शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४९४ - सम्वन्ध विच्छेद ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६४९४          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय

संवत् २०५२ सालको फौ.पु. नं.- -२

फैसला मितिः- २०५४।५।२३।२

 

मुद्दाः- सम्वन्ध विच्छेद  ।

पुनरावेदक/ वादीः   जिल्ला कास्की, पोखरा न.पा. वडा नं. १ बस्ने चिजकाजी गुरुङ  ।

विरुद्ध

विपक्षी/प्रतिवादीः   जिल्ला कास्की, पोखरा न.पा. वडा नं. १ घर भै हाल ऐ. ऐ. वडा नं. १६ तल्लो दिप बस्ने आसमाया गुरुङ  ।

 

  • दोश्रो विवाह गरी विदेशमा नोकरी गरी वस्ने पतिसाथ वस्न सक्ने परिस्थिति प्रस्तुत मुद्दाको सन्दर्भमा श्रृजित भएको देखिदेन । पति घरमै वसेको अवस्थामा पत्‍नीले निजको मंजुरी वेगर मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ को देहाय १ विपरितको अवस्था नभएको पतिले साथै लान इन्कार गरेको स्थितिमा माइतीमा वस्दै आएकी श्रीमतीसंग सम्वन्ध विच्छेद गरी पाउं भनी लिएको दावी मनासिव मान्न सकिएन । अतः वादी प्रतिवादी वीच सम्वन्ध विच्छेद हुने ठहराएको शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको मिति २०५२।२।१९।६ को इन्साफ मनासिव ठहर्ने ।

(प्र.नं. १५)

पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री उमेश खकुरेल

प्रतिवादी तर्फबाटः x

अवलम्वित नजिरः x

फैसला

न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत पोखराको मिति २०५२।२।१९ को फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा यस प्रकार छः-

२.             म २०३६ साल देखि वृटिश सरकारको सैनिक सेवामा कार्यरत भएको २०३७ सालमा विपक्षीको विवाह मेरो फोटोसंग सम्पन्न भएछ। मैले पनि निजलाई श्रीमतीको रुपमा ग्रहण गरे तर पछि उनी मेरो घरमा नबसी माइतीमा वस्न थालिन र २०४३ सालमा म छुट्टिमा आउंदा घरमा ल्याई राखन कोशिस गरे तर निज मेरो घरमा आई बस्न मानिनन् आफू खुशी वस्ने गरेकी छन । यस्तो भएबाट मेरो वृद्ध वावु आमाको समेत उचित संरक्षण हुन सकेको छैन त्यसकारण विपक्षी आसमाया संग लोग्ने स्वास्नीको सम्वन्ध कायम राख्नु भन्दा विच्छेद गर्नु नै उचित देखेको हुंदा यो दरखास्त लिई आएको छुं । अतः लोग्ने स्वास्नीको १ क.  नं. अनुसार कारवाही गरी सम्वन्ध विच्छेद गरी पाउं भनी चिजकाजी गुरुङको मिति २०४९।११।६ मा पोखरा नगरपालिकामा चढाएको दरखास्त पत्र रहेछ ।

३.             मुलुकी ऐन, लोग्ने स्वास्नीको नं. मा भएको कानूनी प्रावधान अनुसार पोखरा न.पा. वडा नं. १ वस्ने चिजकाजी गुरुङले पोखरा न.पा. वडा नं. १६ दिप माइती घर वस्ने आफ्नी श्रीमती आसमाया गुरुङसंग लोग्ने स्वास्नीको निवेदन आज बसेको पोखरा न.पा. वोर्ड को वैठकमा पेश हुंदा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १(क) नं. मा भएको कानूद्दी प्रावधान अनुसार दुवै पक्ष विपक्ष वीच अर्थात लोग्ने चिजकाजी गुरुङ र स्वास्नी आसमाया गुरुङ वीच स्थापित वैवाहिक सम्वन्ध मेल मिलाप हुन सक्ने स्थिति नदेखिएकोले र मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १(क) नं. को कानूनी प्रकृया समेत पोखरा न.पा. ले पुरा गरेको हुंदा यस विषयमा कानून वमोजिम नर्णय एवं किनारा हुनको लागि श्री कास्की जिल्ला अदालत पोखरामा अनुरोध गरी पठाउने यस वैठकको राय भएकोले पक्ष विपक्षलाई मिति २०५०।१।१० गतेका दिन १० बजे श्री कास्की जिल्ला अदालत पोखरामा पठाउने मिति २०५०।१।६ मा बसेको पो.न.पा. वोर्डको वैठकबाट निर्णय  भएकोले निर्णय अनुसार हुन सम्वन्धित मिसिल यसैसाथ राखी पठाएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको प.सं. २०४९।५० च.नं. २३९३ मिति २०५०।१ को पत्र साथ दुवै पक्षलाई सम्मानित अदालतमा हाजिर हुने गरी तारेख तोकिएको मिसिल कास्की जिल्ला अदालतमा प्राप्‍त हुन आई दायर भएको ।

४.             मैले विपक्षी आसमाया गुरुङको फोटोसंग २०३७ साल असोज महिनामा विवाह गरी २०३९ सालमा घरमा  आएपछि हामी दुई लोग्ने स्वास्नीको सम्वन्ध राम्रो भै २०४० साल पौष महिनामा आसित गुरुङ  नाम गरेको १ छोराको जन्म भयो हाल निज छोरा १० वर्षको पुगेको छ  । म २०४३ साल असार ९ गते विदेशबाट विदामा आउंदा निज आसमाया घरमै थिइन र पछि म सित वांकी टेढो मेढो भै ९ दिन पछि माइत गइन र पन्च भलादमी राखी संझाई बुझाई गर्दा पनि नमानी हाम्रो सम्वन्ध कायम हुन नसकी हाल ६ वर्ष भन्दा वढी माइतमा बसेको भै सकेकोले सो आधारमा नगर पालिकाको निर्णय अनुसार सम्वन्ध विच्छेद मुद्दा यसै अदालतमा दिइएको छ । पुनः वयानमा पटक पटक दोहोर्‍याउन चाहन्न पहिला यसै अदालतमा दिइएको वयान नगरपालिका कार्यालयमा दिइएको निवेदन र वहु विवाहको वयान सर्जमिनलाई प्रमाणित गरी सो निवेदन पेश गर्न चाहन्छु । सो को प्रमाणित कुराहरु पछि पेश गर्ने छुं । हाल कान्छी श्रीमतीको म संग विवाह गरेको विवाह दर्ताको फोटोकपी नक्कल साथै पेश गरेको छुं भन्ने समेत व्यहोराको निवेदक वादी चिजकाजी गुरुङले मिति २०५०।१०।११ मा कास्की जिल्ला अदालतमा गरेको वयान ।

५.             कास्की जिल्ला अदालतको आदेशानुसार वादीले प्रमाण स्वरुप पेश गरेको प्रतिवादी चिजकाजीले लालन पालन गर्ने सम्वन्धमा भएको ४ जुलाई १९९३, मे १९९३ १७ डिसेम्वर १९८६, १० जुन १९९० समेतका कार्यवाही सम्वन्धमा भएको वादी प्रतिवादीको कथन (Statement)  समेतका सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपि वृटिश गोर्खा पेन्सन क्याम्प पोखरामा प.सं. २०५०।५१ च.नं. २४२४ मिति २०५०।१२।१० मा लेखि पठाएकोमा गोरखा वृटिश क्याम्प पोखराबाट प.सं. २०५०।५१ मिति २०५०।१२।१८ मा उक्त कागजातका प्रमाणित प्रतिलिपि प्राप्‍त भै मिसिल सामेल रहेको। साथै प्रतिवादी आशमायाको मिति २०५०।१२।११ मा कास्की जिल्ला अदालतमा भएको वयानको स.ज. ६ मा वादी चिजकाजीले तिमी आमा छोरा भै खाउ भनी पठाउने गरेको अंग्रेजीमा लेखिएको पाना ५ को फोटोकपी नक्कल भनी प्रमाणमा उल्लेख गरेको तर मिसिल संलग्न कागजातबाट सो कागजको फोटोकपी पेश भएको स्पष्‍ट रुपमा देखिएकोले कुन कागजलाई प्रमाण लगाई पाउं भनी भन्न खोजेको हो प्रतिवादी आसमायाबाट अ.वं. १३३ नं. वमोजिम कागज  गराई फोटोकपी वा प्रतिलिपि पेश गर्न लगाउनु भन्ने आदेशानुसार प्रतिवादी आशमाया गुरुङलाई कागज गराउंदा पनि चिजकाजीले तिमी आमा छोराले खाउं भनी पठाउने गरेको अंग्रेजीमा लेखिएको पाना ५ को फोटोकपी नक्कल भनेको लेखाईमा त्यस्तो भएपछि वास्तविक पति चिजकाजीले हामी आमा छोरालाई खान लाउन खर्च दिने पठाउने गरेको पे बुकको फोटोकपी नक्कल मैले मिति २०५०।१।११ गते वयान गर्दा पेश गरी सकेकी छुं । सोही कागज प्रमाण लगाई पाउं अन्य प्रमाण कागजात फेला परेमा पछि पेश गर्ने छु भनी प्र. आसमायाले गरेको कागज मिसिल सामेल रहेको साथै प्रतिवादी आसमायालाई जिल्ला प्रशासन कार्यालय कास्कीले मिति २०४६।१०।९ मा सम्वन्धित सम्पूर्ण कागज सम्वन्धी जिल्ला प्रशासन कार्यालय कास्कीबाट झिकाउन भन्ने आदेश भएकोमा २०४७।१।१६ मा भएको आगलागीबाट नष्‍ट भएको व्यहोरा जानकारी गराएको प.सं. २०५०।५१ च.नं. ४०८१ मिति २०५०।१२।२८ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट जवाफ प्राप्‍त भई मिसिल सामेल रहेको ।

६.             वादी प्रतिवादीका साक्षी धिर बहादुर गुरुङ र भक्त बहादुर गुरुङ, मेघराज शर्मा, मन बहादुर गुरुङ विजय लक्ष्मी गुरुङ समेतको वकपत्र मिसिल सामेल रहेको ।

७.             यसमा यसै लगाउको फौ.नं. ४३१।१२६ को मुद्दा साथै राखी पेश गर्नु भन्‍ने आदेशानुसार आसमाया गुरुङको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी चिजकाजी गुरुङ समेत भएको वहुविवाह मुद्दा साथै पेश भएको रहेछ ।

८.             यि प्रतिवादी आफ्ना लोग्नेको घरमा नबसी लगातार ३ वर्ष भन्दा वढी समय माइत वसकेको रहीछन भन्ने प्रमाणित भएको हुंदा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं. देहाय (१) ले त्यस्तो स्वास्नी लोग्नेले सम्वन्ध विच्छेद गर्न पाउने ने देखिंदा यि वादी र प्रतिवादी विचको लोग्ने स्वासन्को सम्वन्ध विच्छेद हुने ठहर्छ भन्‍ने समेत व्यहोराको मिति २०५१।३।१ को कास्की जिल्ला अदालतको फैसला ।

९.             म लोग्नेको मन्जुरी विना माइतमा वसको होइन । म मेरो वाध्यताले गर्दा कहिले माइत कहिले घरमा गरी कष्‍टपूर्ण जीवन विताएकी थिए । घरमा सासु ससुराको र नन्दको थिचो मिचो कुटपिटबाट रमा बस्न नसकी माइतमा बसेकी हुं तसर्थ लोग्ने स्वास्नीको महलको १(१) नं. को आधारमा मेरो पतिले म संग सम्बन्ध विच्छेद गर्ने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी नाता कायमै गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी पुनरावेदक आसमाया गुरुङले २०५१।।३।१६ मा पुनरावेदन अदालतमा दर्ता गरेको पुनरावेदन पत्र रहेछ ।

१०.          यसमा लोग्ने नोकरीको कारण विदेश संगापुरमा रही बसी श्रीमती पुनरावेददकसंग विवाद भई पल्टन मार्फत मासिक खर्च समेत व्यहोरी रहेको कुरा प्रमाणित भै रहेको अवस्थामा श्रीमतीले ३ वर्ष लोग्नेलाई छाडेको कारण देखाई सम्वन्ध विच्छेद हुने ठहर गरेको शुरु कास्की जिल्ला अदालतको इन्साफ फरक पर्ने भएकोले अ.वं. २०२ नं. तथा  पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम छलफलको निमित्त विपक्षीलाई म्याद दिइ झिकाई आएपछि वा समय जुजारे पछि नियमानुसार पेश गर्नु भन्‍ने पुनरावेदन अदालत संयुक्त इजलासको मिति २०५१।९।१ को आदेश ।

११.          यसमा लोग्ने स्वास्नीको १ नं. देहाय १ को प्रयोजनार्थ स्वास्नी आसमायाले लोग्ने चिजकाजीलाई निजको मन्जुरी वेगर निजलाई छोडेको भन्‍न मिल्ने नदेखिदा शुरु कास्की जिल्ला अदालतबाट वादी प्रतिवादी बीचको लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद गरी पाउं भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको २०५२।२।१९ को फैसला ।

१२.          विपक्षी माइतमै वसेको देखिने जिल्ला प्रशासन कास्कीको पत्रलाई लुम्ले गा.पं. कार्यालयले प्रमाणित गरी दिएको २०४३।८।२४ को पत्र तथा वृटिश खोर्खा पेन्सन क्याम्पबाट प्राप्‍त भएका कागजातहरुबाट मेरो दावि समर्थित भएकोमा त्यसतर्फ पुनरावेदन अदालतले ध्यान नदिई प्रमाणहरुको यथोचित मूल्याङ्कन नगरी प्रमाणको उपेक्षा गरी गरेको त्रुटिपूर्ण फैसला उल्टी गरी वादी दावी अनुसार सम्वन्ध विच्छेद ठहराई पाउं भन्ने समेत व्यहोराको पुनरावेदक चिजकाजी गुरुङको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

