निर्णय नं. ८६८९ - निर्णय लिखत दर्ता बदर जग्गा नामसारी

ने.का.प. २०६८, अङ्क ९
निर्णय नं. ८६८९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
संवत् २०६२ सालको दे.पु.नं.– ८३४१
फैसला मितिः २०६८।१।१२।२
मुद्दाः निर्णय लिखत दर्ता बदर जग्गा नामसारी ।
पुनरावेदक वादीः जिल्ला रुपन्देही, आमा गा.वि.स.बडा नं. ८ बस्ने दुलई मुराउ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही, बिष्णुपुरा गा.वि.स.बडा नं. ८ बस्ने रामसुरत यादवसमेत
शुरु फैसला गर्नेः–
मा.जि.न्या.श्री सुरेन्द्र वीर सिंह वस्न्यात
पुनरावेदन फैसला गर्नेः–
मा.न्या.श्री केशवप्रसाद मैनाली
मा.न्या.श्री रामप्रसाद खनाल
§ दण्ड सजायको ४६ नं. को व्यवस्थाअनुरूप नै बण्डा छुट्टाउनको लागि निवेदन दिनुपर्नेमा त्यसरी निवेदन नपरेमा सो म्याद व्यतीत भएपछि फैसलाले पाएको अंश भागको जग्गा मञ्जूरी नलिईकन गरेको हक हस्तान्तरण कानूनअनुरूप नदेखिएकाले सोही विषयमा मुद्दा लिएर आउने हक छैन भन्न न्यायोचित् नहुने ।
(प्रकरण नं.६)
§ फैसलाबाट प्राप्त अंश हकलाई जहिले पनि निवेदन दिएर आफ्नो नाममा नामसारी गर्नको लागि दण्ड सजायको ४६ नं. ले स्पष्ट रुपमा रोक नलगाएको अवस्थामा नामसारी गरी आफ्नो नाममा दर्ता नगराएको अवस्थालाई मात्र आधार मानी अर्को पक्षले सो सम्पत्ति वेचविखन गर्न पाउँछ भन्ने अर्थ गर्दै जाने हो भने सामान्य प्रक्रियाको त्रुटि देखाएर अंश हक जस्तो नैसर्गिक हकबाट वञ्चित हुनुपर्ने स्थिति देखा पर्छ । बण्डा छुट्टयाई लिन नसकेको भन्ने आधारमा मात्र फैसलाबाट पाएको अंशको जग्गा आफ्नो हककायम गराई लिन पाउँदैन भन्न नसकिने ।
(प्रकरण नं.८)
§ अदालतबाट अंश मुद्दामा अन्तिम फैसला भइसकेपश्चात् सोही बण्डा गर्नुपर्ने सम्पत्तिलाई मञ्जूरी नलिई वेचविखन गरेको कार्य कानूनसम्मत् मान्न नमिल्ने ।
(प्रकरण नं.९)
पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान अधिवक्ता इश्वरीप्रसाद भट्टराई
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता हरिकृष्ण कार्की
अवलम्बित नजीरः नेकाप २०५७, अङ्क १२, नि.नं.६९६०, पृष्ठ ८११
सम्बद्ध कानूनः
§ दण्डसजायको ४६ नं.
फैसला
न्या.तर्कराज भट्टः पुनरावेदन अदालत, बुटवलको मिति २०६२।३।७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
मूल पुरुष स्व. गौरी मुराउको २ श्रीमती जेठी झुलरा मुराउ र कान्छी कौशिल्या मुराउ हुन् । झुलरा मुराउको तर्फबाट २ छोरा जन्मेकामा जेठा धनई र कान्छा धनमान मुराउ हुन । धनईको कोही सन्तान नहुँदै मृत्यु भै सकेको छ । धनमान मुराउको ३ छोरामा जेठा सन्तराम मुराउ, माहिला मुसे मुराउ र कान्छा अवधराज मुराउ हुन् । कैशिल्या मुराउको तर्फबाट ३ छोरामध्ये जेठा भगौती मुराउ, माहिला विन्देश्वरी मुराउ र कान्छा म झिनकान मुराउ हुँ । भगौती मुराउको छोरा म दुलई मुराउ हुँ । विन्देश्वरी मुराउको छोरा जनकलाल मुराउ हुन् । मूल पुरुष गौरी मुराउ निजको श्रीमती एवं झुलरा, कौशिल्या मुराउ, धनमान मुराउ निजको श्रीमती र भगौती मुराउ र निजको श्रीमती एवम् विन्देश्वरी मुराउ र निजको श्रीमती समेतको मृत्यु भै सकेको छ । हामी अंशियार बीच अंशबण्डा भएको छैन । विन्देश्वरीको छोरा जनकलाल मुराउले मिति २०५७।५।१४ मा अंश नामसारी मुद्दा हामी वादी प्रतिवादीउपर दायर गरेकोले सो मुद्दाको म्याद हाम्रा नाउँमा तामेल भई विपक्षीहरसँग मुद्दामा प्रतिवाद गर्न जाऔ र मिलापत्र गरी आ–आफ्ना अंश भाग छुट्टयाई अलग बसौ भनी मिति २०५७।८।२५ गते विहान भन्दा विपक्षीहरू रिसाई हामीले अंशबण्डा गर्दैनौ जानेको गर भनेको र प्रतिवादीमध्येका सन्तराम मुराउले केही जग्गा विक्री गरी दिएको भनेबाट मिति २०५७।९।३ मा नक्कल लिई हेर्दा विपक्षी सन्तराम मुराउले मिति २०५७।५।५ गते आमा गा.वि.स.कार्यालयबाट धनमान मुराउ र निजको श्रीमती गंगादेवी मुराउनी समेतको मृत्यु भैसकेकोले मृतक धनमान मुराउ बाहेक अरु नभएको भनी साविक वभनी वडा नं. ६ ग को कि.नं. ५९४, ६२०, ६२८, ६६६, ४०२, ५८०, ५८५, ५८९, ६५१, ६६१, ७ क कि.नं. ४०१, ७ ख को कि.नं ३६७, ३९२ समेतको ज.वि ४–११–९ जग्गा सन्तराम मुराउको नामको नागरिकता हाल प्राप्त नभएकाले मृतकको नामको जग्गा सन्तराम मुराउको नाममा एकलौटी अदलको ३ नं. बमोजिम वेचविखन गर्नका लागि आदेशको निमित्त मालपोत कार्यालयको नाउँमा सिफारिश लिई सो सिफारिशको आधारमा मिति २०५७।५।२३ मा वेचविखन गर्न पाउने गरी मालपोत कार्यालयबाट निर्णय गराई सन्तराम मुराउले राम सुरत यादवलाई र.नं. १६९९ बाट मिति २०५७।५।२३ मा राजीनामा पास गरेकोले सो कुराको ज्ञात हुन आयो । मृतक धनमान मुराउको हामी वादी अंशियार छँदाछँदैको अवस्थामा हामीलाई अंशियार नदेखाई मिति २०५७।५।२३ मा भएको मा.पो.का. रुपन्देहीको निर्णय र हाम्रो अंश हक निहीत रहेको जग्गा हाम्रो मञ्जूरीवेगर सोही दिन विपक्षीहरूले गराई लिएको राजीनामा लिखतमध्येको ४ भागको २ भाग जग्गाको निर्णय लिखत र सो को आधारमा भएको दर्ता समेत बदर गरी नामसारी समेत गरिपाऊँ भन्ने समेत व्यहोराको दुलई मुराउ र झिनकान मुराउको फिराद पत्र ।
विपक्षी वादी झिनकान भारतमा वि.स.१९९६ सालमा घरसारमा छुट्टी भिन्न भै बसेको र वंशावलीमध्येका मूल अंशियार भगौतीले अंश मुद्दा गरी निजको मृत्यु भएकोले यी विपक्षी दुलईले मु.स.गरी अंश लिई खाइपाइ आएको हुँदा यो मुद्दामा साहू राममुरत यादव असामी म सन्तराम भएको मिति २०५७।५।२३ को र.नं. १६९९ को पारीत राजीनामा र सोको आधारमा सुरत यादवका नाउँमा भएको दर्ता समेत सदर गरिपाऊँ भन्ने समेत सन्तराम मुराउको प्रतिउत्तर पत्र ।
सम्पूर्ण फिराद दावी गैर कानूनी हो । वादीहरू मेरा दाता सन्तराम मुराउका अंशियार हुन होइनन् जानकारी थिएन । सन्तराम मुराउले जग्गा विक्री गर्न खोजेको र मलाई पनि जग्गा खरीद गर्ने इच्छा भएकोले निज सन्तरामसँग भेट गरी कुराकानी गर्दा निजले आफूबाहेक कोही अंशियार छैनन् भनेकाले विश्वासमा परी राजीनामा पारीत भएको हो । लिखत पारीत भएको मिति २०५७।५।२३ गते देखि नै जोतभोग गरी आएकोले मिति २०५७।९।३ मा थाहा पाएँ भन्ने कथन गलत हो । दुलई मुराउको वावु भगौती मुराउले सन्तराम, विन्देश्वरी र यिनै वादी झिनकान उपर ०३६।३७ सालतिर दायर गरेको अंश नामसारी मुद्दा भगौती मरेपछि यी वादी दुलईले सकारी मिति २०४५।३।१६ को फैसलाबमोजिम अंश पाउने ठहर भएपछि दण्ड सजायको ४६ नं.को म्यादभित्र अंशबण्डा छुट्टाउनेतर्फ फैसला कार्यान्वयन नगराई भारततर्फ कै सम्पत्ति अंशवापत भोगी बसेको पाइन्छ । वादीहरू सन्तरामको सगोलको अंशियार नभएको हुँदा निजहरूलाई अंशियार ठहराउन तथा निर्णय दर्ता बदर गरी निजहरूका नाममा नामसारी गर्न मिल्ने होइन भन्ने समेत प्रतिवादी रामसुरत यादवको प्रतिउत्तर पत्र ।
वादीको साक्षी सोमईप्रसाद मुराउ प्रतिवादीका साक्षी इन्द्रजित प्रसाद गुप्ताले बकेको बकपत्र मिसिल सामेल रहेको ।
यी वादीहरू समेत यी प्रतिवादी सन्तराम मुराउको नाता अंशियार रहेको र निजहरूको अंशबण्डा भए गरेको अवस्था नदेखिंदा ४ भागको २ भागमात्र निर्णय दर्ता बदर भै सोअनुरूप भएको राजीनामा चार भागको २ भागमा दुई भाग लिखत दर्ता बदर भै वादीहरूको नाममा नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०६०।३।८ को फैसला ।
मालपोत कार्यालयको मिति २०५७।५।२३ को निर्णय बदर एउटा विषय र राजीनामा लिखत दर्ता बदर अर्कै विषयमा एउटै फिराद लिई इन्साफ गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्र.राम सुरत यादवको पुनरावेदन पत्र ।
यसमा मालपोत कार्यालयमा अदलको ३ नं. बमोजिम जग्गा वेचविखन गरिपाऊँ भनी दिएको निवेदनमा वेचविखन गर्ने आदेश दिएको मालपोत कार्यालय रुपन्देहीको आदेश अ.वं. ८६ नं. बमोजिम बदर हुने ठहराएको शुरुको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि प्रत्यर्थीलाई झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, वुटवलको मिति २०६१।९।१६ को आदेश ।
यी वादी दुलई मुराउले अंश पाउने ठहर भै दण्ड सजायको ४६ नं. को हदम्याद गुजारी बसेकाले पुनः अंशमा दर्ता गर्न र आफ्नो समेत हक लाग्ने जग्गा राजीनामा भएकोले लिखत दर्ता बदर गराई पाऊँ भनी दावी गर्न पाउने देखिदैन । यस स्थितिमा पनि शुरुले निजको हक जति लिखत दर्ता बदर गरेको फैसला सो हदसम्म मिलेको देखिएन । मालपोत कार्यालयको निर्णय आदेशमा पक्ष विपक्ष भै हारजीत गरेको स्थिति नहुँदा अ.वं ८६ नं. अन्र्तगतको वर्णित व्यवस्था नहुँदा सो निर्णय आदेश बदर गरेको मिलेन, लिखत बदर तर्फको दावीका हकमा पनि यी दुलई मुराउले वावु भगौतीको अंशमा सकार गरी अंश पाउने ठहरेको फैसलाअनुसार दण्ड सजायको महलबमोजिम बण्डा छुट्टयाएको नदेखिँदा त्यस्तो व्यक्तिले पुनः अंश हक देखाई दावी गर्न नपाउने हुँदा निजका हकमा निर्णय लिखत दर्ता बदर गरेको फैसला मिलेको नदेखिँदा सो हदसम्म शुरु जिल्ला अदालतको मिति २०६०।२।८ को फैसला केही उल्टी भै वादी दुलई मुराउको दावी पुग्न नसक्ने ठहर्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६२।३।३ गतेको फैसला ।
म वादी दुलई मुराउ प्रतिवादी सन्तराम मुराउको अंशियार नाता भएको कुरामा विवाद छैन । मेरो वावु भगौती मुराउले यी प्रतिवादी सन्तराम मुराउ समेत उपर अंश नामसारी मुद्दा दायर गरी मिति २०४५।३।१६ मा तत्कालीन लुम्विनी अञ्चल अदालतबाट ४ भागको १ भाग अंश पाउने ठहर भै फैसला भएको छ । सो फैसलामा उल्लेख भएको जग्गा नै प्रतिवादी सन्तराम मुराउले यी प्रतिवादी रामसुरत यादवलाई गरेको विक्री मिति २०४५।३।१६ गतेको फैसलाको प्रतिकूल भएको छ । सो फैसला अन्तिम भइसकेको छ । कारणवस दण्ड सजायको ४६ नं. बमोजिम बण्डा छुट्टयाउन नसकेको कारणले अंश भाग समाप्त हुने होइन । अंश पाउने ठहर भई भएको फैसलाबमोजिम दण्ड सजायको ४६ नं को हदम्यादमा बण्डा छुट्टयाउन नसकेको खण्डमा फैसलाको अस्तित्व समाप्त भै अंश हक गुम्न जाने भने कही कतै उल्लेख छैन । उक्त जग्गा नै लिनुदिनु गरेको अवस्था छ । गैरकानुनी रुपमा राजीनामा लिखत खडा गरी लिखत पास भएको मितिले १ वर्ष भित्र मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. को म्यादभित्र परेको फिराद कानूनसम्मत् छ । फैसलाबमोजिम बण्डा छुट्टयाउने कार्य नभए पनि सो सम्पत्ति मेरो समेतको हक भोग रहेको कुरा यसै लगाउको दे.पु.नं. १०४५ को निर्णय दर्ता लिखत बदर मुद्दाबाट देखिन्छ । प्रतिवादी सन्तराम मुराउले विक्री गरेको जग्गामा अन्य अंशियारहरूले समेत भाग बण्डा गरी जोत भोग गरी आएको तथ्य लगाउको मुद्दाबाट स्थापित भैरहेको अवस्थामा मेरो हक भोग नरहेको भन्न मिल्ने कारण छैन । लेनदेन व्यवहारको १०, ४० नं. समेतको आधारमा परेको दावीलाई अन्यथा भनी अपव्याख्या गर्न मिल्ने होइन । भगौती मुराउको परलोकपछि म दुलई मुराउले मुद्दा सकार गरी अंश हक ठहर भएको फैसलाबाट अंशियार कायम रही रहेको अवस्थामा अन्य कोही अंशियार नभएको भनी अंशियार लोप पारी मालपोत कार्यालय रुपन्देहीबाट अदलको ३ नं. बमोजिम निर्णय गराई राजीनामा लिखत पास भएको कार्यले अंश हक मार्ने काय स्पष्ट छ । त्यस्तो जग्गा विक्री गर्दा अन्य अंशियारको अनिवार्य रुपमा मञ्जूरी सहमती लिनुपर्ने अनिवार्य व्यवस्थाको पालना भएको छैन । अतः माथि उल्लिखित पुनरावेदन जिकीर एवं सक्कल मिसिल सबूद प्रमाण समेतको मूल्याङ्कन गरी पुनरावेदन अदालत, वुटवलको मिति २०६२।३।७ को फैसला बदर गरी शुरु फैसला सदर कायम गरिपाऊँ भन्ने दुलई मुराउको पुनरावेदन पत्र ।
यसमा यी वादीले अंश पाउने ठहरी तत्कालीन लुम्विनी अञ्चल अदालतबाट मिति २०४५।३।१६ मा अन्तिम फैसला भए पनि सोअनुसार अंश छुट्टयाई लिएको नदेखिएको कारण यिनको अंश समाप्त भएको भन्न नमिल्ने हुनाले उक्त फैसलाबाट अंश पाएको भन्ने आधारमा दावी नपुग्ने ठहराई पुनरावेदन अदालत, वुटवलले गरेको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिएकोले छलफलको लागि प्रत्यर्थी झिकाई आए पछि पेश गर्नु भन्ने मिति २०६५।१०।१९ गतेको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री ईश्वरी भट्टराईले वादी प्रतिवादी बीच नातामा कुनै विवाद छैन । यिनीहरू बीच अंशबण्डा भएको कुनै प्रमाण छैन । अंश मुद्दापरी सो मुद्दाबाट बण्डा छुट्टयाउन मात्र वाँकी भएको हो । दण्ड सजायको ४६ नं. को म्यादभित्र बण्डा कार्यान्वयन नभएको भन्ने आधारमा फैसलाबाट प्राप्त अंश हक माथि दावी समाप्त भयो भन्न मिल्दैन । वादी प्रतिवादी दुवैले बण्डा छुट्टयाउन निवेदन नदिएकोले बण्डा नछट्टिएको हो । फैसलाबमोजिम बण्डा लाग्ने भएपछि सोही बण्डा लाग्ने जग्गाको नामसारी र हक हस्तान्तरणले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । अंश मुद्दामा हदम्याद जादैन भन्ने अदालती मान्यता छ । भोग रही रहेकोमा जहिलेसुकै नालेस लाग्छ । अंश हक लाग्ने व्यक्ति हुँदाहुँदै कोही नभएको भन्ने व्यहोरा पारी भएको राजीनामा गैरकानूनी छ भन्ने व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले मालपोतको निर्णयमा पक्ष बिपक्ष नभएकाले अ.बं.८६ नं.आकर्षित हुदैन । अंश पाउने फैसला भएपछि सो फैसलाबमोजिम दण्ड सजायको ४६ नं.बमोजिम बण्डा नछुट्टाएर बसेको अवस्थामा पुन अंशमा दावी लिन पाउने होइन । पुनरावेदक एकासगोलमा रहे बसेको पुष्टि भएको छैन । ३ वर्ष नघाएर आएको निवेदनले कानूनी मान्यता प्राप्त गर्न सक्तैन । अंश नैसर्गिक हक भए पनि अंशबण्डा छुट्टयाउने प्रक्रिया अनिवार्य रुपमा अवलम्बन गर्नुपर्दछ । उक्त प्रक्रिया वादीले अवलम्बन गरेको छैन । बावु बाजेको सम्पत्ति मालपोतको अनुमतिले हक हस्तान्तरण गरेको अवस्था छ । अंश पाउने ठहर भएपछि सो सम्पत्ति नछुट्टयाईकन बस्नु प्रतिवादीको गल्ती होइन । अंश पाउने भइसकेको अवस्थामा सो फैसला कार्यान्वयन नगरी बसेर हाल आएर सो सम्पत्तिको हक हस्तान्तरण गर्न पाउने होइन भन्न मिल्ने होइन पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
दुवैतर्फका विद्वान अधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदनपत्र सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ, छैन पुनरावेदन जिकीर पुग्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मूल पुरुष स्व. गौरी मुराउको जेठी श्रीमती झुलरा मुराउको तर्फबाट जन्मेका धनमान मुराउको छोरा प्रतिवादी सन्तराम र कान्छी कौशिल्या मुराउको तर्फबाट जन्मेका भगौती मुराउको छोरा वादी दुलई मुराउ र कान्छा म झिनकान मुराउ हुँ । हामी अंशियारबीच अंशबण्डा भएको छैन । प्रतिवादीमध्येका सन्तराम मुराउले मिति २०५७।५।५ गते मृतक मेरा बाबु धनमान मुराउको अंश हक खाने मबाहेक अरु कोही अंशियार नभएको भनी अदलको ३ नं. बमोजिम वेचविखन गर्नका लागि मालपोत कार्यालयबाट निर्णय गराई रामसुरत यादवलाई राजीनामा पास गरेकोले मृतक धनमान मुराउको नाँउमा रहेको सम्पत्तिबाट समेत हामी वादीहरूलाई अंश लाग्ने अवस्थामा हाम्रो मञ्जूरीवेगर पारीत भएको राजीनामा लिखतको दर्ता समेत बदर गरिपाऊँ भन्ने व्यहोराको फिराद पत्र भएकोमा वादी झिनकान भारतमा वि.स.१९९६ सालमा घरसारमा छुट्टी भिन्न भै बसेको र भगौतीले अंश मुद्दा गरी निजको मृत्यु भएकोले यी विपक्षी दुलईले मु.स.गरी अंश लिई खाइपाइ आएको हुँदा मिति २०५७।५।२३ मा पारीत राजीनामाको आधारमा रामसुरत यादवका नाउँमा भएको दर्ता समेत सदर गरिपाऊँ भन्ने सन्तराम यादव र मिति २०४५।३।१६ को फैसलाबमोजिम अंश पाउने ठहर भएपछि दण्ड सजायको ४६ नं.को म्यादभित्र अंशबण्डा कार्यान्वयन नगराई बसेको र वादीहरू सन्तरामको सगोलको अंशियारसमेत नभएको हुँदा अंशियार ठहराउन तथा निर्णय दर्ता बदर गरी निजहरूका नाममा नामसारी गर्न मिल्ने होइन भन्ने समेत प्रतिवादी रामसुरत यादवको प्रतिउत्तर पत्र रहेकोमा वादी प्रतिवादीहरूको बीच अंशबण्डा भए गरेको अवस्था नदेखिँदा ४ भागको २ भाग लिखत दर्ता बदर भै वादीहरूको नाममा नामसारी हुने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरेको पुनरावेदन अदालतको फैसलाउपर वादीहरू मध्येका दुलई मुराउको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
३. वादी प्रतिवादीहरूबीच नाता सम्बन्धमा कुनै विवाद भएको छैन । रित पूर्वकको बण्डा भई आफ्नो–आफ्नो गरी व्यवहार प्रमाणबाट अलग भई बसेको पनि देखिदैन । प्रस्तुत मुद्दाका वादी यी दुलई मुराउको पिता भगौती मुराउ वादी भई र सन्तराम, विन्देश्वरी, र झिनकमान प्रतिवादी भएको अंश नामसारी मुद्दामा लुम्बिनी अञ्चल अदालतको मिति २०४५।३।१६ को फैसलाबमोजिम कुल सम्पत्तिको चार भागको एक भाग सम्पत्ति यी वादी दुलई मुराउले पाउने गरी भएको फैसला अन्तिम भई बसेको देखियो । सो फैसलाउपर यी प्रतिवादीहरूको पुनरावेदन परेको नपाइनाले सो फैसलालाई स्वीकार गरी बसेको देखिन आयो । वादी भगौती मुराउको मु.स.गर्ने यी दुलई मुराउले अंश पाउने गरी फैसलाबाट प्राप्त जग्गानै यी सन्तराम मुराउले राम सुरत यादवलाई र.नं. १६९९ मिति २०५७।५।२३ गते राजीनामा पास गरी हक हस्तान्तरण गरेको देखिन आयो । सो हक हस्तान्तरण गर्दा यी वादीको मञ्जूर लिएको पनि देखिएन ।
४. यसै मुद्दाको प्रतिउत्तर दर्ता गर्दा सो प्रतिउत्तरको व्यहोरामा यस मुद्दाका प्रतिवादी सन्तराम मुराउले विपक्षी वादी झिनकान भारतमै वि.सं.१९९६ सालमै घरसारमा छुट्टि भिन्न भै बसेको भन्ने व्यहोरा उल्लेख गरे पनि पैतृक के कुन सम्पत्ति थियो र सोमध्ये कुन सम्पत्ति कति यी वादीले लिएर अलग बसी अंशबण्डा भएको हो भनी खुलाउन सकेको पाइएन । त्यस्तै यसै मुद्दाका वादी दुलई मुराउको बाबु भगौतीले यिनै प्रतिवादी सन्तरामउपर अंश नामसारी मुद्दा गरी लुम्विनी अञ्चल अदालतको मिति २०४५।३।१६ को फैसलाबाट अंश प्राप्त गरिसकेको भन्ने प्रतिउत्तर जिकीर लिए पनि कुन सम्पत्ति सो फैसलाबमोजिम लिएर आफ्नो नाममा दर्ता गरेको हो सो कुरा समेत खुलाउन सकेको देखिएन । अर्कोतर्फ यसै मुद्दाका अर्को प्रतिवादी रामसुरत यादवले लगाएको प्रतिउत्तरमा उक्त अञ्चल अदालतको फैसलाबमोजिम अंश पाउने ठहरे पनि अंशबण्डा छुट्टयाउने तर्फ नगई भारत कै सम्पत्ति अंशबापत लिएको पाइन्छ भन्ने व्यहोराको प्रतिउत्तर लगाए पनि यस मुद्दाका वादीले कुन जग्गा अंशबापत लिएको हो सो कुरा खुलाउन सकेको पाइएन ।
५. अब दण्ड सजायको महलको ४६ नं. बमोजिमको म्यादभित्र बण्डा कार्यान्वयन गर्न नगएमा पुन अंश पाउँ भन्ने दावी लिएर अदालत प्रवेश गर्ने हक वादीलाई छैन भन्ने जिकीर लिएतर्फ विचार गर्दा प्रतिवादीहरूको प्रतिउत्तर जिकीर बमोजिम दण्ड सजायको ४६ नं.बमोजिमको म्यादभित्र बण्डा छुट्टयाई पाऊँ भनी निवेदन नपरेको सम्म देखिन आयो । दण्ड सजायको ४६ नं. बमोजिम बण्डा छुट्टयाई लिनको लागि वादी पक्ष नै अदालत जानुपर्छ भन्ने वाध्यात्मक कानूनी व्यवस्था भएको पाइदैन । उक्त कानूनी व्यवस्थाबमोजिम कुनै पनि पक्षले पनि अंशबण्डा छुट्टयाई पाऊँ भनी निवेदन दिन सक्ने देखिन्छ ।
६. त्यस्तै पुनरावेदक प्रतिवादी विश्वम्भरनाथ मिश्रको मु.स. गर्ने चन्द्रशेखर मिश्र विरुद्ध आचार्यनाथ मिश्र भएको अंश नामसारी (नेकाप २०५७, अङ्क १२, पृष्ठ ८११, नि.नं.६९६०) मुद्दामा “पूर्व फैसलाबमोजिम अंश भागमा परेको जग्गा वादी प्रतिवादीले आ–आफूले भोगी चलन गरी आएको भन्ने कुरा देखिन आएबाट फैसलाबमोजिम घरसारमा लिनु दिनु गरी आ–आफूले भोगचलन गरेको तथ्य पुष्टि भइसकेको अवस्थामा दण्ड सजायको ४६ नं.को व्यवस्थाअनुरूप नै बण्डा छुट्याई पाऊँ भनी आउनु पर्ने त्यसरी नआएमा सो म्याद व्यतीत भएपछि फैसलाले पाएको जग्गा नामसारी गरिपाऊँ भनी आउन नपाउने भन्न न्यायोचित नहुने हुँदा दण्ड सजायको ४६ नं.ले फिराद नलाग्ने भन्ने प्रतिवादीतर्फको भनाइ तर्कसंगत एवं मनासिब देखिदैन” भन्ने कानूनी सिद्धान्त यस अदालतबाट प्रतिपादित भएको पाइन्छ । दण्ड सजायको ४६ नं. को व्यवस्थाअनुरूप नै बण्डा छुट्टाउनको लागि निवेदन दिनुपर्नेमा त्यसरी निवेदन नपरेमा सो म्याद व्यतीत भए पछि फैसलाले पाएको अंश भागको जग्गा प्रतिवादीले वादीको मञ्जूरी नलिईकन गरेको हक हस्तान्तरण कानूनअनुरूप नदेखिएकाले सोही विषयमा प्रस्तुत मुद्दा लिएर आउने हक वादीलाई छैन भन्न न्यायोचित नहुने देखिदा वादीको फिराद दण्ड सजायको ४६ नं.विपरित छ भन्ने प्रतिवादीको भनाई तर्कसंगत देखिदैन ।
७. अदालतको फैसलाबमोजिम बण्डा छुट्टाई पाऊँ भनी अ.वं.४६ नं.बमोजिम वादीले मात्र दरखास्त दिनुपर्ने नभै बण्डा दिनुपर्ने व्यक्तिले पनि दरखास्त लिई आउन पाउने व्यवस्था अ.वं.४६ नं.ले गरेको देखिनाले अंशबण्डा छुट्टयाई लिने र दिने वादी प्रतिवादीहरू दुवै पक्षको कर्तव्य देखिँनाले वादीले अ.वं. ४६ नं.को म्यादभित्र अंशबण्डा छुट्टयाई लिएको नहुनाले अदालतको फैसलाले निजले प्राप्त गरेको अंशमा निजको हक नरहेको भन्ने प्रतिवादीको जिकीर कानूनसम्मत् देखिन आएन । अ.वं. ४६ नं.को म्यादभित्र बण्डा छुट्टयाई पाऊँ भनी दरखास्त नपरेको अवस्थामा अदालतबाट बण्डा छुट्टयाई पाऊँ भन्ने दावी मात्र लाग्न नसक्ने हो । फैसलाले अंशबापत प्राप्त भएको सम्पत्तिबाट सम्बन्धित पक्षको हक समाप्त हुने व्यवस्था कानूनमा भए गरेको देखिन आएन । वादीले अंश हकवापत प्राप्त गरेको सम्पत्ति बण्डा छुट्टयाई नलिएको कारण देखाई प्रतिवादीले त्यस्तो वादीको सम्पत्ति आफुखुशी नामसारी गरी बेचविखन गर्न सक्ने हक अधिकार प्रतिवादीलाई कुनै कानूनले दिएको नदेखिदा वादी दावीको सम्पत्ति वादीको अंश हकको सम्पत्ति देखिन आयो ।
८. दण्ड सजायको ४६ नं. ले तोकेको समय सीमाभित्र अंशबण्डा छुट्टयाउन नगएको भन्ने आधारमा फैसलाबाट प्राप्त अंश हकलाई अर्को अंशियारले मञ्जूरी नलिईकन हकहस्तान्तरण गर्न पाउने कानूनी व्यवस्था भएको पाइएन । फैसलाबाट प्राप्त अंश हकलाई जहिले पनि निवेदन दिएर आफ्नो नाममा नामसारी गर्नको लागि दण्ड सजायको ४६ नं. ले स्पष्ट रुपमा रोक नलगाएको अवस्थामा नामसारी गरी आफ्नो नाममा दर्ता नगराएको अवस्थालाई मात्र आधार मानी अर्को पक्षले सो सम्पत्ति वेचविखन गर्न पाउछ भन्ने अर्थ गर्दै जाने हो भने सामान्य प्रक्रियाको त्रुटि देखाएर अंश हक जस्तो नैसर्गिक हकबाट वञ्चित हुनुपर्ने स्थिति देखा पर्छ । बण्डा छुट्टयाई लिन नसकेको भन्ने आधारमा मात्र वादीले फैसलाबाट पाएको अंशको जग्गा आफ्नो हककायम गराई लिन पाउदैन भन्न नसकिने हुँदा दावी बमोजिमको जग्गामा वादीले आफ्नो भागको अंश लिन पाउने नै देखियो ।
९. यसरी अदालतबाट अंश मुद्दामा अन्तिम फैसला भइसके पश्चात् सोही बण्डा गर्नुपर्ने सम्पत्तिलाई प्रतिवादीले यी वादीको मञ्जूरी नलिई वेचविखन गरेको कार्य कानूनसम्मत् मान्न मिलेन । तसर्थ दावीको जिल्ला रुपन्देही भनी गा.वि.स.वडा नं. ६ग को कि.नं. ५९४, ६२०, ६२८, ६६६, ५८०, ५८५, ५८९, ६५१, ६६१, ७क कि.नं.४०१, ७ख को कि.नं ३६७, ३९२ समेतको ज.वि ४–११–९ जग्गा प्रतिवादीले मिति २०५७।५।२३ मा र. नं. १६९९ बाट रजिष्ट्रेसन गरी विक्री वितरण गरेको कार्य वादी दावी बमोजिम ४ भागको २ भाग बदर हुने ठहराई भएको शुरु इन्साफ सदर गर्नुपर्नेमा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत, वुटवलको मिति २०६२।३।७ गतेको इन्साफ उल्टी भई शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६०।३।८ को फैसला सदर हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी भई वादी दावीबमोजिम चार भागको दुई भाग लिखत बदर हुने ठहर्याएको शुरु फैसला सदर हुने ठहरेकाले शुरु फैसलाको तपसील खण्ड १ मा रहेको लगतबमोजिमका जग्गाहरूबाट ४ भागको २ भाग लिखत बदर हुने ठहरेकाले उक्त बमोजिम गर्नु गराउनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू ........१
पुनरावेदन अदालतको फैसला उल्टी भई शुरु फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालतको मिति २०६२।३।७ को फैसलाबमोजिम कायम रहेको लगत नं. क र ख बमोजिम गरिरहनु परेन भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाई दिनू ..........२
पुनरावेदन अदालतको फैसला उल्टी भई शुरु फैसला सदर हुने ठहरेकाले निजले शुरु फैसलाबमोजिम भरी पाउने ठहरेको कोर्टफि र दस्तूर प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालतमा मिति २०६०।१०।४ मा राखेको धरौट रु.१७०।– कानूनका म्यादभित्र दरखास्त दिए निजलाई भराई दिनु र निजले यस अदालतमा राखेको थप कोर्टफी रु.४५।– प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई भराई माग्न आए नियमानुसार भराई दिनु भनी शुरु अदालतमा लगत दिनू ........३
मिसिल नियमानुसार बुझाई दिनू ..........४
उक्त रायमा सहमत छु ।
न्या.प्रेम शर्मा
इति संवत् २०६८ साल वैशाख १२ गते रोज २ शुभम्
इजलास अधिकृतः– दुर्गाप्रसाद भट्टराई