शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२४२ - दर्ता बदर हक कायम समेत

भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक:

निर्णय नं. ४२४२    ने.का.प. २०४८      अङ्क १

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४४ सालको दे.पु.नं. ८५३

फैसला भएको मिति :      २०४७।१२।१२।३ मा

निवेदक      : का.न.पा. वार्ड नं. २७ बस्ने दिव्यरत्न बज्राचार्य

विरुद्ध

वादी : ऐ.ऐ.बस्ने सानुरत्न बज्राचार्यसमेत

मुद्दा : दर्ता बदर हक कायम समेत

(१)    केवल जालसाजी भनेकै आधारमा लिखतको प्रमाणिक अस्तित्व नरहने भन्न न्यायसंगत नहुने ।

(प्रकरण नं. १७)

(२)   वादीबाट सबूद प्रमाणसहित विवादित घरमा रहेको देवता महावली गुठीका देवताहरु र प्रतिवादी समेत सो गुठीका गुठियार रहेका छन् भनी दावी लिएकोमा म सो गुठीको गुठीयार पनि होइन, आफू बसी आएको घरमा रहेको देवता सो गुठीको देवता पनि होइन भनी आधिकारिक रुपबाट पुष्टी गर्न सकेको नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न (साविक पेज नं. ४) नसकिने ।

(प्रकरण नं. १८)

(३)   मुद्दा परी सिर्जना भएको भनिएको हकले प्रस्तुत मुद्दाको वादीहरु समेतको प्रमाणित हकलाई कुण्ठित गर्न नसक्ने ।

(प्रकरण नं. १९)

(४)   विवादित घरमा आगन देवता नरहेको र प्रतिवादी पनि सो गुठीको गुठियार नरहेको नभएको भए, प्रतिवादी समेतको हक लाग्ने भनी वादीहरुले आफ्नो दावीमा उल्लेख गरेकोबाट पनि विवादित घर प्रतिवादीको एकलौटी हक भोगको भन्न मान्न सबूद प्रमाणको अभावमा मिल्ने नदेखिने ।

(प्रकरण नं. २०)

(५)   निर्विवाद सबूद प्रमाणको अभावमा अचल सम्पत्ति माथि हक कायम हुन नसक्ने ।

(प्रकरण नं. २०)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।

२.    काठमाडौं शहरी क्षेत्रको नापी हुँदा का.जि.का.न.पं. वार्ड नं. १६ हाल २७ मुवहालको कि.नं. २०५ को दक्षिण ४ नाले ३ कबले ३ तलेको ०२ क्षेत्रफल भएको व्लक नं. ११/६५० को घर जग्गा प्रतिवादी दिव्यरत्नको नाउँमा अस्थायी दर्ता गर्ने गरेको ०३६।८।२० को निर्णय बदर गरी प्रतिवादी सहित हामी वादी २८ जनाको नाउँमा समेत संयुक्त दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको रत्नमानन्द बज्राचार्य समेतको फिरादपत्र ।

३.    वादी दावीको घर अपुतालीबाट मेरो पिता पञ्चरत्नको हक हुन आएको, उहाँको पति परलोक हुँदा मेरो हक हुन आएको एकलौटी घरलाई निजी गुठी बनाई हक कायम गराउने विपक्षीहरुको प्रयास हुँदा मेरो नाउँमा भएको दर्ता सदर कायम रखी पाउँ भन्ने समेत व्यहोराको दिव्यरत्न बज्राचार्यको प्रतिउत्तरपत्र ।

४.    विवादित घर जग्गामा प्रतिवादीको नाउँको अस्थायी दर्ता बदर हुन्छ र दुवै पक्षको नाउँमा संयुक्त हक हुने देखिँदा संयुक्त रुपमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।

५.    काठमाडौं जिल्ला अदालतबाट सबूद प्रमाणको मूल्यांकन नै नगरी भएको फैसला बदर गरी प्रतिवादी तर्फबाट वागमती अंचल अदालत समक्ष परेको पुनरावेदन ।

६.    वादीबाट प्रेषित १९९८ सालको कागजलाई सनाखत गराई पुनः निर्णय गर्नु भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको ०३९।८।६ को फैसला ।

७.    वादीबाट पेश भएको कागजलाई प्रतिवादीले जालसाजी भनी बयान गरेको, वादी दावीको घर पुर्खौली गुठीको वादीहरुको समेत हक लाग्ने भन्ने कुरा सबूद प्रमाणबाट खुल्न नआएकोले वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको ०४०।७।१३ को फैसला ।

८.    सबूद प्रमाणको मूल्यांकन नगरी गरेको (साविक पेज नं. ५) काठमाडौं जि.अ. को फैसला बदर गरी वादी दावीबमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी पक्षबाट वा.अं.अ. समक्ष परेको पुनरावेदन ।

९.    विवादित घर आँगन वादी समेतको गुठी जनाई संयुक्त दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको ०४१।१०।२४ को फैसला ।

१०.    कानुनी त्रुटिपूर्ण निर्णय उपर पुनरावेदनको लागि अनुमति पाउँ भनी प्रतिवादी तर्फबाट परेको निवेदनमा, न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिम अंचल अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

११.    वादीले प्रमाणको लागि पेश गरेको १९९० सालको लिखतलाई प्रतिवादीले जालसाजी भनी नामाकरण गरेको, तर सो को प्रमाणित सबूदहरु पेश हुन सकेको देखिन नआएको १९९८ सालको महावली गुठीको पूजा चलाउने थिति बन्देज पत्र प्रतिवादीका कान्छा बाजे कनकबज्र समेतका व्यक्तिहरुले लेखी दिएको, सोबाट विवादित घर, आँगन घर नै देखिन आएको गुठीको देवता प्रतिवादी बसेको हाल विवादित घरमा नै रहेको कुरामा प्रतिवादी सहमत नै रहेको समेतबाट विवादित घर आँगन देवता घरकै रहेको देखिँदा प्रतिवादीको नाउँको अस्थायी दर्ता बदर गरी दुवै पक्षको हक कायम गरी गुठी जनाई संयुक्त दर्ता हुने ठहराएको अंचल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको फैसला रहेछ ।

१२.   वादीबाट पेश भएको तथाकथित लिखत र प्रस्तुत मुद्दामा बेसरोकारको सबूद प्रमाणलाई निर्णयको आधार बनाई, मध्यमाञ्चल क्षेत्रीय अदालतबाट त्रुटीपुर्ण अंचल अदालतको फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई बदर गर्न पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट पर्न आएको निवेदनमा मिश्रीमायासँग मुद्दा परी निर्णय हुँदा दिव्यरत्नको साझा घर भन्ने म.क्षे.अ. बाट निर्णय भएको र सो निर्णय बदर गराएको नदेखिँदा सो अन्तिम फैसला विपरीत भएको निर्णयमा अ.बं. ८७ नं. को व्याख्यात्मक त्रुटी देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति दिइएको भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

१३.   यसरी नियमबमोजिम पेश भई आएकोमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले विवादित आँगन घर गुठीको हो भन्ने कुरा कुनै सबूद प्रमाणबाट पुष्टी हुनसकेको छैन, सबूद प्रमाण या लिखत बन्देजबाट गुठी नजनिएको या नदेखिएको अवस्थामा प्रतिवादीको नाउँमा दर्ता भएको घर जग्गामा वादीहरुको समेत हक कायम गरी गुठीको भनी कायम गर्ने गरेको अंचल अदालतको त्रुटीपुर्ण फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको फैसला कानुन र न्यायसंगत छैन भन्नु हुँदै केवल आँगन देवता मेरो घरमा राखिएकै आधारमा सो घरलाई या मेरो हक भोगको घरलाई गुठीको घर ठहर गर्दा कानुनको मनसाय पूरा हुन नसक्ने हुँदा यस प्र्रकारको आधारहिन फैसलाले कानुनी रुप लिन सक्तैन, सो फैसला बदर गरी विवादित घर जग्गा प्रतिवादीकै नाउँमा दर्ता कायम रहनु पर्दछ भन्नुभयो भने विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले प्रतिवादीको नाउँमा अस्थायी दर्ता रहेको हाल विवादित घरमा आँगन देवता रहे भएकोमा विवाद छैन, सो घर प्रतिवादीको मात्र एकलौटी हक भोगको हो भन्ने आधिकारिक हकको श्रोत उल्लेख नगरी रहे भएको घरमा सम्पूर्ण परिवारले पूजनीय देवता लगी राख्नुपर्ने अवस्था आउँदैन, तसर्थ क्षेत्रीय अदालतको फैसला न्यायसंगत नै हुँदा बदर हुनपर्ने अवस्था छैन । मनासिब ठहर हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । (साविक पेज नं. ६)

१४.   आज निर्णय सुनाउने, पेशीमा चढी आएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।

१५.   हाम्रो समेत हक लाग्ने का.जि.का.न.पं. वार्ड नं. १६ हाल २७ को कि.नं. २०५ को क्षेत्रफल ०२ मा बनेको व्लक नं. ११/६५० को घर जग्गा नापीको अवस्थामा प्रतिवादीको नाउँमा एकलौटी दर्ता गरी दिएकोले सो मिति २०३६।८।२० को निर्णय बदर गरी प्रतिवादी सहितको सगोलमा हक कायम गरी पाउँ भन्ने वादी दावी रहेकोमा पिताजीलाई अपुतालीबाट हक हुन आएको विवादित घर पिताजीको मृत्युपछि मेरो हक कायम भएको हुँदा निजी घरलाई गुठी बनाई हक कायम गरी पाउँ भन्ने वादी दावी झुठ्ठा हो भन्ने प्रतिवादी परेको देखिन्छ ।

१६.    निर्णय तर्फ हेर्दा यसमा विवादित घर दिव्यरत्न बज्राचार्यको नाउँमा क्षेत्रीय किताबको कैफियत महलमा दोश्रो तल्लाको एक कोठामा बुद्ध भगवानको मूर्ति छ भनी जनाई प्रतिवादीका नाउँमा अस्थायी दर्ता गरी दिने भनी मिति २०३६।८।२० मा ३ नं. नापी गोस्वाराबाट निर्णय भएको सोही निर्णयले प्रस्तुत मुद्दाको उठान गरेको देखियो ।

१७.   यसमा वादीबाट प्रेषित १९९० साल आश्विन सुदी १५ रोज ७ मा महावली गुठीको गुठीयार पूर्णमुनी बज्राचार्यले गुठीको सामान हिनामिना सम्बन्धमा गरी दिएको कागज हेर्दा, महावली गुठीको मुवहालको आगन घरमा गुठियारका सामू बसी सही गरी श्री कूलदेवताको महावली गुठीमा चढायाँ भन्ने उल्लेख भएको पाइन्छ । उक्त मितिको कागजलाई प्रतिवादीले जालसाजी भनी बयानसम्म गरेको तर सो कुरा प्रमाणित तवरबाट पुष्टि हुन नसकेकोबाट केवल जालसाजी भनेकै आधारमा लिखतको प्रमाणिक अस्तित्व नरहने भन्न न्यायसंगत हुँदैन । त्यस्तै वादीहरुबाट नै प्रमाणको लागि पेश भएका १९९८।६।१३।२ को थिति बन्देज लिखत २०२०।६।११।२ को तमसुक समेतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइँदैन । जुन लिखतहरुको विवादित घर महावली गुठीको आँगन घर हो भन्ने कुराको इड्डित गरी रहेको देखिन्छ ।

१८.   यसै गरी विवादित घरमा रहेको देवता हाम्रै हुन, विपक्षीहरुको होइन हाम्रा पूर्खाले राखेका देवताहरु हुन् भन्ने पुनरावेदन जिकिर रहेको देखिन्छ, तर ३ नं. नापी गोस्वाराबाट भएको मिति ०३६।८।२० को निर्णयमा सो कुराको उल्लेखसम्म पनि भएको पाइँदैन । यस सम्बन्धमा कुनै थिति बन्देजका लिखतहरु प्रतिवादीले पेश दाखेला गर्नसकेको देखिदैन । वादीबाट सबूद प्रमाण सहित विवादित घरमा रहेको देवता महावली गुठीका देवताहरु र प्रतिवादी समेत सो गुठीका गुठियार रहेका छन् भनी दावी लिएकोमा म सो गुठीको गुठीयार पनि होइन, आफू बसी आएको घरमा रहेको देवता सो गुठीको देवता पनि होइन भनी आधिकारिक रुपबाट पुष्टि गर्न सकेको नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिर कानूनसंगत मान्न सकिदैन ।

१९.    जहासँसम्म वादी दिव्यरत्न बज्राचार्य र प्रतिवादी मिश्रीमाया श्रेष्ठ बीच चलेको खिचोला हक कायम मुद्दामा क्षेत्रीय अदालतको ०३९।३।२ को फैसलाबाट विवादित घर दिव्यरत्नको साझा घर कायम भैसकेको सो निर्णय बदर गराएको नदेखिएको भन्ने अनुमति प्रदान हुँदाका अवस्था आधार लिएको छ, त्यसतर्फ हेर्दा यस मुद्दाका वादी दिव्यरत्नले नक्सा पासको लागि निवेदन दिंदा, आगन देवताको मूर्ति निर्माण हुने घरमा रहेको कुरा उल्लेख गरेको मिश्रीमायाले ०३२।१२।११ मा आँगन देवतास्थापना भएको पूर्व तर्फको किलास समेत भत्काई भन्ने कुरा खुलाई उजुरी दिएको त्यसपछि हक बेहकको प्रश्न सिर्जना भएको देखाई मिति ०३४।१।२९ मा का.न.पं.बाट निर्णय भएपछि उक्त खिचोला हक कायम मुद्दा मिश्रिमाया श्रेष्ठलाई प्रतिवादी बनाई दायर भएको देखिन्छ । मिति २०३९।३।२ मा (साविक पेज नं. ७) मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भई अन्तिम रुपमा रहेको उक्त फैसला हेर्दा विवादको गा¥होमा वादी प्रतिवादीको आधी आधी हक हुने भन्ने सम्म उल्लेख भएको पाइन्छ । हाल विवादित घरमा नै प्रतिवादीको हक कायम भएको भन्ने कुरा उक्त फैसलामा उल्लेख भएको पाइँदैन । यसको अतिरिक्त उक्त मुद्दा प्रस्तुत मुद्दाका वादीहरु समेतलाई प्रतिवादी बनाएको नदेखिएको मिश्रिमायासँग मुद्दा परी सिर्जना भएको भनिएको हकले प्रस्तुत मुद्दाको वादीहरुसमेतको प्रमाणित हकलाई कुण्ठित गर्न सक्ने नहुँदा उल्लेखित आधारसंग पनि सहमत हुन सकिएन ।

२०.   अतः वादीहरुबाट प्रेषित लिखतहरुबाट विवादित घर महावली गुठी देवताको आँगन घर भन्ने कुरा पुष्टी हुन आएको अपुतालीबाट पितामा हक निहित भई पिताको मृत्यु पछि आफ्नो हक भएको र वादी दावीको आँगन घर अन्यत्र छ महावली गुठीमा आफू गुठीयार नरहेको भन्ने कुरा प्रतिवादीले प्रमाणित पनि गर्न नसकेको विवादित घरमा आँगन देवतानरहेको र प्रतिवादी पनि सो गुठीको गुठियार नरहेको नभएको भए प्रतिवादी समेतको हक लाग्ने भनी वादीहरुले आफ्नो दावीमा उल्लेख गरेकोबाट पनि विवादित घर प्रतिवादीको एकलौटी हक भोगको भन्न मान्न सबूद प्रमाणको अभावमा मिल्ने देखिन आएन । निर्विवाद सबूद प्रमाणको अभावमा अचल सम्पत्ति माथि हक कायम हुन सक्ने नहुँदा ३ नं. नापी गोस्वाराको मिति २०३६।८।२० को निर्णयबाट विवादित घर प्रतिवादीको नाममा कायम हुन गएको अस्थायी दर्ता बदर गरी वादीहरु समेतको संयुक्त हक कायम भई दर्ता हुने ठहराएको वागमती अंचल अदालतको फैसलालाई सदर ठहराएको क्षेत्रीय अदालतको इन्साफ न्यायसंगत नै देखिँदा मनासिब ठहर्छ । कोर्टफि रहेको देखिँदा केही गर्न परेन । मिसिल नियमानुसार गर्नु ।

उक्त रायमा म सहमत छु । न्या.गजेन्द्रकेशरी बास्तोला

इतिसम्वत् २०४७ साल चैत्र १२ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु