शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६८७ - कर्तव्यज्यान ।

भाग: ५३ साल: २०६८ महिना: पौस अंक:

ने.का.प. २०६८,           अङ्क ९

निर्णय नं. ८६८७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

२०६७RC००५१

फैसला मितिः २०६८।३।३१।६

मुद्दाःकर्तव्य ज्यान 

वादीः मेदनीप्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रतिवादीः जिल्ला झापा, बुधवारे गाउँ विकास समिति वडा नं.२ जयपुर बस्ने अभिनाराण श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ

 

शुरु आदेश गर्ने :

मा.न्या.श्री अवधविहारीप्रसाद सिन्हा

शुरु फैसला गर्ने :

मा.न्या.श्री नवराज उपाध्याय

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या.श्री पुरुषोत्तम पराजुली

मा.न्या.श्री रेवन्तबहादुर कुँवर

 

§  वारदात एकान्तस्थल जंगलमा घटेकोले त्यस्तो ठाउँमा अन्य व्यक्तिको उपस्थिति हुन सक्ने सम्भावना नहुँदा कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुनु स्वाभाविकै हो । त्यतिकै कारणले मात्र वारदातमा यी प्रतिवादीहरूको संलग्नता छैन भनी अन्य परिस्थितिजन्य प्रमाणलाई ठाडै अस्वीकार गर्न नमिल्ने 

(प्रकरण नं.६)

§  इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसूरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन । सजायबाट बच्नका लागि अदालतमा सामान्य रुपले इन्कारी बयान गर्नु एउटा कुरा हो र त्यसको पुष्ट्याईका लागि विश्वसनीय र ठोस आधार, प्रमाण पनि पेश गर्न सक्नु अर्को कुरा हो । दुबै अवस्थालाई अदालतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । दुईमध्ये दोस्रो अवस्था बढी विश्वसनीय हुन सक्दछ जसको खण्डन वादी पक्षबाट हुन नसकेमा निर्दोषिताको लागि प्रमाणको रुपमा ग्राह्य हुन सक्ने 

§  अभियोजन पक्षबाट उल्लेख्य प्रमाणहरूको उपस्थितिमा अभियुक्तको पहिलो अवस्थाको सामान्य इन्कारी मात्र निजको निर्दोषिताको प्रमाण बन्न सक्दैन । किनभने सजायबाट बच्नका लागि मात्र अदालतलाई ढाँट्न खोजेको हो वा वास्तवमै अमूक अभियुक्त बेकसूर रहेको छ ? अदालतले उपलब्ध समग्र प्रमाणको विश्लेषण गरी सत्य र तथ्यको निरोपण गरी प्रमाणको आधारमा ठहर इन्साफ गर्नुपर्ने 

(प्रकरण नं.७)

वादी तर्फबाटः

प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  प्रमाण ऐन, २०३१ को दफा ८

§  ज्यानसम्बन्धी महलको १, १३(३) नं.

 

फैसला

न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

मिति २०६३।४।१४ गते दिनको १४.०० बजेको समयमा जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं.४ स्थित कालिका सामुदायिक वनको मध्यभागमा कर्तव्य गरी मारेको देखिने महिलाको लास छ भनी स्थानीय जनताले फोन गरेका हुँदा प्र.ना.नि. भोलामान सिँह अधिकारी समेतको टोली घटनास्थलमा खटी गई हेर्दा गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी अं.२८/३० वर्षको हेर्दा क्षेत्रिनी/बाहुनी जस्ती देखिने महिलाको लास देखिएको, नाकबाट खुन आएको, दुवै आँखा वरिपरि नील, देव्रे गालादेखि च्यापु हुँदै अगाडि घाँटीसम्म तथा छातीमा टेकेको बालुवा सहितको पाइला देखिएको, दुवै कुहिना पिल्सेको, वरिपरि झाडी माडिएको देखिँदा निज महिलालाई कर्तव्य गरी मारेको प्रष्ट हुँदा निज महिलाको नाम, थर, वतन पत्ता लगाई सनाखत गराउन तथा अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही हुन प्रतिवेदन पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.स.नि.केशवराज कटुवालको मिति २०६३।४।१४ को प्रतिवेदन 

जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं.४ स्थित कालिका सामुदायिक वनको मध्यभाग स्थित पूर्वमा बुधबारे जाने बाटोबाट मंगली जाने उत्तर दक्षिण बाटो, पश्चिम उत्तर र दक्षिण तीनतर्फ नै जंगल यति चारकिल्लाभित्र मसिना रुख विरुवाहरू भएको ठाउँ पूरा माडिएको देखिएको, सोही स्थानमा दक्षिण पूर्व टाउको, उत्तर पश्चिम खुट्टा, देव्रे हात पेट नजिक, दाहिने हात फैलाई दुवै गोडा फाडी खुम्चिएको उत्तानो अवस्थामा गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी अं.२८/३० वर्षको महिलाको लास गुलाबी रंगको सल माथि उत्तानो अवस्थामा रहेको देखिएको, दुवै आँखा बन्द, वरिपरि नील भएको, नाकको दुवै प्वालबाट रगत निस्की सुकेको, मुख अर्ध खुल्ला भई जिब्रो टोकेको, बीच निधारमा ३ इन्च गोलाईको चोट हेर्दा भित्र हड्डी देखिएको, घोप्टो पारी हेर्दा नाकको प्वालबाट रगत निस्केको, योनी मलद्वार सामान्य, देव्रे नाडीमा अप्रेशन गरी सिलाई गरेको पुरानो टाँकाहरू, दुवै कुहिनामा दरफरिएको घाउहरू, देव्रे गालामुनी च्यापु किलकिलेसम्म नीलडाम र प्रष्ट नदेखिने खुट्टाले टेकेको बालुवा देखिएको पेटमा नीलो डाम बसेको देखिएको, बेवारेसे महिला भन्ने समेत व्यहोराको घटनास्थल तथा लासप्रकृति मुचुल्का 

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट मलाई सबूद प्रमाण र फोटोहरू देखाउँदा प्रष्टसँग चिने । उक्त सामानहरू र फोटो मेरी आमा वर्ष ३७ की कल्पना भन्ने यामकुमारी सुवेदीका हुन । आमाको बायाँ हातको नाडीमा पुरानो टाका लगाएको हुँदा र फोटोहरू समेतबाट अझ प्रष्ट चिने मेरी आमा नै हुन् भन्ने समेत व्यहोराको मृतक कल्पना भन्ने यामकुमारी सुवेदीकी बाबु मेदनीप्रसाद न्यौपाने र भाइ विष्णुकुमार न्यौपानेको रोहवरमा छोरा चुडामणि सुवेदीले गरी दिएको सनाखत कागज 

मिति २०६३।४।१२ गते १४.०० बजे म आमालाई सोधेर झिलझिले गएको थिएँ । आमा कोठामा एक्लै हुनुहुन्थ्यो । म मिति २०६३।४।१४ गते ८.०० बजे कोठामा आउँदा ढोकामा ताला लगाएको थियो । आमा हुनुहुन्थ्यो छिमेकी कोठावाला सुनीता रायलाई सोद्धा मिति २०६३।४।१३ गते दिउँसो २ बजेतिर नै दुर्गापुर जान्छु भनेर हिड्नु भएको थियो भनी बताउनु भयो । २०६३ साल वैशाख शुरुदेखि एक जना गोरो, अग्लो, अनुहारमा कस्तो कस्तो खत भएको मोटो बाँयापट्टि ओठमाथि सानो कोठी भएको घर बुधबारे जयपुर, थर नेवार (श्रेष्ठ) बताउने अं. ३०/३५ वर्षको पुरुष मान्छे बेलुका ४/५ बजेतिर म स्कूलबाट कोठामा आउँदा आमासँग बसी गफ गरी रहेको भेटिन्थ्यो । कहिले रमपम (चाउचाउ) खाइरहेको हुन्थ्यो । कहिले चिया खाई रहेको हुन्थ्यो । गते बार याद भएन मलाई असह्य भएर त्यो मान्छे गएपछि आमालाई किन यो मान्छेलाई बोलाएर एक्लै कोठामा बस्नुहुन्छ ? चिया खाजा खुवाउनु हुन्छ ? भनेर गाली गरो । आमाले यो त तेरो मावली हजुरबुवाको बहिनीको छोरा तेरो मामा पर्ने पो हो त भनेर सम्झाउनु भयो । मैले बुधबारे घर हो, श्रेष्ठ थर हो भने कसरी मेरो मामा हुन्छ भनेर आमालाई हप्काउँदा आमा बोल्नु भएन । आमा छोराको बीच वादीववाद सुनीता राय अन्टीलाई पनि थाहा छ । उनले पनि निजलाई चिन्नुहुन्छ । निजले मेरी आमालाई कहिले दमक, कहिले इण्डिया पानी ट्यांकी लगेको पनि मलाई थाहा छ । अरु कुनै छोरा मान्छेसँग आमा हिडडुल गफ गरेको मलाई थाहा छैन । निजले नै मेरो आमालाई घटनास्थल कालिका सामुदायिक वन धाइजनमा लगेर कर्तव्य गरी मारेको हो, मलाई पूरा विश्वास छ । रातो हिरो होण्डा मे.१प ५३४ नं. को मोटरसाइकल लिएर आउने गर्थे, देखो भने चिन्छु । सुनीता राय अन्टीले पनि चिन्नु हुन्छ । आमालाई कर्तव्य गरी मारी नगद गरगहना समेत लगेकोमा मलाई विश्वास लाग्छ भन्ने समेत व्यहोराको मृतकको छोरा चुडामणि सुवेदीले वडाबाबु सोमनाथ सुवेदीको रोहवरमा गरेको घटना विवरण कागज 

यसमा यस कोठामा पूर्वबाट पश्चिम फर्काई उभ्याएको ५ जना मानिसहरूमध्ये उत्तर (दाहिने) बाट दोस्रो स्थानमा उभिएको व्यक्ति नै मेरो डेरामा आई मेरो आमालाई लिई हिडिरहने, घर बुधवारे जयपुर, थर श्रेष्ठ बताउने व्यक्ति हो , मैले बयानमा उल्लेख गरेको मानिस यही हो । यसैले मेरी आमा कल्पना भन्ने यामकुमारी सुवेदीलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको राजकुमार श्रेष्ठलाई देखाई मृतकका छोरा चुडामणि सुवेदीले गरिदिएको सनाखत कागज 

मेरो साइला ज्वाई झापा, जलथल गाउँ विकास समिति वडा नं. ८ बस्ने भागीरथ सुवेदी वैदेशिक रोजगारमा साउदी अरब भन्ने देशमा २०५७ साल असार २२ गते जानु भएको हुँदा घरमा साइली छोरी कल्पना भन्ने यामकुमारी सुवेदी र दुई जना नाति जेठो सन्तोष सुवेदी र कान्छो सन्दिप भन्ने चुडामणि सुवेदी समेत ३ जना बस्दै आएका थिए । नातिहरूको पढाईको लागि सजिलो होस् भनेर झापा अनारमनी ४ मा डेरा लिई बस्दै आएको थिएँ । जेठो नाति सन्तोष सुवेदी विदेश जाने भनेर काठमाडौं गएको हुँदा डेरामा छोरी र कान्छो नातिमात्र बस्दै आएका थिए । मिति २०६३।४।१२ गते कान्छो नाती चुडामणि सुवेदी मेरो भाइको घर झिलझिले गई ऐ. १४ गते कोठामा आउँदा आमालाई देखेनछ । ढोकामा ताल्चा लगाएको रहेछ । अर्को चाबीले ढोका खोलर बसेछ । मिति २०६३।४।१८ गतेसम्म आमा नआएपछि आमा खोज्न सानीआमाको घर दुर्गापुर गएछ । त्यसपछि भद्रपुरमा मामालाई फोन गरेछ र मेरो घरमा आयो । त्यसपछि सम्भव भएसम्म खोजियो भेटिएन । त्यस्तैमा काकरभिट्टा थानाले जंगलमा मारेर फालेको अवस्थामा बेवारेसे आइमाईको लास भेटियो अरे भन्ने सुनेर यस कार्यालयमा आउँदा फोटोहरू, लेडिज व्याग, चप्पल, छाता समेत प्रहरीले देखाउँदा मेरी साइली छोरी वर्ष ३७ की कल्पना भन्ने यामकुमारी सुवेदीलाई प्रष्ट चिनें । नातिले पनि आमा हो भनेर चिन्यो । नातिको भनाइअनुसार मे.१ प ५३४ नं. को रातो मोटरसाइकलमा झापा बुधवारे जयपुर घर, श्रेष्ठ थर भएको, मोटो देव्रे ओठ माथि सानो कोठी भएको अं. ३०/३५ वर्षको मानिस छोरीको कोठामा आइरहने, फोन गरागर गर्ने, छोरीलाई त्यही मोटरसाइकलमा लिएर कता कता हिड्ने गरेको बुझिन आएको र प्रहरीले सो मोटरसाइकलसहित मानिस पक्रेको छ भनी बोलाएको हुँदा मिति २०६३।४।२८ गते आउँदा हुलियाअनुसारको जिल्ला झापा बुधवारे, जयपुर बस्ने अं. वर्ष ३७ को राजकुमार श्रेष्ठलाई नातिले सनाखत समेत गरी दिएको हुँदा नाति नाबालक भएकोले बाबुको हैसियतले जाहेरी दिन आएको छु । निज अपराधीले मेरी छोरी कल्पना भन्ने यामकुमारी सुवेदीलाई कर्तव्य गरी मारी गरगहना तथा नगद समेत लगेकोमा विश्वास लागेको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको मृतकको बाबु मेदनीप्रसाद न्यौपानेले दिएको जाहेरी दरखास्त 

म जिल्ला झापा अनारमनी४ घनश्याम पराजुलीको घरमा डेरा गरी बस्दै आएकी छु । त्यस घरमा म, अमृत लिम्बू र कल्पना भन्ने यामकुमारी सुवेदी डेरा गरी बस्दै आएका थियौं । निज यामकुमारीलाई भेट्न डेरामा गहुँगोरो, अनुहारमा कस्तो कस्तो खत जस्तो देखिने, मोटो शरीर भएको, हँसिलो खालको मानिस आई रहन्थ्यो । मलाई गते बार थाहा हुन सकेन, २०६३ सालको असार महिनाको १० देखि १५ गते बीचमा त्यो मान्छे र आमा यामकुमारी डेरा कोठाभित्र गफ गरेर बसेको छोरा संदिप भन्ने चुडामणि सुवेदीले भेटेछ र आमा छोराबीच वाद विवाद चल्न थल्यो । त्यो मान्छे त्यहाँबाट हिड्यो । म के भएछ भनेर बुझ्न जाँदा त्यो मान्छे खाली आमालाई भेट्न आई रहने, सँगै हिड्ने बस्ने गरेको कारणले छोराले रिस गरेर आमालाई कराएको रहेछ । निज मानिसलाई म चिन्दछु । यामकुमारी सुवेदीले मिति २०६३।४।१३ गते बेलुकीपख डेरा कोठा बन्द गरेर दुर्गापुर जान्छु भनेर हिडेकी थिइन् । २०६३ साल जेठ महिनादेखि मेरो पैसा एक जना भन्नै नहुने मान्छेले खाई दियो, घर बनाउनु पर्ने, चोटाहा रहेछ, कति माग्दा पनि दिदैन भनेर भनिरहने गर्थिन । कति पैसा कसले खाएको हो, त्यो चाहिँ भन्दैन थिइन । निज यामकुमारीलाई कसले घटनास्थलमा पुर्‍याई कर्तव्य गरी मारेको हो त्यो चाहिँ मलाई थाहा भएन । देखाइएका फोटोहरू कल्पना भन्ने यामकुमारी सुवेदीको हो भन्ने समेत व्यहोराको छिमेकी डेरावाल सुनीता रायले गरिदिएको घटना विवरण कागज 

मलाई ६ जना मोटे मोटे गोरे मानिसहरू देखाउँदा हेरे । हेर्दा बायाँ उत्तरबाट ३ नं. मा तेस्रो स्थानमा खडा सेतो भेष्ट कालो धर्के हापेन लगाएको, अनुहारमा छेका छेका जस्तो खत बायाँ ओठमाथि कोठी भएको, मोटे गोरे मान्छे नै यामकुमारी सुवेदीलाई डेरामा भेट्न आइरहने बस्ने, सँगै हिड्ने मानिस हो । अहिले बुझ्दा नाम राजकुमार श्रेष्ठ, घर बुधवार२ जयपुर बताए भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार श्रेष्ठलाई सनाखत गरेको सुनीता रायको सनाखत कागज 

मेरो घर कालिका सामुदायिक वनको पश्चिम उत्तर अर्थात घटनास्थलदेखि अं.१ कि.मी. पश्चिम उत्तरमा पर्छ । मिति २०६३।४।१४ गते बिहान अं. ११ बजे वनभित्र केटीलाई मारेको लास भेटियो अरे भन्ने गाउँमा हल्ला भयो र बेलुका अं. १७.०० बजे घटनास्थलमा पुग्दा प्रहरीले मुचुल्का गरी लास गाडीमा लोड गर्दै गर्दा पुगेर लास हेरो । अगाडि घाँटीमा नील बसेको, निधारमा गहिरो चोट लागी खुन बगेको थियो । लास हेर्दा त्यो महिलालाई कर्तव्य गरी मारेको हो, मैले सोही बेला नै यो महिला यस भन्दा अगाडि ३ पटक मे.१ प ५३४ नं. को मोटरसाइकलमा पछाडि बसेर जंगल पसेर कहिले डेढ घण्टा, कहिले अढाई घण्टामा फेरि जंगलबाट निस्केर गएको देखेको हुँ । मोटरसाइकल चलाउने गोरो मोटो मान्छे थियो सो कुरा प्रहरी र जनसमूहमा भनी दिएको थिएँ । मिति २०६३।४।७ गते पनि मे. १ प. ५३४ नं. को रातो मोटरसाइकलमा त्यहीं केटीलाई लिएर आएकाले त्यस केटालाई चिन्नु पर्‍यो भन्दा अनुहार राम्रो हेर्न नपाउँदै हेल्मेटको शिशा झारी हाल्यो । केटीलाई चाँहि हेरे, कहाँकी हो भनेर चिनिन । सीधै जंगलभित्र पसे, डेढ घण्टा पछि फर्कदा पनि केटाले शिशा झारेर आयो, केटीले सलले अनुहार ढाकेर गएका थिए । मिति २०६३।४।१४ गते हेर्दा त्यही केटीको पो मृत लास रहेछ र अहिले त्यो केटी झापा, जलथल८ बस्ने भगिरथ सुवेदीकी श्रीमती वर्ष ३७ की यामकुमारी सुवेदी हो भनेर सनाखत भइसकेको यसै कार्यालयबाट थाहा पाएं । साउन ७ गतेभन्दा अगाडि असार महिनामा गते बार थाहा भएन यही नं.को मोटरसाइकलमा केटा पछाडि बसेर केटीलाई चलाउन सिकाई रहेको देखेको थिएँ, तर मिति २०६३।४।१४ गते चाहिँ देखेको थिइन । निज महिलालाई बराबर मे.१ प ५३४ नं. को मोटरसाइकलमा पछाडि बसेर जंगल आउने जाने गरेको देखेको र मिति २०६३।४।१४ गते केटीलाई मृत अवस्थामा लास भेटिंदा त्यही मोटरसाइकल चालकले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको शान्तिराम तिवारीले गरिदिएको घटना विवरण कागज 

मेरो घर कालिका सामुदायिक वनको पश्चिम किनारादेखि अं.५०० मिटर घटनास्थलदेखि अं.डेढ कि.मी.पश्चिम उत्तरमा पर्छ । तर म कालिका सामुदायिक वनको उत्तर आर्दश नमूना सामुदायिक वनको बनरक्षकको काम गर्दछु । २०६३ साल असार अन्तिमतिर गते बार थाहा भएन एउटा रातो रंगको मोटरसाइकलमा केटा र केटी आएर जंगलभित्र बस्छन् । ३/४ घण्टा जंगलभित्र बसेर फर्किन्छन् भनेर जंगल छेउ गाउँका मानिसहरूले भनेको सुनो । बुहारी नाता पर्ने पवित्रा लकान्द्रीले त्यही मोटरसाइकलमा केटाकेटी जंगल छेउमा आएर केटाको काखमा केटी बसेकी छ भनेर गाउँमा भनिछन् । गाउँलेले भनेपछि पक्रनु पर्‍यो को रहेछ भनेर जाँदा जंगलभित्र पसिसकेका रहेछन् । त्यस्तै ११/१२ बजेको थियो भेटिएन । समितिको अफीसमा बसी रहेको थिएँ । बेलुका ४ बजे जंगलबाट निस्केर केटाकेटी आए । चिन्नु पर्‍यो भनेर आउँदा आउँदै क्रस भै हाल्यो, मोटरसाइकल रातो हिरो होण्डा मे. १ प ५३४ नं. मात्रै टिप्न पाऊँ । यस्तैमा मिति २०६३।४।७ गते बेलुका ४ बजेको समयमा म समितिको अफीसमा बसिरहेको बेला केटा पछाडि बसी केटीले चलाएर त्यही मोटरसाइकल अफीस तल रोके, ११ बजे जंगल पसेको सुनेको थिएँ । ओर्लेर केटाले चलायो, केटी पछाडि बसी, हेर्दा केटा केटी दुवैजना नचिनेका रहेछन् । केटा गहुँ गोरो अनुहारमा दाग भएको ३५/४० वर्षको मोटो थियो, केटी मोटी गहुँ गोरो गुलाबी कुर्ता सुरुवाल, गुलाबी हरियो किनारा भएको सल लगाएकी ३०/३५ वर्षकी थिई । मिति २०६३।४।१४ गते जंगलभित्र केटीको लास देखेको भन्ने हल्ला सुनेर हेर्न जाँदा मैले २ चोटी देखेको त्यही लुगा लगाएकी त्यही सलमा उत्तानो परी रहेको केटीको लास देखो । निधारमा गहिरो चोट घाटीमा नील, जीउमा दरफरिएको घाउ देख्दा कर्तव्य गरी मारेको विश्वास लाग्यो, त्यो मोटरसाइकल चालक देख्दा चिन्छु । त्यही पुरुषले जंगलमा लगी मारेकोमा विश्वास लाग्छ, किनभने त्यो घटनादेखि पछाडि आजसम्म त्यो मोटरसाइकल, मानिस र केटी कोही जंगलमा आएको देखेको छैन भन्ने समेत व्यहोराको बनरक्षक भरतकुमार राईले गरिदिएको घटना विवरण कागज 

मेरो घर जंगल नजिकै घटनास्थलदेखि अ. १ कि.मी. पश्चिम उत्तरमा छ, निगुरो टिप्ने केटा केटीहरूले जंगलमा लास देखेर भागेको भन्ने हल्ला सुनी मिति २०६३।४।१४ गते १२ बजे घटनास्थलमा आई हेर्दा निधारमा गहिरो चोट गलामा निल बसेको, उत्तानो मृत अवस्थामा गुलाबी रातो रंगको कुर्ता सुरुवाल सलमा महिलाको लास देखो । प्रहरीले मुचुल्का गरेर लास उठाए । मैले त्यस बखत ल यो महिला यही ड्रेसमा एक जना गोरो मोटो अनुहारमा खस्रो भएको ३५/४० वर्ष लोग्नेमानिससँग मे.१ प ५३४ नं. को रातो मोटरसाइकलमा धेरै चोटी यो जंगलमा पसेको निस्केको हामीले देखेका थियौं, त्यो मोटरसाइकल पक्रेपछि सबै थाहा हुन्छ भनेका थियौं । आज यस कार्यालयमा आई बुझ्दा मृतक झापा गोलधाप५ बस्ने मेदनीप्रसाद न्यौपानेको छोरी वर्ष ३७ की कल्पना भन्ने यामकुमारी सुवेदी हो भन्ने पत्ता लागेछ । मेरो अहिलेसम्मको अनुसन्धानले निज महिलालाई सँधै लिएर जंगल पस्ने, /४ घण्टा बसाई लैजाने मे १ प ५३४ नं. को मोटरसाइकल चलाउने लोग्नेमानिसले नै ल्याई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ, किनभने त्यो घटना घट्नु अगाडि प्रायः जसो त्यो मोटरसाइकलमा यही मृतक आइमाई लिएर त्यो मानिस आई रहन्थ्यो । घटना घटेपछि मिति २०६३।४।१४ पछि आजसम्म त्यो मोटरसाइकल र मानिस आउन बन्द भयो । त्यो मोटरसाइकल र मानिस देखेमा चिन्छु भन्ने समेत व्यहोराको लोकनाथ पोखरेलले गरी दिएको घटना विवरण कागज 

मेरो घर घटनास्थलदेखि अं. १ कि.मी. उत्तर पश्चिममा पर्छ । मिति २०६३।४।१४ गते ११ बजे धाइजनका केटा केटीहरूले निगुरो खोज्न जाँदा मारेको केटीको लास देखेर गाउँमा हल्ला गरेछन् १२ बजे थाहा पाई घटनास्थलमा आई हेर्दा टाउकोमा गहिरो चोट, अगाडि घाटीमा नीलडाम, कुहिँनामा दरफरिएको, उत्तानो परेको लास देखो । ५ हजार भन्दा बढीले लास हेरे सनाखत भएन । निज मृतक महिलालाई म समेतका झापा बुधवारे ८, जंगल साइडका मानिसहरूले बनरक्षकहरूले १ जना मोटोमोटो अनुहारमा कोत्रे खत भएको अ. ३५/४० वर्षको पुरुषले मे.१प ५३४ नं.को मोटरसाइकलमा लिएर जंगलभित्र गई रहने गरेको देखेको गाउँमा चर्चा हल्ला चलिरहेको थियो । यस्तैमा मिति २०६३ असार अन्तिम तिर बेलुकी ४ बजे म जोतेर घरमा बसी रहेको बेला मे १ प ५३४ नं. को मोटरसाइकलमा लासमा लगाएकै गुलावी कुर्ता सुरुवाल सल लगाएकी महिलालाई केटाले मोटरसाइकलमा जंगलबाट लिएर आयो, म बाटोमा आएर को रहेछन् त भनेर हेर्न बसो । अगाडिबाटै गए मैले राम्रो हेरो । चिनेका मान्छे, होइन रहेछन् । त्यसपछि केटाले हेलमेटको सिसा झार्‍यो, केटीले सलले मुख ढाकी गएँ । त्यो लास भेटिएको ५/७ दिन अगाडि पनि बिहान ११ बजे त्यही मोटरसाइकलमा केटा केटी पसेको सुनियो, मैले पसेको देखिन । जोतेर आई घरमा बसिरहेको थिएँ । जंगलबाट केटीले मोटरसाइकल हाकेको केटा पछाडि बसेको समितिको अफीस अगाडि आएर रोकेर फेरी केटाले हाँकेको, केटी पछाडि बसी मिति २०६३।४।१४ गते घटनास्थलमा गई हेर्दा त्यही महिला मैले देखेकै ड्रेसमा मरिरहेको देख्दा त्यही मोटरसाइकलमा लिई आउनेले कर्तव्य गरी मारेकोमा विश्वास लाग्यो । त्यो मानिसलाई देख्दा चिन्छु, अहिले बुझ्दा मृतक झापा गोलधाप५ बस्ने मेदनीप्रसाद न्यौपानेकी छोरी यामकुमारी सुवेदी हो भन्ने थाहा पाएं भन्ने समेत व्यहोराको गंगा गहतराजले गरिदिएको घटना विवरण 

घटनास्थलबाट मेरो घर १.५ कि.मी. पश्चिम उत्तरमा पर्छ म बनरक्षकको काम गर्छु । मिति २०६३।४।१४ गते धाइजनका मसिना केटाकेटीले जंगलमा लास देखेको हल्ला सुनेर घटनास्थलमा गई हेर्दा निधारमा गहिरो चोट, च्यापु किलकिलेमा नील बसेको समेत देख्दा कर्तव्य गरी मारेको हो । ५ हजारभन्दा बढीले लास हेरे, सनाखत हुन सकेन । प्रहरीले मुचुल्का दिउँसो २ बजेतिर गएको हो । अहिले यस कार्यालयमा आई बुझ्दा मर्ने महिला झापा जलथल८ बस्ने भगिरथ सुवेदीको श्रीमती वर्ष ३७ की कल्पना भन्ने यामकुमारी सुवेदी भन्ने बुझियो । यी मृतक महिलालाई त्यही मोटरसाइकल मे. १ प ५३४ नं. का चालकले जंगलमा लगी कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको बनरक्षक टेकबहादुर रसाइलीले गरेको घटना विवरण कागज 

यसमा यी देखाइएका ५ जनामध्येका दाहिने उत्तरबाट दोस्रो स्थानमा बसेका मानिसले नै मृतक यामकुमारी सुवेदीलाई घटना अगाडि बराबर लिई घटनास्थल जंगलभित्र जाने बस्ने र आउने गरेको देखेका हौं, मानिस यिनै हुन् । नाम, थर, घर, ठेगाना अहिले सोद्धा झापा बुधवारे२ जयपुर बस्ने वर्ष ३७ को राजकुमार श्रेष्ठ बताएका छन् । पहिचान गरी सनाखत गरी दियौं र मे. १ प ५३४ नं. रातो हिरो होण्डा मोटरसाइकल यही हो भनी शान्तिराम तिवारी समेत ५ जनाले प्रतिवादी र निजले प्रयोग गरेको मोटरसाइकल सनाखत गरिदिएको कागज 

मृतकको मृत्यु Head injury को कारण मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन र भेजेनल स्वाव समेत परीक्षण गर्दा Spermatozoa not seen भन्ने मेडिकल ल्याब टेक्नोलोजिष्टको रिपोर्ट, दाहिने आँखा बाहिर निस्केको, नाक मुखबाट रगत आएको भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन 

यसमा मिसिलमा सामेल भएको मृतक महिलाको फोटोहरू हेरे चिने । मेरै टोलमा डेरा गरी बस्ने कल्पना भन्ने यामकुमारी सुवेदी हुन् । मिति २०६३।४।१३ गते डेराबाट हिडेकी थिइन् । त्यहाँबाट यी महिला डेरामा फर्केर आएकी थिइनन् । मिति २०६३।४।२५ गतेमात्र कल्पना सुवेदीलाई त जंगलमा मारेर फालेको लास पुलिसले भेटेको थियो अरे भन्ने सुनेकी थिएँ । कल्पना सुवेदीलाई भेट्न डेरामा एक जना रातो रंगको मोटरसाइकल लिएर रातो रंगको हेलमेट लगाएर मोटो मोटो अनुहारमा खत जस्तो भएको ३५/४० वर्षको पुरुष आउने गरेको देखेकी थिएँ । कल्पना सुवेदी मेरो निकै रुपैयाँ फसेको छ, घर बनाउनु पर्ने भन्ने कुरा गरी रहन्थिन् । तर कहाँ कसरी कति फसेको छ भनेर चाहिँ भन्दिनथिन । एक जना पुरुष आउने जाने गरी रहने, सँगै हिड्ने बस्ने गरेको देखिएको हुँदा निजले पैसा लिएको हुनसक्छ निज पुरुषलाई चिन्न सक्छु भन्ने समेत व्यहोराको माया चौधरीले गरिदिएको घटना विवरण कागज 

यसमा यी देखाइएका ५ जनामध्ये बायाँ दक्षिणबाट दोस्रो स्थानमा बसेको अनुहारमा खत जस्तो भएको गहुँ गोरो हाँसी रहने मोटो मानिस नै कल्पना सुवेदीलाई भेट्न आइरहने गरेको मैले देखेकी हुँ । अहिले नाम, थर बुझ्दा जिल्ला झापा बुधवारे२ जयपुर बस्ने राजकुमार श्रेष्ठ रहेछन् । हेरी चिनी सनाखत गरिदिएँ भन्ने व्यहोराको माया चौधरीले गरिदिएको सनाखत कागज 

मिसिलमा भएका मृतक महिलाको सबै फोटोहरू हेरो । यी फोटोहरू जिल्ला झापा अनारमनी गाउँ विकास समिति वडा नं.४ मा डेरा गरी बस्ने कल्पना सुवेदी नाम बताउने महिला हुन् । हाम्रो प्यूस इम्पोरियम र पि.सि.ओ. भएको हुँदा निज कल्पना सुवेदी हाम्रो पि.सि.ओ. मा आई रहने फोन गरिरहने गर्थिन, त्यही भएर यिनलाई चिनेको हुँ । निज कल्पनाले जहिले पनि बुधवारे जयपुरको फोन नं. ५५५१३१ नं. र ५५५१४० मा फोन गर्ने गर्थिन । ५/६ महिना अगाडिदेखि हो, अहिले आउन छोडेको निकै दिन भएको थियो । हाल मृत अवस्थामा फोटोहरू देखाउँदा थाहा भयो उनको हत्या भइसकेको रहेछ र आउन छाडेकी रहिछन् । निजलाई को कसले हत्या गरेको हो मलाई थाहा भएन । निजको कोको सँग सम्बन्ध थियो त्यो मलाई थाहा हुन सकेन । २०६३ साल साउन १२/१३ गतेतिर मेरै पि.सि.ओ. अगाडि फलफूल पसल गरी बस्ने टेकनाथ काफ्लेले कल्पनालाई एक जना छोरा मान्छेसँग एउटै रिक्सामा चढेर गएको देखेका थिए अरे निजसँग बुझी पाऊँ भन्ने समेत व्यहोराको जुना बुढाथोकीले गरेको घटना विवरण कागज 

मृतक कल्पना भन्ने यामकुमारी सुवेदीको माइती घर र मेरो घर पहिला झापा गोलधाप५ मा भएको हुँदा २०४५ सालदेखिकै चिनजान हो, नाता सम्बन्ध केही पर्दैन । कल्पना सुवेदीका बाबु मेदनीप्रसाद न्यौपाने र छोरा नाम थाहा नभएकोलाई मिति २०६३।४।२४ गते विर्तामोड चोकमा भेटाउँदा यामकुमारीलाई जंगलमा मारेर फालेको थियो अरे भन्ने थाहा पाएको हुँ । मृतक कल्पना भन्ने यामकुमारी जहिले पनि फोन गर्न मेरो दोकानमा आई रहने गर्थिन । निजका पति विदेशमा रोजगार गर्ने हुँदा श्रीमानलाई फोन गर्न आएकी होलिन् भनेर म वास्ता गर्दिनथे । तर हाल बुझ्दा निजले बुधवारे जयपुरको एक जना मानिसलाई फोन गर्ने गरेको कुरा सोही पि.सि.ओ.बाट बुझिन आयो । मिति २०६३।४।१३ गते त्यस्तै ३/४ बजेतिर रिक्सामा हुट लगाएर एक जना केटासँग भद्रपुर रोडबाट विर्तामोड चौक नजिकै रोकेर ओर्लिए । खै के कुरा गरे दुवै एकछिन उभिए, त्यसपछि सँगै पूर्वतिर लागे, कता गए ख्याल गरिन । त्यो मोटो, भुडी हल्का देखिने, नाक ठूलो गरेको गोरो गोरो ३५।४० वर्षको पुरुष मानिस थियो । १५।२० दिन अगाडि कल्पनाले विदेशबाट लोग्ने आउनेवाला छन् भनेर बताएकी थिइन । मैले सोचो लोग्ने आएछ । त्यो पुरुषलाई देख्दा म चिन्छु । त्यसै दिनदेखि फर्केर डेरामा पनि नआएकी भन्ने बुझिँदा त्यही लोग्नेमानिसले जंगलमा पुर्‍याएर कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको टेकनाथ काफ्लेले गरिदिएको घटना विवरण कागज 

यसमा उभिएका ६ जना पुरुषहरूमध्येको उत्तरबाट तेस्रो स्थानमा उभिएको अनुहारमा खत, गोरो वर्णको, हँसिलो देखिने मोटो मानिसलाई नै मैले मिति २०६३।४।१३ गते ३, ४ बजेतिर विर्तामोड चौकमा कल्पना सुवेदीसँग रिक्साबाट ओर्लिएर पूर्वतिर लागेको देखेको हुँ । अहिले नाम, थर सोद्धा जिल्ला झापा बुधवारे२ जयपुर बस्ने राजकुमार श्रेष्ठ हुन भनेर बताउनु भयो भनी टेकनाथ काफ्लेले गरिदिएको सनाखत कागज 

म बस्ने गरेको पि.सि.ओ.मा भएको फोन नं. ५५५१३१ ने.क.पा.(एमाले) बुधवारे गाउँ कमिटीका नाममा दर्ता छ । २०६२ चैत्रदेखि राजु भन्ने सन्तोष पोखरेलले सञ्चालन गर्दै आएका छन् । सो पि.सि.ओ. बाट राजकुमार श्रेष्ठको घर नं. ७/८ सय मिटर उत्तरमा पर्छ । विर्तामोडको पि.सि.ओ. को फोन नं. ५४२०४२ बाट महिलाले राजकुमार श्रेष्ठलाई बोलाई दिनु भनेर अनुरोध गर्थिन । तर उनको नाम थर ख्याल गरिन । फोन आएपछि मसिना केटाकेटीलाई बोलाउन पठाउदिन्थो । राजकुमार श्रेष्ठ आउनुहुन्थ्यो । उनी ५४२०४२ मा उनलाई फोन गर्नु हुन्थ्यो । घरमा नभेटिदा हुनुहुन्न अरे भनेर म जवाफ दिथो । मिसिल सामेल मृतक महिलाका फोटोहरू हेर्दा मैले कहिले नदेखेकी रहेछु, चिन्दिन भन्ने समेत व्यहोराको लिला कुइकेल (कडरिया) ले गरी दिएको घटना विवरण कागज 

मैले सञ्चालन गर्दै आएको फोन नं. ५५५१३१ को टेलिफोन सेवा ने.क.पा.(एमाले) बुधवारे गाउँ कमिटीको नाममा दर्ता रहेको छ । प्रतिवादी राजकुमार श्रेष्ठको घर मेरो पि.सि.ओ. देखि ८०० मिटर उत्तरमा पर्छ । राजकुमार श्रेष्ठको घरमा फर्निचर उद्योग सञ्चालन गरेको हुँदा विभिन्न नम्बरहरूबाट फोन आइरहन्थ्यो र राजकुमार श्रेष्ठलाई बोलाई रहनु पर्थ्यो । राजकुमार श्रेष्ठलाई केटा मानिसहरू र केटी मानिसहरूले फोन गरिरहन्थे । तर फोन नं. ५४२०४२ बाट कल्पना सुवेदीले फोन गरेको मलाई यकीन थाहा भएन किन भने मैले नाम थर वतन सोधी खोजी गर्दिनथे । मेरो पि.सि.ओ. मा विशेष गरी म र मेरी दिदी नाता पर्ने लिला कुइकेल बस्ने गर्छौ । राजकुमार श्रेष्ठलाई धेरै जनाले धेरै नम्बरबाट फोन गरी बोलाई दिन अनुरोध गरिरहने हुँदा सबै कुरा मैले ख्याल गरिन । मिसिल सामेल फोटो हेरे, मैले चिने देखेका होइनन् भन्ने समेत व्यहोराको सन्तोष पोखरेलले गरिदिएको घटना विवरण कागज 

कल्पना भन्ने यामकुमारी सुवेदीलाई मारिएको घटनास्थल तथा लास प्रकृति मुचुल्काको व्यहोरा र मृतकका फोटोहरू हेरो, पढे तर मैले उसलाई जीवनमा कहिले देखेको चिनेको नहुँदा मैले कर्तव्य गरी मारेको होइन । कल्पना भन्ने यामकुमारी सुवेदीको छोरा भनिएको चुडामणि सुवेदीलाई देखेको चिनेको थिएन । त्यही अस्ती गते बार थाहा भएन, मलाई चिनाउन भनेर काकरभिट्टा पुलिस थानामा ल्याएको रहेछ । त्यसैबेला मृतकको छोरा अरे भनेर थाहा भएको हो । उसलाई मैले इलाम जाउँ घुमाउछु भनेको पनि होइन । उसको डेरामा आउँदा आमासँग बस्ने, कुरा गर्ने गरेको होइन । रमपम चाउचाउ खाएको, सँगै लिएर हिड्ने काम गरेको पनि होइन, त्यतिकै झूठा आरोप लगाएको हो । मे. १ प ५३४ नं. रातो हिरोहोण्डा मोटरसाइकल मेरो हो, झापा शनिश्चरे१ बस्ने विक्रम राजभण्डारीबाट ६ महिना अगाडि रु.२५,०००।मा किनेको हो, उसैको नाममा भएकोले नामसारी गर्न बाँकी छ । अनारमनी ४ मा डेरा गरी बस्ने सुनीता रायलाई म चिन्दिन । मैले मे १ प ५३४ नं. मोटरसाइकलमा घटनास्थल भनिएको जंगलमा पटकपटक लैजाने बस्ने, मोटरसाइकल सिकाउने गरेको कल्पना भन्ने यामकुमारी सुवेदीलाई होइन । झापा शनिश्चरे बस्ने मेनुका भारती भन्ने केटी चाहिँ हो । शान्तिराम सुवेदी समेत ५ जनाले मलाई र मे. १ प ५३४ नं. मोटरसाइकल राम्रै चिनेछन्, ठीकै हो तर केटी चाहिँ कल्पना सुवेदी भन्ने यामकुमारी सुवेदी चाहिँ होइन मेनुका भारती भन्ने केटी हुन् । म माया चौधरीलाई नै चिन्दिन, किन मलाई कल्पना भन्ने यामकुमारी सुवेदीलाई भेट्न आइरहने यही हो भनेर सनाखत गरिन् निजै जानून् । म कल्पना सुवेदीसँग रिक्सामा हिडेको छैन । टेकनाथ काफ्लेलाई पनि चिन्दिन । मलाई कसरी चिन्यो र सनाखत गरेको हो । कल्पना सुवेदीसँग फोनवार्ता नै भएको छैन । मलाई फोन ५४२०४२ बाट फोन पनि आउँदैनथ्यो । १ वर्ष अगाडि शनिश्चरे९ बस्ने गीता पौडेल घरमा आउँदा जाँदा मेनुका भारतीसँग चिनजान भएको र २०६३ साल वैशाखमा मैले मेनुका भारतीलाई मोटरसाइकल चलाउन सिकाउँन धाइजनको जंगलमा मे १ प ५३४ नं. को मोटरसाइकलमा लगेको र मेरो र मेनुका भारतीबीच यौनसम्पर्क भयो । त्यस पछाडिदेखि हामी बराबर सोही जंगलमा जाने यौनसम्पर्क गर्ने गर्थ्यौ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

म कुमार इञ्जिनियरिङ्ग वर्कसप (कुमार ग्यारेज) को सञ्चालक मालिक हुँ । म झापा बुधवारे२ जयपुर बस्ने राजकुमार श्रेष्ठलाई चिन्छु । राजकुमार श्रेष्ठ बराबर मेरो ग्यारेजमा आइरहने गर्थे । आइरहने हुँदा मिति २०६३।४।१३ गते मेरो ग्यारेजमा आएका थिए कि थिएनन् थाहा भएन । आउँदा रातो रंगको मोटरसाइकलमा आउँथे, नम्बर थाहा भएन । आउँर्दा  कहिले काहीँ प्रभु श्रेष्ठलाई लिएर आउथे, नत्र एक्लै आउथे । केटी मानिस लिएर आएको थाहा छैन । मिसिल सामेल मृतक महिलाको फोटोहरू हेरो । तर मैले चिनेको महिला होइनन् र यस महिलालाई मैले राजकुमार श्रेष्ठसँग हिँडेको देखेको थिएन भन्ने समेत व्यहोराको शरदकुमार श्रेष्ठले गरेको घटना विवरण कागज 

मेरो र प्रतिवादी राजकुमार श्रेष्ठबीच चिनजान भएको ३ वर्ष जति भयो । प्रतिवादीको फर्निचर उद्योग भएकोले फर्निचर किन्न जाँदा चिनजान भएको हो । यस्तैमा २०६३ साल साउन १० गते राजकुमार श्रेष्ठले रु. १०,०००।सापटी मागी लगेको हुँदा दिएकी थिएँ । सामान बनाई मागुँला वा रकम फिर्ताए लिउँला भनेकी थिएँ, त्यो रकम लिन बाँकी नै छ । आर्थिक कारोवार त्यति नै हो । मेरो र मेनुका भारतीको घर एकै ठाउँमा भएको हुँदा धेरै अगाडि देखिको चिनजान हो । प्रतिवादी राजकुमार श्रेष्ठले मेरो घरमा आउँदा जाँदा मेनुका भारती र राजकुमार श्रेष्ठको आफै बोलचाल भएको होला । मैले यी दुवै जनालाई चिनजान गराई दिएको होइन भन्ने समेत व्यहोराको श्रीमती गीता पौडेलले गरी दिएको घटना विवरण कागज 

मैले राजकुमार श्रेष्ठलाई २०६२ साल मंसिर महिनादेखि चिनेको हुँ । राजकुमार श्रेष्ठ झापा शनिश्चरे९ बस्ने गीता पौडेलको घरमा आएका रहेछन् । घरमा फर्निचर पसल छ भने, मलाई पनि टि.भी. सो केश चाहिएको छ भने, उसले बनाई दिउला भने र बोलचाल चिनजान भएको थियो । हामीबीच कुनै नाता सम्बन्ध पर्दैन । उसले मलाई बैनी भन्छ, म दाजु भन्छु । राजकुमार श्रेष्ठ मोटरसाइकलमा चढेर हिड्ने गरेको थाहा छ । तर मोटरसाइकलको नम्बर थाहा छैन । म निजसँग त्यसरी मे.१प ५३४ नं. को मोटरसाइकलमा चढेर कहिले हिडेकी छैन । त्यसरी धाइजन बुधवारे बीचको जंगलमा कहिले आएको छैन । मलाई प्रतिवादी राजकुमार श्रेष्ठले गरेको बयान पढेर सुनाउँदा सुने, चित्त नबुझेर फेरि आफै हेरेर पढे । मलाई निजले मे १प ५३४ नं. मोटरसाइकलमा जंगलमा ल्याएर पटकपटक यौनसम्पर्क गरेको, मोटरसाइकल चलाउन सिकाएको, धुलावारी घुमाउन लगेको, सामान किन्न गएको भनेर उल्लेख गरेका रहेछन् । त्यो सबै कुरा झूठा हो, आफूले गरेको कसूरबाट बच्नका लागि त्यसरी मलाई मुछेको होला । मलाई त्यसरी मे.१प ३५४ नं. को मोटरसाइकलमा राखेर राजकुमार श्रेष्ठले त्यसरी हिडाएको जंगलमा लगेको, यौनसम्पर्क गरेको, मोटरसाइकल सिकाएको देख्ने को रहेछन् ती मानिसलाई यो प्रमाण पुर्‍याउनु पर्‍यो । त्यसरी जथाभावी लेखाउन पाइन्छ ? भन्ने व्यहोराको मेनुका भारतीले गरिदिएको घटना विवरण कागज 

२०६३ साल असार महिनातिर एउटा रातो मोटरसाइकलमा केटाकेटी आउछन् जान्छन् भन्ने सुनेकी थिएँ । असार महिनाकै अन्तिमतिर होला म भैंसी सार्न गएकी थिएँ, गते बार थाहा भएन । मेरो घरको पूर्वपट्टि बाँसघारीमा मैले घटनास्थलमा देखेकी मृतक महिलालाई त्यही गुलाबी रंगको कुर्था सुरुवाल, सल, कालो चप्पलमा एक जना गोरो, मोटो अनुहारमा खत भएको अन्दाजी ३५/४० वर्षको पुरुष मानिसको काखमा बसेर हाँसी गफ गरी रहेको अवस्था देखेकी थिएँ । मलाई देख्नासाथ केटी काखबाट ओर्लेर अलिपर बसी, मलाई शरम लाग्यो, म घरतिर आएँ । छिमेकीलाई सुनाएँ, गाउँका मानिसहरूले ती केटाकेटीलाई समाउने योजना बनाएका थिए । त्यसपछि पनि मैले त्यही रंगको मोटरसाइकलमा तिनै केटाकेटी जोडीलाई जंगलमा पसेको र ३/४ घण्टाभित्र जंगलबाट फर्केको देखेको थिएँ । मिति २०६३।४।१४ गते त्यही केटीलाई जंगलमा मृत अवस्थामा देखियो । यी केटीलाई मैले चिनेको थिइन । हाल बुझ्दा केटी झापा जलथल गाउँ विकास समिति वडा नं.८ बस्ने कल्पना भन्ने यामकुमारी सुवेदी हो भन्ने सनाखत भयो अरे । निज मृतकलाई मार्ने भनिएको प्रतिवादी राजकुमार श्रेष्ठलाई पक्राउ गरी देखाउँदा सो मानिसले नै लिई हिडेकी देखेकी हुँ भन्ने समेत व्यहोराको पवित्रा लकान्द्रीले गरिदिएको घटना विवरण कागज 

मिति २०६३।४।१४ गते ११ बजे जंगलभित्र मारेर राखेको एक महिलाको लास छ भन्ने सुनी घटनास्थलमा हेर्न आएको थिएँ । हेर्दा गुलाबी रंगको कुर्था सुरुवाल लगाएकी महिलालाई मृत अवस्था देखेको हुँ । हेर्दा निधारमा गहिरो चोट, अगाडि घाँटीमा नीलडाम भएको कुहिनामा दरफरिएको, छेउमा रगत लागेको ढुङ्गा समेत देख्दा कर्तव्य गरेर नै मारेको हो तर कर्तव्य गरेर मारेको चाहिँ आखाँले देखिन । यी मृतक महिलालाई यो अगाडि सोही ड्रेसमा धेरै पटक मे १ प ५३४ नं. को रातो मोटरसाइकलमा यसै डोरमा उपस्थित प्रतिवादीसँग पछाडि बसेर घटनास्थल जंगलभित्र पसेको र निस्केको देखेको हो भन्ने पुष्प खतिवडा र नारायण कोइरालाले लेखाई दिएको र मिति २०६३।४।१३ गते म धान रोप्दै गरेको बेलुका अं.४।३० बजेको समयमा एक जना गोरो गोरो मोटो अनुहारमा छिप्रा भएको अं. ३०।३२ वर्षको केटाले रातो रातो रंगको कुर्ता सुरुवाल लगाएकी महिलालाई साथमा लिएर कालिका सामुदायिक वनभित्र लगेको देखेकी थिएँ । भोलिपल्ट मिति २०६३।४।१४ गते जंगलमा लास छ अरे भन्ने सुनेर हेर्न जाँदा त्यही केटीलाई मृत अवस्थामा देख्दा त्यही केटाले मारेकोमा शंका लाग्छ । त्यो केटा भनेको यस डोरमा उपस्थित यिनै प्रतिवादी राजकुमार श्रेष्ठ हुन भनी धनमाया गौतमले लेखाईदिएको वस्तुस्थिति मुचुल्का 

जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १० स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको कम्पाउण्डमा राखिएको मे. १ प.५३४ नं. मोटरसाइकल बरामद गरी दिनुहोस् भनी प्रहरीले भनेकोमा मेदनीप्रसाद न्यौपानेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजकुमार श्रेष्ठ भएको कर्तव्य ज्यान मुद्दाको सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गर्‍यौं । यसमा घटनास्थल वारदात अगाडिका दिनहरूमा प्रतिवादी यही मे १ प ५३४ नं. मोटरसाइकल थान, हेलमेट थान, सवारी दर्ता प्रमाणपत्र किताब थान, प्रतिवादीको लाइसेन्स थान१ र नागरिकता प्रमाणपत्र थान१ समेत प्रहरीले हाम्रो रोहवरमा बरामद गरेको ठीक हो भन्ने बरामदी मुचुल्का 

मिसिल संलग्न सम्पूर्ण कागजातहरूबाट प्रतिवादीले योजनाबद्ध तरिकाले मिति २०६३।४।१३ गते बेलुकी पख मृतक कल्पना भन्ने यामकुमारी सुवेदीलाई घटनास्थल जंगलमा पुर्‍याई ढुङ्गाले निधारमा प्रहार गरी सो पश्चात् घाटीमा थिची कर्तव्य गरी मारेको पुष्टि भएकाले प्रतिवादी राजकुमार श्रेष्ठले कल्पना भन्ने यामकुमारी सुवेदीलाई कर्तव्य गरेर मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. महलको १३ नं. को देहाय (३) को कसूर गरेको देखिँदा निज प्रतिवादी राजकुमार श्रेष्ठलाई ऐ. महलको १३ नं. को देहाय ३ बमोजिमको सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र 

मृतक कल्पना भन्ने यामकुमारी सुवेदीलाई मैले देखेको चिनेको छैन । निजलाई मैले जंगलमा लैजाने, यौनसम्पर्क गर्ने र मोटरसाइकल सिकाउने समेतका कुनै पनि कार्य गरेको होइन । उक्त मिति २०६३।४।१३ गते विर्तामोड कुमार ग्यारेजमा मिलको (काठमील) सामान किनी ४।३० बजेतिर आफ्नै फर्निचर पसल बुधवारेतर्फ लागेको हुँ । उक्त दिन म घटनास्थलतर्फ गएको पनि होइन । को कसले मारे मलाई थाहा छैन । म उक्त मोटरसाइकलमा कालिका सामुदायिक वनमा जाने आउने गर्दैनथे । झापा, शनिश्चरे९ बस्ने मेनुका भारतीसँग धुलावारी बजारमा सामान किन्न, घुम्न आउँदा त्यही जंगल बाटोबाट उक्त मोटरसाइकलमा आउने जाने गरेको हो र निज मेनुका भारतीलाई मोटरसाइल सिकाउँदा समेत उक्त स्थानमा ३।४ पटक आउने जाने गरेको हो । मिति २०६३।४।१३ मा उक्त स्थानमा आएको होइन । म मृतक बस्ने डेरा कोठामा आउने जाने गरेको होइन । प्रहरीमा बुझिएका मानिसहरूलाई चिनेको छैन, निजहरूले किन पोल गरे थाहा भएन । मैले अभियोग दावीअनुसारको कसूर अपराध नगरेको हुँदा सजाय हुनु नपर्ने, सफाइ पाउनुपर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार श्रेष्ठले अदालतसमक्ष गरेको बयान 

बुझिएका सम्पूर्ण व्यक्ति तथा जाहेरवाला समेतले प्रतिवादीउपर शंका विश्वास व्यक्त गरेको अवस्था भै अ.वं. ११८ नं. को देहाय (२) को अवस्था विद्यमान नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीसँग रु. ५०,०००।नगद वा सो बराबरको जेथा जमानी दिए लिई तारिखमा राखी नसके कानूनबमोजिम मुद्दामा पुर्पक्ष गर्न थुनामा राख्नु भन्ने झापा जिल्ला अदालतको मिति २०६३।५।२५ को थुनछेकको आदेश 

मेरो ज्वाईले विदेशबाट पठाएको फैसला निज प्रतिवादी राजकुमार श्रेष्ठलाई छोरीले दिने गरेको र अहिले सो रुपैयाँ माग्न थाल्दा रिसले नै कर्तव्य गरी मेरो छोरीलाई मारेको हो भन्ने समेत व्यहोराको जाहेरवाला मेदनीप्रसाद न्यौपानेले गरेको बकपत्र 

वारदात मितिमा म विष्णु प्रसाईको खेतमा धान रोप्दै गर्दा छिर्के छिर्के अनुहार भएको केटो र रातो रातो रंगको कुर्ता सुरुवाल लगाएको मानिस वनभित्र पसेको देखेको हो, भोलिपल्ट वनभित्र लास छ भनी गई हेर्दा त्यही हिजो देखिएको रातो रातो रंगको कुर्ता सुरुवाल लगाउने आइमाई मानिस नै रहेछ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचल्काकी मानिस धनमाया गौतमले गरेको बकपत्र 

वारदात मितिको दिउँसो ४ बजेदेखि ६ बजेसम्म म प्रतिवादीसँगै थिएँ । उक्त दिन उनी विर्तामोड सामान किन्न गएका थिए । काठको पैसा माग्न भनी जाँदा म ४ बजे मीलमा पुग्दा मोटरसाइकल पछाडि मेसिनरी सामान राखिएको कार्टुन लिई आएको अवस्थामा भेट भएको हो । निजको चालचलन असल छ भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी भोगेन्द्रकुमार तिम्सिनाको बकपत्र 

प्रतिवादी राजकुमार श्रेष्ठ असल चरित्रका मानिस हुन्, घटना घटेको दिन उनीलाई मैले बिहान पनि देखेको, बेलुका ४ बजेतिर पनि भेटेको हो । त्यस दिन उनी गाउँ थिए, बेलुका ४ बजे मोटरसाइकल लिई फर्केको देखेको भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी दीलिप श्रेष्ठले गरेको बकपत्र 

प्रतिवादीले मृतकलाई मारेको भन्ने कुरा झूठा हो । म उनीहरूसँग सानैदेखि सँगै पढेको उनी त्यस्तो चरित्रका होइनन्, वारदातका दिन पनि मैले ५।३० बजेतिर उनको मीलमा भेटेको हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी कुमार श्रेष्ठले गरेको बकपत्र 

मिति २०६३।४।२४ गतेको चुडामणि सुवेदीले गरिदिनु भएको कागजको रोहवरमा म बसेको हुँ सहिछाप मेरै हो भनी विष्णुकुमार न्यौपानेले गरिदिएको बकपत्र 

प्रतिवादी राजकुमार श्रेष्ठलाई रु.५०,०००।धरौटी माग भै तारिखमा राख्ने गरी भएको आदेश त्रुटिपूर्ण हुँदा थुनामा राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी वादी नेपाल सरकारले पुनरावेदन अदालत, इलाममा दिएको अ.वं. १७ नं. बमोजिमको निवेदन 

प्रतिवादीबाट रु. ५०,०००।धरौट लिने गरी झापा जिल्ला अदालतबाट मिति २०६३।५।२५ मा भएको आदेश मिलेको नदेखिँदा सो बदर भै पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी राजकुमार श्रेष्ठलाई अ.वं. ११८(२) नं. अनुसार थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६३।९।६ को आदेश 

सन्तोष पोखरेल, लिला कुइकेल, टेकबहादुर रसाइली, पवित्रा लकान्द्री, गंगा गहतराज, भरतकुमार राई, शान्तिराम तिवारी, लोकनाथ पोखरेल, नारायण कोइराला, पुष्पा खतिवडा, शरदकुमार श्रेष्ठ, टेकमाया काफ्ले, जमुना बुढाथोकी, धनमाया गौतम र माया चौधरीका नाममा अ.वं. ११५ नं. बमोजिम जारी गरी भएको म्याद तामेल भै गुजारी बसेको 

प्रहरीमा भएको कागजमा म राजकुमार श्रेष्ठको मोटरसाइकलमाा कहिल्यै हिडेको छैनभन्ने व्यहोरा चाँहि मेरो होइन । म २/३ पटक शनिश्चरे जयपुर हुँदै धुलाबारीसम्म गएको छु । पछिल्लो पटक मिति २०६३।४।१ गते जयपुर हुँदै धुलाबारीसम्म गएकी थिएँ भन्ने समेत व्यहोराको अ.वं.११५नं. बमोजिम बुझिएकी मेनुका भारती गिरीले अदालतमा गरेको बकपत्र 

मिति २०६३।५।१८ मा इलाका प्रहरी कार्यालय काकरभिट्टामा भएको कागजको व्यहोरा सहिछाप मेरै हो । प्रतिवादी राजकुमार श्रेष्ठ कहाँ छन् थाहा छैन । मिति २०६३।४।१० मा दिएको रु.१०,०००।फिर्ता दिएको छैन भन्ने समेत व्यहोराको अ.वं. ११५ नं. बमोजिम बुझिएकी गीता पौडेलले गरेको बकपत्र 

प्रतिवादी हाल नाम थाहा भएका राजकुमार श्रेष्ठ मेरो मम्मीको मृत्यु हुनु अघि हाम्रो डेरामा आई बस्ने, साँझ ८.०० बजेसम्म गफ गर्ने गर्दथ्यो । म उसलाई चिन्दछु, अनुहारमा खत छ, गहुँ गोरो अन्दाजी ५ फीट उचाईको छ । रातो रंगको मे.१ प ५३४ नं. को हिरोहोण्डा मोटरसाइकल लिएर आउथ्यो । मम्मीलाई सोद्धा तिम्रो मामा हो भन्नुहुन्थ्यो । यिनै राजकुमार श्रेष्ठले मेरो आमा यामकुमारीलाई कर्तव्य गरी मारेका हुन् र लेनदेनको कारण हुन सक्छ, उनीहरूबीच अवैध सम्बन्ध पनि हुनसक्छ, आँखाले देखिन, इन्कार गर्न पनि सक्तिन भन्ने समेत व्यहोराको मृतकका छोरा चुडामणि सुवेदीले अदालतमा आई गरेको बकपत्र 

यसमा सबूद प्रमाणहरू एवं बुझिएका मानिसहरूको भनाईबाट यी प्रतिवादी राजकुमार श्रेष्ठ लोग्ने परदेश गएकी महिला मृतक कल्पना भन्ने यामकुमारी सुवेदीको घरमा जाने आउने, टेलिफोनबाट आपसमा सम्पर्क स्थापित गरिरहने, प्रतिवादीको आफ्नो मोटरसाइकल मे.१ प ५३४ मा बारम्बार घुमाउँदै घटनास्थल धाइजनको जंगलमा लगिरहने र वारदात हुनुभन्दा अघिल्लो दिन पनि मृतकलाई सोही घटनाको जंगलमा लगी तीन के.जी. को ढुङ्गाले टाउकोमा हिर्काई प्रतिवादीले नै कर्तव्य गरी मारी छोडी हिडेको कुरा तथ्यगत रुपले मालाकार कडीको रुपमा सिद्ध हुन आएकोले कर्तव्य गरी मारेको होइन भन्ने प्रतिवादीको इन्कारी बयान जिकीर मुनासिब नहुँदा अभियोग माग दावीबमोजिम प्रतिवादी राजकुमार श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(३) नं. ले सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको मिति २०६५।११।२२ को फैसला 

बुझिएका गंगा गहतराज समेतका व्यक्तिहरूले मृतक र प्रतिवादी मे.१प ५३४ नं. को मोटरसाइकलमा आई लास भेटिएको जंगलमा पस्ने गरेको देखेको भनी मौकामा लेखाई दिएको देखिएकोमा हाल निजहरूले अदालतमा आई बकपत्र गरेको देखिँदैन तापनि अदालतमा आई बपकत्र गर्ने मृतकका छोरा, धनमाया गौतम समेतको बकपत्रबाट निजहरूको मौकाको कागज व्यहोरा थप पुष्टि भै रहेको देखिन्छ । मौकामा बुझिएकी घटना विवरण कागज गर्ने मेनुका भारती गिरीले मौकामा गरेको कागजमा प्रतिवादी राजकुमार श्रेष्ठले आफ्नो मोटरसाइकलमा जंगलमा ल्याएर आफूसँग पटकपटक यौनसम्पर्क गरेको भन्ने निज प्रतिवादीको मौकाको बयान व्यहोरालाई इन्कार गर्दै आफूले गरेको गल्ती कसूरबाट बच्न मलाई त्यसरी मुछेको होला भनी लेखाईदिएकोमा अदालतमा आई बकपत्र गर्दा म राजकुमारको मोटरसाइकलमा कहिल्यै हिडेको छैन भन्ने मौकाको कागजको व्यहोरासम्म आफ्नो नभई प्रतिवादीसँग २/३ पटक शनिश्चरे जयपुर हुँदै धुलाबारीसम्म गएको हुँ भन्दै पछिल्लो पटक २०६३ साल साउन १ गते त्यसरी गएको कुरा खुलाई बकी लेखाई दिएकी छन् तापनि एकातिर निज प्रतिवादीले अदालतमा बयान गर्दा उल्लेख गरेझै निज मेनुका मोटरसाइकल सिक्ने क्रममा प्रतिवादीसँग त्यसरी हिडेको भन्ने देखिँदैन भने अर्कोतिर प्रहरीमा कागज गर्ने व्यक्तिहरूले मेनुका भारतीलाई मोटरसाइकल सिकाउने क्रममा देखेकोमा त्यसैको अनुमान गरी उनीहरूले मृतकलाई नै मैले ल्याउने लाने गरेको देखेको भनी लेखाई दिएको हुनुपर्छ भनी प्रतिवादीले स.ज. १२ मा लेखाईदिएको देखिएपनि प्रतिवादीसँग आउने जाने गरेको देख्ने भनिएका बुझिएका व्यक्तिहरूले आफूले त्यसरी देखेको व्यक्ति यिनै मृतक हुन् भनी हुलिया समेत खुलाई व्यहोरा लेखाईदिएको देखिँदा प्रतिवादीले आफू कसूरबाट बच्नसम्म मेनुका भारतीलाई देखाएको भन्ने देखिन्छ । यस स्थितिमा तथ्यगत प्रमाण समेतको आधारमा निज प्रतिवादीको इन्कारी बयान तथा निजका साक्षी दिलिप श्रेष्ठ समेतको बकपत्रको व्यहोरासँग सहमत हुन सकिएन 

यसर्थ, मिसिल संलग्न आधार प्रमाणबाट प्रतिवादी राजकुमार श्रेष्ठले अभियोग दावीबमोजिम मृतक कल्पना भन्ने यामकुमारी सुवेदीलाई योजनाबद्ध ढंगले एकान्त जंगलमा पुर्‍याई ढुङ्गा समेत प्रहार गरी कर्तव्य गरी मारेकै देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराई भएको शुरु झापा जिल्ला अदालतको मिति २०६५।११।२२ को फैसला मुनासिबै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६६।११।२३ को फैसला 

न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचका लागि मिसिल यसै साथ पठाएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, इलामको च.नं. १३०३ मिति २०६७।८।२७ को पत्र 

पुनरावेदन अदालत, इलामबाट प्रतिवादी राजकुमार श्रेष्ठको नाममा जारी भएको म्याद मिति २०६७।३।१० मा तामेल भएकोमा पुनरावेदन परेको नदेखिएको भन्ने यस अदालतको मिति २०६७।१२।२३ को पत्र 

नियमबमोजिम साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी राजकुमार श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी पुनरावेदन अदालत, इलामबाट मिति २०६६।११।२३ मा फैसला भई प्रतिवादीका नाममा जारी भएको ७० दिने पुनरावेदनको म्याद मिति २०६७।३।१० मा तामेल भई निजले पुनरावेदन नगरेको र निजको हकमा साधकको रोहबाट हेर्दा पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो 

निर्णयतर्फ विचार गर्दा साइला ज्वाई भागीरथ सुवेदी रोजगारको सिलसिलामा साउदी अरबमा रहेका र छोरी कल्पना भन्ने यामकुमारी सुवेदी र नातिहरू झापा अनारमनी ४ मा डेरा लिई बस्दै आएको क्रममा मे.१ प ५३४ नं. को रातो मोटरसाइकल लिई छोरीको कोठामा आइरहने, छोरीलाई त्यही मोटरसाइकलमा लिएर कता कता हिड्ने, फोन गरागर गर्ने व्यक्ति राजकुमार श्रेष्ठ हो भनी नातिले सनाखत समेत गरेको र छोरी कल्पना भन्ने यामकुमारी सुवेदीलाई कर्तव्य गरी मारी गरगहना तथा नगद समेत लग्ने व्यक्ति निज राजकुमार श्रेष्ठ भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भनी मृतकका बाबु मेदनीप्रसाद न्यौपानेको किटानी जाहेरी दरखास्त तथा प्रतिवादी राजकुमार श्रेष्ठले योजनाबद्ध तरिकाले मिति २०६३।४।१३ गते बेलुकी पख मृतक कल्पना भन्ने यामकुमारी सुवेदीलाई घटनास्थल जंगलमा पुर्‍याई ढुङ्गाले निधारमा प्रहार गरी सोपश्चात् घाँटी थिची कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएको प्रस्तुत मुद्दामा निम्न विवादित विषयको निरोपण गर्नुपर्ने देखियो 

(क)   मृतकको मृत्यु कर्तव्यबाट भएको हो होइन ?

(ख)   कर्तव्यबाट भएको भए यी प्रतिवादीको संलग्नतामा भएको हो होइन ?

(ग)   दावीबमोजिम यी प्रतिवादीलाई सजाय हुनुपर्ने हो होइन ?

(घ)   पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ छैन ?

२. पहिलो प्रश्नतर्फ विचार गर्दा जिल्ला झापा धाइजन गाउँ विकास समिति वडा नं.४ स्थित कालिका सामुदायिक वनको मध्यभागमा गुलावी रंगको कुर्ता सुरुवाल लगाएकी अं.२८/३० वर्षको हेर्दा क्षेत्रिनी/बाहुनी जस्ती देखिने महिलाको लास देखिएको, नाकबाट खुन आएको, दुवै आँखा वरिपरि नील, देव्रे गाला देखि च्यापु हुँदै अगाडि घाँटीसम्म तथा छातीमा टेकेको बालुवा सहितको पाइला देखिएको, दुवै कुहिना पिल्सेको, वरिपरि झाडी माडिएको हुँदा कर्तव्य गरी मारेको देखिएको भन्ने प्र.स.नि. केशवराज कटुवालले मिति २०६३।४।१४ मा प्रतिवेदन दिएको देखिन्छ । लासजाँच मुचुल्कामा, “कालिका सामुदायिक वनको मध्यभाग स्थित पूर्वमा बुधबारे जाने बाटोबाट मंगली जाने उत्तर दक्षिण बाटो, पश्चिम उत्तर र दक्षिण तीनतर्फ नै जंगल यति चारकिल्लाभित्र मसिना रुख विरुवाहरू भएको ठाउँ पुरा माडिएको, सोही स्थानमा दक्षिण पूर्व टाउको, उत्तर पश्चिम खुट्टा, देव्रे हात पेट नजिक, दाहिने हात फैलाई दुवै गोडा फाडी खुम्चिएको उत्तानो अवस्थामा गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी अं.२८/३० वर्षको महिलाको लास गुलाबी रंगको सल माथि उत्तानो अवस्थामा रहेको, दुवै आँखा बन्द, वरिपरि नील भएको, नाकको दुवै प्वालबाट रगत निस्की सुकेको, मुख अर्ध खुल्ला भई जिब्रो टोकेको, बीच निधारमा ३ ईञ्च गोलाईको चोट हेर्दा भित्र हड्डी देखिएको, घोप्टो पारी हेर्दा नाकको प्वालबाट रगत निस्केको, दुवै कुहिनामा दरफरिएको घाउहरू, देव्रे गालामुनी च्यापु किलकिलेसम्म नीलडाम र प्रष्ट नदेखिने खुट्टाले टेकेको बालुवा देखिएको पेटमा निलो डाम बसेको देखिएको भन्ने उल्लेख भएको र शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु head Injury को कारणबाट भएको हो भन्ने उल्लेख हुँदा मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्यमा विवाद भएन 

३. अब, दोस्रो प्रश्नतर्फ विचार गर्दा मृतक कल्पना भन्ने यामकुमारी सुवेदीको मृत्यु यी प्रतिवादी राजकुमार श्रेष्ठको कर्तव्यबाट भएको हो होइन भन्नेतर्फ हेर्दा अदालतसमक्ष प्रतिवादी आरोपित कसूरमा इन्कार रहे तापनि निजले गरेको बयानमा मोटरसाइकलमा कालिका सामुदायिक वनमा जाने आउने गरेको, झापा, शनिश्चरे९ बस्ने मेनुका भारतीसँग धुलावारी बजारमा सामान किन्न, घुम्न तथा निज मेनुका भारतीलाई मोटरसाइल सिकाउन जाँदा उक्त जंगलमा जाने गरेको भए पनि मृतक यामकुमारीलाई आफूले कर्तव्य गरी नमारेको भनी आफ्नो व्यहोरा लेखाएका छन । मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा कल्पना भन्ने यामकुमारी सुवेदीलाई कर्तव्य गरी मारेको कुरामा इन्कार रहे पनि मे.१ प ५३४ नं. को रातो हिरोहोण्डा मोटरसाइकल आफ्नो भएको र घटनास्थल भनिएको जंगलमा उक्त मोटरसाइकलमा मेनुका भारतीलाई पटकपटक लिई गई बस्ने तथा सोही जंगलमा निजसँग बराबर यौनसम्पर्क हुने गरेको भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी आरोपित कसूरमा इन्कार रहे पनि वारदात भएको स्थान कालिका सामुदायिक वनमा मृतकसँग नभई अर्की महिला मेनुका भारतीसँग जाने आउने गरेको र निजसँग यौन सम्पर्क समेत सोही स्थानमा हुने गरेको भनी जुन महिलालाई आफ्नो निर्दोषिताको आधार बनाएका छन् निज महिला मेनुका भारतीले गरेको कागजबाट प्रतिवादीको इन्कारी बयान कुन हदसम्म सत्यतामा रहेको छ भन्ने मार्ग चित्रण गर्ने र निज मेनुका भारतीले गरेको कागज प्रस्तुत विवादको तथ्य विश्लेषणको आधारभूत प्रमाणको कडीको रुपमा रहेको हुँदा निजले गरेको कागज मनन् गर्नुपर्ने देखिन आएको छ । निजले अनुसन्धानको क्रममा गरेको कागजमा राजकुमार श्रेष्ठले चलाउने गरेको मे.१ प ५३४ नं. को मोटरसाइकलमा चढी बुधवारे बीचको कालिका सामुदायिक वनको जंगलमा कहिले नआएको, निजसँग यौन सम्पर्क समेत गरेकी छैन, आफूले गरेको कसूरबाट बच्नका लागि मलाई मुछेको हो भनी उल्लेख गरी प्रतिवादीले जुन जुन कुरामा मेनुकाका बारेमा लेखाएका छन् प्रतिवादीका उक्त सबै कुरा कपोलपल्पित भएको भनी पूर्णतः इन्कार गरेकी छिन । मृतक यामकुमारी सुवेदीलाई नभई मेनुका भारतीलाई मे.१ प ५३४ नं. को मोटरसाइकलमा राखी समय समयमा घटनास्थल भएको ठाउँ कालिका सामुदायिक बन लाने गरेको भन्ने प्रतिवादीको बयान निज मेनुका भारतीको कागजबाट खण्डित हुन आएको छ । मूलभूत रुपमा प्रतिवादीले मे.१ प ५३४ नं.को मोटरसाइकलमा राखी कालिका सामुदायिक बनभित्र लाने गरेको महिला मृतक यामकुमारी हुन वा अर्की नै महिला हुन् भन्ने सम्बन्धमा मृतक यामकुमारीको विषयमा प्रतिवादी इन्कार रहेका र मेनुकाका विषयमा निजै मेनुका भारतीले प्रतिवादीको भनाई खण्डन गरिसकेको अवस्थामा सो घटनाको यथेष्ट जानकारी प्राप्त गर्ने कालिका सामुदायिक बनक्षेत्रका आसपासका स्थानीय बासिन्दा तथा वनका पाले समेतले व्यक्त गरेको कुरा नै प्रस्तुत विवाद निरोपण गर्न सहायक सिद्घ हुने प्राथमिक प्रमाणको रुपमा रहन गएको छ 

४. कालिका सामुदायिक वनको उत्तर आदर्श नमूना सामुदायिक वनका बनरक्षक भरतकुमार राईले गरेको कागजमा मे.१ प ५३४ नं. को रातो हिरोहोण्डा मोटरसाइकलमा केटा र केटी दुई जना भई मिति २०६३।४।७ गते भन्दा अगाडि पनि जंगलमा आई बसी गएका र मिति २०६३।४।७ गते बेलुका ४ बजेको समयमा पनि सोही मोटरसाइकलमा निजै महिलासहित सो जंगलबाट निस्की गएका र मिति २०६३।४।१४ गते जंगलभित्र देखेको लास घटना हुनुभन्दा पहिला आउँदा लगाउने गरेको त्यही लुगा लगाएको अवस्थामा लास रहेको र यो घटना पछाडि त्यो मोटरसाइकल, मानिस र कोही केटी जंगलमा आएको नदेखेको हुँदा पहिला सँगै लिई आउने व्यक्तिले मारेको हुनुपर्छ भनी लेखाएको पाइन्छ । यसै गरी वस्तुस्थिति मुचुल्काका व्यक्ति धनमाया गौतमले गरेको कागजमा मिति २०६३।४।१३ गते अं.४।३० बजेको समयमा खेतमा धान रोप्दै गर्दा एक जना गोरो गोरो मोटो, अनुहारमा छिप्रा भएको, अं. ३०।३२ वर्षको केटाले रातो रंगको कुर्ता सुरुवाल लगाएकी महिलालाई साथमा लिएर कालिका सामुदायिक वनभित्र लगेको देखेकी थिए । भोलिपल्ट मिति २०६३।४।१४ गते जंगलमा लास छ भन्ने सुनेर हेर्न जाँदा त्यही केटीलाई मृत अवस्थामा देख्दा त्यही केटाले मारेकोमा शंका लाग्छ । त्यो केटा भनेको यस डोरमा उपस्थित यिनै प्रतिवादी राजकुमार श्रेष्ठ हुन भनी लेखाई दिनुको अतिरिक्त उक्त मूल तथ्य फरक नपारी अदालतमा बकपत्र गरिदिएको व्यहोराले मौकाको कागजलाई समर्थन गरेको देखिन्छ । प्रतिवादी राजकुमार श्रेष्ठले यिनै मृतकलाई मे.१ प ५३४ नं. को रातो हिरोहोण्डा मोटरसाइकलमा राखी पटकपटक उक्त कालिका सामुदायिक बनभित्र लाने गरेको भन्ने तथ्य शान्तिराम तिवारी, लोकनाथ पोखरेल, गंगा गहतराज, पवित्रा लकान्द्री, पुष्प खतिवडा र नारायण कोइराला समेतले लेखाइदिएको पाइदा उक्त बनमा मृतक कल्पना भन्ने यामकुमारी सुवेदीलाई लिई जाने नगरेको भन्ने प्रतिवादीको इन्कारी बयानमा कुनै सत्यता देखिएन । मृतक र यी प्रतिवादी अपवित्र सम्बन्ध राख्न जंगल आउने गरेका होलान भनी अनुमान गरी गाउँले जम्मा भई दुबैलाई पक्रने भन्ने कुरा गाउँलेहरू बीच उठेको, सो कार्यान्वयन नगरी सो कुरा कुरामा नै सीमित रहेपनि मूल अभिप्राय प्रतिवादी र मृतक दुबै पक्ष सुध्रुन भन्ने गाउँलेको पवित्र इच्छा रहेको भन्ने देखिन्छ । जंगलमा लिई आउने महिलालाई प्रतिवादीले मारिहाल्ला भन्ने कुरा उक्त वन क्षेत्रसँग जोडिएको गाउँका मानिसले अनुमान गर्ने कुरा पनि भएन । त्यसरी दुबै जना पटकपटक जंगलभित्र जाने, घण्टौं समय जंगलमा नै बिताउने हुँदा कतिबेला जंगलबाट निस्की आ आफ्नो घरतर्फ लाग्छन् भनी चियो चर्चो गरी बस्ने अवस्था पनि भएन । मिति २०६३।४।१३ गते साँझ ४.३० बजे मृतक र यी प्रतिवादी जंगलमा गएको प्रत्यक्ष देख्ने व्यक्ति धनमाया गौतम रहेकी छन । सोको भोलिपल्ट मिति २०६३।४।१४ गते यामकुमारी जंगलमा मृत अवस्थामा भेटिएकी र अघिल्लो दिन मिति २०६३।४।१३ गते जंगल जाने मृतक यामकुमारी र प्रतिवादी यिनै राजकुमार हुन भनी सनाखत समेत गरेको अवस्था हुँदा प्रतिवादीले सधै जंगल लिई जाने महिला यिनै मृतक यामकुमारी हुन भन्ने तथ्यमा विवाद गर्ने ठाउँ छैन 

५. मृतक यामकुमारी सुवेदी र यी प्रतिवादीबीचको सामीप्यता, तिनीहरूको आचरण, व्यवहार र स्वभाव समेत नजिकबाट निहालिरहेका एवं त्यस विषयमा समेत प्रत्यक्षदर्शी भएका मृतकका नावालक छोरा चुडामणि सुवेदीले गरेको कागजबाट नै यस वारदातको योजनाकार तथा अभियुक्त को हो भन्ने तथ्यको प्रस्फुटन हुने हुँदा निजले गरेको कागजको सान्दर्भकितालाई यस वारदातसँग सँगै मूल्याङ्कन गरी हेर्दा निजले गरेको कागजमा मिति २०६३।४।१४ गते ८.०० बजे निज कोठामा आउँदा ढोकामा ताला लगाएको हुँदा छिमेकी कोठावाला सुनीता रायलाई आफ्नी आमाको बारेमा सोद्घा मिति २०६३।४।१३ गते दिउँसो २ बजेतिर कोठाबाट निस्केको तथा उक्त दिनभन्दा पहिला २०६३ साल वैशाख शुरुदेखि एक जना श्रेष्ठ थर बताउने अं. ३०/३५ वर्षको पुरुष मान्छे बेलुका ४/५ बजेतिर प्रायजसो आफू स्कूलबाट कोठामा आउँदा आमासँग बसी गफ गरी रहेको भेटिने गरेकोले असह्य भएर आमासँग किन यो मान्छेलाई बोलाएर एक्लै कोठामा बस्नुहुन्छ भनी गाली गर्दा सो विषयमा केही उत्तर नदिएको, निज व्यक्तिले रातो हिरोहोण्डा मे.१ प ५३४ नं. को मोटरसाइकलमा आमालाई कहिले दमक, कहिले इण्डिया, पानीट्यांकी लगेको जानकारी भएको र निज बाहेक अरु कुनै छोरा मान्छेसँग आमा हिडडुल गफ गरेको थाहा नभएकोले निजले नै आफ्नी आमालाई कालिका सामुदायिक वन धाइजनमा लगेर कर्तव्य गरी मारेको हो निजलाई देखो चिन्दछु निजहरू बीच अपवित्र सम्बन्ध रहेको पनि हुनसक्छ भनी कागज गर्नुको अतिरिक्त रातो हिरोहोण्डा मे. १ प ५३४ नं. को मोटरसाइकल लिई आफ्नो आमालाई भेट्न आइरहने तथा घुमाउन लिएर हिड्ने व्यक्ति यही प्रतिवादी राजकुमार श्रेष्ठ हो भनी चिन्ही सनाखत कागज समेत गरेको पाइन्छ । अनुसन्धान अधिकारीसमक्ष गरेको उक्त कागज तथा सो कुरा पुष्टि हुने गरी बकपत्र गरिदिएको तथ्यले समेत प्रस्तुत वारदात घटाउनमा यी प्रतिवादी बाहेक अरु व्यक्तिको पनि संलग्नता छ भनी शंका गर्ने ठाउँ समेत देखिन आउदैन । निज नावालकले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको तथ्यमा तात्विक भिन्नता नपारी अदालतमा बकपत्र गर्नुको अलवा आफूले देखेको कुरालाई सहज र सरल ढंगले प्रस्तुत गरेको देखिएको हुँदा निजको उक्त भनाई प्रमाण ऐन, २०३१ को दफा ८ अनुसार प्रमाणस्वरुप ग्रहण योग्य नै देखिन आउँछ । बाबुको अनुपस्थितिमा कुनै नाता नभएको उमेर पुगेको लोग्नेमानिससँग आमाले सामिप्यता प्रदर्शन गर्नु सन्तानको लागि पक्कै पनि पाच्य कुरा होइन । आमाको बानी व्यहोरामा सुधार ल्याउने उद्देश्यले नावालक छोराले आमालाई सम्झाएको भन्ने देखिन्छ तर यी प्रतिवादी प्रति कुनै घृणा, द्वेष, रिसइवि राखी सोही कारणले लेखाएको होला भनी अनुमान गर्ने आधार पनि केही देखिदैन । उल्लिखित तथ्यको पृष्ठभूमिमा प्रस्तुत वारदातमा परिस्थितिजन्य प्रमाणले कस्तो भूमिका निभाएका छन सोको विवेचना गरेर वास्तविक यथार्थताको घेराभित्र पुग्न मद्दत पुग्ने देखिन आयो । तसर्थ प्रस्तुत घटना वारदातमा परिस्थितिजन्य प्रमाणको स्थिति तथा प्रतिवादीको संलग्नतालाई कसरी सापेक्षता स्थापित गर्न सकिन्छ भनी विचार गर्दा लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समेत कल्पना भन्ने यामकुमारीको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा विवाद छैन । नावालक छोरा चुडामणि स्कूलबाट घरकोठामा आउँदा यी प्रतिवादी र मृतकमात्र कोठामा प्रायसः सँगै भइरहनु, यी प्रतिवादीले निज मृतकलाई कहिले दमक कहिले इण्डिया घुमाउन लगेको छोराले थाहा पाउनु, प्रतिवादी यी मृतकको कोठामा रातो हिरोहोण्डा मे.१प ५३४ नं. को मोटरसाइकल लिई आउने र त्यही मोटरसाइकलमा लिएर जाने तथा मिति २०६३।४।१३ गते कोठाबाट निस्केको कुरा छिमेकी डेरावाल सुनीता रायलाई जानकारी हुनु, सोही मितिमा नै करिब ४.३० बजेतिर रातो हिरोहोण्डा मे. १ प ५३४ नं. को मोटरसाइकल लिई कालिका सामुदायिक बनमा प्रवेश गरेका महिला र पुरुषमा मृतक यिनै महिला तथा पुरुष यिनै प्रतिवादी हुन भनी जंगलमा प्रवेश गरेको प्रत्यक्ष देख्ने व्यक्ति धनमाया गौतमले कागज गरी सनाखत समेत गरिदिनु, जंगलबाट बाहिर निस्की आएको कसैले नदेख्नु तर यामकुमारीको लास कर्तव्य गरी मारिएको अवस्थामा जंगलमा भेटिनु, प्रतिवादी र मृतकबीचको सम्बन्धको मालाकार कडी भई परिस्थितिजन्य कारकतत्व स्थापित गर्दछ । उक्त दिन मृतक यी प्रतिवादीसँगसगै जंगलमा प्रवेश गरेपछि अरु ब्यक्तिसँग गएको वा अरु व्यक्तिले कब्जामा लिएको वा कब्जामा रहेको भन्ने तथ्य कतैबाट खुल्न आएको छैन । आफ्नो डेरा कोठामा रहेकी यामकुमारीलाई बोलाई मिति २०६३।४।१३ गते ४.३० बजे तिर प्रतिवादीले साथमा लिई कालिका सामुदायिक बनमा गएका र बनबाट प्रतिवादीले मृतकलाई निजको घरसम्म पुर्‍याई नदिनु र भोलिपल्ट मृत अवस्थामा भेटिनु जस्ता कार्यले घटनासँग सम्बन्धित विभिन्न तथ्यहरू मालाकार रुपमा एक अर्को सँग जोडिएर आएको देखिन्छ । साथमा लगिएकी प्रतिवादीकै कब्जामा रहेकी यामकुमारीलाई यो यसको साथमा यो समयमा निजको घरडेरासम्म पुर्‍याएको हो भन्ने प्रतिवादीको भनाई छैन । साथै लैजाने ब्यक्तिले यो यस ठाउँमा वा घरकोठामा छोडेको भन्ने तथ्य स्थापित गर्न नसक्नु र साथै लगेको महिला मेनुका भारती हो भन्ने प्रतिवादीको भनाई निज मेनुकाले खण्डन गरी कागज गरेकी तथा प्रतिवादीसँग मिति २०६३।४।१३ गते जंगल जाने महिला यिनै मृतक हुन् भनी सनाखत समेत गरेको तथ्य खण्डित नभएकोले सो तथ्य प्रस्तुत मुद्दामा आरोप प्रमाणित हुने प्रमाणको रुपमा स्थापित भएको छ 

            ६. वारदात एकान्तस्थल जंगलमा घटेकोले त्यस्तो ठाउँमा अन्य व्यक्तिको उपस्थिति हुन सक्ने सम्भावना नहुँदा कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुनु स्वभाविकै हो । त्यतिकै कारणले मात्र वारदातमा यी प्रतिवादीहरूको संलग्नता छैन भनी अन्य परिस्थितिजन्य प्रमाणलाई ठाडै अस्वीकार गर्न मिल्दैन । किनकी घटना हुनु पूर्व २०६३।४।१७ गते ४.३० बजे आफ्नो खेतमा खेत रोपाई गरिरहेको अवस्थामा यी प्रतिवादीले यामकुमारी सुवेदीलाई जंगलभित्र लगेको प्रत्यक्ष देख्ने धनमाया गौतम रहेकी छन् । प्रस्तुत घटनाको अर्को महत्वपूर्ण गवाह मृतकका छोरा चुडामणि रहेका छन । नाता नभए पनि मृतकको डेराकोठामा प्रतिवादी आइरहने, कहिले कुनै ठाउँमा कहिले कुनै ठाउँमा घुमाउन लाने गरेबाट निज छोराले सम्झाउने गरेको, २०६३।४।१३ भन्दा पूर्वका दिनमा पनि यी दुबै मृतक र प्रतिवादी पक्ष सोही जंगलमा जाने, जंगलभित्र नै धेरैबेर हराउने र बेलुका पख फर्कने गरेको ती व्यक्तिहरू एक जना यिनै प्रतिवादी र एक जना यिनै मृतक रहेकी भनी वन रक्षक भरतकुमार राई, शान्तिराम तिवारी, लोकनाथ पोखरेल, गंगा गहतराज समेतले तथा घटना हुनु पूर्व केही दिन अगाडि यिनै प्रतिवादीको काखमा यिनै मृतक बसी गफ गरेको देखेकोले आफूलाई शरम लागी घर गएको र प्रतिवादीले जंगलमा ल्याउने यिनै मृत महिला हुन् भनी कागज गर्नुको साथै सोही व्यहोरा समर्थन हुने गरी जाहेरवाला, मृतकका छोरा तथा धनमाया गौतम समेतले गरेको बकपत्र समेतलाई Circumstantial Fact ले समर्थन गरेकोले कल्पना भन्ने यामकुमारी सुवेदीको मृत्यु प्रतिवादी राजकुमार श्रेष्ठको कर्तव्यबाट भएको तथ्य शंकारहित तवरबाट पुष्टि हुन आएको छ 

७. प्रतिवादी विरुद्घ हत्याका पर्याप्त परिस्थितिजन्य प्रमाणहरू मौजूद रहेको पाइन्छ । प्रतिवादीले कालिका सामुदायिक बन भित्रको जंगलमा बारम्बार लिई जाने महिला मेनुका भारती होइनन् भन्ने कुरा मेनुका भारतीको कागज तथा बारम्बार जंगलमा प्रतिवादीले मोटरसाइकलमा लिई आउने महिला यिनै मृतक हुन् भनी वारदात हुनु पूर्वका दिनहरूमा तथा जंगलभित्र लास भेटिएको अघिल्लो दिन पनि प्रतिवादी र मृतकसँगै जंगलमा गएको भनी जंगलमा गएको प्रत्यक्ष देख्ने धनमाया गौतम समेतका व्यक्तिहरूले गरेको कागज तथा बकपत्रको खण्डन हुने भरपर्दो कारण, विश्वसनीय आधार प्रतिवादीले अदालतसमक्ष गरेको आफ्नो इन्कारी बयानमा खुलाउन सकेको पाईदैन । इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसूरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन । सजायबाट बच्नका लागि अदालतमा सामान्यरुपले इन्कारी बयान गर्नु एउटा कुरा हो र त्यसको पुष्ट्याईका लागि विश्वसनीय र ठोस आधार, प्रमाण पनि पेश गर्न सक्नु अर्को कुरा हो । दुबै अवस्थालाई अदालतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । दुई मध्ये दोस्रो अवस्था बढी विश्वसनीय हुन सक्दछ जसको खण्डन वादीपक्षबाट हुन नसकेमा निर्दोषिताको लागि प्रमाणको रुपमा ग्राह्य हुन सक्दछ । तर अभियोजन पक्षबाट उल्लेख्य प्रमाणहरूको उपस्थितिमा अभियुक्तको पहिलो अवस्थाको सामान्य इन्कारी मात्र निजको निर्दोषिताको प्रमाण बन्न सक्दैन । किनभने सजायबाट बच्नका लागि मात्र अदालतलाई ढाँट्न खोजेको हो वा वास्तवमै अमूक अभियुक्त बेकसूर रहेको छ ? अदालतले उपलब्ध समग्र प्रमाणको विश्लेषण गरी सत्य र तथ्यको निरोपण गरी प्रमाणको आधारमा ठहर इन्साफ गर्नुपर्ने हुन्छ 

८. मृत्यु अघिका दिनहरूमा पीडितले के कस्तो स्थितिको सामना गर्नु परेको थियो स्वयम्ले उसको जीवनमा भोगेको कुरा को कससँग व्यक्त गरेकी थिइन भन्ने सम्बद्घ परिस्थितिको खुलासाबाट अझ प्रष्ट हुने देखिन्छ । भन्नै नहुने मानिसले पैसा खाइदिएको र माग्दा पनि नदिएको नाम र रकम सोद्घा भन्न नचाहेको भन्ने सुनीता राय तथा घर बनाउनु पर्ने रकम एक जना मानिससँग फसेको छ भनी भनेको तर मृतकले सो व्यक्तिको नाम र रकम उल्लेख गर्न नचाहेको भनी माया चौधरीले कागज गरेको पाइन्छ । नावालक छोराले निज प्रतिवादी बाहेक अन्य लोग्नेमानिससँग हिडेको थाहा नभएको भनी उल्लेख गरेको पाइँदा मृतकले व्यक्तिको नाम खुलाउन नचाहेको कारण निज व्यक्तिको सामिप्यताले सिर्जना हुन पुगेको र अन्य व्यक्तिसँग नाम खुलाउँदा रकम डुब्ने कारण बन्न सक्ला भनी नाम उल्लेख गर्न नचाहेको हुन सक्छ । निज मृतक यि प्रतिवादी बाहेक अरु लोग्नेमानिससँग हिडडुल गरेको कसैले नदेख्नु र नाम भन्न नचाहेको कारण सामिप्यता बढाएको मानिसलाई रकम दिएको भनी अन्य व्यक्ति समेत परिवारले शंका गर्लान् भनी पारिवारिक खिचलोबाट बच्न मृतकको दृष्टिकोणबाट नाम भन्न नचाहेको सहज अनुमान गर्न सकिन्छ । बाहिर देखिने गरी मृतक र प्रतिवादीबीच कुनै ठूलो वा खास झगडाको कारण नभए पनि निजै मृतकले सुनीता राय र माया चौधरीलाई व्यक्त गरेको कुराबाट लेनदेनको विषयमा मृतकले प्रतिवादीसँग आफ्नो रकम माग्ने गरेको कारणबाट प्रतिवादीमा मनोगत कुण्ठा, इवी र बदलाको भावना पनि बलियो हुँदै जानु स्वभाविक कुरा हो । यिनै तत्वहरूबाट उत्प्रेरित भएका यी प्रतिवादीले मृतकलाई मार्ने नियतले नै योजना बनाई एकान्तस्थल जंगलमा लगी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको छ । यस कुराको पुष्टि घटनाको प्रकृति र घटनाक्रमले गरिसकेको छ 

            ९. अब तेस्रो प्रश्नतर्फ विचार गर्दा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, घटना विवरण कागज गर्ने धनमाया गौतम समेतले लेखाई दिएको व्यहोरा र निजहरूको बकपत्र, मृतकका बाबु मेदिनीप्रसादको किटानी जाहेरी र निजको बकपत्र, मृतकका नावालक छोरा चुडामणि सुवेदीले गरेको कागज तथा अदालतमा भएको बकपत्र समेतका वस्तुनिष्ट प्रमाणहरूबाट प्रतिवादीले अनेक प्रपञ्च रची मृतकलाई आफ्नो नियन्त्रणमा लिई कहिले कुन ठाउँमा कहिले कुन ठाउँमा घुमाउने लाने गर्ने क्रममा मृतकको छोरा तथा गाउले छिमेकी समेतले थाहा पाएको तथा मृतकको लोग्नेले विदेशबाट पठाएको रुपैयाँ तथा घर समेत बन्धक राखी लिएको रुपैयाँ समेत भन्न नहुने भन्ने एक जना मानिसले खाइदियो भनी छिमेकी सुनीता राय समेतलाई मृतकले आफ्नो व्यथा र पीडा पोख्ने गरेकी, छोराले आफ्नी आमा यिनै प्रतिवादी बाहेक अरु व्यक्तिसँग हिडेको नदेखेको भनी उल्लेख गरेको देखिदा प्रतिवादीले मृतकलाई मार्ने मनसाय लिई एकान्तस्थल जंगलमा लगी कुटपीट गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादी राजकुमार श्रेष्ठलाई अभियोग माग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने नै देखियो । 

            १०. अतः माथि उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादी राजकुमार श्रेष्ठको कर्तव्यबाट कल्पना भन्ने यामकुमारी सुवेदीको मृत्यु भएको र यी प्रतिवादी शंकारहित तवरबाट कसूरदार भएको पुष्टि हुन आएको देखिदा निज प्रतिवादी राजकुमार श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको शुरू झापा जिल्ला अदालतको मिति २०६५।११।२२ को फैसला सदर गरी साधक जाहेर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६६।११।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । शुरु झापा जिल्ला अदालतको मिति २०६३।४।२५ को आदेशबाट रु. ५००००।धरौट राखी तारिखमा रहेका निज प्रतिवादी उक्त आदेश पुनरावेदन अदालत, इलामबाट मिति २०६३।९।६ मा बदर भए पश्चात फरार रही फैसला हुँदा बेरुजु रहेकोमा जिल्ला अदालतको फैसलाको तपसील खण्डमा लगत कस्ने व्यहोरा उल्लेख भए पनि निज प्रतिवादीलाई भएको सजायको लगत कसेको मिसिलबाट देखिन नआएकोले लगत कसेको भए कुन मिति र कति लगत नं. मा लगत कसेको छ सो व्यहोरा र नकसेको भए यथाशीघ्र लगत कसी सोको जानकारी यस अदालतलाई र फैसला कार्यान्वयन निर्देशनालय समेतलाई गराउनु भनी झापा जिल्ला अदालतमा लेखि पठाउनु । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ।          

 

उक्त रायमा म सहमत छु

 

न्या.तर्कराज भटृ

 

इति संवत् २०६८ साल असार ३१ गते रोज ६ शुभम्

इजलास अधिकृतद्वय :अशोककुमार बस्नेत

 

                               दीपक ढकाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु