निर्णय नं. ४२४१ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ४२४१ ने.का.प. २०४८ अङ्क १
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४६ सालको रि.नं. ६५७
आदेश भएको मिति: २०४७।१२।१८।२ मा
निवेदक : पशुपति स्पिनिड्ड मिल्स प्रा.लि.को तर्फबाट शशिकान्त अग्रवाल
विरुद्ध
विपक्षी : अन्तःशुल्क कार्यालय काठमाडौं
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) निवेदकको उद्योगले फाईवरबाट टप्स, टप्सबाट एक्रेलिक ऊनी धागो उत्पादन गरेको कुरामा विपक्षीबाट कुनै खण्डनसम्म भएको देखिएन, अतः उत्पादन शुरु गरेको मिति देखि ३ वर्षसम्म अन्तःशुल्क छुट पाउन पर्ने देखिनाले सो मिति भित्र अन्तःशुल्क माग गरेको कानुन प्रतिकूल हुँदा विपक्षीको उक्त काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. श्री ५ को सरकार उद्योग विभागबाट मिति २०४४।११।२६ मा इजाजतपत्र प्राप्त गरी २०४४।१२।२८ मा कम्पनी दर्ता गरी अन्तःशुल्क कार्यालय काठमाडौंबाट पनि २०४६।२।३१ मा इजाजतपत्र प्राप्त गरी २०४६।३।१ गते देखि उत्पादन शुरु गरेको यस उद्योगले औद्योगिक कच्चा पदार्थको रुपमा कोरामाल कोरा एक्रेलिक फाइवर प्रयोग गरी आएको छु । आर्टिफिसियल टप्स प्रयोग गरेको छैन । उत्पादन शुरु भएपछि यस उद्योगको उत्पादनमा अन्तःशुल्क लाग्दछ भनी प्रत्यर्थी कार्यालयबाट अन्तःशुल्कको रकम समेत किटानी गरी धमाधम माग फाराम काटेकोले चित्त नबुझी कार्यालयमा गई छलफल गर्दा अन्तःशुल्क बुझाउँदै जानुहोस पछि ठहरे बमोजिम हुने नै छ भनी मौखिक जवाफ मात्र दिने काम भयो ।
३. नेपाल अधिराज्यमा कोरा एक्रेलिक फाइवर प्रयोग गरी कसैले उत्पादन नगरेको हुँदा नयाँ प्रविधिका साथ सो कोरा माल प्रयोग गरी वस्तु उत्पादन गर्ने यो उद्योग औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा १०(ग) को खण्ड (५) अन्तर्गत परी उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म अन्तःशुल्क छुट पाउनेमा सो विपरीत उत्पादन शुरु भएकै महीना देखि अन्तःशुल्क असूल उपर गरी लिएको अवैध छ । आर्थिक ऐन, २०४५ को अनुसूची ५ मा आ.ब. २०४५।४६ को अन्तःशुल्क दरबन्दीको संकेत नं. १६–२ मा पनि आर्टिफिसियल टप्सबाट तयार भएको धागोमा अन्तःशुल्क लागेको पाइन्छ । फाइवर कोराबाट प्रविधिको धेरै तह (साविक पेज नं. १) पूरा गरे पछि मात्र टप्सको तह आइपुग्छ । कच्चा पदार्थ फाइवर प्रयोग गर्ने कारखानाले बढी श्रम र मेशिनरीको प्रयोग गर्नुपर्ने हुनाले श्री ५ को सरकार वाणिज्य विभागले इजाजतपत्र जारी गर्ने प्रिमियम दस्तूर पनि फाइवरमा ५% छ भने टप्समा १०% छ । कानुनले प्रष्ट व्यवस्था गरेको अवस्थामा कानुन बमोजिम बाहेक कसैसित कर उठाई लिन नपाउने संविधानको धारा ५८ लगायत नागरिक अधिकार ऐन, २०१२ को दफा ८ समेतको प्रतिकूल यस उद्योगलाई आर्टिफिसियल टप्स (कच्चा पदार्थको रुपमा) प्रयोग गरी उत्पादन गर्ने अन्य पुराना उद्योग जस्तै अन्तःशुक असूल गरेबाट रिट निवेदकको नेपालको संविधानको धार १०(१), ११(२)ङ तथा १५ द्वारा प्रदत्त मौलिक हक, धारा ५८ को संवैधानिक हक औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा १०(ग)(५), २१ र नागरिक अधिकार ऐन, २०१२ को दफा ८ समेतको कानुनी हक अवरुद्ध भएको हुँदा कानुन विपरीत काटिएको माग फारामहरु लगायत सम्पूर्ण काम कारावही उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको उद्योगलाई प्रचलित नेपाल कानून बमोजिम अन्तःशुल्क छूटको सुविधा दिनु भन्ने प्रत्यर्थीको नाममा परमादेशको आदेश समेत जारी गरिपाउँ । यो रिटनिवेदन अन्तिम किनारा नलागेसम्म रिट निवेदकबाट अन्तःशुल्क रकम नउठाउनु भन्ने अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदनपत्र ।
४. यसमा विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु, साथै यो रिटनिवेदनको अन्तिम किनारा नलागेसम्म निवेदकको माग बमोजिमको अन्तःशुल्क रकम नउठाउनु भनी स.अ. नियमावली, २०२१ को नियम ५८(३) बमोजिम अन्तःशुल्क कार्यालय काठमाडौंको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलाशको मिति २०४६।५।८।५ को आदेश ।
५. रिट निवेदकले आर्थिक ऐनको मर्यादा राखी अन्तःशुल्क राजश्व बुझाउने मनसायले नै यस कार्यालयमा आई एक्रेलिक धागो उत्पादन इजाजत मिति २०४६।२।३१ मा लिएको र अन्तःशुल्क ऐन, २०१५ र अन्तःशुल्क नियम, २०१९ बमोजिम अनुज्ञापत्र लिए पछि सोही अनुसार श्री ५ को सरकारलाई तोकेको अन्तःशुल्क दरबन्दी अनुसार अन्तःशुल्क बुझाउँदै जानु पर्ने हो । एक्रेलिक फाइवरबाट सोझै एक्रेलिक यार्न धागो नबनाई फाइबरबाट टप्स र टप्सबाट कृत्रिम उनी धागो उत्पादन गरेकोमा आर्थिक ऐन, २०४५ प्रतिकूल अन्तःशुल्क उठाएको नभई सो ऐनको परिधिभित्र रही यस कार्यालयबाट काम कारावही भएको छ । विपक्षीले पाएको उद्योगको इजाजतमा उद्योगको उद्देश्य एक्रेलिक यार्न उत्पादन गर्न भन्ने उल्लेख छ । विपक्षी उद्योग औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा १०(ग) को खण्ड (५) अन्तर्गतका सुविधा पाउनु पर्ने उद्योग होइन । रिट निवदन खारेज गरी पाउन अनुरोध छ भन्ने समेत प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले नेपाल अधिराज्यमा कोरा एक्रेलिक फाइवर प्रयोग गरी कसैले उत्पादन नगरेको हुँदा औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा १०(ग) को खण्ड (५) अन्तर्गत तीन वर्ष अन्तःशुल्क छूटको सुविधा पाउनु पर्ने उक्त ऐनले प्रत्याभूत गरेको सुविधा सहुलियतलाई आर्थिक ऐन लगायत अन्य कुनै पनि नेपाल कानुनले प्रतिकूल असर पुर्याउन सक्ने होइन । आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दीको समेत १६–२ मा “कृत्रिम उनी (आर्टिफिसियल टप्सबाट तयार भएको धागो” उल्लेख भएको हुँदा एक्रेलिक फाइवरबाट लेडिङ, ओनिङ, कार्डिङ, गिलिङ, टप मेकिङ समेतको (साविक पेज नं. २) प्रशोधन प्रकृया पछि मात्र टप्स तयार हुने प्रस्तुत उद्योगले अन्तःशुल्क छूटको सुविधा नपाउने भन्न नमिल्ने हुँदा तत्सम्बन्धमा प्रत्यर्थीबाट गरेको सम्पूर्ण कारवाही बदर गरी ३ वर्षे अवधि भित्र कुनै अन्तःशुल्क उठाई लिएको भए रिट निवेदकलाई फिर्ता दिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी अन्तःशुल्क कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले निवेदकको उद्योगको उत्पादन कृत्रिम उनी धागो हो । उत्पादनमा अन्तःशुल्क लाग्ने भएपछि उत्पादन प्रकृया नयाँ भयो भन्दैमा औ.व्यवसाय ऐन, २०३८ को दफा १० (ग) (५) को सुविधा पाउन सक्ने होइन भन्ने वहस समेत सुनियो ।
७. यसमा रिटनिवेदन माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
८. निर्णयतर्फ हेर्दा यसमा निवेदक पशुपति स्पिनिङ मिल प्रा.लि. खोल्न २०४४।११।२६ मा इजाजत प्राप्त गरी २०४४।१२।२८ मा कम्पनी दर्ता भई २०४६।३।१ देखि उत्पादन शुरु गरेकोले उत्पादन भएको मितिले ३ वर्षसम्म अन्तःशुल्क छूट पाउनु पर्नेमा सो ३ वर्षभित्र नै अन्तःशुल्क माग गरेको र लिएको गैरकानुनी हुँदा सो बदर गरी सो ३ वर्षभित्र कुनै किसिमले अन्तःशुल्क लिएको भए फिर्ता दिनु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर र निवेदकको उद्योगबाट उत्पादन हुने कृत्रिम उनी धागो नयाँ उत्पादन नभएको हुँदा सो छूट सुविधा पाउन सक्ने होइन भन्ने समेत लिखितजवाफ पर्न आएको देखिन्छ ।
९. निवेदक पशुपति स्पिनिङ मिल्स प्रा.लि.ले एक्रेलिक यार्न उत्पादनको काम गर्न मिति २०४४।१२।२८ मा कम्पनी दर्ता गरी मिति २०४६।३।१ देखि उत्पादन शुरु गरेकोमा विवाद देखिएन । उक्त उद्योगको उत्पादनमा अन्तःशुल्क लाग्ने नलाग्ने के रहेछ भन्ने सम्बन्धमा हेर्दा औद्योगिक व्यवसाय ऐन, (संशोधन सहित), २०३८ को दफा १०(१) (ग) (५) मा “नेपालमा उत्पादन नै नभएको कुनै नयाँ किसिमका वस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म अन्तःशुल्क छूट दिइनेछ भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा २१ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिए जति कुरामा सोही बमोजिम हुनेछ” भन्ने व्यवस्था छ । आर्थिक ऐन, २०४५ को अनुसूची –५ को अन्तःशुल्क दरबन्दीको संकेत नं. १६–२ मा कृत्रिम उनी (आर्टिफिसियल टप्सबाट तयार भएको) धागोमा प्रति कि.ग्रा. रु.२०।– अन्तःशुल्क लाग्ने व्यवस्था गरेको पाइन्छ ।
१०. निवेदक पशुपति स्पिनिङ मिल्सलाई प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंले आर्थिक ऐन, २०४५ अनुसार अन्तःशुल्क लगाएको रहेछ । निवेदकको जिकिर अनुसार यो उद्योगले कच्चा पदार्थको रुपमा आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दीको संकेत नं. १६–२ मा उल्लेखित आर्टिफिसियल टप्स प्रयोग गर्ने नभई फाइवर प्रयोग गरी त्यसलाई विभिन्न प्रशोधन प्रकृया पश्चात टप्समा परिणत गरेपछिमात्र टप्सबाट एक्रेलिक उनी धागो उत्पादन गर्ने हुनाले सो आर्थिक ऐनको परिधिभित्र परेको देखिएन । निवेदकले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) को खण्ड (५) बमोजिम ३ वर्षको अन्तःशुल्क छूट सुविधा पाउने नपाउने सम्बन्धमा निवदकको उद्योगले फाइवरबाट टप्स, टप्सबाट एक्रेलिक उनी धागो उत्पादन गरेको कुरामा विपक्षीबाट कुनै खण्डन सम्म भएको देखिएन । अतः पशुपति स्पिनिङ मिल्स प्रा.लि. ले उत्पादन शुरु गरेको मिति २०४६।३।१ देखि ३ वर्षसम्म अन्तःशुल्क छूट पाउन पर्ने देखिनाले सो मिति भित्र अन्तःशुल्क माग गरेको कानुन प्रतिकूल हुँदा विपक्षी अन्तःशुल्क कार्यालय काठमाडौंको उक्त काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । मिति २०४६।६।३१ (साविक पेज नं. ३) गते उत्पादन शुरु भएको मितिले ३ वर्षभित्र अन्तःशुल्क लिएको भए सो रकम निवेदकलाई फिर्ता दिनु भनी अन्तःशुल्क कार्यालय काठमाडौंको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार गर्नु ।
उक्त रायमा म सहमत छु । न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४७ साल चैत्र १८ गते रोज २ शुभम् ।