१३.          नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री उमेश खकुरेलले पुनरावेदकसंग विपक्षीले लोग्ने स्वस्नीको सम्बन्धमा आवद्द भई सकेपछि निजले मेरो पक्षसंग निश्‍चित अनुशासन कानूनी एवं नैतिक दायित्व वहन गर्नु पर्ने हुन्छ । विदेशमा मेरो पक्ष नोकरीमा रहेको कारणले निजको मन्जुरी वेगर विपक्षीले घर छोडी आफुखुश गर्न मिल्दैन । मेरो पक्षको मन्जुरी वेगर विपक्षी लगातार तीन वर्ष भन्दा अलग वसेकी छन् । पुनरावेदन अदालतबाट प्रमाणको यथोचित मूल्याङ्कन  नगरी सम्वन्ध विच्छेद नहुने ठहराएको फैसला कानूनी त्रुटिपूर्ण हुंदा हाल विपक्षी झिकाउने आदेश हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

१४.          उपर्युक्त वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा वादी चिजकाजी गुरुङको नोकरी विदेशमा भएको निज कहिले काहि मात्र स्वदेश आउने कुरामा विवाद देखिएन । प्रतिवादी आसमायाले कास्की जिल्ला अदालत समक्ष मिति २०५०।१।११ गते वयान गर्दा सो साथ प्रमाण स्वरुप पेश गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिमा २०४६।८।५ मा चिजकाजी गुरुङसंग कुल शोभा गुरुङको विवाह गरेको भन्ने देखिन्छ । आसमाया गुरुङ यिनै वादी चिजकाजी गुरुङकी श्रीमती भएकोमा विवाद नरहेको र उक्त विवाह दर्ताको प्रमाणपत्रमा कुलशोभा गुरुङको विवाह भएको भन्ने तथ्यबाट वादी चिजकाजी गुरुङको कुलशोभासंग दोश्रो विवाह भएको तथ्य स्थापित भएको छ । उक्त दोश्रो विवाह भएपछि सम्वन्ध विच्छेद गरी पाउन वादीले २०४८।९।२६ मा पोखरा नगरपालिका समक्ष निवेदन दिई कारवाही चलाएको देखिन्छ । साथै १० जनवरी १९९० र ४ जुलाई १९९३ मा रोमन लिपीमा लेखिएका मिसिल साथ पेश भएका पत्र  प्रतिलिपिबाट प्रतिवादीसंग जान खोजेको र वादीले साथ लैजान इन्कार गरेको तथा प्रतिवादी आसमाया र छोरा असित गुरुङ समेतले मासिक खर्च वादीकै तलवबाट कटाई प्राप्‍त गर्ने गरेको व्यहोरा उल्लेख भएकोबाट पतिकै आयस्ताबाट खर्च प्राप्‍त गर्ने प्रतिवादीलाई लोग्नेको मन्जुरी वेगर, लोग्ने स्वास्नीको महलको १ नं. को देहाय १ को प्रयोजनार्थ अलग वसेको मान्न मिलेन भनी पुनरावेदन अदालतको फैसलामा उल्लेख भएको व्यहोरालाई अन्यथा मान्नु पर्ने स्थिति देखिएन ।

१५.          दोश्रो विवाह गरी विदेशमा नोकरी गरी वस्ने पतिसाथ वस्न सक्ने परिस्थिति प्रस्तुत मुद्दाको सन्दर्भमा श्रृजित भएको देखिदैन । पति घरमै वसकेको अवस्थामा पत्नीले निजको मन्जुरी वेगर मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ को देहाय १ विपरितको अवस्था नभएको पतिले साथै लान इन्कार गरेको स्थितिमा माइतीमा वस्दै आएकी श्रीमतीसंग सम्बन्ध विच्छेद गरी पाउं भनी लिएको दावी मनासिव मान्न सकिएन । अतः वादी प्रतिवादी वीच सम्बन्ध विच्छेद हुने ठहराएको शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको २०५२।२।१९।६ को इन्साफ मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने हुंदा छलफलको लागि विपक्षी झिकाई रहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्‍चन्द्र प्रसाद उपाध्याय

 

इति सम्बत् २०५४ साल भाद्र २३ गते रोज २ शुभम् --------।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु