निर्णय नं. ६९८५ - लेनदेन

निर्णय नं. ६९८५ ने.का.प. २०५८ अङ्क ३.४
पूर्ण इजलास
माननीय न्यायधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५६ सालको दे.पु.ई.नं. ........७१
फैसला मितिः २०५७।७।१७।५
मुद्दाः लेनदेन ।
पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला टौखाल गा.वि.स. वडा नं. ७ एपटार बस्ने राजेन्द्रकुमार कुँवर समेत ।
विरुद्ध
प्रत्यर्थी/वादीः राष्ट्रि वाणिज्य बैंक, काठमाडौं शाखा, विशालबजार काठमाडौं ।
§ नेगोसियट गर्ने बैंकको हैसियतले वादी वैंकले आफ्नो ग्राहकलाई विदेशी आयात कर्ताको विदेशस्थित बैंकबाट एल.सी.को रकम भुक्तानी दिएको बुझिलिने, आप्नो ग्राहकको व्यापारिक सुविधाको लागि ग्राहकद्वारा निर्यात गरिएको सामानको डकुमेन्टमा कर्जा दिने र एल.सी वापत ग्राहकको लागि विदेशी बैंकबाट दिएको भुक्तानीबाट सोधभर्ना गर्दै जाने व्यापारिक बैंकहरुबाट गरिने सामानय बैकिङ्ग कारोवार हो । नेगोसिउटिङ्ग बैंकद्वारा यस्तो कार्य केही कमिशनको निमित्त गरिन्छ भने निर्यातित सामानको इन्भ्वाइसमा तमसुक गराई ऋण दिएकोमा ब्याज समेत प्राप्त गर्ने गर्छन । बैंकद्वारा गरिने यस किसिमको कारोवारमा आयात निर्यात व्यापारको स्वयं पष हुने कुरा नभै अन्तर्राष्ट्रियय आयात निर्यात व्यापारलाई सघाउसम्म पुर्याउने (Facilitates) गर्ने भूमिका बैंकको हुन्छ । नेगोसियट गर्ने बैंक स्वयंको लापरवाहीवा गल्तीले गर्दा करारका पक्षहरुलाई नोक्सान हुन गएको स्पष्ट स्थितिमा बाहेक एल.सी.को कागजात र निर्यातित सामान सम्बन्धमा करार बमोजिम नभै फरक परेको (Discripancies) सम्बन्धमा त्यस्तो बैंकको कुनै जवाफदेही हुँदैन ।
§ एल.सी. खोल्ने पक्ष टेक्सइम्पोर इन्क न्यूयोर्कले शुभकामना गार्मेन्टद्वारा पठाइएका कागजातहरु (Advised Document) मा त्रुटि (Discripancies) भएको भनी स्वीकार नगरेकोले एल.सी. जारी गर्ने बैंक अफ इण्डिया न्यूयोर्कबाट प्रत्यर्थी बैंकले आफूले लिखत गराई प्रतिवादीलाई दिएको रकम शोधभर्ना गर्न नसकेको अवस्थामा सामान निर्यातकर्ता तथा आयातकर्ता बीचको करारीय दायित्व पुरा भएको भनी त्यस सम्बन्धमा करारको पक्ष नरहेको प्रत्यर्थी बैंकमा करारीय दायित्व रहेको मान्न सकिदैन ।
§ आयात निर्यात व्यापार कारोवारको पक्ष नरहेको र एल.सी. कारोवारको दायितव पनि नरहेको वादी बैंकलाई करार ऐन, २०२३ का हदम्याद लाग्ने अवस्था समेत देखिन आएन । वादी बैंकले प्रतिवादीसँग आयात निर्यात अथवा प्रतितपत्रको कारोवार भन्दा छुट्टै लेनदेन साहु असामीको तमसुकी कारोवार गरेको देखिएको र सो तमसुक वापत कानूनको म्याद भित्रै नालेश परेको देखिन आउने ।
(प्र.नं. २४ र २६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ, विद्वान अधिवक्ताहरु श्री कोमप्रकाश घिमिरे, श्री सुधिर श्रेष्ठ
विपक्षी वादीका तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री पूर्णमान शाक्य
अवलम्वित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटको मिति २०५०।३।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छः
२. विपक्षीहरु राष्ट्रि वाणिज्य बैंकसँग कारोवार गर्ने पार्टी हुन । निजहरुले यस शाखाबाट न्यूयोर्कमा खोलिएको प्रतितपत्रमा सम्झौता नेगोसिएट गरी क्रमशः ०४३।१।२ मा यफ.वि.एन. २१।१६३२ बाट रु. ४,४८,७१०।१२ मिति ०४३।१२।३१ मा यफ.वि.एन.२१।१६१५ बाट १२,८२,१७६। र मिति ०४३।१२।३१ मा यफ.वि.एन.२१।१६२३ बाट रु. ८,३८,३७२।८६ गरी जम्मा रु. २५,६९,२५९।५८ मध्ये हिसाब मिलान हुने गरी छुट्याइएको २,६८,९९०।१४ कट्टा गर्दा बाँकी हुने २३,००,२६९।४४ मध्ये ०४३।१०।१९ मा विपक्षीले दिन बुझाउन पर्ने रकम मध्ये अन्नपूर्ण ट्राभल्स टुर्सले तिर्नु बुझाउनु बोलकबोल गरेको रु. ५,५०,०००। कट्टा गरी बाँकी हुन आउने रु. १७,५०,२६९।४४ र ब्याज वापत हुन आउने रु. ९,१७,०१०।१४ समेत गरी जम्मा रु. २६,६७,२७९।५८ भुक्तानी गरेको छैनन् । विपक्षीहरु निर्यातकर्त भएकोले विपक्षीहरुले निर्यात गरेको सामानहरु आयातकर्ताबाट बुझ्ने काम भएको छैन । आयातकर्ताबाट रकम लिई बैंकलाई बुझाउने दायित्व पुरा नगरेकोले बारम्बार विपक्षीहरुलाई रकम बुझाउन तर ताकेता गर्दा पनि विपक्षीहरुले रकम बुझाउन धिङ्गयाई गरेकाले फिराद गर्न आएको छु । विपक्षीले रकम बुझाउने सम्बन्धमा आफ्नो दायित्व होइन भनेतापनि खोलिएको प्रतितपत्र With Resources स्वभावको भएकोले जबसम्म भुक्तानी बैंकले प्राप्त गर्न सक्दैन त्यतिन्जेलका लागि भुक्तानी गर्ने दायित्व विपक्षीहरुकै हुन्छ । प्रतिपत्र सम्झौता गर्दा गरिने तमसुक समतेबाट विपक्षीहरुमा बैंकलाई रकम बुझाउन पर्ने दायित्व पुरा हुन्छ । विपक्षीहरुले यस शाखाबाट ०४२।१२।३१ मा र ०४३।१।२ मा प्रतितपत्र सम्झौता गरी जम्मा रु. २५,६९,२५९।५८ को रकम यस शाखाबाट भुक्तानी लिई माथि उल्लेख भएको साँवातर्फ बाँकी हुन आउने रु. १७,५०,२६९।४४ नबुझाई बैंकलाई विपक्षीहरुले नोक्सान पारेको हुँदा ब्याजरु. ९,१७,०१०।१४ समेत गरी जम्मा रु. २६,६७,२७९।५८ र विगो भरीभराउनको अवस्था सम्मको बैंक नियम अनुसार हुने ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. उक्त प्रतितपत्र With Resources स्वभावको नभइ Irrevocable भएको कुरा संलग्न प्रतितपत्रको नक्कलले प्रष्ट पार्छ । हामीले प्रतितपत्रमा व्यवस्थित शर्त र सुविधाको आद्दारमा भुक्तानी प्राप्त गरेको हो । प्रतितपत्रमा उल्लेखित This cable is the operative instrument.No confirmation to follow letter of credit तथा We hereby issue our irrevocable documentary letter of credit भन्ने शब्दहरुले प्रष्टाएको पाइन्छ । वादी दावी अनुरुप आयातकर्ताबाट रकम लिई बैंकलाई बुझाउने दायित्व हामीले लिएको होइन र यस सम्बन्धमा कुनै लिखत पनि पेश दाखिला गर्न सकेको छैन । निर्यातकर्ताको भुक्तानी प्राप्त गरेपछि निगोसेटिङ्ग बैंक राष्ट्रिय वाणिज्य बैंकले इस्यूयिङ बैंक– बैंक अफ इण्डिया न्यूयोर्क समक्ष कागजात पेश गरेर आफ्नो भुक्तानी गरेको रकम असुल गर्नुपर्छ । यसरी आयातकर्ताको हातमा सामान पुग्नु अगावै रुपैया दिने हुँदा निगोसिएटीङ्ग बैंकले निर्यातकर्ता सित कमिशन समेत लिएको हुन्छ । निगोसिएटिङ्ग बैंकलाई भुक्तानी गराउने दायित्व निर्यातकर्ता होइन । इस्यूयिङ्ग बैंकको हुन्छ । फिरादपत्रमा आयातकर्ताले सामान बुझी लिएनन भन्ने उल्लेखित छ । प्रतितपत्रका शर्तहरु बमोजिमका शर्त मेल खानेगरी सामानहरु पठाई सकेपछि निर्यातकर्ताको दायित्व समाप्ट हुन्छ । सामान पठाइसकेपछि निर्यातकताले सामान उठाइदिन भन्न पाउने होइन । यस्तै जोखिमबाट बच्न एल.सी. व्यापारको विकास भएको हो । सामान नउठाई विदेशी बैंकले कानूनी कारवाही गरी आफ्नो रकम उठाउनुपर्ने हुन्छ । निर्यातकर्ताको सरोकार निगोसिएटिङ बैंकसित मात्र रहनेछ । निगोसिएटिङ बैंकको सम्बन्ध विदेशी बैंकसिट मात्र रहन्छ । निगोसिएटिङ बैंकले विदेशी बैंकसित आफ्नो रकम असुल गर्नुपर्छ । विपक्षी वादीले प्रतितपत्र सम्झौता अनुसार रकम बुझाउनु पर्ने उल्लेख गरेको छ । विदेशी बैंकले आफ्नो गैरकानूनी हित संरक्षण गर्न फिरादीलाई भुक्तानी नभएको अवस्थामा त्यस्तो विदेशी बैंक उपर कारवाही नचलाई तमसुकको आधारमा माथि उल्लेखित पूर्व अवस्थाको अभावमा निर्यातकर्ताबाट रकम असूल उपर गर्ने हो भने अन्तर्राष्ट्रियय व्यापार र प्रतितपत्रको अवधारण धरासायी हुन जान्छ । भुक्तानीको दायित्व बैंक अफ इण्डियाको हो भन्ने कुरा थाहा भै कुनै पनि विदेशी बैंक सम्मुख आफ्नो अधिकार प्रकट गर्न नसकेको दवावमा परी हामीलाई मुद्दा हालेका हो। विपक्षीको फिराद हदम्यादको कारणले पनि खारेजयोग्य छ । करारको कुरामा करार ऐनको हदम्याद भित्र मुद्दा दायर गर्नुपर्दछ । हामीले २०४३।४।२७ र २०४३।८।१७ मा भुक्तानीको कुरामा हाम्रो दायित्व नभएको उल्लेख गरेको छौं । तसर्थ फिराद म्यादभित्र छैन । वादीलाई फिराद गर्ने अख्तियारी छैन । हकदैयाविहिन व्यक्तिले गरेको फिराद खारेजयोग्य छ । हामीले यस बैंकसँग रुपैया लिएको छैनौ । तसर्थ हामीले तिर्न बुझाउनुपर्ने होइन । हिरादरयानानीको दस्तखतबाट उद्योगको पैसा दिएको र सो लिई हिरादरयानानी भागि गएको कुराको सूचना हामीले समयमै ०४३।१।१५ मा जिल्ला अधिकारीलाई दिएका थियौं । तसर्थ वादी दावी खारेज गरी पाउँ भन्ने समेतको ज्ञानेन्द्रचन्द्र श्रेष्ठको प्रतिउत्तर जिकिर ।
४. प्रतितपत्र भनेको बैंकले अर्को बैंक उपर खिच्ने पत्र हो । यस्तो रुपैयाले थाम्ने सामानको भुक्तानी दिनु भन्ने हुन्छ । प्रतितपत्रको सामानहरुमा बैंकको हक दायित्व कायम हुन्छ। विपक्षीले फिरादमा उल्लेख गरे बमोजिम हामीले आफ्नो दायित्व पूरा गरेको छौं । अन्नपूर्ण ट्राभल्स सम्पूर्ण रकमको जवाफदेही भएकोमा विपक्षीले सो ट्राभल्सबाट केही रकम मात्र असुल गरी हामीलाई मात्र फिराद दावीको मिलेको छैन । हामी माथि गर्न नपर्ने दावी गरेको वदर गरी पाउँ । मेरो मन्जुरी विना खुलेको एल.सी. कारोवारमा म जवाफदेही हुनु नपर्ने कुरा साझेदारी ऐन तथा कवुलियतबाट पनि प्रष्ट हुन्छ । ट्राभल्स एजेन्सीबाट असूल गर्नुपर्ने रकमहरु उठाउने कोशिश नगरी म उपर गरेको फिराद खारेजभागी छ । प्रस्तुत फिराद करार ऐनको म्यादभित्र नहुँदा खारेज योग्य छ । यसमा म कुनै जवाफदेही हुन्न भन्ने कुरा विपक्षी बैंकलाई ०४३।८।१७ मा तथा ०४३।४।१७ का साथै मिति २–४–८६ को पत्रबाट जानकारी दिई सकेकोमा विपक्षीले पुनः हामीलाई जवाफदेही बनाई फिराद गर्न पाउने होइन । विपक्षी बैंकले यस गार्मेन्टले पाउने गरी कुनै रकम भुक्तानी गरेको छैन । यस गार्मेन्टले गरेको कारोवारमा गार्मेन्ट आफै जवाफदेही हुनेमा साझेदारीहरुलाई जवाफदेही बनाई गरेको फिराद खारेज योग्य छ भन्ने समेत व्यहोराको शुभकामना गार्मेन्ट उद्योग तथा आफ्नो तर्फबाट शोभादेवी बस्नेतको प्रतिउत्तर जिकिर ।
५. विपक्षी बैंकको हक दायितव हामीले सप्लाई गरेको सामानमा कायम भै सकेपछि अब बैंकले जे जो उठाउन पर्ने हो सम्बन्धित माल तथा एल.सी. खोल्ने बैंकबाट उठाउनुपर्ने स्पष्ट छ । विपक्षीले फिरादमा उल्लेख गरे अनुसार हामीले आफ्नो दायितव पुरा निर्वाह गरेको छौं । उल्लेखित प्रतितपत्र इरिभोकेवल प्रकृतिको हो । विपक्षले भने बमोजिम विथ रिकार्श (With Resources) स्वभावको होइन । प्रस्तुत फिरादमा विपक्षीको दायित्व छ । अर्थात सम्बन्धित रकम विपक्षलिे आफैले उठाउनुपर्ने हुन्छ । अन्नपूर्ण ट्राभल्स सम्पूर्ण रकमको जवाफदेही भएकोमा सो ट्राभल्सबाट केही रकम मात्र असुल गरी ट्राभल्सलाई पन्छाई हामीलाई मात्र फिराद दावी गरेको विल्कुल मिलेको छैन । यस सम्बन्धमा अन्नपूर्ण ट्राभल्सले लेखेको १३ जुलाई १९८६ को पत्र तथा विपक्षी बैंकले लेखेको ०४३।४।९ को पत्रबाट व्यहोरा अवगत हुने नै छ । मेरो दस्तखत तथा मन्जुरी विना भएको एल.सी. कारोवारमा म जवाफदेही हुन नपर्ने कुरा साझेदारी ऐन कवुलियतबाट पनि स्पष्ट हुन्छ । उक्त एल.सी. र तमसुकमा पनि मेरो कुनै दस्तखत समेत छैन । म उपर गरेको फिराज दावी खारेजयोग्य छ भन्ने समेत व्यहोराको राजेन्द्रकुमार कुँवरको प्रतिउत्तर पत्र ।
६. वादीबाट पेश दाखिला भएको १३ थान लिखत देखाउँदा देखें सुनाउँदा सुनें । उक्त लिखतमा शोभादेवी बस्नेतको सही छाप कुनै पनि लिखतमा नभएकोले सद्दे किर्ते जालसाजी के हो भनि नामाकरण गरिरहन पर्ने कागज होइन भन्ने समेत व्यहोराको शोधादेवी वा कुसलराजले गरेका बयान ।
७. वादीबाट दाखिला भएको १३ थान लिखत मध्येको तेश्रो लिखत सद्दे हो । अरु १२ थान लिखतमा सही नभएको कारणले सद्दे किर्ते जालसाजी केही भनि रहन परेन । उक्त लिखतहरुमा मेरो सही छैन भन्ने समेत व्यहोराको राजेन्द्रकुमार कुँवर बयान ।
८. वादीबाट पेश भएको लिखत थान १३ प्रोमिसरी नोटमध्ये थान ३ तीन सद्दे हो र ऋण माग गर्दाको लिखत पनि सद्दे हो अरु पेश भएको ज्ञानेन्द्र चन्द्र श्रेष्ठको कागजहरुमा सही नभएको कारणले किर्ते के हो ? खुलाई नामाकरण गरिरहन सक्दिन भन्ने समेत व्यहोराको ज्ञानेन्द्र चन्द्र श्रेष्ठको वा निर्मल पौडेलको बयान ।
९. फिराद पत्रमा उल्लेख भए बमोजिमको कार्य गरी पाउँ भन्ने समेत व्यहोराको वादी रा.वा.बैंकको वारेस मंलगकृष्णले गरेको बयान ।
१०. फिरादीले फिराद लेखेको रु.५,५०,०००। अन्नपूर्ण ट्राभल्सले बुझाउने र बाँकी रकम प्रतिवादीहरुबा भराइनुपर्ने भन्ने वादी दावी निरोधाभाष देखिन आयो । माल सामान डिस्क्रीपेन्सिज (Discrepancies) प्रतिवादीहरुको कारणले भएको भन्ने वादी पक्षले प्रमाणित गर्न सकेको छैन । भुक्तानी गरेको रकम Reimburse गर्न राष्ट्रिय वाणिज्य बैंक काठमाडौं शाखाले Bank of India New York लाई आयातकर्तालाई सामान डेलिभरी गरी वाणिज्य बैंकको रकम Reimburse गरी दिनुपर्ने अवस्थामा प्रतिवादीहरुले रकम व्यहोर्नु पर्ने दायित्व रहेछ भनि सम्झन कानूनले नमिल्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको ०४६।१।१४ को काठमाडौं जिल्ला अदालतको फैसला ।
११. डिस्क्रीपेन्सिज नभए नदेखाए इसुइङ बैंकको सो इरिभोकेवल दायित्व भन्न सकिने भए पनि डिस्क्रीपेन्सिज भएकोमा नेगोसिएटिङ्ग बैंकले इसुइङ बैंकलाई वाध्य गराउन सक्ने अवस्था एकातिर छैन भने अर्को तिर त्यसरी भुक्तानी प्राप्त भएकोमा ऐन व्यवहार लिखतको आधारमा प्रतिवादीहरुले लिएको रकमको साँवा ब्याज बुझाउनु पर्ने कर्तव्य र दायित्वको साथ सो असुल गरी लिन पाउने अधिकार बैंकलाई भएकोमा प्रतिवादीहरुले गरेको लिखत कवुलियत समेतका आधारमा दावी बमोजिमको रकम प्रतिवादीहरुबाट भरी पाउनेमा भराई दिनु नपर्ने ठहराई का.जि.अ. ले गरेको फैसलामा चित्त बुझेन, सो फैसला वदर गरी फिराद दावी बमोजिम गरी पाउँ भनी राष्ट्रिय वाणिज्य बैंक तर्फबाट तत्कालीन वागमती अंचलअदालतमा परेको पुनरावेदन पत्र ।
१२. शुरुको फैसला विचरणीय देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने तत्कालीन वागमती अंचल अदालतको ०३६।९।२ को आदेश ।
१३. अन्नपूर्ण ट्राभल्स एण्ड टुर्सले कार्गो लिन बुझिलिएको सामान डेष्टिनेशनसम्म पुर्याएको हो । सामान के कस्तो अवस्थामा कहाँ रहेको छ ? थाहा छैन । अन्नपूर्ण ट्राभल्स् एण्ड टुर्सले रु.५,५०,०००। राष्ट्रिय वाणिज्य बैंकलाई बुझाएको छैन । यस्ले ०४३।१०।१९।२ गते शुभकामना गार्मेन्ट र राष्ट्रिय वाणिज्य बैंक बीच भएको निगोसिएसन बमोजिम भएको रुपैयाको जमानी बसेको हो । जबसम्म शुभकामना गार्मेन्टसँग राष्ट्रिय वाणिज्य बैंकले कारवाही गरी टुंगो लगाउँदैन तबसम्म मैले जमानी बसेको रुपैया बुझाउने प्रश्न उठ्दैन । राष्ट्रिय वाणिज्य बैंकले शुभकामना गार्मेन्टको विरुद्धमा फिराद गर्दा यस ट्राभल्स उपर समेत आफ्नो दावी लिनुपर्नेमा त्यसो नगरी यस ट्राभल्सले धन जमानी बसेको रकम वापत भनी घर जग्गा धितो पारित गर्न ताकेता गर्नुले खुद ऋणी शुभकामना गार्मेन्टको दायित्व समाप्त भैसकेको छ भने धन जमानी बस्नको दायित्व कायम रहेन होइन भनि अन्नपूर्ण ट्राभल्स् एण्ड टुर्स प्रा.लि. वारेस भरतमणी गौतमले पुनरावेदन अदालतमा गरेका बयान ।
१४. वादी पुनरावेदकले इस्युइङ्ग बैंकले डिस्क्रीपेन्सीको आधारमा भुक्तानी दिन इन्कार गरेको भनी वेनेफिसियरी प्रतिवादीबाट खुद दावी गरेको छ । इन्स्युयङ्ग बैंकले डिस्क्रिीपेन्सिजको आधारमा भुक्तानी दिन इन्कार गरेको होइन भन्ने प्रतिवादी प्रत्यर्थीले सकेको छैन । सो डिस्क्रिीपेन्सिज प्रतिवादी तर्फबाट भएको होइन भन्ने कुरा प्रतिवादीले नै प्रमाण पेश गर्नुपर्छ । किनकी डिस्क्रिीपेन्सिज आफ्नो तर्फबाट भएको होइन भन्ने आधारमा ऋणबाट उन्मुक्ति पाउन प्रतिवादीले प्रश्न उठाउँदै आएको छ । डिस्क्रिीपेन्सिज भएमा नेगोसिएटिङ्ग बैंकले इस्युइङ बैंकलाई रकम तिर्न वाध्य गराउन सक्ने कानूनी व्यवस्था समेत देखिदैन । वादीले प्रतिवादीबाट बैंकको नियमहरु अनुसारको ब्याजको दावी गरेकोमा सो ब्याजको दर तर्फ प्रतिवादीले कुनै प्रश्न नउठाएकोले त्यसतर्फ अर विचार गरी रहनु परेन । वादी दावी बमोजिमको २०४२।१२।३१ र २०४३।१।२ को लिखत बमोजिम तिर्नुपर्ने रकम साँवा ब्याज तिरे बुझाएको सवुत प्रतिवादी प्रत्यर्थीले पुर्याउन नसकेकोले जम्मा साँवा रु. २३,००,२६९।४४ मध्ये २०४३।१०।१९ मा अन्नपूर्ण ट्राभल्स एण्ड टुर्सले तिर्न बुझाउन बोलकबोल गरेको रु.५,५०,०००। कटाई बाँकी साँवा रु. १७,५०,२६९।४४ र सो को बैंकको ब्याजदर बमोजिम सयकडा २१ ले आजतक हुने ब्याज रु. २३,५९,४११।१४ समेत साँवा ब्याज रु. ४१,०९,६८०। र लेनदेन व्यवहारको ४ नं. को अधिनमा रही भरीभराउ गर्दाको अवधिसम्मको ब्याज समेत वादीलाई प्रतिवादीहरुले बुझाउनुपर्ने ठहर्छ । सो भन्दा बढी ब्याज दावी गरेको हकमा वादी दावी पुग्न सक्दैन । वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२४ को फैसला ।
१५. निर्यात गरिएको सामान तयारी पोशाकको चलानी गरेको यरोविल सेमत राखि विल अफ एक्सचेन्ज, राष्ट्र बैंकको अनुमती इत्यादि सम्पूर्ण कागजात हामीले विपक्षी बैंकमा पेश गरी सो कागजातहरु एल.सी.को शर्त मुताविक भए गरेपछि माल सम्बन्धी सम्पुर्ण अधिकार विपक्षीले प्राप्त गरिसकेपछि मात्र हामीलाई रकम भुक्तानी गरेको हो । विनिमयपत्रको आधारमा मात्र विपक्षीले हामीलाई रकम दिएको होइन । प्रस्तुत फिराद लेनदेन व्यवहारको २ र ४० नं. अन्तर्गत दावी लिइ आएको छ भने त्यस्तो रकम स्वतः ऋणमा परिणत हुने व्यवस्था उक्त ऐनमा छैन । करार ऐन, २०२३ को दफा १८(ग) को हदम्याद भित्र फिराद गर्नुपर्नेमा लेनदेन व्यवहारको ४० नं. को हदम्यादमा प्रस्तुत फिराद दायर भएको कानून विपरीत छ । उल्लेखित कारणहरुले गर्दा विपक्षीको दावी तथा पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा काठमाडौं जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन पत्र ।
१६. यसमा फिराद पत्रको प्रकरण नं. ५ मा विपक्षीहरुको एल.सी.नं. १६८४३ बाट २०४२।१२।३१ र २०४३।१।२ मा प्रतितपत्र सम्झौता गरी जम्मा २५,६९,२५९।५८ को रकम यस शाखाबाट लिई साँवा ब्याज नबुझाइ बैंकलाई नोक्सान पारेकोले ब्याज समेत दिलाई पाउँ भन्ने उल्लेख भएको तर लेनदेन व्यवहारको २ र ४० नं. बमोजिम भनी नालेसको कानूनी आधार देखाएको पाइन्छ । प्रतितपत्र सम्झौता गरी लिएको रकमलाई लेनदेन व्यवहराको महल अन्तर्गतको कार्यवाही हो भन्न नमिल्नुका साथै साझेदार सबैका उपर फिराद नपरेको र सबै साझेदारको उक्त प्रतितपत्र सम्झौता भनेको लिखतमा सही परेको पनि देखिंदा समेत शुरु जिल्ला अदालतको फैसला उल्टी गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५३।६।९ को आदेश ।
१७. एस.सी. कारोवारको सम्बन्धममा खडा भएको प्रोमिसरी नोटले ऋणको लिखतको प्रकृतिको स्वतन्त्र हैसियत राख्ने नभई एल.सी. कारोवारको परिप्रेक्ष्यमा यसको वैद्यता निर्धारण गर्नुपर्ने हुँदा प्रतिवादीले वादीसँग तमसुक गरी ऋण लिएको अवस्था नभई व्यापारिक कारोवारमा उल्लेखित एल.सी. अन्तर्गत वादी प्रतिवादी बीच व्यवहार भएको देखिएको र दुवै पक्षले स्वीकारेको UCP (Uniform Custom and Practice for Document Credit) को अधिन हुने व्यवहार भएकोले लेनदेन व्यवहारको २ नं. र ४० नं. बमोजिम भनी फिराद गरेको मिलेको देखिएन । उक्त एल.सी. बमोजिमको व्यवहार करारीय दायित्व अन्तर्गतको देखिएकोमा वादी दावीको रकम भुक्तानी सम्बन्धमा हाम्रो कुनै दायित्व नभएको भनी प्रतिवादी शुभकामना गार्मेन्टले वादीलाई मिति २०४३।४।२७ र २०४३।८।१७ मा पत्र समेत लेखेको देखिएको र प्रस्तुत फिराद २०४४।९।१३ मा दायर भएको देखिंदा प्रतितपत्र सम्बन्धी कुरालाई लिएर भएको लिखतको सम्बन्धभा कारण परेको मितिबाट करार ऐन, २०२३ को दफा १८(ग) बमोजिमको हदम्याद भित्र फिराद परेको भन्ने अवस्था पनि नहुँदा प्रस्तुत फिरा खारेज हुन्छ । वादी दावी बमोजिम प्रतिवादीबाट रकम भराउने गरी भएको पुनरावेदन अदालत पाटनको इन्साफ सदर गर्ने गरेको माननीय न्ययायधीश श्री कृष्णकुमार वर्माको राय सँग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायधीश श्री कृष्णजंग रायमाझीको राय ।
१८. प्रतिवादीले वादी बैंकबाट एल.सी. अन्तर्गतको एफ.वि.एन. हरुमा उल्लेखित रकम लिंदा प्रोमिसरी नोट गरी जुनसुकै कारणबाट सो रकम बैंले प्राप्त नगरेमा सो रकमको ब्याज समेत तिर्न मन्जुर गरी उक्त एल.सी. बमोजिमको रकम प्रतिवादीहरुले बुझिलिएको अवस्थामा वादी बैंकबाट प्रतिवादीले बुझिलिएको उक्त एल.सी. अन्तर्गतको रकम एल.सी.जारी गर्ने बैंक अफ इण्डिया न्यूयोर्कबाट वादी बैंकले भुक्तानी पाएको नदेखिंदा लेनदेन व्यवहारको ४ नं. को अधिनमा रही वादी दावी बमोजिमको साँवा र ब्याज प्रंतिवादीले वादीलाई बुझाउनु पर्ने ठहराई भएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय सहितको यस अदालत संयुक्त इजलासको मिति
२०५५।१२।१९ को फैसला ।
१९. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा अधिवक्ताद्वय श्री कोमल प्रकाश घिमिरे र श्री सुधिर श्रेष्ठ तथा विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री पूर्णमान शाक्यले आ–आफ्नो पक्षको तर्फबाट वहस तथा वहसनोट प्रस्तुत गर्नुभयो ।
२०. पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुले मूलतः प्रस्तुत विवादमा वादी प्रतिवादी बीच भएको व्यवहार एल.सी.कारोवारसँग सम्बन्धित छ । एल.सी. सम्झौता अनुसार वादीले प्रतिवादीलाई रकम भुक्तान गरेको हो । प्रतिवादीले निर्यात गरेको सामान न्यूयोर्कसम्म पुगे पनि आयातकर्ताले नबुझेको हुँदा त्यसको उत्तरदायित्व प्रतिवादीले वहन गर्नुपर्ने होइन । आयात कर्ताबाट रकम लिई बैंकलाई बुझाउने दायित्व प्रतिवादीको होइन । वादीले आफ्नो फिरादमा डिस्क्रीपेन्सिकोको आधारमा आयातकर्ताले सामान बुझि नलिएको कारण बैंकले भुक्तानी पाउन नसकेको रकम स्वतः ऋणमा परिणत हुने कुरा उल्लेख नगरेकोमा पुनरावेदन अदालतले फिराद दावी भन्दा वाहिर गई आत्मनिष्ट आधारमा गरेको फैसला त्रुटिपूर्ण छ । अन्तर्राष्ट्रिययस्तरमा एल.सी.को माध्यमबाट गरिने कारोवारको सम्बन्धमा The Uniform Custom and Practice for Documentary Credits (UCP) लागु हुने कुरा नेपालले पनि स्वीकार गरिसकेको र प्रस्तुत विवादमा UCP नै लागु हुने कुरामा पक्षहरु बीच कुने विवाद छैन । सामान निर्यातकर्ताले निर्धारित कागजातको प्रस्तुती गरेकोमा निगरानी गरी बैंक सन्तुष्ट भएमात्र एल.सी. अनुसार पक्षलाई रकम भुक्तानी गरिएको हुन्छ । यस प्रक्रिया अनुसार आफूले सामान निर्यात कर्तालाई भुक्तानी गरेको रकम करारीय सम्बन्ध अनुसार Issuing Bank सँग सोधभर्ना गर्ने दायित्व विपक्षी बैंकको हुनेमा त्यसतर्फ कुनै कारवाही नगरी सामान निर्यातकर्ता उपर लेनदेन मुद्दा चलाइएको प्रथम दृष्टिमा नै दोषपुर्ण छ । खरिदकर्ता र विक्रेताका बीचमा भएको करारको शर्त उल्लंघन हुँदैमा वा करार अनुसारको सामान ग्रहण नगर्दैमा एल.सी.निरर्थक हुन सक्तैन । यसैले निर्यात गरेको सामान आयातकर्ताले नबुझेको भन्ने आधारमा नालेश लाग्न सक्ने होइन । त्यसै गरी निर्यातकर्ताले पठाएको माल सामान आयातकर्ता र Issuing Bank ले बुझिलिएको प्रमाण निर्यातकर्ताले पुर्याउनुपर्ने समेत नहुँदा पुनरावेदन अदालतले ग्रहण गरेको आधार उक्त नियमको विपरीत छ । प्रतिवादीले पेश गरेको सम्पूर्ण कागजातहरुको निरीक्षण गरी एल.सी.अनुसार प्रतिवादीलाई भुक्तानी गरेको रकमको सम्बन्धमा सो रकम सोधभर्न गर्न वादीले Issuing Bank लाई कारवाही चलाउन वाहेक प्रतिवादीहरु उपर कुनै कारवाही चलाउन सक्दैन । मुद्दाको पक्ष विपक्षका बीचमा भएको व्यवहार बैंकसँग ऋण वा अन्य प्रकारको लेनदेन नभै अन्तर्राष्ट्रिय मान्यता प्राप्त एल.सी. सम्बन्धी व्यवस्था अनुसार बैंकले प्रतिवादीहरुलाई भुक्तानी गरेको रकमको सम्बन्धमा लेनदेन व्यवहारमा परिणत गरी फिरादमा उल्लेखै नगरेको कुरालाई आधार बनाई वादी दावी बमोजिम हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ त्रुटिपूर्ण छ । यसर्थ हदम्याद समेतको आधारमा वादी दावी खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भएको छ ।
२१. विपक्षी वादीका तर्फका विद्वान कानून व्यवसायीले बैंकबाट प्रतिवादीहरुले प्राप्त गरेको रकम निजहरुले फिर्ता दिएको वा विदेशी बैंकले सोधभर्ना गरेको भन्न सकेका छैनन् । सम्झौता अनुसारको सामान आफूहरुले आयातकर्ता समक्ष पुर्याइसकेको भन्ने जिकिर लिन समेत सकेका छैनन् । प्रतिवादीहरुले जुनसुकै कारणबाट यो रकम बैंकमा नआएमा हामी तिर्न मन्जुर छौं भन्ने व्यहोराको लिखत गरी दिएको कारण नै वादीले प्रतिवादीको माग बमोजिम प्रतितपत्रको कारोवारमा संलग्न भएको हो । वादी बैंकले सामानको व्यवहार गर्दैन । प्रतिवादीहरुले कारोवारको सामान वादी बैंकलाई बुझाएको नुहँदा व्यापारिक कारोवारमा वादी बैंक समेत संलग्न रहेको मान्न मिल्दैन । प्रतिवादीले पेश गरेको कागजातको परीक्षण गर्ने अन्तिम निकाय विदेशी बैंक हो । विदेशी बैंक त्यसमा सन्तुष्ट भई रकम सोधभर्ना गरेको भए बैंकले मुद्दा गर्नुपर्ने अवस्था आउने नै थिएन । विदेशी बैंकले डिस्क्रीपेन्सि देखाएर रकम भुक्तानी नगरेको अवस्थामा प्रतिवादी शुभकामना गार्मेन्टले पेश गरेको लिखतको आधारमा वादी बैंकले नेगोसिएत गरी भुक्तानी दिएपछि विपक्षी शुभकामना गार्मेन्टको निवेदन तथा निजले गरी दिएको प्रोमिसरी नोट समेतको आधारमा वादी बैंकले भुक्तानी गरिदिएको रकमको शोधभर्ना विदेशी बैंकले डिस्क्रीपेन्सि देखाई रकम भुक्तानी नगरेमा त्यसरी भुक्तानी दिएको रकम स्वतः ऋणमा परिणत हुन्छ । त्यस्तो रकम वादीलाई बुझाउने दायित्व प्रतिवादीमा रहन्छ । बैंक र प्रतिवादीहरु बीच भएको लिखतको आधारमा प्रतिवादीले वादी बैंकबाट लिएको रकम ऋण सरह रहेको र त्यस्तो रकम बैंकमा सोधभर्ना भई नआएको स्थितिमा ऋणी प्रतिवादीबाट बैंकले भुक्तान गरेका रकम असूल उपर गराउन सक्छ । यस्तोमा लेनदेन व्यवहार आकर्षित हुने नै हुँदा प्रस्तुत फिराद हदम्याद भित्रै परेको छ । यसैले वादी दावी बमोजिमको रकम भराई पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भएको छ ।
२२. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिरतर्फ विचार गरी प्रेषित वहसनोट तथा सम्बन्धित मिसिल समेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको रकम प्रतिवादीहरुबाट वादी बैंकलाई दिलाई भराई दिने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२४ को फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२३. निर्णय तर्फ विचार गर्दा विपक्षीहरुले राष्ट्रिय वाणिज्य बैंक, काठमाडौं शाखाबाट बैंक अफ इण्डिया न्यूयोर्कमा खोलिएको प्रतितपत्रमा नेगोसिएट गरी मिति ०४३।१।२ मा यफ.वि.एन. २१।१६३२ बाट रु. ४,४८,७१०।१२ मिति ०४३।१२।३१ मा यफ.वि.एन.२१।१६१५ बाट १२,८२,१७६। र सोही मितिमा यफ.वि.एन.२१।१६२३ बाट रु. ८,३८,३७२।८६ गरी एल.सी नं. १६८४३ बाट जम्मा रु. २५,६९,२५९।५८ लिएको मध्ये पछि हिसाब मिलान हुने गरी छुट्याइएको रु. २,६८,९९०।१४ कट्टा गर्दा बाँकी हुने रु. २३,००,२६९।४४ मध्ये मिति ०४३।१०।१९ मा अन्नपूर्ण ट्राभल्स टुर्सले तिर्न बुझाउन बोल कबोल गरेको रु. रु. ५,५०,०००। कट्टा गरी बाँकी हुन आउने रु. १७,५०,२६९।४४ र नालेश गर्दाको दिनसम्मको ब्याज वापत हुन आउने रु. ९,१७,०१०।१४ समेत गरी जम्मा रु. २६,६७,२७९।५८ र विगो भरिभराउ गराई पाउने अवस्थासम्मको बैंक नियमानुसार हुने ब्यजा समेत दिलाई भराई पाउँ भन्ने फिराद दावी रहेको पाइन्छ । एल.सी.को कारोवारमा आयातकर्ताहरुले तोकेको शर्त अन्तर्गत तयारी पोशाकहरु आयातकर्तालाई पठाई अन्नपूर्ण ट्राभल्स मार्फत हवाई ढुवानी गर्न दिएको एरोविल समेत एल.सी. मा उल्लेखित सम्पूर्ण कागजातहरु विपक्षी बैंकमा दाखिल गरी सम्पूर्ण हक अधिकार बैंकलाई सुम्पिई आफ्नो दायित्व पूरा गरेको अवस्थामा प्रतितपत्र अन्तर्गतको सामानको रकम सम्बन्धित बैंकबाट उठाउनु पर्ने दायित्व वादी बैंकको हुन्छ । विदेशी बैंकले फिरादीलाई रकम भुक्तानी नगरेको अवस्थामा उक्त बैंक उपर कारवाही चलाउुन पर्नेमा उक्त सामान आयातकर्ताले नबुझेको भनी हामीलाई भुक्तानी गरेको रकममा गैरकानुनी तवरले दावी गरी ब्याज समेत जोडी फिराद गर्न मिल्दैन । सो रकम विपक्षी बैंकले एल.सी. सम्बन्धी कारोवारको विषयमा लेनदेन व्यवहारको २ र ४० नं. को आधारमा दिइएको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर रहेको पाइन्छ ।
२४. संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टेक्सइम्पोर इन्कले बैंक अफ इण्डिया न्यूयोर्क खोलेको आयात एल.सी.मा राष्ट्रिय वाणिज्य बैंकले नेगोसिएट गर्ने र शुभकामना गार्मेन्टसले तयारी पोशाक निर्यात गर्ने सम्बन्धमा प्रत्यर्थी राष्ट्रिय वाणिज्य बैंक एल.सी. कारोवारको स्वयं पक्ष नभएर आफ्ना ग्राहक प्रतिवादीहरुको हकमा नेगोसिएत गर्ने बैंकसम्म रहेको देखनि आउँछ । नेगोसियट गर्ने बैंकको हैसियतले वादी वैंकले आफ्नो ग्राहकलाई विदेशी आयात कर्ताको विदेशस्थित बैंकबाट एल.सी.को रकम भुक्तानी दिएको बुझिलिने, आफ्नो ग्राहकको व्यापारिक सुविधाको लागि ग्राहकद्वारा निर्यात गरिएको सामानको डकुमेन्टमा कर्जा दिने र एल.सी वापत ग्राहकको लागि विदेशी बैंकबाट दिएको भुक्तानीबाट सोधभर्ना गर्दै जाने व्यापारिक बैंकहरुबाट गरिने सामानय बैकिङ्ग कारोवार हो । नेगोसिउटिङ्ग बैंकद्वारा यस्तो कार्य केही कमिशनको निमित्त गरिन्छ भने निर्यातित सामानको इन्भ्वाइसमा तमसुक गराई ऋण दिएकोमा ब्याज समेत प्राप्त गर्ने गर्छन । बैंकद्वारा गरिने यस किसिमको कारोवारमा आयात निर्यात व्यापारको स्वयं पष हुने कुरा नभै अन्तर्राष्ट्रियय आयात निर्यात व्यापारलाई सघाउसम्म पुर्याउने (Facilitates) गर्ने भूमिका बैंकको हुन्छ । नेगोसियट गर्ने बैंक स्वयंको लापरवाहीवा गल्तीले गर्दा करारका पक्षहरुलाई नोक्सान हुन गएको स्पष्ट स्थितिमा बाहेक एल.सी.को कागजात र निर्यातित सामान सम्बन्धमा करार बमोजिम नभै फरक परेको (Discripancies) सम्बन्धमा त्यस्तो बैंकको कुनै जवाफदेही हुँदैन ।
२५. पुनरावेदक प्रतिवादीहरुले प्रत्यर्थी राष्ट्रिय वाणिज्य बैंकबाट मिति ०४३।१।२ र मिति ०४३।१२।३१ मा गरी क्रमशः यफ.वि.एन. २१।१६३२, २१।१६१५ र २१।१६२३ बाट एल.सी.नं. १६८४३ अनुसार जम्मा रु. २५,६९,२५९।५८ रकम बुझि लिएकोमा विवाद देखिंदैन । एल.सी. खोल्ने पक्ष टेक्सइम्पोर इन्क न्यूयोर्कले शुभकामना गार्मेन्टद्वारा पठाइएका कागजातहरु (Advised Document) मा त्रुटि (Discripancies) भएको भनी स्वीकार नगरेकोले एल.सी. जारी गर्ने बैंक अफ इण्डिया न्यूयोर्कबाट प्रत्यर्थी बैंकले आफूले लिखत गराई प्रतिवादीलाई दिएको रकम शोधभर्ना गर्न नसकेको अवस्थामा सामान निर्यातकर्ता तथा आयातकर्ता बीचको करारीय दायित्व पूरा भएको भनी त्यस सम्बन्धमा करारको पक्ष नरहेको प्रत्यर्थी बैंकमा करारीय दायित्व रहेको मान्न सकिदैन ।
२६. प्रत्यर्थी बैंक एकातिर करारको पक्ष रहेको देखिदैन भने अर्कोतिर सो बैंकले प्रतिवादीलाई पटक पटक तमसुक गराई कर्जा दिएको देखिन्छ । वादीले दिएको कर्जा सम्बन्धमा नेगोसिएटिङ्ग बैंकको हैसियतले आयातकर्ताको बैंकबाट आफूले प्रतिवादीलाई दिएको ऋण बराबरको साँवा ब्याज सोधभर्ना गरी लिन नपरेको स्थितिमा सोही तमसुकको आधारमा प्रतिवादीसँगै दावी गरी लिन वादी बैंकलाई कुनै कानून वा बैंकिङ्ग प्रचलनबाट वाधा बन्देज रहेको देखिन आउँदैन । तसर्थ आयात निर्यात व्यापार कारोवारको पक्ष नरहेको र एल.सी. कारोवारको दायितव पनि नरहेको वादी बैंकलाई करार ऐन, २०२३ का हदम्याद लाग्ने अवस्था समेत देखिन आएन । वादी बैंकले प्रतिवादीसँग आयात निर्यात अथवा प्रतितपत्रको कारोवार भन्दा छुट्टै लेनदेन साहु असामीको तमसुकी कारोवार गरेको देखिएको र सो तमसुक वापत कानूनको म्याद भित्रै नालेश परेको देखिन आउँछ ।
२७. प्रत्यर्थी राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिवादीहरुले जुनसुकै कारणबाट एल.सी. प्रतिवादीहरुले जुनसुकै कारणबाट एल.सी बमोजिमको रकम बैंकले प्राप्त नगरेमा सो रकमको ब्याज समेत तिर्न मन्जुर गरी तमसुकबाट श्रृजित दायित्वका सम्बन्धमा वाणिज्य बैंकको ऐन नियमको परिधिभित्र रही लेनदेन व्यवहारको महल आकर्षित हुने हुँदा वादी दावी बमोजिम साँवा र ब्याज समेत प्रतिवादीहरुले वादी राष्ट्रिय वाणिज्य बैंकलाई बुझाउनुपर्ने ठहराई भएको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२४ को इन्साफ सदर गरेको हदसम्म माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको प्रस्तुत पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाइदिनु ।
उपयुक्त रायमा सहमत छौं ।
न्या.अरविन्दनाथ आचार्य
न्या.केदारप्रसाद गिरी
इति सम्वत् २०५७ साल कार्तिक १७ गते रोज ५ शुभम् ।