निर्णय नं. ५०२७ - अंश नामसारी

निर्णय नं. ५०२७ २०५१, ने.का.प. अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
सम्बत् २०४९ सालको दे.पु.नं. ५८५
फैसला मितिः २०५१।५।१५।४
मुद्दा : अंश नामसारी ।
पुनरावेदक/वादी : जि.न.प. अनबच गा.वि.स. वार्ड नं., ९ बस्ने श्री कान्तको मु.स. गर्ने श्रीमती वर्ष ५३ को धनमती तेलीन मरी मु.स. गर्ने छोरा हरि नारायण ।
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने वर्ष ५० को सियाराम तेली ।
§ निजी आर्जनबाट राजीनामा गरी लिएको भनी पुरनावेदन वादीले जिकिर लिएता पनि यसको खास सबुल प्रमाण स्वरुप निजी आर्जनको श्रोत खुलाउन सकेको पाइदैन । प्रमाण निमित्त पेश भएको राजिनामाको कैफियत मेरो अंश वापत प्राप्त उक्त जगगा दा.खा. नामसारी को लागि मसंग नागरिकता नहुँदा नेपाली नागरिकलाई विक्री वितरण गर्न पाउने गरी मा.पो.का. नवलपरासीबाट मिति २०४४।२।२९ मा निर्णय समेत भएको हुँदा उक्त निर्णय अनुसार नेपाली नागरिकलाई मुलुकी ऐन अदालतको ३ नं. बमोजिम हक हस्तान्तरण गरी दिएको छु भन्ने समेत बोली पारी आफ्नै नाती हरिनारायणलाई राजीनामा गरि दिएको हुँदा पुनरावेदक वादी धनपतिको छोरा हरिनारायणले यसरी प्राप्त भएको आफ्नै पैतृक सम्पत्तिलाई आफ्नो परिश्रमको निजी आर्जन गरी लिएको भन्न नमिल्ने ।
(प्र. नं. १२)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री बसन्त राम भण्डारी
विपक्षी तर्फबाट : x
अवलम्बित नजिर : x
फैसला
न्या. कृष्ण कुमार बर्मा : पुनरावेदक वादी पुनरावेदन अदालत बुटबलको मिति २०४८।११।२८।४ को फैसला उपर चित्त नबुझी सो उपर यस सम्मानित अदालत समक्ष पुनरावेदन गर्न आउनु भएको रहेछ । मुद्दाको संक्षिप्त तथ्य एवं ब्यहोरा यस प्रकार छ ।
२. बाबु चिर कुटका २ अंशियार भाई छोरामा जेठो पगादी श्रीकान्त र कान्छी विपक्षी सियाराम बीच अंशवण्डा भएको छैन । हामी दुई केही पहिले देखि मानो अलग गरि बसेका छौ । विपक्षीले सगोलको सम्पत्ति विक्री गरेकोमा मेरो लिखत बदर मुद्दा यसै अदालतमभा परेको र मलाई कुटपिट समेत गरेकोबाट विपक्षीबाट अंशको फाँटवारी लिई २ भागको १ भाग अंश मलाई दिलाई पाउँ भन्ने श्रीकान्त तेलीको मिति २०४४।९।२६ को फिरादपत्र ।
३. बाबुको नाउँको पैत्रिक सम्पत्ति मात्र हामी दुई जनाका नाउँमा संयुक्त दर्ता रहेको छ । हामी १०/१२ वर्ष अघि देखि पैतृक सम्पत्ति घरसारमा बाँडफाँड गरी सोही अनुसार भोग गरी आएका छौं । अलग भए पछि आ–आफ्नो परिश्रमले केही जग्गा खरीद गरेको हुँदा बादीले फिराद परेको अघिल्लो दिन सम्मका सम्पत्ति मध्येबाट अंश पाउने नभै पैतृक संयुक्त दाखिल खारेज भएको सम्पत्तिबाट प्राप्त अंश पाउने हुन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. जम्मा अंशियार दुई हुँदा तायदाती फाँटवारीको सम्पत्ति जम्मा २ भाग लगाई १ भाग वादीले दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने नबलपरासी जिल्ला अदालतको मिति २०४५।९।६ को फैसला ।
५. श्री कान्त एवं सियारामको आमा कुमारी तेलीले आफ्नो अंशमा पाएका जग्गा २०४४।३।२८ गते विक्री गरी निजी आर्जनका कमाइबाट हरिनारायणले किनेका उक्त जग्गा समेतको अंश लाग्ने गरी भएका शुरु फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने पुनरावेदक वादी धनमतीको साविक सु.अं.अ. मा मिति २०४६।५।६।३ मा परेको पुनरावेदन पत्र ।
६. विपक्षी प्रत्यर्थी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०४७।३।४।२ को साविक लु.अं.अ. को आदेश ।
७. प्रतिवादी सियाराम तेलीले तायदाती फाँटवारीमा देखाएका गुल्वी तेलीनको नाउँको ज.विज. ०–१५–२ जग्गालाई बण्डा लाग्ने गरी गरेको शुरुको इन्साफ सो हदसम्म नमिलेको हुँदा तायदाती फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्ति मध्ये गुल्वी तेलीनको नाउँमा रहेको ज.वि. ०–१५–२ बाहेक गरी सम्पत्तिबाट आधा वादी श्रीकान्त तेलीको मु.स. गर्ने निजकी श्रीमती धनमती तेलीनले अंश पाउने ठहर्छ । शुरुको इन्साफ केही उल्टी हुन्छ भनी पु.वे.अ. बुटबल रुपन्देहीको मिति २०४८।११।२८।४ को फैसला ।
८. सो पू.वे.अ. बाट भएको फैसला उपर चित्त नबुझी पुनरावेदक वादीले विपक्षी सियाराम तेली २०३१ सालमै मानो छुट्टिई अलग भैसकेको छ जुन कुरा विपक्षीले पुरानै खरिहान जग्गा इसरमन कुर्मीलाई राजिनामा गरि दिएकोले मेरा पति श्रीकान्तले विपक्षी उपर श्री न.प.जि.अ. मा लिखत बदर मुद्दाको फिराद गर्नु भएकोले सो मुद्दाको प्रतिउत्तर पत्रको प्रकरण (२) मा विपक्षीले उल्लेख गर्नु भएबाट पुष्टि हुन आउँदछ । साथै मेरो पतिले यो मुद्दाको फिराद पत्र दायर गर्दा पनि आफ्नो फिराद पत्रको प्रकरण २ मै पहिले देखि नै मानो छुट्टिई अलग अलग बसेका छौं भनी उल्लेख गर्नु भएको छैन भने मेरा पतिको विपक्षी उपर फिराद पर्नु भन्दा पहलिे नै विपक्षीका श्रीमती छोराहरुले विपक्षी उपर मेरा पतिलाई अंशियार नै नदेखाई अंश मुद्दाको फिराद दायर गरेका छन् । जुन मुद्दाको विपक्षीका छोरा श्रीमतीको साछी लालमन कुर्मीले मिति २०४४।३।११ मा न.प.जि.अ. मा वकपत्र गर्दा आफ्नो स.ज. ५ मा सियाराम १०, १२ वर्ष पहिल्यै छुट्टि भिन्न भएको भनी किटानी बकपत्र गरी दिएका छन् । यसै मुद्दाको श्री नबलपरासी जिल्ला अदालतबाट भएको आदेश बमोजिम तायदाती फाँटवारी दाखिल गर्दा तायदातीमा हरिनारायण नाउँको जग्गामा बण्डा नलाग्ने कुराको पुरै विवरण खोली तायदाती पेश गरेकी छु, जुन तायदातीमा सो जग्गामा मेरो समेत हक लाग्छ भनी विपक्षीले उजुर गर्नु भएको छैन, जसबाट जो जग्गामा अंश नलाग्ने कुरा स्वतः प्रमाणित भै सकेको छ, यस्तो अवस्थामा मिसिल संलग्न तथ्य प्रमाणको मूल्याङ्कन नै नगरी एक पटक जुन मानिसले अंशमा दिई अर्काको हक भैसकेको जग्गामा पुनः हक ठहर्याई गरेको फैसलाबाट अन्याय परेकोले हरिनारायणको नाउँको जग्गामा अंश लाग्ने ठहर्याएका हदसम्म पुनरावेदन अदालत बुटबलको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने नै मुख्य जिकिर सहित यस सम्मानित अदालत समक्ष गर्न आएको पुनरावेदन वादीको पुनरावेदन ।
९. नियमानुसार आजको दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट नियुक्त विद्वान कानून व्यवसायी अधिबक्ता श्री बसन्तराम भण्डारीले विपक्षी सियाराम तेली २०३१ सालमा नै छुट्टिई अलग भै बसेकोले अंशवण्डा पश्चात मेरो पक्ष श्री हरिनारायण तेलीले निजी आर्जनबाट जोडेको जग्गा ज.वि. १–८–० जग्गाको विपक्षी सियाराम तेलीले अंशमा दावी गर्न पाउने होइन । जुन कुरा मेरो पक्षको पति श्रीकान्तले विपक्षी समेत उपर श्री न.प.जि.अ. मा फिराद गर्नु भएकोमा सो को प्रत्यूत्तरमा विपक्षी स्वयंले २०३१ सालमा मानो छुट्टिई भिन्न भै अलग बसेको कुरा स्वीकार गर्नु भएको छ । तसर्थ मेरो पक्षको पुनरावेदन माग दावी बमोजिमको हक इन्साफ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा बाबु चिर कुटको २ अंशियार भाई छोरामा कान्छो विपक्षी सियाराम बीच अंश बण्डा भएको छैन । हामी दुई केही पहिले देखि मानो अलग गरी बसेका छौं । विपक्षीले सगोलका सम्पत्ति विक्री गरेकोमा मेरो लिखत बदर मुद्दा यसै अदालतमा परेको र मलाई कुटपिट समेत गरेकोबाट अंशको फाँटवारी लिई २ भागको १ भाग अंश मलाई दिलाई पाउँ भन्ने श्रीकान्त तेलीको मिति २०४४।९।२६ को फिराद परेकोमा बाबुको नाउँको पैतृक सम्पत्ति मात्र हामी २ जनाका नाउँमा संयुक्त दर्ता रहेको र हामी १०/१२ वर्ष अघि देखि पैतृक सम्पत्ति घरसारमा वाँडफाँड गरी भोग गरी आएका छौं । यसरी अलग भएपछि आ–आफ्नो परिश्रमले केही जग्गा खरीद गरेको हुँदा वादीले फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्ति मध्येबाट अंश पाउने नभै पैतृक संयुक्त दाखिल खारेज भएको सम्पत्तिबाट मात्र अंश पाउने हुन् भन्ने समेत प्रतिवादी तर्फबाट पर्न आएको प्रतिउत्तर जिकिर भएको पाइन्छ । जम्मा अंशियार दुई हुँदा तायदाती फाँटवारीको सम्पत्ति जम्मा २ भाग लगाई १ भाग वादीले दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने नवलपरासी जिल्ला अदालतको मिति २०४५।६।९ को फैसला भएकोमा सो उपर चित्त नबुझी श्रीकान्त एवं सियारामको आमा कुमारी तेलीले आफ्नो अंशमा पाएका जग्गा २०४४।३।२८ गते विक्री गरी निजी आर्जनको कमाइबाट हरिनारायणले किनेको उक्त जग्गा समेत अंश लाग्ने गरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने पुनरावेदक वादी धनमती तेलीनको साविक लु.अं.अ. मा मिति २०४६।५।६।३ मा पुनरावेदन पर्न आएकोमा सो लु.अं.अ. ले विपक्षी प्रत्यर्थी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०४७।३।४।२ मा आदेश गरेको र तत्पश्चात मिति २०४८।११।२८।४।३ मा पुनरावेदन अदालत बुटबल रुपन्देहीबाट प्रतिवादी सियाराम तेलीले तायदाती फाँटवारीमा देखाएका गुल्वी तेलीनको नाउँको ज.वि. ०–१५–२ जग्गालाई बण्डा लाग्ने गरी गरेको शुरुको इन्साफ सो हदसम्म नमिलेको हुँदा तायदाती फाँटवारीमा देखाएका गुल्वी तेलीनको नाउँको ज.वि. ०–१५–२ जग्गालाई बण्डा लाग्ने गरी गरेको शुरुको इन्साफा सो हदसम्म नमिलेको हुँदा तायदाती फाँटवारीमा उल्लेख भएका सम्पूर्ण सम्पत्ति मध्ये गुल्वी तेलीनको नाउँमा रहेको ज.वि. ०–१५–२ बाहेक गरी वाँकी सम्पत्तिबाट आधा वादी श्रीकान्त तेलीको मु.स. गर्ने निजकी श्रीमती धनमती तेलीनले अंश पाउने ठहर गर्दै शुरुको इन्साफ केही उल्टी हुन्छ भनी उक्त पु.वे.अ. बुटबल, रुपन्देहीबाट फैसला भएको पाइन्छ ।
११. यसरी पू.वे.अ. बुटबल रुपन्देहीबाट भएको फैसला उपर चित्त नबुझी पुनरावेदक वादीले विपक्षी सियाराम तेली २०३१ सालमा नै भिन्न भै बसेको र जुन कुरा विपक्षीले पुरानै खरिहान जग्गा इसरमन कुर्मीलाई राजीनामा गरी दिएकोले मेरा पति श्रीकान्तले विपक्षी समेत उपर श्री न.प. जि.अ. मा लिखत बदर मुद्दाको फिराद गर्नु भएकोमा सो उपरको प्रत्यूत्तरमा विपक्षीले सो भित्र भएको कुरालाई उल्लेख गर्नु भएकोले समेत विपक्षीले स्वीकार गरेकै पुष्टि हुन आउने र साथै मेरा पतिले उक्त मुद्दाको फिरादपत्र दायर गर्दा पनि आफ्नो फिरादपत्रको प्रकरण २ मै पहिले देखि मानो छुट्टिई अलग अलग गरी बसेका छौ भनी उल्लेख गर्नु भएको छ भने मेरा पतिको विपक्षी उपर फिराद गर्नु भन्दा पहिले नै विपक्षीका श्रीमती छोराहरुले विपक्षी उपर मेरा पतिलाई अंशियार नै नदेखाई अंश मुद्दाको फिराद दायर गरेका छन् । जुन मुद्दाको विपक्षीका छोरा श्रीमतीको साक्षी लालमन कुर्मीले मिति २०४४।३।११ मा न.प.जि.अ. मा बकपत्र गर्दा समेत विपक्षी सियाराम १०/१२ वर्ष पहिल्यै छुट्टि भिन्न भै बसेको भन्ने किटानी बकपत्र गरी दिएको छन् । यसै मुद्दाको नवलपरासी जिल्ला अदातलबाट भएको आदेश बमोजिम तायदाती फाँटवारी दाखिल गर्दा तायदातीमा हरिनारायणको नाउँको उक्त जग्गामा बण्डा नलाग्ने कुराको पुरै विवरण खोली तायदाती पेश गरेको छु, जसमा विपक्षीले मेरो समेत हक लाग्छ भनी कुनै खण्डन समेत गर्न नसकेकोले यस्तो अवस्थामा मिसिल संलग्न तथ्य प्रमाणको मूल्याङ्कन नै नगरी एक पटक जुन मानिसले अंशमा दिई अर्काको हक भैसकेको जग्गामा पुनः हक ठहर्याई गरेको फैसलाबाट अन्याय परेकोले हरिनारायणको नाउँको जग्गामा अंश लाग्ने ठहर्याउको हदसम्म पुनरावेदन अदालत बुटबलको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने वादी पुनरावेदकको यस सम्मानित अदालत समक्ष पर्न आएको मुख्य पुनरावेदन जिकिर भएको पाइन्छ ।
१२. अतएवं उपरोक्त बमोजिम विद्वान अधिबक्ताको बहस सुन्नुको साथै इजलास समक्ष पेश हुन आएको सम्पूर्ण मिसिल एवं कागजात समेतको अध्ययन गरी यसमा पुनरावेदकको माग दावी बमोजिमको इन्साफ दिनु पर्ने हो होइन भनी निर्णय दिनु पर्ने हुन आयो । निर्णय तर्फ विचार गर्दा पुनरावेदक वादी श्रीकान्त तेलीको मु.स. गर्ने निजकी श्रीमती धनमती तेलीन र प्रत्यर्थी प्रतिवादी सियाराम तेली सगोलमा रहे भएको कुरामा कुनै विवाद देखिन्न । तसर्थ दुवै पक्ष आधा आधा अंशका हकदार हुन भन्ने कुरामा कुनै विवाद छैन । निज पुनरावेदक धनमती तेलीनको छोरा हरिनारायणले निजी आर्जनले कुमारी तेलीनबाट खरिद गरेको भनेको जि.न.प. उनवच गा.पं. वडा नं.९ कि.नं. ४८ र १८१ को जम्मा ज.वि. १–८–० जग्गामा अंशवण्डा लाग्ने हो होइन भन्ने सम्बन्धमा निजी आर्जनबाट राजीनामा गरी लिएको भनी पुनरावेदक वादीले जिकिर लिएता पनि यसको खास सबुत प्रमाण स्वरुप निजी आर्जनको श्रोत खुलाउन सकेको पाइदैन । प्रमाण निमित्त पेश भएको उक्त राजिनामाको कैफियत मेरो अंश वापत प्रापत उक्त जग्गा दा.खा. नामसारीको लागि मसंग नागरिकता नहुँदा नेपाली नागरिकलाई विक्री वितरण गर्न पाउने गरी मा.पो.का. नवलपरासीबाट मिति २०४४।२।२९ मा निर्णय समेत भएको हुँदा उक्त निर्णय अनुसार नेपाली नागरिकलाई मुलुकी ऐन अदलको ३ नं. बमोजिम हक हस्तान्तरण गरी दिएको छु भन्ने समेत बोली पारी आफ्नै नाती श्री हरिनारायणलाई राजीनामा गरिदिएको हुँदा पुनरावेदक वादी धनपतिको छोरा हरिनारायणले यसरी प्राप्त भएको आफ्नै पैतृक सम्पत्तिलाई आफ्नो परिश्रमको निजी आर्जन गरी लिएको भन्न मिलेन । तसर्थ प्रत्यर्थी प्रतिवादी सियाराम तेलीले तायदाती फाँटवारीमा देखाएका गुल्मी तेलीनको नाउँको ज.वि. १५–२ जग्गालाई खण्डा लाग्ने गरी गरेको शुरुको इन्साफ सो हदसम्म नमिलेको हुँदा तायदातीको फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्ति मध्ये गुल्वी तेलीनको नाउँमा रहेको ज.वि. ०–१५–२ बाहेक गरी वाँकी सम्पत्तिबाट आधा वादी श्रीकान्त तेलीको मु.स. गर्ने निजकी श्रीमती धनमती तेलिनले अंश पाउने ठहर्छ । शुरुको इन्साफ केही उल्टी हुन्छ भनी गरेको पु.वे.अ. बुटवल रुपन्देहीको मिति ०४८।११।८।४ को फैसला त्रुटीपूर्ण नभै मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । कानून बमोजिम गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वी बहादुर सिंह
इति सम्बत २०५१ साल भाद्र १५ गते रोज ४ शुभम् ।