शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४९७ - कुत दिलाई मोही निष्काशन ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६४९७          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ

माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय

संवत् २०५३ सालको दे.पु. नं.- -३६५४

फैसला मितिः- २०५४।१।१८।४

 

मुद्दाः- कुत दिलाई मोही निष्काशन  ।

पुनरावेदक/प्रतिवादीः   जिल्ला  सर्लाही गा .वि . स. नकटीरायपुर वडा नं. ५ बस्ने नटाई चौधरी  ।

विरुद्ध

विपक्षी/ वादीः       ऐ. ऐ. वडा नं. २ बस्ने मुनर साहु हलवाई  ।

 

  • वाली बुझाउंदा भरपाई लिनु पेर्ने वाध्यता कानूनले नै निर्देशित गरेकोमा भरपाई नलिइ वाली साक्षीहरुको रोहवरमा बुझाएको भन्ने जिकिरबाट वाली बुझाइएको मान्न मिल्दैन मौखिक रुपमा जिकिर लिदैमा वाली बुझाई सकेको मान्न सकिदैन । यस स्थितिमा भुमि सम्बन्धी ऐनको दपा २९(१) मा दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा वाहेक मोहिले कुत बुझाएन भन्ने कुराको जग्गा वालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहिलाई निश्काशन गर्ने बदेश दिन सक्नेछ भन्ने उल्लेख भएकोले कूतवाली नबुझाउने मोहिलाई वादी दावीको जग्गाको मीहियानी हकबाट निश्काशस गरी दिने ठहर्ने ।

(प्र.नं. ११)

पुनरावेदनक तर्फबाटः  x

विपक्षी वादी तर्फबाटः x

अवलम्वित नजिरः x

फैसला

न्या. गोविन्द बहादुर श्रेष्‍ठः  न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) अन्तर्गत पुनरावेदन अदालत राजविराजको मिति २०५२।३।२५ को फैसला उपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः-

२.             मेरा नाउं दर्ताको जि.स. गा. वि. स. नकटीरायपुर वडा नं. ५(क) कि.नं.  २८२ को ०-८-४  आठ कठ्ठा चारधुर दोयम जग्गा विपक्षी मोही भएकोमा ०४९ सालको वालीमा विपक्षीले कुत नदिंदा स. जि. अ. मा मुद्दा चल्दा मिति २०५०।५।२ मा फैसला भएको यो ०५० सालको वाली वांकी तयार हुंदा कुत जग्गा धनीलाई नियमानुसार माघ मसान्तसम्म बुझाउनु पर्ने फाल्गुण मसान्त भरमा सम्बन्धित कार्यालयमा धरौट राख्नु पर्नेमा सो समेत नराखी सम्पूर्ण वाली खाई दिएकोले उक्त जग्गाको २०५० सालको कुत धान मन ४-२९-० दिए धानै र नदिए प्रतिमन १ को रु. २४०। ले हुने रु. ११२५। दिलाई भराई भू. सं.  ऐन, २०२१ को दफा २९(१) वमोजिम विपक्षीलाई जग्गाबाट निष्काशन समेत गरी पाउं भन्ने वादीको फिराद दावी ।

३.             वादीले फिरादमा दावी लिएको २०५० सालको अगहनि कुत धानवाली पाकी तयार भएपछि मैले साक्षीको रोहवरमा २०५० सालको कुत एक मुष्‍ट तौल गरी बुझाई दिएको छु । वादी दावी झूठ्ठा हो भन्ने आदी व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र ।

४.             प्रमाणको अभावमा दावीको जग्गाको विपक्षीले कुत बुझाएको छ भन्न मिलेन । यसपटक मोहीको मोहियानी हक निष्काशन नगरी यथावत कायमै राखी कुतको हकमा रु. ११२५। मात्र वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत मिति २०५१।६।४ को भू. सु. का. सप्‍तरीको निर्णय ।

५.             शुरुले मोही यथावत कायमै राखी वाली मात्र भराउने गरी गरेको निर्यण कानूनी त्रुटिपूर्ण भएकाले वाली नबुझाउने मोहीलाई निष्काशन समेत गरी हक इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी पुनरावेदकको पुनरावेदन ।

६.             भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम दावी भएपछि कारण नै उल्लेख गरी मोही हक यथावत कायमै राखी गरेको शुरुको निर्णय फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ. वं. २०२ नं. वमोजिम र पुनरावेदन अदालत नियमावली, २०४८ अनुरुप प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने मिति २०५२।१।२४ को पुनरावेदन अदालत राजविराजको आदेश ।

७.             पुनरावेदन व्यहोरा झूठ्ठा हो २०४९ सालमा रोदी परेको र २०५० सालको वाली जग्गा धनीलाई बुझाएको भरपाई दिएनन् २०५१ सालको वाली सम्म सम्बन्धित गा. वि. स. मा धरौट राखेको हुंदा मलाई झिकाउने आदेश मनासिव नभएकाले शुरु निर्णय सदर राखी पाउं भन्ने समेत प्रत्यर्थीको लिखित प्रतिवाद ।

८.             भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई वादी दावीको जग्गाको मोहीयानी हकबाट निष्काशन गरी दिने ठहर्छ । सो निष्काशन नगरेको हदसम्म शुरुको इन्साफ उल्टि हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०५२।३।२५ को फैसला ।

९.             मिति २०५१।६।४ को शुरु भूमि सुधार कार्यालय सप्‍तरीबाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा ३ वमोजिम जग्गावालालाई मोहीबाट कुत भराई दिएको फैसला यथावत राखी पुनरावेदन अदालत, राजविराजको मिति २०५२।३।२५ को फैसला वदर गरी कानून वमोजिम हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावदेन ।

१०.          नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी हेर्दा पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

११.          यसमा २०५० सालको कुत धान मन ४-२९-० दिए धानै र नदिए प्रतिमन १ कि रु. २४०। ले हुने रु. ११२५ दिलाई भराई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम विपक्षी प्रतिवादीलाई जग्गाबाट निष्काशन समेत गरी पाउं भन्ने वादीको मुख्य फिराद दावी रहेको पाइन्छ भने मैले साक्षीको रोहवरमा २०५० सालको कुत धानवाली एक मुष्‍ट तौल गरी बुझाएको हुंदा वादी दावी झूठ्ठा हो भन्ने प्रतिवादीको मुख्य जिकिर रहेको पाइन्छ । वाली बुझाउंदा भरपाई लिनु पर्ने वाध्यता कानूनले नै निर्देशित गरेकोको भरपाई नलिई वाली साक्षीहरुको रोहवरमा बुझाएको भन्ने जिकिरबाट वाली बुझाईएको मान्न मिल्दैन । मौखिक रुपमा जिकिर लिदैंमा वाली बुझाई सकेको  मान्न सकिदैंन । यस स्थितिमा भूमि सम्बन्धी ऐनको दफा २९(१) मा दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ भन्ने उल्लेख भएकोले कुतवाली नबुझाउने मोहीलाई वादी दावीको जग्गाको मोहियानी हकबाट निष्काशन गरी दिने ठहर्छ । सो निष्काशन नगरेको हदसम्म शुरु भूमि सुधार कार्यालय सप्‍तरीको इन्साफ उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।               

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्‍चन्द्र प्रसाद उपाध्याय

 

इति सम्बत् २०५४ साल बैशाख १८ गते रोज ४ शुभम् ----------।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु