निर्णय नं. ८६८५ - कर्तव्यज्यान ।

ने.का.प. २०६८, अङ्क ९
निर्णय नं. ८६८५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रेम शर्मा
२०६३ सालको CR–०१५७, ०००२, ०२३८, ००३०४
फैसला मितिः २०६८।३।२७।२
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः महोत्तरी जिल्ला सहोडवा गा.वि.स. वडा नं. ७ घर भै कारागार शाखा महोत्तरीमा थुनामा रहेको सत्येन्द्र झा
विरुद्ध
प्रत्यर्थी वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार
वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः महोत्तरी जिल्ला सहोडवा गा.वि.स. वडा नं. ७ घर भै हाल थुनामा रहेका प्रसन्नकुमार झा
पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ८ बस्ने सुनीलकुमार झा
विरुद्ध
प्रत्यर्थी वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ७ बस्ने सूर्यदेव झा समेत
शुरु फैसला गर्नेः
मा.न्या.श्री कमलचन्द्र नेपाल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री राघवलाल बैद्य
मा.न्या.श्री गिरीराज पौड्याल
§ स्पष्ट नियत र योजनाका साथ आपराधिक क्रियाकलाप गरी सोको परिणाम समेत विचार गरी गरिने कुनै पनि आपराधिक कार्य भावावेश र भवितव्य मान्न सकिने हुँदैन । त्यसरी स्पष्ट, योजना मुताबिक र मनसायपूर्ण तरिकाबाट गरिने आपराधिक कार्यलाई उन्मुक्ति दिँदै जाने र कसूरको गाम्भीर्यतालाई निष्प्रयोजित तुल्याई दण्डको प्रभावकारीतालाई नजरअन्दाज गर्दै जाने हो भने कानूनको मनसाय पूरा हुन नसक्ने ।
§ अ.वं. १८८ नं. को प्रयोग उचित, खास र मनासिब अवस्थामा मात्र हुने हो । त्यसका लागि निर्णय गर्ने अधिकारी वा निकायले अत्यन्त चनाखो समेत हुन वाञ्छनीय हुन आउँछ । प्रस्तुत मुद्दामा त्यस्तो खास अवस्था वा परिस्थितिबाट यी पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिने वस्तुनिष्ठ आधार र कारण समेत नदेखिदा अ.वं. १८८ नं. को प्रावधान अन्तर्गत छूट दिनुपूर्व मुद्दाको प्रकृति, अभियुक्तको स्थिति र व्यवहार, जुन कसूरको अभियोग लगाइएको हो सो कसूर गरेबापत हुने सजाय पूरै मात्रामा तोक्दा कसूर गर्दाको परिस्थिति र कसूरदारको संलग्नताको प्रकृति हेर्दा न्याय र विवेकको आधारमा केही छूट दिनुपर्ने हो भन्ने लागेमा आकर्षित गर्ने विशेष व्यवस्था हो । प्रस्तुत मुद्दामा मृतक र प्रतिवादीको छोरी वहिनीबीचको प्रेम सम्बन्धलाई जातीयता, छुवाछुत, माथिल्लो वा तल्लो तहको वर्गीयता र सामाजिक प्रतिष्ठाको समेत सन्दर्भमा हेरिएको पाइन्छ ।
(प्रकरण नं.४)
§ घटनामा प्रत्यक्ष संलग्न रही कुटपीट गरी कर्तव्य गरी मारेकोमा प्रत्यक्ष संलग्नता रहेको प्रमाणबाट देखिएकोमा वारदातमा संलग्नता नै थिएन भन्दैमा सोही कथनलाई विश्वसनीय मान्न नमिल्ने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल, शम्भु थापा, विद्वान अधिवक्तात्रय मोहन बञ्जारा क्षेत्री, सतिशकुमार झा र धीरजकुमार यादव
प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता धर्मराज पौडेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(३), १७(२), (३) नं.
§ अ.वं. ९२, १८८ नं. अ.वं.
फैसला
न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६३।२।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रुपमा तथा ऐ दफा १० बमोजिम साधकको रुपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:—
जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ७ स्थित सत्येन्द्र झाको घर पश्चिम, रतौली जाने बाटो सो पूर्व रमाकान्त झाको घर सो दक्षिण मनुकान्त झा र आनन्दकुमार झाको घर सो उत्तर यति चारकिल्लाभित्र घटना भएको, लासको विवरणः मुख खुल्ला, माथिल्लो दाँत दबिएको, मुखबाट प्रशस्त मात्रामा रगत बगी मृतकको कपाल लतपत भएको देखिएको, दाहिने हातमा रातो रंगको गम्छा बाँधिएको, नाकबाट फिँज आएको देखिएको कम्मरमा छाला खुइली रगत आएको देखिएको ।
मृतक छोरा कृष्णकुमार पासमान रतौली मा.वि. मा पढ्दा प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी झा समेत पढ्दै थिइन् एउटै गाउँ ठाउँको सँगै विद्यालय जाने आउने पढ्ने लेख्ने गरेकोले युवा अवस्थामा रहेकोले निजहरूको बिचमा प्रेम सम्बन्ध स्थापित हुन पुग्यो । प्रेम सम्बन्धको चर्चा परिचर्चा गाउँमा भएपछि थाहा पाई सत्येन्द्र झाले केही महिना अगाडि जनकपुर मुरली चोकमा घेराउ गरी ज्यानै मार्ने धम्की समेत दिएको थियो, मिति २०५८।६।१८ गते राति अं. ३:०० बजेको समयमा कृष्णकुमार पासवान गाउँकै प्रमेश्वर महतोको पसलमा सलाई किन्न गएकोमा राति २:०० बजेसम्म छोरा नआई छोरी हिरालाई उठाई गाउँकै गंगा पासवान, खुशलाल पासवान, बुधु पासवानलाई साथ लिई खोज्दै जाँदा सत्येन्द्र झाको दलान बैठकबाट गाँईगुईको आवाज सुनी हेर्दा विपक्षी सत्येन्द्र झा, प्रसन्नकुमार झा, श्रवणकुमार झा, सुनीलकुमार झा समेतले लास बोकेको र अन्य विपक्षीहरू समेतसँगै रहेको देखि एक्कासी गुहार माग्दै कराउँदा विपक्षीहरूले लास फाली भाग्न सफल भएका हुन् । विपक्षी सत्येन्द्र झाको घर बैठक पछाडि फालेको छोराको लास गई हेर्दा छोरा मृतक अवस्थामा रहेकोमा मेरो छोराको विपक्षी सत्येन्द्र झा कि छोरीसँग प्रेम सम्बन्ध रहेको कारण विपक्षीहस्हरूले मिलोमतो गरी मेरो छोरालाई कर्तव्य गरी कुटपीट गरी ज्यानै मारी फालेकोमा विपक्षीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त ।
जाहेरवालीको मृतक छोरा कृष्णकुमार पासवान र विपक्षी सत्येन्द्र झाको छोरी सरोजकुमारी झासँग पहिलेदेखि प्रेम सम्बन्ध रहेको कुरा गाउँ घरमा सुनी थाहा पाएको थिएँ, प्रतिवादी सत्येन्द्र झा मेरो चचेरा काका पर्दछन् । काकाको छोरीसँग दलित जातिको केटाले प्रेम सम्बन्ध राखेकोमा निज पासवान जातिको केटालाई कुटपीट गरी मार्नमा मेरो सहमति थियो तर मैले ०५८।६।१८ गते राति कुटपीट गरेको छैन होइन । जाहेरी दरखास्तमा उल्लेख भएका प्रतिवादीहरूले नै मारेको हुन सक्छ । मैले देखेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुधिर झाको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
कृष्णकुमार पासवानको भिसेरा नमुनाहरूमा किटनासक अर्ग्यानो फोस्फोरस अगर्यानोम्लोरिल पाइरथोइट तथा कसामेट र मुसा मार्ने विषादी पाइएन भन्ने राय सहितको केन्द्रीय प्रहरी बैज्ञानिक प्रयोगशालाको भिसेरा परीक्षण प्रतिवेदन ।
मृतक छोराको हातमा बाँधेको गम्छा मेरो छोराको होइन, उक्त गम्छा, प्रतिवादी रमणकुमार झाको हो भन्ने व्यहोराको जाहेरवाली देवसुनरीदेवी पासवानको सनाखत कागज ।
मेरो भाइ मृतक कृष्णकुमार पासवान २०५८।६।१८ गते राति ९ बजेको समयमा सलाई किन्न परमेश्वर महतोको पसलमा गएकोमा राति २:०० बजेसम्म पनि फर्कि नआउँदा खुशलाल पासवानको घरमा म र मेरी आमा जाहेरवाली गई सबै कुरा सुनाउँदा खुशलाल पासवान गंगा पासवान, बुधु पासवान र हामी समेत खोज्दै परमेश्वर महतोको पसलमा पुगी सोध्दा आई ९:०० बजेतिर सलाई खरीद गरी गइसकेको भनेकोले भन्दा मृतकलाई खोजतलास गर्दै जाँदा प्रतिवादी सत्येन्द्र झाको बैठक नजिकै २:३० बजेको समयमा प्रतिवादी सत्येन्द्र झा, प्रसन्नकुमार झा, श्रवणकुमार झा, सुनीलकुमार झाले कृष्णकुमार पासवानको कसैले हात कसैले खुट्टा र कसैले टाउको उचाली फाल्न गइरहेको र पछि पछि अन्य प्रतिवादीहरू आई रहेको थिएँ म समेतलाई देखि निजहरू मेरो भाइलाई फाली भागि गए भाइ मृत अवस्थामा रहेको तथा निजको मुखबाट रगत बगेको देखे, मेरो भाइ र प्रतिवादी सत्येन्द्र झा कि छोरीबीच प्रेम सम्बन्ध रहेको कारण सत्येन्द्र झा र जाहेरीमा उल्लिखित व्यक्तिहरूले कृष्णकुमार पासवानलाई मारी फाली दिएको हो भन्ने समेत व्यहोराको मृतककी दिदी हिरादेवी पासवानको बयान कागज ।
२०५८।६।१८ गते राति २:३० बजे प्रतिवादी सत्येन्द्र झाको घर तर्फ ठूलो हल्ला हुँदा विउझि गई हेर्दा कृष्णकुमार पासवानको मृत लास प्रतिवादी सत्येन्द्र झाको घर बैठक पछाडि फालेको देखो, जाहेरीमा उल्लिखित प्रतिवादी सत्येन्द्र झा समेत ११ जनाले कुटपीट गरी कर्तव्य गरी मारि फाली दिएको हो भन्ने कुरा जाहेरवालाको छोरी हिरादेवीबाट सुनि थाहा पाए, मृतक र प्रतिवादी सत्येन्द्र झा कि छोरी सरोजकुमारीबीच प्रेम सम्बन्ध रहेको कुरा गाउँ घरमा सुनि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको रामपृत यादवको बयान कागज ।
२०५८।६।१८ गते राति सुति निदाएकोमा राति २:३० बजे प्रतिवादी सत्येन्द्र झाको घर तर्फ हो हल्लाको आवाजले बिउझी गई हेर्दा जाहेरवालाको छोरा कृष्णकुमार पासवानको मृत अवस्थामा मुखबाट रगत बगी रहेको थियो । सो घटनास्थलमा गै सोधपुछ गर्दा जाहेरीमा उल्लिखित प्रतिवादी सत्येन्द्र झा समेतले कुटपीट गरी कर्तव्य गरी मारी फाली दिएको हो भन्ने थाहा पाएँ, मृतकसँग प्रतिवादी सत्येन्द्र झा की छोरी सरोजकुमारीसँग प्रेम सम्बन्ध रहेको कुरा गाउँ घरमा सुनि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको पलट पासवानको कागज ।
२०५८।६।१८ गते सुति राति निदाएकोमा प्रतिवादी सत्येन्द्र झाको घरतर्फबाट आएको हो हल्लाको आवाजले बिउझी उठेको थिएँ । राति २:३० बजेको समयमा उठी गई रहेकोमा जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादीहरू सत्येन्द्र झा समेत भागि रहेको हुँदा बाटोमा देखि चिने, प्रतिवादी सत्येन्द्र झाको घर बैठक पछाडि कृष्णकुमार पासवानको मृत लास फाली दिएको देखें । प्रतिवादी सत्येन्द्र झा समेत जाहेरीमा उल्लिखित ११ जनाले कुटपीट गरी कर्तव्य गरी मारेको कुरा घटनास्थलमा सुनि थाहा पाएँ, सरोजकुमारी झा र मृतकबीच प्रेम सम्बन्ध भएको कुरा गाउँ घरमा सुनि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको किशोरी दासको कागज ।
२०५८।६।१८ गते राति जाहेरीमा उल्लिखित प्रतिवादीहरूले मिली कर्तव्य गरी मारी फालि दिएको कुरा २०५८।६।१९ गते सुनि थाहा पाए मृतक र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारीबीच प्रेमसम्बन्ध रहेको कुरा गाउँ घरमा सुनि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको सुन्दर पासवानको कागज ।
२०५८।६।१८ गते राति खाई सुतेको अवस्थामा राति २:३० बजेको समयमा प्रतिवादी सत्येन्द्र झाको घर तर्फबाट हो हल्लाको आवाज सुनि उठी गई हेर्दा कृष्णकुमार पासवानको मृत लास प्रतिवादी सत्येन्द्र झाको घर बैठक पछाडि फालेको देखें, मृतकको मुखबाट रगत बगिरहेको तथा हातमा गम्छा बाँधेको देखें । मृतक र प्रतिवादी सत्येन्द्र झाकी छोरीबीच प्रेम सम्बन्ध रहेको कारण जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादीहरूले कृष्णकुमार पासवानलाई कर्तव्य गरी मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने व्यहोराको रामपृत कापडको कागज ।
कृष्णकुमार पासवान र प्रतिवादी सत्येन्द्र झाकी छोरी सरोजकुमारी जनकपुर क्याम्पसमा सँगसँगै पढेकोमा दुबैबीच प्रेम सम्बन्ध रहेको कुरा सुनि थाहा पाएको हुँ वारदातभन्दा १ महिना अगाडि म र मृतक कृष्णकुमार पासवान काम विशेषले जनकपुर गएको बेला मुरली चोकमा प्रतिवादी सत्येन्द्र झा र प्रसन्न झा समेतले मेरो बहिनीसँग सानो जातिको भएर प्रेम गर्ने हिम्मत कसरी भयो यदि प्रेम गर्न छाडिनस् भने यो संसारबाट विदा गराई दिन्छु भनी नाना प्रकारको गाली गलौज र धम्की दिएको कुरा मैले मौकामा सुनि देखेको हुँ, सोही कारणले गर्दा कृष्णकुमार पासवानलाई जाहेरीमा उल्लिखित प्रतिवादी सत्येन्द्र झा समेतले कर्तव्य गरी मारि फाली दिएकोमा मलाई पूर्णरुपमा शंका लाग्छ भन्ने व्यहोराको सिताराम दासको कागज ।
वारदात मितिमा म आफ्ना गाउँ घरमा नै थिएँ । मिति २०५८।६।१८ गते राति जाहेरवालाको छोरा कृष्णकुमार पासवान गाउँकै प्रमेश्वर साहको किराना पसलमा सलाई किन्न गएकोमा राति २ बजेसम्म घर नआउँदा म तथा गाउँका बुधु पासवान, गंगा पासवान समेत भई खोजतलास गर्दा उक्त राति अं. ९:०० बजे प्रमेश्वर साहको किराना पसलमा सलाई किनि आएको समेत सुनि प्रतिवादी सत्येन्द्र झाको घरको अगाडि गल्ली बाटो हुँदै आउँदा प्रतिवादी सत्येन्द्र झा, प्रसन्नकुमार झा, श्रवणकुमार झा, सुनीलकुमार झा समेतले मृतक कृष्णकुमारको लास बोकी फाली रहेको अवस्थामा देखेको हुँ तथा लासको पछि पछि सूर्यदेव झा, रमणकुमार झा, लक्ष्मण झा, कृष्णकुमार झा, भगिरथ झा, आनन्द झा समेतलाई दगुरी भागिरहेको समेत बिजुलीको प्रकाशबाट चिनि पहिचान गरेको हुँ । मृतक र प्रतिवादी सत्येन्द्र झा की छोरीबीच प्रेम सम्बन्ध रहेको र केटा दलित जातिको भएकोले सत्येन्द्र झा र ११ जना जाहेरीमा उल्लिखित प्रतिवादीहरूले कुटपीट गरी कर्तव्य गरी मारी फालिदिएको हो भन्ने व्यहोराको एकै मिलानको बुझिएका खुशलाल पासवान, गंगा पासवान, बुधु पासवानको छुट्टाछुट्टै कागज ।
सरोजकुमारी झा २०५५ सालमा यस विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेकी थिइन् । निजको कुनै प्रकारको हस्तलिपी उपलब्ध नभएको भन्ने व्यहोराको आ.मा.वि. रतौलीको च.नं. ५५ मिति २०५८।७।३ गतेको पत्र ।
मृतक कृष्णकुमारको लास पोष्टमार्टम हुँदा सोमा मृत्युका कारण Viscera samples negative for insecticides and rat poison on the basic of above findings. The cause of death is shock resulted from sustained blunt injuries over head and left abdomen. भन्ने उल्लेख भएको ।
जाहेरवालीले दिएको जाहेरीमा उल्लिखित मिति र समयमा म आफ्नो घरमा नै थिएँ, जाहेरवालीको छोरा तथा प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी झासँग प्रेम सम्बन्ध रहेको कुरा गाउँ घरमा सुनी थाहा पाएको हुँ । मिति २०५८।६।१८ गते राति अं. ९:०० बजेको समयमा जाहेरवालीको छोरा कृष्णकुमार पासवान मेरो किराना पसलमा आई सलाई किनी घरायसी दुःख सुखको कुरा गरी आफ्नो घरतर्फ फर्कि आएको थियो । राति अं. २:०० बजेतिर म सुति निदाएको थिएँ सोही बेला गाउँकै बुधु पासवान, गंगा पासवान, खुशलाल पासवान, तथा जाहेरवाली समेत मेरो घरमा आई मलाई उठाई यहाँ राति ९:०० तिर कृष्णकुमार पासवान आएको देख्नु भो भनी समेत सोध्दा मेरो पसलमा राति ९:०० बजेतिर आएको थियो, त्यसपछि आफ्नो घरतर्फ फर्कि गएको थियो । सोही कुरा बताउँदा जाहेरवाली लगायतका मानिसहरू आफ्नो बाटो लागेको लगत्तै हो हल्ला हुँदा म पनि दगुरेर आई प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारीसँग प्रेम सम्बन्ध रहेको कारण प्रतिवादी सत्येन्द्र झा समेतले मिलेमतो गरी कुटपीट गरी कर्तव्य गरी मारी फाली दिएकोमा मलाई पूर्ण विश्वास लाग्दछ भन्ने व्यहोराको प्रमेश्वर साहको कागज ।
मेरो छोरी सरोजकुमारी झा तथा जाहेरवालीको छोरा कृष्णकुमार पासवानको पहिलादेखि प्रेम सम्बन्ध रहेको कुरा मैले थाहा पाएको थिएँ । निज कृष्णकुमार पासवानलाई पटकपटक गरी सम्झाई बुझाई गर्दा समेत मेरो छोरीसँग प्रेम सम्बन्ध राख्ने कार्य जारी नै राखेको कारण म समेतका सबै प्रतिवादीहरूलाई घरमा बोलाई निजलाई मार्ने समेत छलफल गरी निष्कर्षमा पुगेका थिए । २०५८।६।१८ गते राति म आफ्नो घरमा अन्दाजी ९:३० बजे सबै प्रतिवादीहरूलाई डाकि बोलाई कृष्णकुमार पासवानलाई मार्ने छलफल भई रहेको बेला मेरो घरको गल्ली बाटो हुँदै जाहेरवालीको छोरा कृष्णकुमार पासवानलाई आईरहेको देखिएकोमा निजलाई समाती मुख थुनि घरभित्र ल्याई कुटपीट समेत गरी म समेत सबै प्रतिवादीले कर्तव्य गरी मारि मृतकलाई बोकी राति फाली म समेतका प्रतिवादीहरू भागि फरार भएका थियौं भन्ने समेत व्यहोराको प्रतिवादी सत्येन्द्र झाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
जाहेरवालीको छोरा कृष्ण पासवान तथा प्रतिवादी सत्येन्द्र झा कि छोरी सरोजकुमारी झा समेतको बीचमा प्रेम सम्बन्ध रहेको कुरा गाउँ घरमा सुनि थाहा पाएको हुँ । दलित जातको केटा भई बाहुन जातिको केटीसँग प्रेम सम्बन्ध राखेकोमा बाहुन जाति लगायतका मानिसहरूले रिषइवी राख्दै आएका थिए त्यस्तैमा मिति २०५८।६।१८ गते राति अं. ९:०० बजे निज कृष्णकुमार पासवानलाई मार्ने भनी प्रतिवादी सत्यन्द्र झाको घर जाहेरीमा उल्लिखित सबै प्रतिवादीहरू बसि छलफल गरी रहेको अवस्थामा कृष्णकुमार पासवान सत्येन्द्र झाको घरको बाटो हुँदै आईरहेकोमा यही हो मौका समात भनी सत्येन्द्र झाले आदेश दिने वित्तिकै प्रतिवादी प्रसन्नकुमार झाले निजलाई समाती घरभित्र ल्याई मुख थुनी सत्येन्द्र झाले टाउकोमा, प्रसन्नकुमार, श्रवणकुमारले हात मुक्काले पेटमा, सुनील झाले पछाडिपट्टी कमरमा तथा म समेतका प्रतिवादीहरूले हात मुक्का समेतले शरीरमा कुटपीट समेत गरी कर्तव्य गरी मारी राति अ.वं. २:३० बजे फाल्न गइरहेको अवस्थामा मानिसहरू आइरहेको देखी मृतकको लास प्रतिवादी सत्येन्द्र झाले बैठक घर पछाडि फाली भागी फरार भएको भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णकुमार झाको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
जाहेरवालीको छोरा कृष्णकुमार पासवान दलित र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारीको बीचमा पहिला देखिनै प्रेम सम्बन्ध रहेको कारण मृतक कृष्णकुमार पासवान दलित जातिको भएकोले निजलाई मिति २०५८।६।१८ गते राति अं. ९:०० बजे बाटोमा समाती घरभित्र लगी मुख नाक समेत थुनि कुटपीट गरी कर्तव्य गरी मारी फाली दिएकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका राजनारायण पासवान, मोहन साह तेली, शिवधारी यादव, मुलिलाल यादव र सिताराम साहको करिब एकै मिलानको मुचुल्का व्यहोरा ।
मृतक र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी झाबीच प्रेम सम्बन्ध रहेको र मृतक दलित जाति र केटी झा बाहुन उच्च जातिको छोरी भएको कारण अभियोगपत्रमा उल्लिखित प्रतिवादीहरूले आपसमा पहिलेदेखि लिई आएको रिसइवीले सबै प्रतिवादीहरूले योजना बनाई भेला भई जाहेरवालीको छोरा कृष्णकुमार पासवानलाई मिति २०५८।६।१८ गते राति बाटोबाट समाती मुख नाक समेत थुनी प्रतिवादी सत्येन्द्र झाको घरभित्र लगी सत्येन्द्र झाले टाउकोमा प्रसन्नकुमार झा, श्रवणकुमार झाले हात, खुट्टा, मुक्काले पेटमा, सुनील झाले पछाडिपट्टी कम्मरमा, अरु सुधिर झा समेतका प्रतिवादीहरूले हात मुक्काले यत्रतत्र कुटपीट गरी कर्तव्य गरी मारी नांगै पारी फाली दिएको कुरा सप्रमाण पुष्टि भएको हुँदा अभियोगपत्रको विरुद्ध खण्डका प्रतिवादीहरू उपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. विपरीत कसूर गरेको अभियोगमा निज प्रतिवादीहरू उपर ऐ ऐनको १३(३) बमोजिम सजाय हुन माग दावी लिई दायर भएको अभियोग पत्र ।
मिति २०५८।६।१८ गतेका दिन १०:०० बजे देखि ५:३० बजेसम्म जनकपुर चुरोट कारखानामा डिउटीमा थिएँ । ५:३० बजे जनकपुरमा घर भएको साथी सुनील गिरीको घरमा पूजाको निमन्त्रणा मान्न गएँ, प्रसाद खाएर रातिको ८:३० बजेतिर जनकपुरबाट साइकलद्वारा ९:१५ बजे आई घरमा नै सुतेको छु । राति कुनै पनि प्रतिवादीहरूसँग भेटघाट भएको छैन, घरमा मेरो बुबा सूर्यदेव झा र छोरा प्रसन्न झा पनि थिएन उनीहरू धेरै पहिलादेखि जनकपुरमा बस्ने गरेका छन् अरु प्रतिवादीहरू कहाँ थिए मलाई थाहा छैन राति म घरमा सुतेको मानिसले जाहेरवालीको छोरा कृष्णकुमार पासवानलाई कर्तव्य गरी मारेको छैन, म माथि जाहेरवालाले नै झूठा जाहेरी दिएका हुन्, मृतक कृष्णकुमार पासवान कसरी मरेका हुन् मलाई केही पनि थाहा छैन जाहेरी झूठा हुँदा मलाई कारवाही हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सत्येन्द्र झाले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
म जिल्ला सिन्धुपाल्चोक महांकाल गा.वि.स. वडा नं. १ स्थित श्री सरस्वती उच्च माध्यमिक विद्यालय ग्यालगुणमा शिक्षक छु । वारदात मितिका दिन अं. २:०० बजे गाडीमा चढी साँझको ७:३० बजे काठमाडौं आई त्यहाँबाट राजविराज जानेमा कंकालिनी ट्राभल्समा चढी २०५८।६।१९ गते बिहान अं. ६:०० बजे ढल्केबरमा ओर्ली त्यहाँबाट जलेश्वर आउने बस गंगोत्री ट्राभल्सबाट अं. बिहान ३:३० बजे चादनी चोकमा ओर्लिई ८:०० बजे घरमा पुगेको छु । मृतक र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी बीचको प्रेम सम्बन्धको बारेमा मलाई केही थाहा छैन, मैले मृतकलाई कुटपीट गरी मारेको छैन । मृतकको मृत्यु के कसरी भएको मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णकुमार झाले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
मिति २०५८।६।१८ गते राति ९:०० बजेको समयमा म आफ्नो घरमा सुतेको थिएँ त्यस दिन मेरो कुनैपनि प्रतिवादीहरूसँग भेटघाट भएको थिएन । २०५८।६।१९ गते बिहान ९:०० बजेको समयमा घरबाट पिपरा हुलाक कार्यालयमा आउँदा गाउँको २–३ जना केटाले मलाई समाती सहोडवा गा.वि.स. मा राखी प्रहरीले मलाई त्यहाँबाट समातेको हो जाहेरी दरखास्त झूठा हो मैले मृतक कृष्णकुमार पासवानलाई कुटपीट गरी मारेको छैन, निजको मृत्यु के कसरी भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुधिर झाले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
मिति २०५८।६।१८ गते राति रा.रा.वहुमुखी क्याम्पसमा गोष्ठी रहेको हुनाले सोही दिन राति सोही क्याम्पसको गेष्ट हाउसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएको हुँदा मिटिङ्ग भई रहेकोले मिटिङ्ग भै गेष्ट हाउसमा थिएँ अरु प्रतिवादीहरूसँग मेरो भेट भएको थिएन उक्त मितिको साँझ ७:३० बजे मेरो घर जनकपुर भएकोले जनकपुर घरमै खाना खाई राति गेष्ट हाउसमा बसि भोलिपल्ट बिहान ७:०० बजेतिर आफ्नो घर जनकपुरमा गएँ, मृतक कृष्णकुमार पासवानलाई मैले चिनेको थिईन । निजलाई कहिल्यै पनि कुनै किसिमको धाक धम्की दिएको थिइन । म जनकपुर आफ्नो घरमा बसि क्याम्पस पढ्छु कहिलेकाहीँ एकछिनका लागि सहोडवा गा.वि.स. अध्यक्षको घरमा आई फेरी तुरुन्तै जनकपुर गएको थिएँ, मैले मृतकलाई कुटपीट गरेको छैन को कसले मृतक कृष्णकुमारलाई मारेको हो वा कसरी मरेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रसन्नकुमार झाले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
जाहेरी व्यहोरा झूठा हो मैले मृतकलाई कुटपीट गरी मारेको छैन म मिति २०५८।६।१८ गते बिहान ८:०० बजेदेखि ऐ २० गतेसम्म आफ्नो गाउँ घरमा नभई ससुराली गाउँ जिल्ला धनुषा लक्ष्मीपुर वगेवा गा.वि.स.मा थिएँ । मलाई झूठा आरोप लगाई फसाउनको लागि यस्तो जाहेरी दिएका हुन् । को कसले मृतकलाई मारेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नन्दकुमार झाले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
म धनुषा जिल्ला हुलाक कार्यालयमा हल्कारा पदमा काम गरी रहेको र म जनकपुरमा २०५३ सालदेखिनै जनकपुर न.पा.वडा नं. ४ बस्ने अर्जुन चौधरीको घरमा डेरा गरी बसिरहेको छु । २०५८।६।१८ गते जनकपुर डेरामा थिएँ र मेरो आमा बिरामी परेकाले ऐ १९ गते बिहान आमालाई लिएर भारतको दरभंगामा इलाज गराउन गएँ त्यहाँबाट ऐ ३० गते जनकपुर आएँ । जाहेरी दरखास्त झूठा हो, मैले जाहेरवालीको छोरा कृष्णकुमार पासवानलाई कुटपीट गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी भागिरथ झाले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
देवसुनसरी देवीको जाहेरी दरखास्त झूठा हो मैले निजको छोरालाई कुटपीट गरी मारेको छैन । मिति २०५८।६।१८ गतेका दिन र रात तथा अरु मिति समयमा म जनकपुर थिएँ । मलाई फसाउन निजले झूठा जाहेरी दिएका हुन् मृतकले विष सेवन गरी आत्महत्या गरेका हुन्, देखाइएको गम्छा मेरो होइन कसको हो मलाई थाहा छैन जाहेरवालीले गरेको कागज झूठा हो म गम्छा राख्ने गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी रमणकुमार झाले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
म आफ्नो गाउँबाट ०५८ साल असोज १६ गते मामासँग भेट गर्न जिल्ला धनुषा गोठकोयलपुर गएको थिएँ त्यहाँबाट ऐ २० गते आफ्नो गाउँ घरमा फर्कि आएको थिएँ, जाहेरी दरखास्त झूठा हो म वारदात मितिका दिन म राति गाउँ घरमा नभै मामा घरमा भएकोले मृतकलाई कुटपीट गरी मारेको छैन । जातीय रिसइविले म माथि झूठा जाहेरी दिएका हुन् भन्ने प्रतिवादी लक्ष्मण झाले महोत्तरी अदालतमा गरेको बयान ।
मिति २०५८।६।१८ गतेको दिन र रातको समयमा म आफ्नो घर जनकपुर न.पा. वडा नं. ४ मा नै थिएँ मैले मृतकलाई कुटपीट गरी मारी फालेको छैन, लासपनि बोकेको छैन जाहेरी व्यहोरा झूठा हो जाहेरवालीले किन झूठा जाहेरी दिए निजैले जानुन् भन्ने समेत व्यहोराको प्रतिवादी श्रवणकुमार झाले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
जाहेरी व्यहोरा झूठा हो, २०५८।६।१८ गतेका दिन आफ्नो घर जनकपुर न.पा.वडा नं. ४ मा नै थिएँ मैले मृतकलाई कुटपीट गरी मारेको छैन जाहेरवाली र मृतकलाई चिन्दिन उक्त दिन प्रसन्न झा जनकपुरमा नै थिए मृतकलाई कसले मारे मारेनन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यदेव झाले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
मिति २०५८।६।१८ गतेका दिन र रातको समयमा म जिल्ला सिरहा कुशहा लक्ष्मीपुर गा.वि.स. सलमपुर गाउँमा थिएँ, अन्य प्रतिवादीहरू कहाँ कहाँ थिए मलाई थाहा छैन, उक्त गाउँमा ०५८।६।१७ गते २:३० बजे गई ऐ २० गते १०:१० बजे घरमा फर्कि आएँ । जाहेरी दरखास्त झूठा हो, मैले मृतकलाई कुनै किसिमसँग कुटपीट गरी मारेको छैन म गाउँ घरमा थिइन भन्ने समेत व्यहोराको प्रतिवादी सुनीलकुमार झाले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी कृष्णकुमार झा २०५८।६।१८ गते १०:०० बजे आफूले अध्ययन गराउने विद्यालय जिल्ला सिन्धुपाल्चोक महांकाल गा.वि.स. वडा नं. १ स्थित सरस्वती उच्च मा.वि. बाट निस्की २ बजे काठमाडौं जाने बसमा चढ्नु भयो र उक्त बस ४ घण्टामा काठमाडौं पुग्नु पर्ने हो म पनि उक्त विद्यालयको शिक्षक पदमा कार्यरत् छु भन्ने व्यहोराको प्रतिवादी कृष्णकुमार झाका साक्षी पारसमणी पोखरेलले महोत्तरी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी कृष्णकुमार झा ०५८।६।१९ गते काठमाडौं राजबिराजसम्म जाने कंकालिनी वसबाट ६:०० बजे ढल्केवरमा ओर्लिएपछि मसँग भेटघाट भयो, त्यहाँबाट हामीहरूसँगै जनकपुर जिरो माइलमा आयौं । जिरो माइलबाट म आफ्नो घरतर्फ गएँ वहाँ चाहिँ नक्कली सर्टिफिकेट चेक भई रहेको कारणले आफ्नो सही सर्टिफिकेट लिन २,३ दिनको लागि आउनु भएको थियो वहाँ ७:०० बजे अन्दाजी जिरो माइलबाट बसचढी घरतर्फ लाग्नु भयो निज प्रतिवादी १९ गते नाइट बस समातेर घरमा आउनु भएकोबाट निज १८ गते काठमाडौंमा हुनुहुन्थ्यो भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णकुमार झाका साक्षी सरोजकुमार झा ले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
म जनकपुर रा.रा.व. क्याम्पसको स्व.वि.यू को सभापति हुँ, मिति २०५८।६।१८ गते क्याम्पसको गेष्ट हाउसमा म र उपाध्यक्ष चिरन्जीवी पुडासैनी सचिव प्रतिवादी प्रसन्नकुमार झा र सदस्यहरू रचनात्मक कार्यको अनौपचारिक छलफलका लागि भेला भएका थियौं । छलफल गर्दा गर्दै राति ८–९ बजे त्यहीँ खाना खायौं, खाना खाई सकेपश्चात् पानी पर्न थालेको र हामीहरू छलफलको लागि बसेको ठाउँ गेष्ट हाउस भएकोले हामीहरू प्रसन्नकुमार झा समेत सँगै सुत्यौं, बिहान ७:०० बजे मात्र आ–आफ्नो काममा गयौं, तसर्थ मृतकलाई ०५८।६।१८ गते २:३० बजे कुटपीट गरी प्रतिवादी प्रसन्नकुमार हामीसँग सुतेकोले मार्ने प्रश्नै आउँदैन जाहेरी दरखास्त झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी प्रसन्नकुमार झाका साक्षी प्रमोद साहले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
०५८।६।१८ गते विद्यालयको शैक्षिक गतिविधि सम्बन्धमा रा.रा.व. क्याम्पस जनकपुरको स्व.वि.यू. को अध्यक्ष प्रमोद साह, उपाध्यक्ष म, सचिव प्रतिवादी प्रसन्नकुमार झा र सदस्य दुर्गा अधिकारी र अशोक मिश्र समेत समावेश भई क्याम्पसको गेष्ट हाउसमा राति ९:०० बजे बैठक बस्यौ बैठक सकेपछि पानी परेको कारण हामी सबैजना गेष्ट हाउसमा सुत्यौ र भोलिपल्ट ७:०० बजे मात्र हामीहरू डेरातर्फ लाग्यौं, जाहेरी झूठा हो भन्ने समेत व्यहोराको थ. प्रसन्नकुमार झाको साक्षी चिरन्जीवी पुडासैनीले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०५८।६।१८ गते राति ८:०० बजेको समयमा प्रतिवादी सत्येन्द्र झा र मेरो जनकपुर मुरली चोकमा भेट भएको थियो । प्रतिवादी सत्येन्द्र झाले कृष्णकुमार पासवानलाई मारेको हैन जाहेरी गलत हो भन्ने समेत व्यहोराको प्रतिवादी सत्येन्द्र झाका साक्षी तृपतनारायण झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्त झूठा हो सत्येन्द्र झाले निज मृतकलाई मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सत्येन्द्र झाको साक्षी रुद्रनारायणले गरेको महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्त झूठा हो निज प्रतिवादीलाई फँसाउन जाहेरी दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी रमण झाको साक्षी उपेन्द्र झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालीको जाहेरी दरखास्त गलत हो उक्त राति रमणकुमार झा जनकपुरमा थिए भन्ने समेत व्यहोराको प्रतिवादी रमणकुमार झाको साक्षी कमलचन्द्र ठाकुरले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
हर्दिया गाउँको मानिस इमरजेन्सीमा भर्ना भएको कुरा सुनि गई हेर्दा कृष्ण पासवान बिरामी भई भर्ना भएको थियो निजलाई सलाइन चढी रहेको थियो जाहेरी दरखास्त झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी रमणकुमार झाको साक्षी विजेन्द्र झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मैले मृतक अध्याधिक बिरामी परेकोले औषधि उपचारको लागि जनकपुर लगेको कुरा सुने जाहेरी दरखास्त झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सुधिरकुमार झाका साक्षी दिनबन्धु झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतकलाई उपचारको लागि जनकपुर लगेको कुरा थाहा पाए भन्ने समेत व्यहोराको प्रतिवादी सुधिर झाका साक्षी योगेन्द्र झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
०५८।६।१८ गते आनन्द झाको श्रीमतीलाई झाडा पखाला लागेकोले ऐ १७ गते गई २० गतेसम्म बसी खाना खाई आफ्नो घर सहोडवा साँझमा लक्ष्मीपुर वगेवा फर्कि आएको हुन भन्ने समेत व्यहोराको प्रतिवादी आनन्द झाको साक्षी अमरकान्त झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
माइतमा रहेको प्रतिवादी आनन्दकुमार झाको श्रीमतीलाई झाडा पखाला लागेकोले १७ गते बिहानै प्रतिवादी आनन्द झाको सालोले बिहान ६:०० बजे बोलाउन आई ८:३० बजेतिर निजलाई बोलाई लगे । ऐ १९ गतेसम्म आनन्द झा लक्ष्मीपुर वगेवा गाउँमै थिए । २० गते १२ बजेतिर खाना खाई निज आफ्नो गाउँमा आई पुनः ससुराली गए, जाहेरी दरखास्त झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी आनन्दकुमार झाको साक्षी जयवीर मिश्रले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीको बुबासँग लिएको रु. १०,०००।– सापटी लक्ष्मण झालाई दिए निजले सो रुपैयाँ लिई ऐ २० गते आफ्नो गाउँ फर्की गएका थिए जाहेरी दरखास्त झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण झाको साक्षी बृजमोहन ठाकुरले गरेको महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्त झूठा हो कृष्णकुमार पासवानको मृत्यु ०५८।६।१९ गते अस्पतालमा भएको सुनेको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण झाको साक्षी कमलाकान्त झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
भगीरथ आमालाई लिइ दरभंगा जानु भयो र निज दरभंगाबाट ऐ ३० गते फर्कि आउनु भएकोले जाहेरी दरखास्त झूठा हो, किनकी २०६०।६।१८ गते दिन र रात प्रतिवादी भागिरथ झा जनकपुरमा थिए भन्ने समेत व्यहोराको भागिरथ झाका साक्षी जयकृष्ण मिश्रले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी भागिरथ झा ०५८।६।१८ गते मेरो घरमा डेरामा रहेकोले जाहेरवालीको छोरालाई मार्ने प्रश्नै आउँदैन भन्ने समेत व्यहोराको प्रतिवादी भागिरथ झाका साझी अर्जुन चौधरीले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
सत्येन्द्र झाको छोरीसँग मृतकको प्रेमसम्बन्ध रहेको कारण सत्येन्द्र झा र निजका छोराहरू मिली मारेका हुन् भनी थाहा पाएं मारेको मैले आफ्नो आँखाले देखिन भन्ने समेत व्यहोराको बुझिएका शिवधारी यादवले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
सत्येन्द्र झा र प्रसन्नकुमार झाले नै मृतकलाई मारेको हो मलाई पूर्ण विश्वास छ, अरु व्यक्तिहरूमा पनि शंका छ, प्रतिवादी लक्ष्मण झाले पनि मारेको हुनुपर्छ, अरु को को थिए थाहा भएन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका राजनारायण पासवानले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक कृष्णकुमार पासवानलाई कर्तव्य गरी मार्ने प्रतिवादी सत्येन्द्रकुमार झा मात्रै हो मैले देखेको छैन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काको सिताराम साहले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरीमा लेखिएका मानिसहरूले मारेको हुनुपर्छ २०५८।६।१८ राति मृतकको लास २:३० बजे हेर्न गएको थिएँ प्रसन्नकुमार झाले मृतकलाई मार्ने धम्की दिएका थिए मलाई विश्वास छ प्रसन्नले नै मारेको होला अरु कसले मारेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको बुझिएका सितारामले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
गाउँमा हो हल्ला हुँदा रातिमा लास हेर्न गएको थिएँ कसले मृतकलाई मारेको हो मैले देखिन, जाहेरी दरखास्त सत्य होला भन्ने समेत व्यहोराको बुझिएका जाहेरीका प्रमाण खण्डका पलट पासवानले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
सत्येन्द्र झाको छोरीसँग जाहेरवालाको छोराको प्रेम थियो सोही कारणले मारेको हुनुपर्छ हिरादेवीबाट मैले सुनेको हो । सत्येन्द्र झाले मारेको हो र त्यसमा प्रसन्न झा समेतका जाहेरीमा लेखेका व्यक्तिहरूले फालेका हुन् मैले देखेको छैन भन्ने समेत व्यहोराको प्रमाण खण्डको रामपृत यादवले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्त सत्य हो कृष्णकुमार पासवानलाई कसले मा¥यो कसले लास फालेको मैले देखेको छैन, हिरादेवीले मलाई सत्येन्द्र झा, प्रसन्नकुमार झा, रमण झा, सुधिर झाले मारेको हो भनी भनेकी हुन् भन्ने समेत व्यहोराको जाहेरीमा प्रमाण खण्डका रामपृत कापडले महोत्तरी जिल्ला अदालतमा गरेको बयान ।
कृष्णकुमार यादवलाई मार्ने सत्येन्द्र झाको दलानमा रमण झा, लक्ष्मण, सूर्यदेव झा, आनन्द झा, भागिरथ झा, सुधिर झा थिए, कृष्ण झा पछि आएको हो सो घटना भएको राति मैले देखिन भन्ने समेत व्यहोराको खुवलाल पासवानले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
२०५८।६।१८ गते राति २ बजे सत्येन्द्र झा र प्रसन्न झाले निजको छोरी, बहिनी सँग मृतक कृष्ण पासवानको प्रेम सम्बन्ध रहेको कारण निजहरूले कृष्णकुमारलाई मारी सत्येन्द्र झाको दलान पछाडि राखी दिएको कुरा मैले अं. २:०० बजे उक्त दिन देखें, अरु व्यक्तिहरूलाई मैले देखिन भन्ने समेत व्यहोराको जाहेरीका प्रमाण खण्डका किशोरी दासले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक कृष्णकुमार पासवानको प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारीसँग प्रेम सम्बन्ध रहेको कारण प्रतिवादी सत्येन्द्र झा र प्रसन्न कुमर झाले कुटपीट गरी मिति २०५८।६।१८ गते मारी प्रतिवादी सत्येन्द्र झाको दलान पछाडि फाले भन्ने समेत व्यहोराको जाहेरीका प्रमाण खण्डका बुधन पासवानले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक कृष्णकुमार पासवानलाई ककस्ले मारेको हो मैले आफ्नो आँखाले देखेको छैन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मुनिलाल यादवले अदालतमा गरेको बकपत्र ।
२०५८।६।१८ गते राति निज कृष्णकुमारको मृत्यु भयो निजलाई क कसले कर्तव्य गरी मारे मैले देखिन, उक्त दिन राति हल्ला हुँदा म पनि उठेर जाँदा सत्येन्द्र झाको दलान पछाडि लास देखे ककसले मार्यो थाहा छैन भन्ने समेत व्यहोराको जाहेरीका प्रमाण खण्डका सुन्दर पासवानले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मेरो छोरा र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी बीचको प्रेम सम्बन्धको कारणले सत्येन्द्र झा निजको छोरा रमण झा, श्रवणकुमार झा, श्रीकृष्ण झा, लक्ष्मण झा, सुधिर झा, आनन्दकुमार झा, भागिरथ झा, सुनील झा, सूर्यदेव झाहरूले कुटपीट गरी मारेका हुन् सत्येन्द्र, झा, प्रसन्न झा, श्रवण झा, सुनील झा, सुधिर झा, लक्ष्मण झा, रमण झा आनन्द झा, भागिरथ झा, सूर्यदेव झाले लास बोकेर लगिरहेको देखें, मैले हत्या गर्दाको अवस्थामा देखिन, ४ जनाले लास बोकेको सत्येन्द्र झाको दलान पछाडि देखें भन्ने समेत व्यहोराको जाहेरवाली देवसुनरी देवीले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०५८।६।१८ गते गाऊँ घरमा थिएँ । यस मुद्दाको अनुसन्धानको क्रममा सबैकुरा जाने बुझेसम्म लेखाई सहिछाप गरेको छु, उक्त दिन राति २:२५ बजेको समयमा जाहेरवाली निजको छोरा हिरादेवी, बुधु, गंगा, खुशलाल पासवान समेत मेरो पसलमा आएका थिए, विहान पख कृष्ण पासवानको लास देखे निजलाई क कसले मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको बुझिएका प्रमेश्वर साहले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
सूर्यदेव झा खाना खाई मेरै घरमा सुतेको थिए । जाहेरी दरखास्त व्यहोरा रझूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यदेव झाका साक्षी गजाधर झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
कृष्णकुमार पासवानलाई सूर्यदेव झाले कर्तव्य गरी मारेको व्यहोरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यदेव झाको साक्षी विपिन चौधरीको महोत्तरी जिल्ला अदालतमा भएको बकपत्र ।
उक्त दिन र राति श्रवणकुमार झा र नन्दकिशोर झा जनकपुरमा नै थिए जाहेरी व्यहोरा झूठा हो, निज प्रतिवादी श्रवणकुमारले मार्ने कुनै काम गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी श्रवणकुमार झाको साक्षी जितेन्द्रकुमार झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्त झूठा हो कृष्ण पासवानको उपचार ऐ.१९ गते जनकपुर अञ्चल अस्पतालमा भई रहेको थियो भन्ने समेत व्यहोराको प्रतिवादी श्रवणकुमार झाको साक्षी नन्दकिशोर ठाकुरले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मेरो छोरीको डायरीयाको औषधि उपचार गराई रहेको थिएँ । मेरा गाऊँ जिल्ला सिरहा कुशहा लक्ष्मीनियामा भएको व्यक्ति सुनील झाले ०५८।६।१८ गते कृष्ण पासवानलाई मार्ने प्रश्नै छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुनील झाको साक्षी चन्द्रकान्त झाले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी सुनील झाको भतिजो बिरामी भएको कारण आएका थिए, सलेमपुरमा भएको व्यक्तिले ०५८।६।१८ गते राति सहोडवा गा.वि.स.मा भएको घटना कसरी गराउँछ भन्ने समेत व्यहोराको प्रतिवादी सुनील झाको साक्षी रामपृत भगतले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतकको मुखबाट फिँज आएकोले भिसेरा जाँचको लागि पठाएको हो त्यहाँबाट रिपोर्ट नेगेटिभ भई आएपछि हामीहरूले मृत्युको कारण टाउको र देब्रे भागको पेटमा चोटको कारणले श खसेकमा गई भएको भनी राय दिएका छौं भन्ने समेत व्यहोराको प्रमाण ऐन, २०३१ को दफा २५(७) बमोजिम बुझिएका चिकित्सक पवनकुमार शर्माले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक कृष्ण पासवानको शव परीक्षण म र पवनकुमार ठाकुरले संयुक्त रुपमा गरेका छौं । मृतकको हात बाँधिएकोले विष सेवन गरेको हुन सक्दछ कि भन्ने शंका गरी भिसेरा जाँच गर्न पठाएको हौं मृतकको मृत्युको कारण टाउकोमा चोट र देब्रे पेटमा भएका चोटको कारणले भएको हो मृतकको नाकबाट फिँज आएको मैले आफै देखेको छु, मृतकको भित्री चोटले गर्दा पनि हुनसक्छ भन्ने समेत व्यहोराको बुझिएका चिकित्सक द्वारिकाप्रसाद साहले महोत्तरी जिल्ला अदालतमा गरेको बकपत्र ।
कृष्णकुमार झालाई प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमार झा समेतले कुटपीट गरी कर्तव्य गरी ज्यान मारेको मिसिल संलग्न सबूद प्रमाणहरूबाट पुष्टि भएकोले प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमार झालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैद हुन्छ र आवेशप्रेरित अवस्थामा र एक प्रकारको भवितव्यको प्रकृति मिश्रीत अवस्थाको वारदातमा मृतकको मृत्यु भएको अवस्था हुँदा यी प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमार झालाई कानूनबमोजिम सजाय हुँदा चर्को हुन जान्छ कि जस्तो मेरो न्यायिक चित्तमा लागेकोले निजहरूलाइ जनही १० वर्षका दरले कैद हुन अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरेको छु । साथै प्रतिवादी श्रवणकुमार झा र सुनीलकुमार झालाई ऐ को १७(२) बमोजिम जनही ५ वर्षका दरले कैद हुन्छ । प्रतिवादी कृष्णकुमार झालाई १७(३) बमोजिम २ वर्ष कैद हुन्छ प्रतिवादी सुधिर झा र रमण झालाई ऐ को १७(३) बमोजिम जनही ६ महिनाको दरले कैद हुन्छ । प्रतिवादी सूर्यदेव झा, लक्ष्मण झा, भागिरथ झा, आनन्दकुमार झा, समेतले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेतको शुरु महोत्तरी जिल्ला अदालतबाट मिति २०६०।१२।१६ मा भएको फैसला ।
कृष्णकुमार पासवानको मृत्यु यस कारण भएको हो भन्न सकिने अवस्था नभएकोले कृष्णकुमारको मृत्युको कारण नै शंकास्पद रहेको अवस्थामा कर्तव्य भएको ठहर गरी भएको फैसला कानूनसंगत छैन । अनुसन्धानप्राप्त अधिकारीसमक्ष भएको कागज मेरो स्वेच्छाले भएको कागज होइन प्रहरीले कुटपीट गरी लेखिराखेको कागजमा सहिछाप गराएको हो । सो प्रहरीमा भएको कागजलाई आधार लिई भएको फैसला त्रुटिपूर्ण छ । हाम्रो विरुद्धमा मिसिल संलग्न कुनै पनि कागजबाट पुष्टि भएको नहुँदा र शंकास्पद पोष्टमार्टम रिपोर्टकै आधारमा विष फेला नपरेको कारण टाउको र वायाँ पेटको चोटले मृत्यु भएको भन्ने राय आत्मनिष्ट राय भएकोले सोको आधारमा कृष्णकुमार पासवानको मृत्युलाई कर्तव्य भन्नु र हामीलाई दोषी ठहर गरी भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसला बदर गर इन्साफ गरिपाऊँ भन्ने समेतको प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमार झाको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
कृष्णकुमार पासवानलाई मार्न वा मराउनमा मेरो सहमति र संलग्नता नरहेको कुरा बुधु पासवानको अदालतमा भएको बकपत्र र मेरो इन्कारी बयानलाई समर्थन हुने गरी मेरो साक्षीले गरेको बकपत्र समेतलाई वेवास्ता गरी नभएको प्रमाणहरू लगाई आत्मनिष्ट रुपले मलाई ६ महिना कैद गर्ने गरी भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मलाई अभियोग दावीबाट सफाइ प्रदान गरिपाऊँ भन्ने समेतको प्रतिवादी सुधीर झाको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
मिति २०५८।६।१८ गते कार्यरत् जिल्ला सिन्धुपाल्चोक महाँकाल गा.वि.स. स्थित श्री सरस्वती मा.वि. बाट बेलुका २ बजे गाडी चढी साँझ ७:३० बजे काठमाडौं आई भोलिपल्ट बिहान ८:०० बजे घर पुगेको हुँ । वारदातको वारेमा मलाई केही थाहा भएन १०:०० बजे तिर प्रहरीले समाती लगेको हो । प्रहरीमा भएको बयान मेरो स्वेच्छा विपरीतको हो । प्रहरीमा भएको साविती बयान अन्य प्रमाणबाट पुष्टि भएको छैन । कृष्णकुमारलाई कसले मारेको हो भन्ने कुराको सम्बन्धमा जाहेरी प्रहरीमा कागज गर्ने, वस्तुस्थिति मुचुल्का, पोष्टमार्टम रिपोर्ट समेत एक आपसमा बाझिएकोले र शंकास्पद छ । शंकाको सुविधा अभियुक्तले पाउने भएको समेतबाट मलाई सफाइ दिनुपर्नेमा ठहर फैसला गर्ने गरी भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसला बदर गरी सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी कृष्णकुमार झाको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा मृतकले सत्यन्द्र झाको छोरी सरोजकुमारी झासँग प्रेम सम्बन्धमा निजको ज्यान मार्ने धम्की जनकपुरमा दिएको समेत आधारमा पूर्व नियोजित तरिकाले सल्लाह गरी बाटोमा देखि मृतकलाई समाई घरभित्र लगि कुटपीट गरी ज्यान मारेको पुष्टि भै ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय गरी अं.वं. १८८ नं. को प्रयोग गरी १०–१० वर्ष कैद गर्ने गरेको राय प्रस्तुत मुद्दामा मिलेको नदेखिँदा आत्मनिष्ट राय सो हदसम्म बदर गरिपाऊँ र प्रतिवादी श्रवणकुमार झा र सुनीलकुमार झाको हकमा ऐ को १७(२) र प्रतिवादी सुधिर झा, रमन झा र कृष्ण झाको हकमा १७(३) बमोजिम गर्ने गरेको फैसला त्रुटिपूर्ण छ, किनकी यी प्रतिवादीहरू समेतले मृतकलाई कुटपीट गरेकोमा स्वीकारै छन र मृतकको शरीरमा पनि कुटपीट भएको घा खत देखिन्छ । शुरु अदालतले पनि सो कुरालाई स्वीकार गर्दा गर्दै पनि उक्त नं. बमोजिम कम सजाय गर्ने गरी गरेको फैसला बदर गरी १३(३) नं. बमोजिम सजाय गरिपाऊँ साथै प्रतिवादी सूर्यदेव झा, लक्ष्मण झा, भगिरथ झा, आनन्दकुमार झा, कसूरमा इन्कार रहेपनि मौकामा पक्राउ पर्ने सत्येन्द्र झा र कृष्णकुमार झाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पोल गरेको र सो बयानलाई अदालतले प्रमाणमा ग्रहण गरेको भए पनि यी प्रतिवादीलाई सफाइ दिने गरी गरेको फैसला मिलेको नदेखिँदा सो हदसम्म बदर गरी अभियोग दावीअनुसार हदैसम्म सजाय गरिपाऊँ भन्ने समेतको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी श्रवणकुमार झा, सुनीलकुमार झा र रमन झाको हकमा प्रतिवादी सत्येन्द्र झा र कृष्णकुमार झाले यी प्रतिवादीलाई पोल गरी बयान गरेको आधार लिई शुरुबाट भएको फैसला त्रुटिपूर्ण छ किनकी कृष्णकुमार पासवानलाई कुटपीट गरी ज्यान मार्ने हाम्रो कुनै संलग्नता रहेको मिसिल संलग्न कुनै प्रमाणबाट पुष्टि नहुँदा पनि शुरु अदालतबाट संलग्नता देखाई भएको फैसला गलत रहेकोले बदर गरी सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी सुनीलकुमार झा, श्रवणकुमार झा, रमणकुमार झाको पुनरावेदन अदालत, जनकपुरमा परेको पत्र ।
वारदात देख्ने भनेका जाहेरवाली देवसुनरीदेवीको जाहेरी दरखास्तको व्यहोरा र मौकामा कागज गर्ने हिरादेवी, अनुसन्धानको क्रममा कागज गर्ने बुधु पासवान, खुमलाल पासवान समेतको मौकाको कथन र निजहरूको अदालतमा भएको बकपत्र एक आपसमा मेल नखाई परस्परमा बिरोधाभाषपूर्ण भएको देखिएको, सत्येन्द्र झा र कृष्णकुमार झाको प्रहरीमा भएको सावितिलाई आधार बनाई निजहरू उपर कसूर कायम गरेको देखिएको, प्रतिवादी प्रसन्नकुमार, रमनकुमार, श्रवणकुमार, कृष्णकुमार, सुधिरकुमार र सुनीलकुमार झालाई मौकामा साविति हुने सहअभियुक्तको पोलको आधारमा कसूर कायम गरेको देखिएको र अन्य लास प्रकृति मुचुल्का, शव परीक्षण, तथा परिस्थितिजन्य प्रमाणको वस्तुपरक मूल्याङ्कन नगरी प्रमाणको रुपमा ग्रहण गरिएको समेतका आधारमा शुरुको फैसलामा फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकीललाई पेसीको सूचना दिने र शुरुले सफाइ दिएका आनन्दकुमार झा, लक्ष्मणकुमार झा, सूर्यदेव झा र भागिरथ झाको हकमा नेपाल सरकारको पुनरावेदन परेपनि निजहरूलाई झिकाई रहन परेन नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६१।११।९ गतेमा भएको आदेश ।
मृतकले विष सेवन गरेको भनी अभियुक्तहरूले अधिकारप्राप्त अधिकारीसमक्ष भन्न नसकेको, आरोपित कसूर गरेमा अभियुक्त सत्येन्द्र झाले प्रसन्नकुमार झालाई मौकामा नै पोल गरेको र अधिकारप्राप्त अधिकारीको बयानलाई अन्यथा प्रमाणित गर्न नसकेको तथा प्रेम सम्बन्ध भएकै कारण वारदात भएको समय भन्दा केही दिन अगाडि मुरलीचोकमा झगडा भएको र उसै बखत प्रतिवादी सत्येन्द्र झाले मृतकलाई ज्यान लिने धम्की दिएको तथा जातिय विभेदको परिणाम स्वरुप वारदात घट्न गएको भन्ने जस्ता परिस्थितिजन्य प्रमाणको विद्यमानता रहेको प्रस्तुत वारदातमा यी प्रतिवादी सत्येन्द्र झा र प्रसन्न झाले आवेशमा आई मृतकको कर्तव्य गरी मारेको भनी मान्न मिल्ने पनि भएन । अ.वं. १८८ नं. को प्रयोगको लागि सोको औचित्यता प्रचुर मात्रामा हुनुपर्ने सोको अभावमा निज प्रतिवादीहरू उपर व्यक्त गरिएको राय वस्तुगत भएको नदेखिँदा शुरु जिल्ला अदालतबाट अ.वं. १८८ नं. बमोजिम प्रस्तुत गरिएको राय मनासिब नदेखिई उक्त रायसँग सहमत हुन सकिएन । तसर्थ प्रतिवादीहरू सत्येन्द्र झा तथा प्रसन्न झालाई अभियोग दावीबमोजिम जन्मकैद हुने ठहर्छ ।
अव प्रतिवादी श्रवणकुमार झा र सुनीलकुमार झाको हकमा ज्यानसम्बन्धी महलको १७(२) नं. अनुरूप सजाय गरेको मिलेको छ छैन भनी हेर्दा, प्रतिवादीहरूको मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान हुन नसकेको तथा अदालतमा निजहरूले अन्यत्र भएको जिकीर लिएपनि घटनास्थलमा प्रतिवादी सुनीलकुमार झाको गम्छा भेटिई सनाखत भएको, उक्त सनाखत कागज अन्यथा प्रमाणित नभएको, घटनास्थलमा निजहरूको उपस्थिति भएको र लास बोकी हिंडेको अभियुक्त सत्येन्द्र झा समेतको पोल बयान तथा मिसिल संलग्न प्रमाणहरूबाट स्थापित भएको देखिँदा प्रतिवादीहरूका साक्षीहरूको बकपत्र बाहेक निजहरूको ब्ष्दिष् को जिकीरलाई खम्वीर गर्ने कुनै वस्तुनिष्ट प्रमाण समेतबाट पुष्टि भएको नदेखिँदा यी अभियुक्तले आफूले मृतक कृष्णकुमारलाई कर्तव्य गरी मारेको नदेखिएपनि वारदात स्थलमा समूहमा उपस्थित रही, मार्नेसम्मको परिपञ्च गरेको संयोग पारिदिएको देखिँदा निजहरूको हकमा ५ वर्ष कैद गर्ने गरी भएको फैसला मनासिबै ठहर्छ । त्यस्तै अर्का प्रतिवादी कृष्णकुमार झाले अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा बयान गर्दा सत्यन्द्र झाले आदेश दिने वित्तिकै प्रसन्नकुमार झाले मृतकलाई समाति घरभित्र ल्याएको भनी मौकामा दिएको बयानलाई अन्यथा भन्न नसकेको एवं निजले उक्त घटनामा आफ्नो संलग्नता नभई उक्त दिन सरस्वती उच्च मा.वि. सिन्धुपाल्चोकमा थिए भनी भने पनि सोको वस्तुनिष्ट प्रमाण पेश गर्न सकेको नदेखिएको मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान र मिसिल संलग्न प्रमाणको तादाम्यता रहेको स्थिति समेतलाई मध्यनजर राख्दा घटनामा निजको उपस्थिति रहेको र घटना घटाउन निजको समेत संलग्नता रहेको देखिँदा निजका हकमा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद गर्ने गरेको फैसला मनासिब ठहर्छ ।
प्रतिवादी सुधिर झा, रमन झाको अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा बयान भएको नदेखिएको अदालतमा आरोपित कसूरमा इन्कारी बयान दिए पनि मुख्य अभियुक्त सत्येन्द्र झाले मौकामा गरेको अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सबै प्रतिवादीहरू मिली लास बोकी फालेका हौं भनी बयान गरेको र मिसिल संलग्न प्रमाणहरूबाट समेत सुधिर झा र रमन झाको पनि वारदातस्थलमा उपस्थिति एवं लास बोक्नमा संलग्नता रहेको तथ्य प्रमाणबाट स्थापित भएको देखिँदा निजहरूका हकमा शुरु अदालतबाट ६ महिना कैद गर्ने गरी भएको फैसला कानूनसम्मत् देखियो । प्रतिवादीहरू सूर्यदेव झा, लक्ष्मण झा, भागिरथ झा र आनन्दकुमार झाका हकमा हेर्दा, मौकामा बयान दिने सत्येन्द्र झा, कृष्णकुमार झाले यी प्रतिवादीहरूको संलग्नता भएको भन्ने भनाई नभएको, मृतकलाई मार्ने मराउने कार्य यी प्रतिवादीहरूबाट भएको हो भनी ठोस र वस्तुगत प्रमाण समेत कहीँ कतैबाट स्थापित नहुँदा निजहरूलाई सफाइ दिने ठहर्याई गरेको फैसला मनासिब ठहर्छ ।
उल्लिखित आधार कारण तथा प्रमाणबाट समेत शुरु महोत्तरी जिल्ला अदालतले मिति २०६०।१२।१६ मा प्रतिवादी सत्येन्द्र झा तथा प्रसन्न झाको हकमा अ.वं. १८८ नं. प्रयोग गरी कम सजाय गर्ने गरी राय प्रस्तुत गर्ने बाहेकको अन्य कुरामा सो फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी सत्येन्द्र झा तथा प्रतिवादी प्रसन्न झाको हकमा शुरुले पेश गरेको अ.वं. १८८ नं. बमोजिमको राय सदर हुन नसकी उक्त फैसला उक्त प्रश्नमा सो हदसम्म केही उल्टी हुन्छ । सबै प्रतिवादीहरूलाई अभियोग दाविबमोजिम सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारका तर्फबाट तथा पुनरावेदक सत्येन्द्र झा समेतको प्रतिवादीहरूको आरोपित कसूर तथा शुरु जिल्ला अदालतबाट भएको सजायबाट सफाइ पाऊँ भन्ने समेतको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला ।
कृष्णकुमार पासवानको मृत्युलाई कर्तव्य ठहर गरी म पुनरावेदकलाई अभियोग दावीअनुसार सजाय गर्ने गरी भएको महोत्तरी जिल्ला अदालतको फैसला र पुनरावेदन अदालत, जनकपुरको फैसला प्रारम्भिक दृष्टिमा नै खारेजभागी छ । मृतकको भिसेरा नमूनाको प्रतिवेदनमा मृतक कृष्णकुमार पासवानको भिसेरा नमूनामा मुसा मार्ने बिष (जिंक आल्मुनियम फोस्फाइड) तथा किटनाशक विषादी पाइएन भनी प्रतिवेदन प्राप्त भएकोमा सो परीक्षणले किटनाशक विषादी पाइएन भनी प्रतिवेदन प्राप्त भएकोमा सो परीक्षणले लासमा विष प्रयोग भएको छैन भनी भन्न सकेको छैन । प्रहरी प्रतिवेदन प्रहरी प्रधान कार्यालयबाट तयार भएकोमा पछि RONAST मा पठाई RONAST बाट पनि सोही व्यहोरा उतार गरी प्रतिवेदनमा उल्लेख गरिएबाट लासमा विष छैन भनी अदालतले अनुमान गर्न मिल्दैन । लासमा विष प्रयोग भएको देखिएकोले Viscera Test गरिएको हो मिसिल संलग्न Suicide Note को व्यहोराले सो कुरा पुष्टि गर्दछ । अनुसन्धानले बिष नै प्रयोग भएको र Suicide note बाट पनि सो कुरा प्रमाणित भएबाट कुटपीट गरी ज्यान मारेको भनी ठहर गर्न मिल्ने होइन । suicide note को चर्चा सम्म नगरी फैसला भएको छ । प्रस्तुत मुद्दाको प्रारम्भिक अनुसन्धानबाट खडा गरिएको २ वटा कागजमध्ये पहिलो लासजाँच मुचुल्का मिति २०५८।६।१९ गते तयार गरिँदा उक्त मुचुल्कामा माथिल्लो सूचना खण्डमा लास फेला परेको भन्ने सूचना व्यहोरामा उल्लेख छ । त्यहाँ कर्तव्य गरी मारेको भन्ने लेखिएको छैन । उक्त कागज मृतकको आमा जाहेरवाली देवसुनरीदेवीको रोहवरमा खडा भएको छ । निज देवसुनरीदेवी प्रस्तुत मुद्दाको चश्मदिद गवाह भए पनि निजले लास जाँच गर्दा अनुसन्धान अधिकारीलाई कर्तव्यबाट मृत्यु भएको भनी भन्न सकेकी छैनन् । आफ्नै छोराको ज्यान मार्ने व्यक्तिलाई आफैले देखेको भए पनि सोको सूचना दिनुपर्ने र घटनास्थल समेत देखाई खानतलासी गराएको हुनुपर्ने भन्ने नेकाप २०५१ नि.नं. ४८८८ पृष्ठ २०९ मा प्रतिपादित सिद्धान्तअनुसार निजले प्रतिवादीको नाम दिन नसकेको र कर्तव्य पनि भन्न नसकेकोबाट प्रस्तुत मुद्दामा हामीलाई कर्तव्य ज्यानमा दोषी ठहर गर्ने गरी फैसला गर्न मिल्ने होइन ।
Post Mortem Report मा डाक्टरहरूले Viscera report प्राप्त नभएसम्म राय दिन नसक्ने भनेका र पछि निज डाक्टरहरूले अघि नै देखिएको चोटलाई नै देखाई Viscera Samples are negative for insecticide and rat poison. On the basis of above finding, the cause of death is shock resulted from sustained blunt injuries over head and left abdomen निष्कर्ष निकालेको छ भने लासमा देखिएको चोटमा Subdural hemtoma - 1"×1 Laceration lower back - 2"×11/2 Abtraction (1) elbow 1"×1 (2) cerebolum injured भनी चोट देखाइएको छ । उक्त चोटहरू External injuries शीर्षकमा राखिएको छ । उक्त चोटको शरीरको भित्री भागमा असर परेको छैन भन्नलाई लासको Internal examination भएको छैन यस्तो अवस्थामा Subdural Hematoma बाट मर्न Skull भित्र मस्तिष्कमा Internal bleeding अथवा Hemorrhage नभै मानिस मर्दैन भन्ने देखाइएको अन्य चोट अति नै सामान्य छ । Post mortem report मा राय दिँदा Viscera Samples are negative for insecticide and rat poison उल्लेख गरी राय दिएकोबाट Viscera report positive भएको भए उक्त उल्लिखित चोटहरू गौण रुपमा रहने थिए । उक्त प्रतिवेदन किटानी रुपमा नभै हचुवाका रुपमा दिएको थियो । कृष्णकुमार पासवानको मिति २०५८।६।१९ गते गरिएको लास जाँच मुचुल्का शंकास्पद र अविश्वसनीय छ । लासलाई बोकी ल्याई फालि भागेको भनी देखाइए पनि लासमा माटो लागेको देखिएको छैन । जवकी लासको वरीपरी हिलो देखाइएको छ । लासजाँच मुचुल्का अविश्वसनीय छ । लासको पोष्टमार्टम गर्दा मुखबाट रगत बगेको छैन ।
अनुसन्धानको क्रममा देखिएको Suicide Note र अञ्चल अस्पतालमा मृतक कृष्णकुमार पासवानको उपचार गराउन लगिएको प्रमाणलाई पुनरावेदन अदालत, जनकपुरले फैसला गर्दा अन्तरबिरोध भएको प्रमाण भएको र पेश निष्कर्षमा पुग्न नसकिने भनी तर्क गरेको छ । उक्त प्रमाणहरू कृष्णकुमार पासवानको मृत्युसँग सम्बन्धित भए पनि प्रमाणमा ग्रहण गरिएको छैन । शंकास्पद र अस्पष्ट रायलाई छानेर प्रमाण ग्रहण गरिएको छ । साविती बयान मेरो स्वेच्छाले दिएको होइन भन्ने कुरा अदालतसमक्ष बयान गर्दा उल्लेख गरेकोमा सोको चर्चा समेत फैसलामा भएको छैन । हिरादेवी र जाहेरवालीको बकपत्र एक आपसमा पूर्णतः बिरोधाभाष छ । निजहरू चश्मदिद गवाह होइनन् । हिरादेवी र जाहेरवालीले अदालतमा बकपत्र गर्दा रातको समयमा लास हेर्दा लासको हात फ्याक्चर भएको, हात खुट्टा भाँचिएको, टाउको तथा घाँटीमा काटिएको, अण्डकोषमा चोट लागेको देखेको भनी कागज गरेका तर निजहरूको स्वयंको व्यहोराबाट निजहरूले ज्यान मार्दा नदेखेको लास फालेको देखेको भन्ने उल्लेख भै जाहेरवालीको बकपत्र र हिरादेवीको बकपत्र पूर्णत बाझिएको छ । यस्तो अवस्थालाई पुनरावेदन अदालत, जनकपुरबाट फैसला हुँदा समेत केही उल्लेख नगरी फैसला भएको छ । म पुनरावेदक निर्दोष रहेको कुरा निर्विवाद रहेकोमा समेत दोषि ठहर गरी गरेको शुरु महोत्तरी जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेतको प्रतिवादी सत्येन्द्र झाको यस अदालतसमक्ष परेको पुनरावेदन पत्र ।
प्रतिवादी प्रसन्नकुमार झाका हकमा पुनरावेदन अदालत, जनकपुरको फैसला साधक सदर जाँचको लागि दायर भएको ।
मृतकको साथबाट बरामद गम्छा हामी पुनरावेदक मध्येका म सुनीलकुमार झाको हो भनी सनाखत भएको भन्ने तथ्य विपरीत हुने गरी उल्लेख भएको छ । मृतकको मृत्युको वास्तविक कारण नै यकीन नै हुन सकेको छैन । डाक्टरहरूले मृतकको मृत्यु Schock resulted from sustained blunt injuries over head and left abdomen भनी उल्लेख गरेको पाइन्छ । Autopsy report लाई कुनै पनि हालतमा प्रमाणमा ग्रहण गर्न मिल्दैन । किनभने Autopsy गर्ने डाक्टरहरूले मृत्युको कारण एकिन गर्न Viscera जाँच गर्न पठाएको र Viscera जाँचबाट कुनै नयाँ तथ्य नआएपछि उक्त राय दिएका हुन । मृतकको Autopsy गरिँदा मृतकले विष सेवन गरेको हुन सक्ने शंकाको आधारमा निजको Viscera जाँच निम्ति पठाइएको थियो । उक्त प्रतिवेदनबाट पनि नयाँ तथ्य फेला नपरी पहिलेकै व्यहोरा उल्लेख गरिएबाट उक्त प्रतिवेदन त्रुटिपूर्ण छ । विषहरूको परीक्षण हुन नसकेको अवस्थामा मृतकको मृत्यु ती विषको प्रभावबाट भएको छैन भनी पुनरावेदन अदालतबाट कुनै खण्डन हुन सकेको छैन । मृतकको मृत्यु विषको प्रभावको कारण भएको भन्ने कुरा मिसिल संलगन Suicide Note बाट स्थापित भैराखेको स्थिती छ । ०५८।६।१९ गते जाहेरवालीको रोहवरमा खडा गरिएको घटनास्थल एवं लास प्रकृति मुचुल्का हुँदाको अवस्था सम्ममा मृतकको मृत्युको सम्बन्धमा कोही कसैले पनि मृतकको मृत्यु कर्तव्यबाट भएको भनी भनेका छैनन् । वास्तविकता र सत्यता पनि त्यहीँ हो । पछि देवसुनरीदेवी लगायत केही व्यक्तिहरूले आफूलाई वारदातको चश्मदिद गवाहको रुपमा प्रस्तुत गरेको पाइन्छ । तर अनुसन्धान अधिकारीलाई निजले कुनै कुराको सूचना उपलब्ध गराएको पाइँदैन । मृतकको Suicide Note र अञ्चल अस्पतालमा मृतकको उपचार गराउन लगिएको थियो भन्ने प्रमाण कागजलाई पुनरावेदन अदालतबाट मूल्याङ्कन गरिएको छैन । Alibi को जिकीर समेतलाई मूल्याङ्कन गरिएको छैन । जाहेरी दरखास्तलाई मात्र पुनरावेदन अदालतबाट आधार लिइनु त्रुटिपूर्ण छ । जाहेरी दरखास्त र जाहेरवालीको बकपत्र बिरोधाभाषपूर्ण छ । जाहेरवालीको बकपत्रमा मृतकको हात खुट्टा भाँचिएको, टाउको एवं घाँटीमा काटिएको, अण्डकोष फ्याक्चर भएको लगायतका आफैले देखेको भनी लेखाइएको पाइन्छ जुन मिसिल संलग्न तथ्यबाट प्रमाणित हुन सकेको छैन । Viscera जाँच प्रतिवेदनबाट कुनै उल्लेखनीय राय प्राप्त हुन नआएको र Autopsy report मा Viscera samples are negative for insecticide and rat poison भएको कारण मृतकको मृत्यु उल्लिखित वा चोटपटकबाट परेको भनी देखाउन खोजेको पाइन्छ । यदि मृतकको शरीरमा कुनै विष भेटिएको भए मृतकको मृत्यु उल्लिखित चोटबाट भएको छैन भन्ने प्रमाणित हुन जाने निर्विवादित छ । यसै मुद्दाका अन्य प्रतिवादी सत्येन्द्र झाको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई हामी विरुद्ध ग्रहण गरिएको पाइन्छ जुन निर्विवाद रुपमा त्रुटिपूर्ण छ । मुद्दाको कुनै पक्षले अर्को पक्षलाई सहअभियुक्तको रुपमा पोल गर्छ भने उक्त पोललाई सोझै ग्रहण गर्न मिल्दैन । सहअभियुक्तको पोललाई स्वतन्त्र र विश्वसनीय प्रमाणहरूले समर्थित गर्नुपर्ने निर्विवाद छ । सो सम्बन्धमा नेकाप २०५५ नि.नं. ६६०१ अङ्क ९ पृष्ट ५३२ समेतका मुद्दाहरूमा सम्मानीत सर्बोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भैसकेको छ । उल्लिखित सिद्धान्तविपरीत हुने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला बदर गरी हामी पुनरावेदकहरूलाई पूर्ण रुपमा सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी सुनीलकुमार झा, श्रवणकुमार झा, रमणकुमार झा र सुधिर झाको यस अदालतसमक्ष परेको संयुक्त पुनरावेदन पत्र ।
Post mortem report बाट पिठ्यू, कम्मर, दाहिने कुहिनामा तछारिएको साथै टाउको अघिल्तिर चोट देखिएको साथै डाक्टरको रायमा The cause of death is shock resulted from sustained blunt injuries over head and left abdomen भनी उल्लेख भएबाट प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमारले मात्र कुटपीट गरी मारेको भन्न मिल्ने अवस्था छैन । सलाई किन्न गएको छोरा फर्की नआएकोले गंगा पासवान, खुशलाल पासमान समेतलाई लिई सत्येन्द्रको घरतिर जाँदा गाँईगुई आवाज सुनि हेर्दा छोरा कृष्णकुमारलाई मरणासन्न हुने गरी कुटपीट गरी कर्तव्य गरी मारी श्रवण, सत्येन्द्र, प्रसन्न, सुनीलकुमारले बोकी ल्याएको कुरा गंगा, बुद्ध खुशलाल पासवान समेतका साक्षीहरूले देखेको अवस्था छ । घटनामा तत्काल पुगी देखेका साक्षी रामपृत, पलट, किशोरी, सुन्दर पासवानको कागज र बकपत्र समेतबाट समेत प्रतिवादीहरू सूर्यदेव झा, रमणकुमार झा, श्रवणकुमार झा, कृष्णकुमार सहितका सम्पूर्ण प्रतिवादीहरूले योजनाबद्ध ढंगले कृष्णकुमार पासमानलाई कुटपीट गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको छ । प्रतिवादीहरूको छोरी, बहिनी, भतिजी नाताका सरोजकुमारीको प्रेम सम्बन्धका कारण जनकपुरको मुरलीचोकमा भेटी मृतकलाई सत्येन्द्र झा, र प्रसन्न झा समेतले कुटपीट गरेको र सोही कर्तव्यबाट मृत्यु भएको भनी कुटेको देख्ने सिताराम दासले गरिदिएको कागजबाट स्थापित छ । मृतककी दिदी हिरादेवीले भाइ कृष्णकुमारलाई खोज्न सत्येन्द्रको घर तिर जाँदा सो ठाउँमा सत्येन्द्र, प्रसन्न, सुनील, श्रवण, कृष्णकुमार झा समेतले मृतकको टाउको हात जिउमा समाई लास समाई फाली गएको भनी लेखाएको र सो तथ्य स्थापित गरी बकपत्र गरेको अवस्था छ । अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज गर्दा तल्लो जातका मृतकसँगको प्रेमसम्बन्धका कारण इज्जत जाने डरले सबै प्रतिवादीहरू मिली छलफल गरी मार्ने भनी मृतक घरमा आउनासाथ सत्येन्द्रले कुमारले हात समाई भित्र ल्याई मुख थुन्ने, प्रसन्नले लात्तिले हान्ने, अरुले हात मुक्काले हानेको छलफलका विषयमा प्रतिवादी कृष्णकुमारले आफू लगायत सूर्यदेव, सत्येन्द्र, प्रसन्न, रमणकुमार, श्रवणकुमार, लक्ष्मण, भागिरथ, आनन्दकुमार सुनील झा समेत भै सत्येन्द्रले टाउकोमा प्रसन्न र श्रवणले हात खुट्टाले, सुनीलले कम्मरमा अन्धाधुन्ध हानेको भनी उल्लेख गरेको अवस्था भएबाट ज्यानसम्बन्धी महलको १७ नं. अनुरूपको दावि ठहर भएका प्रतिवादी रमनकुमार, कृष्णकुमार, सुधिर, सुनील, श्रवणकुमार वारदातस्थलमा रही वारदातमा संलग्न भएको अदालतले ठहर गरेको छ । वारदात, चोटको प्रकृति, प्रतिवादीहरूको संलग्नता, वारदातको कारण अवस्था र इविबाट सबै प्रतिवादीहरू वारदातमा उपस्थित भै मृतकलाई समाउने चोट छाड्ने प्रत्यक्ष कार्य गरेको र सोही चोटबाट मरेको भए पनि यसैको चोटबाट मरेको भन्ने अवस्था नदेखिएकोले सबै प्रतिवादीहरूलाई प्रचलित कानूनअनुरूप ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम ठहर गर्नुपर्नेमा सो नगरी एवं कसूर ठहर भएका प्रतिवादी प्रसन्नकुमार झाको हकमा अ.वं. १८८ नं. को प्रयोजन गर्न सम्म नमिल्ने भनी ठहर गरेपछि समान स्तर र समान प्रमाणले गढाउ भएका अन्य अभियुक्तहरूको हकमा कम सजाय गरेको र सफाइ दिएको फैसला कानूनसम्मत् नहुँदा पुनरावेदन अदालत, जनकपुरबाट प्रतिवादीहरूलाई दावी परिवर्तन गरी र सफाइ दिने गरी पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी उल्लिखित प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेतको वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन पत्र ।
वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको सम्बन्धमा विचार गर्दा प्रतिवादीहरू सूर्यदेव झा, लक्ष्मण झा, आनन्दकुमार झा र कृष्णकुमार झाको हकमा शुरु र पुनरावेदन अदालतको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई लगाउको मुद्दाहरू समेत साथै राखी पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।
पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट फौ.पु.नं. ०३०४ र प्रतिवादीहरूको तर्फबाट फौ.पु.नं. ०१५७ र ०२३८ का पुनरावेदन पत्र परेको देखिँदा उक्त पुनरावेदनहरू एक अर्कोलाई जानकारी गराउने सो निमित्त फौ.पु.नं. ०१५७ र ०२३८ का पुनरावेदन पत्रहरूको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई लगाउका मुद्दा समेत साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने समेतको यस अदालतबाट मिति २०६७।५।१३ मा भएको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री धर्मराज पौडेलले प्रतिवादीहरू ११ जना वारदातमा संलग्न भएको र मृतकको घरमा नै वारदात भएको अवस्था छ । सरोजकुमारीसँग मृतकको प्रेम सम्बन्ध भएका कारण मृतकलाई मार्ने पूर्व रिशइवी राखी भेला जम्मा भै सबै प्रतिवादीहरू संलग्न भै मृतकलाई मारेको तथ्य स्पष्ट हुँदाहुँदै समान स्तरका केही प्रतिवादीका हकमा कम सजाय तथा केहीका हकमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर भै शुरु अभियोग दावीबमोजिम सजाय हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रतिवादी सत्येन्द्र झाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मोहन बञ्जारा क्षेत्रीले प्रतिवादी सत्येन्द्र झाको हकमा शुरु महोत्तरी जिल्ला अदालतबाट अ.वं. १८८ नं. बमोजिम राय लगाइएकोमा पुनरावेदन अदालतबाट सो रायलाई उल्टी गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पक्ष निर्दोष भएबाट सफाइ पाउनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै पुनरावेदक प्रतिवादी श्रवणकुमार झा समेतका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ता सतिशकुमार झाले सहअभियुक्तको पोललाई मात्र आधार मानी पक्षहरूलाई सजाय गरेको फैसला कानूनी त्रुटिपूर्ण छ । सत्येन्द्र झाको पोललाई मात्र आधार लिन मिल्ने अवस्था हुँदैन । स्वतन्त्र रुपबाट पुष्टि नभएसम्म सहअभियुक्तको पोललाई मात्र आधार मान्न मिल्ने नहुँदा पक्षहरूलाई कसूर कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पक्षहरूले अभियोग दावीबाट सफाइ पाउनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रतिवादी कृष्णकुमार झा, लक्ष्मणकुमार झा र भागिरथ झाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा अधिवक्ता धिरजकुमार यादवले पक्ष कृष्णकुमार झाका हकमा निजले कैद भुक्तान गरी रिहा भए पनि निजलाई कसूर कायम गरी भएको फैसला त्रुटिपूर्ण छ । त्यस्तै अन्य पक्ष लक्ष्मणकुमार झा र भगिरथ झाको वारदातमा कुनै संलग्नता नभएका कारण प्रमाणको मूल्याङ्कन गरी शुरु महोत्तरी जिल्ला अदालतबाट सफाइ दिने गरी भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला कानूनसम्मत् हुँदा सोही फैसला सदर कायम गरिपाऊँ भनी गर्नु भएको वहस समेत सुनियो ।
पक्ष विपक्षका तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीको वहस समेत सुनी पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने भई हेर्दा मृतक र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारी झाबीच प्रेमसम्बन्ध रहेको र मृतक दलित जाति र केटी झा बाहुन उच्च जातिको छोरी भएको कारण अभियोगपत्रमा उल्लिखित प्रतिवादीहरूले आपसमा पहिलेदेखि लिई आएको रिसइवीले सबै प्रतिवादीहरूले योजना बनाई भेला भई जाहेरवालीको छोरा कृष्णकुमार पासवानलाई मिति २०५८।६।१८ गते राति बाटोबाट समाति मुख नाक समेत थुनी प्रतिवादी सत्येन्द्र झाको घर भित्र लगि सत्येन्द्र झाले टाउकोमा प्रसन्नकुमार झा, श्रवणकुमार झाले हात, खुट्टा, मुक्काले पेटमा, सुनील झाले पछाडिपट्टी कम्मरमा, अरु सुधिर झा समेतका प्रतिवादीहरूले हात मुक्काले यत्रतत्र कुटपीट गरी कर्तव्य गरी मारी नांगै पारी फाली दिएको कुरा सप्रमाण पुष्टि भएको हुँदा अभियोगपत्रको विरुद्ध खण्डका प्रतिवादीहरू उपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. विपरीत कसूर गरेको अभियोगमा निज प्रतिवादीहरू उपर ऐ ऐनको १३(३) बमोजिम सजाय हुन अभियोग माग दावी भएकोमा सुरु धनुषा जिल्ला अदालतबाट प्रतिवादी सत्येन्द्र झा र प्रसन्नकुमार झालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जनही जन्मकैद भै जनही १० वर्षका दरले कैद हुन अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरेको, प्रतिवादी श्रवणकुमार झा र सुनीलकुमार झालाई ऐ को १७(२) बमोजिम जनही ५ वर्षका दरले कैद, प्रतिवादी कृष्णकुमार झालाई १७(३) बमोजिम २ वर्ष कैद, प्रतिवादी सुधिर झा र रमण झालाई ऐ को १७(३) बमोजिम जनही ६ महिनाको दरले कैद, प्रतिवादी सूर्यदेव झा, लक्ष्मण झा, भागिरथ झा, आनन्दकुमार झा समेतले अभियोग दावीबाट सफाइ पाउने ठहराई फैसला भएकोमा सोही फैसलाउपर वादी तथा प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालत, जनकपुरबाट फैसला हुँदा प्रतिवादीहरू सत्येन्द्र झा तथा प्रसन्न झालाई अभियोग दावीबमोजिम जन्मकैद हुने ठहरी शुरु महोत्तरी जिल्ला अदालतबाट अ.वं. १८८ नं. बमोजिम लगाइएको राय बदर हुने प्रतिवादी श्रवणकुमार झा र सुनीलकुमार झाको हकमा ५ वर्ष कैद गर्ने गरी भएको फैसला मनासिबै ठहर्ने । अर्का प्रतिवादी कृष्णकुमारका हकमा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम २ वर्ष कैद गर्ने गरेको फैसला सदर हुने तथा प्रतिवादी सुधिर झा, रमन झाको हकमा शुरु अदालतबाट ६ महिना कैद गर्ने गरी भएको फैसला सदर हुने र अन्य प्रतिवादीहरू सूर्यदेव झा, लक्ष्मण झा, भागिरथ झा र आनन्दकुमार झाका हकमा निजहरूलाई सफाइ दिने ठहर्याई गरेको फैसला सदर हुने ठहराई भएको फैसलाउपर प्रतिवादी मध्येका सत्यन्द्र झाको पुनरावेदन पत्र, प्रसन्नकुमार झाको हकमा साधक जाँचका लागि तथा अन्य प्रतिवादी सुनीलकुमार झा समेत जना ४ को संयुक्त पुनरावेदन पत्र र सजायमा चित्त नबुझी एवं सफाइ पाएका प्रतिवादीहरूको हकमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
२. अब प्रतिवादी सत्येन्द्र झाका हकमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद हुने ठहरी फैसला भै अ.वं. १८८ नं. को राय लगाई १० वर्षको कैद हुने ठहराई भएको फैसलालाई पुनरावेदन अदालत, जनकपुरबाट व्यक्त रायका हकमा उल्टी गरी अभियोग दावीबमोजिम जन्मकैद ठहराई गरेको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने भै हेर्दा, मृतक कृष्णकुमार पासमान र निज सत्येन्द्र झाको छोरी सरोजकुमारीका बीचमा भएको प्रेम सम्बन्धका विषयमा सत्येन्द्र झा समेतलाई थाहा जानकारी भै जातीय ऊँचनीचको कारणबाट मृतकलाई मार्ने योजना बनाएको अवस्था मिसिलबाट देखिन्छ । आफ्नी छोरीको प्रेम सम्बन्ध मृतक कृष्णकुमार पासमानका बीचमा रहेको तथ्य सार्वजनिक भएपछि छोरीले तल्लो जातको व्यक्तिसँग गरेको प्रेम सम्बन्धलाई जरिया बनाई प्रतिवादी सत्येन्द्र झाले मृतक कृष्णकुमारलाई कुटपीट गरेको भन्ने तथ्य निजको अधिकारप्राप्त अधिकारीसमक्षको बयानबाट देखिन्छ । निजले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा निजकी छोरी सरोजकुमारी र मृतकका बीचमा प्रेम सम्बन्ध रहेको थाहा पाई निजहरूलाई सम्झाउँदा समेत प्रेम सम्बन्ध नतोडी जारी राखेका कारण निजलाई मार्ने निष्कर्षमा पुगी अन्य प्रतिवादीहरूलाई बोलाएको र मिति २०५८।६।१८ गते राति अन्दाजी ९:३० बजेको समयमा मृतक कृष्णकुमार पासवान आफ्नो घरतर्फ आइरहेको देखी निजलाई समाती घरभित्र ल्याई मुख थुनी कुटपीट गरेको र निजको मृत्यु भएपछि फाली सबै प्रतिवादीहरू फरार भएको भनी बयान गरेको देखिन्छ । प्रेम सम्बन्धको विषय बनाई मृतक कृष्णकुमार पासवानलाई प्रतिवादी सत्येन्द्र झा समेतले कुटपीट गरी मारेको भनी एकिन किटानी जाहेरी दिएको देखिन्छ । सोही व्यहोरालाई समर्थन हुने गरी मृतककी दिदी हीरादेवी पासवानले मौकामा गरेको बयानमा आफू र आमा समेत भै भाइ कृष्णकुमार पासवानलाई खोज्न जाँदा यी पुनरावेदक सत्येन्द्र झाको घरमा प्रतिवादी सत्येन्द्र झा, प्रसन्न झा, सुनीलकुमार झा समेतका व्यक्तिहरूले हात खुट्टा र टाउको उचाली मृतकको लास बोकी लास फाल्न लगेकोमा सो कार्य आफूहरूले देखेपछि निज मृतकको लासलाई फालि गएको भनी उल्लेख गरी बयान गरेको देखिन्छ । ०५८।६।१८ गतेका दिन २:३० बजे यी पुनरावेदक सत्येन्द्र झाको घर बैठक पछाडि हल्ला भएको आफूले सुनेको भनी रामपृत यादव समेतको बयान कागजबाट देखिन्छ । Post Mortem Report मा भिसेरा जाँचका लागि पठाइएको नमूना परीक्षण नेगेटिभ पाइएको एवं मृत्युको कारणमा क्जयअप Shock resulted from sustained blunt injuries over head and left abdomen भनी स्पष्ट उल्लेख भएकोमा मृतकलाई कुटपीट गरेका कारण निजको मृत्यु भएको भन्ने समेत व्यहोरा उल्लेख भै यी पुनरावेदक प्रतिवादी सत्येन्द्र झा समेतले मृतकलाई कुटपीट गरेको कुरा सिद्ध हुन आउँछ । मृतक कृष्णकुमार पासवान दलित र प्रतिवादी सत्येन्द्र झाको छोरी सरोजकुमारीका बीचमा भएको जातीय विभेदको अन्तर्सम्बन्धका कारण उँच जातकी केटी र दलित जातको केटा भएको कारणबाट नै प्रतिवादीहरूले इज्जत जाने डरले मृतकको कर्तव्य गरी मृतकको मृत्यु भएकोमा विश्वास लाग्छ भनी वस्तुस्थिति मुचुल्कामा राजनारायण पासवान, सिताराम साह समेतका मानिसहरूले एकै मिलानको व्यहोरा उल्लेख गरेको देखिन्छ । मृतक र छोरीबीच भएको प्रेम सम्बन्ध नै मुख्य कारण बनेको र मृतक समेतलाई सम्झाउँदा पनि प्रेम सम्बन्ध जारी गरेका कारण अन्य प्रतिवादीहरू समेतको सहयोगमा मृतकलाई मार्ने मनसाय लिई योजना बनाई मृतकलाई कुटपीट गरी मारेको हो भनी पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा उल्लेख गरेकोमा निजले घटनाका दिन आफू घटनामा संलग्न नभएको भनी अदालतमा दिएको बयानलाई आधार मान्न सकिने विश्वसनियता देखिएन ।
३. मृतक र आफ्नी छोरीबीच भएको प्रेम सम्बन्ध झाँगिदै गै अन्य रुप लिन सक्ने अवस्थालाई आंकलन गरी यी पुनरावेदक प्रतिवादी सत्येन्द्र झाले प्रेम सम्बन्धका सम्बन्धमा छोरी समेतलाई सम्झाउँदा समेत नमानेका कारण निज मृतक कृष्णकुमार पासवानलाई मार्ने योजना बनाई मार्ने मनसायले अन्य प्रतिवादीहरू समेत भेला गराई मिली निजका घरतर्फ आइरहेको मृतकलाई आफ्नो घरभित्र लगि कुटपीट गरेको अवस्थालाई अस्वाभाविक अवस्था मान्न सकिएन ।
४. मृतकलाई कुटपीट गरी मार्ने कार्यमा प्रत्यक्ष संलग्न रहेका यी प्रतिवादी सत्येन्द्र झाको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) को कसूरजन्य कार्य हुँदा निजले ऐ. को १३(३) नं. बमोजिम जन्मकैदको सजाय वहन गर्नुपर्ने हुन्छ । जहाँसम्म शुरु जिल्ला अदालतबाट यी पुनरावेदक सत्येन्द्र झालाई अ.वं. १८८ नं. बमोजिम १० वर्षको राय लगाइएको उपर पुनरावेदन अदालत, जनकपुरबाट सो राय बदर गरी जन्मकैद नै हुने ठहरी भएको फैसलातर्फ हेर्दा, मृतकलाई मार्ने पूर्व योजना बनाई मार्ने मनसायले अन्य व्यक्तिहरू समेत भेला जम्मा पारी बाटामा हिडिरहेको मृतकलाई आफ्नो घरभित्र लगी कुटपीट गरी सोही कुटपीटका कारणबाट मृतकको मृत्यु भएको अवस्थालाई आवेशमा आई हत्या गरेको वा अन्य कुनै भावावेसमा आई भवितव्यको प्रकृति भएको भन्न मिल्ने अवस्था समेत देखिन्न । मार्ने मनसाय लिई स्पष्ट योजना बनाई सबै परिपञ्च मिलाई मृतकलाई कुटपीट गरी निजको मृत्युपश्चात् आपराधिक दायित्वबाट उन्मुक्ति पाउने मनसाय समेत राखी मृतकको लास समेत फाल्न हिडेको अवस्थामा मृतककी आमा तथा दिदीले देखेका कारण सोही स्थानमा नै लास फाली हिडेको भन्ने मिसिल संलग्न कागजातबाट देखिन्छ । स्पष्ट नियत र योजनाका साथ आपराधिक क्रियाकलाप गरी सोको परिणाम समेत विचार गरी गरिने कुनै पनि आपराधिक कार्य भावावेस र भवितव्य मान्न सकिने हुँदैन । त्यसरी स्पष्ट, योजना मुताबिक र मनसायपूर्ण तरिकाबाट गरिने आपराधिक कार्यलाई उन्मुक्ति दिँदै जाने र कसूरको गाम्भीर्यतालाई निष्प्रयोजित तुल्याई दण्डको प्रभावकारीतालाई नजर अन्दाज गर्दै जाने हो भने कानूनको मनसाय पूरा हुन सक्दैन । अ.वं. १८८ नं. को प्रयोग उचित, खास र मनासिब अवस्थामा मात्र हुने हो । त्यसका लागि निर्णय गर्ने अधिकारी वा निकायले अत्यन्त चनाखो समेत हुन वाञ्छनीय हुन आउँछ । प्रस्तुत मुद्दामा त्यस्तो खास अवस्था वा परिस्थितिबाट यी पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिने वस्तुनिष्ठ आधार र कारण समेत देखिन्न । अ.वं. १८८ नं. को प्रावधान अन्तर्गत छूट दिनुपूर्व मुद्दाको प्रकृति, अभियुक्तको स्थिति र व्यवहार, जुन कसूरको अभियोग लगाइएको हो सो कसूर गरेबापत हुने सजाय पूरै मात्रामा तोक्दा कसूर गर्दाको परिस्थिति र कसूरदारको संलग्नताको प्रकृति हेर्दा न्याय र विवेकको आधारमा केही छूट दिनुपर्ने हो भन्ने लागेमा आकर्षित गर्ने विशेष व्यवस्था हो । प्रस्तुत मुद्दामा मृतक र प्रतिवादीको छोरी वहिनी बीचको प्रेम सम्बन्धलाई जातीयता, छुवाछुत, माथिल्लो वा तल्लो तहको वर्गीयता र सामाजिक प्रतिष्ठाको समेत सन्दर्भमा हेरिएको पाइन्छ । आफ्नो छोरीले विद्यमान सामाजिक संरचनाको सन्दर्भमा आफूभन्दा कमजोर वा तल्लो जातीय वा आर्थिक स्तरको व्यक्तिसँग प्रेम सम्बन्ध राखेको कारणबाट छोरीको प्रेमीले अपमानित र दण्डित भई मारिनु पर्नेसम्मको स्थिति पैदा गरिएको छ । प्रेम एउटा पवित्र र उदात्त मानवीय सम्बन्धको उत्कृष्ठ अभिव्यक्ति हो, यो लिङ्ग, जातजाति, वर्ग यहाँसम्मकी राष्ट्रियताको सीमाभन्दा माथि रहन्छ । यसको सम्मान गर्नु र प्रेमपूर्ण सम्बन्ध व्यवहार गर्नु वा गर्न दिनु मानवताको धर्म हो । प्रेम निन्दनीय वा दण्डनीय र घृणा वा वदलाको भाव सह्य र ग्राह्य कहिल्यै हुन सक्दैन । स्वतः स्फूर्त रुपमा विकसित प्रेम सम्बन्धलाई प्रेम गर्नेंहरूको परिवारले सहयोग र सुविधा दिनुपर्नेमा त्यसको ठीक उल्टो आफ्नै प्रिय परिवारजन पक्ष रहेको प्रेम सम्बन्धलाई असफल बनाउन अर्का प्रेमीको हत्यासम्म गर्ने र निजको परिवारजन र समग्र समाजलाई अहित र कलंकित बनाउने कुरा पराकाष्ठाको निन्दनीय व्यवहार हो । हुनलाई जातीय उचनीचको आधारमा प्रेमको अर्को पक्षलाई समाप्त गरेर भए पनि आफ्नो सामाजिक उच्चता र प्रतिष्ठा जोगाउन पर्ने मनोबिज्ञान पालेका व्यक्ति, समुदायहरू समाजमा नभएका होइनन् । तर त्यस्तो मनोविज्ञानलाई शून्य सहनशीलताको साथमा निपट्न जरुरी छ । अन्यथा परम्परागत शोषणजन्य सामाजिक प्रणालीमा एक वर्ग, अकारण श्रेष्ठ, सम्मानीत र उच्च रहने र अर्को वर्ग जस्तोसुकै इमानदार व्यवसायीक श्रम सीप र प्रतिभाको अतिरिक्त अपमानित हुनुपर्ने सामाजिक भेदभावपूर्ण सम्बन्ध र व्यवस्थालाई निरन्तर गर्ने परोक्ष सहयोग पुगिरहन सक्दछ ।
५. समाजका हरेक सदस्यलाई सम्मानपूर्वक मानवोचित जीवन जिउने हक रहन्छ र जीवनको सम्पूर्ण सुख र स्वतन्त्रताको खोजी गर्ने हक रहन्छ भन्ने कुरा समाजका हरेक सदस्यले हृदयंगम नगर्ने हो भने समाज यसको सदस्यको लागि सहायक नभै वाधक बन्दछ । समाज यसका सदस्यको लागि सुरक्षा कवच हुनुपर्दछ र व्यक्तिगत तथा सामाजिक विकासको लागि मानवीय सम्बन्ध र सद्भाव प्रवर्द्धन गर्ने कारक हुनुपर्छ अन्यथा मानव सभ्यताको इतिहासमा नै कालो धब्बाको रुपमा रहेको जातीय छुवाछुत जस्तो कुरालाई कुनै बहानामा सहन गरी त्यसको आवरणमा हुने ज्यान मार्ने जस्तो अपराधमा पनि हलुको दृष्टिकोण लिई सहन गर्ने प्रवृत्ति कायम राख्न मद्दत गर्ने हो भने व्यक्तिको जीवनको हक, समानताको हक, छुवाछुत विरुद्धको हक, स्वतन्त्रताको हक, शोषण विरुद्धको हक लगायतका अनेकौं अन्तरसम्बन्धित हकहरू उल्लंघन गर्ने आधारहरू टिकिरहन जान्छन्, जुन कुनै हालतमा पनि सह्य हुन सक्दैन । अरुको जीवन र आत्मसंयमको हकलाई तृण बराबर ठान्ने र त्यसलाई मासेर भए पनि आफ्नो वा आफ्नो परिवारको कृत्रिम उच्चता प्रदर्शित गर्ने सोच, संस्कार र व्यवहार कायम रहेसम्म समाजमा समानता र न्यायको उद्बोधन हुन नसक्ने हुनाले भेदभाव र असमानता रुपी विषम र विकृत परिस्थितिमा एक जना निहत्था र निर्दोष व्यक्तिलाई धेरै मानिस मिली षड्यन्त्रपूर्वक गरेको हत्यामा पनि हलुको दृष्टिकोणले सजाय कम गर्नु विवेकहीन हुने हुनाले शुरु महोत्तरी जिल्ला अदालतको अ.वं. १८८ बमोजिमको रायसँग असहमति जनाई पुनरावेदन अदालतले कानूनबमोजिम तोकेको सजाय मिलेकै देखिन आउँछ । अतः शुरु महोत्तरी जिल्ला अदालतबाट यी प्रतिवादीका हकमा लगाइएको अ.वं. १८८ नं. को रायका आधारमा १० वर्ष कैद तोकिएको फैसला वस्तुगत नदेखिँदा सोही फैसलामा लिइएको अ.वं. १८८ नं. को हदसम्मको राय उल्टी गरी प्रतिवादी पुनरावेदक सत्येन्द्र झालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराई भएको पुनरावेदन अदालत, आत्मसंयम जनकपुरको मिति २०६३।२।३।४ को फैसला कानूनसम्मत् नै देखिन आयो ।
६. अब अर्का प्रतिवादी प्रसन्नकुमार झाका हकमा साधकको रोहबाट पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला मिलेको छ छैन त्यसतर्फ विचार गर्दा, यी प्रतिवादी प्रसन्नकुमार झा समेतको संलग्नतामा मृतक कृष्णकुमार पासवानलाई कुटपीट गरी मारेको भनी निजउपर स्पष्ट रुपमा किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादी सत्येन्द्र झाको अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा यी प्रतिवादी प्रसन्नकुमार झासहित संलग्न सबै प्रतिवादीहरू मिली कुटपीट गरी मारेको भनी उल्लेख गरेको देखिन्छ । सोही व्यहोरालाई समर्थन गर्ने गरी मृतककी दिदी हिरादेवीले गरिदिएको बयान कागजमा समेत प्रसन्न झा समेतका व्यक्तिले कसैले हात, कसैले खुट्टा र कसैले टाउको उचाली मृतकको लास फाल्न लागेको आफूले देखेको भनी खुलाई बयान दिएको देखिन्छ । निजले प्रसन्नकुमार झा वारदातमा आफ्नो संलग्नतालाई अस्विकार गरी आफू वारदातको दिन जनकपुरमै बसेको भनी Alibi को जिकीर लिएपनि अन्यत्र रहे भएको खास प्रमाण पेश गर्न सकेको देखिँदैन । घटनामा प्रत्यक्ष संलग्न रही अर्का प्रतिवादी सत्येन्द्र झा समेतको संलग्नतामा मृतकलाई कुटपीट गरी कर्तव्य गरी मारेकोमा प्रत्यक्ष संलग्नता रहेको मिसिल प्रमाणबाट देखिएकोमा यी प्रतिवादीको वारदातमा संलग्नता नै थिएन भनी निजले भन्दैमा सोही कथनलाई विश्वसनीय मान्न मिल्दैन । पुनरावेदक प्रतिवादी सत्येन्द्र झाका हकमा र यी प्रतिवादी प्रसन्नकुमार झाका हकमा समेत शुरु महोत्तरी जिल्ला अदालतबाट अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैदको राय लगाएको देखिन्छ तर मुद्दाको मिसिल संलग्न प्रमाण एवं प्रतिवादी सत्येन्द्र झाका हकमा माथि विवेचित आधार प्रमाणबाट समेत यी प्रतिवादी प्रसन्नकुमार झाका हकमा समेत अ.वं. १८८ नं. को राय सान्दर्भिक हुने नदेखिँदा पुनरावेदन अदालत, जनकपुरबाट सोही रायलाई बदर गरी यी प्रतिवादी प्रसन्नकुमार झालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराई भएको फैसला कानून तथा न्यायको रोहमा मिलेकै देखियो । निज प्रसन्नकुमार झाले पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर चित्त नबुझी यस अदालतमा पुनरावेदन दायर गरेको र यस अदालतबाट उक्त ०६३–CR–००९० को मुद्दामा निज पुनरावेदक प्रसन्नकुमार झाले निजले लिएको दावी जिकीर पुर्याउन असमर्थ भएकोले पुनरावेदन फिर्ता पाऊँ भनी कारागार कार्यालय पर्सा वीरगञ्ज मार्फत् निवेदन दिएको देखिँदा पुनरावेदन अदालत, जनकपुरले सजाय गर्ने गरेको निर्णय कायमै राखी अ.वं. ९२ नं. बमोजिम फिर्ता लिन यस अदालत संयुक्त इजलासबाट मिति २०६५।१०।५।१ मा आदेश भएको देखिँदा समेत निजका हकमा पुनरावेदन नै फिर्ता लिएकोले पुनरावेदनको रोहबाट केही बोल्न परेन । पुनरावेदन अदालत, जनकपुरबाट भएको सजायको निर्णय कायमै भै साधक सदर हुने ठहर्छ ।
७. अब अन्य प्रतिवादीहरू सुनीलकुमार झा, श्रवणकुमार झा, रमणकुमार झा, सुधिर झाका हकमा भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने भै हेर्दा, प्रतिवादीमध्येका श्रवणकुमार झा र सुनीलकुमार झालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) बमोजिम ५, ५ वर्ष र प्रतिवादी रमणकुमार झा र सुधिरकुमार झालाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ६ महिना कैद सजाय हुने गरी शुरु महोत्तरी जिल्ला अदालतबाट फैसला भएको र सोही फैसलालाई पुनरावेदन अदालत, जनकपुरबाट सदर गरेको देखिन्छ । श्रवणकुमार झा र सुनीलकुमार झाले आफू वारदातमा संलग्न नभएको भनी अदालतसमक्षको बयानमा उल्लेख गरेपनि आफू अन्यत्र रहेको जिकीर पेश गर्न सकेको देखिन्न । वारदातस्थलमा निजहरूको समेत उपस्थिति रहेको भनी हिरादेवी पासवान समेतको बयान कागजबाट देखिन्छ । सो उपस्थितिलाई अन्यथा होइन भनी यी प्रतिवादीहरूले भन्न सकेको देखिन्न । अदालतबाट बुझिएका खुसलाल पासवान, गंगा पासवानको एकै मिलानको कागजमा श्रवणकुमार झा, सुनीलकुमार झा समेतले लास बोकी फालिरहेको अवस्थामा आफूले देखेको भनी उल्लेख गरिदिएको देखिन्छ । प्रतिवादी सुनीलकुमारको गम्छा घटनास्थलमा भेटिएको र सो गम्छा प्रतिवादी निस्सुनीलकुमार झाले सनाखत गरेको अवस्था विद्यमान हुँदा समेत निजको वारदातस्थलमा संलग्नता भएको पुष्टि भएको देखिँदा निजले आफू अन्यत्र भएको कुराको जिकीर लिँदैमा पर्याप्त नहुने एवं लास बोकी हिडेको भन्ने सत्येन्द्र झाको समेतको पोल बयानबाट देखिँदा वारदातमा निजको संलग्नता रहेको देखियो । त्यस्तै अर्का प्रतिवादी श्रवणकुमार झा समेतको घटनास्थलमा उपस्थिति रहेको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदा मृतकको कर्तव्य गरी मार्नमा निजहरूले संयोग पारिदिएको अवस्था देखिएको आधार लिई निजहरूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसार ५ वर्ष कैद गरेको र सोही फैसलालाई पुनरावेदन अदालत, जनकपुरबाट सदर भएको देखिन्छ ।
८. पुनरावेदक मध्येका श्रवणकुमार झा र सुनीलकुमार झाका हकमा कसूरमा संलग्न भएको कुरामा आफू सावित भै कृष्णकुमारले गरेको पोल समेतका आधारमा निजहरूलाई कसूर कायम गरेको देखिन्छ । कृष्णकुमार झाका हकमा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय गरेको देखिएको र समान स्तरका समान कसूरमा सजाय पाएका अर्का प्रतिवादी कृष्णकुमार झालाई शुरु महोत्तरी जिल्ला अदालतबाट २ वर्ष कैद हुने ठहरी फैसला भएको र निजले फैसलाले ठहरे बमोजिमको सजाय भुक्तान गरी पुनरावेदन नगरी बसेको भन्ने मिसिल संलग्न कागजातबाट देखिन्छ । मृतकको मृत्यु हुँदा कर्तव्य गरी मारिदिन संयोग पारिदिने यी प्रतिवादीहरू कृष्णकुमार झा, श्रवण झा एवं सुनीलकुमार झाका हकमा ज्यानसम्बन्धी १७(२) बमोजिम २ वर्षका दरले कैद सजाय हुनुपर्नेमा प्रतिवादी कृष्णकुमार झालाई २ वर्ष कैद तथा यी पुनरावेदक प्रतिवादी सुनीलकुमार झा र श्रवणकुमार झालाई ५ वर्ष कैद हुने ठहराई भएको फैसला कानूनसम्मत् नदेखिँदा यी प्रतिवादी सुनीलकुमार झा र श्रवणकुमार झाका हकमा पुनरावेदन अदालत, जनकपुरको फैसला नमिली उल्टी भै निजहरूलाई ज्यानसम्बन्धी महलको १७(२) बमोजिम २ वर्ष कैद हुने ठहर्छ ।
९. अन्य प्रतिवादी सुधिर झा र रमणकुमार झाका हकमा विचार गर्दा निजहरूले अदालतको बयानमा आफू अन्यत्र भएको जिकीर गरेपनि मुख्य अभियुक्त सत्येन्द्र झाको अधिकारप्राप्त अधिकारीसमक्षको बयानबाट समेत यी प्रतिवादीहरूको वारदातस्थलमा संलग्नता रहेको पुष्टि हुन आएको देखिँदा निजहरूको हकमा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला कानूनसम्मत् हुँदा सदर हुने ठहर्छ ।
१०. अब अन्य प्रतिवादीहरू सूर्यदेव झा, आनन्दकुमार झा, लक्ष्मण झा र भागीरथ झालाई अभियोग दावीबाट सफाइ दिएउपर एवं अन्य प्रतिवादी सुनीलकुमार झा, कृष्णकुमार झा, श्रवणकुमार झा र रमनकुमार झाका हकमा कम सजाय भएउपर नेपाल सरकारको पुनरावेदन जिकीर देखिन्छ । प्रतिवादीहरू सुनीलकुमार झा, कृष्णकुमार झा, श्रवणकुमार झा र रमनकुमार झाका हकमा माथि उल्लिखित खण्डमा विवेचना भएबाट थप उल्लेख गरिरहन परेन । अन्य प्रतिवादीहरू सूर्यदेव झा, लक्ष्मण झा, आनन्दकुमार झा र भागीरथ झालाई सफाइ दिने गरी भएको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छ छैन त्यसतर्फ हेर्दा, यी प्रतिवादीहरू मृतक कृष्णकुमार पासवानको कर्तव्य गरी मार्न वारदातमा उपस्थित भएको, मार्नमा परिपञ्च गरी संयोग पारीदिएको वा वारदातस्थलमा रहेको भन्ने तथ्ययुक्त आधार प्रमाण वादी पक्षबाट पेश हुन सकेको देखिँदैन । यी प्रतिवादीहरू स्पष्ट रुपमा मृतक कृष्णकुमार पासवानलाई कुटपीट गरी मार्ने, मराउने वा मार्नमा संयोग पारी दिई परिपञ्च मिलाईदिने वा वारदात स्थलमा रहे भएको भन्ने स्पष्ट प्रमाणको अभावमा फौजदारी अपराधको कसूरमा सजाय गर्न मिल्ने नदेखिँदा निज प्रतिवादी सूर्यदेव झा, लक्ष्मण झा, आनन्दकुमार झा र भागीरथ झालाई अभियोग दावीबाट सफाइ दिने ठहराई भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसलामा कुनै कानूनी त्रुटि देखिएन । निजहरूका हकमा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
११. अतः माथि विवेचित आधार प्रमाणबाट समेत पुनरावेदक प्रतिवादी सत्यन्द्र झाका हकमा अ.वं. १८८ नं. को राय लगाइ भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसला रायका हकमा उल्टी गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याई भएको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देखिँदा सदर हुन्छ । अर्का प्रतिवादी प्रसन्नकुमार झाको हकमा पुनरावेदन नै फिर्ता लिएको मिसिलबाट देखिएकोले केही बोल्न परेन, निजका हकमा पुनरावेदन अदालत, जनकपुरबाट भएको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । प्रतिवादीहरू श्रवण झा र सुनीलकुमार झाका हकमा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला नमिली केही उल्टी भै निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम २ वर्ष कैद हुन्छ । प्रतिवादी रमणकुमार झा र सुधिरकुमार झाका हकमा पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला सदर हुन्छ । सफाइ पाउने प्रतिवादीहरू सूर्यदेव झा, आनन्द झा, भगिरथ झा र लक्ष्मण झालाई अभियोग दावीबाट सफाइ दिने गरी भएको शुरु महोत्तरी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला सदर हुन्छ । पुनरावेदक प्रतिवादी सत्यन्द्र झा तथा वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी मध्येका श्रवणकुमार झा र सुनीलकुमार झा का हकमा पुनरावेदन अदालत, जनकपुरको फैसला उल्टी भै निजहरूलाई ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम जनही २ वर्षका दरले कैद हुने ठहरी फैसला भएकोले शुरु महोत्तरी जिल्ला अदालतले निजहरूका हकमा राखेको लगत कायम रहन नसक्ने हुँदा उक्त लगत कट्टा गरी निज श्रवणकुमार झा र सुनीलकुमार झाका हकमा जनही २ वर्ष कैदको लगत कायम राखी असूल गर्नु र निजहरूलाई लागेको कैद असूल भएपछि निजहरूले पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन गर्दा राखेको जेथा अन्य मुद्दा वा कारणबाट रोक्का राख्न नपर्ने भए प्रस्तुत मुद्दाको हकबाट मात्र फुकुवा गरी दिनु भनी शुरु महोत्तरी जिल्ला अदालतमा लेखी पठाइदिनू ––––––––१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ––२
उक्त रायमा म सहमत छु ।
न्या.प्रेम शर्मा
इति संवत् २०६८ साल असार २७ गते रोज २ शुभम्
इजलास अधिकृत : विष्णुप्रसाद गौतम