फ ५ इन्च लम्बाइको धारिलो हतियारले काटेको, दाइने कुम पातोमा ७ इन्च लम्बाई धारिलो हतियारले काटेको, गहिरो चोट र निलो चोट देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
मृतक पदमबहादुरको टाउको पछाडि पट्टि काँधमा धारिलो हतियारद्वारा गहिरो चोट लागी अत्याधिक रक्तश्राव भएको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको लाश परीक्षण प्रतिवेदन ।
जयभक्ति राईको शरीरको विभिन्न भागमा बाँसको भाटाले कुटेको निलडाम र हातमा खुकुरीले काटेको गहिरो चोट रहेको भन्ने समेत व्यहोराको निजको घाउ जाँच केश फारम ।
मेरो श्रीमानलाई धारिलो हतियार खुकुरी प्रयोग गरी मारेको र मलाई समेत घाइते बनाई सुनका गहना र नगद डाँका गरी लाने मध्येका यी अजय राई पनि एक हुन् भन्ने समेत व्यहोराको जयभक्ति राईले गरी दिएको सनाखत कागज ।
सुरज राई, विनोद तामाङ, रन्जन राई, विनोद राई, अविनास राई, दीपक थापा र मसमेत भई ताम्राङ मेलामा गई डाईस खेलाउँदा पैसा सकिएकोले लुटपाट गर्ने योजना बनाई फर्केकोमा बाटोमा एकान्तमा पदमबहादुर राईको घर पर्ने हुँदा निज पदमबहादुरलाई खुकुरी, बञ्चरोले हानी जयभक्ति राईसमेतलाई घाइते बनाई सुनका गहना र नगद डाँका गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी अजय राईको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
जिल्ला धनकुटा आहाले गा.वि.स.वार्ड नं. २ स्थित पदमबहादुर राईको घरको सिकुवाको खाटमा सुतिरहेको अवस्थामा पदमबहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी मारेको र मृतकको श्रीमती जयभक्ति राईलाई घाईते बनाएको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।
मिति २०६०।७।२७ गते राति जाहेरवालाका बाबु पदमबहादुरलाई मारी जयभक्तिलाई घाईते बनाएको र धनमाल डाँका गरेको सुनेको हो । उक्त घटना अविनास राई, दीपक थापा, सुरज तामाङ, विनोद तामाङ, विनोद राई र रञ्जन राई समेतले गरेका हुन् भन्ने समेत व्यहोराको इमान सिंह राई समेतले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी अजय राई, सुरज लामा, विनोद तामाङ, अविनास राई, विनोद राई र दीपक थापा समेतले जाहेरवालाको बाबु पदमबहादुरलाई निजकै घरमा धारिलो हतियार खुकुरी, बञ्चरो प्रहार गरी बेहोस बनाई मारी र आमा जयभक्तिलाई घाइते बनाई सुनका गहना र नगदसमेत डाँका गरी लगेको व्यहोरा मिसिल संलग्न कागज प्रमाण र प्रतिवादी अजय राईको बयानबाट पुष्टि हुन आएकोले निजहरूको उक्त कसूर ज्यानसम्बन्धी महलको १३(१) नं. तथा चोरीको १४(४) नं. बमोजिमको अपराध हुँदा निजहरूलाई ज्यानसम्बन्धी महलको १३(१) नं. तथा चोरीको १४(४) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
प्रवीन राई, किरण राई, कुमार राई, अमर सुब्बा, विमल सुब्बा, सञ्जु तामाङ र मसमेत वारदात भएको भनिएको मिति र समयमा ताम्राङ मेलामा थियौं । उल्लिखित वारदात मसमेत भई घटाएको भन्ने व्यहोरा झूठा हो । सुरज लामा, विनोद तामाङ, अविनास राई, विनोद राई र दीपक थापा समेतले अपराध गरेका हुन् भन्ने सुनेको हुँ । तसर्थ मैले अभियोग मागदावीअनुसारको कसूर नगरेकोले अभियोग दावीबाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अजय राईको अदालतसमक्षको बयान ।
तत्काल प्राप्त आधार प्रमाणबाट प्रतिवादी अजय राईले आरोपित कसूर गरेको होइनन् भनी विश्वास गर्नसक्ने अवस्था नहुँदा पछि ठहरेबमोजिम हुने गरी प्रतिवादीलाई अ.वं. ११८ नं. को देहाय २ बमोजिम पुर्पक्षको निम्ति थुनामा राख्नु भन्ने समेत व्यहोराको मिति २०६०।१२।८ को थुनछेक आदेश ।
फरारमध्येका प्रतिवादीहरूका नाममा वारेन्टसहितको म्याद जारी गर्नु भन्ने मिति २०६०।१२।८ को आदेशानुसार फरार प्रतिवादीहरूका नाममा वारेन्टसहितको म्याद जारी भएकोमा प्रतिवादीहरू रन्जन राई, अविनास राई, विनोद राई, सुरज लामा र विनोद तामाङ म्यादमा हाजिर हुन नआई गुजारी बसेको ।
जाहेरीमा उल्लिखित घटना को–कसले के–कसरी घटाए मलाई केही थाहा छैन । वारदात भएको भनिएको मिति र समयमा म आफ्नै घरमा थिएँ । प्रतिवादी अजय राईले मेरो नाम किन पोलेका हुन् उनै जानून् । अभियोग पत्र व्यहोरामा लेखिएको कसूरमा मेरो कुनै किसिमको संलग्नता छैन, तसर्थ मैले सफाइ पाउनु पर्ने हो भन्ने समेत व्यहोराको म्यादमा हाजिर हुन आएका प्रतिवादी दीपक थापाले अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी सुरज लामा, विनोद तामाङ, विनोद राई, अविनास राई तथा रञ्जन राईका नाउँमा जारी भएको म्याद मिति २०६१।३।७ मा तामेल भएकोमा प्रतिवादीहरू म्यादमा हाजिर नभई गुजारी बसेकोले वादी प्रतिवादीका साक्षी बुझ्नु भन्ने समेत व्यहोराको मिति २०६१।८।१४ को आदेशानुसार सुकबहादुर राई, अरुण कटुवाल, देवी राई र लाशबहादुर राईले अदालतसमक्ष गरेको बकपत्र ।
फरार प्रतिवादीहरूका नामको अंश रोक्का गर्नु भन्ने समेत व्यहोराको मिति २०६१।१०।६ को आदेशानुसार अंश रोक्काको लागि लेखी पठाएकोमा फरार प्रतिवादीहरूको अंश रोक्काको मुचुल्का भई च.नंं ५३५७ को पत्र साथ प्राप्त भएको ।
प्रतिवेदकहरू प्र.स.नि.गणेशप्रसाद भट्टराई र प्र.ह.उपेन्द्र पराजुलीलाई झिकाई बुझ्नु भन्ने मिति २०६१।१२।२९ मा भएको आदेशानुसार निजहरूलाई बुझ्न जिल्ला सरकारी वकील कार्यालय धनकुटामार्फत पत्राचार भएकोमा निजहरू उपस्थित हुन नआएका ।
प्रतिवादीमध्येका अजय राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, सो बयानलाई घाउ जाँच केश फारामले पुष्टिसमेत गरेको, प्रतिवादीको यस अदालतमा भएको वयान र निजको साक्षीको बकपत्रमा एकरुपता नभई विरोधाभाष देखिएको, श्रीमती जयभक्ति राई वारदातको प्रत्यक्षदर्शी भएको र निजले यी प्रतिवादी अजय राईसमेतले प्रस्तुत वारदात घटाएको भनी स्पष्ट उल्लेख गरी यस अदालतमा आई बकपत्र समेत गरेबाट प्रतिवादी अजय राईले आरोपित ज्यानसम्बन्धीको कसूर गरेको ठहरेकोले निजलाई ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ, साथै अर्का प्रतिवादी दीपक थापाको हकमा आरोपित कसूरमा इन्कार रही यस अदालतमा बयान गरेको, निजले आरोपित कसूर गरेको भन्ने प्रतिवेदन दिने प्रतिवेदक प्रहरीहरू उपस्थित गराई अभियोगलाई पुष्टि गरेको अवस्था पनि मिसिलबाट नदेखिएबाट भरपर्दाे प्रमाणको अभावमा प्रतिवादी दीपक थापाले अभियोग दावीबाट सफाइ पाउने ठहर्नुका साथै डाँकातर्फको माग दावीतर्फ केवल जाहेरी दरखास्तमा मात्र उल्लेख भएको, डाँकातर्फ अनुसन्धान गरेको मिसिलबाट नदेखिई नगदी, जिन्सी कुनै सामान बरामद भएको नदेखिएबाट प्रतिवादीहरूले डाँका समेत गरेको भन्ने प्रमाणको अभाव देखिँदा डाँकातर्फको अभियोग दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनकुटा जिल्ला अदालतको मिति २०६२।३।९ को फैसला ।
प्रत्यक्षदर्शी तथा पीडित जयभक्ति राईले प्रहरीमा गरेको कागज एवं जाहेरवालासमेतले अदालतमा आई गरेको बकपत्र तथा प्रतिवादी अजय राईसमेतको अनुसन्धान अधिकारी एवं अदालतमा गरेको बयानसमेतबाट निज प्रतिवादी दीपक थापा घटनास्थलमा उपस्थित भई वारदात घटाउन संलग्न देखिएबाट निजलाई समेत कसूरदार ठहर्याउनु पर्नेमा निजलाई सफाइ दिने ठहर्याएको धनकुटा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसलालाई बदर गरी अभियोग माग दावीबमोजिम नै निज प्रतिवादी दीपक थापालाई सजाय गरिपाऊँ । साथै डाँका भएको हो भन्ने कुरा सुकबहादुर राईको जाहेरीबाट देखिइरहेको, प्र.स.नि. गणेशप्रसाद भट्टराई समेतको प्रतिवेदन व्यहोराले पुष्टि गरेको छ । प्रहरीमा कागज गर्ने लाशबहादुर राईसमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्कामा समेत डाँका भएको कुरा उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दाका अन्य ५ जना प्रतिवादी हालसम्म फरार नै रहेको स्थिति र प्रतिवादी दीपक थापा पनि वारदात भएको दश महिनापछि मात्र हाजिर हुन आएको देखिएकोले, डाँका भएको नगदी जिन्सी वरामद हुन नसक्नु स्वाभाविक देखिन्छ । डाँका गर्ने उद्देश्यबाट नै प्रतिवादीहरूले मृतक पदमबहादुर राईलाई धारिलो हतियारले काटी मारेकाले शुरु धनकुटा जिल्ला अदालतले डाँकातर्फको माग दावी पुग्न नसक्ने ठहर्याएको फैसला बदरभागी हुँदा बदर गरी डाँका तर्फ समेत सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा दुई वटा छुट्टाछुट्टै विरोधाभाषपूर्ण जाहेरी पर्न आएकोले सोतर्फ कुनै विवेचना नभएको, अधिकार प्राप्त अधिकारीसमक्ष सही गर भनी गराएको बयानलाई आधार लिएको, मैले अदालतसमक्ष गरेको इन्कारी बयानलाई प्रमाणमा ग्रहण नगरिएको, प्रहरीहरू अदालतमा उपस्थित भई अभियोग दावीलाई प्रमाणित गराउन नसकेको अवस्था हुँदाहँुदै मलाई सफाइ दिनु पर्नेमा जन्मकैदको सजाय गर्ने गरेको धनकुटा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी भूmठो अभियोगबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अजय राईले कारागार शाखा धनकुटामार्फत पुनरावेदन अदालत धनकुटामा गरेको पुनरावेदन जिकीर ।
यसमा आरोपित ज्यानसम्बन्धी कसूर ठहर भएतर्फ प्रतिवादी अजय राईको र प्रतिवादी दीपक थापालाई अभियोग दावीबाट सफाइ दिने गरी भएको फैसलाउपर नेपाल सरकारको पुनरावेदन परेको देखिएकोमा फैसलामा विवेचित आधार दुवै पक्षलाई चित्त नबुझेको देखिँदा अ.वं. २०२ नं. बमोजिम वादी नेपाल सरकारको पुनरावेदन सम्बन्धमा प्रतिवादीहरूलाई झिकाउने र प्रतिवादीको पुनरवोदन सम्बन्धमा नेपाल सरकारलाई सूचना दिई आएपछि वा अवधि व्यतीत भएपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६२।६।६ को पुनरावेदन अदालतको आदेश ।
यसमा घटनास्थल लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतबाट मृतक पदमबहादुर राईको कर्तव्यबाट मृत्यु भएको देखिँदा प्रतिवादी मध्येका अजय राईले अदालतसमक्ष आरोपित कसूरमा इन्कारी बयान गरेको भएपनि निजको मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष भएको साविती बयान, घटनाका प्रत्यक्षदर्शी मृतकको श्रीमती जयभक्ति राईले यी प्रतिवादीहरूले खुकुरी प्रहार गरेको भनी बयान गरेको र निज जयभक्ति राईलाई पनि कुटपीट गरेकोमा निजको घाउ केश फारममा Cut Injury उल्लेख भएको देखिँदा निज प्रतिवादी अजय राईको अदालतसमक्ष गरेको इन्कारी बयान र सोलाई प्रमाणित गर्ने निजको साक्षीको बयानमा एकरुपता नरहेबाट इन्कारी प्रमाणित हुन आएको समेत नपाईंदा प्रतिवादी अजय राईले ज्यानसम्बन्धीको कसूर गरेको ठहर्छ । जहाँसम्म यी प्रतिवादीहरूलाई अ.वं. १७३ नं. बमोजिम प्रत्यक्षदर्शीले सनाखत गर्न नसकेको भन्ने प्रश्नतर्फ हेर्दा अधिकार प्राप्त अधिकारीसमक्षको प्रतिवादीको साविती तथा वारदातमा उपस्थित रहेको प्रमाणित आधार र यी प्रत्यक्षदर्शीले देखेको अवस्थालाई आफू समेतलाई कुटपीट गरेको स्थिति अवस्थाले प्रमाणित भएको स्थितिमा अ.वं. १७३ नं. को आधारबाट सनाखत नै हुनुपर्छ भन्ने पनि नरहेको समेत आधारबाट शुरु अदालतले निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्याएको फैसला मिलेकै पाइन्छ ।
प्रतिवादी दीपक थापाको हकमा बिचार गर्दा निजले इन्कार रही अदालतसमक्ष बयान गरी अर्का सहअभियुक्तले अपराध गरेको भनी अदालतको वयानको जवाफ नं. १४ मा पोल गरे पनि उक्त भनाई सुनेको हो भन्ने हुँदा र सुनेकोलाई प्रमाण लिन नमिल्ने हुनाले यी प्रतिवादीसमेतले आरोपित कसूर गरेको भनी प्रतिवेदक प्रहरीहरू उपस्थित गराई अभियोग दावीलाई पुष्टि गराउन नसकेको र प्रत्यक्षदर्शीले अदालतसमक्षको वकपत्रको स.ज.५ मा दीपक थापा समेतको नाउँ उल्लेख गरे पनि निजले के कुन प्रकारबाट हतियार हानी मारेको हो भन्ने उल्लेख गर्न नसकी अनुसन्धानको क्रममा २०६०।११।१६ मा दीपकको नाउँ खोल्न समेत नसकेको, देखँे चिने भन्ने सम्म रहेकोमा निजको संलग्नता मृतकको कर्तव्य गरेकोमा रहेको पाईदैन । त्यसतर्फ प्रतिवादी दीपक थापालाई सफाइ दिने गरेको शुरु फैसला मिलेको पाइन्छ । जहाँसम्म डाँका समेतको कसूर यी प्रतिवादीहरूले गरेको भन्ने तर्फ हेर्दा डाँकातर्फ अनुसन्धान भएको भए डाँका भएको नगद जिन्सी बरामद भएको हुनुपर्ने सो देखिँदैन । सोको अतिरिक्त डाँकातर्फ अन्य आधार प्रमाणहरू समेत रहनु पर्ने सो नभएको हुँदा समेत डाँकामा सजाय गरी बिगो भराई पाऊँ भन्ने अभियोग दावी नपुग्ने ठहराई गरेको फैसलासमेत मिलेकै पाइन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको मिति २०६२।९।२१ को फैसला ।
प्रस्तुत मुद्दामा मृतकलाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको कुरामा विवाद नै नरहेको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय गर्नुपर्नेमा १३(३) नं. बमोजिम सजाय गरेको फैसला त्रुटिपूर्ण रहेको छ । प्रतिवादी अजय राईले स्वीकार गरेको दुईवटा तथ्यहरू मध्ये कर्तव्य ज्यानतर्फको तथ्यलाई प्रमाणमा ग्रहण गरी डाँकातर्फको तथ्यलाई ग्रहण गरिएको छैन, फरार रहेका अभियुक्तहरूले लिई गएको धनमाललाई वरामद हुन नसकेको भन्ने आधारमा डाँकातर्फको अभियोग दावी पुग्न नसक्ने ठहर्याएको फैसला विवादित रहेको छ । मौकामा पक्राउ परेका अजय राईले प्रतिवादी दीपक थापा समेत भई वारदात गरेको भनी उल्लेख गरेको र वारदातमा परी घाइते भएकी जयभक्ति राईले पनि दीपक थापासमेतलाई वारदातमा संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको अवस्थामा अदालतसमक्ष इन्कार रहेकै आधारमा निज प्रतिवादी दीपक थापालाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छैन । तसर्थ प्रतिवादी अजय राईको हकमा ज्यानतर्फको दावी परिवर्तन गरी र डाँकातर्फ अजय राईलाई र कर्तव्य ज्यान तथा डाँकातर्फ दीपक थापालाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत धनकुटाको फैसला सो हदसम्म उल्टी गरी प्रतिवादी अजय राई तथा दीपक थापालाई अभियोग दावीबमोजिम सजाय गरी पीडितलाई प्रतिवादीहरूबाट बिगोसमेत भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी अजय राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. को दावी भएकोमा १३(३) नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसलाउपर नेपाल सरकारको प्रस्तुत पुनरावेदन परेको देखिएको तर निज प्रतिवादी अजय राईलाई भएको सो सजायउपर निजले यस अदालतमा फौ.पु.नं. ३७२४ को पुनरावेदन दायर गरी मिति २०६३।९।१२ मा यस अदालतबाट सदर हुने ठहरी फैसला भइसकेको देखिँदा नेपाल सरकारको प्रस्तुत पुनरावेदनउपर समानस्तरको इजलासबाट विचार गर्न नमिल्ने हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(घ) बमोजिम प्रस्तुत पुनरावेदन पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६५।११।४ मा भएको आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा बुवा पदमबहादुर राई र आमा जयभक्ति राई गोठ घरमा रहेको समयमा मिति २०६०।७।२७ गते राति अन्दाजी २.०० बजेको समयमा अज्ञात व्यक्तिहरू आई बाबु आमालाई धारिलो हतियारले प्रहार गरी बेहोस घाइते बनाई सुनका गहना र नगदसमेत डाँका गरी फरार भएका र बाबुको मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भनी परेको जाहेरीका आधारमा अनुसन्धान हुँदा पक्राउ परेका अजय राईले आफू र अन्य व्यक्तिहरू समेत भई एकान्तमा रहेको पदमबहादुर राईको घरमा पसी निज पदमबहादुरलाई खुकुरी, बञ्चरोले हानी जयभक्ति राईसमेतलाई घाइते बनाई सुनका गहना र नगद डाँका गरेको भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिन्छ । त्यसबाहेक घटनास्थल मुचुल्का, लाश प्रकृति मुचुल्का, वस्तुस्थिति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतका आधारमा अजय राईसमेतका प्रतिवादीहरूले पदमबहादुरलाई निजकै घरमा धारिलो हतियार खुकुरी, बञ्चरो प्रहार गरी बेहोस बनाई मारी र जयभक्ति राईलाई घाइते बनाई सुनका गहना र नगदसमेत डाँका गरी लगेको पुष्टि हुन आएकोले निजहरूलाई ज्यानसम्बन्धी महलको १३(१) नं. तथा चोरीको १४ (४) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग पत्र दायर भएको देखिन्छ । प्रतिवादी अजय राई अदालतसमक्ष उपस्थित भै वयान गर्दा कसूर गरेको कुरामा इन्कार रहेका छन् भने अर्का प्रतिवादी दीपक थापाले घटनाप्रति नै अनभिज्ञता प्रकट गरी इन्कारी वयान दिएका छन् । शुरु अदालतले प्रतिवादी अजय राईले आरोपित कसूर अपराध गरेकोले निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने, अर्का प्रतिवादी दीपक थापाले अभियोग दावीबाट सफाइ पाउने र डाँकातर्फको अभियोग दावी पुग्न नसक्ने ठहर्याई गरेको फैसला उपर वादी नेपाल सरकार र प्रतिवादी अजय राईको पुनरावेदन परेकोमा पुनरावेदन अदालत धनकुटाले शुरु फैसला सदर हुने ठहर्याएउपर यस अदालतमा वादी नेपाल सरकार र प्रतिवादी अजय राईको छुट्टाछुट्टै पुनरावेदन पर्न आएको अवस्था देखिन्छ । तर अजय राईको पुनरावेदनका हकमा यस अघि नै मिति २०६३।९।१२ मा यस अदालतको संयुक्त इजलासबाट पुनरावेदन अदालत धनकुटाको फैसला सदर हुने ठहर्याई फैसला भैसकेको सन्दर्भमा वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदनको हकमा समानस्तरको संयुक्त इजलासबाट विचार गर्न नमिल्ने भई पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेशबमोजिम प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
उल्लिखित तथ्य रहेको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम शर्माले प्रतिवादीहरूको पहिलो उद्देश्य नै डाँका गर्ने रहेको भन्ने कुरा जाहेरी दरखास्त र प्रतिवादी अजय राईको अधिकारप्राप्त अधिकारीसमक्षको वयानबाट पुष्टि भैरहेको र प्रस्तुत मुद्दामा सँगसँगै भएका डाँका र कर्तव्य ज्यानसम्बन्धी वारदातमध्ये डाँकालाई अलग गरी ज्यानतर्फ मात्र बोल्न नमिल्ने, साथै प्रतिवादी मध्येका दीपक थापा पनि कसूरदार रहेको भन्ने कुरा अर्का प्रतिवादी अजय राईको वयानबाट देखिई रहेको स्थितिमा त्यसतर्फ ध्यान नै नदिई भएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरी अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।
प्रस्तुत मुद्दामा विद्यमान रहेको तथ्य, वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदनपत्र र इजलाससमक्ष पेश भएको बहस बुँदा समेतलाई दृष्टिगत गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरुपण गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ –
१. प्रस्तुत मुद्दासँग सम्बन्धित घटनाक्रमका आधारमा ज्यानसम्बन्धीको १३(१) र ऐ. को १३ (३) नं. मध्ये कुन नं. अनुसारको कसूर अपराध भएको अवस्था छ ? र प्रतिवादी अजय राईलाई १३(३) नं बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छ वा छैन ?
२. अभियोग पत्रमा दावी लिइएजस्तो कसूर अपराधमा प्रतिवादीमध्येका दीपक थापाको संलग्नता देखिन्छ वा देखिँदैन ? र निज दीपक थापालाई सफाइ दिने ठहर्याएको हदसम्म पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छ छैन ?
३. प्रस्तुत मुद्दामा अभियोग पत्रमा दावी लिइएको डाँकातर्फको माग दावी पुग्न सक्ने अवस्था छ छैन ? र डाँकातर्फको अभियोग माग दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छ छैन ?
२. सर्वप्रथम पहिलो प्रश्नमा विचार गरौँ । ज्यानसम्बन्धीको १३(१) नं. र १३(३) नं. का बीचको फरक छुट्याउँदा के कस्तो हतियारको प्रयोग भएको छ र को कसको चोटले मरेको हो भन्ने खुलेको छ छैन भन्ने जस्ता विषयमा स्पष्ट हुनु जरुरी हुन्छ । त्यसका लागि मृतकको मृत्युको कारण, शरीरमा देखिएका घाउ चोटको अवस्था र प्रकृतिलाई गहिरिएर हेर्नुपर्ने हुँदा जाहेरी दरखास्त, लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको कथन र अन्य सम्बद्ध प्रमाणहरूको विश्लेषण गर्नु आवश्यक हुन्छ । प्रथमतः जाहेरी दरखास्तको व्यहोरालाई हेर्दा मिति २०६०।७।२७ गते राति २.०० वजेको समयमा एक जना अज्ञात व्यक्तिले सुतिरहेको अवस्थामा रहेका आफ्ना बाबु पदमबहादुर राईलाई टाउकोको दाहिने पटिृ एक्कासी हतियारले प्रहार गरेको र प्रहारको चोट खप्न नसकी कराउँदा आमाले थाहा पाई प्रतिकार गर्न खोज्दा आमा जयभक्ति राईलाई समेत कानको माथिल्लो भाग टाउको र दाहिने हत्केलामा समेत हतियारले प्रहार गरी रक्ताम्ये बनाएको, त्यही प्रहारबाट बाबुको मृत्यु भएकोले शव वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखी आमाको उपचार सोही प्रतिष्ठानमा भैरहेको अवस्था समेत दर्शाई आवश्यक कारवाही गरिपाऊँ भनी मृतकका छोरा शुकबहादुर राईको जाहेरी परेको देखिन्छ । जाहेरी दरखास्त पश्चात् गरिएको घटनास्थल/लाश जाँच मुचुल्कामा मृतक लाशको देब्रे कानको बीच भागबाट देब्रे गालातर्फ ५ इञ्च लम्बाईको धारिलो हतियारले काटिएको गहिरो चोट रहेको भन्ने व्यहोरा उल्लेख गरिएको छ भने शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा Injury to brain and lung as a result of sharp weapon injury to head and back of right shoulder भनिएको छ । त्यसैगरी घाइते जयभक्ति राईको घाउ जाँच केश फाराम (Injury Report) मा Physical Assault hit by khukri and bamboo stick भन्ने व्यहोरा उल्लेख गरिएको छ । घटनाको प्रत्यक्षदर्शीका रूपमा रहेकी र आफैंसमेत घाइते भएकी जयभक्ति राईले प्रहरीसमक्ष गरिदिएको कागजमा सुतिरहेका आफ्ना पतिलाई उठाई काट्ने हिर्काउने गरेपछि पीडा खप्न नसकी चिच्याएका पतिको आवाज सुनी बाहिर आई हेर्दा बञ्चरो, खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरेको देखी बचाउ गर्न खोज्दा आफूलाई समेत खुकुरीले टाउकोमा प्रहार गरी घाइते तुल्याएको व्यहोरा उल्लेख गरेकी छन् । प्रतिवादीमध्ये प्रहरीसमक्ष उपस्थित हुने अजय राईले मृतक पदमबहादुरलाई खुकुरी र बञ्चरोसमेतले प्रहार भएको कुरालाई स्वीकार गरेका छन्, तर उनको वयानमा पनि कसैले मुख थुनेको, कसैले खुकुरीले प्रहार गरेको, सुरज लामाले बञ्चरो टिपी टाउकोमा हिर्काई भूईंमा लडाएको भन्ने समेतको व्यहोरा उल्लेख छ । प्रस्तुत मुद्दामा संकलन भै वादी पक्षबाट पेश गरिएका प्रमाणहरूमध्ये कुनै पनि प्रमाणबाट यो यसले मारेको वा यसैको चोटले मरेको भन्ने कहिँ कतैबाट स्पष्टरूपमा खुलेको पाईंदैन । घटनाको प्रत्यक्षदर्शी र आफैंसमेत घाइते भएकी जयभक्ति राईले समेत फलानाले गरेको प्रहारले आफ्ना पतिको मृत्यु भएको भनी खुलाउन सकेको अवस्था छैन । निजले अदालतसमक्ष गरेको वकपत्रमा पति पदमबहादुर ऐया, आथ्था भनी चिच्याउँदा के भएछ भनी वत्ती हातमा लिएर बाहिर आउँदा पतिलाई बञ्चरो आदिले हानी ढालिसकेका रहेछन् भनी लेखाएबाट पनि को कसको चोटबाट पदमबहादुर राईको मृत्यु भएको हो भन्ने सम्बन्धमा स्पष्टता देखिँदैन । यसरी हतियारको प्रहारबाट घाइते भै त्यसैको चोटबाट पदमबहादुर राईको मृत्यु भएको भन्ने तथ्यमा विवाद नभएको भएतापनि को कसले छाडेको के कस्तो हतियारको चोटले ज्यान मरेको हो भन्ने खुल्न सकेको अवस्था देखिएन ।
३. प्रतिवादी अजय राईलाई ज्यानसम्बन्धीको १३(३) नं बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिले नमिलेको भन्ने पनि यसै प्रश्नबाट निरुपण हुनुपर्ने हुँदा घटनामा अजय राईको संलग्नताको विषयमा पनि विवेचना हुनुपर्ने देखिन्छ । प्रतिवादी अजय राईको संलग्नताको सम्बन्धमा घटनाका प्रत्यक्षदर्शी एवं घटनामा आफूसमेत घाइते भएकी जयभक्ति राईको कथन र प्रतिवादी अजय राई स्वयंको वयान महत्वपूर्ण देखिन्छ । प्रतिवादी अजय राईले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयानमा घरबाहिर सिकुवामा सुतिरहेका पदमबहादुर राईलाई उठाई निजलाई डर त्रास देखाई निजसँग भएको सम्पत्ति माग्दा कराएकाले निजलाई कसैले मुख थुन्ने, कसैले खुकुरीले प्रहार गर्ने र कसैले बञ्चरो प्रहार गर्ने ग¥यौं भन्ने समेतको व्यहोरा उल्लेख गरेका छन् भने अदालतसमक्ष उपस्थित भै वयान गर्दा आफूले अभियोग दावीबमोजिमको कसूर नगरेको भनी कसूर गरेको कुरालाई इन्कार गरेका छन् । यसरी अदालतसमक्ष कसूर गरेको कुरामा इन्कार रहेका प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको वयानको प्रामाणिक मूल्य के हुने भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । तर, अदालतसमक्ष इन्कार रहँदैमा सफाइ पाउने भन्ने हुँदैन । अधिकारप्राप्त अधिकारीसमक्षको वयानलाई समर्थन गर्ने अन्य तथ्यहरू छन् भने ती तथ्यहरूलाई घटनाको समग्रतासँग दाँजेर हेर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको वयानमा घटनाको पृष्ठभूमि, घटनामा आफ्नो संलग्नता र हातहतियारको प्रयोग र प्रहारसमेतका सबै कुराहरू सिलसिलेवार रूपमा उल्लेख गरेका छन् । उनको सो कथन जाहेरी दरखास्त, घटनाका प्रत्यक्षदर्शी जयभक्ति राईको भनाइ, लाश जाँच मुचुल्का र घाउ जाँच केश फाराममा देखिएको घाउ चोटको प्रकृति समेतबाट समर्थित हुन पुगेको छ । जहाँसम्म प्रतिवादीले अदालतसमक्ष गरेको आफ्नो इन्कारी वयानको समर्थनमा पेश गरेको साक्षी प्रमाणको सन्दर्भ छ, निजका साक्षी देवी राईको वकपत्र र प्रतिवादीको वयानका बीचमा सामञ्जस्यता कायम हुन सकेको देखिँदैन । देवी राईले वारदातको मितिमा प्रतिवादी धरानस्थित आफ्नै घरमा रहेको भनी भनेको देखिन्छ भने प्रतिवादी स्वयंले भने आफू सो मितिमा धनकुटाको ताम्राङ मेलामा गएको बताएका छन् । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा नपढी सही गरेको भनी सो कागजमा उल्लेख भएको व्यहोरा बारे आफू अनभिज्ञ रहेको देखाउन खोजेको भएतापनि सो कागजमा सही गर्नका लागि प्रहरीले लस्कुटपीट नगरेको कुरा पनि निज स्वयंले नै स्वीकार गरेका छन् । त्यसरी अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा आफू पूर्णरूपमा सचेत अवस्थामा रहेको, आफूलाई कुनै प्रकारको बाध्यता, दवाव, प्रभाव वा यातनाको अवस्था नरहेको भन्ने कुरा निजको अदालतसमक्षको वयानबाट देखिएको हुँदा निजको उक्त कथनलाई प्रमाण ऐन, २०३१ को दफा ९ का सन्दर्भमा निजका विरुद्धमा प्रमाणमा लिन हुने कथनका रूपमा लिन मिल्ने नै देखिन्छ । यसै सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा १० लाई पनि हेर्नु सान्दर्भिक हुन आउँछ । सो दफामा रहेको कानूनी व्यवस्था यस प्रकार रहेको छ :
(१) कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः
(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रूपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा
(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति ।
यो कानूनी व्यवस्थाका आधारमा घटनालाई प्रत्यक्ष देख्ने र त्यसबाट पीडितसमेत भएकी जयभक्ति राईको कथनलाई प्रस्तुत मुद्दामा प्रमुख आधार बनाउन सकिने अवस्था देखिन्छ । निजले प्रहरीसमक्ष गरेको कागजमा यी प्रतिवादी अजय राईलाई घटनास्थलमा देखेकोले चिनेँ भनी सनाखतसमेत गरिदिएको अवस्थामा प्रतिवादी अजय राईले अदालतसमक्ष गरेको इन्कारी वयान निजलाई सफाइ दिने आधार बन्न सक्दैन । तसर्थ निज प्रतिवादी अजय राईलाई ज्यानसम्बन्धी कसूर गरेको भनी ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जन्म कैदको सजाय गर्ने गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेकै देखिन्छ ।
४. अब, दोस्रो प्रश्नमा विचार गर्दा कसूर अपराधमा प्रतिवादीमध्येका दीपक थापाको संलग्नता रहे नरहेको सन्दर्भमा हेर्नुपर्ने देखिन्छ । घटनामा प्रतिवादी दीपक थापाको संलग्नताको सन्दर्भ अर्का प्रतिवादी अजय राईले अधिकारप्राप्त अधिकारीसमक्षको वयानका क्रममा उठाएको देखिन्छ । त्यसबाहेक जाहेरी दरखास्त र घटनालाई प्रत्यक्ष देख्ने र त्यसबाट पीडितसमेत भएकी जयभक्ति राईको प्रहरीसमक्षको कागजमा समेत घटनामा निज प्रतिवादी दीपक थापाको संलग्नता रहेको भन्ने कुरा खुल्दैन । प्रतिवादी अजय राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयानका क्रममा दीपक थापालाई समेत मुछेको भएतापनि निज राईले अदालतसमक्ष आई गरेको वयानमा घटनामा दीपक थापाको संलग्नताको विषयलाई सुनी थाहा पाएको भन्ने रूपमा व्यक्त गरेका छन् । त्यसरी जसको पोलका आधारमा दीपक थापाको संलग्नताको सन्दर्भ उठेको हो निज स्वयंले नै किटानीसाथ नभै सुनेको भनी व्यक्त गरेको कथनका आधारमा मात्र कसैलाई ज्यानसम्बन्धी कसूरमा कसूरदार ठहर्याउन मिल्ने हुँदैन । दीपक थापा स्वयं पनि अदालतसमक्ष उपस्थित भई वयान गरेका छन् । निजको वयानमा घटनाका सम्बन्धमा पूरै अनभिज्ञता प्रकट गरी आफूले प्रतिवादी अजय राईलाई नचिनेको, वारदातको मिति र समयमा आफू आफ्नै घरमा रहेको भनी उल्लेख भएको पाइन्छ । उनको सो कथनलाई खण्डन गर्ने किसिमका कुनै पनि प्रमाण वादी पक्षबाट पेश हुन सकेको देखिँदैन । केवल अभियोग लगाउनुमात्र कसूर स्थापित गर्ने आधार हुन सक्दैन, अभियोग प्रमाणित गर्ने दायित्व पनि वादी पक्षले वहन गर्नु पर्छ । फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसूरदार ठहर्याउन मिल्दैन । अतः अर्का प्रतिवादी अजय राईले पोल गरेको भन्ने बाहेक कुनै पनि स्वतन्त्र प्रमाणद्वारा प्रतिवादी दीपक थापा कसूर अपराधमा संलग्न रहेको भन्ने वादी पक्षले देखाउन नसकेको हुँदा निज दीपक थापालाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेकै देखिन्छ ।
५. अब, पुनरावेदक वादीले मुख्यरूपमा जिकीर लिएको डाँकातर्फको माग दावी पुग्न सक्ने अवस्था छ छैन ? भन्ने अन्तिम प्रश्नमा विचार गर्दा जाहेरी दरखास्तमा ज्यानसम्बन्धी कसूर अपराध सँगै डाँकासमेत गरेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी अजय राईको अधिकार प्राप्त अधिकारीसमक्ष वयानमा पनि डाँका गर्ने उद्देश्यले गई डाँका गर्ने क्रममा पदमबहादुर र जयभक्ति राईलाई हतियारले प्रहार गरेको सन्दर्भ उल्लेख गरेका छन् । यस बाहेक जयभक्ति राईले प्रहरीसमक्ष गरेको कागजमा पनि केही नगद र गहना डाँका गरी लगेको व्यहोरा लेखाइदिएको पाइन्छ । उल्लिखित कथनकै आधारमा अभियोग पत्रमा डाँकातर्फको माग दावी लिइएको अवस्था मिसिलबाट देखिन्छ । त्यसबाहेक डाँका गरी लगेको भनिएका नगद र गहनालगायतका सामानहरू कसैबाट वरामद भएको अवस्था छैन भने डाँका गरी लगेको भनिएका सुनका गहना के के थिए भन्ने जस्ता आधारभूत कुरा समेत न त जाहेरी दरखास्तमा खुलाइएको छ, न त जयभक्ति राई स्वयंले नै प्रहरीसमक्षको कागजमा खुलाउन सकेको पाइन्छ । त्यसरी डाँकातर्फ हचुवाको भरमा उल्लेख गरिएको जाहेरी व्यहोरा र प्रहरीसमक्षको कागजलाई मात्र आधार बनाएर अभियोग पत्रमा माग दावी लिइएको देखिन्छ । अभियोग पत्र र वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्रमा पनि डाँका तर्फका थप प्रमाणहरूको उल्लेखन गरिएको देखिँदैन । अतः डाँकातर्फको माग दावी पुग्न सक्ने खालका प्रमाणहरू पेश गर्न नसकेको र त्यसतर्फ छुटै अनुसन्धान गरी दावीको समर्थनका आधारहरू जुटाउन नसकेको अवस्थासमेतलाई दृष्टिगत गर्दा डाँकातर्फको माग दावी पुग्न नसक्ने ठहर्याई भएको पुनरावेदन अदालत धनकुटाको फैसला मनाशिव नै देखिन्छ ।
६. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा प्रतिवादी अजय राईले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसूर अपराध गरेको ठहार्यई निजलाई सोही महल बमोजिम जन्मकैदको सजाय गर्ने र अर्का प्रतिवादी दीपक थापालाई आरोपित कसूरबाट सफाइ दिने गरेको र डाँकातर्फको अभियोग मागदावी पुग्न नसक्ने ठहर्याएको शुरु धनकुटा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत धनकुटाको मिति २०६२।९।२१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । साथै यस अदालतमा परेको प्रतिवादी अजय राईको पुनरावेदनका रोहमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६३।९।१२ मा भएको फैसलामा पनि पुनरावेदन अदालत धनकुटाको फैसला सदर हुने ठहरेको हुँदा त्यसलाई अन्यथा गरिरहनु पर्ने देखिएन । यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.दामोदरप्रसाद शर्मा
न्या.ताहिर अली अन्सारी
इति संवत् २०६६ साल असार ४ गते रोज ५ शुभम्…
इजलास अधिकृतः उमेश कोइराला