शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५०० - जग्गा खिचोला ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६५००          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

संवत् २०५२ सालको दे.पु. नं.- -२५०१

फैसला मितिः- २०५४।८।३०।२

 

मुद्दाः- जग्गा खिचोला  ।

पुनरावेदक/प्रतिवादीः   काभ्रे जिल्ला  भुम्लु सल्ले गा .वि . स. वडा नं. ३ बस्ने रामशरण तामाङ समेत जम्मा ७ ।

विरुद्ध

विपक्षी/वादीः      ऐ. ऐ. वडा नं. २ बस्ने चन्द्र बहादुर लामा   ।

 

  • नापी नक्सा भै सकेपछि श्रेस्ता तयार नहुंदै लिनुदिनु गरेको जग्गाको चार किल्ला र नाउं समेत उल्लेख गरी रजिष्‍ट्रेशन भएको जग्गालाई पछि दर्ता प्रमाण पूर्जा प्राप्‍त भएपछि सो जग्गा होइन अर्कै जग्गा विक्री गरको हो भनी प्रतिवादीले एकपटक राजिनामा गरिदिएको जग्गालाई  यो होइन भनी अर्कै जग्गा देखाउनु राजिनामामा उल्लेखित चार किल्ला र रजिष्‍ट्रेशनको १५ नं. को कानूनी व्यवस्था प्रतिकूल देखिने ।

(प्र.नं. ११)

पुनरावेदनक प्रतिवादी तर्फबाटः x

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल

अवलम्वित नजिरः x

आदेश

न्या. अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)  अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको पुनरावेदन तथ्य तथा ठहर यस प्रकार छः-

२.             विपक्षी मध्येका राम बहादुर तामाङ्गबाट निजको स्वाभित्वमा रहेको साविक देवीस्थान गा. पं. वडा नं. ९ स्थित पूर्व खरपारका डांडा, पश्‍चिम ठाडो खोलाबाट उत्तर मेरै खेत र दक्षिणमा पनि मेरै खेत भएको यति चार किल्लामा रहेको माटो मुरी ।१७।६ सत्र पाथी छ मानाको कीर्ति खेत मिति २०३५।८।४ मा र. नं. ६१७ बाट रु. ४५००। मा . का. काभ्रेपलान्चोकबाट राजिनामा गरी लिएको उल्लेखित ४ किल्ला भित्रको देविस्थान गा. पं. वडा नं. ९ को नापीमा भुम्लु सल्ले गा. पं. वडा ३ को कि. नं. ६१३ को १-१-२-१ कायम भएको किर्ति खेत भन्ने जग्गामा खिचोला गरेका छन् । विपक्षी राम बहादुरले मलाई हक मेटी दिएको राजिनामा लिखतमा कि. नं. ६१३ भनी कि. नं. क्षे. उल्लेख नगरी जग्गाको ४ किल्ला र माटो मुरि उल्लेख गरी विक्री गरेकी हुन । सो जग्गाको कैफियत खण्डमा कि. नं. ६३६ मा नापी भएको भनी अस्पष्‍ट व्यहोरा लेखि राजिनामाको ४ किल्लासंग विल्कुल नमिल्ने कि. नं.  लेखी सो राजिनामा वमोजिमको जग्गा कि. नं. ६३६ को जग्गा कायम गर्ने उद्देश्यले यति लामो समयपछि विपक्षीले राजिनामा वमोजिम ४ किल्ला भित्रको कि. नं. ६१३ को जग्गामा मु. ऐन जग्गा मिच्नेको १  नं. र १८ नं. द्वारा निषेधित कार्य विपक्षीबाट भएको छ । विपक्षी राम बहादुरले मिति २०३५।८।४ मा गरी दिएको राजिनामा वमोजिमको ४ किल्ला भित्रको जग्गा नापी हुंदा कि. नं. ६१३ कायम भएतापनि राजिनामा केवल ४ किल्ला र माटो मुरि लेखि कैफियतमा ४ किल्ला नभिड्ने कि. नं. ६३६ भनी अस्पस्ट व्यहोरा लेखि दिएको हुंदा मेरो राजिनामा अनुसारको चर किल्ला भित्रको अर्थात कि. नं. ६१३ को जग्गा भएकोले खिचोला मेटाई उक्त जग्गा मेरो नाउंमा दर्ता हुन आएको कि. नं. ६३६ को जग्गा विपक्षीको कायम गरी पाउं भन्ने समेत व्योराको फिराद दावी ।

३.             २०३२ सालको नापीमा किर्तिखेत कि. नं. ६३६ को १।१७।६ को खेत हो भन्ने प्रस्ट उल्लेख भएको सो माटोको राजिनामा र कित्ता नम्वर ६३६ लाई वादीले मन्जुर गरी राजिनामा गरी लिनु भएको छ । मैले राम बहादुरलाई राजिनामा गरिदिएको जग्गा कि. नं. ६३६ को हो र कि. नं. ६१३ को जग्गा प्र. राम शरणले अधिया कमाई आएको छ उक्त जग्गामा राम बहादुरको हक छैन । चितवनमा वसेकोले खिचोला गर्नु पर्ने छैन । आफूले राजिनामा नगरेको खेतलाई राजिनामा गरेको भनी झूठ्ठा व्यहोरा तयार गरी दिएको फिरादबाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्र. ७ जना समेतको संयुक्त प्रतिउत्तर पत्र ।

४.             कि. नं. ६३६ संगै राजिनामाको चार किल्ला नभिडेको र कि. नं. ६१३ कायम गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको फैसला ।

५.             शुरु जिल्ला अदालतको फैसला अन्याय र त्रुटिपूर्ण हुंदा बदर गरी मेरो दावी अनुसार न्याय पाउं भन्ने समेत वादी चन्द्र बहादुरको पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन पत्र ।

६.             कि. नं. ६१३ को जग्गा राजिनामा लिएको देखिन आएबाट फिराद दावी अनुसार कि. नं. ६१३ को जग्गा वादी पुनरावेदकको नाउंमा र कि. नं. ६३६ को जग्गा विपक्षी राम बहादुरका नाउंमा नामसारी दर्ता हुने गरी फैसला गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको फैसला मिलेको नहुंदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५१।१०।२ को फैसला ।

७.             पुनरावेदन अदालत पाटनबाट भएको फैसला गैरकानूनी एवं अन्यायपूर्ण भएकोले उक्त फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर वमोजिम शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला सदर कायम राखी पाउं भन्ने समेत मान बहादुर तामाङ्ग समेत जना ७ को यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

८.             प्रस्तुत मुद्दामा कि. नं. ६१३ को १-९-२ जग्गा धनसारको नाउंमा दर्ता रहेको कारणले लुटपिट नठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट फैसला भएको देखियो । प्रस्तुत मुद्दामा कि. नं. ६१३ को जग्गा धनसारको नामबाट मेरो नाममा दर्ता गरी पाउं भन्ने दावी नै देखिंदैन । राम बहादुरको नाउंमा उक्त कि. नं. ६१३ को जग्गा दर्ता नभई धनसारको नाममा दर्ता रहेको कुरा उक्त कित्ताको ज. ध. प्र. पु. बाट देखिन आएको । राम बहादुरबाट वादीले २०३५ सालको राजिनामा अनुसार मिति २०३८।३।११ मा कि. नं. ६३६ किर्ति खेत नामसारी गरी लिएको प्रस्तुत फिराद मिति २०४७।३।२२ मा मात्र पर्न आएको देखिन्छ । यसरी आफ्नो नाममा दर्ता गराई ९।१० वर्ष भोग गरेपछि फिराद गर्न पाउने कानूनी व्यवस्था नदेखिंदा समेत पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले अ. वं. २०२ नं. र सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।११।२१ को आदेश ।

९.             नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री हरी अर्यालले मेरो पक्षले राजिनामा गरी लिएको जग्गा निजकै हक भोगमा छ । २०३५ सालमा राजिनामा गरि लिई हाल सम्म भोग चलन गर्दै आएको जग्गाको सट्टा मरो राजिनामाको जग्गा अर्कै हो भनी कि.नं. ६३६ को जग्गा देखाउन मिल्ने कुरा होइन । रजिष्‍ट्रेशनको १५ नं. ले किल्ला किटी लेखिएको राजिनामा वमोजिम होस भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

१०.          यसमा विपक्षी राम बहादुर तामाङ्गबाट निजको हक स्वामित्वमा साविक देविस्थान गा. पं. वडा नं. ९ स्थित पूर्व विरौटा खरपाखा डांडा, पश्‍चिम ठाडो खोला वाटो उत्तर मे फिरादी कै खेत,  दक्षिण म  फिरादी कै खेत यति चार किल्ला भित्रको माटो ।१७।६ सत्र पाथी ६ मानाको कीर्ति खेत मिति २०३५।८।४ मा र. नं. ६१७ काभ्रे मा. पो. का. बाट रजिष्‍ट्रेशन  जोत भोग गर्दै आएकोमा नापीमा सल्ले भुम्ले गा. पं. वडा ३ को कि. नं. ६१३ को १-९-२-० कायम भएकोमा तिमिलाई यो नभई अन्यत्रैको जग्गा विक्री गरी दिएको हो भनी खिचोला गरेको मेरा दाता राम बहादुरले उक्त जग्गा धन बहादुर भन्ने धनसार तामाङबाट मिति २०३४।११।१५ मा र. नं. १८८६ बाट पारित गरी लिएका हुन दुवै राजिनामाको चारकिल्ला एउटै छ । खिचोला मेटाई हक कायम गरी चलन पाउं भन्ने समेतको वादी दावी भएको प्रस्तुत मुद्दामा वादीलाई कि. नं. ६१३ को नभई कि. नं. ६३६ को जग्गा विक्री गरेको र हाल सम्म भोग गर्दै आउनु भएको छ । उक्त कि. नं. ६१३ को जग्गा मेरो कित्ताले भेट्छ भनी झूठ्ठा खिचोला मुद्दा दिनु भएको हो । धनसारले राम बहादुरलाई राजिनामा गरी दिएको जग्गा कि. नं. ६१३ को नभई कि. नं. ६३६ को हो भन्ने प्रतिउत्तर देखिन्छ ।

११.          निर्णय तर्फ विचार गर्दा वादी चन्द्र बहादुरले खिचोला मेटाई हक कायम गरी पाउं भनी उल्लेख गरेको चार किल्लाको किर्ति खेत भन्ने जग्गा र वादीका दाता राम बहादुरले धनसार तामाङ्गबाट राजिनामा गरी लिएको जग्गा एउटै हो भन्ने मा विवाद देखिंदैन । धनसार तामाङ्गबाट राम बहादुर तामाङ्कले मिति २०३४।११।१५  र. नं. १८८६ बाट गरी लिएको राजिनामाको र राम बहादुरले वादी चन्द्र बहादुर लामालाई मिति २०३५।८।४ मा र. नं. ६१७ बाट पारित गरिदिएको राजिनामाको चार किल्ला मिल्न भिड्न आउंछ । राजिनामामा उत्तर र दक्षिण किल्ला आफ्नै नाउंका जग्गा भनी उल्लेख गरेको र विवादित वादी दावीको कि. नं. ६१३ को जग्गाको र दक्षिण किल्लामा वादीको कि. नं. ६१२ र ६१४ को जग्गा रहे भएको क्षेत्रीय कितावको उतारबाट देखिन्छ। नापी नक्सा भै सकेपछि श्रेस्ता तयार नहुंदै लिनुदिनु गरेको जग्गाको चार किल्ला र नाउं समेत उल्लेख गरी रजिष्‍ट्रेशन भएको जग्गालाई पछि दर्ता प्रमाण पूर्जा प्राप्‍त भएपछि सो जग्गा होइन अर्कै जग्गा विक्री गरेको हो भनी प्रतिवादीले एकपटक राजिनामा गरिदिएको जग्गालाई यो होइन भनी अर्कै जग्गा देखाउनु राजिनामामा उल्लेखित चार किल्ला र रजिष्‍ट्रेशनको १५ नं. को कानूनी व्यवस्था प्रतिकूल देखिन आउंछ । यस सम्बन्धमा भएको यस अदालत संयुक्त इजलासको मिति २०५३।११।२१ को आदेशमा उल्लेखित आधार वुदामा सहमत हुन सकिएन ।

१२.          अतः शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावीको कि. नं. ६१३ को जग्गा वादी चन्द्र बहादुर लामाको नाउंमा र कि. नं. ६३६ को जग्गा विपक्षी राम बहादुरको नाउंमा नामसारी दर्ता हुने ठहराई गरेको पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५१।१०।२ को फैसला मुनासिव हुंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।  

 

उक्त रायमा म सहमत छु ।

 

न्या. भैरव प्रसाद लम्साल

 

इति सम्बत् २०५४ साल मार्ग ३० गते रोज २ शुभम् ----- ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु