निर्णय नं. ४९२० - कर्तब्य ज्यान
निर्णय नं. ४९२० २०५१, ने.का.प. अङ्क ५
संयुक्त इजालास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्बत् २०४७ सालको फौ साधक नं. – ३६
फैसला मितिः २०५०।१०।२१।५ मा
मुद्दा : कर्तब्य ज्यान ।
वादी : सतिमान भण्डारीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादी : वैतडी कोठपेटरा गा.वि.स. वडा नं. ७ मेरै गडा बस्ने सतिमान भण्डारी ।
§ घाँटी थिच्दा मृत्यु हुने लक्षणहरु मध्येका लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतकको पोष्टमार्टम हुन सकेको छैन तर लास जाँच प्रकृति मुचुल्कामा मृतकको घाँटीमा चिन्ह नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिनपछि मात्र लास जाँच प्रकृति मुचुल्का भएकोले स्वाभाविकै मान्नुपर्ने ।
(प्र. नं. १६)
§ जाहेर र अदालतमा भएको वयानमा एकरुपता नभई फरक परेबाट अभियुक्तको कलुषित भावना रहेको प्रष्ट हुने ।
(प्र. नं. १६)
निवेदक तर्फबाट :– x
विपक्षी तर्फबाट :– x
अवलम्बित नजीर :– x
फैसला
न्या. उदयराज उपाध्याय : सुदूर पञ्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर साधक जाँचको लागि अ.वं. १८६ नं. र तत्कालिन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा यस प्रकार छ ।
२. मेरी श्रीमती मनुरी चैत्र ९ गते घाँस काट्न मेरै गडाको उत्तिसा जंगल भएको साँझसम्म पनि घर नफर्कदा खोज तलास गर्दा चैत्र १२ गते उत्तिसाडको जंगलको मूल बाटोमा दायाँपट्टि वाटोमुनि जामुनको रुख मा घाँस बाध्ने माङाको डोरीले पासो लगाई झुण्डी मरेकोले घाँस काटन लागेको हँसिया नजिकै फेला पारी सो हँसियाले डोरी काटी जाहेर गर्न आएको छु । जो बुझ्नुपर्ने बुझी लास सदगत गर्न अनुमती पाउँ भन्ने समेत व्यहोराको सतिमान भण्डारीको जाहेरी दरखास्त ।
३. लासको कपडा खोली हेर्दा आँखा, मुख, नाक किराले खाइसकेको, वाँया आँखाको माथि तल निलो डाम दाहिने गालामा रगत सुकेको दाग वायाँ हातको कुहिना देखि कुमसम्म तानेको जस्तो रातो निलो डाम पिठ्यूमा अन्दाजी ४ इञ्चको घेरामा निलो डाम, गुप्ताङ्गबाट रगत निस्की किरा समेत लागिसकेको र लासको गर्दन छोटो भएको भन्ने समेत व्यहोराको ०४३।१२।१७ को लास जाँच प्रकृति मुचुल्का ।
४. घटनास्थलमा मृतक मनुरी भण्डारीको लासको घाँटीमा साढे ६ हात लामो माङाको डोरी र लासको नजिक फालिएको हसिया हामीहरुको रोहबरमा बरामद भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
५. मृतक मनुरीलाई निजकै लोग्ने सतिमान भण्डारीले मारी झुण्डाएको हो भन्ने गाउँमा हल्ला चलिरहेकोले निजलाई पक्री दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ज. हरसिंह थापाको मिति ०४४।९।२८ को प्रतिवेदन ।
६. २०४३।१२।९ गते माइत जान दिएन भनी श्रीमती मनुरीले मलाईमुख लागी गाली गरेकोले रीस उठी लात मुक्काले हानी घरबाट बाहिर निकालेको हो । राती ११/१२ बजेसम्म पनि घर नआएकोले काँहा गइछ भनी खोज्न जाँदा घरको उत्तरपट्टि केही टाढा गोरेटोको माथि झाडीमा रुन लागेको देखी किन रोएको घर हिड भन्दा घरबाट पिटेर भगाएकोले तिम्रो घरमा जान्न भनी मलाई आमा चाकरी जस्ता अपशब्द प्रयोग गरी गाली गरेकोले रिस उठी लाठीले निजको पिठ्यूमा हिर्काई दुवै हातले घाँटी च्यापी भुईमा लडाउँदा प्राण गएछ । ज्यान माराबाट बच्न जंगलमा लगी छाडेको हुँ भन्ने समेत ब्यहोराको मिति ०४४।९।२८ मा प्रहरी समक्ष गरेको प्र. सतिमान भण्डारीको बयान कागज ।
७. झुण्डिएको लास डोरी काटी भुईमा खलालेको हुँ भन्ने कुरा निजै सतिमान भण्डारीबाट सुनेको हो । मनुरीलाई सतिमानले मारेको होइन । मनुरीको केटाकेटी जन्मदै मर्दै रहने भएकोले सोही पीरबाट निजले घाँस काट्न गएको बहाना पारी जंगलमा गई आफैले पासो लगाई मरेको हो भन्ने समेत ब्यहोराको जया भण्डारी समेतका ९ जनाको मिति ०४४।१०।१४ को एकै मिलनको सर्जमिन मुचुल्का ।
८. लास जाँच प्रकृति मुचुल्का लास जाँच परीक्षण र अभियुक्त सतिमानको साविती वयान समेतबाट मुनरीको मृत्यु निजकै लोग्ने सतिमान भण्डारीको कर्तब्यबाट भएको सिद्ध हनु आएकोले निजलाई मु. ऐन ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४४।१०।२१ को प्रहरी प्रतिवेदन ।
९. २०४२ चैत्र १० गते बेलुकी प्रधानपञ्चको चुनावमा भोट खसाली घर आउँदा श्रीमती मनुरी घरमा नभएकोले कहाँ गई भनी आमालाई सोध्दा हसिया र डोरी समाती गएको हो कहाँ गई खोज भन्नु भयो । रात परी सकेकोले भोलिपल्ट ससुराली गए । त्यहाँ पनि नभेटाएकोले चैत्र १२ गते घौले जागिरी समेत मानिस साथ लिई उत्तिस पाडातिर खोज्न गएको हुँ । उत्तिसको जंगलमा पुगेपछि कोही कतै कोही कतै गई खोज्न खोज्दा जामुनको रुमा श्रमिती मनुरी झुण्डिएको मैले खेखी जिउँदै छ कि भन्ने आसाले हतारमा घटनास्थलमै खसेको हँसिया भेटाई सो हँसियाले श्रीमती झुण्डिव्एको डोरी काटी भूईमा खसालेको हुँ पछि म बेहोस भएँ मनुरीलाई खोज्न गएका मानिस भेला भएपछि बोकेर घरमा ल्याएका हुन् । निज श्रीमतीबाट दुईटा बच्चा जन्मेर मरेका थिए सोही पीरमै आत्महत्या गरेकी हुनु पर्दछ । लास जाँच मुचुल्कामा उल्लेख भवएको निलडाम डोरी काट्दा लास भूईमा बजारिन गएकोले भएको होलान भन्ने समेत ब्यहोराको प्रतिवादी सतिमान भण्डारीले मिति २०४४।१०।२२ मा बतडी जिल्ला अदालतमा गरेको बयान ।
१०. २०४३ साल चैत्र १२ गतेका दिन मनुरी भण्डारीलाई खोज्न गएका हौं । उत्तिसाडको जंगलमा जामुनको रुखमा पासो लगाई मनुरी झुण्डिराखेको देखेका हौं । पछि सतिमानले रुखमा चढी डोरी काटेको हो । मनुरी आत्महत्या गरी मरेको हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी हरिमान भण्डारी समेतका ब्यक्तिहरुले वैतडी जिल्ला अदालतमा गरेको बकपत्र ।
११. प्रतिवादीको प्हरी समक्षको साविती बयान अन्य स्वतन्त्र एवं विश्वसनीय प्रमाणबाट पुष्टि हुन नआएकोले निज प्रतिवादी सतिमान भण्डारीले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४५।२।६ को वैतडी जिल्ला अदालतको फैसला ।
१२. प्रहरी यातना दिई साविती गराएको भन्ने प्रतिवादीको भनाई विश्वसनीय देखिँदैन । मनुरी भण्डारीले आत्महत्या गर्नुपर्ने औचित्य पनि देखिँदैन । लास जाँच मुचुल्का प्रतिवादीको प्रहरी समक्ष गरेको स्वाभाविक साविती बयान समेतको आधारमा सतिमान भण्डारी उपर लगाएको प्रहरी प्रतिवेदन माग दावी मुनासिवै देखिँदा निजलाई सोही अभियोग बमोजिम ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित सहित जन्मकैद हुने ठहर्छ । साधक निकासाको निमित्त पठाउनु । मनुरी झुण्डि मरेकै हो कि भन्ने शंकाको गुन्जाइस पाइन्छ । मार्नुपर्ने सम्मको स्थिति देखिँदैन । प्रतिवादीको आकृति शारीरिक गठन हेर्दा स्वास्नीको ज्यान मारी एक्लैले लास जंगलमा लगी फाल्न त्यति सक्षम जस्तो नदेखिएकोले ठहर गरिएको सजाय निकै चर्को हुने महसूस गरी अ. वं. १८८ नं. बमोजिम निजलाई ३ वर्ष मात्र सजाय गरे मनासिव पर्ने ठानी सोही व्यहोराको राय समेत जाहेर गर्ने गरी ठहर गरिएको छ भन्ने समेत व्यहोराको मिति ०४६।३।५ को महकाली अञ्चल अदालतको फैसला ।
१३. लास जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट मृतक मनुरीले पासो लगाई आत्महत्या नगरी निजको मृत्यु कर्तव्यबाट भएको कुरामा दुईमत रहेन । झाडीमा पसी रुन लागेकी श्रीमतीलाई घर हिड भन्दा आमा चकारी गाली गरेकोले रीस उठी पिठ्यूमा लाठीले हिर्काइ दुवै हातले घाँटी च्यापी भुईमा लडाई फेरी जोडले घाँटी च्याप्दा प्राण गएको भनी प्रतिवादी सतिमान भण्डारीले मनुरीलाई मारेकोमा स्वीकार गरी प्रहरीमा कागज गरी दिएको र सो बयान कागज लास जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थित हुन आएकोले तत्काल उठेको रीस थाम्न नसकी कुटपिट गरी सकेपछि श्रीमती जोरले कराउन लाग्दा हल्ला सुनिन्छ भन्ने मनसाय र ध्येयले प्रेरित भै घाँटी थिच्दा वारदातस्थलमा तत्काल मृत्यु हुन गएको अवस्था देखिँदा मुत्युको कारण साधारण लाठी ढुङ्गा लात मुक्काले हान्दा मात्र वारदात पछि ऐनको म्यादभित्र हुन गएको अवस्था नदेखिँदा ज्यान सम्बन्धीको १४ नं. को ऐन अनुसार १० वर्ष कैदको सजाय हुनुपर्ने भन्ने माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपानेज्यूको रायसँग सहमत हुन नसकेकोले ज्यान सम्बन्धीको १३(३) अनुसार प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको महाकाली अञ्चल अदालतको इन्साफ मुनासिव छ भन्ने माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद छतकुलीको राय ।
१४. मृतक र प्रतिवादी बीच कुनै झगडा इवि रहेको मिसिलबाट देखिँदैन । वैवाहिक सम्बन्धमा आँच नदेखिनुका साथै मृत्यु हुने विहान लोग्नेस्वास्नी बीच घर ब्यवहारको साधारण कुरामा असहमती भै स्वास्नी माइत जान खोज्ने र प्रतिवादी घरमा काम भएकोले माइत नजान भन्दा साधारण झगडा भै प्रतिवादीले लात मुक्काले हानी घरबाट आफ्नो काममा गएको देखिन्छ । सोही दिन घर फर्कदा स्वास्नी घरमा नदेखी राती ११/१२ बजेतिर खोज्न जाँदा घरको उत्तरपट्टि केही टाढा झाडीमा बसी रोइरहेको देखी घर हिंड भन्दा विहान पिटेर भगाएकोले जान्न भनी मुख छाडी गाली गरेको भने प्रहरी मा भएको प्रतिवादीको कागजबाट देखिन्छ । लोग्नेस्वास्नी बीच भएको साधारण झगडा पश्चात लोग्ने बाहीरबाट राती घर आएपछि स्वास्नी नदेखि खोज्नगएका र स्वास्नी घर नजिकै झाडीमा बसी रोइरहेको हुँदा घर जाने होइन भन्दा आमाचकारी जस्तो गाली सुन्दा लोग्नेलाई साधारण रिस उठनु अन्यथा भन्न सकिँदैन र रिसको आवेशमा प्रति वादीले स्वास्नीलाई लठ्ठीले पिठ्यूमा समेत हिर्काइ कुटपीट गरेको भन्ने प्रतिवादीको प्रहरीमा भएको कागजबाट देखिन आउँछ । प्रतिवादीले मृतकको घाँटी च्यापेको र सोही कारण नै मृतकको मृत्यु भएको हो कि भन्नलाई यस प्रकार भएको मृत्युलाई मेडिकल जुरिस्प्रोडेन्समा (Strangulation) भनिन्छ । मृतकको लास प्रकृति मुचुल्कामा सो अवस्था रहे भएको देखिँदैन । मृतकको लास पोष्टमार्टम हुन सकेको छैन । केबल हेल्थपोष्टबाट लास जाँच प्रकृति मुचुल्कामा उल्लेखित विवरण सम्मलाई नै उल्लेख भएको सम्म देखिन्छ । उपर्युक्त प्रमाण प्रतिवेदनबाट मृतकको मृत्यु प्रतिवादीको घाँटी च्यापिएको कारणबाट भएको भन्न सकिने अवस्था छैन । ज्यान सम्बन्धी महलको १४ नं. हेर्दा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, यस मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खाएकोमा बाहेक साधारण लाठी ढुङ्गा लात मुक्का इत्यादिले हान्दा चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था भएको देखिन्छ । उपर्युक्त उल्लेख भए बमोजिम कृतक र प्रतिवादी लोग्ने स्वास्नी भएको मान्नुपर्ने सम्मको रिसइवि र मनसाय समेत नभएको जोखिम हतियार समेत प्रयोग नभएको मिसिलबाट देखिन आएको मृतकले अटेर गर्दा विहान पनि कुटेको र राती स्वास्नी घरमा नहुँदा खोज्दा घर पछाडि झाडीमा बसिरहेको अवस्थामा घर जान भन्दा मृतकले अपशब्द गाली समेत गर्दा उठेको रिसले प्रतिवादीले लाठी समेतले हानी कुटपीट गर्दाको कारण्बाट नै मृतक मनुरीको मृत्यु भएको मिसिल प्रमाणबाट देखिन आएकोले प्रतिवादी सतिमान भण्डारीले ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम अपराध गरेको ठहर्नाले कैद वर्ष १० हुन्छ भन्ने माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपानेज्यूको राय ।
१५. वादी दावी अनुसार प्र. सतिमान भण्डारीले आफ्नी श्रीमती मनुरीलाई कर्तब्य गरी मारेको ठहराएको मिलेको देखिनुका साथै प्र. सतिमान भण्डारीलाई सजाय गर्नेतर्फ ज्यान सम्बन्धी महलको १३(३) वा १४ नं. अनुसार सजाय गर्ने भन्ने सम्बन्धमा यस अदालतको संयुक्त इजलासको राय नमिली राय बाझी भै सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत तेस्रो न्यायधीशको इजलास समक्ष पेश हुँदा प्र. सतमिान भण्डारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान लास जाँच प्रकृति मुचुल्का र हेल्थ पोष्टमा भएको लास जाँच रिपोर्टबाट समेत कर्तब्यको पुष्ट हुन आएकोले प्र. ले मृतकलाई कर्तब्य गरी मारेको ठहराएको मिलेको देखिएको र वारदातको रुपबाट ज्यान सम्बन्धीको १३ नं. वा १४ नं. कुन ऐन लाग्ने रहेछ भन्नेतर्फ विचार गर्दा साँझ ७/८ बजेको समयमा प्र. सतिमान र मृतक मनुरीको बीचमा झगडा भै सतमिानले बेसरी पिटेपछि घरबाट बाहिर गएको रातको ११/१२ बजेसम्म घरमा फर्की नआएकोले खोज्न जाँदा पुनः भनाभन भएपछि मनुरीलाई लाठीले कुटपिट गर्दा अपशब्द प्रयोग गरी गाली गरी उल्टै कुट्न आई लागेकीले भूईमा लडाई वेसरी पिटे जोडले रुन कराउन थाली गाउँलेहरुले सुन्लान भनी मैले निजको घाँटीमा दुवै हातले च्यापे झन रुन कराउन लागेकीले फेरी जोडले घाँटी च्यापे र केही समयपछि निजको मृत्यु भएको भन्ने सतिमानको बयान कागजबाट देखिँदा मनुराको मृत्यु लाठी ढुङ्गा लात मुक्काको प्रहारबाट नभै घाँटी जस्तो मर्मस्थानमा दुई पटक च्याप्नु थिच्नुबाट भएको देखिन्छ । एकपटक झगवडा कुटपीट भई सकेपछि करिब ५ घण्टापछि पुनः खोज्दै गै घाँटीमा च्यापेको कारणबाट जिनको मृत्युभएको हुँदा पहिलेको झगडाबाट रिस उठिरहेको देखिन्छ । मृतकलाई दुई पटक घाँटी च्यापी अठ्याएबाट मार्ने सम्मको मनसाय प्रतिवादीको रहेनछ भन्न सकिने अवस्था देखिँदैन । मोडीको मेडिकल जुरिस्पण्डेन्स बाह्रौ संस्करणको पृष्ठ १५७ मा Strangulation बाट मृत्यु भएकोमा हुने लक्षणहरुमध्ये केही लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतक लासको पोष्टमार्टम हुन सकेको छैन तापनि लास जाँच प्रकृति मुचुल्कामा मृतक मनुरीको घाँटी दवाउँदाका अवस्था देखिने मुख्य चिन्ह (Ligature Mark) नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिनपछि मात्र लास जाँच प्रकृति मुचुल्का हुनुबाट मृतकको शरीरमा Ligature Mark नदेखिनु स्वभाविकै मान्नुपर्ने हुन्छ । प्र. सतिमान भण्डारीले कोट पटेरा गा.पं. मा ०४३।१२।१३ मा दिएको जाहेरी, जि.प्र. कार्यालय वैतडीमा ०४३।१२।१५ मा दिएको जाहेरी र अदालतमा भएको प्र. को बयानमा एक रुपता छैन । यसरी जाहेरी र अदालत समक्ष भएको बयानमा एक रुपता नहुनु सत्यता लुकाउने प्रयास गरेको झल्किन्छ । अतः उल्लेखित सवै प्रमाणहरुबाट बारदात ज्यान सम्बन्धीको १४ नं. को अवस्थाको नहुँदा प्र. ले ज्यान सम्बन्धीको १३(३) को कसूर गरेको देखिँदा प्रतिवादी सतिमान भण्डारीलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्व सहति जन्मकैद गर्ने राय सहितको महाकाली अञ्चल अदालतको इन्साफ मुनासिब हुँदा माननीय न्यायाधीश श्री झुलेन्द्र प्रसाद छतकुलीको रायलाई समर्थन गरिएको छ । साधक जाँचको लागि सर्वोच्च आदालतमा पठाई दिनु भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत तेस्रो न्यायाधीशको इजलासबाट मिति २०४७।३।२७।४ मा भएको साधक जाहेरी फैसला ।
१६. साधकको तहबाट पेश हुन आएो प्रस्तुत मुद्दाका प्र. लाई सफाई दिने ठहर्याएको वैतडी जिल्ला आदालतको फैसला उपर महाकाली अञ्चल अदालतमा श्री ५ को सरकारको पुनरावेदन परी वैतडी जिल्ला अदालतको फैसल उल्टी भै प्र. सतिमान भण्डारीलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम कैद गरी साधक जाँचको लागि सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा जाहेर गरेकोमा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकी सोही अदालतको तेस्रो न्यायधीशको इजलास समक्ष पेश हुँदा मृतकको लास जँच प्रकृति मुचुल्कामा उल्लेखित विवरण सम्मलाई नै समेत उल्लेख भएको र लासको पोष्टमार्टम हुन सकेको देखिँदैन र लास जँच प्रकृति मुचुल्का र प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान एवं वारदातको प्रकृति र परिस्थिति एवं प्रमाणहरु समेतबाट प्र. ले ज्यान सम्बन्धी महलको १३(३) नं. को कसूर गरेको देखिँदा सर्वश्व सहित जन्मकैदको सजाय गर्ने राय सहितको माननीय न्यायाधीश श्री झुलेन्द्र प्रसाद छतकुलीको राय मनासिव ठहर्याई साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा साधक जाँच गरी साधक सदर हुने हो होइन सोको निर्णय दिनुपर्ने देखिन आयो । यसै दिन एक पटक लोग्नेस्वास्नी बीच झगडा भै घरबाट निस्की राती ११/१२ बजे सम्म पनि घर नफर्केकोले हेर्न जाँदा झाडीमा बसी रोइरहेको र घर जाउँ भन्दा नमानेकोले लाठीले हिर्काउँदा नमानी आमा चकारी गाली गरेकोले ठूलो स्वरमा कराई बेइज्जत होला भनी घाँटी थिच्दा पनि नमानी कराएकोले पुनः घाँटी थिच्दा मृत्यु भएछ भन्ने प्र. ले बयान गरेको देखिन्छ । घाँटी जस्तो मर्मस्थानमा दुई पटक च्यापी अठ्याउँदा मृत्यु भएको कुराको विवरण सहित प्रतिवादी प्रहरी समक्ष सावित भएको पाइन्छ । घाँटी थिच्दा मृत्यु हुने लक्षणहरु मधयेका लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतकको पोष्टमार्टम हुन सकेको छैन तर लासजाँच प्रकृति मुचुल्कामा मृतकको घाँटीमा चिन्ह नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिन पछि मात्र लास जाँच प्रकृति मुचुल्का भएकोले स्वाभाविककै मान्नुपर्छ । सतिमान भण्डारीले दिएको जाहेरीमा मनुरी चैत्र ९ गते घाँस काट्न गएकी र आफू दिनभरी घरमा भएको र बेलुकासम्म नफर्किदा उहि दिन खोज्न हिडेको भन्ने उल्लेख भएको र अदालतमा भएको निजको बयानमा चैत्र १० गते प्र. पं. को निर्वाचनमा भोट दिन विहानै घरबाट हिडेको र बेलुका घर फर्कदा आमासँग मनुरी कहाँ गएछ भनी सोध्दा आँसी डोरी लिई गएकी र फर्केर नआउँदा भोलिपल्ट विहान खोज्न गएको भन्ने उल्लेख भएबाट जाहेरी र अदालतमा भएको बयानमा एकरुपता नभइ फरक परेबाट अभियुक्तको कलुषित भावना रहेको समेत प्रष्ट हुन्छ । प्रहरीमा गरेको साविती लास जाँच मुचुल्कामा समेतबाट पुष्टी भएको देखिन्छ । अतः उल्लेखित प्रमाणहरुको आधारमा ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्म कैद हुने ठहर्याएको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत तेश्रो न्यायाधीशको इजलासको इन्साफ मनासिब हुँदा साधक सदर हुने ठहर्छ । सजाय चर्को पर्ने भनी ३ वर्ष मात्र कैद गर्ने रायको सम्बन्धमा विचार गर्दा ज्यान मार्ने मनसायको अभाव रहेको कारण उल्लेख गरे तापनि प्रतिवादीले मृतकलाई २ पटक गरी घाँटी अठ्याई निर्ममतापूर्वक नै हत्या गरेको देखिन आएकोले कसूरको अनुपातमा समेत ३ वर्ष मात्र कैद गर्दा कम हुने देखिँदा घटनाक्रम र परिस्थितिबाट मार्नुपर्ने अवस्था समेतलाई विचार गर्दा सर्वश्व सहितको जन्म कैदको सजाय चर्को पर्न जाने भएकोले अ.वं. १८८ नं. ले १० (दश) वर्षको कैद सजाय हुन्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी सतिमान भण्डारीलाई ज्व्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहरे तापनि अ.व. १८८ नं. बमोजिम कैद वर्ष ३ (तीन) को लगत राख्नु भन्ने महाँकाली अञ्चल अदालतको फैसलाले राख्ने गरेको लगतलाई कायम गर्ने गरेको सु.प.क्षे.अ. को लगत राख्न नपर्ने भएकोले सो लगत कट्टा गरी माथि इन्साफ खण्डमा लेखिए अनुसार अ.वं. १८८ नं. बमोजिम प्रतिवादी सतिमान भण्डारीलाई १० (दश) वर्ष कैद सजाय हुने भएकोले बेरुजू हुँदा कानून बमोजिम लगत कसी असुल गर्नु भनी वैतडी जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि.अ. त मा लगत दिनु .............. १
जानकारीको लागि फैसलाको प्रतिलिपि महान्यायाधिबक्ताको कार्यालयमा पठाई दिनु ............. १
मिसिल कानून बमोजिम गरी बुझाई दिनु .................. १
उक्त रायमा म सहमत छु ।
न्या. अरविन्दनाथ आचार्य
इति सम्बत २०५० साल माघ २१ गते रोज ५ शुभम्